वातावरण संरक्षण साझा दायित्व
२१ जेष्ठ २०८३
•
६ मिनेट पाठ
वातावरण संरक्षण साझा दायित्व
मानिस चेतनशील प्राणी हो। उसले आफ्नो जीवन सहज, सुरक्षित र सुखमय बनाउन विज्ञान, प्रविधि र विकासलाई नयाँ अवधारणा र शैलीबाट विकसित गर्न खोजिरहेको छ। विश्व बजारमा विकासको तीव्र प्रतिस्पर्धा भइरहँदा प्रकृतिको महत्त्व ओझेल पर्दै गएको देखिन्छ। वन विनाश, नदी प्रदूषण, अव्यवस्थित सहरीकरण, सवारी साधन तथा उद्योगबाट निस्कने प्रदूषित धुवाँ, प्लास्टिक तथा सिसाजन्य फोहोर र प्राकृतिक स्रोतको अन्धाधुन्ध दोहनले वातावरण दिनहुँ प्रदूषित बनिरहेको छ। यसको प्रत्यक्ष असर मानव स्वास्थ्य, कृषि, जैविक विविधता र समग्र जीवन प्रणालीमा देखिन थालेको पाइन्छ।




जलवायु संकट र विश्व परिस्थिति

आज विश्व समुदाय जलवायु परिवर्तनको गम्भीर संकटबाट गुज्रिरहेको छ। बेमौसमी वर्षा, खडेरी, बाढीपहिरो, अतिवृष्टि र तापक्रम वृद्धिजस्ता घटनाले पृथ्वी संकटतर्फ उन्मुख भएको स्पष्ट संकेत दिएको छ। संयुक्त राष्ट्रसंघदेखि अतिविकसित राष्ट्रहरूले वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर गतिविधिहरू गरिरहेका छन्। मुख्य चुनौती भनेकै हामी प्रकृतिसँग नजिक रहेका मानिसहरूबाटै आधुनिक  विकासको नाममा अनियन्त्रित र अप्राकृतिक विकासको असुरक्षित प्रतिस्पर्धा हो।

प्राकृतिक सम्पदा र चुनौती

नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो। हिमाल, पहाड, तराई, नदी, वन, जैविक विविधता र मौलिक संस्कृतिले विश्वसामु नेपालको छुट्टै चिनारी बनेको छ। ‘हरियो वन नेपालको धन’ भनाइ केवल नारा मात्रै नभएर नेपाली जीवनशैली र सभ्यतासँग जोडिएको यथार्थ हो। पछिल्ला वर्षहरूमा वातावरणीय असन्तुलन बढ्दै गएको छ। सहरमा उद्योग कलकारखाना र सवारी साधनको अत्यधिक प्रयोगबाट निक्लिने प्रदूषित धुवाँ तथा ग्रामीण क्षेत्रमा प्राकृतिक स्रोतको अनियन्त्रित दोहनले दीर्घकालीन असर पारिरहेको छ।

प्रकृति र मौलिकताको भूमि

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक मौलिकताले सम्पन्न क्षेत्र हो। यहाँका हरिया डाँडाकाँडा, रूपाकोट, मेरुङ, साप्सु खोला, सोल्मा–नेर्पा क्षेत्र, सामुदायिक वन, पानीका मुहान र रैथाने जीवनशैली स्थानीय पहिचानका मुख्य आधार हुन्। प्रकृतिपूजक किरात समुदायको उद्गम स्थल भएकाले पनि यहाँका नागरिकमा प्रकृतिप्रतिको सामीप्य नजिक रहेको छ। ‘वन रहे पानी रहन्छ, पानी रहे जीवन रहन्छ’ भन्ने विश्वास यहाँ जीवन्त रहे पनि विकासको नाममा अव्यवस्थित सडक विस्तार, वन फँडानी, प्लास्टिक तथा सिसाजन्य फोहोर र पानीको स्रोत सुक्दै गएको कारण वातावरणीय चुनौती अत्यधिक बढाएको छ।

वातावरण र मानव जीवन

वातावरण र मानव जीवन एकअर्काका परिपूरक हुन्। स्वच्छ हावा, शुद्ध पानी, उर्वर माटो र हरियालीबिना स्वस्थ जीवनको परिकल्पना गर्न सकिँदैन। विकासको नाममा आधुनिक सुविधा बढे पनि मानिसमा तनाव, असन्तुष्टि र स्वास्थ्य समस्या दिनानुदिन बढिरहेको छ। यसको एउटा प्रमुख कारण प्रदूषित वातावरण र आधुनिक जीवनशैली हो। मुख्य गरेर बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती महिला तथा कमजोर समुदायमा बढी वातावरणीय असर देखिन्छ।

अनियन्त्रित सडक विस्तार र परम्परागत जीवनशैली परिवर्तन हुँदा पहाडी क्षेत्रमा पानीका मुहान सुक्नु, पहिरोको जोखिम बढ्नु र खेतीयोग्य जमिन बाँझो हुनु गम्भीर समस्या बनेका छन्। बाँदर लगायत वन्यजन्तु र मानवबिचको द्वन्द्व बढ्नुको मुख्य कारण पनि यही हो। बाँदर र वन्यजन्तुको आतंकले गर्दा हजारौं मानिसमा बसाइँसराइको क्रम बढिरहेको छ। यसले ग्रामीण भूभाग उजाड बनेको छ भने ती उर्वर भूमिहरू बिस्तारै खण्डहर बन्दै गएका छन्। यसका दीर्घकालीन चुनौतीलाई मध्यनजर गर्दै सरकारले यथाशीघ्र स्थायी समाधान नखोजे भोलिका दिनमा वातावरणीय समस्या अझ विकराल बन्ने निश्चित छ।

पहाडी क्षेत्रमा बढ्दो चुनौती

नेपालका पहाडी क्षेत्र वातावरणीय रूपमा संवेदनशील छन्। जथाभावी सडक निर्माण, वन विनाश, अवैज्ञानिक उत्खनन र वैज्ञानिक फोहोर व्यवस्थापन नहुँदा वातावरण असन्तुलित बनिरहेको छ। पछिल्लो दशकमा खोटाङमा विकासको गतिविधि बढे पनि वातावरणीय सन्तुलन बिग्रिएकाले दीर्घकालीन असर देखिन थालेका छन्। पानीका स्रोत सुक्दै जानु, वन क्षेत्र घट्नु, बेमौसमी वर्षा अत्यधिक हुनु र भूक्षय बढ्नु यसका तथ्यगत उदाहरणहरू हुन्। पहाडी जीवन प्रायः  प्रकृति र परम्परागत संस्कृतिमा निर्भर हुन्छ। यहाँको अर्थतन्त्र खेतीपाती, पशुपालन, जडीबुटी र वन स्रोतमा आधारित छ। त्यसैले वातावरण संरक्षण प्रकृति जोगाउने र मानव जीवन जोगाउने अचुक उपाय हो।

स्थानीय तहको भूमिका

वातावरण संरक्षण सबै तहका सरकार र नागरिकको साझा दायित्व हो। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले वृक्षरोपण, सरसफाइ, जलस्रोत संरक्षण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यो काममा विद्यालयस्तरका वातावरणीय कार्यक्रम, सामुदायिक वन उपभोक्ता समूह, आमा समूह र युवा क्लबहरूको सक्रियता महत्त्वपूर्ण रहन्छ। बाँस संस्कृति यहाँको वातावरणीय, सांस्कृतिक तथा अपरिहार्य जीवन पद्धति हो। यसले माटो बगाउनबाट  रोक्छ र हरियाली बढाउन पनि महत्त्वपूर्ण योगदान गर्छ।

विश्व जलवायु परिवर्तनको संकटसँग जुधिरहेको छ। अहिले कार्बन उत्सर्जन न्यूनीकरण, हरित ऊर्जा प्रयोग र जैविक विविधता संरक्षण विश्वव्यापी अभियान बनेको छ। अन्य वनस्पति तथा वृक्षको तुलनामा बाँसले ३० देखि ३५ प्रतिशत कार्बन शोषण गर्ने भएकाले पनि बाँसको महत्त्व अझै बढी छ। नेपाल हिमाली राष्ट्र भएकाले जलवायु परिवर्तनबाट बढी प्रभावित छ। हिमाल पग्लिनु, बाढीपहिरो, खडेरी र बेमौसमी वर्षा हुनु ग्रामीण जीवनका चुनौती हुन्।

नागरिक सचेतना र परम्परा

वातावरण संरक्षणका लागि कानुनसँगै नागरिक सचेतना आवश्यक छ। प्लास्टिकको अनावश्यक प्रयोग घटाउने, वृक्षरोपण गर्ने, पानीको मुहान बचाउने, जैविक खेती गर्ने र दीर्घकालीन तथा व्यवस्थित फोहोर व्यवस्थापन गर्ने बानीले वातावरणमा ठुलो परिवर्तन ल्याउन सक्छ। हाम्रो हजुरबुबा– हजुरआमाको समयमा प्रकृतिलाई सम्मान गर्ने संस्कृति थियो। वन, पानी र जमिनलाई जीवनको आधार मानिन्थ्यो। पुर्खाहरूमा ‘जंगल जोगिए  मात्रै मानव जोगिन्छ’ भन्ने सोच व्यवहारमै थियो। ती मूल्य र मान्यतालाई पुनः जीवन्त बनाउन आवश्यक देखिन्छ। विकास र प्रकति संरक्षणलाई सरकारले नीतिसँग जोड्यो भने मात्रै दिगो विकास सम्भव छ। नीतिनिर्माताले आधुनिक विकासलाई निर्मम समीक्षा गर्दै प्रकृतिसँग जोड्ने नयाँ प्रविधिसहितको मोडललाई तत्काल कार्यान्वयनमा ल्याउन जरुरी छ।

निष्कर्ष

वातावरण संरक्षण आजको आवश्यकता हो भने भविष्यप्रतिको साझा दायित्व र जिम्मेवारी हो। स्वच्छ वातावरण नभई  स्वस्थ र समृद्ध समाज सम्भव छैन। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वातावरण संरक्षणमा सक्रिय छ। वन जोगाउँदै पानीका स्रोत संरक्षण, सरसफाइलाई जीवनशैली जोड्ने  र वातावरणमैत्री विकासलाई प्राथमिकता दिने हो भने दिगो भविष्य सम्भव छ।

अन्ततः वातावरण जोगाउनु भनेको मानव अस्तित्व जोगाउनु हो, सम्पूर्ण प्राणीको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु हो। सरकारले दिगो विकासको नीति बनाउने र प्रत्येक नागरिकले आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक अनुसरण गर्ने हो भने मात्रै आजको चुनौतीलाई सामना गर्न सकिन्छ। अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा यही सन्देशसहित सम्पूर्ण नागरिकमा शुभकामना दिन चाहन्छु। दिगो विकास र वातावरण संरक्षणप्रति सबै तह र तप्काको जागरण, जिम्मेवारी र जवाफदेहिता आवश्यक छ।

–भट्टराई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख हुन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस