सर्वोपरि लोकतन्त्र
२३ पौष २०८२
•
६ मिनेट पाठ
सर्वोपरि लोकतन्त्र
‘नेता र राजनेतामा फरक यो हुन्छ कि नेताले आगामी चुनावबारे विचार गर्छ भने राजनेताले भविष्यको पुस्ताबारे सोच्छ,’ विन्सटर्न चर्चिल, बेलायतका पूर्वप्रधानमन्त्री




‘सर्वोपरि लोकतन्त्र’ यो शब्दावली पूर्वसभामुख तथा नागरिक आन्दोलनका अग्रज स्व. दमननाथ ढुंगानाले चयन गर्नुभएको हो। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रहस्यमय ढंगबाट पहिलो संविधानसभाबाट संविधान जारी नगरी भंग भएपछि मुलुकमा विषम राजनीतिक परिस्थिति उत्पन्न भयो। माओवादीले लोकतन्त्रलाई समाप्त पार्ने र अधिनायकवाद लाद्ने जोखिम बढेबाट लोकतन्त्रवादी त्यसविरुद्ध उठे। नागरिक समाज एकजुट भए र ‘सर्वोपरि लोकतन्त्र’लाई आत्मसात गरी आन्दोलनमा उत्रिए। नेपाली कांग्रेस, एमाले लगायतका दलहरूसमेत विरोधमा थिए।

अन्ततः डा. बाबुराम भट्टराई सरकार ढल्यो तर त्यसको व्यवस्थापन ठिक भएन। शक्तिपृथकीकरण सिद्धान्तविपरीत सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीलाई राजनीतिक सहमतिबाट मन्त्रीपरिषद्को अध्यक्ष बनाइयो।

न्यायपालिका र कार्यपालिका दुवैको प्रमुखको भूमिकामा उनी रहे। २०६३ सालको जनआन्दोलन दबाउन प्रमुख भूमिका खेलेका मुख्य सचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्यक्ष बनाइयो। जनताको भावना तथा बलिदानको अपमान गरियो।

यसविरुद्ध नागरिक समाजले खबरदारी गरे। दलका नेतालाई सचेत गराए। राष्ट्रपति रामवरण यादवसमक्ष लोकतन्त्रलाई कमजोर पार्ने नियुक्तिको समर्थन नगर्न आग्रह गरे। सडक प्रदर्शन भए। धरपकडमा परे। तथापि लोकतन्त्रवादी भनिएका दलको होस खुलेन। यसको दूरगामी असर बुझेनन्। निर्वाचनमा जित्ने निहीत स्वार्थमा केन्द्रित भए। लोकतन्त्रलाई गलत लोकमा धकेले। राष्ट्रपति निरीह देखिए। सर्वोच्चले समेत आफ्नो हाकिमको नियुक्तिलाई आवश्यकताको सिद्धान्त ठान्यो।

गणतान्त्रिक लोकतन्त्रका अभ्यासमा धमिरा पसेको यही विन्दुबाट हो। सिद्धान्तभन्दा नेताका इच्छामा मुलुक चल्यो। विद्यमान राजनीतिक बेथिति र विचलन यिनै घटनाक्रमका प्रतिफल हुन्। संविधानले निषेध गरेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की यतिबेला मुलुककी प्रधानमन्त्री छन्। सिद्धान्तनिष्ठ ठानिएका अर्का पूर्वप्रधानन्यायाधीश पनि सुशीलालाई विस्तापित गरेर प्रधानमन्त्री बन्ने महत्त्वकांक्षा बढाएका देखिन्छन्।

भदौ २४ मा सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालतलगायतका भवन जलाएर ध्वस्त पारेको घटना नसेलाउँदै न्यायाधीशहरूमाथि धम्कीका शृंखला चलेका छन्।

न्यायिक क्षेत्रमा त्रास फैलिएको छ। सामाजिक सञ्जालमा योजनाबद्ध ढंगबाट दुष्प्रचार र वितृष्णा फैलाइएको छ। विगठित संसद्को चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेको मुद्दामा न्यायालयविरुद्ध कार्यकर्तालाई सडकमा उतार्‍यो। जेनजी आन्दोलनको फाइदा उठाएर नक्खु जेलबाट उनलाई भगाइयो। चौध हजारभन्दा बढी कैदीबन्दी भागे। चार हजारजति अझै जेल फर्केका छैनन्। प्रहरीका हतियार लुटिएका छन्।

यसबाट न्यायाधीशहरूमाथि सुरक्षाको जोखिम थप बढेको छ। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलको ‘संसद् पुनर्स्थापना’ सम्बन्धी मुद्दामा न्यायाधीशहरू लक्षित एक ‘भिडियो फुटेज’मा धम्कीपूर्ण भाषा बोलेबाट सरकारको जवाफदेहीमाथि प्रश्न उठेको छ। जबकि न्यायालय भयरहित र स्वतन्त्र नरहेसम्म सुशासन, मानव अधिकार र लोकतन्त्र सुनिश्चित हुन सक्दैन।

नेताका अविवेकी र स्वार्थकेन्द्रित चरित्रले लोकतान्त्रिक आधारभूत मान्यता धराशायी बनेको छ। लोकतन्त्र व्यक्तिकेन्द्रित बनेको छ। विधि र विधानको अवमूल्यन भएका छन्। भिडतन्त्र हाबी छ। चरम सत्तामोहले देश जकडिएको छ। भदौ २३ र २४ को जेनजी आन्दोलनका आवाज तथा भावनाको आत्मासात गरिएको छैन।

खासगरी लोकतन्त्रको पर्याय मानिएको नेपाली कांग्रेस बेतुकको आन्तरिक खिचलोमा फसेको छ। विशेष महाधिवेशन सम्बन्धमा ‘विधिको पालना’ वा ‘दाइ -नेता आदेश पालना’को चेपुवामा परेको छ।

विशेष महाधिवेशन आह्वान, संस्थाको सर्वोच्च निकाय महाधिवेशन प्रतिनिधिको वैधानिक ‘विशेष अधिकार’ हो। यो विशेष परिस्थितिमा तोकिएका महाधिवेशन प्रतिनिधि संख्याले ‘खास विषय’मा छलफल र निर्णय गर्न बोलाइने ‘विशेष व्यवस्था’ हो। केन्द्रीय समिति वा कार्यसम्पादन समितिले नचाहेर अथवा वकिलका काइते तर्कबाट यसलाई रोक्न सकिँदैन। यो संस्थाको ‘इमर्जेन्सी लाइट’ हो।

तथापि पुस १८ गते कांग्रेसको कार्यसम्पादन समितिले विचित्रको निर्णय गर्‍यो। विधानबमोजिम ५४ प्रतिशत (आवश्यक ४० प्रतिशत) प्रतिनिधिले विशेष महाधिवेशन बोलाउन पाउने अधिकारलाई त्यसको बहुमतले अस्वीकार गर्‍यो। ‘विशेष महाधिवेशन’ (निवेदन दर्ता २९ असोजको तीन महिनाभित्र) बोलाउनुपर्ने बाध्यकारी प्रस्तावलाई लत्यायो।

यसविपरीत २०८३ वैशाख २८ देखि ३१ गते नियमित महाधिवेशन गर्ने निर्णय गरेर जग हँसायो तर महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, फर्मुला मन्सुर, अर्जुननरसिंह केसी र उमा रेग्मीले फरक मत राखे। महामन्त्री गगन थापाले महाधिवेशन प्रतिनिधिका आदेशविपरीत जान नमिल्ने भएबाट विधानबमोजिम पुस २७ र २८ गते विशेष महाधिवेशनको आयोजना हुने जानकारी दिए । सबैलाई सहयोग गर्न आग्रहसमेत गरे।

विधि तथा पद्धतिका वकालत गर्ने गरेका शेखर कोइरालाले ‘विशेष महाधिवेशन बोलाउने पार्टीको बाध्यता भएको’ बताएका थिए तर महामन्त्रीद्वयमाथि दोष औंलाएर जिम्मेवार नेताको भूमिका निर्वाह गर्नबाट चुके। केन्द्रीय समितिले ‘कार्यविधि’ नबनाएबाट विशेष महाधिवेशनको निर्णय हुन नसकेको कमजोर तर्क गरे। यसबाट केन्द्रीय समिति (उनीसमेत) असक्षम भएको प्रमाणित समेत गरेका छन्।

विडम्बना, विगत आठ दशकदेखि विधिको शासन, मानव अधिकार र लोकतन्त्रका लागि निरन्तर लडेकोे एक ऐतिहासिक पार्टी विधि मिच्न निर्लज्ज बनेको छ। बहुसंख्यक सर्वोच्च निकाय प्रतिनिधिको मागलाई लत्याएर कार्यसम्पादन समितिको बहुमतबाट निर्णय लादिएको  छ।

पार्टी ‘फुट्ने त्रास’ फैलाएर विधि मिच्ने अमर्यादित कार्य गरेको छ। गणेशमान सिंहको कथन ‘पुच्छरले कुकुर हल्लाउने कार्य’ भएको छ। आन्तरिक अभ्यासमा व्यक्तिवादी चरित्रको हाबीबाट मुलुकको भविष्यमाथि खेलवाड गरिएको छ। जित विधिको कि व्यक्तिको? प्रश्नको घेरामा कांग्रेस छ।

यतिखेर प्रश्न छन् - फागुन २१ गते चुनाव होला? जेनजीका समूहले चुनाव गर्न देलान्? केपी शर्मा ओली चुनावमा जान तयार छन्? सरकारले चुनावी वातावरण बनाउन दुर्गा प्रसाईका माग पूरा गर्ला? नेपाली कांग्रेसको आन्तरिक राजनीति सङ्लिएर चुनावी वातावरण बन्ला? घोषित चुनाव नभए मुलुकको राजनीतिक भविष्य कस्तो होला?

हिंसाका बलमा राजनीतिक परिवर्तन हुने सजिलो चलन चलेको छ। जेनजीको भदौ २३ को आन्दोलन शान्तिपूर्ण भनिए पनि योजनाबद्ध ढंगबाट त्यसको अपहरण भयो र हिंंसात्मक बन्यो। यसबाट ककसले राजनीतिक फाइदा लिए, सतहमा देखिन थालेका छन्। तथापि भदौ २३ र २४ गतेका आपराधिक गतिविधिका सत्यतथ्य उजागर हुनुको विकल्प छैन। किनभने दश वर्षे सशस्त्र द्वन्द्वका गम्भीर अपराधमा संलग्न व्यक्तिलाई जवाफदेही नबनाई एवं सत्यतथ्य उजागर नगरेबाट मुलुकमा दण्डहीनता, कुशासन तथा भ्रष्टाचारको जग बलियो भएको हो। फेरि हुनसक्ने हिंसा अब मुलुकले थग्न सक्दैन।

संकटका घडीमा नेपाली कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गरेको इतिहास छ। देशको राजनीतिले यतिबेला शुद्धीकरण र परिवर्तन खोजेको छ। दाइनेताका सोच ‘विशेष महाधिवेशन प्रकरणले’ उदाङ्गिएको छ। नवीन जोस, जाँगर र दूरदृष्टिसहितको नेतृत्व उदयको सकसमा कांग्रेस छटपटाएको देखिन्छ। यसबाट लोकतन्त्रलाई स्थायित्व दिन सक्ने राजनेता देशले पाउने ठानिएको छ।

शेरबहादुर देउवाका समकालीन नेता ओमकार श्रेष्ठको सामाजिक सञ्जालमा टिप्पणी -विधान नमान्ने, कांग्रेस हुन सक्दैन।  
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १३ सेकेन्ड अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस