सहिदको मलामीमा बितेको दसैं !
२१ असोज २०८२
•
६ मिनेट पाठ
सहिदको मलामीमा बितेको दसैं !
नेपालीले यसपटक दसैं मनाइसकेका छनु।  दशैंमा मालश्रीको धुन बजिरहेको थियो।  कहीँकतै पिङ पनि मच्चिरहेको थियो।  तर यसपालि मालश्रीको धुन तपाईंलाई शोकधुनजस्तो लागेन ? पिङको चचहुइमा कोही छुटेको जस्तो त भएन ?




दशमीको साइत कुन घडी र पलामा जुरेछ क्यारे ! कुनै ज्योतिषले त्यो जोखाना हेरेर भनिसके थिए।  जमरा र टीका लगाउन जाँदा घरको थकाली (परिवारको जेष्ठ सदस्य) ले क्वकाली (परिवारको कान्छो सदस्य) लाई के कस्तो आशीर्वाद दिने अथवा तिनले के भनेर आशिष् थापे होलान् ?

एक महिना पनि भएको छैन, राजधानीको बानेश्वर चोकमा १७ जना कलिला बाबुनानीहरू, तन्नेरी युवाहरूको झन्डै एकै समयको ‘साइत’मा बन्दुकको गोली लागेर ज्यान गएको थियो।  त्यो एकदमै अकल्पनीय थियो, उनका लागि अनि हामी सबैका लागि पनि।  त्यहाँ कुनै युद्धको आह्वानमा दुन्दुभि बजेको थिएन।  त्यहाँ महाभारतका कुनै पात्र आएर कुनै पाञ्चजन्य शंख फुकेको पनि थिएन।  मात्र बेथिति अन्तका केही नाराबाजी लागेको थियो।  कतिजना त राष्ट्रिय गान गाइरहेका थिए ।

तिनीहरू सबै निहत्था थिए।  हातमा थिए त नेपाल देशकै झन्डा।  त्यहाँ गोली नै दाग्नुपर्ने, कुनै दुस्मनी साँध्नुपर्ने अवस्था थिएन।  यो कलेजमा पढ्ने जेनजी पुस्ताको आह्वानमा भर्खरै भएको आन्दोलनको कुरा हो।  एउटा शान्त र भद्र विरोध प्रदर्शनको स्मृति हो ।

ती बच्चाका आमाहरूले गमेका होलान्– टाउकामै गोली लाग्दा तिनका मासुमहरू कसरी छटपटाए होलान्, छातीमै कुनै तिखो धातु पस्दा कति दुख्यो होला ?

घाउचोट लाग्दा असाध्य दुख्छ।  विज्ञानले के भन्छ भने यस्तो दुखाइ वास्तवमा तपाईंलाई आफ्नो शरीर बचाउनका लागि दिइएको सूचना हो किनभने दुखाइकै कारणले तपाईं बेवास्ता नगरी घाउ निको पार्नेतिर अग्रसर बन्नुहुन्छ।  तर ती जो बितेर नै गइसके, जसको संख्या पनि अब ७५ नाघिसकेको छ।  उनको दुखाइ र पीडा उनीहरूसँगै गए।  त्यो दुखाइ र पीडा उनका परिवारजन, बाआमा, दिदीबहिनी, दाजुभाइ, केही इष्टमित्रहरूमा स्थानान्तर भएको छ, जो बाँचिरहेका छन्।  यसलाई वियोग हुनुको दु:ख वा मृत्युशोकको पीडा भनिन्छ, जुन बाहिर देखिँदैन तर असह्य वेदना त्यहाँ सलबलाइरहेको हुन्छ ।

जो अस्ति बितेर गए, अहिले तिनका परिवारजन अगम्य वेदनामा पिसिएका छन्।  यो दसैंको बेला, उनीहरू शोकाकुल छन्।  दसैंले पनि तिनलाई भुलाउन सक्दैन, बरु बढी बल्झाउँछ मात्र ।

शोक किन यति पीडादायी र असह्य हुन्छ ? यसको वैज्ञानिक उत्तर खोज्नु त छँदैछ, तर के कुरा अझ मननयोग्य छ भने शोक मानव जीवनको स्वाभाविक अंश हो।  शोक मनाउनु उत्तिकै आवश्यक छ, जति आवश्यक यसलाई भुल्नु हुन्छ।  वास्तवमा मृत्युको शोक मनाएरै यसबाट भइरहने अनन्त पीडाबाट उन्मुक्ति पाउने हो।  मनोवैज्ञानिकहरू यसै भन्छन् ।

विज्ञानको भाकामा कुरा गर्दा शोक मस्तिष्कबाट उत्थान हुन्छ।  तर यसले तपाईंको सम्पूर्ण देहलाई असर पुर्‍याउन थाल्छ, जब हामीलाई कुनै नोक्सानीको पत्तो लाग्छ।  अहिलेको सन्दर्भमा आफ्नो प्रियजन गुमाएको कुरा थाहा लाग्यो भने हाम्रो मस्तिष्कले ‘लड या भाग’ भन्ने प्रतिक्रियालाई सक्रिय बनाउँछ।  त्यो क्षण तपाईं कत्तिको सम्झनुहुन्छ ? विचारशून्यको अवस्था हुन्छ।  भयंकर एउटा बज्र खसेजस्तो हुन्छ ।

विशेषत: जब त्यस्तो घटना सोच्दै नसोचेको अवस्थामा भएको हुन्छ अथवा कुनै तयारी नभएको स्थितिमा प्रियजनको मृत्यु भएको हुन्छ, तपाईंलाई आश्चर्य, विश्मय अनि अविश्वासले एकैचोटि निस्सासिँदो बनाउँछ।  त्यस्तो अकस्मात्को विशद अवस्थामा हाम्रा शरीरका अंग–प्रत्यंग र तिनका कार्यहरूमा थप दबाब पैदा भएको हुन्छ।  सामान्यतया यस्तो स्थिति केही मिनेटदेखि केही दिनसम्म रहन्छ।  तर नजिकको प्रियजन गुमाउँदा भने यो प्रतिक्रिया महिनौंसम्म रहिरहन सक्छ।  यहाँसम्म कि वर्षौंपछि, त्यो नोक्सानी सम्झिँदा यो प्रतिक्रिया फेरि सक्रिय भएर जान्छ।  यसलाई हामी दु:खको घाउ बल्झियो भन्छौं ।

वैज्ञानिक अध्ययन र विश्लेषणले के भन्छ भने शोकका पाँच चरणहरू हुन्छन्– अस्वीकार, क्रोध, सौदाबाजी, अवसाद र स्वीकृति।  यद्यपि यो कुनै चक्रीय प्रणालीमा जस्तो एउटा जाने र अर्को आउने हुँदैन।  यो चरण खप्टिन पनि सक्छ, फेरि प्रारम्भविन्दु वा कतै बिचबाट दोहोरिन पनि सक्छ।  मानव मनोविज्ञानलाई ठम्याउन बडो गाह्रो हुन्छ।

आजका मितिले बानेश्वरको घटना भएको तीन साता बितेको छ।  गोली लागेर वा थापेर जसको मृत्यु भयो, जसलाई हामीले सहिद भनेका छौं, तिनका परिवार र नातेदारका लागि पीडाको घाउ एकदमै आलो छ।  तिनलाई नचिनेकाहरू, जसले तिनबारे पढेसुनेका छन्, उनीहरूका लागि पनि अपत्यारिलो छ, त्रासदीपूर्ण छ।  किन र कसका आदेशले ती मारिए भन्ने प्रश्नले पूरै समाजलाई उद्वेलित बनाएको छ।  दसैंको रमझम ती प्रश्नहरू बिर्साउने बहाना बन्न सक्दैन।  उत्तर त यसले झन् दिन सक्दैन।  बरु प्रश्न थप्न सक्ला, वेदना बढाउन सक्ला ।

मनोविज्ञान साथै जीवविज्ञान पनि के भन्छन् भने आफ्ना प्रियजन गुमाएसँग जोडिएका भावनाहरू मानव विकासक्रम सँगसँगै भएको हो।  मानव जातिलाई वैज्ञानिक भाषामा होमो सेपिन्स भनिन्छ।  यो ल्याटिन भाषा हो।  यसको अर्थ हुन आउँछ, बुद्धिमान (सेपिन्स) मानिस (होमो)।

मस्तिष्कको विकास भएकाले उनीहरू ‘बुद्धिमान’ कहलिएका हुन् तर शारीरिक रूपले उनीहरू साना र निर्धा छन्।  जस्तो एउटा अफ्रिकी हात्तीले ६ हजार किलोसम्म पनि उचाल्न सक्छ, मानिसको तुलनामा त्यो एक सय गुनाले बढी हो।  त्यस्तो हात्तीलाई मान्छेले कजाउँछ।

प्रारम्भकालदेखि नै मानिसहरू समूह बनाएर बस्न थाले, समूह बनाएर सिकार गर्न सिके।  समूहको शक्ति र एकतासित उनीहरू परिचित भए।  समुदायको माध्यमबाट बाँचे, हुर्के, सहकार्य गरे।  आपसमा प्रेमभाव जगाए।  अनि कोही हराउँदा वा बितेर जाँदा विरह गरे, पीडाको बोध गरे।  त्यही पीडा बोधले पुन: शक्ति आर्जन गरे।  यसै जगमा टेकेर हामी यहाँसम्म आइपुगेका हौं ।

जेनजी आन्दोलनका दिन उर्लिएको त्यो भव्य मानवसागर र त्यो सागरको उत्साह यही सामूहिक भावना र समूहमा शक्ति र सामथ्र्यको ओज देख्ने भावनाको प्रतिविम्ब थियो।  साथै, जब त्यहाँ हामीले आफ्ना साथीभाइ, प्रियजनहरू एकाएक गुमायौं र आहत भयो, त्यो पनि सामूहिक भावनाबाट उत्सर्जित प्रतिक्रिया थियो ।

दसैंको यो माहोलमा मानिसहरू शुभकामना आदानप्रदान गरिरहेका छन्, जुन अहिले नेपाल र नेपालीमा व्याप्त छ।   कोही विजयादशमीको महान् चाड भन्छन्, कोही दुर्गामाताको आशीर्वाद मान्छन्, कोही असुरमाथि सुरहरूको विजय ठान्छन्।  ओहदाका हाकिमहरू, मन्त्रीहरू, सांसदहरू आफ्ना नामबाट शुभकामना कार्ड बाँड्छन्।  व्यापारी व्यवसायीहरू तिनका घरमा कोसेली लैजान्छन्।  राजा–महाराजा, राष्ट्रपति, प्रधानमन्त्रीहरू टीका लगाइदिने गर्छन् ।

कमसेकम यो वर्ष दसैंका यी अभ्यासहरू अपेक्षित भएन्।  किनभने जेनजी आन्दोलनको बेला जो बन्दुकको निसानीमा परे, उनीहरू आफ्नो वा आफ्नो परिवारका लागि आन्दोलनमा गएका थिएनन्।  गएका थिए त सम्पूर्ण समाजका लागि।  यसकारण, उनलाई गुमाउनुको पीडाले उनका घरपरिवारलाई मात्र होइन, सम्पूर्ण समाजलाई दुखेको हुनुपर्छ।

सामाजिक सञ्जालको युग छ।  कहीँकतै तपाईंको शुभकामना पनि ती विक्षिप्त परिवारकोमा त पुगेको छैन ? अथवा, बितिसकेकाको ठेगानामा त गएको छैन ? कमसेकम यति चाहिँ हेक्का राखिदिनुहोला।   
–नास्टका प्राज्ञ एवं हाल नर्थ–वेस्ट विश्वविद्यालयका प्राध्यापक ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३४ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस