संविधान: अधिकारदेखि कार्यान्वयनसम्म
०९ असोज २०८३
•
६ मिनेट पाठ
संविधान: अधिकारदेखि कार्यान्वयनसम्म
हरेक वर्षझैं १९ सेप्टेम्बरमा यो वर्षको संविधान दिवस नेपालमा मनाइयो। यसरी संविधानसभा मनाइरहँदा हरेक नेपाली नागरिकले केही समय रोकेर हाम्रो इतिहास के थियो, अहिले हामी कहाँ छौं र अब हामी कुन दिशातर्फ अघि बढ्नुपर्छ भन्ने विषयमा सोच्नु महत्त्वपूर्ण छ। सन् २०१५ मा जारी वर्तमान संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गर्‍यो।




अहिले सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाइरहेको छ। त्यसअघि संविधानका सबल र कमजोर पक्ष तथा यसमा गरिने कुनै पनि संशोधनले देशमा पार्न सक्ने प्रभाव बुझ्नु आवश्यक छ। यसको सबैभन्दा ठुलो सबल पक्षमध्ये एक संघीय गणतन्त्रमार्फत सबै नागरिकका लागि समान अधिकार र पहुँचको व्यवस्था हुनु हो।

संशोधन आवश्यक छ भने त्यसले जनताको अधिकारको कार्यान्वयनलाई अझ बलियो बनाउनुपर्छ र प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्नुपर्छ, किनकि प्रेस स्वतन्त्रताबिना लोकतन्त्र हुन सक्दैन। अझै पनि नागरिकले आफ्नो लैंगिक अवस्था वा सीमान्तकृत परिस्थितिका कारण अधिकार उपभोग गर्न सकिरहेका छैनन् भने वा सार्वभौमसत्ता अथवा व्यक्तिगत गोपनीयताको नाममा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाइन्छ भने त्यस्ता व्यवस्थामा संशोधन आवश्यक हुन्छ तर संविधान संशोधन गर्नुअघि हाम्रो इतिहासलाई बुझौं र हामीले हासिल गरेका उपलब्धिहरूका सबल पक्षलाई पहिचान गरौं।

पछिल्ला ८५ वर्षमा नेपालले लोकतन्त्रलाई संस्थागत गर्ने क्रममा राजतन्त्र र जनताबिचको क्रान्तिकारी संघर्ष देखेको छ। सन् २००८ मा नेपाल अन्ततः निरंकुश राजतन्त्रबाट संघीय गणतन्त्रमा प्रवेश गर्‍यो। कानुन निर्माण गर्नेहरूदेखि आमनागरिकसम्मको सोच अझै पनि पितृसत्तात्मक र सामन्ती चिन्तनबाट प्रभावित देखिन्छ।

यी आठ दशकमा नेपालले वंशहरूको उत्थान र पतन, पटकपटक संविधानको पुनर्लेखन तथा सीमान्तकृत समुदाय र लैंगिक विभेदलाई सम्बोधन गर्ने कानुनमा भएका प्रगतिहरू देखेको छ। तिनको कार्यान्वयन भने अझै संघर्षकै विषय बनेको छ।

यस क्रममा केही सकारात्मक उपलब्धिहरू पनि भएका छन्। नेपाल विश्वका त्यस्ता थोरै देशमध्ये एक हो, जहाँ आगन्तुकले भिसा फाराम भर्दा ‘पुरुष’ र ‘महिला’सँगै ‘अन्य’ भन्ने विकल्प पनि रोज्न पाउँछन्। नागरिकता र मतदाता परिचयपत्रमा पनि यही विकल्प उपलब्ध छ। लैंगिक समानताका सूचकहरूले पनि नेपाल क्रमशः माथि उक्लिरहेको देखाउँछन्।

लैंगिक न्याय र दण्डहीनताको अन्त्य तथा गृहयुद्ध र अन्यायबाट प्रभावित मानिसहरूको अधिकारलाई हेर्दा संघीय गणतन्त्रमा नेपाली जनताले देखेका सपना अझै पूर्ण रूपमा साकार भएका छैनन्। जलवायु परिवर्तन, भूकम्प, बाढी, खाद्यान्न उत्पादन र व्यापारमा आएको परिवर्तन तथा पटकपटकका आर्थिक नाकाबन्दीले यो यात्रालाई थप चुनौतीपूर्ण बनाएका छन्।

भूपरिवेष्टित हुनु र दुई विशाल छिमेकी राष्ट्रबिच तथा व्यापक विश्वशक्ति संरचनाभित्र रहनु नेपालको निरन्तर यथार्थ हो। सन् २०२५ को ‘जेनेरेसन जेड’ आन्दोलनलाई लामो समयदेखि भित्रभित्रै रहेको ज्वालामुखी विस्फोट भएजस्तो गरी देशलाई हल्लाएको घटनाका रूपमा हेर्न सकिन्छ, जसले अब शान्ति र स्थायित्व स्थापित हुने आशा पनि जगाएको छ।

नेपालको सामाजिक संरचना बौद्ध र हिन्दु परम्पराहरूको स्वीकृत सम्मिश्रणमा आधारित छ, जुन विभिन्न चाडपर्व र पौराणिक कथामा आधारित घटनाक्रमहरूमार्फत एकअर्कामा गाँसिएका छन्। दुईवटा सम्बन्धित तर फरक मूल्य प्रणालीबिच विकसित भएको यो अद्भुत सम्मिश्रण हाम्रो विशेषता हो। कुनै समय विश्वको एक मात्र हिन्दु राष्ट्र रहेको नेपाल अहिले धर्मनिरपेक्ष राष्ट्र हो, जहाँ मुस्लिम, क्रिश्चियनलगायत अन्य धार्मिक समुदाय अल्पसंख्यकका रूपमा रहेका छन्।

हालैका केही घटनाले यही सामाजिक सद्भावमा खलल पुर्‍याउने अवस्था सिर्जना गरे पनि सौभाग्यवश ती घटनाहरू शान्तिपूर्ण रूपमा समाधान भएका छन्। यस्ता भावना पुनः उत्पन्न नहुने वातावरण कसरी सुनिश्चित गर्ने भन्नेमा ध्यान दिन आवश्यक छ।

यस संविधान दिवसमा हामीले संघीय नेपालको ऐतिहासिक र क्रान्तिकारी तथ्यका रूपमा वर्तमान निर्वाचन प्रणाली तथा प्रत्येक वडामा दुई जना महिला वडा सदस्य हुनुपर्ने र तीमध्ये एक जना दलित महिला हुनुपर्ने संवैधानिक व्यवस्थालाई पनि स्मरण गर्नुपर्छ।

देशभर ६ हजार सात सय ४३ वडा रहेका कारण यस व्यवस्थाअनुसार कम्तीमा १३ हजार चार सय ८६ महिला निर्वाचित हुने व्यवस्था छ, जसमा कम्तीमा ६ हजार सात सय ४३ जना दलित महिला हुनेछन्। निर्वाचन आयोगले उम्मेदवारमध्ये ४०.४ प्रतिशत महिला हुनुपर्ने व्यवस्था गरेको छ। साथै प्रत्येक स्थानीय तहमा दलले प्रमुख र उपप्रमुखका लागि अघि सार्ने उम्मेदवारीमा लैंगिक समानता कायम गर्नुपर्ने व्यवस्था पनि छ।

नेपालमा समान प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अपनाइएको छ। दुर्भाग्यवश दुवै प्रणाली, विशेषगरी समानुपातिक प्रणाली पटकपटक दुरुपयोग हुने गरेको छ। संविधान संशोधन गर्ने हो भने यी दुवै प्रणालीलाई कायम राख्दै दलको स्वार्थका आधारमा तिनको दुरुपयोग हुन नदिने कडा व्यवस्था गरिनुपर्छ।

त्यसैले सन् २०१७ मा भएको नेपालको पहिलो स्थानीय निर्वाचनले नगरपालिका तथा वडाका हरेक तहमा प्रमुख दुई पदमध्ये कम्तीमा एउटा पदमा महिला पुग्ने अवस्था सिर्जना गर्‍यो। सन् २०२२ को निर्वाचनमा राष्ट्रिय संसद्मा महिलाको प्रतिनिधित्व ३३.०९ प्रतिशत पुगेको थियो, जुन संवैधानिक व्यवस्थाअनुसार हो।

स्थानीय तहमा निर्वाचित महिलाको संख्या सन् २०२२ मा ४१.२१ प्रतिशत पुगेको थियो भने सन् २०१७ मा यो ४०.९ प्रतिशत थियो। यसले दक्षिण एसियाका स्थानीय शासन प्रणालीमा महिला राजनीतिक प्रतिनिधित्वको उल्लेखनीय अवस्था स्थापित गरेको छ।

सन् २०२५ मा नेपालको युवा पुस्ताको एक हिस्साले गरेको विरोधले अझ धेरै गर्नुपर्ने आवश्यकता स्पष्ट पारेको छ। राजतन्त्र अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेलेका राजनीतिक नेता र मूलधारका राजनीतिक दलहरूमाथि भ्रष्टाचार तथा मानवताविरुद्धका अपराधसँग सम्बन्धित विभिन्न आरोप लागेका छन्।

सन् २०२५ को सेप्टेम्बरको सुरुवातमा जेनेरेसन जेडको आन्दोलनपछि केपी ओली नेतृत्वको सरकार विस्थापित हुँदा राजनीतिक नेतृत्व गम्भीर रूपमा झस्कियो। दिनहरू बित्दै जाँदा युवा नेतृत्वको सरकारले परिवर्तन ल्याउने र सुशासन स्थापना गर्ने प्रयास गरिरहेको छ भने पुराना दलहरू पनि बिस्तारै आफ्नो पुरानै अवस्थामा फर्किंदै छन्।

नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी दलभित्रको युवा पुस्ता नेतृत्व तहमा आउने अपेक्षा गरिएको थियो। तर अहिलेसम्म त्यस्तो हुन सकेको छैन। झन्डै दुईतिहाइ बहुमतसहितको युवा नेतृत्वको शिक्षित सरकार हुँदाहुँदै पनि विभिन्न अवरोधहरू देखिन्छन्।

यसको एउटा कारण सन् १९९० मा लोकतन्त्र पुनःस्थापनापछि दशकौंदेखि कायम रहेको भ्रष्टाचार र दण्डहीनताको अवस्थालाई अन्त्य गर्दै भ्रष्टाचारका विषयमा न्याय सुनिश्चित गर्ने प्रतिबद्धता हुनसक्ने अनुमान गरिएको छ।

संविधानले नेपाललाई संघीय लोकतान्त्रिक संरचना दिएको छ र विगतमा अस्वीकार गरिएका वा बेवास्ता गरिएका धेरै अधिकारलाई मान्यता दिएको छ। अधिकारहरू कागजमा लेखिँदैमा संविधान कार्यान्वयन भएको मानिँदैन। वास्तविक परीक्षा त ती अधिकार हरेक नागरिकसम्म पुग्छन् कि पुग्दैनन्, प्रेस स्वतन्त्रताको संरक्षण हुन्छ कि हुँदैन, सीमान्तकृत समुदायले न्याय पाउँछन् कि पाउँदैनन् र दण्डहीनताको अन्त्य हुन्छ कि हुँदैन भन्नेमा निर्भर गर्छ।

त्यसैले संविधान दिवस मनाउँदै गर्दा हामीले केही समय रोकेर हाम्रो इतिहास के थियो भन्नेबारे सोच्नुपर्छ, अहिले हामी कहाँ छौं भन्ने पहिचान गर्नुपर्छ र अब हामी कुन दिशातर्फ अघि बढ्नुपर्छ भन्ने प्रश्न आफैंलाई गर्नुपर्छ। यात्रा अझै पूरा भएको छैन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
१९ घण्टा अघि
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस