युगान्तकारी परम गुरु भगवान् बुद्ध
२५ असार २०७९
•
१० मिनेट पाठ
युगान्तकारी परम गुरु भगवान् बुद्ध
संसारमा गुरुको स्थान सर्वोपरि छ। गुरुको महिमा अपरम्पार छ। त्यसैले गुरुको दर्जालाई भगवानसँग तुलना गर्छन्। असार महिनाको पूर्णिमाका दिनलाई गुरूपूर्णिमाका रूपमा मनाईदै आइरहेको पाइन्छ। अन्धकारबाट प्रकाशमा लैजानेलाई गुरु भनिन्छ। त्यसैले त गुरूपूर्णिमाका दिन शिष्यहरूले आफ्ना गुरुलाई श्रद्धापूर्वक फूलमाला लगाई दिँदै देवतालाई जस्तै पूजा गर्दै फलफूल मिठाईलगायत विभिन्न सामग्री उपहार प्रदान गरेर मान्ने गर्छन्। गुरुले पनि आफ्ना शिष्यहरूलाई आशीर्वाद दिने गर्छन्। गुरूपूर्णिमाका दिन गुरुलाई मान्दै एक किसिमले उत्सवकै रूपमा मनाउने गर्छन्। विश्वमा रहेका विभिन्न धर्म सम्प्रदायले आआफ्नै किसिमले गुरुको सम्मान गर्ने गर्छन्।  




हुन त यस संसारमा सबै प्राणी मात्रका प्रथम गुरु जन्मदिने आमा नै हुन्। आमाले नै आफ्ना बालबच्चालाई जन्म दिएपछि खान, बोल्न र हिँड्न सिकाउने गर्छिन्। आफ्नै दुध चुसाउँदै आमाले नै हाँस्न, तोते बोली बोल्न, ताते गर्दै हिँड्नलगायत सम्पूर्ण कार्य गर्न सिकाउँछिन्। त्यसैले प्रथम गुरु जन्म दिने आमा हुन्। बच्चा जन्मेपछि आमाले जेजे सिकाउँछिन्, त्यहीत्यही बच्चाले सिक्ने गर्छ। यसरी विभिन्न कुरा सिकाएर बच्चालाई संस्कारित तुल्याउने काम सर्वप्रथम आमाले नै गरेकी हुन्छिन्। जब बच्चा स्कुलमा जान थाल्छ, तब शिक्षक शिक्षिकाले विभिन्न किसिमका शिक्षा दिएर योग्य बनाउने प्रयास गर्छन्। सनातन वैदिक युगमा गुरुकुलको व्यवस्था गरिएको हुन्थ्यो। त्यस समयमा राजा महाराजका छोराहरूले पनि त्यही गुरुकुलमा गई शिक्षा आर्जन गर्नुपथ्र्यो। राजा दशरथका छोराहरू श्रीराम, भरत, लक्ष्मण र शत्रुधन अनि वासुदेव देवकीका छोरा श्रीकृष्ण र गरिब ब्राह्मण सुदामाले पनि गुरुकुलमा बसेर शास्त्र र शस्त्रको ज्ञान आर्जन गुरेका थिए।  

गुरु पूर्णिमाका दिन परम गुरु वेदव्यासको जन्म भएको थियो। त्यसैले यस गुरूपूर्णिमालाई व्यास जन्मजयन्ती पनि भनिन्छ। सर्व प्रथम महर्षि व्यासले सामवेद, यजुर्वेद, ऋग्वेद र अथर्ववेद नाममा ४ वेद अनि १८ पुराण लेखेर लोककल्याणका लागि महान् कार्य गरेका थिए। वेदव्यास गुरुका पनि गुरु हुन्। वेदव्यासले धेरै ऋषि मुनिहरूलाई शिक्षा दिएर गुरु बनाएका थिए। तिनीहरूले विभिन्न स्थानमा गुरुकुल चलाएका थिए।  

गुरूपूर्णिमाका दिन नेपाल भारतलगायत विश्वका विभिन्न देशहरूमा हिन्दू र बौद्धहरूले गुरुको सम्मानमा विभिन्न कार्यक्रमहरू गरी बढो हर्षोल्लासका साथ मनाउँछन्। हिन्दूहरूले वैदिक सनातनदेखिका गुरुहरूलाई सम्मान गर्ने गर्छन् भने बौद्धहरूले विभिन्न किसिमका उत्सव गरी बुद्धलाई नै महान् गुरुका रूपमा सम्मान गर्ने गर्छन्। बौद्धहरूको बुद्ध जीवनीमा आफ्नैपनको महŒव छ। बुद्धको जीवनीसँग सम्बन्धित विभिन्न तिथिमिति र पूर्णिमालाई बौद्ध महोत्सवका रूपमा मान्दै आइरहेको छ। यी मध्ये वैशाख पूर्णिमा अत्यन्तै महŒवले भरिएको छ। वैशाख पूर्णिमाकै दिन गौतम बुद्धको जन्म, बोधिज्ञान र महापरिनिर्वाण प्राप्त गर्नुभएको हो। विश्वका सबैतिर अरबौं बौद्धहरूले व्यापकरूपमा वैशाख पूर्णिमा मनाउँछन् भने गुरूपूर्णिमाका दिन पनि अत्यन्तै श्रद्धा भावले मान्दै भगवान् बुद्ध र उहाँको ज्ञानको चर्चा–परिचर्चा गर्छन्। विश्व शान्तिको कामना गर्दै विभिन्न कार्यक्रम चलाएर शान्तिका अग्रदूत गौतम बुद्धलाई श्रद्धापूर्वक नमन गर्छन्। भगवान गौतम बुद्ध युगान्तकारी परम गुरुका रूपमा यस धरातलमा जन्म लिए। युग युगान्तरसम्म अजरअमर रहिरहने भगवान् बुद्धको जीवनीमा महŒवपूर्ण रही आएको संयोग वैशाख पूर्णिमाजस्तै असार पूर्णिमा गुरूपूर्णिमाका दिन बुद्धको जीवनमा सम्बन्धित ७ वटा जीवनी चक्रमा आधारित संयोगहरू सम्मिलित हुनपुगेको छ। यिनै ७ वटा संयोगहरू संक्षिप्त रूपमा निम्नबमोजिम उल्लिेख गरेको छुः  

गर्भ प्रवेश

२६०० वर्ष अघि कपिलवस्तुमा राजा शुद्धोधनले राज्य गरिरहेका थिए। उक्त समयमा गुरूपूर्णिमालाई विशेष उत्सवका रूपमा लिने गरिन्थ्यो। स्वयं महारानी महामाया देवीले उत्सवको एक हप्ता अघिदेखि नै विभिन्न किसिमका पर्व मान्दै पूर्णिमाको दिन दानपुण्य गर्दै उपोसथ व्रत बस्ने गर्थिन्। एकपटक यसरी नै व्रत बसेकी रानी मायादेवीले व्रत बसेको रात्रिमा अचम्मको सपना देखिन्– ‘चारजना देवताहरू रानीको पलङसहित बोकेर लगी दिव्य पोखरीमा स्नान गराएर दिव्य वस्त्र पहिर्‍याएर दिव्य पलङमा सुताए। सोही बेलामा वोधिसत्व सेतो हात्तीका रूपमा रानीको गर्भमा प्रवेश गरे।’ यस्तो अचम्मको सपना देखेकी रानीले राजा शुद्धोधनलाई बताइन्। राजाले पनि विद्धान् ब्राह्मणहरूलाई दरबारमा बोलाएर रानीको सपनाको लक्षणका बारेमा सोधनी गरे। उनीहरूले रानीको गर्भमा प्रभावशाली पुत्रले प्रवेश गरेको कुरा बताए। यसप्रकार असार पूर्णिमा अर्थात् गुरूपूर्णिमाका दिन बुद्ध हुन नै बोधिसत्व आमाको गर्भमा बस्न आएका हुन्।  

महाभिनिष्क्रमण

सिद्धार्थ बोधिसत्वले दरबारको सुखस्थल र मोजमज्जामा जीवन बिताए। उनलाई कुनै पनि किसिमको दुःख र अभाव थिएन। १६ वर्षको वैंशमा परमसुन्दरी यशोधरादेवीसँग शुभविवाह गरियो। जाडोमा, गर्मीमा र वर्षात्मा बस्नका लागि व्यवस्थित तीनवटा महल बनाइएको थियो। यसरी सिद्धार्थलाई आवश्यक सम्पूर्ण सुखसुविधा दिँदै भोग विलाश र मनोरञ्जनात्मक जीवन जिउने अवसरहरू प्रदान गरिएको थियो। तर यति हुँदाहुँदै पनि सिद्धार्थले २९ वर्षको हुँदा दरबारमा बस्दाबस्दा वाक्क लागेर नगरपरिक्रमा गर्न बाहिर निस्के। वास्तवमा सिद्धार्थलाई दरबारभित्रै भुलभुलैयामा राखेर बाहिर जान दिएका थिएननन्। जब सिद्धार्थ दरबारबाट बाहिर घुम्न निस्के, उनले बाटोमा वृद्ध, रोगी, मृतक र श्रमण जस्ता चार थरीलाई देखेर वैराग्य भए। अनि त के चाहियो ? दुःखले वैराग्य भएकाले दुःखबाट मुक्त हुने मार्ग खोज्न सिद्धार्थले आधारातमा दुध खाँदै गरेका छोरा राहुल, आफ्नी पत्नी यशोधरालगायत परिवारका सबैजना आफन्त र दरबारसमेत त्याग गरेर महाभिनिष्क्रमण (गृहत्याग) गरे। यसरी दुःखबाट मुक्त हुने मार्ग खोज्न महाभिनिष्क्रमण गरेको दिन पनि यही गुरूपूर्णिमा कै दिन हो।  

धर्मचक्र प्रवर्तन दिवस

महाभिनिष्क्रमणपश्चात् सिद्धार्थले बोधिज्ञान प्राप्त गरिसकेपछि बुद्ध बने। त्यसपछि प्राप्त बोधिज्ञानलाई प्रचार गर्न सिद्धार्थले सर्वप्रथम पञ्च भद्रवर्गीय ऋषिहरूलाई सम्झे। त्यसबेला उनीहरू सारनाथ, ऋषिपतन, मृगदावनमा बसिरहेका थिए। त्यहाँ अर्थात् सारनाथमा भगवान् बुद्ध गए र उनीहरूलाई दुःख र दुःखको मुक्ति मार्गको रूपमा धर्मचक्र प्रवर्तन गरे। यही नै बुद्धको पहिलो उपदेश हो। यसरी पहिलो उपदेश धर्मचक्र पवर्तन भएको दिन पनि यही गुरु पूर्णिमाकै दिन हो।  

वर्षावासको नियम

भगवान् बुद्धले लोकमा ६० जना अर्हत् भिक्षुहरू भएपछि बहुजन हिताय बहुजन सुखायका लागि ठाउँठाउँमा धर्म प्रचारका निम्ति निर्देशन दिए। भिक्षुहरू जाडो गर्मी नभनी धर्म प्रचार गर्न थाले। तर वर्षाको समयमा चारिका गर्नु गाह्रो मात्र होइन, मानिसहरू खेतमा काम गर्न जाने भएकाले उनीहरूलाई खान पिउन पनि सहज हुन सकेन। यस्ता विभिन्न अवरोधहरू देखा परे। अनि भगवान् बुद्धले यस कुराको बोध गरी वर्षात्को तीन महिना असारको पूर्णिमादेखि असोजको पूर्णिमासम्म वर्षाबास बस्ने नियम बनाउनु भई आफू पनि वर्षावासमा बसे। यसरी भिक्षुहरूको महŒवपूर्ण वर्षाबास बस्ने दिन पनि यही गुरु पूर्णिमादेखि सुरु भएको हो।  

ऋदध्रिरातिहार्य

भगवान् बुद्धले दुःखबाट मुक्त हुने ज्ञान मात्र होइन, विभिन्न चामत्कारिक शक्ति पनि प्राप्त गरेका छन्। जसलाई ऋषि शक्ति भनिन्छ। मानिसहरूलाई यस्ता चमत्कार मन पर्ने, यसैमा लागिरहनाले ज्ञान मार्ग पहिल्याउँदै जाने कारणले गर्दा नै भगवान् बुद्धले बुद्ध शासनमा ऋद्धि देखाउन नहुने नियम बनाइदिए। तर श्रावस्तीमा तीर्थकहरूले विभिन्न चमत्कार देखाएर सबैसँग यस्ता कुनै पनि शक्ति नभएको केवल ढोंगीमात्र भएको प्रचार गर्दै हिँड्न थाले। मानिसहरूको श्रद्धामा शंका देखिन थाल्यो। श्रद्धा कम हुन थाल्यो। यही कारणले भगवान् बुद्धले श्रावस्तीमा सबैलाई जम्मा पारेर विशेष ऋद्धि–शक्ति प्रदर्शन गरिदिए। यसैलाई नै ऋदध्रिरातिहार्य प्रदर्शन भनिन्छ। यसको मूल उद्देश्य भन्नु नै तीर्थकरहरूको अभिमानलाई दमन गर्नु र मानिसहरूको मनमा रहेको श्रद्धामा खलल नपुर्‍याउनु नै हो। यसरी ऋदध्रिरातिहार्य प्रदर्शन गरेको दिन पनि गुरूपूर्णिमा कै दिनमा हो।  

अभिधर्म देशना

भगवान् बुद्धलाई जन्म दिएर सातौं दिनमा परलोक भएकी महामायादेवी त्रयस्त्रिंश देवलोकमा अवस्थित हुनपुगिन्। बुद्धले बोधिज्ञान प्राप्त गरेको आठौं वर्षमा आफ्नी माताको गुणबाट मुक्त हुन र दुःख मुक्तिको उपदेश दिन भगवान् बुद्ध त्रयस्त्रिंश देवलोकमा गए। त्यहाँ तीन महिनासम्म अभिधर्मको गम्भीर उपदेश बताए। यसप्रकार मातालाई विशेष अभिधर्म देशना दिएको दिन पनि यही गुरूपूर्णिमाकै दिनमा हो।  

पहिलो संगायना

८० वर्षको उमेरमा भगवान् बुद्ध महापरिनिर्वाण भए। उनको शरीरलाई दाहसंस्कार गर्न पाएकै थिएन। ‘अब त राम्रो भयो, हामी स्वतन्त्र भयौं’ भनी हर्षित हुने शुभद्रजस्ता भिक्षुहरू पनि देखा परे। यस्तै मूल कारणले गर्दा बुद्धको धर्म र विनयलाई शुद्ध रूपमा बचाइ राख्न, संरक्षण गर्न पहिलो बौद्ध संगापना भयो। बुद्ध महापरिनिर्वाण भएर जएको तीन महिनापछि भगधको राजगृहमा राजा अजात शत्रुको संरक्षण र महाकाश्यप स्थवीरको अध्यक्षतामा सम्पन्न भएको उक्त संगायनामा ५०० जना अर्हत् भिक्षुहरू सहभागी भएका थिए।  

आनन्द स्थवीरबाट धर्म र उपालि स्थवीरबाट विनय सुनाइएको उक्त संगायनमा बुद्ध वचनलाई धर्म र विनयको रूपमा सङ्ग्रहित गर्ने काम भएको थियो। यसप्रकार बुद्धपछि बुद्ध वचन संरक्षण गर्ने काममा पहिले बौद्ध संगायना भएको दिन पनि यही असार पूर्णिमा अर्थात् गुरूपूर्णिमाकै दिन हो।  

यसरी गुरूपूर्णिमाका दिन बुद्धसँग सम्बन्धित सातवटा संयोग रहेको छ। वास्तवमा भन्ने हो भने बुद्धको जन्म नै एउटा ठूलो क्रान्ति हो। यो क्रान्ति कुनै धर्म सम्प्रदाय, समाज र कुनै पनि देशको विरुद्धमा होइन। यो त एउटा शक्तिशाली बौद्धिक क्रान्ति हो। भगवान् बुद्धले बोधिज्ञान प्राप्त गरी स्वयं बुद्ध बनिसकेपछि प्राप्त बोधिज्ञानको प्रचार गर्ने सन्दर्भमा सबैभन्दा पहिला सारनाथमा ऋषिहरूलाई उपदेश दिएका थिए। त्यसपछि उपदेश दिँदादिँदा भगवान् बुद्धका हजारौं शिष्य बनेपछि तिनै शिष्यहरू भिक्षु बनेर विश्वका विभिन्न देशमा गई बुद्ध धर्मको दर्शन र जीवनोपयोगी उपदेश दिन थाले। यसरी बुद्धका शिष्य भिक्षुहरूको संख्या बढ्दै जान थाले। हाल आएर करोडौंको संख्यामा बौद्धहरू छन् यस संसारमा।  

वैदिक सनातन धर्मका परम गुरु महर्षि वेदव्यास पछिका परम गुरु गौतम बुद्धलाई लिन सकिन्छ। गुरुहरूका पनि गुरु वेदव्यास बनेझैं विश्वका सम्पूर्ण भिक्षु भन्ते र लामाहरूका पनि परम गुरु गौतम बुद्ध नै हुन्। बुद्धले तयार पारेका लाखौं भिक्षु भन्तेहरूबाटै बौद्ध दर्शन र उपदेशको प्रचारप्रसार व्यापक रूपमा हुँदै आएको छ। युगान्तकारी परम गुरुका रूपमा बुद्धलाई मान्न सकिन्छ। कुनै पनि युगमा बुद्धको उपदेश र दर्शन अत्यन्तै उपयोगी रही आएकाले नै बुद्धलाई युगान्तकारी महान् गुरु भन्न सकिन्छ। बुद्धको विभिन्न उपदेशहरूमध्ये सारतत्वका रूपमा अष्टांगिक मार्गलाई लिन सकिन्छ। अष्टांगिक मार्ग भनेकै मध्यम मार्ग हो। जुन मार्गले मानिसको जीवनको सार्थकताका साथै देशकै विकासका लागि अत्यन्तै उपयोगी हुँदै आइरहेको छ। बुद्धकालीन कन्फ्युसियसले बुद्धलाई भेट्ने मौका पाएका थिए, बुद्धबाटै ज्ञान प्राप्त गरेका थिए भनिन्छ।

भगवान् बुद्धकै उपदेशबाट प्रभावित भएर कन्फ्युसियसले चीनको राज्य सञ्चालन र देशकै विकासका निम्ति मध्यम मार्ग अपनाएर चीनले विकास गर्दा आज यो स्थानमा आउन सफल भएको हो भन्न सकिन्छ। यसको मूल कारण हो, बुद्ध उपदेशअनुरूप कुनै पनि देशको विकासमा सर्वप्रथम शान्ति आवश्यक पर्छ भने मध्यम मार्ग अर्थात् हुँदा मात्तिने र नहुँदा आत्तिने नगर्नु, सधैं एकनाश भई निरन्तर आफ्नो कार्यमा लागिरहनु र आफ्नो भेद कसैलाई थाहा नदिनु भन्ने मध्यम मार्गमै लागेर चीनले प्रगति गर्न सकेको हो भनिन्छ।  

युगान्तकारी परम गुरु बुद्धका यिनै उपदेशलाई अपनाएर सबैले आआफ्नो कार्यमा इमान्दारीपूर्वक लाग्न सकेमा सबै मानिस र देशको विकास हुँदै जाने कुरामा हामी विश्वस्त हुन सक्छौं।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
१९ घण्टा अघि
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस