औरङ्गजेबको हुकुम
२५ भदौ २०७८
•
७ मिनेट पाठ
औरङ्गजेबको हुकुम
क्रूर मुगल सम्राट औरङ्गजेबले आफ्ना बाबु शाहजहाँलाई कैदी बनाएपछि ‘अब तपाईँले एउटा मात्र खाने कुरा पाउनुहुन्छ, रोज्नुहोस्’ भनेछन्। शाहजहाँले भने– ठीक छ, म चना मात्रै खाएर बाँचुला।




चनाको पिठो (बेसन) बाट रोटी र पकौडा बन्छ। भिजाएको चनामा झोल राखेर पकाएमा दाल वा तरकारीको काम पनि गर्छ। चनाको सातुलगायत अनेक परिकार बन्छन् र चना पौष्टिक मानिन्छ। शाहजहाँका लागि चना ‘निर्विकल्प’ थियो। नेपालका जनताले केही नेतालाई ‘शाहजहाँको चना’ बनाएका छन्। विकल्प सोच्नै नसक्ने अवस्थामा मानसिक दास बनेर पच्चीस–तीस वर्षअघिदेखि केही नेताको जयगान गर्दागर्दै पच्चीस वर्षे युवा पचास वर्षको भइसक्यो तर अयोग्य र निकम्मा भए पनि उनीहरूकै गीत गाइरहेको छ।

औरङ्गजेबको हुकुमले शाहजहाँले चना मात्र ‘ज्युनार’ गर्नुपर्थ्यो। तर नेपाली नेताले हजार गल्ती गरे पनि जनताले किन विकल्प खोजेनन् भन्ने प्रश्नको तर्कसंगत जवाफ छैन। त्यसैले राष्ट्र ‘ल्यान्ड लक्ड’ (भूपरिवेष्ठित) र जनता ‘माइन्ड लक्ड’ (मानसिक कैदी) हुनु संयोग मात्र होइन।

साहित्यकार केशवराज ‘पिँडाली’लाई गोरखापत्र दैनिकले ५८ वर्ष उमेर पुगेको भन्दै बिदा गरेछ। घरमा पुगेर धर्मपत्नीलाई सबै कुरा बताएपछि उनले भनिन्– ‘तिमी बूढो भयौ कि तन्नेरी, त्यो मलाई थाहा हुन्छ कि त्यो गोरखापत्रलाई ?’ भन्दै पिँडालीजीले विमर्श साप्ताहिकको कार्यालयमा हँसाउनुभएको थियो।

सहकर्मी, सहधर्मी वा सहयात्रीलाई वास्तवमा धेरै कुरा थाहा हुन्छ। पच्चीस/तीस वर्ष संगत गरेर पनि राष्ट्रघाती, स्वार्थी र कुरौटेहरूकै अनुयायी बन्ने मतदाता र कार्यकर्ता पाएपछि राजनीतिकर्मीहरूले जे गरे पनि क्षम्य हुन्छ। जापान, ब्रिटेन, जर्मनी, इटली, स्पेन आदि मात्र होइन, दरिद्र राष्ट्रका बहुसंख्यक जनताले राष्ट्र र जनताको हित नगर्नेको समर्थन गर्दैनन् तर नेपालमा उल्टो भइरहेको छ।

वाटरगेट काण्डमा विपक्षी डेमोक्र्याटिक दलको जासुसी गरेको अभियोगमा रिपब्लिकन दलका नेता तथा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको पतन भयो। ‘द वासिङ्टन पोस्ट’ पत्रिकामा कार्यरत दुई जना पत्रकार बब उडबर्ड र कार्ल बर्नस्टेनले राष्ट्रपति निक्सनलाई राजीनामा दिन बाध्य तुल्याए। उपराष्ट्रपति जेराल्ड फोर्ड राष्ट्रपति भएपछि उनैले निक्सनलाई क्षमादान दिए।

जापानका प्रधानमन्त्री काकेवी तानाका ‘लकहिड’ नामक विमान खरिद गर्दा तीस लाख अमेरिकी डलर घुस लिएको अभियोगमा जेल परे। सन् १९७६ देखि मृत्युको दिन (सन् १९९३) सम्म बदनाम भए। पेरुका राष्ट्रपति अल्बर्टो फुजिमोरी, फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस, मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक, नाइजेरियाका राष्ट्रपति सानी आबाचा, युक्रेनका प्रधानमन्त्री पाब्लो लाजारेन्को कुख्यात भ्रष्टाचारी मानिन्छन्।

नेपालमा २०४६/४७ सालसम्म दुई छाक राम्ररी खान नपाउनेमध्ये पचासौँ नेताले बितेका पच्चीस/तीस वर्षमा सयौँ करोडको सम्पत्ति कसरी जोडे ? २०६२/६३ सालपछि वनजंगलबाट सहर पसेको अर्को वर्ग आज सयौँ करोड चल–अचल सम्पत्ति थुपार्न सफल भएको छ। धेरैलाई त्यसको रहस्य थाहा छ। तर अधिकांश मतदाताका लागि ‘जता हेर्‍यो उतै मेरा नजरमा राम प्यारा छन्’ भनेझैं देवता ठहरिएका छन्।

आफ्नी महारानी मुमताज महलका नाममा ताज महल बनाए शाहजहाँले। एकतीस वर्षअघि ताजमहल हेर्न जाँदा उनी थुनिएको ठाउँ देखाउँदै गाइडले भनेका थिए– ‘हो यहाँ बसेर कैदी शाहजहाँ ताजमहल हेरिरहन्थे भन्छन्, इतिहासकारहरू।’ 

औरङ्गजेबले बाबुलाई चना मात्र दिएको कथा उनैले सुनाएका थिए, आग्रा सहरमा। औरङ्गजेबका तीन छोराबीच मारामार भएछ। सन् १७०७ मा सम्राट औरङ्गजेब मरे तर बाँचुन्जेल उनी पारिवारिक घात/प्रतिघातको सिकार भए। छोरा बहादुर शाहले उनलाई गद्दीच्युत गरेका थिए।

जे रोप्यो त्यही फल्छ। यही बुझेर बिपी कोइरालाले २०३७ सालमा राष्ट्रिय जनमत संग्रहको परिणाम स्वीकार गरे। उनले भनेका छन्– ‘मैले परिणाम स्वीकार नगरेको भए नेपालमा गृहयुद्ध हुन्थ्यो।’

झन्डै ४६ प्रतिशत मतदाता बहुदलीय व्यवस्थाका समर्थक थिए। बिपीले परिणाम स्वीकार नगर्दा अराजकता बढ्ने सम्भावना थियो। नेपालमा त्यही मौका छोपेर आगो लगाउनेहरू सक्रिय हुन सक्थे। त्यसैले, राजतन्त्र र प्रजातन्त्र दुवै रहे मात्र राष्ट्रियता बलियो हुन्छ भन्दै उनले धेरैपल्ट भनेका छन्। आत्मवृत्तान्तमा उनले गुनासो गरेका छन्– मेरै दलका मान्छेले मेरो कुरा बुझेनन्।

२०३९ सालमा विश्वेश्वरप्रसाद कोइरालाको देहान्तपछि कांग्रेसीहरू बहकिए। कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाको कमान्डमा दल चलाउने भनियो तर कान्छा कोइरालाले आफूलाई कमान्डर इन चिफ र भट्टराई एवं सिंहलाई पृतनापतिमात्र ठाने। उनीहरूको सम्बन्ध राम्रो भएन। 

औरङ्गजेबको हुकुम त्यहाँ पनि सुरु भयो। कालान्तरमा गणेशमान सिंहले कांग्रेस त्यागे। पार्टीले गणतन्त्रको बाटो हिँड्ने निधो गरेपछि कृष्णप्रसाद भट्टराईले पनि पार्टी त्यागे। भट्टराईले उबेलै भनेका थिए–कम्युनिस्टसँग सहकार्य गरेर राजा हटाउने कांग्रेससँग मेरो सहयात्रा हुँदैन।

पुराना सिद्धान्तवादी, त्यागी, इमानदार, योग्य र देशभक्तहरूलाई अपमान गर्दै उग्र कम्युनिस्ट र बाह्य शक्तिका हतियार, मतियारलाई ‘डेमोक्र्याट’ देख्ने कांग्रेसले शक्तिमा पुग्न र टिक्न जोसँग पनि सहकार्य गर्न सक्ला तर राष्ट्रियता प्रबल हुनुपर्छ भन्ने परम्परावादी शक्तिलाई ऊ वर्ग शत्रु ठान्छ।

तीन वर्षे कार्यकाल पूर्ण गरेर घर जाने बेलामा प्रधानसेनापति पूर्णचन्द्र थापाले नयाँ प्रधानसेनापति प्रभुराम शर्मालाई सुझाव दिए– ‘मुसा प्रवृत्तिबाट सावधान रहनुहोला।’ 

सेनाको हेडक्वार्टररूपी विशाल पानीजहाजमा बाहिरका मानिसले मुसाले झैँ प्वाल पार्न सक्दैनन् तर जर्नेलहरू नै औरङ्गजेबका छोराहरूझैँ आपसमा विभाजित भएमा राष्ट्रको पुरानो र भरपर्दो संस्था खरानी बन्ने खतरा रहन्छ। जनरल थापाको कथनमा गहिरो अर्थ विम्बित छ। अलिकतिमात्र भुलचुक भएमा देशी–विदेशी षडयन्त्रकारीको सिकार बन्न सक्छ सेना। तसर्थ निर्विकार, अठोटबद्ध, निष्पक्ष र इमानदार भएमात्र अस्तित्व रक्षा गर्न सक्छ सेनाले।

नेपाल आज इतिहासको सबै भन्दा कठोर अग्निपरीक्षामा छ। आन्तरिक कलह, षडयन्त्र एवं विवादका कारण २०५ वर्षपहिले अंग्रेजसँगको युद्धमा हामीले झन्डै चालीस प्रतिशत भूखण्ड गुमायौँ। ‘पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ’ भन्ने माधव घिमिरेको गीत, ‘झुकेन यो कहिले, लत्रेन यो कहिले’ भन्ने गोपालप्रसाद रिमालको गीत हाम्रा वीर पुर्खाप्रति समर्पित वीरपूजा हो। यथार्थमा राष्ट्रभित्रै आज जताततै प्वाल पार्ने मुसा र धमिरा छन्। ती उच्च आसनमा विराजमान छन्।

सेनालाई सरकारले निर्माणको जिम्मा दिएको सडक आयोजना (ललितपुर–निजगढ द्रुत मार्ग) सेनाबाट खोसेर भारतलाई दिनुपर्छ भन्ने हुन् वा भारतीय सेना ल्याएर राजा वीरेन्द्रलाई पाता कस्नुपर्छ भन्दा मदन भण्डारीको गाली खानेहरू हुन्, ती राष्ट्रका लागि घातक तत्व हुन। आफू बलियो हुन विदेशीको चरण स्पर्श गर्नेहरू हरेक दल, समाज र क्षेत्रमा छन्। राष्ट्रवादी नजरले हेर्दा ती मिर जाफर हुन्, लेन्डुप दोर्जे हुन् र ‘क्विजलिङ’ नै हुन्।

भिट्कुन नर्वेका शक्तिशाली थिए। राजा हाकोनसँग उनको पारा मिलेन। भिट्कुन राजालाई पाता फर्काएर गणतन्त्र स्थापना गर्न चाहन्थे। रक्षामन्त्री भएकाले उनले राष्ट्रको सेना तहसनहस पारेर राजतन्त्र हटाउन जर्मनीको सेना बोलाए। सन् १९४२ पछि तीन वर्ष प्रधानमन्त्री भए भिट्कुन। उनलाई नर्वेजियनहरू भिट्कुन क्विसलिङ (क्विजलिङ) भन्छन्। क्विजलिङको अर्थ नर्वेजियन भाषामा ‘राष्ट्रघाती’ हुँदोरहेछ। 

नामै क्विजलिङ भयो उनको। नेपालमा पनि पटकपटक राष्ट्रघात गर्नेहरूको सत्यतथ्य बुझेर युवाले ती राष्ट्रघातीका घरका भित्ताभित्तामा ‘राष्ट्रघाती निवास’ लेखे भने बाटो हिँड्नेले पनि त्यस्ताको शक्ति र सम्पत्तिको स्रोत थाहा पाउने छन्। राष्ट्रघाती ठहरिएपछि सन् १९४५ को अक्टोबर २४ मा क्विजलिङलाई गोली हानेर मारियो। त्यसपछि आजसम्म नर्वेले दोस्रो क्लिजलिङ देख्नुपरेको छैन।

राष्ट्रघाती चिन्न सजिलो छ। विश्व बैंकले बनाइदिन्छु भनेको अरूण–३ परियोजना रोकेर भारतलाई बुझायो कसले ? लाखौँ विदेशीलाई नेपाली नागरिकता दियो कसले ? भारतले संरक्षण, पैसा, तालिम र हतियार दिएर भाडाका सेनाका रूपमा गठन गरेको माओवादीलाई तत्कालीन राज्यसत्तामा बसेका ठूलाठालुले कसको इसारामा मद्दत गरे ? नेपालमाथि थिचोमिचो हुनुहुँदैन भनेर बोल्ने देशभक्तहरूलाई तर्साउन, सताउन र सिध्याउन खोज्छ भने त्यस्तो सरकार क्विजलिङवादी हो कि होइन ? 

नेपालको अन्तिम निर्णय नेपालीले गर्नुपर्छ र राष्ट्र सर्वोच्च हुन्छ भन्नेहरूलाई आँखा तर्नेहरू राष्ट्रघाती हुन कि होइनन् ? तसर्थ, राष्ट्रलाई क्षतविक्षत गराउन खोज्नेले देशभक्त, जनवादी, समाजवादी जस्तो रंग दले पनि मुसलधारे पानी पर्दा रंग पखालिएर जान्छ। त्यसपछि सक्कली रंग देखिन्छ। 

हामी टाढा जानै पर्दैन, महाकाली सन्धिपछि लगातार राष्ट्रघात गर्नेहरू चिने पुग्छ। त्यस्तालाई चुनावमा ‘रिजेक्ट’ (अस्वीकार) गरे पुग्छ। दुई दुई ठाउँमा चुनाव हार्नेलाई विदेशीले नेपालको प्रधानमन्त्री बनाउँदा एक्काइस केजी फूलको माला लगाइदिने दासहरू बाँचुन्जेल राष्ट्रघातीहरू नाचिरहन्छन्।

अब युवा जागेका छन्। राष्ट्रको सुदूर भविष्य हेरेर निर्णय गर्नेहरू औरङ्गजेबको हुकुम पर्खेर बस्दैनन्। राष्ट्रघातीलाई गाउँ र टोलैमा कालो दलेर, जुत्ताको माला लगाएर तेजोवध गर्ने हो भने हरेक दिन टेलिभिजनका पर्दामा र अखबारका अग्रपृष्ठमा यिनै भ्रष्ट, स्वार्थी, लोभी, अधम र पतीत राष्ट्रघातीको मुहार त हेर्नु पर्थेन।
अर्को समाचार
विश्व बैंक र मुद्रा कोष बैठकका लागि अमेरिका उडे अर्थमन्त्री
०३ वैशाख २०८१
•
३ मिनेट पाठ
विश्व बैंक र मुद्रा कोष बैठकका लागि अमेरिका उडे अर्थमन्त्री
अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्।




चार सदस्यीय छरितो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान २ः१५ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसिका लागि उडेका हुन्।

मन्त्री पुनलाई बिदाई गर्न अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्कर कर्णसहित सहसचिवहरु अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहेका अर्का उपसचिव भूपालराज शाक्य छन्।

तीन दिने अमेरिका बसाइका क्रममा मन्त्री पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डिएफआई) परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओ, विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का सहायक प्रबन्ध निर्देशक बो–लीसँग भेट्नेछन्।

यस्तै मन्त्री पुनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) का उच्च पदाधिकारी, अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफपी) का पदाधिकारी, अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष अतुल कास्यपसहित निजी क्षेत्रका प्रतिनिधि र त्यहाँस्थित गैरआवासीय नेपालीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तालिका रहेको छ।

मन्त्री पुनले जलवायु परिवर्तको प्रभावले खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नेछन्। भी–२० जलवायु परिवर्तनको जोखिम न्यूनीकरण तथा विश्वव्यापी अर्थतन्त्रमा उत्पन्न संक्रमणकालीन अवस्थामा वित्तीय सहयोग अभिवृद्धिका लागि विश्व समुदायमा आवाज उठाउने निकाय हो।

मन्त्री पुन हाइलेभल क्लाइमेट नेक्सससम्बन्धी साइडलाइन बैठक तथा दक्षिण एसियामा स्वच्छ ऊर्जा संक्रमणसम्बन्धी सत्रका साथै विभिन्न द्विपक्षीय र बहुपक्षीय बैठकहरुमा सहभागी हुनेछन्।

ती बैठकहरुमा मन्त्री पुनले आगामी जुनमा काठमाडौँमा हुने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ बैठकको तयारी, विश्व बैंकले आगामी ५ वर्षका लागि नेपालमा गर्ने लगानी साझेदारीको प्राथमिकता निर्धारण, संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलासययुक्त जलविद्युत आयोजनासहित पाइपलाइनमा रहेका अन्य आयोजनाको वित्तीय व्यवस्थापनलगायत विषयमा छलफल गर्नेछन्।

केही दिनअघि मन्त्री पुनले ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा विश्व बैंक र एसियाली विकास बैंकका काठमाडौँस्थित आवासीय प्रमुखहरुलाई संगै राखेर बैठक गरेका थिए। उक्त बैठकमा माथिल्लो अरुण आयोजनाको वित्तीय व्यवस्थापन सक्दो छिटो गर्ने सहमति भएको थियो। ‘गेम चेन्जर’ आयोजनाका रुपमा रहेको माथिल्लो अरुणको वित्तीय व्यवस्थापनको नेतृत्व विश्व बैंकले गर्दैछ।

यस्तै मन्त्री पुनले आगामी १६ र १७ वैशाखमा काठमाडौँमा हुने तेस्रो लगानी सम्मेलन तथा नेपालमा लगानी अनुकूल वातावरण निर्माणमा सरकारका तर्फबाट भएका सुधार प्रयासबारे विश्व बैंकसहित विकास साझेदार र निजी क्षेत्रलाई अवगत गराउनेछन्। वैदेशिक लगानीका लागि प्रतिकूल ठानिएका करिब एक दर्जन कानून संशोधनका लागि अध्यादेश ल्याउने तयारी सरकारले गरेको छ।

ती बैठक तथा भेटहरुमा भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, जाजरकोट, रुकुम र बझाङमा भूकम्पका कारण भत्किएका निजी आवास तथा शैक्षिक संस्थाका भवन पुनःनिर्माण एवं दिगो विकास लक्ष्य हासिल गर्ने नेपालको प्रयासमा सहायता बढाउन विकास साझेदारलाई आग्रह गरिने मन्त्री पुनले बताए।

उनका अनुसार अन्तर्राष्ट्रिय विकास साझेदारबाट नीतिगत सुधारका लागि प्राप्त हुँदै आएको सहायता कार्यान्वयन प्रभावकारी बनाउने तथा सहायताका थप क्षेत्र र सम्भावना पहिल्याउने विषयमा समेत छलफल हुनेछ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस