आशाका ६ महिना परिणामको प्रतीक्षा
२२ असोज २०८३
•
६ मिनेट पाठ
आशाका ६ महिना परिणामको प्रतीक्षा
नेपालको राजनीति अहिले एउटा महत्त्वपूर्ण चरणमा छ। ३६ वर्षको उमेरमा प्रधानमन्त्री बनेका बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको ६ महिना पूरा गरेका छन्। यो केवल नयाँ प्रधानमन्त्रीको ६ महिने कार्यकालको मूल्यांकन गर्ने समय होइन, नेपाली जनताले खोजेको नयाँ राजनीतिक संस्कार र विकासको दिशामाथि बहस गर्ने समय पनि हो।




बालेनको उदय कुनै सामान्य राजनीतिक घटना होइन। लामो समयदेखि राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगारी, कमजोर सार्वजनिक सेवा र विकासको सुस्त गतिबाट निराश बनेको समाजले नयाँ नेतृत्वप्रति आशा राखेको परिणाम हो। विशेषतः युवापुस्ताले परम्परागत राजनीतिक शैलीभन्दा फरक, काम गर्ने, जवाफदेही र परिणाम दिन सक्ने नेतृत्व खोजेको देखिन्छ तर निर्वाचनमा प्राप्त मत र सरकारको वास्तविक सफलता एउटै कुरा होइन। जनताले विश्वास गरेर दिएको मत काम गर्ने अधिकारसँगै कामको हिसाब माग्ने अधिकार पनि हो।

त्यसैले आजको मूल प्रश्न बालेन राम्रो प्रधानमन्त्री हुन् कि होइनन् भन्ने मात्र होइन। प्रश्न हो - के उनले नेपालको विकासका लागि स्पष्ट दृष्टिकोण प्रस्तुत गर्न सकेका छन्? के उनले त्यो दृष्टिकोणलाई नीतिमा र नीतिलाई परिणाममा बदल्न सकिरहेका छन्? प्रधानमन्त्रीको सफलता भाषण, सामाजिक सञ्जालको लोकप्रियता वा विरोधीमाथिको प्रहारले मापन हुँदैन। सफलता नागरिकको जीवनमा आएको परिवर्तनले मापन हुन्छ। रोजगारी बढ्यो कि बढेन? युवा देशमै भविष्य देख्न थाले कि थालेनन्? उद्यमीले लगानी गर्न सहज वातावरण पाए कि पाएनन्? सरकारी सेवा छिटो र पारदर्शी भयो कि भएन? भ्रष्टाचार घट्यो कि घटेन? यी नै सरकारको वास्तविक परीक्षा लिने प्रश्न हुन्।

पाँच वर्षको जनादेशको अर्थ

बालेनलाई पाँच वर्षको जनादेश दिइएको हो भने उनलाई काम गर्ने पर्याप्त अवसर दिनुपर्छ तर पाँच वर्षको जनादेशको अर्थ प्रश्न गर्न नपाइने छुट होइन। लोकतन्त्रमा सरकारलाई समय पनि दिनुपर्छ र निरन्तर जवाफदेही पनि बनाउनुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भूमिका पनि यस सन्दर्भमा महत्त्वपूर्ण छ। पार्टी नेतृत्व र सरकारको नेतृत्वबिच सहकार्य आवश्यक छ। प्रधानमन्त्रीको संवैधानिक र कार्यकारी भूमिकामा अनावश्यक हस्तक्षेप हुनुहुँदैन तर कतै कतै सुनिन्छ, ‘पाँच वर्ष उहाँले खाए हुन्छ।’ यो एकले अर्कालाई दिएको पद होइन र यो भाष्य पनि ठिक होइन।

जनताको भविष्य हेरौं, बालेन्द्र प्रधानमन्त्री हुन् भने सरकारको सफलताको जिम्मेवारी पनि उनकै नेतृत्वमा स्पष्ट देखिनुपर्छ। भविष्यमा प्रधानमन्त्री परिवर्तन गर्ने बहस उठेमा त्यो व्यक्तिको महत्त्वाकांक्षा, पार्टीभित्रको शक्ति संघर्ष वा पद बाँडफाँटबाट निर्देशित हुनु हुँदैन। देशको हितमा कुन नेतृत्वले राम्रो परिणाम दिन सक्छ, निर्णयको आधार यही हुनुपर्छ। अर्को व्यक्ति आएर राम्रो गर्छ भन्ने अनुमानकै आधारमा सरकार परिवर्तन गर्नु पनि राजनीतिक स्थिरताको समाधान होइन। नेपालले पटकपटक सरकार परिवर्तनको मूल्य चुकाइसकेको छ। अब सरकार फेरिरहने होइन, सरकारबाट परिणाम खोज्ने संस्कृति विकास गर्नुपर्छ।

नेपालको विकासको मूल प्रश्न

नेपालको प्रधानमन्त्रीले केवल राजनीतिक व्यवस्थापन गरेर पुग्दैन। देशको आर्थिक भविष्यको स्पष्ट खाका दिनुपर्छ। कृषि, पर्यटन, जलविद्युत्, उद्योग, सूचना प्रविधि र साना तथा मझौला उद्यमलाई रोजगारीसँग जोड्नुपर्छ। युवा उद्यमीलाई पुँजी, प्रविधि, बजार र नीतिगत स्थिरता दिनुपर्छ। महिलाको उद्यमशीलतालाई अर्थतन्त्रको मूलधारमा ल्याउनुपर्छ। नेपालका हजारौं युवा रोजगारी र अवसरको खोजीमा बिदेसिइरहेका छन्।

उनीहरूलाई विदेश जान रोक्ने भाषण होइन, देशमै बस्दा पनि भविष्य बनाउन सकिन्छ भन्ने विश्वास चाहिएको छ। त्यसका लागि शिक्षा र रोजगारीबिच सम्बन्ध जोड्नुपर्छ। विश्वविद्यालय, निजी क्षेत्र र सरकारबिच सहकार्य बढाउनुपर्छ। स्टार्टअप र नयाँ उद्यमलाई केवल उद्घाटन र घोषणामा होइन, वास्तविक वित्तीय तथा प्राविधिक सहयोगमा जोड्नुपर्छ।

त्यस्तै, निजी क्षेत्रलाई विकासको साझेदारका रूपमा हेर्नुपर्छ। सरकार एक्लैले रोजगारी सिर्जना गर्न सक्दैन तर निजी लगानी सुरक्षित, पारदर्शी र पूर्वानुमानयोग्य वातावरण सरकारले बनाउन सक्छ।

विपद्ले पनि सरकारको क्षमता जाँच्छ

नेपाल राजनीतिक संकटबाट मात्र होइन, प्राकृतिक विपद्बाट पनि बारम्बार प्रभावित भइरहेको छ। बाढी, पहिरो, अतिवृष्टि र हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिमले राज्यको तयारीमाथि प्रश्न उठाइरहेको छ।

राजनीतिक आन्दोलन होस् वा प्राकृतिक विपद्, दुवै अवस्थामा अन्ततः पीडा नागरिकले नै भोग्छन्। त्यसैले सरकारको क्षमता संकटको समयमा अझ स्पष्ट देखिन्छ। संकट आएपछि गरिने राहत वितरण मात्र पर्याप्त हुँदैन।

पूर्वसूचना प्रणाली, सुरक्षित बस्ती, जोखिम न्यूनीकरण, उद्धार क्षमता, पुनर्निर्माण र पीडितको दीर्घकालीन पुनर्स्थापनालाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्छ। जलवायु परिवर्तनमा कम योगदान गरे पनि नेपालले त्यसको ठुलो असर भोगिरहेको छ। त्यसैले अन्तर्राष्ट्रिय समुदायसँग नेपालको आवाज बलियो बनाउँदै जलवायु वित्त, प्रविधि र विपद् व्यवस्थापनमा सहयोग जुटाउनु पनि प्रधानमन्त्रीको महत्त्वपूर्ण जिम्मेवारी हो।

अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीति

आजका प्रधानमन्त्री केवल देशभित्रको नेता होइनन्, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधि पनि हुन्। भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित र राष्ट्रिय हितमा आधारित बनाउनुपर्छ। अमेरिका, युरोप, जापान, दक्षिण कोरिया, खाडी राष्ट्र तथा अन्य अन्तर्राष्ट्रिय साझेदारसँग लगानी, पर्यटन, प्रविधि, शिक्षा र रोजगारीका अवसर विस्तार गर्नुपर्छ। नेपालको कूटनीति केवल राजनीतिक सम्बन्धमा सीमित हुनु हुँदैन। आर्थिक कूटनीति अब नेपालको विकास रणनीतिको महत्त्वपूर्ण हिस्सा बन्नुपर्छ।

अब बालेनको परीक्षा

बालेनको ६ महिना पूरा भएको छ। अब उनलाई नयाँपन प्रमाणित गर्नुभन्दा परिणाम प्रमाणित गर्नुपर्ने समय सुरु भएको छ। उनले जनताको आवाज सुन्नुपर्छ, युवा, महिला, किसान, श्रमिक, उद्यमी, निजी क्षेत्र र सामान्य नागरिकको। आलोचना सुन्न सक्ने नेतृत्व कमजोर होइन, राष्ट्रका लागि परिपक्व हुन्छ। प्रधानमन्त्रीका रूपमा बालेन्द्र सफल भए त्यसको लाभ केवल उनलाई मात्र होइन, समग्र नेपाललाई हुनेछ। उनी असफल भए त्यसको क्षति पनि केवल एउटा दल वा व्यक्तिलाई होइन, परिवर्तनप्रति आशावादी सम्पूर्ण पुस्तालाई हुनेछ। त्यसैले अहिले प्रधानमन्त्री फेर्ने होइन, प्रधानमन्त्रीबाट परिणाम खोज्ने समय हो।

नेपाललाई अर्को शक्तिशाली व्यक्ति मात्र होइन, शक्तिशाली संस्था, स्थिर नीति र परिणाममुखी शासन चाहिएको छ। प्रधानमन्त्री बालेन्द्रले त्यो आधार निर्माण गर्न सके भने उनको पाँच वर्षको यात्रा नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय बन्न सक्छ। उनले यो अवसरको अपार सदुपयोग गर्न नसके जनताले फेरि प्रश्न गर्नेछन् - नयाँ अनुहार आयो तर नयाँ नेपाल किन आएन? अन्ततः नेपालको भविष्य कुनै एक व्यक्तिको हातमा मात्र छैन तर प्रधानमन्त्रीसँग इतिहास बदल्ने अवसर भने हुन्छ।

प्रधानमन्त्री बालेन्द्रसँग अहिले त्यही अवसर छ। यसलाई उनले देशको आर्थिक विकासको पक्षमा, जनताको अधिकारको पक्षमा कसरी अगाडि बढाउँछन् ? यस अवसरको परिणाम कस्तो आउँछ? हेर्न बाँकी नै छ।

-ज्ञवाली सामाजिक तथा आर्थिक लेखक हुन्। 
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
१८ घण्टा अघि
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ७ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस