कति सुरक्षित छ डिजिटल विश्व?
२८ चैत्र २०८१
•
९ मिनेट पाठ
कति सुरक्षित छ डिजिटल विश्व?
विश्व यतिबेला प्रविधिका कारण साँघुरिएको छ। सन् १९६९ पछि भएको इन्टरनेट प्रविधिको तीव्रतर विकाससँगै विस्तार भएको सामाजिक सञ्जालका कारण त पूरै विश्व एउटै गाउँ हुन पुगेको छ। सामाजिक सञ्जालको माध्यमबाट घरमा बसी बसी संसार भ्रमण गर्न सकिने भएको छ।




संसारभरको ताजा ताजा खबर बिहान चियाको चुट्कीसँगै ओछ्यानमै आइपुग्न थालेका छन्। विश्वको एउटा कुनाबाट अर्काे कुनाका मानिससँग जोडिएर कुरा गर्न कुनै साइत र तिथिमिति नचाहिने भएको छ। अन्तरङ्ग कुराकानी निर्धक्क गर्न सकिन्छ। विचार, भावना सेयर गर्न सकिन्छ।

युट्युबको सहायताले विश्व पढ्न सकिन्छ। टिकटकमार्फत रमाइला गफगाफ र भरपुर मनोरञ्जन लिन सकिन्छ। विद्यार्थीले घरमै बसेर विद्यालय, विश्वविद्यालय पढ्न सक्ने भएका छन्। घरमै बसेर जागिरसमेत गर्न सकिने स्थिति बनेको छ।

आजकल पैसा राख्न–झिक्न बैङ्क गएर लाइन बसिराख्नुपर्ने झण्झट गर्नुपर्दैन। यी काम मोबाइल वालेटबाटै गर्न सकिने प्रविधि विकास भइसकेको धेरै भयो। हिजोको दिनमा विदेशबाट पठाइने पैसा झिक्न आइएमइको कार्यालय खोज्दै गएर लाइन बस्नुपथ्र्याे। तर आज मोबाइल बैङ्किङबाटै सबै कारोबार गर्न सकिने प्रविधि विकास भइसक्यो। उताबाट पैसा पठाउँदा पनि अनलाइन ट्रान्सफर हुन थालिसके।

कतिपय सरकारी सेवा घरमै बसेर मोबाइल या कम्प्युटरको सहायताले हासिल गर्न सकिन्छ। नेपाल बसेर अमेरिका, अस्ट्रेलिया, क्यानडाका कम्पनीमा जागिर गर्न सकिने भएको छ। संसारका ठूला कम्पनी, कार्यालयहरूमा जागिर गर्ने कर्मचारीहरूले ‘वर्क फ्रर्म होम’ गर्न थालिसकेका छन्। यी सबै इन्टरनेट र यसका प्रडक्ट एपहरूका कारण सम्भव भएका हुन्।  

यसरी हेर्दा संसारै डिजिटलमय भइसकेको छ। र, हुँदै जाने क्रम पनि बढ्दो छ। तर यसरी सहजता केले प्रदान गरिरहेको छ त? उत्तर सहज छ– इन्टरनेटको सुविधा र यसपछि विकास र विस्तार भएको डिजिटल एप्सका कारण। हरेक सामाजिक सञ्जालमा जोडिन होस् या  

बैङ्कहरूमा खाता खोल्दा होस्, हाम्रा महत्त्वपूर्ण कागजात र जानकारी हामीले उनीहरूलाई उपलब्ध गराइरहेका हुन्छौँ। जस्तै– नागरिकता, पासपोर्ट या सवारी अनुमतिपत्र, मोबाइल नम्बर, इमेल ठेगाना आदि। हाम्रो प्र्रष्ट अनुहार देखिने फोटो पनि। अझ बैङ्कहरूमा त हामीले तीन पुस्ते विवरण नै उपलब्ध गराउनुपर्छ। यी महत्त्वपूर्ण सूचना र अभिलेखहरूको सुरक्षा कसरी होला ? गरिएला ? चोरिएला या नचोरिएला ? यसतर्फ भने हामी खासै ध्यानै दिँदैनौँ।  

हामी बेलाबेला सुन्छौँ– बैङ्क सिस्टम ह्याक भयो। बैङ्कबाट पैसा चोरी भयो। सरकारी सिस्टम ह्याक भयो। डेटा चोरी भयो। फेसबुक ह्याक भयो। गलत सन्देश पोस्ट भयो। सञ्जालमा जोडिएका साथीहरूसँग विभिन्न बहानामा पैसा
मागियो। भर्खरै रुसी ह्याकर समूह घुद्राले नेपालको ‘हेलो सरकार’ नै ह्याक गर्‍यो। उसले उक्त पोर्टलमा रहेको डाटा आफूसँग रहेको बताइरहेको छ। उक्त वेबसाइट ह्याक भएको विषयमा अध्ययन गर्न सरकारले समिति नै गठन गरेको छ।

कोही मान्छेसँग रिस उठ्यो, रिस पोख्न फेसबुकमा स्टेटस लेख्यो, गाली गर्‍यो। कसैले पोस्ट्याएको कुरा चित्त बुझेन्, नेगेटिभ कमेन्ट गर्‍यो, हराससमेन्ट गर्‍यो। आजकल झगडा गर्नका लागि बल–शक्ति चाहिँदैन। भिडन्त गर्नका लागि रणमैदान खोजिरहनु पर्दैन। फेसबुकमा लेखिने एउटा स्टेटस नै काफी हुँदै गएको छ। त्यहीँ सत्तोसराप गर्न थालिहाल्छन् मान्छेहरू।

संसार जति जति डिजिटल हुँदै गएको छ, उति उति सुरक्षा चुनौती पनि बढ्दो छ। यसका धेरै फाइदा पक्कै छन् तर यसका कारण सिर्जित मानव हिंसा, तनाव, साइबर बुलिङ, साइबर थ्रेटका कारण कतिपय मानिस पीडित पनि बन्दै गएका छन्। हनी ट्रयाप अर्काे डरलाग्दो रूप हो। मानिसलाई सामाजिक सञ्जालको प्रयोगबाट गरिने गाली बेइज्जती पनि उत्तिकै बढ्दो छ। यसले कतिपय मानिसको सहज जिन्दगीमा तनाव पनि थपेको छ।

सुरक्षाको अर्काे चुनौती भनेको व्यक्तिगत रूपमा दिइने जानकारी पनि हो। म यहाँ छु भनेर फोटो  पोस्ट्यायो। जसबाट गलत नियत राख्नेहरूलाई सहजै जानकारी लिन/दिन मद्दत पुगिरहेको हुन्छ। यस्तो सूचनाबाट पनि कतिपयको घर–सम्पत्ति चोरी भएको छ। अपहरण गर्ने र फिरौती असुल्नेहरूलाई सहजता प्रदान गरेको छ।

हिजोका दिनमा कसैको कुनै राम्रो या नराम्रो कुरा थाहा पाउन मान्छे नै सञ्चारको एक मात्र माध्यम हुनुपर्थ्याे। तर आज त्यस्तो अवस्था छैन। एउटा फेसबुक वा एक्समा राखिने पोस्टले सेकेन्डभरमै संसारले हेर्न सक्ने भएको  छ। सम्झनूस्, यदि कसैले कसैका विरुद्ध अफबाह फैलायो भने पनि उसको त्यो विषय क्षणभरमै विश्वव्यापी भइदिन्छ। आजकल मानिस त्यसरी आउने पोस्ट हेरेर नै धारणा बनाउने गर्छन्। त्यसको तथ्य परीक्षण गर्ने फुर्सद कसैमा छैन।

सहर–बजार, चोक–चौतारी, घर–कार्यालय सर्वत्र सिसिटिभी राखिन थालिएको छ। यसले क्षण–क्षणको रेकर्ड राख्छ। यस हिसावले अब मानवको गोपनीयता विस्तारै खुम्चिँदै जान थालेको छ। घुमफिर गर्न पनि समस्या हुँदै गएको छ। निष्फिक्री हिँड्न पनि अप्ठेरो बन्दै गएको छ। किनकि आजका मान्छे सहरकेन्द्रित छन्। प्रविधिमैत्री हुँदै गएका छन्।

मानव अधिकार, महिला अधिकार, भूमि अधिकार, जातीय अधिकारको विषयमा पैरवी गर्ने, आवाज उठाउने अभियन्ता, पत्रकार, लेखक आदिलाई समेत विभिन्न धाक धम्की दिने, गाली बेइज्जती गर्ने थलो पनि आजकल सामाजिक सञ्जाल र इन्टरनेटका विभिन्न एप बन्दै गएका छन्। यसैले सामाजिक सञ्जालको प्रयोग राम्रो कुराहरूमा त छँदैछ, सँगसँगै यसको नकारात्मक प्रयोगसमेत ह्वात्तै बढ्नु यही चिजको सर्जक मानव समाजका लागि गम्भीर चुनौती हो।

आजकल सामाजिक सञ्जालमा घृणा गरिने पात्रको प्रमुख स्थानमा छन्– प्रधानमन्त्री केपी शर्मा ओली। सामाजिक सञ्जालमा जताततै उनलाई गालीगलौज गरिएको देखिन्छ। अपमानित हुने शब्दहरूले निकै प्रहार गरेको देखिन्छ। उनले कहीँ कतै केही बोले, सामाजिक सञ्जालमा केही लेखे, उनको विषयमा कहीँकतै समाचार प्रकाशन भयो भने त्यो पोस्ट गरिएको सञ्जालमा क्षणभरमै गालीको वर्षा सुरु हुन्छ।

यस्तो लाग्छ, कतिपय मान्छेको पेसा नै अरूलाई गाली गर्नु भएको छ। यसरी अपशब्द प्रयोग गर्नेहरू बढी छद्मभेषी छन्। बेनामी छन्। पूरा परिचयसहित एकाउन्ट खोलेका छैनन्। सुनिन्छ, आजकल विभिन्न समूह÷निकाय आदिका साइबर सेना परिचालित छन्, जसको काम नै अरूलाई साइबर आक्रमण गर्नु हो। छाडा बोल्नु हो। मन नपरेको मान्छेलाई उछितो काट्नु हो। उसलाई उत्पीडन गर्नु हो।

ओली तिनै हुन् जो केही वर्ष पहिलेसम्म साना नानीबाबुदेखि ज्येष्ठ नागरिक उमेरसम्मकाले ‘लभ यु केपी बा’ भन्थे। जहाँ जहाँ जान्थे, सेल्फीले घेरिन्थे। तर एकाएक उनी किन आलोचित हुँदै गए त? आजकल मानिसको धैर्य र गरिने सद्भाव पनि प्रविधिको विकास सँगसँगै फेरिँदै गएको छ। त्यसका अनेकन पक्ष होलान् तर ओली नेपालको प्रधानमन्त्री हुन् र देशको दोस्रो ठूलो दल एमालेका अध्यक्ष पनि हुन्।

यति ठूलो पद र हैसियतमा पदासीन व्यक्तिलाई हरासमेन्ट गरिने गरी गालीगलौज गरिनु एक हिसाबले भन्ने हो भने उनमाथि निरन्तर डिजिटल हमला भइरहेको छ। उनको बोल्न पाउने, लेख्न पाउने हकमा समेत प्रहार भइरहेको छ।

अर्काेतर्फ, काठमाडौँका मेयर बालेन साह, धरानका मेयर हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जे (राम्रो वा नराम्रो) लेखे पनि सही थाप्ने, वाह बालेन, वाह हर्क साम्पाङ, वाह रवि दाइ भन्नेहरू बग्रेल्ती सामाजिक सञ्जालमा देखिन्छन्। उनीहरूको फ्यान फ्लोर ग्राफ उभो लाग्दो छ। तर भोलि यी पात्र पनि ओलीझैँ गाली गरिने कित्तामा नपुग्लान् भन्न सकिन्न। मन पर्दा गलतलाई पनि राम्रो देख्नेहरू रिस उठ्दा राम्रोलाई पनि गलत भन्न थालेका छन्। गुण र दोष हेरिने र सोअनुसार व्यवहार गरिने कुरा अब एकादेशको कथामा परिणत भइसकेको छ।

आजकल गाली गर्नका लागि मुखामुख गर्नुपर्दैन। स्वमय् भेटेर धारे हात लगाइरहनु पनि पर्दैन। घाउ देखिने गरी कुटाकुट गर्नु पनि पर्दैन। रगत बग्ने गरी लुछालुछ गर्नु पनि आवश्यक छैन। आजकल त फेसबुक जस्ता सामाजिक सञ्जालमा एउटा स्टेटस लेखिदिए पुग्ने भएको छ। कसैले पोस्ट गरेको फेसबुकमा एक कमेन्ट गरिदिए पुग्ने भएको छ। जसले मानिसलाई रगत आउने गरी कुटेको भन्दा बढी चोट दिन्छ।

एक क्लिक गर्दा संसारले हेर्ने सामाजिक सञ्जालमा कुनै विषय तुरुन्तै भाइरल भइदिन्छ र सत्यतथ्य खोजी गर्नुको साटो सामाजिक सञ्जालमा पोस्टिएकै भरमा व्यक्तिलाई गरिने व्यवहार फरक हुने गर्दछ। हिजोसम्म राम्रो मानिएको व्यक्ति आज कसैले फेसबुकमा गलत भनेर लेखिदिएको भरमै उसलाई गरिने व्यवहार र बोलीवचन एकाएक फेरिइहाल्छ।

संसारका सामाजिक सञ्जाल निर्माताहरूले यी प्रविधिको विकास पक्कै पनि गलत नियतले गरेका हैनन्। मार्क जुकरवर्गले फेसबुक सञ्जालको विकास २००४ को फेब्रुअुरीमा गरे भने ज्याक डोर्सी, नोह ग्लास, बिज स्टोन र इभान विलियम्सले सन् २००६ मा टुइटर स्थापना गरे। सन् २०२२ देखि भने संसारकै धनाढ्य एलोन मस्कले टुइटर खरिद गरी एक्स बनाएका छन्। युट्युब सन् २००५ मा टेभ चेन, चाड हर्ले र जावेद करिमले सिर्जना गरेका हुन् भने यसलाई सन् २००६ देखि गुगलले सञ्चालन गरिरहेको छ। टिकटक सन् २०१६ मा बाइटडान्सले विकास गरेको छोटो भिडियो प्लेटफर्म हो।  

विश्वमा अहिले ५.२४ अर्ब मानिस विभिन्न सामाजिक सञ्जालमा जोडिएका छन्। यो भनेको विश्व जनसङ्ख्याको ६३.९ प्रतिशत हो। विश्वभरमा अलिक बढी चलाउने सामाजिक सञ्जालहरूमा फेसबुक,  युट्युब, इन्स्टाग्राम, एक्स, टिकटक र ह्वाट्सएप छन्। यी सञ्जालले आजको विश्वमा सेकेन्ड सेकेन्डमा विश्व–परिवेशमा के भइरहेको भन्ने जानकारी लिन–दिन, सूचना आदान–प्रदान गर्न र एकअर्कामा सञ्चार गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। अहिले सबैभन्दा बढी युट्युबमा  ३.९ अर्ब, फेसबुकमा ३.१ अर्ब, टिकटकमा  २.०५ अर्ब, ह्वाट्सएपमा २ अर्ब, इन्स्टाग्राममा  दुई अर्ब र टेलिग्राममा १ अर्ब मानिस सक्रिय छन्।

सन् २०२५ को जनवरीसम्मको विवरणअनुसार नेपालमा एक करोड ४३ लाख मानिस फेसबुकमा जोडिएका छन्। यस्तै, टिकटकमा २२ लाख नेपाली सक्रिय छन्। नेपालमा इन्टरनेट प्रविधिको सुरुवात भएको ३० वर्ष भयो। सन् १९९४ देखि जडान सुरु गरिएको थियो। नेपालमा मुख्य गरी फेसबुक, एक्स, युट्युब, इन्स्टाग्राम र लिङ्क्डिनमा मानिस सक्रिय छन्। सामाजिक सञ्जाल प्रयोगकर्तामध्ये ९५.१८ प्रतिशत फेसबुक सञ्जालमा सक्रिय छन्।

सामाजिक सञ्जाल र डिजिटल डिभाइसहरू यतिबेला मानिसका लागि सुरक्षा चुनौती नै बन्दै गइरहेको छ। डिजिटल डिभाइसमा जोडिने सबैको व्यक्तिगत विवरण सम्बन्धित कम्पनीसँग हुन्छ। जसका कारण ह्याकरहरूले जुनसुकै बेला पनि उक्त व्यक्तिगत विवरणहरू चोरी गर्न सक्ने खतरा पनि बढ्दो छ।

हामी सुनिरहेका हुन्छौँ– बैङ्कबाट पैसा चोरी भयो। फेसबुक एकाउन्ट ह्याक भयो। गोप्य भिडियोहरू युट्युब र फेसबुकमार्फत सार्वजनिक भयो। यी विषय विश्वकै लागि एउटा गम्भीर चुनौती बन्दै गएको परिवेशमा गहन छलफल र बहस गर्न, डिजिटल सुरक्षाका लागि विश्वव्यापी पैरवी गर्न गत २२ फेब्रुअरीदेखि २८ फेब्रुअरी २०२५ सम्म ताइवानमा विश्व सम्मेलन नै भएको थियो।

सम्मेलनमा पंक्तिकार पनि सहभागिता थियो। सम्मेलनमा विश्वभरका विज्ञहरू, अभियन्ता, नीति निर्माताहरू र विभिन्न इन्टरनेट, सामाजिक सञ्जाल निर्माता कम्पनी र संस्थाहरूका प्रतिनिधि भेला भई डिजिटल अधिकार, अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता र प्रविधि शासन जस्ता महत्त्वपूर्ण विषयमा छलफल गरे।

सम्मेलनमा विश्वभरबाट झण्डै पाँच सय जना सहभागी थिए भने अनलाइन प्लेटफर्ममार्फत हजारौँ मानिस जोडिएका थिए। जसमा व्यावसायिक नेतृत्वहरू, नीति निर्माता, सरकारी अधिकारीहरू, प्राविधिक विज्ञहरू, शिक्षाविद्, पत्रकार र मानव अधिकारकर्मीहरू थिए। सबैको चिन्ता भनेको भावी दिनमा यी डिजिटल डिभाइसहरू के कसरी जनमैत्री र सुरक्षित बनाउन सकिन्छ भन्नेमै केन्द्रित थियो। डिजिटल सुरक्षा भन्नाले अनलाइन क्षेत्रमा लागू हुने मानव अधिकार हुन्। यी अधिकारले व्यक्तिहरूलाई अनलाइन क्रियाकलापमा सहभागिता, अभिव्यक्तिको स्वतन्त्रता, गोपनीयताको अधिकार, सूचनामा पहुँचको अधिकार, विनाविभेद इन्टरनेट र डिजिटल स्रोतमा पहुँच पाउने अधिकार, डेटा संरक्षण र स्वामित्व, डिजिटल समावेशिताको विषय समेट्छ।
अर्को समाचार
‘क्वाक’ पशु चिकित्सकबाट जोखिम
०९ साउन २०८२
•
४ मिनेट पाठ
‘क्वाक’ पशु चिकित्सकबाट जोखिम
‘क्वाकरी’ अर्थात् नक्कली। चिकित्सा क्षेत्रमा आर्थिक लाभ लिने ध्येयले उचित योग्यता वा इजाजतपत्रविना अभ्यास गर्ने व्यक्तिलाई चिनाउन ‘क्वाक’ शब्द प्रयोग हुन्छ। यसलाई नक्कली डाक्टर भन्न सकिन्छ। यस्ता डाक्टरले मानिसलाई मात्र होइन पशु कल्याण, खाद्य सुरक्षा र जनस्वास्थ्यमासमेत गम्भीर खतरा निम्त्याउन सक्छन्। तिनीहरूको गलत अभ्यासले जनावरमा पीडा, रोगको विस्तार र विशेषज्ञता बेगर रासायनिक पदार्थ वा औषधि प्रयोग गरी खाद्य उत्पादनमा समेत गम्भीर परिणाम निम्त्याउन सक्छ।




पशु चिकित्सामा ‘क्वाकरी’ बढ्दो संकट हो। यसले पशु स्वास्थ्यलाई त खतरामा पार्छ नै सार्वजनिक सुरक्षामा जथाभाबी गर्छ। त्यति मात्र होइन एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) बढाउन सघाउँछ। ग्रामीण क्षेत्रमा जहाँ योग्य पशु चिकित्सकहरूको अभाव हुन्छ, तिनले आफूलाई पशु चिकित्सकका रूपमा प्रस्तुत गर्छन्।

यी स्वघोषित चिकित्सकलाई सामान्यतया ढोंगी भनिन्छ। यिनीहरूले औपचारिक शिक्षा, प्रशिक्षण र नियामकको स्वीकृतिविना पशु रोगको निदान, उपचार र शल्यक्रिया गर्छन्। एन्टिबायोटिक, स्टेरोइड र अन्य औषधि तिनले जथाभाबी प्रयोग गर्दा पशु कल्याणलाई मात्र खतरामा पार्दैन मानव स्वास्थ्यमा समेत दूरगामी परिणाम निम्त्याउँछ।

दुधालु गाईको फाँचोमा पोलिरहेको हुन सक्छ। यस्तो बेला एन्टिबायोटिकले काम गर्दैन। ब्याक्टेरियाले हरेक उपचारलाई पचाइसकेको छ। यसका कारण प्रतिरोध क्षमता विकास गरिसकेको छ। पशुधनबाट उत्पादित खाना उपभोग गर्ने नौ अर्ब मानिसको संसार अहिले संकटमा छ। अब एक पटक प्रभावकारी भएका औषधिले काम नगर्ने भइसकेको छ।  

यस्तो अवस्थामा हामी कसरी पुग्यौं त ? यसको उत्तर एन्टिबायोटिकको लापरबाहीपूर्ण प्रयोगलाई मानिन्छ। यस्तो गलत अभ्यास पशुचिकित्सा क्षेत्रमा नक्कली औषधिको अनियन्त्रित प्रयोगसँग गाँसिएको छ। मानिस र पशुबिच नक्कली डाक्टरको कामलाई बुझ्नु जरुरी छ। एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) पशु स्वास्थ्यका लागि मात्र खतरा होइन; मानिसका लागि पनि उत्तिकै जोखिम छ।

पशु र मानव स्वास्थ्यमा घनिष्ट सम्बन्ध छ। विशेष गरी दूध र मासुजन्य पदार्थको उपभोग अभिन्नरूपमा जोडिएको छ। नक्कली डाक्टरद्वारा एन्टिबायोटिकको अन्धाधुन्ध प्रयोग, उचित मात्रा, निकासी अवधि, वा फार्माकोडायनामिक्स (शरीरमा औषधि प्रभाव) लाई वास्ता नगरी उपयोग गर्दा पशुजन्य खाद्य उत्पादनमा औषधिका अवशेष जम्मा हुन थाल्छन्। यी अवशेष मानिसले उपभोग गरेपछि एन्टिबायोटिक–प्रतिरोधी ब्याक्टेरियाको विकास हुन्छ। यसैले एकै पटकमा निको हुने संक्रमणको उपचार अझ गाह्रो हुन्छ। यो प्रवृत्तिलाई नियन्त्रण नगरी निरन्तरता दिइरहने हो भने एन्टिबायोटिकले प्रभावकारिता गुमाउने सम्भावना हुन्छ।

सरकारका गरिबी निवारण योजनासहित धेरै कारकले ढोंगीहरूको प्रसारलाई बढावा दिन्छन्। यस क्षेत्रमा जिम्मेवारीपूर्वक अभ्यास गर्न आवश्यक ज्ञान वा नैतिक मापदण्ड प्रदान नगरी आधारभूत पशु चिकित्सा प्राथमिक उपचारमा मानिसलाई तालिम दिने सरकारका गरिबी निवारण योजना समावेश छन्।

पशुधन व्यवस्थापनमा तीनदेखि ६ महिने प्रशिक्षण दिने सरकारी कार्यक्रमले ठूलो संख्यामा ढोंगी चिकित्सक उत्पादन गरिरहेका छन्। यिनले वास्तविक पशु चिकित्सकहरूलाई अपेक्षाकृत सहयोग गर्नुको सट्टा आफैं अनियमित अभ्यास गर्न थाल्छन्। वित्तीय लाभ लिने ध्येयले विश्वविद्यालय र तालिम संस्थानहरूले कुनै कानुनी अनुमति बिना पशुचिकित्साका क्षेत्रमा प्रवेश गर्ने डिप्लोमाधारी उत्पादन गर्छन्।  

नेपाल पशु चिकित्सा परिषद् (एनविसी) मा दर्ता पशु चिकित्सकले मात्र पशु चिकित्सा सेवा प्रदान गर्न सक्ने भनेर आदेश दिन्छ तर यी नियमहरूको कार्यान्वयनपक्ष साह्रै फितलो छ, जसले ढोंगी पशुचिकित्सक बढाउँछ।  

यस्तो संकट बढ्नुमा औषधि कम्पनी पनि उत्तिकै जिम्मेवार छन्। उत्पादन प्याकेजिङमा सरलीकृत नेपाली वा अंग्रेजीमा पशु चिकित्सा औषधिहरूमा लेबल टाँसेर, तिनीहरूले अयोग्य व्यक्तिहरूलाई पूर्ण ज्ञानविना औषधि व्यवस्थापन गर्न सक्षम भएको भ्रम सिर्जना गर्छन्।  

विश्वव्यापी मापदण्ड विपरीत पशु चिकित्सासम्बन्धी औषधिलाई वैज्ञानिक भाषामा लेबल टाँस्नु आवश्यक हुन्छ। स्थानीय औषधि प्याकेजिङमा सरलीकृत निर्देशनले ढोंगीहरूलाई एन्टिबायोटिकको दुरूपयोग गर्न सजिलो बनाउँछ, जसले गर्दा एएमआरको जोखिम अझ बढ्छ। पशु कल्याण र जनस्वास्थ्यमाथि औषधि बिक्रीको यस्तो प्राथमिकताले प्रतिरोधी ब्याक्टेरियाको फैलावटलाई तीव्र बनाउँछ।

यस सन्दर्भमा चिन्ताजनक प्रवृत्ति भनेको विज्ञानको नाममा अवैज्ञानिक अभ्यास गर्न केही इजाजत प्राप्त पशु चिकित्सकको संलग्नता हो। आर्थिक लाभका लागि केही पशु चिकित्सकले आफ्नो डिग्री र आधारभूत क्लिनिकल ज्ञान अयोग्य व्यक्तिलाई भाडामा दिन्छन् वा प्रशिक्षणविनाका सहायकहरूलाई आफ्नो व्यावसायिक आवरणमा काम गर्न तालिम दिन्छन्।

यो अभ्यासले पशु चिकित्सा सेवामा नागरिक विश्वास र पेशाको पवित्रतालाई कमजोर बनाउँछ। यिनीहरूले सामाजिक सञ्जालमार्फत भ्रम बढाउँछन्। प्रायः स्वघोषित पशु चिकित्सा विशेषज्ञहरू र सामाजिक सञ्जालमा योग्य पशु चिकित्सकहरू पनि- आफैं औषधि र गलत निदानको जोखिमलाई विचार नगरी उपचार प्रोटोकल प्रस्तुत गरिहेका देखिन्छन्। यस्ता क्रियाकलापले लापरबाहीपूर्ण तवरले औषधि प्रयोग गर्न बढावा दिन्छ।

विश्वभरका पशु चिकित्सा अभ्यासमा नक्कली पशु चिकित्सकको उपस्थिति, पशु कल्याण, खाद्य सुरक्षा र जनस्वास्थ्यका लागि गम्भीर चिन्ताको विषय हो।  
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस