किस्सा किसुनजीका
२२ फागुन २०८१
•
९ मिनेट पाठ
किस्सा किसुनजीका
नेपाली कांग्रेसका संस्थापकमध्येका एक कृष्णप्रसाद भट्टराईलाई राजनीतिमा एक इमानदार र नेपाली माटोलाई अत्यन्त श्रद्धा गर्ने नेताका रूपमा सबैले सम्मान गर्ने गर्छन्। आजीवन अविवाहित तर आफू कुमार होइन भनी विनोदप्रिय भाषा प्रयोग गर्ने उनलाई नेपाली जनताले आदरका साथ किसुनजी भनेर सम्बोधन गर्थे। उनै किसुनजीको १५ औं पुण्यतिथि परेको छ यो साता।




२०६७ फागुन २० गते राति थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा राजनेता किसुनजीको निधन भएको थियो। निधनभन्दा दुई दिनअघि सुशील कोइराला, योगप्रसाद उपाध्याय, विमलेन्द्र निधि, ओमकार श्रेष्ठ, केशरकुमार बुढाथोकी, अर्जुन खड्का, चित्रलेखा यादव, मीना पाण्डेलगायतका काङ्ग्रेस नेतागणले अस्पताल हाताभित्र रहेको देवमन्दिरमा उहाँको दीर्घ जीवनको कामना गर्दै प्रार्थनासभा गरेका थिए।

वातावरण अत्यन्तै कारुणिक थियो। कोही कसैसँग बोल्ने पक्षमा थिएनन्। किसुनजीप्रतिको त्यस्तो आदरभाव मृत्युको मुखैमा रहँदा पनि गरिनुको अर्थ उहाँ राजनीतिमा स्वच्छ छवि, कपटरहित र राष्ट्रभक्त नेताका रूपमा जन–जनमा स्वीकार्य भएर नै हो।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनको ठिक एक वर्षपछि उहाँको निधन हुनुले कांग्रेसमा अभिभावकको अभाव खड्किएको थियो। राष्ट्रिय राजनीतिमा पनि रिक्तताको आभास थियो। काल आएपछि देवमन्दिरमा कर जोडेर केही हुँदो रहेनछ। अस्पताल बाहिरपट्टि सयौं राजनीतिकर्मी, स्वतन्त्र बुद्धिजीवी, पत्रकार, लेखक, राष्ट्रसेवक कर्मचारी, कलाकार, स्वयम् चिकित्सक र नेपालस्थित कूटनीतिक नियोग प्रमुखहरू पनि उहाँको स्वास्थ्यलाभको कामना गरिरहेका थिए। तर कसैको केही सिप लागेन, ती हजारौँ शुभेच्छुक मनहरूको किसुनजीप्रतिको हार्दिकता। आखिर राति ११ः०० बजे ८६ वर्षको उमेरमा राजनेताको दुःखद निधन भयो।

यो निधनको खबर तीव्रगतिमा स्वदेश तथा विदेशमा फैलियो। उहाँको पार्थिव शरीर उहाँकै नाममा निर्मित ललितपुरस्थित बाँडेगाउँ आश्रममा लगियो। स्वदेश तथा विदेशका हजारौं शुभेच्छुकले दुई दिनसम्म पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरे।

फागुन २२ गते उहाँको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा वैदिक विधिसाथ राजकीय सम्मानसहित दाहसंस्कार गरियो। देशका सबै जिल्ला सदरमुकाममा किसुनजीको अस्तु पु¥याइयो। जिल्लाका पवित्र नदी तथा जलाशयमा पनि अन्तिम संस्कार गरियो। कांग्रेस पार्टीले डोटी जिल्लाका लागि पंक्तिकारलाई पठायो।

श्रद्घाञ्जली सभा दीपायलमा पार्टी कार्यालयमा गरेर अस्तु हिमनदी सेतीमा बगाउँदा किसुनजीका सच्चा अनुयायी पूर्वमन्त्री सिद्धराज ओझा र डोटी कांग्रेस नेता भरत खड्का भक्कानिएर रुनुभयो। सेती नदीकिनारमा उपस्थित लोकतन्त्रप्रेमी हजारौँका आखाँमा आँसु छचल्किरहेका देखिन्थे। केवल सुदूरपश्चिम क्षेत्रमात्र नभएर पूरै देश शोकमा डुबेको थियो त्यतिखेर। जसरी प्रथम जननिर्वाचित प्रम बिपी कोइराला २०३९ सालमा, २०४६ सालका सर्वोच्च कमान्डर गणेशमान सिंह २०५४ सालमा र दासढुंगा दुर्घटनामा निधन हुनुभएका एमालेका महासचिव मदन भण्डारीको २०५० सालमा पूरै देश शोकमग्न भएको थियो।

किसुनजीको पूरा जिन्दगी राजनीतिक र आध्यात्मिक चिन्तनमा बितेको पाइन्छ। १९८१ पुस ८ गते वनारसमा जन्मेका उहाँ युवा अवस्थामा  सन् १९४२ मा भारतीय स्वतन्त्रता संग्राममा भागलिएर कारागारमा थुनिनुभयो। वनारसस्थित भारतीय हिन्दु विश्वविद्यालयमा राजनीतिशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गर्नुभयो तर स्नाकोत्तर तह उत्तीर्ण गर्न राजनीतिका कारण भ्याउनुभएन। सन् १९४५ मा हिन्दु विश्वविद्यालयमा नेपाल छात्रसंघ नामक संगठनको उहाँ उपाध्यक्ष बनेर नेपाली विद्यार्थीलाई नेपालमा राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय सहभागिता जनाउनका लागि नेतृत्व गर्नुभएको थियो।

२००३ सालमा भारतको कोलकत्तामा स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेस पार्टीको गठनपश्चात् संगठनमन्त्रीको पद सम्हाल्नुभयो। किसुनजी, देशमा प्रजातन्त्र आगमनपश्चात् बिपी कोइराला र सुवर्णशमशेरको सल्लाह मुताविक २००८ सालमा सल्लाहकारसभा अध्यक्ष बन्नुभएको थियो।

२०१५ सालको प्रथम संसदीय प्रणालीअन्तर्गतको चुनावमा गोरखाबाट काङ्ग्रेसको उम्मेदवार भएर उहाँ पराजित हुनुभयो। २०१६ सालमा प्रथम जननिर्वाचित प्रम बिपी कोेइरालाको मन्त्रिमण्डल बन्यो। उहाँ भने प्रथम सभामुखको भूमिकामा रहनुभयो। तत्कालीन राजा महेन्द्रले प्रम बिपी कोइरालाको सरकारलाई अपदस्थ गरी एकदलीय पञ्चायत लागु गरेपछि शीर्षस्थ सबैनेता कारागारमा थुनिनुभयो।

प्रजातन्त्र पुनर्बहालीका लागि २०१६ देखि २०४६ सालसम्म पटक–पटक गरी ललितपुरस्थित नक्खुलगायत विभिन्न कारागारमा १४ वर्षसम्म थुनिनुभयो। काठमाडौंको चाक्सीबारीस्थित लौहपुरुष गणेशमान सिंहको निवासमा पञ्चायतविरुद्ध अन्तिम लडाइँ लड्दा २०४५ फागुनमा राजाबारे किसुनजीले ‘राजा ! नेपाली युवाहरूलाई कमजोर नठान, पञ्चहरूले सरकारको रक्षा गर्ने छैनन्। यी तरुण युवा जमातले राजसंस्थालाई चीरकालसम्म बचाइराख्नेछन् तर राजा स्वयम्ले आफ्नो भुल स्वीकार्नुपर्‍यो’ भनी सम्बोधन गरेको दस्ताबेज ऐतिहासिक थियो। हुन पनि किसुनजीकै हातबाट त्रिपुरेश्वरमा नेपाल तरुणदल गठन भएको थियो भने २०२७ वैशाख ६ गते कांग्रेसको भगिनी संस्था नेपाल विद्यार्थी संघ स्थापना भयो।

बिपी कोइरालालाई राजनीतिका आदर्श गुरु मान्ने किसुनजी २०४६ सालका सर्वोच्च कमान्डर गणेशमानको सिफारिसमा तत्कालीन राजा वीरेन्द्रबाट अन्तरिम कालको प्रधानमन्त्री बन्नुभयो। भट्टराईले २०४७ सालमा संविधान जारी गरी २०४८ सालमा आमनिर्वाचन शान्तिपूर्णतवरले सम्पन्न गराउनुभयो।

यसबारे पत्रकारको एउटा प्रश्नको जवाफमा संविधानविद् दमननाथ ढुंगानाले भन्नुभएको थियो– यदि किसुनजीबाहेक दोस्रो व्यक्ति प्रधानमन्त्री भएको भए २०४७ को संविधान र २०४८ को निर्वाचन दुवै अपूरो नै हुने थियो।

हुन पनि किसुनजीमा कूटनीतिक चातुर्य, विनोदप्रिय बोली, अत्यन्तै जटिल विषयवस्तुलाई पनि सरल तरिकाले सम्पन्न गर्ने शैली, उच्चतम मानवीय गुण र भगवानप्रतिको अटुट आस्था थियो। दया, करुणा र लोकतन्त्रप्रतिको अगाध आस्थाका कारण किसुनजी राजनेताका रूपमा स्थापित हुनुभयो।

आफू प्रम रहँदा काठमाडौँको संसदीय चुनाव २०४८ मा उहाँ मदन भण्डारीसँग झिनो मतले पराजित हुनुभयो। मतपरिणाम स्विकार्दै प्रधानमन्त्री निवास बालुवाटारबाट छाता र सानो बाकस आफैँले बोकेर बाहिरिनुभयो। ललितपुरको कुपण्डोलस्थित भान्जाको घरमा भेट्न पुगेका सयौँ शुभेच्छुकलाई हाँसीहाँसी चुनावमा हार/जित भइरहन्छ, दुःख कसैले मान्नु हुँदैन भन्नुभयो। त्यसपटक ११४ सिटमा विजयी काङ्ग्रेसमा सन्तनेता नअटाउनु अरूको दोष नभएर स्वयम् कांग्रेसीजनको गम्भीर भुल थियो।

यसैगरी उपनिर्वाचन २०५१ मा पुनः काठमाडौँ एकबाट प्रत्यासी बन्दा विद्यादेवी भण्डारीसँग पनि थोरै मतान्तरले पराजित बन्नुभयो। अरू जनताले मत खसाले पनि केही कांग्रेसी मतदाताले ‘माथिको आदेश’ मान्दै जानीजानी किसुनजीका पक्षमा मत नदिनु देशमा दुर्गति निम्त्याउनुबाहेक अरू विषय थिएन।

काठमाडौँको उत्तरपूर्वी क्षेत्र नाङ्ग्लेभारे, गागलफेदीलगायतका बस्तीमा कांग्रेसभित्रकै केही नेता र समूहको ‘भट्टराई हराऔं’ भन्ने ताण्डव नृत्य प्रस्टै देखिएको थियो। दुई पटक काठमाडौंको संसदीय निर्वाचनमा पराजित भएपछि सन्तनेता भट्टराईले हाँस्दै भन्नुभएको थियो– कांग्रेसले कांग्रेसलाई नै हराउँछ, यो नौलो कुरा होइन तर मेरो भाग्यले एकपटक जिताउनेछ। हुन पनि २०५६ सालको आमनिर्वाचनमा भट्टराईले पर्सा जिल्लाबाट उम्मेदवारी दिनुभयो र भारी मतले विजयी हुनुभयो। त्यसबेला तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले चुनावी दौडाहामा भावी प्रम कृष्णप्रसाद भट्टराई भन्दै कांग्रेसका पक्षमा मत माग्दै देशव्यापी भ्रमण गर्नुभयो। त्यो कुरालाई मनन गर्दै किसुनजी बेलाबेलामा हाँस्ने गर्नुहुन्थ्यो।

हो, गिरिजाबाबुले भने जस्तै सन्तनेता भट्टराई २०५६ सालको चुनावपछि प्रधानमन्त्री बन्नुभयो। काठमाडौँवासीलाई काकाकुल बन्न नदिन मेलम्ची खानेपानीको अवधारणा ल्याउनुभयो। देशभरका जिल्ला सदरमुकाममा सडक सञ्जाल र अस्पताल निर्माणको योजना ल्याउनुभयो। युवाहरूलाई देशमा नै काम दिलाउन र गरिब किसानलाई राहत दिन युवा र गरिब किसानसँग विश्वेश्वर नामक कार्यक्रम ल्याउनुभयो।

अन्तर्राष्ट्रिय स्तरमा नेपालको कूटनीतिक सफलतातिर उन्मुख गराउँदै हुनुहुन्थ्यो, त्यही बेला कांग्रेसमा शीतयुद्ध सुरु भयो। सभापति कोइरालाले देशमा कांग्रेस सरकारको अनुभूति नभएको र मूर्दा शान्ति मात्र छाएको भन्नुभयो। जुन भनाइहरू प्रजातन्त्रका लागि अपाच्य र इमानदार नेताविरुद्ध कटु शब्द मात्र थिए। सन्त नेता कृष्णप्रसाद भट्टराईलाई यी बोलीले पोल्यो होला सायद।

वर्ष दिन नपुग्दै उहाँले जनताका नाममा भीम मल्ल, भीमसेन थापाकी पत्नीको उदाहरण दिँदै निकै भावुकतापूर्वक संसद्को दुवै सदन सिंहदरबार ग्यालरी बैठकमा १८ मिनेट लामो सात पृष्ठको लिखित सम्बोधन गर्नुभयो र प्रम पदबाट राजीनामा दिनुभयो। एकातिर विद्रोही नेकपा माओवादीको सशस्त्र युद्ध चलिरहेको थियो। अर्कोतिर छिमेकी भारत भट्टराईको प्रधानमन्त्रित्वलाई शंकित ढंगले हेरिरहेको थियो। बडो अनौठो थियो र छ नेपालको राजनीति।

संयुक्त राष्ट्र संघको महासभामा भागलिन पुग्नुभएका प्रम भट्टराईको सम्बोधन आफैंमा गरिमामय रहेको धेरै देशका प्रतिनिधिले बताएका थिए। बिबिसीले यसबारे संक्षिप्त अन्तर्वार्ता लिएको थियो। अन्तर्वार्ताका क्रममा भट्टराईले देश सानो र ठुलो हुनुमा अर्थ राख्दैन, स्वतन्त्र राष्ट्र हुन र लोकतन्त्रमा विश्वास लिनुमा अर्थ राख्छ भन्नुभएको थियो। त्यहाँबाट आफूसँग बचेको  २५० अमेरिकी डलर उहाँले राज्यकोषमा जम्मा गर्नुभएको थियो।

यसैगरी भारत भ्रमणमा जाँदा त्यहाँका पत्रकारले भारतबाट हतियार खरिद नगरेर किन अन्तबाट गरेको भनेर प्रश्न सोधेका थिए। जवाफमा प्रम भट्टराईले नेपालले जहाँ सस्तो र राम्रो पाउँछ, त्यहींको सामान खरिद गर्छ, बेल्जियममा निर्मित हतियार नेपाल सरकारले त्यही कारण खरीद गरेको हो भनी हाँसीहाँसी चोटिलो जवाफ दिनुभएको थियो। किसुनजी बौद्धिक, चनाखो, निर्भिक र निडर नेता भएका कारण विदेशका र स्वदेशका बौद्धिक स्तरका पत्रकारहरू उहाँसँग प्रश्न गर्न रुचाउँये।

२०३४ देखि पार्टीको कार्यबाहक सभापति हुँदै २०४८ सालमा कांग्रेसको आठौं महाधिवेशनमा पनि सर्वसम्मत सभापति चुनिएपछि २०५३ सालसम्म सो पदमा रही पार्टीलाई गतिशील बनाउनुभएको थियो। उहाँसँगका केही रोचक पक्ष जोसुकैलाई पनि घत लाग्न सक्छ। २०४७ सालमा दशरथ रंगशालामा कांग्रेस पार्टीको भेला आयोजना गरिएको थियो। जिल्लाका सभापतिहरूले आफूले पनि बोल्न पाउनुपर्ने आवाज उठाएपछि सबैले बोल्न पाउनुहुन्छ, धैर्य गर्नुहोला भन्नुभयो। कांग्रेसले सम्बोधन गर्ने शब्द ‘जय नेपाल’ भन्दै अलि ठुलो स्वरमा सुनाउनुभयो र सबैलाई सोही वाक्य भन्न लगाउनुभयो। उपस्थित सबैले ‘जय नेपाल’ भने। यसरी ‘तपाईंहरू सबैले बोल्न पाउनुभयो धन्यवाद’ भन्दै गर्दा हजारौं उपस्थित वर्गमा हाँसोको  फोहोरा छुट्यो।

त्यति मात्र होइन, ‘८४ वर्ष पुग्नुभयो, अब ८४ पूजा गर्नुपर्छ किसुनजी’ भनी केही कार्यकर्ताले जिज्ञासा राख्दा ‘हेर बाबु हो, म एक सय ६८ महिना अर्थात् १४ वर्षसम्म जेल बसेकाले मेरो ८४ पूजा भएको छ’ भन्नुभएको पनि स्मरणीय छ। श्रीमद्भागवत्गीताका १८ अध्याय संस्कृतका सबै श्लोक कण्ठस्त पारेका किसुनजी गीताले बताएको ज्ञान लागु गर्न सकेमा मानिस सुखी हुन्छ भन्नुहुन्थ्यो।

कर्मयोग, ज्ञानयोग र संन्यासी हुन सके जीवनमा पाप, लोभ र मोहले प्रवेश पाउँदैन भन्ने तर्क गर्नुहुन्थ्यो। राजनीति, आध्यात्मिकता र सामाजिक परिवेशका ज्ञाता भट्टराई युवा अवस्थामा सफल पत्रकार पनि हुनुहुन्थ्यो। सोभियत संघको कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव निकिता ख्रुस्चेभको अन्तर्वार्ता लिने प्रथम विदेशी पत्रकार पनि हुनुहुन्थ्यो किसुनजी।

उहाँ परमधाम भएको १५ वर्ष पुग्यो। उहाँले सिंचेको पार्टी नेपाली कांग्रेसमा भागबन्डाको अराजकताले चरम सीमा नाघेको छ। गुट/उपगुटका कारण नेता/कार्यकर्तामा द्वापर युगको यदुवंशी परिणति भित्रन लागेको छ। नैतिकता, इमानदारी र पार्टीको सिद्धान्तलाई धेरैले खोलामा बगाएको प्रतीत भइरहेको छ। आफूलाई लोकतान्त्रिक पार्टीको कार्यकर्ता सम्झने कांग्रेसीजनले थोरै भएपनि किसुनजीको आचरण अवलम्बन गर्नुपर्ने बेला भइसकेको छ। 
अर्को समाचार
अन्तर्देशीय विपतबाट नेपालले के सिक्ने?
२९ असार २०८२
•
५ मिनेट पाठ
अन्तर्देशीय विपतबाट नेपालले के सिक्ने?
गत मंगलबार नेपालले अन्तर्देशीय विपत् बेहोर्‍यो। अर्थात् देशको उत्तरी सिमाना रसुवा केरुङ नाकामा एक्कासी बाढी आयो। यस्तो बाढी के कारणले आयो भन्ने प्रश्न केही दिन अनुत्तरित रह्यो। कसैले भने नेपालको उत्तरी सिमाना तिब्बतमा पानी पर्‍यो र त्यो पानी बाढीको रूपमा आयो। कसैले भने हिमताल फुट्यो होला। नेपालले यसको कारण पत्ता लगाउन सकेन। वास्तवमा नेपालको सामर्थ्य, प्रविधि अनि भौगोलिक जटिलता, हामीसँग भएको प्रविधिक क्षमताको अभाव खट्कियो।




नेपालपट्टिका भूभागतिर रहेको सुक्खा बन्दरगाहामा राखिएका पुल, पार्किङमा राखिएका सामग्री, गाडी, कन्टेनर आदि मालवस्तुलाई बाढीले बगायो। यस विपत्तिबाट नेपालले अर्बभन्दा बढीको धनजनको क्षति बेहोर्नुपर्‍यो। उत्तरपट्टि रहेको चीनको सिमाना र भूभागमा बाढीको खासै ठूलो प्रभाव देखिएन। नेपाल–चीन सीमा क्षेत्रमा पर्ने रसुवागढी केरुङ वारपार गर्ने ल्हेन्दे खोलाको पुल पूर्णरूपमा बगायो।

तिब्बतबाट बगेर आउने ल्हेन्दे खोलाले विकराल रूप लिँदा नेपालपट्टिको सुक्खा बन्दरगाहा र पुललगायत पार्किङमा राखिएका गाडी र मालसामान मात्र होइन हाइड्रोपावरमा समेत क्षति पुर्‍यायो। १८ जना मानिस नै बेपत्ता भए। अहिलेसम्म तीमध्ये तीन जनाको शव भेटिएको छ।

नेपालमा हरेक वर्ष बाढीजन्य विपत् आइरहन्छ तर राज्यसँग अझै बाढी पहिरो प्रकोप सम्बन्धी दूरगामी वैज्ञानिक प्रभाव न्यूनीकरण गर्ने ठोस कार्यक्रमहरू तय गरिएको देखिँदैन। राज्यसँग भएको एउटै कार्यक्रम हो विपत् निम्तिएपछि त्यसका लागि छानबिन समिति गठन गर्ने। सरकारका उच्चपदस्थ व्यक्तिहरू हेलिकप्टर चढेर बाढीग्रस्त विपत्क्षेत्र अनुगमनका लागि जान्छन् र ठाडो आदेश दिन्छन् अनि फर्किन्छन्।

भर्खरै जलवायु परिवर्तन र यसका असरमा केन्द्रित हुँदै हिमताल सम्बन्धी अध्ययनका लागि ठूलो धनराशि नेपालले प्राप्त गरेको छ। यसरी प्राप्त गरेको धनराशि राज्यले सम्यक रूपमा अध्ययन र अनुसन्धानका लागि खर्च गर्ने र त्यो अध्ययनका निकष्कर्षबाट आउने उपलब्धिलाई व्यावहारिक रूपमा अपनाउने हो भने हरेक वर्ष हुने यस प्रकारका विपत्तिबाट देशलाई जोगाउँदै अघि बढ्न सकिन्छ।

विपतबाट सबैभन्दा बढी प्रभावित हुनेमा निम्न आय वर्गका मानिसहरू पर्छन्। अभावको कारण निम्न आय भएका नागरिक यथास्थिति र जोखिमयुक्त स्थानमा बसोवास गरिरहेका हुन्छन्। उनका आवाज कुनै पनि राज्य संयन्त्रले सुन्दैन। सरकार बोलाउँदा त सुन्दैन आफैं अग्रसक्रिय भएर नागरिक समस्या सम्बोधन गर्ला भनेर सोच्नु नै गलत हुन्छ।

वर्तमान अवस्थामा देशमा तीन तहको शासन प्रणाली छ। स्थानीय, प्रदेश र संघ। यी कुनै पनि सरकारले विपत्सँग जुझ्ने प्रभावकारी पूर्व तयारी र प्रष्ट योजना अहिले प्रस्तुत गरेको देखिँदैन। यस्तो अवस्थामा जनता मर्नुबाहेक अर्को कुनै विकल्प हुने कुरै भएन।

पूर्व तयारीका नाममा सेना र प्रहरीलाई खोला र पोखरीमा विपत् सम्बन्धी कार्यक्रम गराउने गरिएको छ। यही हो हाम्रो तयारी? यसरी नै विपत्सँग जुझ्न हामी सक्षम हुन्छौं? प्रत्येक नागरिकलाई विपत्सम्बन्धी ज्ञान, सिप र तालिम दिनु आवश्यक छ।

हाम्रो जस्तो भूवनोट भएको देश उत्तरतर्फ अग्लाअग्ला हिमशृंखला जहाँ असंख्य हिमताल र पहिरोहरू छन्। दक्षिणतर्फ समथल तराइको भूभाग छ। यस्तो अवस्थामा पहाडमा पानी पर्दा तराईमा बाढी आउनु वा हिमताल फुट्दा डुबानको समस्या हुनु र बाढी आउनु हाम्रो लागि कुनै नौलो कुरा होइन।

यस्तो अवस्थामा राज्यले नीतिगत तहमै विशेष कानुन र योजनाहरू तत्काल बनाउनु आवश्यक छ। स्थानीय तहमा यस सम्बन्धी प्राविधिकहरू भरपुर मात्रामा परिचालन र प्रयोग गर्नु आवश्यक छ। विशेष कार्यक्रम तय गर्नु जरुरी छ। हरेक वर्षको विपत्तिले हामीलाई केही न केही नयाँ पाठ सिकाइरहेको छ तर हामी देखे पनि नदेखे जस्तो गरिरहेका छौं। यसले गर्दा पनि विपत् हाम्रा लागि काल बनेर आइरहेको छ।

राज्यले तत्काल विपत्पूर्वको तयारी, जोखिमयुक्त ठाउँको पहिचान र अहिले नेपालले बेहोरिरहेको अन्तर्देशीय विपत्बारे आधारभूततहबाट विपत् सम्बन्धी अध्ययन गर्नु आवश्यक छ। यस्ता विपत्सँग सम्बद्ध विषयमा राज्यले गर्नुपर्ने कूटनीतिक पहललाई पनि तत्काल सुरु गर्नुपर्छ। पीडामा भएका नागरिक, असहाय र टुहुरा बालवालिकाको जिम्मेवारी अन्ततः राज्यकै हो। बाढीजन्य विपत्ले नेपालपट्टि भएको क्षति हेर्दा हाम्रो अध्ययनको स्तर थाहा हुन्छ। हाम्रा सडक, सरकारी भवन, सुक्खा बन्दरगाहा बनाउँदा र भौगोलिक अध्ययन गर्दा विज्ञहरूले कुन तहको अध्ययन गर्दा रहेछन् भन्ने तथ्य उजागर गरिदिएको छ।

हरेक वर्ष विपतले ठूला पाठ सिकाइरहेको छ तर सुनिदिने कसले? व्यवहारमा उतारी दिने कसले? अहिलेको अहम् प्रश्न यही नै हो। हामीले अध्ययन र अनुसन्धानमा कति खर्च गर्नुपर्ने रहेछ भन्ने कुरा पनि चीनपट्टिको प्रभाव न्यूनीकरण कम र नेपालप्रतिको प्रभाव र असरलाई तुलना गरेर हेरे पुग्छ।

एक ठाउँमा घटेको घटनाले अर्को ठाउँमा प्रत्यक्ष असर र प्रभाव पारेको हुन्छ। यस्तो खालको विपत्तिलाई सामान्य तवरले हेर्नुहुँदैन। हाम्रा हिमाली क्षेत्रमा ११०० भन्दा धेरै हिमतालहरू छन्। त्यसमध्ये ३० वटा तालहरू अति जोखिमयुक्त घोषणा भइसकेका छन्। निकट भविष्यमा ती ताल विस्फोटन हुँदा यस्तै खालको विपत्ति निम्तिन सक्छ।

यस्ता विपत्ति आए कसरी क्षति घटाउने? के कस्ता पूर्व तयारी गर्ने? राज्य र सम्बद्ध निकायको ध्यान यथाशीघ्र जानु आवश्यक छ। हाम्रा हिमालहरूमा बनेका तालहरू विभिन्न कारणले गर्दा जोखिममा परेका छन् चाहे त्यो भूकम्पीय दृष्टिकोणले होस् वा जलवायु परिवर्तनको कारणले नै किन नहोस्। हिमालयमा हिउँ पग्लेर क्षमताभन्दा बढी पानी त्यस तलाउमा जम्मा हुनु वा मनसुनजन्य गतिविधिहरू तीव्र रूपमा हिमालयमा बढेर पानी पर्नु। कारण जे भए पनि यिनले निम्त्याउने भनेकै विपत्ति हो। त्यसैले राज्यले आफ्नो सुझबुझ र जनशक्तिको भरपुर उपयोग गरी न्यूनीकरण, अध्ययन अनुसन्धान र पूर्व तयारीमा लाग्नु नै आवश्यक छ। त्यहाँको भौगर्भिक अवस्था एउटै छ। दुवै तर्फ एउटै भूगोल छ तर नेपालपट्टि धेरै नोक्सानी भएको छ। चीनपट्टिको भूभागमा कम क्षति भएको छ। यसबाट के बुझ्न सकिन्छ भने हामीले गर्ने इन्जिनियरिङ डिजाइन वा अध्ययनका पाटाहरूमा हामी कतै चुकेका छौं। हामीले धरातलीय यथार्थलाई बुझ्न नसकेकै हो भनेर बुझ्न ढिलो गर्नु हुँदैन।

हामीले बनाउँदै गरेका भौतिक संरचना जोखिमयुक्त स्थानमा बनाइएको छ कि? जोखिमको पर्याप्त विश्लेषण गरिएन कि? हाम्रा संरचनाले थाम्न सक्ने भारको विश्लेषण गर्न सकिएन कि? स्थानीय नागरिकलाई बाढी आएको सूचना मात्र दिनका लागि तत्काली केही गर्न सकिन्छ कि? यस्ता विविध प्रश्नले हामीलाई विपत्जन्य क्षति घटाउन मदत गर्नेछन्। यी सबै प्रश्नमा स्थानीय नागरिक र सरकारको हातेमालो हुन सके रामवाण उपाय निस्कन सक्छ भन्ने कुरा सरकारले बिर्सनु हुँदैन।

(लेखक भण्डारी भौगर्भिक इन्जिनियर हुन्।)
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस