संघीयतामा भ्रष्टाचारको धमिरा
१८ पौष २०८१
•
९ मिनेट पाठ
संघीयतामा भ्रष्टाचारको धमिरा
संघीयता केन्द्रीकृत शासनको विकल्पमा नेपालले अपनाएको शासन प्रणाली हो। जसले कुनै भूगोलविशेष, वर्गविशेष र पहुँचविशेष क्षेत्रमा थुप्रिने स्रोतलाई विकेन्द्रीकरण गर्ने ठानिन्छ। साधन र स्रोतको उपयोग समाजका भुइँ तहसम्म पुग्ने र आम्दानीको प्रतिफल सबैसामु पुग्ने मान्यता यसको हुन्छ। यही कारण पनि संघीयताको माग आफू पछाडि परेको ठानेकाले मात्र हैन, समता र समानताको वकालतकर्ताहरूले पनि गर्दै आएका हुन्।




विडम्बना, नेपाल संघीयतामा प्रवेश गरे पनि यी सबै मान्यता अंगीकार गर्न सकेको छैन। अझै पनि कतिपय नेता र उच्चपदस्थ कर्मचारीमा केन्द्रीयताकै धङधङी बाँकी छ भने अर्कोतर्फ विकेन्द्रित अधिकार र स्रोतको परिचालन तथा उपयोग पनि सङ्घीय शासन प्रणालीका मूल्यमान्यताअनुसार हुन सकेको छैन। जसले गर्दा कतिपय अवस्थामा हामी पुरानै शासन शैली अपनाइरहेका छौँ कि सङ्घीय भन्ने द्विविधाको स्थितिसमेत उत्पन्न हुने गरेको छ।

यस्तो अवस्थाले अहिले मुलुकमा कायम सङ्घीय व्यवस्थालाई कमजोर बनाइरहेको छ। यसरी कमजोर बनाउने कारक धेरै छन्। यो प्रणाली मन नपराउनेदेखि यसको जय/जयकार गर्नेसम्मले जानीनजानी संघीयताविरुद्ध धमिराको काम गरिरहेका छन्। यस्ता विभिन्न कारकमध्ये स्थानीय तह मुख्यरूपमा देखापरेको छ। स्थानीय तहले कसरी संघीयताविरुद्ध खिया लगाउने काम गरिरहेका छन् भन्नेमा यो लेख केन्द्रित छ।

बढ्दो खिया

स्थानीय तह संघीयताको मुख्य जग हो। स्थानीय जनताका दैनन्दिनका समस्या पहिचान गर्ने, त्यसलाई उपयुक्ततवरले बुझ्ने र समाधानसमेत गर्ने हैसियत भएकाले स्थानीय तह सर्वसाधारणको सबैभन्दा नजिकको सरोकारवाला निकाय हो। जसले आफ्नो क्षेत्रका जनताको समस्या पर्गेल्नेदेखि समाधानको मार्ग पहिल्याउनेसमेतको अधिकार मात्र पाएको छैन, त्यसका लागि नीति/नियम बनाउने र आर्थिक जोहो जुटाउने अनि खर्चनेसमेतको अख्तियारी पाएको छ। त्यसैले पनि यो तहलाई घरआँगनको सरकार भनिएको छ। तर, यही स्थानीय सरकार पछिल्लो समय बदनाम हुने क्रम बढ्दो छ।

मुलुकलाई सिध्याउन क्यान्सरको काम गरिरहेको भ्रष्टाचारको जरो सबैभन्दा बढी स्थानीय तहमै गडेको देखिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८०/८१ मा भ्रष्टाचारविरुद्ध ३६,१८६ (अघिल्लो वर्ष सरेकोसमेत) मुद्दा दर्ता भएकामा स्थानीय तहविरुद्ध मात्र १९,१०६ वटा थिए। यो भनेको ५२.८० प्रतिशत हो। मुलुकका बाँकी सबै निकायभन्दा स्थानीय तहमा २.८० प्रतिशत बढी भ्रष्टाचारसम्बन्धी मुद्दा पर्नुले हाम्रा स्थानीय सरकार कति दुर्गन्धित छन् भन्ने थाहा पाउन सहज हुन्छ।

आर्थिक वर्ष २०८०/८१ मा गैरकानुनी लाभ हानिसम्बन्धी मुद्दाका प्रतिवादी १०२९ जना रहेकामा स्थानीय तहसँग सम्बन्धित मात्र २८९ जना थिए। प्रतिवादीमध्ये १०४ जना त स्थानीय जनप्रतिनिधि थिए। यो तथ्याङ्कले देखाउँछ कि स्थानीय तहमा भ्रष्टाचार बढ्दो छ। जसमा प्रशासनिक नेतृत्व अर्थात कर्मचारी मात्र नभएर राजनीतिक नेतृत्व अर्थात जनप्रतिनिधि पनि उत्तिकै संलग्न छन्। यसले भ्रष्टाचारमा हुने मिलेमतो पुष्टि गर्छ।

संघीयतालाई भ्रष्टाचाररूपी खियाले हरेक वर्ष कसरी सिध्याइरहेको छ भन्ने थाहा पाउन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पछिल्ला केही प्रतिवेदनका तथ्याङ्क नै काफी छन्। जस्तो- आर्थिक वर्ष २०७४/७५ मा १८.२ (उजुरी १९,४४८), ७५/७६ मा  २६.८७ (उजुरी २४,०८५), ७६/७७ मा ३०.०७ (उजुरी २५,१५२), ७७/७८ मा ३२.७२ (उजुरी २२,६२५), ७८/७९ मा ३३.१४ (उजुरी २४,३३१), ७९/८० मा ३५.९५ (उजुरी २०,९०५) र २०८०/८१ मा ३८.९१ प्रतिशत  (उजुरी २६,९१८) उजुरी स्थानीय तहविरुद्ध परेका थिए। आर्थिक वर्ष २०८०/८१ मा भने अघिल्लो आर्थिक वर्षबाट सरेकासमेत गरी ५२.८० प्रतिशत (जुरी ३६,१८६) मुद्दा स्थानीय तहसँग सम्बन्धित छन्।

यो तथ्याङ्कले नै पुष्टि गर्छ कि हाम्रा स्थानीय तहले गर्ने भ्रष्टाचारको ग्राफ हरेक आर्थिक वर्ष उक्लँदो छ।

केन्द्रमा मधेस

विपन्नता, अशिक्षा र दण्डहीनता भ्रष्टाचारका लागि ऊर्वर भूमि हुन्। जस्तो– गरिबी दर मधेस प्रदेशमा २२.५३ प्रतिशत छ जबकि नेपालको २०.२७ प्रतिशत छ। मधेसको ग्रामीण क्षेत्रमा त यस्तो दर अझ बढी अर्थात् २४.९६ प्रतिशत छ।

त्यसैगरी काठमाडौँ उपत्यकाका बासिन्दाले अन्य क्षेत्रका बासिन्दाले भन्दा बढी मूल्य  (१२९,९३४ रूपैयाँ) मा न्यनूतम आवश्यकता पूरा गरिरहेका देखिन्छ भने मधेस प्रदेशको ग्रामीण क्षेत्रमा सबैभन्दा कम (४७,३४४ रूपैयाँ) मा। मधेस प्रदेश यही कारण भ्रष्टाचार गर्न उपयुक्त थलो सावित हुँदै आएको छ। मुलुकका अन्य प्रदेशका स्थानीय तहमा पनि व्यापक अनियमितता भएका छन् तर तुलनात्मकरूपमा हेर्दा यो मामलामा मधेस प्रदेशलाई उछिन्ने आँट कसैले गर्न सकेका छैनन्। जसलाई तथ्य र तथ्याङ्कले पुष्टि गर्दै आएका छन्।

आर्थिक वर्ष २०८०/८१ मा परेका भ्रष्टाचारविरुद्धका मुद्दामध्ये सबैभन्दा बढी ६,२६३ वटा मधेस प्रदेशमा थियो। त्यसैगरी सबैभन्दा बढी उजुरी परेका १० स्थानीय तहमध्ये सात वटा त मधेस प्रदेशकै छन्। जसमा बाराको पचरौता नगरपालिका र सुवर्ण गाउँपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, पर्साको छिपहरमाई गाउँपालिका, कपिलवस्तुको कृष्णनगर नगरपालिका, महोत्तरीको जलेश्वर नगरपालिका र रौतहटको राजपुर नगरपालिका छन्। यतिसम्म कि स्थानीय तहको चुनाव भएको डेढ वर्ष पनि नपुग्दै सप्तरीको बोदे बर्साइन नगरपालिका, राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिकाका प्रमुखर विष्णपुर गाउँपालिकाका अध्यक्ष भ्रष्टाचारविरुद्ध मुद्दा दायरसँगै निलम्बनमा परे।

त्यसैगरी सर्लाहीको वाग्मती नगरपालिकाका मेयर पनि निलम्बित छन् भने महोत्तरीको जलेश्वर नगरपालिका र रौतहटको कटहरिया नगरपालिकाका प्रमुखले भने सफाइ पाएका छन्। यीबाहेक पनि मधेसका धेरै पालिकामा कहीँ उपमेयर/उपाध्यक्षसहित त कहीँ भने प्रमुख प्रशासकीय अधिकृतसहित शीर्ष नेतृत्वविरुद्ध उजुरी पर्नु, मुद्दा दायर हुनु, धेरै घटनामा दोषी प्रमाणित हुनु र थोरैमा चाहिँ सफाइ पाउनु सामान्य जस्तै बनेको छ।

केमा हुन्छ भ्रष्टाचार?

अनेक रूप र आवरणमा हुन्छन् भ्रष्टाचार। पछिल्लो समय स्थानीय स्तरका योजना छनोट राजनीतिक पहुँच र भनसुनका आधारमा हुने गरेको छ। जनप्रतिनिधि आफैँले डोजर किन्ने र काम पनि आफैँ लिने जस्ता कार्य हाकाहाकी हुने गरेका छन्। अर्कोतर्फ पालिकाको नियुक्ति आफन्तलाई दिलाउने, सिफारिस, अनुदान वितरण, पञ्जीकरणलगायतमा खुलेयाम घूस माग्ने जस्ता कार्य पनि हुँदै आएका छन्।

त्यसैगरी ‘अबण्डा’ भ्रष्टाचारको अर्को मुख्य स्रोत बनेको छ जसमा धेरै बजेट राखिन्छ र त्यसलाई मनलागी खर्च गरिन्छ। अर्थात् पालिकाको स्रोत चरम दुरूपयोग गरिन्छ। जथाभावी रकमान्तर गर्ने प्रवृत्तिले पनि भ्रष्टाचारलाई नै मलजल गरेको छ। विभिन्न विषयका सल्लाहकार राख्ने, करारका नाममा भर्तीकेन्द्र बनाउने, विपद् व्यवस्थापन तत्काल गर्नुपर्ने बहानामा बिनानियम/कानुन हतारमा खर्च गरेर धेरै भुक्तानी गर्ने तथा आर्थिक सहायताका नाममा कुठाउँमा स्रोत खन्याउने कार्यले पनि भ्रष्टाचार वृद्धि भइरहेको छ।

यसैगरी जटिल प्रकृतिका कामसमेत उपभोक्ता समितिका नाममा आफ्ना आसेपासे र कार्यकर्ता खुसी बनाउन दिने, फेरि उपभोक्ता समितिले त्यो काम गर्न नसकेपछि उसले ठेकेदारलाई दिने जस्ता सुन्दै हाँस उठ्ने कच्चा काम पनि भइरहेका छन्। अझ विभिन्न निर्माण र खरिदका सवालमा कीर्ते कागजात पेस गरी भुक्तानी लिने, गाडी, फर्निचर आदि खरिद गर्दा खरिद ऐन/नियम मिच्ने, दोहोरो भुक्तानी दिने जस्ता कार्य पनि भइ नै रहेका छन्।

स्थानीय तहका उजुरीमध्ये धेरै पूर्वाधार निर्माण, सेवा प्रवाह, खरिद बिक्री तथा सिफारिससँग सम्बन्धित हुने गरेका छन्। त्यसैगरी विद्यालय खाजा र स्यानिटरी प्याड खरिदमा समेत अनियमितता हुने गरेका छन् भने छात्रवृत्तिको रकम हिनामिना भ्रष्टाचार धेरै हुने क्षेत्रमध्ये पर्छ। पछिल्लो आर्थिक वर्षमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा २०१ वटा आरोपपत्र दर्ता गराएकामा निर्वाचित प्रतिनिधि नै १०६ जना प्रतिवादी बनाइनुले यस्तो कार्यमा जनप्रतिनिधि पनि कम छैनन् भन्ने देखिन्छ।

यसबाहेक पालिकाको बजेट आफू आबद्ध दलका कार्यक्रमलाई दिने र निर्माण कार्यमा फर्जी कागजातका आधारमा भुक्तानी दिने परिपाटी पनि अन्त्य त के, न्यूनसमेत हुन नसक्नु भ्रष्टाचार नरोकिने प्रष्ट सङ्केत हो। अझ कतिपय पालिकामा त गोष्ठी, तालिम, परामर्श सेवा जस्ताकार्य कागजीरूपमा मात्र सम्पन्न भएका हुन्छन् तर यही आधारमा जानीजानी भुक्तानी दिएर सोझै भ्रष्टाचार गरिएको हुन्छ। सवारीसाधनको दुरूपयोग त झन् भनिसाध्य नै छैन।

यसरी हुन्छ

धेरैलाई लाग्ने गरेको छ कि भ्रष्टाचार घूस मागेमा वा पैसाको सोझै कारोबार गरेमा मात्र हुन्छ। खासमा सार्वजनिक पद धारण गरेका व्यक्तिबाट हुने भ्रष्टाचार गैरकानुनी क्रियाकलापमा हुने संलग्नतामा मात्र सीमित छैन। एकातर्फ ढुंगा, गिट्टी, बालुवा आदि सर्वेक्षण, उत्खनन तथा उपयोगका लागि दर्ता, अनुमति, नवीकरण आदिमा अपनाइने गैरकानुनी गतिविधि र त्यसका कारण पालिकालाई हुने ठूलो आर्थिक क्षति भ्रष्टाचार हो।

अर्कोतर्फ कानुनी प्रक्रिया मिचे पनि भ्रष्टाचार हुने गर्छ। जस्तो– रामेछापको मन्थली नगरपालिकाले उपभोक्ता समितिलाई जिम्मा दिएको काम गर्न नसकेपछि समितिले पुनः ठेकेदार कम्पनीमार्फत गराएको थियो। यहाँ समितिले नसक्ने काम उसलाई दिनुमै  बद्नियत प्रष्ट देखिन्छ।

सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख काठमाडौँ गएका बेला दैनिक भ्रमण भत्ता, यातायात खर्च र फुटकर खर्चसमेत लिएर पनि थप आवास खर्च भनेर २५,३०० लिए जबकि दैनिक भत्ता दिएपछि पुनः होटल खर्च दिन नमिल्ने भ्रमण खर्च नियमावलीमै उल्लेख छ।

यसैगरी सर्लाहीको ईश्वरपुर नगरपालिकाले एकै काम (कानुनी सल्लाहकार) का लागि  दुई जना नियुक्त गरेर ९,१४,५७९ रूपैयाँ भुक्तानी गर्‍यो भने सप्तरीको रूपनी गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षले अतिथि सत्कारका नाममा दोहोरो भुक्तानी लिएको महालेखा परीक्षकको प्रतिवेदनमै उल्लेख छ जबकि यस्तो रकमबापत अध्यक्षले मासिक १५ हजार र उपाध्यक्षले १० हजार पाउने मधेस प्रदेश सरकारको स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी ऐन २०७७ मै उल्लेख छ।

यसरी नै रौतहटको यमुनामाई गाउँपालिकाले इमिस रिपोर्टमा समावेश भएका छात्रा र दलितको सङ्ख्याभन्दा १,१०,८०० रूपैयाँ बढी छात्रवृत्तिबापतको रकम पठायो। अनि सप्तरीको कञ्चनरूप नगरपालिकाले चाहिँ आफ्नो स्वामित्वका सटर भाडामा दिए पनि पैसा उठाउन  सकेको छैन। यस्तो उधारो आर्थिक वर्ष २०७८/७९ मा मात्र ३,७४,१८४ थियो। यी त भए अनियमितताका केही नमूना। यस्ता सयौँ भ्रष्टाचारका काम स्थानीय सरकारबाट भएका छन्, जसले संघीयताको औचित्यबारे नै बहस सिर्जना गराएका छन्।

अन्त्यमा,

एक विपन्न परिवारका व्यक्ति नागरिकताको प्रमाणपत्र बनाउन जिल्ला प्रशासन कार्यालय गए। गाउँका अरूले नागरिकता बनाउन ४/५ हजार रूपैयाँ लाग्छ भनेकाले उनले त्यति रकम ऋण गरेर गएका थिए। तर उनलाई नागरिकता बनाउन कसैले पनि एक पैसा मागेन। सरासर नागरिकता बन्यो। जब उनले नागरिकता हात पारे, त्यसपछि उनलाई लाग्यो कि यो सक्कली त हो ? घर फर्कँदै गर्दा बाटोभरि पनि यही शङ्काले पिरोलिरह्यो। यो पिरले घर जानै दिएन। त्यसपछि बाटैबाट फर्के र सोही कार्यालयमा भेटिएका एकजनासँग यो नागरिकता सक्कली हो कि नक्कली हो, हेरिदिनुपर्‍यो भनेर आग्रह गरे।

तिनले सोध्ने व्यक्तिको भाव बुझिहाले। अनि यो नक्कली भएको र पैसा दिए सक्कली बनाएर ल्याइदिने वचन दिए। मोलतोल भयो र उनी पैसा दिन राजी भए। जब उनको चार हजार लिएर कार्यालयभित्र पसेको व्यक्ति केही समयपछि आएर ‘लौ तिम्रो सक्कली नागरिकता यही हो’ भनेर दियो, त्यसपछि बल्ल ती व्यक्ति फुरुक्क पर्दै घरतिर लागे।

सरकारी कार्यालयमा पैसा नदिई गरिएको काम सक्कली हुनै सक्दैन भन्ने मनोभाव कति गहिरोसँग गडेको छ सर्वसाधारणमा भन्ने यो सन्दर्भ सुनाएका थिए धनुषाको हंसपुर गाउँपालिकाका एक कार्यपालिका सदस्यले।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस