सरकार, सुशासन र शंका
१५ पौष २०८१
•
९ मिनेट पाठ
सरकार, सुशासन र शंका
राजनीतिक वृत्तमा निकै चासोपूर्वक लिइएको र संसद्मा लामै समय ‘होल्ड’ भएर हालै मात्र नेपाली कांग्रेस सांसद हृदयराम थानी नेतृत्वको उपसमितिले पास गरेर प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पेस विधेयकलाई पुनः विवादको घेरामा तान्ने प्रयत्न भएको छ।




संसदीय उपसमितिले ‘नीतिगत निर्णय’को परिभाषा गर्दै संस्थागत वा व्यक्तिगत लाभ हुने गरी गरिएका निर्णयउपर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ‘छानबिन गर्न सक्ने प्रावधान’ राखेलगत्तै विधेयकविरुद्ध कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे नै ‘मुखरित’ भएका छन्। अख्तियारसम्बन्धी विधेयकमा ‘नीतिगत निर्णयको परिभाषा’ गरिएको विषयलाई मुद्दा बनाउँदै ‘समग्र मन्त्रिपरिषद्को निर्णयमा अख्तियारको प्रवेश’ भन्ने ‘भाष्य’ बनाएर कांग्रेसका अर्का सांसद रामहरि खतिवडा नेतृत्वको राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेको विधेयकका विपक्षमा टिप्पणी प्रारम्भ भएको छ। यसबाट प्रष्ट हुन्छ– केही तत्व यतिबेला थानी नेतृत्वको उपसमितिले निर्णय गरेर खतिवडा समितिमा पेस विधेयकलाई विवादको भूमरीमा तानेर विफल बनाउने योजनामा छन्।

थानी उपसमितिले पास गरेर अर्का सांसद खतिवडा नेतृत्वको समितिमा पेस विधेयक तत्काल अगाडि नबढाई ‘प्रधानमन्त्रीले भेट्न बोलाए’ भनेर फेरि विधेयक ‘थान्को’ लगाउँदा सुशासन चाहने निकायको मनमा चिसो पसिसकेको थियो। समिति सभापति खतिवडाले आफ्नो भूमिका निर्वाह गरे जतिबेला थानी नेतृत्वको उपसमितिले निक्कै ‘रस्साकस्सी’ गरेर विधेयक आफ्नो उपसमितिबाट पास गर्न सफल भएका थिए।

मन्त्रिपरिषद्का ‘नीतिगत’ बाहेक भ्रष्टाचार गर्नकै निम्ति ‘निर्णयगत’ विषय पास गरेका विषयमा जब अख्तियारले छानबिन गर्न पाउने विषय थानी नेतृत्वको उपसमितिले पास गरेर खतिवडा नेतृत्वको समितिमा पठायो तब पर्दापछाडिका व्यक्तिको ‘डिजाइन’मा कांग्रेसभित्रै विवाद प्रारम्भ गरिएको छ।

उपसमितिले पास गरेर पठाएको विधेयक तत्काल अगाडि नबढाइ रोक्नु पछाडि देश दुनियाँले बुझ्ने कुरा हो– संसदीय समिति नै यसको विपक्षमा छ। राजधानीका पाँचतारे होटलमा पछिल्लो समय बाक्लै हुन लागेका ‘भूमिगत बैठक’ले पनि उक्त विधेयकको भविष्यबारे एकिन गरिहाल्न नसकिने अवस्था देखाएको छ।

कानुनबमोजिम विभिन्न निकाय तथा पदाधिकारीले निर्णय गर्ने विषय नै ‘मन्त्रिपरिषद्’मा लगेर निर्णय गरिएमा, सार्वजनिक खरिदसम्बन्धी कानुनबमोजिम निर्णय हुनुपर्नेमा उक्त विषयसमेत मन्त्रिपरिषद्मा लगेर निर्णय गरिएमा र सार्वजनिक रूपमा घोषणा भएको नीतिको प्रतिकूल हुनेगरी खास व्यक्ति वा संस्थालाई फाइदा हुने गरी निर्णय लिएको विषयलाई ‘नीतिगत’ नमान्ने भन्दै थानी समितिले सर्वसम्मत निर्णय लियो। जुन विषयलाई सकारात्मकरूपमा लिन सकिन्छ। तर त्यही विषयलाई अतिरञ्जना गर्दै ‘अख्तियारकै कारण नेपाललाई सिंगापुर बनाउन नसकिएको’ भाष्य निर्माण गर्न थालिएको छ। यसमा ‘सुशासनको विषयलाई नै ‘अंगभंग’ बनाइनु सर्वथा नौलो होइन।

अनेक तानाबाना बुनेर राज्यलाई नै हानि पुग्ने काममा उद्यत हुने मुलुकमा निश्चित समय ‘भ्रष्ट’कै रजगज सामान्य नै होला। तर जब सुशासन कायम गर्ने निकायले छानबिनलाई तीव्रता दिन पुग्छ, तब जालझेल तथा अँध्यारो कोठामा बुनिएको तानाबानाले काम नगर्न सक्छ। त्यस्तै अर्काे एउटा उदाहरणका रूपमा लिन सकिन्छ– ‘किमाथांका अरूण जलविद्युत् आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि आह्वान गरिएको वित्तीय लगानीको विषय।’

हालै मात्र चार सय ५४ मेगावाट क्षमताको किमाथांका अरूण जलविद्युत् र एक हजार नौ सय दुई मेगावाट उत्पादन क्षमता राख्ने मुगु कर्णाली आयोजनाका लागि ‘वित्तीय लगानी अह्वानको आसयपत्र पेस’को सूचना जारी भएको छ। तर सुचना जारीपूर्व उक्त आयोजनाको पृष्ठभूमि, आयोजना निर्माणका लागि लगानी साझेदार गर्नेसम्बन्धी कार्यविधि, कार्यविधि तयारीमा गरिएको ‘डिजाइन’ आदिबाट राष्ट्रिय आयोजनाहरूमा कुन हदसम्मको खेलवाड गरिँदो रहेछ भन्ने छर्लंग हुन आउँछ।

‘किमाथांका र मुगु कर्णाली’ सरकारी स्वामित्वका दुई आयोजना हुन्। सरकारी स्वामित्वको ‘विद्युत् उत्पादन कम्पनी लिमिटेड’ प्रवद्र्धक रहेको उक्त कम्पनीको स्वामित्वमा रहेको ‘किमाथांका र मुगु कर्णाली’को स्थानीय लगानीकर्तालाई प्रोत्साहन गर्ने ‘लोकप्रिय भाषा’ राखी एकाउन्न प्रतिशत सेयर निजी लगानीकर्ताका नाममा ‘बिचौलिया’लाई बेच्ने प्रपञ्च प्रष्टै रचिएको देख्न सकिन्छ।

आशयपत्र आह्वानपूर्व रातारात तयार गरिएको ‘आयोजना निर्माणका लागि लगानी साझेदार गर्नेसम्बन्धी कार्यविधि–२०८१’मा आशयपत्र प्रस्तावको योग्यतामा ऊर्जा, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतको पूर्वाधार संरचनासम्बन्धी आयोजना वा कम्पनीको लगानी वा नेतृत्व वा आयोजना व्यवस्थापनमा कम्तीमा पाँच वर्षको अनुभव भएको’ भनिएको छ। ऊर्जा उत्पादनबारे गरिएको आशयपत्रमा पर्यटन, शिक्षा र स्वास्थ्य जस्ता विषयपनि घुसाइनुलाई सत्तारुढ दलकै सांसद तथा शिक्षा र स्वास्थ्य क्षेत्रका व्यवसायीहरूलाई उक्त आयोजनाहरू बुझाउन लागिएको त होइन भन्ने प्रश्न सतहमै देखापरेको छ।

ऊर्जा मन्त्रालयले ‘सत्ताको छाया’मा पारेर विद्युत् नियमन आयोगलाई औद्योगिक घरानासँग शुल्क नलिई विद्युत् प्राधिकरणलाई ‘आदेशनात्मक पत्र’ काट्न लगाउने, सरकारी स्वामित्वका ठूला आयोजनाहरूको एकाउन्न प्रतिशतभन्दा ज्यादा सेयर निजी कम्पनीलाई सुम्पने, त्यो पनि एक मेगावाट विद्युत् पनि निःशुल्क राज्यले प्राप्त नगर्नेगरी आशयपत्रको विज्ञापन गरिने जस्ता कामले राज्य सुशासनप्रति ‘इमानदार’ छैन भन्ने पुष्टि गर्छ। सतलजलाई दिइएको अरूण तेस्रोबाट राज्यले  २१ प्रतिशत, चार सय ५० मेगावाट विद्युत् उत्पादन क्षमताको फुकोट कर्णाली जुन आयोजना एनएचपिसीलाई २२ प्रतिशत इनर्जी नेपालले निःशुल्क प्राप्त गर्नेगरी दिइएको छ।

अरूणकै मोडलमा दिइएको अपर कर्णालीबाट नेपालले १२ प्रतिशत विद्युत् निःशुल्क प्राप्त गरेर फ्रि इक्विटीमा नेपाल छ। यस्ता उदाहरण दर्जनौँ प्रस्तुत गर्न सकिन्छ। तर सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी लिमिटेडको आशयपत्र आह्वान गर्दा कानुनी रायसहित उक्त प्रस्तावलाई ‘मन्त्रिपरिषद्’ले स्वीकृत दिएको छ वा छैन् भन्ने प्रश्न पनि सतहमै देखिएको छ।

किमाथांका र मुगु कर्णालीको कार्यविधिको अर्काे रोचक पक्ष त केसम्म छ भने कम्पनी छनोट गर्दा गरिने मूल्यांकनको आधार प्राविधिक प्रस्तावबापत ९० अंक र वित्तीय प्रस्तावबापत १० अंक राखिएको छ ! जुन प्राविधिक र वित्तीय हिसाबले ठीक उल्टो हो। यसबाट पहिल्यै निश्चित व्यक्ति वा कम्पनीलाई दिनका लागि नै ‘कार्यविधि’ बनाइएको पुष्टिसमेत हुन जान्छ।

उल्लिखित दुई कम्पनीमध्ये ‘भू–राजनीति र रणनीतिक’ हिसाबले नेपाल–चीनबीचको नाका रहेको किमाथांका अरूण जलविद्युत् आयोजना ‘जलविद्युत् कम्पनी खरिद गर्न चाहने’हरूको मुख्य चासोको आयोजना हो। दोस्रो मुगु कर्णाली त उक्त प्रस्तावमा देखाउनका लागि मिसाइएको मात्र हो। माथि उल्लेख गरिएझैँ परियोजना प्राप्त गर्ने साझेदार कम्पनीले सरकारलाई ‘निःशुल्क सेयर र विद्युत्’ दिनुपर्ने प्रावधान मिचेर जसरी ‘वित्तीय लगानीको आशयका लागि आह्वान’ गरियो, त्यहीँनेर कानुनी त्रुटिसँगै बद्नियतसमेत देखिन्छ।

विद्युत् उत्पादन कम्पनी लिमिटेडको मंसिर १४ मा बसेको सञ्चालक समितिको बैठकले ‘मुगु कर्णाली र किमाथांका’ परियोजनाको लगानी साझेदारी गर्नेसम्बन्धी कार्यविधि पास गरिनु र त्यसको भोलिपल्टै अर्थात् मंसिर १५ मै दुवै परियोजनाको ५१ को प्रतिशत सेयर बिक्रीको निर्णय गरिनुलाई संयोग मात्र मान्न मिल्दैन।

रमाइलो तथ्य त के छ भने २३ मंसिरमा प्रस्ताव आह्वान गरियो तर आशयपत्रको पूर्ण विवरण भने २८ मंसिरमा मात्र सार्वजनिक गरियो। अब यसरी १५ दिनको मात्र समयावधि राखेर खरिएको प्रस्तावबारे पूर्वयोजनाबमोजिम होइन भने आशयपत्र पेस गर्ने कम्पनीले डकुमेन्ट तयारदेखि परियोजना स्थलको ‘स्थलगत अध्ययन’सम्म कसरी भ्याउला ? तसर्थ, सन्देहको घेरामा रहेको यो र यस्ता विषयलाई अख्तियारले छानबिनको दायरामा ल्याउन जरुरी देखिन्छ।

संसद्को सुशासन समितिले थानी नेतृत्वको उपसमितिले पास गरेको विधेयक थन्क्याएर बिचौलियालाई सक्रिय बनाएको, विद्युत् नियमन आयोगले उद्योगीको आठ अर्ब विद्युत् बक्यौता विवादमा पाँच प्रतिशतका दरले हुने ४० करोड शुल्क नलिईपत्र काटेको र मुगु कर्णाली तथा किमाथांका विद्युत्को विषय त उदाहरण मात्र हुन्। राज्य नियन्त्रित यस्ता अनियमितताका दर्जनौँ उदाहरण प्रस्तुत गर्न सकिन्छ। जहाँ विधि र पद्धतिलाई पन्छाएर ‘बिचौलिया’कै डिजाइनमा काम भैरहेको छ।

सरकारी संवेदनशीलताको उपहासको अर्काे तर महŒवपूर्ण उदाहरण प्रस्तुत गरौँ– मनी लन्डरिङका हिसाबले नेपाल ‘ग्रे जोन’ उन्मुख छ। नौ वटा क्षेत्रीय संस्थामध्ये एसिया प्रशान्त क्षेत्रका लागि एपिजी गठन भएको हो। नेपालले २०५९ सालमा एपिजीको सदस्यता प्राप्त गरेको थियो।

आर्थिक अपराध नियन्त्रण, समृद्धि र सुशासन प्रवद्र्धनसँगै अन्तर्राष्ट्रिय चासो समाधानका लागि एपिजीको भूमिका महत्त्वपूर्ण रहन्छ। फाइनान्सिय एक्सन टास्क फोर्स (एफएटिएफ)बाट सन् १९९० मा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तथा २००१ मा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी गरी ४९ वटा मापदण्ड जारी भएका थिए। यो अभियानमा संलग्न नै नरहेका तथा अधिक कमजोर रहेका मुलुक ‘ग्रे तथा ब्ल्याक जोन’मा पुग्ने व्यवस्था छ।

सन् २००५, २०१० र २०२२ गरी नेपालको तीन पटक सम्पत्ति शुद्धीकरण सम्बन्धमा पारस्परिक मूल्यांकन सम्पन्न भएको छ। डरलाग्दो तथ्य त यो हो कि कानुन र रणनीतिक कार्यान्वयनमा नेपालका सम्बन्धित निकायहरूले गर्नैपर्ने कार्यहरूमा असफलता हासिल गरेकैले नेपाल ‘ग्रे जोन’मा पर्ने अवस्थामा पुगेको हो।

नेपालको कमजोरी खासगरी आर्थिक अपराध र कसुरजन्य सम्पत्ति शुद्धीकरण निवारणमा जोखिममा आधारित प्रणाली अवलम्बन नभएको, आर्थिक अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय सहयोगीको खोजी र आदान–प्रदान कमजोर रहेकोसँगै आर्थिक अपराध नियन्त्रणमा नियमनकारी निकायले अपनाउनुपर्ने नियमन र कारबाहीको अवस्था कमजोर रहेको देखिएको छ।

गलत बाटोबाट सम्पत्ति जोड्ने व्यक्तिको पहिचान गर्ने संयन्त्र नरहेको, आर्थिक अपराध नियन्त्रणमा सूचक संस्थाले अपनाउनुपर्ने निरोधात्मक व्यवस्था नै कमजोर रहेको साथै अनुसन्धानमा वित्तीय सूचनाको कम प्रयोग भएको बताइन्छ। यसबाहेक सम्पत्ति शुद्धीकरणको अनुसन्धान, अभियोजन र दण्डको व्यवस्था नै कमजोर, कसुरजन्य सम्पत्ति रोक्का तथा बरामद कार्यसमेत सुस्त देखिन्छ। सँगै युएनले सार्वजनिक गरेकोलगायतका अन्तर्राष्ट्रिय आतंककारीका विरुद्ध सम्पत्ति तथा खाता रोक्का राख्दै आर्थिक दण्ड दिनुपर्नेमा नेपाल त्यहाँ पनि चुक्दै आयो। जुन कमजोरीका कारण नेपाल आज ‘ग्रे जोन’ उन्मुख  भएको हो।

भियतनाम, नाइजेरिया, युगान्डा, टर्कीलगायत २५ देश ‘ग्रे लिस्ट’ मा छन्। अझ उत्तर कोरिया, म्यानमार र इरान त ‘कालोसूची’मै छन्। संयुक्त अरब इमिरेट्स, पाकिस्तान र सेनेगल जस्ता मुलुकले ‘व्यापक प्रगति’ गरी ‘ग्रे जोन’बाट बाहिर निस्किए भने फिलिपिन्स बाहिरिने प्रयत्नमा छ। तर नेपाल भने ‘ग्रे जोन’मा नपुग्नका लागि अपनाउनुपर्ने विधिमै पछाडि छ।

जनवरीमा आयोजित बैठकमा नेपालले ‘कानुन र रणनीति’ कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्ने र ठूला आर्थिक अपराधमा कडाइका साथ प्रस्तुत हुने प्रतिबद्धतासहित विश्वास दिलाउन सकेभन्दा बाहेक नेपाल ‘ग्रे लिस्ट’मा पर्ने निश्चित छ। त्योबेला वैदेशिक लगानीदेखि नेपाललाई हेर्ने विश्व दृष्टिकोणसहित नेपालको आर्थिक अवस्था के होला ? यतिबेला हाम्रा सामु सुशासनका सन्दर्भमा भयाबह चित्र मात्र छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस