लैंगिक हिंंसाभित्रको मनोविज्ञान
२० मंसिर २०८१
•
६ मिनेट पाठ
लैंगिक हिंंसाभित्रको मनोविज्ञान
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने सक्रिय अभियानले नोभेम्बर २५ को महिलाविरुद्ध हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस र डिसेम्बर १० को मानव अधिकार दिवससमेत सम्बोधन गर्छ जसले महिला तथा बालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि विश्वव्यापी कदम चाल्न आह्वान गरिरहेको छ।




गहिरो जरा गाडेको एक सामाजिक मुद्दाका रूपमा लैङ्गिक पक्षपातपूर्ण हिंसा रहेको छ जसले संरचनात्मक असमानताहरू, हानिकारक सांस्कृतिक मानदण्डहरू र मनोवैज्ञानिक गतिशीलताबाट उत्पन्न हुने दुर्व्यवहारको चक्रलाई स्मरण गराउँछ। यो अभियानलाई सार्थक बनाउन जति सचेतनापूर्ण कार्यक्रम गरे पनि प्रभावकारीरूपमा हिंसा न्यूनीकरण गर्न भने लैंगिक पक्षपातपूर्ण हिंसापछाडिको मनोविज्ञान बुझ्नु आवश्यक हुन्छ।

शक्ति नियन्त्रण गतिशिलता

आजकल प्रचलित पावर कन्ट्रोल डायनामिक्स भन्ने भाष्यले इतिहासदेखि नै लैंगिक पक्षपातपूर्ण हिंसा अक्सर शक्ति र नियन्त्रणको इच्छाद्वारा सञ्चालित भएको पाइन्छ। यसको कारण पुरुष शक्तिशाली र महिला कमजोर भएर होइन कि सृष्टिको सुरुवातदेखि नै समाजको संस्कार र भाष्यले प्रचलित गराइदिएको पुरुषले शक्ति आफ्नो नियन्त्रणमा लिनुपर्छ भन्ने मान्यताबाट विकसित हुँदै आएको भन्न सकिन्छ।

पितृसत्तात्मक सोचको अहंकार र परिणामस्वरूप पुरुष शक्तिले महिलामाथि शक्ति नियन्त्रण गरेरै पुरुषत्व कायम गर्न सकिन्छ भन्ने मान्यता अस्तित्वलाई मान्य हँुदैनथ्यो। त्यसैले हिंसा गरेरै भए पनि पुरुषत्व हावी हुनुपर्छ भन्ने मान्यता र संस्कारले नजानिँदो तरिकाले हिंसाको स्वरूप विकसित हुँदै गएको स्वीकार्नुपर्छ। त्यो शिक्षित र अशिक्षित, ज्ञान र अज्ञानी दुवै प्रकृतिका मानिसमा।

यसको अर्थ पुरुषत्व पुलिंगी शक्ति पनि होइन, मानिसभित्रको अहंकार हो। त्यो महिला, पुरुष दुवैमा हुन सक्छ। कतिपय समाज र घरमा महिलाले हैकम जमाएको, महिलाको निर्णयको मान्यता हुने पनि हामीले पाएका छौं। त्यसैले यो मानव मनोविज्ञान हो महिला र पुरुष भन्ने लैंगिक भिन्नताको परिणाम होइन तर समाजमा प्रचलन भयो पुरुषले मात्र महिलालाई हिंसा गर्छन्।

अर्को मनोविज्ञान हामीले बुझेका छैनौँ त्यो के भने शक्ति प्राकृतिक स्रोतबाट प्राप्त हुन्छ र त्यसको लैंगिकता हुँदैन। जस्तै ऊर्जाका प्राकृतिक स्रोतहरूमा सूर्यको प्रकाश, हावा, पानी (जलविद्युत्), भूतापीय ताप र बायोमास समावेश छन्।

यी नवीकरणीय ऊर्जा स्रोतहरूले मानवीय विकास एवं पर्यावरण प्रदूषण कम गर्छ र जलवायु परिवर्तनलाई कम गर्नमा समेत योगदान गर्छन्। मानव विकासका लागि, तिनीहरूले उद्योगहरू, घरहरू र यातायात व्यवस्थाहरूलाई शक्ति प्रदान गर्न, शिक्षा, स्वास्थ्य सेवा र सञ्चार क्षेत्रमा समेत महत्त्वपूर्ण भूमिका खेल्छन्।

शक्ति भनेको ऊर्जा हो जसले सम्पूर्ण मानव विकास र पर्यावरण–अनुकूल अभ्यासहरूलाई योगदान गरेको हुन्छ। यी स्रोतले आर्थिक वृद्धि, सामाजिक समानता र स्वस्थ वातावरणमा योगदान पुर्‍याउँछन् जसले दिगो विकासका लागि आधार सिर्जना गर्छ र हामीले खोजेको दिगो विकास पनि यही हो। तर हामीले शक्ति र नियन्त्रणलाई पुरुषले महिलामाथि र महिलाले पुरुषमाथि प्रभुत्व जमाउने अहंकाररूपी स्वभावमा मात्र बुझ्यौँ र व्यवहारमा ल्यायौँ जसको परिणाम हिंसा बनेर प्रस्तुत हुन थाल्यो र अहिले पनि हिंसाका अनेक स्वरूपमार्फत पावर कन्ट्रोल डायनामिक्समा सीमित भएको छ।

त्यसैले हिंसा मनोविज्ञानबाट निर्मूल हुन्छ, चेतनाको विकास र ज्ञानको विकासबाट निर्मूल हुन्छ अभियान र कानुनले मात्र होइन। हरेक व्यक्तिभित्रको मनोविज्ञान बुझेर त्यसअनुसारको कर्म र परिणामलाई विराटतामा हेर्ने कला नजान्दासम्म १६ दिने अभियान अभियानमै सीमित हुन्छ, रूपान्तरण महसुस गर्न पाइँदैन।

हिंसाको चक्र

धेरै व्यवहार अनुसन्धानले प्रष्ट पारेका छन् समाजमा लैंगिक पक्षपातपूर्ण हिंसालाई विभिन्न माध्यमले नजानिँदो तरिकाले पालनपोषण भैरहेको छ। त्यसैले यो चक्र छिट्टै समाप्त हुनेवाला छैन। नतिजामा बाहिर ल्याउन नसकिने गरी लुकेका र गरिएका दुव्र्यवहार, उत्तेजना, अहंकार, विभेद सबै हिंसाका स्वरूप हुन् जुन बाहिरका घटनाले निम्त्याउने होइनन् व्यक्तिको मनोविज्ञानबाट प्रष्फुटित हुन्छन्। हिजो थियो यो मनोविज्ञान र पुस्तौंपुस्तासम्म हिंसाको चक्रलाई कायम राख्नमा यो संस्कार विकसित भैरहन्छ।

हाम्रा सामाजिक र संज्ञानात्मक पूर्वाग्रहहरूको कारण नै हिंश्रक र पीडित छुट्टयाउने, पीडितलाई दोष दिएर र हिंसाको गम्भीरतालाई कम गर्ने प्रयास गर्दा नजानिँदो तरिकाले फेरि बदलाको भावना विकसित हुदै  जाने मानव मनोविज्ञानले पक्षपातलाई बढावा दिइरहेको हुन्छ।

यी पूर्वाग्रहहरू हाम्रो संस्कार अनुकूल प्रभावित हुन्छन् जसले गर्दा हिंसामा परेकालाई समर्थन गर्नुको सट्टा कलंकित गरिन्छ, हिंसा लुकाउन बाध्य परिन्छ र उनीहरूलाई मद्दत खोज्नसमेत निरुत्साहित परिन्छ। हिंसा अब व्यक्तिगत हानि नभई, व्यक्तिगतरूपमा अस्वीकारपूर्ण नभई घर र समाजको इज्जतमा आधारित हुन थाल्छ।

पीडित स्वयंको मनोविज्ञानले भन्दा समाजको संस्कार र प्रचलनले हिंसालाई बढावा दिइरहेको हुन्छ। परिणामस्वरूप हिंसामा पर्नेहरू तनाव, चिन्ता र हीन भावना महसुस गर्दै गम्भीर मानसिक स्वास्थ्य परिणाम सामना गर्न पुग्छन्। न्याय खोज्ने वा आफ्नो जीवनको पुनर्निर्माण गर्ने क्षमतामा ह्रास आउँछ र पीडितले सामना गर्नुपरेका भावनात्मक दागहरू केवल मनोविज्ञानमा प्रभाव बनेर बस्छन्। कुनै निकास मिल्दैन।

हानिकारक अभ्यासलाई चुनौती

१६ दिने सक्रियताका क्रममा सार्वजनिक सचेतना अभियानहरू सामाजिक मनोवृत्तिलाई नयाँ रूप दिन केन्द्रित हुनुपर्छ। त्यसका लागि मनोवैज्ञानिकरूपमै लैंगिक समानतालाई बढावा दिन र रुढिवादी धारणाहरूलाई न्यूनीकरण गर्दै जाने अभ्यासहरू अपनाउनुपर्छ।

हिंसामा परेकाहरूलाई मनोवैज्ञानिकरूपमै सशक्त भएर समाजमा ठाडो शिर गरी हिँड्ने बनाउन विभिन्न क्षेत्रबाट परामर्श दिनु जरुरी हुन्छ। हिंसामा परेकालाई परिवार र समाजको इज्जतसँग जोडेर होइन, उसको व्यक्तिगत आत्मसम्मानलाई बढावा मिल्ने अभियान सुरु गर्नुपर्छ।

पुरूषको योगदान

समाजका अहिलेसम्मका हिंसाका प्रकृति र संस्कारलाई आत्मसात गर्ने हो भने महिला भएकै कारण हिंसामा पर्ने चक्रलाई तोड्न त्यो अभियानमा पुरुष सहभागिता र योगदान महत्त्वपूर्ण रहन्छ। महिलाले भोग्ने दुव्र्यवहार र अनेक हिंसाका स्वरूपलाई पुरुषको साथ, सहयोग र मनोविज्ञानले महिलाको साहस बढ्न सक्छ। यही नै लैंगिक समानताको परिचय बन्न सक्छ किनभने शारीरिकरूपमा महिला र पुरुष भनेर भिन्नता देखिए पनि आन्तरिक मनोविज्ञान महिला पुरुषको एकै हुन्छ जसले एक अर्कालाई प्रेम, सद्भाव र समऊर्जामा बाँधेर सशक्त बनाउन मद्दत गर्छ।

महिला सशक्तीकरणको अर्थ महिला एक्लै अभियानमा उत्रनु होइन। महिला हुनुको गरिमालाई बुझेर, सृष्टि र महिलाको पर्यायलाई आत्मसात गरेर समुन्नत समाज र घर निर्माण गर्ने सपना देख्ने पुरुषहरूको सहकार्य आवश्यक पर्छ।  
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस