जलवायु सङ्कटमा दिगो विकास
१९ मंसिर २०८१
•
८ मिनेट पाठ
जलवायु सङ्कटमा दिगो विकास
नेपालको विछट्टै सुन्दर हिमवत्खण्ड भूबनोटमा रहेको अतुलनीय सूक्ष्म जलवायु विविधता उन्नत प्रकृति संरक्षक प्राचीनतम् सभ्यता, संस्कार, संस्कृतिअनुरूपको जीवन पद्धतिबाट संरक्षित एवं व्यवस्थित भइआएको थियो। तर यो विशिष्ट पारिस्थितिकीय प्रणाली जलवायु परिवर्तनका कारण सङ्कटासन्न अवस्थामा पुगेको छ। यस भूखण्डमा रहने वायुमण्डलीय अवस्थिति तथा वायु प्रवाह प्रकृतिका कारण हिमवत्खण्ड क्षेत्रीय एवं विश्वव्यापीरूपमा उत्सर्जित वायु प्रदूषण विसर्जनको एक प्रमुख स्थल रहेको अर्को तथ्य पनि अध्ययनबाट खुल्न आएको छ।  




क्षेत्रीय एवं विश्वव्यापीरूपमा वायु प्रदूषण उत्सर्जनमा भएको भारी वृद्धिसँगै परापूर्वकालदेखि कञ्चन रहँदै आएको हिमवत्खण्डको वायुमण्डल तथा भूसतह अहिले आएर अत्यन्तै प्रदूषित बनेको छ र विद्यमान जलवायु तीव्र गतिमा परिवर्तन भइरहेको छ। फलस्वरूप यस भूखण्डको पारिस्थितिकीय प्रणाली नराम्रोसँग खल्बलिनुका साथै मानव स्वास्थ्य, कृषि उत्पादकत्व, जलस्रोत, जैविक विविधता, पर्यटन, ऊर्जा, बसोबास तथा पूर्वाधार आदि सर्वत्र क्षेत्रमा प्रतिकूल प्रभाव पर्न गएको छ।  

असामान्य प्रकृतिका जलवायुजन्य ठुल्ठूला प्रकोप र जनधनको क्षतिका घटनाहरू ह्वात्तै वृद्धि हुनुका साथै सीमान्तकृत जनसमुदायको जीविकोपार्जन अत्यन्तै कठिन बन्न पुगेको छ। यस्ता प्राकृतिक परिघटनाले नेपाली जनसमुदायलाई अत्यन्तै स्तब्ध बनाएको छ। जलवायु परिवर्तनजन्य समस्या नेपाल र नेपालीका लागि नखाएको विष सरेजस्तै भएको छ। जलवायु परिवर्तनमा हाम्रो भूमिका नगन्य भए तापनि हामी नै यसबाट अति प्रभावित र जोखिमपूर्ण अवस्थामा पुर्‍याइएका छौँ। स्वनियन्त्रण र स्वनिर्णयभन्दा परको र झट्टै समाधान गर्न नसकिने बहुआयामिक प्रकृतिको यस समस्यासँग जुध्न उपलब्ध अवसरहरूको बुद्धिमतापूर्ण सदुपयोग गर्दै अनुकूलनीय क्षमता विकास तथा असर न्यूनीकरणका प्रभावकारी उपायहरू सुझाइ कार्यान्वयन गर्न आवश्यक देखिन्छ।  

नेपाल विभिन्न महासन्धि, अभिसन्धि तथा सम्झौताहरूको पक्ष राष्ट्र भई अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तन र असरबारे आफ्नो सरोकार र चासो अभिव्यक्त गर्दै आएको छ। तद्नुसार राष्ट्रिय जलवायु परिवर्तन नीति, वातावरण संरक्षण ऐन तथा नियमावली, स्थानीय अनुकूलन कार्ययोजनाको राष्ट्रिय खाका, जलवायु उत्थालशील योजना तथा बजेट तर्जुमा निर्देशिका एवं लैङ्गिक तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्ययोजना तर्जुमा गरी लागु गर्ने प्रयत्न गरिरहेको पनि छ। राष्ट्रियरूपमा निर्धारित योगदान र राष्ट्रिय अनुकूलन योजना कार्यान्वयन गर्न आवश्यक स्रोतको अनुमान तयार गरिसकिएको छ।  

यसैगरी राष्ट्रिय जलवायु सङ्कटासन्नता तथा जोखिम मूल्याङ्कन एवं दीर्घकालीन न्यून उत्सर्जन विकास रणनीतिक प्राथमिकता र क्षेत्रगत लक्ष्यहरू तय गरी कार्यक्रमहरू कार्यान्वयन भइरहेका पनि छन्। तर जलवायु परिवर्तन एक बहुपक्षीय विषय भएकाले दरिलो अन्तरक्षेत्रगत निकायहरूबीच समन्वय गर्न नसकिएको, बुझाइमा एकरूपता ल्याउन नसकिएको, समग्र विकास प्रक्रियामा मूलप्रवाहीकरण गर्न बाँकी नै रहेको, संस्थागत क्षमताको विकास भइनसकेको, वित्तीय स्रोत नजुटिरहेको एवं आवश्यक ज्ञान तथा प्रविधिमा पहुँच नरहेकाले राष्ट्रिय निर्धारित योगदान तथा राष्ट्रिय अनुकूलन योजनाको प्रभावकारी कार्यान्वयन गर्न गराउन नसकिएकाले अपेक्षित लक्ष्य प्राप्ति हुन नसकेको सम्बन्धित निकायहरू स्वीकार गर्छन्।  

चालु १६औं योजनाले थुप्रै सवाल नीतिगतरूपमै सम्बोधन गर्नुपर्ने अवस्थाका बाबजुद मुलुकको जलवायु संवेदनशीलतालाई केन्द्रमा राखी क्षमता अधिवृद्धिसहित विकास व्यवस्थापनमा वातावरण संरक्षण र जलवायु उत्थानशीलताको आन्तरिकीकरणमा नेपाल अन्तर्राष्ट्रिय मञ्चमै उदाहरण बनेको दाबी पेस गर्दै स्वच्छ वातावरणमा बाँच्न पाउने नेपाल र नेपालीको मौलिक हकलाई साकार तुल्याउने कुरामा आश्वस्त पार्न खोजेको देखिन्छ। यसका लागि जलवायु उत्थानशीलता र समावेशी विकास, जलवायु परिवर्तनका मुद्दाहरूको अन्तर्राष्ट्रियकरण, स्वस्थ समाजका लागि प्रदूषण नियन्त्रण, वातावरणीय सेवा तथा हरित विकासका लागि दिगो वन व्यवस्थापन, पारिस्थितिकीय प्रणालीका लागि जैविक विविधताको संरक्षण, तुलनात्मक लाभमा आधारित हरित अर्थतन्त्रको प्रवद्र्धन, हरित उत्थानशील र समावेशी विकासका लागि जलवायु वित्त परिचालन, वातावरण तथा जलवायु परिवर्तनका सवालहरूको मूल्यप्रवाहिकरण र स्थानीयकरण एवं अध्ययन अनुसन्धानलाई प्राथमिकीकरण गर्ने रूपान्तरणकारी रणनीतिक कार्यक्रमका रूपमा अघि सारेको छ।  

झ्वाट्ट हेर्दा उल्लिखित जलवायु परिवर्तन नीति, रणनीति, कार्यनीति र कार्ययोजनाहरू सुन्दर नै देखिन्छन् तर नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्दा लिइएका वैज्ञानिक तथ्यगत आधारहरू कमजोर तथा लक्ष्यहरू अङ्कमा सुनिश्चित गर्न नसकेकाले १६औं योजनाले अघि सारेका रणनीतिक कार्यक्रमका उद्देश्यहरू प्राप्त हुनेमा प्रशस्त सन्देह गर्न सकिन्छ। सम्भवत: विश्वव्यापी र केही हदसम्म क्षेत्रीय स्तरमा प्रक्षेपित जलवायु परिवर्तन र अत्यन्तै सीमित मापन तथा अपूर्ण अध्ययनका आधारमा जलवायु परिवर्तनसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गरिएको भनेर बुझ्न सकिन्छ किनभने हिमवत्खण्ड नेपालको जटिल भूबनोटमा विद्यमान सूक्ष्म जलवायु एवं मौसमी विविधताको आधारभूत तत्थ्याङ्कन र नक्साङ्कन गरिएको जानकारीमा आएको छैन। यसरी आधारभूत तत्थ्याङ्कविना तर्जुमा गरिएका जलवायु परिवर्तन नीति, रणनीति, कार्यनीति तथा कार्यक्रमहरूले भूधरातलीय यथार्थलाई व्यावहारिकरूपमै प्रतिनिधित्व गर्न नसक्ने भएबाट राष्ट्रिय जलवायु सङ्कटासन्नता तथा जोखिमलाई निरूपण गर्न धेरै कठिन देखिन्छ।

यिनै जलवायु परिवर्तन नीति, रणनीति, कार्यनीति तथा कार्यक्रमहरूअनुरूप आ.व. २०६८/२०६९ देखि राष्ट्रिय बजेटमा जलवायु सङ्केतको अभ्यास गरिँदै आएको र हाल प्रदेश तहमा समेत विस्तार गरी प्रदेशस्तरीय जलवायु परिवर्तन रणनीति र कार्ययोजनाअन्तर्गत २६३ भन्दा बढी स्थानीय तहमा स्थानीय अनुकूल योजना कार्यान्वयन हुन पुगेका छन्। स्मरण रहोस् कि राष्ट्रिय जलवायु परिवर्तन अनुकूलन कार्यक्रममा नै सूक्ष्मस्तरीय जलवायु परिवर्तनको भरपर्दो प्रक्षेपण उपलब्ध नभएकाले अपेक्षित अनुकूलन रणनीति तथा कार्यक्रमका उद्देश्यहरू प्राप्त हुनेमा सन्देह व्यक्त गरिएको छ। लोकयुक्ति ‘अह्राएको बुद्धि र भरेको खर्चले कहिल्लै पुग्दैन’ भने जस्तै सङ्कटासन्न जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न लिइएका राष्ट्रिय नीति, रणनीति तथा कार्यक्रमहरू आफैँमा निश्प्रभावी देखिएका छन्।  

त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वातावरण अनुसन्धान प्रयोगशाला, कीर्तिपुरले झण्डै डेढ दशकअघि नै हिमवत्खण्ड नेपालको जटिल भूबनोटमा रहने वायुमण्डलीय अवस्थिति, अतुलनीय विलक्षण र विविधतायुक्त सूक्ष्म स्तरीय जलवायु र जलवायु परिवर्तनका छुट्टै विशिष्ट प्रक्रिया तथा असरहरूबारे गहिरो अध्ययन अनुसन्धानका लागि नेपाल सरकारसँग संस्थागतरूपमा प्रस्ताव गरिएको थियो। अन्तर्राष्ट्रिय स्तरबाट विश्वव्यापीरूपमा प्रक्षेपित तत्थ्याङ्कहरू आफैँमा ठुल्ठूला चक्ला क्षेत्रका औसतका रूपमा हुने भएकाले विश्वव्यापी तथा क्षेत्रीय स्तरमा के कस्तो हुँदैछ भन्ने जानकारी प्राप्त गर्न सकिने भए तापनि हाम्रो जस्तो जटिल भू–खण्डमा रहेको विविधतापूर्ण विशिष्ट सूक्ष्म स्तरीय जलवायुको वितरण र परिवर्तनका प्रक्रियाहरूको यथार्थपरक चित्रण गरी आवश्यक ज्ञान हासिल गर्न सम्भव हुँदैन। विश्वव्यापी एवं क्षेत्रीय स्तरमा प्रक्षेपित जलवायु परिवर्तन तत्थ्याङ्कहरूका आधारमा तर्जुमा गरिएका अनुकूलनका कार्यक्रमहरू स्वभावत: प्रभावकारी बन्न सक्दैनन्।  

नेपाल भूखण्डमा विद्यमान सूक्ष्म स्तरीय जलवायु विविधता र वितरणको तत्थ्याङ्कीकृत नक्साङ्कन तथा भावी विभिन्न कालखण्डमा परिवर्तित भइरहन सक्ने सूक्ष्म स्तरीय जलवायु विविधता र वितरणको भरपर्दो भविष्यवाणी हुन सकेमा मात्रै वर्तमान अवस्थामा राष्ट्रिय तथा स्थानीय स्तरमा उपलब्ध सूक्ष्म स्तरीय जलवायु वितरणको बुद्धिमत्तापूर्ण सदुपयोग र भविष्यमा हुन सक्ने जलावयु परिवर्तन रोकथाम तथा परिवर्तित जलवायुको असर न्यूनीकरणका लागि परिणाम अंकमा सुनिश्चित गरिएका अनुकूलनका कार्यक्रमहरू तर्जुमा एवं प्रभावकारी कार्यान्वयन गर्न सम्भव हुन सक्छ। सहरी विकास मन्त्रालय, नयाँ सहर आयोजना समन्वय कार्यालयको सहकार्यमा नारेल प्रयोगशालाबाट डुम्रे–भन्सार नयाँ शहर विकास क्षेत्रमा गरिएको विद्यमान सूक्ष्म जलवायु नक्साङ्कन तथा शहरी विकासले स्थानीय जलवायु वितरणमा पर्न सक्ने असर र अनुकूलन विधि पद्धतिको विकासबारे गरिएको अनुसन्धानका उपलब्धिहरूले परिणाम अंकमा सुनिश्चित गरिएका राष्ट्रिय एवं स्थानीय स्तरका अनुकूलनका कार्यक्रमहरू हाम्रै विश्वविद्यालय स्तरीय अनुसन्धानहरूबाटै तर्जुमा गर्न सकिने देखाएको छ।

उपलब्ध राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक जनशक्ति र क्षमताको सदुपयोग तथा भावी वैज्ञानिक तथा प्राविधिक क्षमता विकाससँग जोडिएको विषय र राष्ट्रिय जलवायु सङ्कटासन्नता तथा जोखिमलाई न्यूनीकरण गर्न अपरिहार्य विश्वविद्यालयबाट प्रस्तावित अध्ययन अनुसन्धान विगत डेढ दशकदेखि नेपाल सरकारले विचाराधीनमा नै राख्नु विडम्बनापूर्ण छ। १६औं राष्ट्रिय योजनाले जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक सत्यतथ्यको अभाव र अध्ययन अनुसन्धानमा देखिएका कमी/कमजोरीलाई मनन् गर्दै जलवायु परिवर्तनसम्बन्धी तथ्याङ्क र प्रमाण सङ्कलन, अद्यावधिक र प्रमाणीकरण प्रणाली स्थापना, नीति तथा कार्यक्रमलाई प्रमाण वा तथ्यमा आधारित बनाउने र अध्ययन अनुसन्धानका लागि विश्वविद्यालय तथा अनुसन्धानमा संलग्न अन्य संस्थाहरूमा लागानी बढाउने र साझेदारी गर्ने रूपान्तरणकारी रणनीति तय गरेसँगै राष्ट्रिय एवं विश्वविद्यालय स्तरमा अध्ययन अनुसन्धानमा उचित प्रोत्साहन तथा जलवायु परिवर्तन उत्थानशीलता एवं असर न्यूनीकरणका कार्यक्रमहरूमा वैज्ञानिकता थपिनेमा आश गर्न सकिन्छ तर भरै पर्न सक्ने अवस्थाचाहिँ बनिसकेको छैन।– रेग्मी त्रिवि नारेल प्रयोगशालाका प्रमुख वैज्ञानिक हुन् । 
अर्को समाचार
कोप-२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
११ पौष २०८१
•
८ मिनेट पाठ
कोप-२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
जलवायुजन्य सङ्कट बर्सेनि थपिँदै गएको छ। कृषि, स्वास्थ्य, विकास पूर्वाधार, पारिस्थितिक प्रणालीमा हुने क्षतिले मुलुकले ठूलो नोक्सानी बेहोरिरहेको छ। नेपालको मुख्य पहिचान बोकेका सेता हिमाल कालापत्थरमा परिणत हुँदैछन्। यसले सर्वत्र चिन्ता छ, अब चुनौतीको सामना कसरी गर्ने? हाम्रा प्राकृतिक सम्पदा र चिनारीलाई कसरी जोगाउने?  




विभिन्न अध्ययनहरूले जलवायु परिवर्तनका कारण निकट विगत जति त्रासदीपूर्ण छ भविष्य थप जटिल बन्ने भनेर औँल्याइरहेका छन्। एसियाली विकास बैंक (एडिबी) ले हालै सार्वजनिक गरेको एक अनुसन्धान प्रतिवेदनले जलवायु परिवर्तनको प्रभावले विकासशील एसिया र प्रशान्त क्षेत्रमा कुल गार्हस्थ उत्पादन (जिडिपी) लाई सन् २०७० सम्ममा १७ प्रतिशतले घटाउन सक्ने देखाएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को अध्ययनअनुसार हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वकोे औसतभन्दा तीन गुणा बढी छ। इसिमोडका अनुसार यस क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिमनदी पग्लने क्रम ६५ प्रतिशतले बढेको थियो।  

जलवायुले ल्याएका अन्य भयानक सङ्कटहरू नेपालीले आफ्नै जीवनमा दिनहुँ भोगिरहेका छौँ। गत साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहितको बाढीले पुर्‍याएको क्षति पनि जलवायुजन्य सङ्कटकै एउटा उदाहरण रहेको विज्ञहरूको भनाइ छ। गत असोज १०, ११ र १२ गते काठमाडौँ उपत्यकालगायत मुलुकका अधिकांश स्थानमा भएको भारी वर्षाले ल्याएको विपद्ले कैयौँले अकालमै ज्यान गुमाएका, कैयौँ घाइते र घरबारविहीन बनाएको घटना ताजै छ।  

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार त्यसबेला तीन दिनकै अवधिमा दुई सय ५० जनाले ज्यान गुमाए। १८ जाना अझै बेपत्ता छन्भने एक सय ७८ जना घाइते भए। झन्डै छ हजार निजी आवासमा क्षति पुग्यो।  

तीन वर्षअघि पनि बेमौसमी बाढीका कारण झन्डै आठ अर्बभन्दा बढी मूल्य बराबरको धानबालीमा क्षति पुगेको कृषि मन्त्रालयले जनाउने गरेको छ। सोही बेला मनसुन सुरु भएको साता दिन नपुग्दै सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रवती नदीमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा दुई अर्बभन्दा बढी क्षति पुगेको मेलम्ची खानेपानी विकास समितिको तथ्याङ्क छ।  

प्राधिकरणको तथ्याङ्कअनुसार यस वर्ष मनसुनजन्य विपद्का कारण मात्रै चार सय ९५ जानाले अकालमै ज्यान गुमाएका छन्भने ६६ जाना बेपत्ता र पाँच सय २२ जाना घाइते भएका छन्। जलवायुका यी र यस्ता ज्वलन्त उदाहरणहरु हामीसँग थुप्रै छन्।  

गत नोभेम्बर ११ देखि  (कात्तिक २६) देखि  नोभेम्बर २२ (मङ्सिर) सम्म बाकुको अजबैजानमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी  संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलनमा नेपालले यी र यस्तै उदाहरण प्रस्तुत गरेर विश्वको ध्यानाकर्षण गर्‍यो। नेपाललगायत अन्य मुलुकले भोगेका यस्तै समस्याबारे आवाज उठे पनि सङ्कट समाधानका लागि तत्काल सम्बोधन गर्नेगरी सम्मेलनले निर्णय गर्न सकेन । कोप-२९ पछि त्यहाँको सिकाइ र अन्य अनुभवले अब नेपाल आफैँले सङ्कटको सामनाका लागि नयाँ रणनीति अख्तियार गर्न आन्तरिक गृहकार्य अत्यन्त आवश्यक रहेको विज्ञहरूको सुझाव छ।  

सङ्कट सामनाका लागि आन्तरिक तयारी  

यसमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी पनि सहमत छन्। उनी कोपमा मात्रै नभई कोपपछि पनि जलवायुजन्य सङ्कट समाधान हुनेगरी नीति तर्जुमा गर्न सकिने बताउँछन्। जलवायु परिवर्तन निम्त्याउन नेपालको नगन्य योगदान भए पनि त्यसबाट निम्तिएका असर न्यूनीकरण र अनुकूलनका लागि विश्व मञ्चमा जलवायु परिवर्तनका मुद्दा उठाउन नेतृत्वदायी भूमिका लिँदै आएको उनको भनाइ छ।

'अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्ना समस्या मात्र राख्ने होइन, हामीले अघि सारेका जलवायुमैत्री योजना र गरेका उपलब्धिका बारेमा प्रचार गरी, थप अन्तर्राष्ट्रिय सहकार्यका लागि प्रोत्साहन गर्न हामी सफल भएका छौँ,' उनले भने, 'तर अब कोपपछि पनि हामीले स्वदेशमा जलवायु सङ्कट समाधानका लागि गृहकार्य गर्न आवश्यक छ। यसका लागि अन्तरसरकारी निकाय र विभिन्न सरोकारवालाहरूबीच सहकार्य अघि बढाउनेछौँ।'

मन्त्री शाहीले कोपबाट  प्राप्त उपलब्धिलाई कार्यान्वयन र आवश्यक कानुन निर्माण तथा संस्थागत सुधारका लागि पहल भइरहेको बताए। अन्तर्राष्ट्रियस्तरमा प्राप्त उपलब्धिका लाभलाई तल्लो तहका जनतासमक्ष पुर्‍याउन र नेपालले अन्तर्राष्ट्रिय रूपमा गरेका प्रतिबद्धता पूरा गर्न निरन्तर प्रयास भइरहेको उनले बताए। 'यसै अनुरूप सन् २०२५ मा बुझाउने २०३५ सम्मका लक्ष्यसहित नयाँ राष्ट्रिय निर्धारित योगदान (एनडिसी) बनाउने प्रकृया अगाडि बढाएका छौँ, जलवायु परिवर्तनका बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहभागितासहित सगरमाथा संवादको आयोजना गर्ने तयारी गरिरहेका छौँ,' उनले भने।  

मन्त्री शाहीका जलवायुविज्ञ सल्लाकार डा माधव कार्कीले अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच स्थापित गर्न व्यापक गृहकार्य अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्। 'विकसित देशहरूले विकासोन्मुख देशहरूलाई वार्षिक तीन सय बिलियन डलरसम्म उपलब्ध गराउने सहमति भएको छ। जलवायु वित्त दायित्व बढाउनमा नेपाललगायतका मुलुकले कोपमा दबाब दिएर फर्किसक्यौँ,' उनले भने, 'तर हाम्रो अपेक्षाअनुसार जलवायु वित्त प्रतिबद्धता आउन नसके पनि ती कोषहरूबाट रकम ल्याउन अब गृहकार्य गर्नुपर्छ। जलवायुजन्य हानि नोक्सानी न्यूनीकरणका लागि वित्तमा पहुँच स्थापित गराउन वैज्ञानिक अध्ययन–अनुसन्धानलाई नै अगाडि बढाउनुपर्छ।'

अर्का जलवायुविद् राजु पण्डित क्षेत्रीले पनि जलवायु वित्तका महत्वकाङ्क्षी लक्ष्य कार्यान्वयनका लागि कोपपछि पनि निरन्तर गृहकार्य आवश्यक रहेकामा जोड दिएका छन्। 'जलवायु परिवर्तनका सङ्कटहरू छिटोछिटो निम्तिरहेका छन्। अन्तराष्ट्रियस्तरमा मात्रै कुरा राखेर समस्या त समाधान हुँदैन,'उनले भने, 'कोपमा मात्रै नभएर हामीले अब नेपालको हितमा काम गर्न जलवायुजन्य सङ्कट समाधानका लागि घरभित्रै पनि गृहकार्य गर्न जरूरी छ।'

जलवायुविज्ञ मञ्जित ढकालले अन्तराष्ट्रियस्तरबाट जलवायु परिवर्तनको सङ्कट आगामी दिनमा अझै बढ्ने स्पष्ट देखिएकाले अब नेपाल सम्भावित सङ्कट समाधानमा लाग्नुपर्ने बताए। 'कोपपछि अब हामीले राष्ट्रियस्तरबाट पनि गर्नैपर्ने विभिन्न कामलाई दु्रतगतिमा अगाडि बढाउनुपर्छ। स्थानीय तहमा जलवायु परिवर्तनका असर न्यूनीकरका लागि पहल आवश्यक छ,' उनले भने, 'जलवायु परिवर्तन न्यूनीकरणका लागि प्रतिबद्धताअनुसार काम गर्नुपर्नेछ।'

ढकालले अन्तर्राष्ट्रियस्तरमा जलवायुका असरसम्बन्धी ‘एजेन्डा’हरू प्रभावकारी रूपमा उठाउनका लागि विज्ञसहितको वार्ताटोली तत्कालका बनाउनुपर्ने आवश्यकता औँल्याए। 'कोपपछि कार्बन व्यापारको नियमलाई छिटो टुङ्ग्याएर जतिसक्दा छिटो लाभ लिनुपर्छ। हानि– नोक्सानीबाट कसरी रकम ल्याउन सकिन्छ गृहकार्य गर्नुपर्छ र यसका लागि विश्वविद्यालयको सहभागितासहितको अध्ययन– अनुसन्धानमा प्राथमिकता दिनुपर्छ।'

जलवायु नीति कार्यान्वयन र जलवायु न्याय सुनिश्चिततामा जोड

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको जलवायु व्यवस्थापन माहाशाखाका उपसचिव नरेश शर्माले नेपालले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय रूपमा निर्धारण गरिएका योगदानहरू (एनडिसी) र दीर्घकालीन रणनीतिहरूलाई कार्यान्वयनमा जोड दिइनुपर्ने बताए। यसका लागि मन्त्रालयले काम गर्ने उनको भनाइ छ।

'कोप भनेको वार्ताको प्रक्रिया मात्रै हो तर अब नेपालले अन्तर्राष्ट्रियस्तरमा जलवायु परिवर्तनसम्बन्धी गरेका प्रतिबद्धता कार्यान्वयन गर्न आवश्यक छ,'  उनले भने, 'जलवायु परिवर्तनका कारण बढी जोखिममा रहेका क्षेत्रहरूलाई प्राथमिकता दिने, स्थानीय तहमा अनुकूलन योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने हाम्रो तयारी छ।'

जलवायु अभियन्ता गीता पाण्डेले जलवायु न्याय सुनिश्चितता गर्नुपर्नेमा जोड दिइन्। अन्तर्राष्ट्रिय कोष जस्तै हरित जलवायु कोष र अन्य दातृ निकायबाट जलवायु अनुकूलन र न्यूनीकरणका लागि स्रोत परिचालन गर्न वित्तीय नीतिहरूलाई जलवायुमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले  प्रविधि हस्तान्तरण र स्वच्छ ऊर्जा र दिगो कृषि प्रविधिहरू अपनाउने गरी योजना बनाउनुपर्ने सुझाव दिइन्। 'नेपाल जस्ता हिमाली देशहरूमा जलवायु परिवर्तनको गम्भीर प्रभाव परेको छ, त्यसैले जलवायु परिवर्तनसम्बन्धी जनचेतना फैलाउने र सरकारी, गैरसरकारी र निजी क्षेत्रको क्षमता अभिवृद्धि गर्ने काममा लाग्न आवश्यक छ। कोप-२९ का निष्कर्षहरूलाई ध्यानमा राखेर नेपालले आफ्नो दीर्घकालीन रणनीतिलाई थप प्रभावकारी बनाउनुपर्छ।'

नवीकरणीय ऊर्जा प्रवर्द्धन, पूर्वतयारीमा जोड  

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) का कार्यकारी निर्देशक नवराज ढकालले नवीकरणीय ऊर्जा प्रवर्द्धनले कार्बन उत्सर्जन गराउने मुख्य तत्व हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण गर्न सकिने भन्दै नवीकरणीय ऊर्जा प्रवर्द्धनमा लगानी बढाउनुपर्नेमा जोड दिए। उनले हरित ऊर्जा निर्यातको सम्भावना वृद्धि गर्न नवीकरणीय ऊर्जा स्रोतहरू सौर्य ऊर्जा, वायु ऊर्जा र जैविक ऊर्जा प्रविधिमा लगानी बढाउनुपर्ने धारणा राखे। उनी अगाडि भन्छन्, 'ग्रामीण क्षेत्रमा जीवाश्म इन्धनको प्रयोगलाई घटाएर स्वच्छ ऊर्जा उपलब्ध गराउने नीतिको प्रभावकारी कार्यान्वयन हुनुपर्छ। राष्ट्रिय निर्धारित योगदानमा समावेश गरिएका नीति कार्यान्वयनमा जोड दिँदै आगामी कोप-३० मा जलवायु नीति कार्यान्वयनका लागि आवश्यक वित्त व्यवस्थापनलाई ध्यानमा राखी अहिलेदेखि नै एजेन्डा तयारी गर्नुपर्छ।'

विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले जलवायु परिवर्तनका कारण बाढी, पहिरो र सुक्खाजस्ता विपद्का लागि पूर्वतयारी र पूर्वसूचनामा लगानी बढाउनुपर्नेमा जोड दिएका छन्। उनले कोपपछि घरभित्र (नेपाल) व्यापक रूपमा जलवायुजन्य सङ्कट समाधानका लागि तयारी गर्न सरोकारवाला सबैलाई साथमा लिएर सरकारले काम गर्नुपर्ने उनको सुझाव छ।

'आपत्कालीन राहत व्यवस्थापनमा समुदायको क्षमता अभिवृद्धि गर्ने तथा जोखिम नक्साङ्कन प्रणाली विकसित गरी जोखिम क्षेत्रहरूको पहिचान गर्न आवश्यक छ,' उप्रेतीले भने, 'सहरी क्षेत्रमा हरित पूर्वाधार, सार्वजनिक यातायात, साइकल लेन र हरित भवनको विकास, जलवायु सहनशील सहरको नीति कार्यान्वयन गर्दै कार्बन न्यूनीकरण र अन्य क्षेत्रमा हिमनदी र जलाशयहरूको प्रभावकारी संरक्षण गर्दै जलस्रोतको दिगो उपयोग गर्नुपर्छ।' रासस
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस