लैङ्गिक हिंसाविरुद्ध सामाजिक न्यायमा शिक्षाको भूमिका
१७ मंसिर २०८१
•
१२ मिनेट पाठ
लैङ्गिक हिंसाविरुद्ध सामाजिक न्यायमा शिक्षाको भूमिका
नेपालमा सन् १९९७ सालदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान गरिँदैआएको छ। यो अभियानको इतिहासमा जाँदा सन् १९६० मा डोमेनिक गणराज्यका तीन दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियालाई त्यहाँँको निरङ्कुश सरकारले राजनीतिक विरोधीका रूपमा मारेकाले र त्यही कारणले त्यहाँको निरङ्कुश सरकारको पनि केही समयपछि पतन भएकाले डोमेनिकन सरकारको समेत प्रयासले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवस मनाउन संयुक्त राष्ट्रसङ्घले आफ्ना सदस्य राष्ट्रहरुलाई आह्वान गरेको हो।




नोभेम्बर २५ तारिखदेखि सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अन्तिम दिन मानव अधिकारको विश्वव्यापी घोषणाको दिन मानव अधिकार दिवसमा पारिएको छ।

नेपालमा पनि अहिले यो १६ दिने अभियान निरन्तरतामा छ। हुन त यस १६ दिने अभियानको नाम लैङ्गिक हिंसाविरुद्ध भने पनि खासमा महिलाविरुद्धमा गरिने हिंसा कसरी कम गर्ने भन्ने सचेतना अभियानका रूपमा लिइन्छ।

एकातिर प्रत्येक वर्ष सचेतना अभियान गरिन्छ तर महिलामाथि हुने हिंसात्मक प्रवृत्ति नेपालमा पनि बढेकै छ र संसारमा पनि प्रत्येक वर्ष बढेको पाइन्छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि नेपालले राष्ट्रिय रूपमा आफ्नो प्रतिबद्धता जनाउँदै हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता भन्ने नाराका साथ विभिन्न तहमा कार्यक्रम सञ्चालन गरिएका छन्।

नेपालमा घरेलुहिंसा भनेको महिला हिंसासँग जोडिन्छ महिलाहिंसा भनेको लैङ्गिक हिंसासँग जोडिन्छ। महिला हिंसा भन्यो भने पनि त्यो घरेलु हिँसासँग मिल्न जान्छ। पितृसत्तात्मक परम्पराका कारणले हिंसाका कारण र परिणाममा महिलाको नाम जोडिन जान्छ। त्यसैले लिङ्ग वा यौनका कारणले हुने हिंसात्मक प्रवृत्तिका सम्बन्धमा जानकारी राख्नुपर्ने हुन्छ।

लैङ्गिक विभेद्, घरेलु हिंसा, बलात्कार, मानवीय बेचबिखन र त्यसका परिणाम अनि सामाजिक न्यायका दृष्टिले त्यसको निराकरण आदि यस समयका केन्द्रीय विषय हुन्। पौराणिककाल तथा महाभारतकालमा समेत महिलाप्रति गरिएका विभेदकारी नीतिका कारणले नै एउटा युगको संस्कृति नै महायुद्धमार्फत सकिएको थियो। विभिन्न तरिकाका महिलाहिंसा वा घरेलु हिंसा रोकेर र कम गरेर मात्र हामी सभ्य समाजको रूपमा विकसित हुन सक्छौँ।

समाजलाई लैङ्गिक सन्तुलनमा राख्न र लैङ्गिक हिंसाबाटमुक्त गर्न पनि शिक्षाको ठूलो महत्त्व छ। यससम्बन्धमा यस्तै क्षणिक अभियानले मात्र त सम्भव छैन। यस्ता चेतनाका काम सरकारले मात्र गरेर पनि सम्भव छैन। सामाजिक चेतनामा नै जुनसुकै प्रकारको भए पनि जसलाई जहाँ भएको भए पनि लैङ्गिक हिंसाविरुद्धमा सचेत गराउनु सबैको कर्तव्य हुन जान्छ। तर यसका लागि समुचित र सकारात्मक नैतिक शिक्षाबिना यो सम्भव छैन। शिक्षालाई सामाजिक न्यायको एउटा महत्त्वपूर्ण पाटो मानेमा लैङ्गिक सन्तुलन कायम पनि हुन्छ र लैङ्गिक हिंसाबाट पनि समाज विस्तारै विस्तारै लैङ्गिक समानताको तहमा पुग्न सक्छ।

लैङ्गिकतामा हिंसा कसरी प्रवेश गर्दछ त?

यौनिकका कारणले लैङ्गिकतामा असर पार्ने व्यक्तिको शारीरिक अवस्था, मानसिक अवस्था, सामाजिक, सांस्कृतिक मूल्य मान्यता, देशको कानुनी व्यवस्था, धर्म, परम्परा जस्ता कुराले समाजलाई प्रत्यक्ष प्रभाव पारेको हुन्छ र लैङ्गिकतामा असमानता देखिनेबित्तिकै त्यहाँ हिँसाले प्रवेश पाउँछ, भनौँ हिंसाले स्थान प्राप्त गर्दछ। प्रकृतिले दिएको विशेषता अनुसारको यौनिक अन्तरले लैङ्गिक अन्तरको काम गर्दछ। प्रकृतिले दिएको लैङ्गिक अन्तरले सन्तानोत्पत्तिका लागि प्रमुख भूमिका निर्वाह गरेको हुन्छ तर सामाजिक, सांस्कृतिक परम्परा र चलनले तयार गरेको लैङ्गिक असमानताले हिंसा जन्माउँछ।

लैङ्गिकताको विभेदले गुम्सिएर गरिने स्वत: स्फूर्त प्रतिरोध र प्रतिरोध नगरिकन रहँदा जन्मने दबाब दुवैले हिंसाको अवस्था सिर्जना गरेको पाइन्छ। लैङ्गिकताको विभेदमा अपूर्ण तथा अतृप्त यौनेच्छादेखि समाजको विद्यमान पितृसत्तात्मक बनावटले देखाएको असमानतासमेत प्रतिविम्बित हुन जान्छ। प्रकृतिले पुरुषलाई भन्दा महिलालाई बढी संवेदनशील आङ्गिकस्वरूप दिएको छ।

सांसारिक प्रवृत्तिमा र नेपालको परिप्रेक्ष्यमा लैङ्गिक असमानताको कुरा गर्दा पुरुष, महिला र तेस्रो लिङ्गीका बीचमा देखिने गरी गरिएको सामाजिक तथा सांस्कृतिक एवं कानुनी विभेद नै सम्झिनुपर्दछ।

अपाङ्गताको अवस्था झन् विकराल छ, जसमा लैङ्गिक विभेदले जरो नै गाडेको छ  तर आमा जातिमा रहेको त्यस्तो अपरिवर्तनीय यौनिकका कारणले नै सामाजिक रूपमा विभेद सुरु भएको पाइन्छ। यो विभेद वैदिककालदेखि आजसम्म विभिन्न स्वरूप र प्रकारमा विद्यमान छ, जसको सकारात्मक रुपमा नै अन्त्यको आवश्यकता छ।

महिलाविरुद्ध हिंसाका विभिन्न स्वरूप

महिलाविरुद्धको हिंसा भन्नाले महिला भएकाले व्यक्तिगत जीवनमा र सार्वजनिक जीवनमा लिङ्गका कारणले हुने हिंसाजन्य कार्य हो। यसले महिलालाई शारीरिक पीडा पुर्‍याउँछ, मानसिक रूपमा समेत आघात पारेको हुन्छ।

महिला हिंसा भनेको धम्की, दबाब र जबर्जस्ती करणी जस्ता कुराले महिलाको स्वतन्त्रतामा पार्ने बन्देजसमेत पर्दछ। महिलामाथि हिंसा हुने कुरा कुनै एक संस्कृतिमा मात्र सीमित हुँदैन। उमेर र वर्गमा मात्र पनि सीमित हुन सकेको पाइँदैन। समाजमा लैङ्गिक हिंसाको कुरा गर्दा बढीभन्दा बढी महिलाले विभिन्न कालखण्डमा विभिन्न स्वरूपका हिंसाको कटु अनुभव गरेको पाइएको छ।

महिलाविरुद्ध हिंसा कतिपय परिस्थितिमा घरेलु हिंसासँग पनि जोडिएको छ। पितृसत्तात्मक हाम्रो समाज र सामाजिक संरचना नै असन्तुलित छ। पुरुषको सामाजिक भूमिका गहकिलो बनाइएको छ र महिलाको सामाजिक तथा सांस्कृतिक भूमिका सहायक स्तरको बनाइएको छ।

नेपाली समाजमा महिलाविरुद्धको हिंसा, पुरुषले महिलामाथि आफ्नो श्रेष्ठतासिद्ध गर्ने माध्यमको रूपमा प्रयोग गरिरहेका छन्। संयुक्त राष्ट्रसङ्घीय साधारण सभाले १९९३ डिसेम्बर २० मा पारित गरेको महिलाविरुद्धको हिंसा उन्मूलनसम्बन्धी घोषणापत्रमा भनिएको छ, महिलाविरुद्धको हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा हुने हिंसाजन्य कार्य हो, जसले महिलालाई शारीरिक, मानसिक पीडा वा मानसिक क्षति वा मनमा चोट या अदृश्य पीडा पुर्‍याउँछ वा पुर्‍याउने सम्भावना हुन्छ। यसअन्तर्गत त्यस्तो कार्य गर्ने धम्की, दबाब र स्वेच्छाचारी रूपमा महिलाको स्वतन्त्रतामा बन्देज लगाउँछ।

वास्तवमा महिलाविरुद्धको हिंसा भनेको लैङ्गिक विभेद नै हो, जसले महिलाको अधिकार प्रयोग गर्ने स्वतन्त्रतामा बाधा पुर्‍याउने गर्दछ।

महिलामाथिको हिंसा नै घरेलु हिंसा हो त?

महिलामाथिको हिंसा नै त घरेलु हिंसा होइन तर प्रकारान्तरमा घरेलु हिंसा भनेको महिलामाथिको हिंसा नै अर्थ्याइएको छ। घरेलु हिंसा संसारमा सबै खालका सभ्यता र समाजमा लुकेर बसेको हुन्छ। शारीरिक क्षमता र समाजको संरचनालाई दृष्टिगत गर्दा घरेलु हिंसा भनेको महिलामाथिको हिंसा नै बुझिन्छ। पुरुषमाथि पनि घरेलु हिंसा भएको पाइन्छ, पुरुष भएकै कारणले हिंसा गरिएको छ भने त्यो पनि लैङ्गिक हिंसा नै हो तर पीडितका हिसाबले महिला नै अत्यधिक पीडामा बाँच्न बाध्य भएको पाइन्छ।

संयुक्त राष्ट्रसङ्घको महिलाविरुद्ध भेदभाव उन्मूलन गर्ने समितिको सिफारिस नम्बर १९ ले घरेलु हिंसा भनेको महिलाविरुद्ध हिंसाको एउटा सबैभन्दा पुरानो रूप मानेको छ र सबै किसिमको समाजमा यो विद्यमान रहेको स्वीकारेको छ।

घरेलु हिंसाले महिलाको स्वास्थ्यलाई खतरामा पारिरहेको र सार्वजनिक तथा पारिवारिक जीवनमा समानताको आधारमा सहभागी हुने महिलाको क्षमतामा प्रभाव पारिरहेको कुरा उपयुक्त सिफारिसमा प्रष्ट पारिएको छ।

घरेलु हिंसा (कसुर र सजाय) ऐनमा घरभित्रको नाता सम्बन्धका व्यक्तिबीच हुने शारीरिक, मानसिक, यौनजन्य, भावनात्मक र सम्पत्ति सम्बन्धी कुनै पनि प्रकारका हिंसालाई घरेलु हिंसाको रूपमा परिभाषित गरी यस्तो कार्यलाई दण्डनीय आपाराधिक कार्य मानिने कुरा स्पष्ट पारिएको छ। त्यसैले महिलामाथिको हिंसालाई नै घरेलु हिंसाको रूपमा स्वीकारिएको पाइन्छ। यसो हुनुमा लैङ्गिक विभेदका कारणले हो। यसका लागि लैङ्गिक सन्तुलन आवश्यक छ। सामाजिक न्यायका दृष्टिले लैङ्गिक असन्तुलनका विभिन्न कारण हुन सक्छन्  तर हाम्रो जस्तो समाजमा विद्यमान सामाजिक तथा सांस्कृतिक विभेद नै मुख्य कारण हुन सक्छन्। हाम्रा कानुन तथा कानुनी प्रयोग समाजको आवश्यकता र अलिखित नियमका आधारमा नै अभ्यासमा आएका हुन्छन्।

नेपालमा लैङ्गिक हिंसाको अवस्था

लैङ्गिक हिंसाले पुरुष र महिला दुवैलाई हुने हिंसा भन्ने जनाए तापनि नेपालको परिप्रेक्ष्यमा लैङ्गिक हिंसा भन्नाले महिलामाथि र बालिकामाथि हुने हिंसालाई नै जनाउँछ। महिलामाथि हुने लैङ्गिक हिंसाका स्वरुप हुन्- हत्या, कुटपिट, यौन शोषण, दाइजोसँग सम्बन्धित अत्याचार, बलात्कार, वैवाहिक बलात्कार, जबर्जस्ती करणीबाट गर्भधारण, यातना, महिलालाई क्षति पुर्‍याउने परम्परागत चलन, पति वा पतिका नातेदारबाट हुने हिंसाजन्य व्यवहार, शोषणसँग सम्बन्धित हिंसा, सार्वजनिक स्थान या कार्यालय वा अन्य कार्यक्षेत्रमा काम गर्ने सिलसिलामा हुने यौनजन्य व्यवहार तथा दुर्व्यवहार, बालिका तथा महिला बेचबिखन तथा बाध्यताका साथ गराइने देहव्यापार आदि।

गर्भमा भू्रण केटा भए बचाउने तर केटी भू्रण भए गर्भपतन गराउने प्रचलन नेपालमा पनि देखिन थालेको छ। यस्तो चलन बढ्न पो थालेको छ। गर्भको बच्चा पत्ता लगाउनेबारे अत्याधुनिक प्रविधिको विकास भएकोमा खुसी व्यक्त गर्दा गर्दै पनि अवैधानिक रूपमा, आमाको इच्छाबिना गर्भपतन हुन थालेको र भ्रूणहत्या जस्तो जघन्य अपराध हुन थालेको पाइन्छ। यसो हुनुमा वैज्ञानिक प्रविधिको दुरुपयोग गर्दा पनि घरेलु हिंसा हुन्छ र यसमा पनि महिला नै पीडित हुनुपरेको छ। महिलाको पीडा गर्भबाटै यसरी सुरु हुने गर्दछ। नजन्मदैदेखि लैङ्गिक विभेदको शिकार हुनुपर्दछ।

यसैगरी शिक्षा, स्वास्थ्य, खाना र आवासको सुविधादेखि सामाजिक क्रियाकलापमा समेत महिलालाई विभेद गरिएको पाइन्छ। बालिकाको श्रम शोषण, बलात्कार, यौन शोषण अहिले प्रचलित घरेलु हिंसा बनेका छन्।

युवतीलाई चरम यौन शोषण, बलात्कार, वैवाहिक बलात्कार, श्रम शोषण, आफ्ना नजिकका नातेदारबाटै बेचबिखन हुनुपर्ने हालका देखिएका घरेलु हिंसा र लैङ्गिक हिंसाकास्वरूप हुन्। वृद्धावस्थामा नगरेको काममा पनि गाली, बेइज्जती, बोक्सीको आरोपमा मलमूत्र ख्वाउने प्रवृत्ति, कुटपिट, मानसिक यातना, घरबाट छोराबुहारी वा छोरी ज्वाइँले निकाल्ने र बेघरबार बनाउने चलन र यौन दुर्व्यवहारसमेत भएका घटना सुन्न र देख्न पाइन्छ।

केटीको विवाहको उमेर कम्तीमा पनि २० वर्ष हुनै पर्ने भनिए पनि कतिपय व्यवहारमा त्योभन्दा कम उमेरमा अनमेल विवाह गर्ने र बालविवाहलाई अझै परम्पराबाट हटाउन नसकिएको यथार्थ हाम्राेसामु विद्यमान छ।

सार्वजनिक स्थानमा हुने लैङ्गिक हिंसामा बलात्कार, यौन शोषण तथा कार्यक्षेत्रमा गरिने यौनजन्य दुर्व्यवहार, महिला तथा बालिकाको बेचबिखन, परम्परागत विभेदपूर्ण प्रचलन जस्तै दाइजोका लागि रकम दिने तथा लिने, देउकी प्रथा, झुमा प्रथा, छाउपडी प्रथालाई लिन सकिन्छ।

जनसाङ्ख्यिक सर्वेक्षण अनुसार २३ प्रतिशत महिला र २० प्रतिशत पुरुषले हाम्रो परिवार तथा समाजमा लैङ्गिक हिंसा छ र त्यसबाट घरेलु हिँसालाई प्रश्रय दिइएको छ भनी स्वीकारेका तथ्याङ्क हाम्रोसामु छ। यसबाट मुक्ति पाउन नै सन् २०१० लाई नेपालले लैङ्गिक हिंसाविरुद्धको वर्ष भनी मनाएको पनि थियो।

नेपालमा लैङ्गिक हिंसाले परम्पराको रुपमा घरेलु हिंसाको रूप लिएको छ। यसलाई हामीले नहिच्किचाई स्वीकार्न सक्नुपर्दछ। तर यसलाई कमी गर्दै लैङ्गिक सन्तुलन र सामाजिक न्यायका दृष्टिले लैङ्गिक समानताको रुपमा हाम्रा समाजलाई डोर्‍याउनुपर्दछ। डोर्‍याउनु जरुरी पनि छ। यसका लागि महिलाको भूमिकाले पुग्दैन। समाजका सबै तह र वर्गको समानुपातिक तवरले सहयोग र सहकार्य जरुरी छ।

घरेलु हिंसा वा महिला हिंसाबाट कसरी मुक्त हुने त?

घरेलु हिंसा तथा त्यसैको पर्यायवाचीको रुपमा रहेको महिला हिंसाबाट बच्नका लागि सबैभन्दा पहिले त चेतना जरुरी छ। चेतना शिक्षाको रूपमा, चेतना सामाजिक न्यायको स्वरूपको पहिचानका रूपमा, चेतना कानुनी प्रावधानका स्पष्ट दण्डका रुपमा र अमानवीय, जघन्य अपराधका रुपमा घरेलु हिंसालाई पहिचान गरी समाजको रुपान्तरण जरुरी छ। त्यसका लागि बालिकालाई शिक्षा, महिलालाई शिक्षा र वृद्धालाई शिक्षा र सबैका लागि समानतामुखी शिक्षा नै आजको आवश्यकता हो।

वास्तवमा यो एउटा यक्ष प्रश्न बनेको छ कि शिक्षा प्राप्त नभइ सामाजिक चेतना प्राप्त हुँदैन र सामाजिक न्यायको प्रत्याभूति भनेको नै शिक्षाले मात्र दिन सक्दछ। कुन पहिले त, सामाजिक न्याय प्राप्तिका लागि आवश्यकपर्ने चेतनाका लागि शिक्षा नै अपरिहार्य तत्त्व हो। त्यसैले पनि शिक्षालाई आधारभूत आवश्यकता र मौलिक हकको रुपमा लिइएको छ विश्वव्यापी रूपमा। अवसरका लागि पनि शिक्षा आवश्यक छ। सामाजिक न्यायको सिद्धान्तले पनि के भन्दछ भने वञ्चित समुदायलाई राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारले सुसज्जित पार्न पनि उनीहरुलाई सशक्तिकरण गर्नु अनिवार्य छ।

मानवीय सशक्तीकरणका लागि शिक्षा नै पूर्वशर्त पनि हो र परिणाम पनि हो। त्यसैले सामाजिक न्याय प्राप्तिका लागि पहिलो पूर्वाधार नै शिक्षा उपलब्ध गराउनु हो। एउटा सर्वमान्य धारणा के छ भने शिक्षा प्राप्तिपछि सामाजिक न्याय प्राप्त गर्न सवै मान्छे स्वतः सक्षम हुन्छन्। सामाजिक न्यायको वितरणको लेखाजोखा गर्न पनि शिक्षाको नै जरुरत पर्दछ। तर अर्को समस्या के देखापर्दछ भने शिक्षा प्राप्ति नै यत्ति दुरुह भएको छ कि यो नै सर्वप्रथम सामाजिक न्यायको पहिलो शर्तको रुपमा उपलब्ध गराउनुपर्दछ। आज शिक्षालाई मौलिक हकको पनि प्राथमिक स्वरूपमा लिइएको छ।

शिक्षा पाउनु पनि सामाजिक न्यायको आधारभूमि हो र सामाजिक न्याय पाएको भनेको नै शिक्षा पाउनु हो। यसलाई केस्राकेस्रा गर्न पनि सकिँदैन तर शिक्षा प्राप्त गर्नु नै सामाजिक न्यायको पहिलो खुड्किलो चढ्नु हो भनेर चाहिं मान्नुपर्दछ। त्यसैले घरेलु हिंसाबाट बच्न पनि, महिलामाथि हुने हिंसाबाट बच्न पनि, बालिका तथा युवतीहरू बेचबिखनबाट बचाउन र बाध्यात्मक देहव्यापारबाट मुक्त गराउन पनि शिक्षाको नै आवश्यकता छ।

निष्कर्ष

घरेलु हिंसा वा लैङ्गिक हिंसा महिला हिंसा भनेको एउटै जस्तो मानिन्छ हाम्रो जस्तो विकासोन्मुख मुलुकमा। पितृसत्तात्मक सामाजिक तथा सांस्कृतिक परम्परा भएका मुलुकहरूमा, समाजमा यस्तो प्रकारको हिंसालाई क्रमशः हटाउन कडाभन्दा कडा कानुनी जरुरी भए पनि सोको प्रावधानभन्दा पनि शिक्षाको समुचित प्रवन्ध नै अत्यावश्यक हुन्छ। त्यसैले लैङ्गिक समानता र सचेतनाका लागि सामाजिक न्यायउन्मुख शिक्षाको सुप्रबन्ध जरुरी छ।

सामाजिक न्यायोन्मुख समाजले मात्र यस्ता हिंसाबाट समाजलाई मुक्त गर्न सक्छ र लैङ्गिक सन्तुलन कायम गरी सबै खालका लिङ्गीय विभेदलाई अन्त गर्न सक्षम हुनसक्ने वातावरण बन्न सक्छ।

- रासस, हरिविनोद अधिकारी
अर्को समाचार
मानवअधिकारको अवस्थामा सुधार खाँचो
०६ वैशाख २०८२
•
५ मिनेट पाठ
मानवअधिकारको अवस्थामा सुधार खाँचो
सांकेतिक तस्बिर
विस्तृत शान्ति सम्झौताको जगमा बनेको सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन, २०८१ साल संशोधनसहित पारित भएसँगै द्वन्द्वकालका पीडितले न्याय पाउने आशा राखेका थिए, तर ऐनअनुसार आयोगका पदाधिकारी नियुक्त हुन नसक्दा २०८१ सालमा पनि पीडितहरू मर्माहत भएका छन्।




सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी आयोगमा पदाधिकारी नियुक्तिका लागि प्रमुख दलहरूबीच मतैक्य नरहे पनि यसतर्फ ठोस काम हुन सकेन, तथापि सरकारले आयोगका पदाधिकारी छनोट गर्न फेरि सर्च कमिटी गठन गरेको छ।

राजतन्त्र फेरि बहाली गर्नुपर्छ भन्दै २०८१ चैत १५ गते पूर्वराजाका समर्थकले तीनकुने क्षेत्रमा गरेको हिंसात्मक प्रदर्शनका कारण एभिन्युज टेलिभिजनमा कार्यरत क्यामरा पर्सन सुरेश रजकको मृत्यु भयो।

प्रदर्शनमा भएको तोडफोड र ज्यादतिका विषयमा भिडियो खिचिरहेका पत्रकार रजकको आगजनीमा परेर ज्यान गुम्यो। सोही दिन प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका–४ घर भएका २९ वर्षीय सविन महर्जनको मृत्यु भयो।

उक्त हिंसात्मक प्रदर्शनमा धेरै मानिस घाइते भए। भौतिक संरचनामा तोडफोड र आगजनी गरी ठूलो धनको क्षति भयो। वर्षको अन्यतिर यो घटना निकै पीडादायी बन्यो।

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा केबलकार बनाउने क्रममा भएको विवादले उग्र रुप लिँदा सुरक्षाकर्मी र पहिचानवादी आन्दोलनकारी दुवै घाइते भए। पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केबलकार निर्माण गर्दा किरात समुदायको मुन्धुमी संस्कृति मेटिने आन्दोलनरत पक्षको भनाइ छ।

मुन्धुमी संस्कृतिलाई जोगाउन सो क्षेत्रलाई प्राकृतिक अवस्थामै छाड्नुपर्ने उनीहरूको माग छ। स्थानीय तथा राजनीतिक दलहरूको आदिवासी जनजाति पर्यावरणीय पाटो ध्यान दिन दिएर केबलकार बनाउनु राम्रो हुने सुझाव दिइरहेका थिए।

केबलकार आयोजना निर्माणकर्ता र स्थानीयबीच पर्याप्त छलफल र आवश्यक परामर्श हुन नसक्दा तनावको अवस्था छ। केबलकार निर्माण गर्न हुन्छ वा हुँदैन भन्ने पक्षबीच झडप हुँदा धेरै घाइते भइसकेका छन्। विवाद निरुपणका लागि सरकार र आन्दोलनकारी पक्षबीच वार्ता भए पनि निष्कर्ष निस्किसकेको छैन।

सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याजपीडितले काठमाडौँमा प्रदर्शन गरिरहेका छन्। सरकारले पीडितहरूसँग समय­समयमा वार्ताबाट समस्या समाधान गर्न सम्झौता पनि गरेको छ। तर कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अझै पनि मिटरब्याजपीडित, सहकारीपीडितहरू सडकमै आएर आन्दोलन गर्न बाध्य भएका छन्।

विद्यालयमा बालबालिकालाई पढाएर उनीहरूलाई उज्यालो भविष्य देखाउनुपर्ने शिक्षकहरू विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैतको अन्त्यदेखि विद्यालय बन्द गरेर सडकमा छन्। आफ्ना मागमा सरकारले सहमति गर्ने तर कार्यान्वयनमा ध्यान नदिने गुनासो उनीहरूको छ।

संवत् २०८१ भर माइतीघर मण्डलामा कुनै न कुनै विषयमा विभिन्न समूहले आफ्ना माग पूरा गर्न भन्दै प्रदर्शन गरिरहेकै छन्। देशका विभिन्न भागमा भइरहने हत्या, हिंसा, सामाजिक बहिस्करण र विभेदसमेतका अनेक घटनाको निष्पक्ष छानबिन र पीडकलाई कडाभन्दा कडा सजायको माग गर्दै यस्ता प्रदर्शन भइरहेका देखिन्छन्।

‘२०८१ साललाई नियाल्दा मानवअधिकारअवस्था उत्साहजनक हुन सकेन,’ मानवअधिकारकर्मी चरण प्रसाईंले भने, ‘अहिले पनि सडकमा शिक्षकहरू आन्दोलनमा छन्, विद्यालय शिक्षासम्बन्धी ऐन सरकारले बनाएर दिनुपर्ने हो, शिक्षकहरू सडकमा कानुन बनाउनुपर्‍यो भनेर माग गर्दै आन्दोलन गर्न आउनुपर्ने अवस्था होइन।’

सरकारले पीडितहरूसँग सहमति गर्ने तर कार्यान्वयन नगर्ने अवस्थाका कारण अहिले पनि सहकारी पीडित, शिक्षक, मिटरब्याजपीडित सडकमै आउनुपरेको उनको भनाइ छ। सरकार र पीडितबीच सहमति भएपछि त्यसलाई अक्षरसः कार्यान्वयनमा लैजानुपर्नेमा मानवअधिकारकर्मी प्रसाईँको जोड छ।

‘विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष बितिसकेको छ तर अहिलेसम्म पनि पीडितले न्याय पाउने अवस्था बनेको छैन,’ प्रसाईले भने, ‘एउटा सन्तोषको कुरा लामो समयपछि भए पनि ऐन संशोधन भयो, पदाधिकारी सिफारिसका लागि समिति बनेको छ, प्रक्रिया अघि बढेको भए पनि न्याय दिन धेरै ढिलाइ भइसकेको छ।’

नेपालले मानवअधिकारको प्रवर्द्धन, संरक्षण र न्याय दिने गरी विभिन्न अन्तर्राष्ट्रिय सन्धि/सम्झौतामा हस्ताक्षर गर्नुका साथै संविधानमा मौलिक हकको व्यवस्था गरेको छ। ती सन्धि सम्झौता र संविधान कार्यान्वयनको अवस्था अध्ययन गरी आवश्यक प्रबन्ध गर्नु राज्यको दायित्व हो।

मानवअधिकारकर्मी मन्दिरा शर्माले भनिन्, ‘नेपालले संयुक्त राष्ट्रसङ्घको सिड कमिटीमा प्रतिवेदन बुझायो, त्यहाँ धेरै नागरिक समाजले छलफल गर्न पायो, त्यो राम्रो कुरा हो।’

वर्षको पछिल्लो समयमा राजनीतिक कारणले धेरै धनजनको क्षति हुनेगरी घटना भएकाले मानवअधिकारको अवस्था कष्टकर रहेको उनको भनाइ छ।

‘राजावादीको आन्दोलनका नाममा हिंसात्मक गतिविधिले तीनकुनेमा ज्यान जाने घटना भयो,’ उनले थपिन्, ‘कार्यस्थलमा काम गर्दै गरेको पत्रकार जिउँदै जलाउनु जघन्य अपराध हो, त्यो अन्त्यन्तै चिन्ताजनक कुरा भयो।’

नेपालमा बाल सुधार गृहहरूमा भौतिक संरचनाको कमीका कारण पनि बाल सुधारगृहमा झडप नै हुने स्थिति आएको र झडपकै क्रममा बालबालिकाको मृत्यु हुनु मानवको बाँच्न पाउने अधिकारकै उल्लंघन भएको उनको भनाइ छ। ‘बाल सुधारगृहको भौतिक संरचनाका कमी भएको देखिएको छ, जसकाकारण बालबालिकाबीच झडप भएर ज्यानसमेत जाने अवस्था भयो,’ उनले थपे, ‘यसतर्फ सरकार गम्भीर हुनुपर्छ। यस्ता घटना पुनरावृत्ति हुन नदिन सरकारले काम गर्नुपर्छ।’

नेपालको संविधानमा व्यवस्था गरेका मौलिक हकहरू अझै कार्यान्वयन प्रभावकारी रूपमा आउन नसक्दा नागरिकले संविधानप्रदत्त हकको प्रयोग गर्न नपाएको मानवअधिकारकर्मी शर्माको भनाइ छ। ‘मानवअधिकारका लागि यस वर्ष पहल, प्रयास भएका छन् तर उल्लेखनीय हुन सकेन।’

कतिपय मामिलामा सरकारले समयमै पर्याप्त ध्यान नदिँदा मानवअधिकारको अवस्थामा सुधार आउन नसकेको राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापाको भनाइ छ। ‘आयोगले अनुगमन गर्छ, उजुरी आउँछन्। पीडितको न्यायका लागि आयोगले गरेका सिफारिस २०८१ सालमा एउटा पनि कार्यान्वयनमा गएनन्,’ उनले भने, ‘कतिपय समुदायका मानिसले जातका आधारमा विभेद भोगिरहेका छन्, सांस्कृतिक हिंसा छ।’

- कालिका खड्का, रासस
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस