मौनताभित्रको खलबल
०२ मंसिर २०८१
•
८ मिनेट पाठ
मौनताभित्रको खलबल
संसार, गलत क्रियाकलाप गर्नेहरूबाटै नष्ट हुँदैन, यस कारणले हुन्छ जो गलत क्रियाकलाप चूपचाप देखि मात्र रहन्छन्।




-अलबर्ट आइन्स्टाइन

एकदिन वरिष्ठ अधिवक्ता मित्रको ल च्याम्बरमा सेवाग्राही र वकिलबीच संवाद सुन्दै थिएँ। मुद्दाका विषयमा लामा कुरा भैसकेपछि कुरोको चुरो थालनी भयो। मेरा कान ठाडा भए।  

सेवाग्रही-हजुरको पार्टीका न्यायाधीश नियुक्ति हुनुभयो नि।

-हो नि।  

हजुरका साथी पनि रहेछन्, न्यायाधीशसँग हजुरको सेटिङ छ कि छैन् ? वकिल– तपाईँको मुद्दामा दम छ। आधार छन्। प्रशस्त प्रमाण पनि छन्। बहस, तर्क गर्ने राम्रै ठाउँ छ। मेरो स्वभाव, न्यायप्रतिको समर्पण र आदर्श उनीहरूले राम्रै बुझ्छन्। त्यस्तै मसँग इजलासमा राम्रै व्यवहार पनि गर्छन्। तर, सेटिङ सम्बन्ध भने मेरो छैन। तपाईँका मुद्दामा जब सशक्त प्रमाण हुन्छन् तब सेटिङ आवश्यक हुँदैन।

सेवाग्राही– वकिल साब, हजुर अदालत नबुझेझैँ गर्नुहुन्छ। सेटिङ नभए फैसलामा ढुक्क हुन भने सकिँदैन, क्या।

सेवाग्राही उठे। बाहिरिए। दैनिकजसो यस्ता विषय सामना गर्नुपरेका वकिललाई त यो कुनै नौलो विषय भएन। तर, मलाई भने न्याय किन्ने, बेच्ने पसल हुँदारहेछन् भन्ने ढुक्क भयो। अहिले सेटिङमै मात्रै समस्याको हल हुन्छ भन्ने आमनागरिकमा विश्वास बढ्दो छ। मैले पनि आदर्शका गीत गाउँदाको मूल्य भुक्तान गरिसकेको छु। ऋण लिन त घूस ख्वाउनुपर्ने अवस्था छ। साहू जिम्वाललाई घिउ ख्वाउनुपथ्र्यो। घूस नखुवाए त कामै बन्दैन भन्ने आमधारणा अहिले त्यसै बनेको हैन। स्वयंले घूस ख्वाउने दलाल खोज्नुपरेको घटना सम्झिएँ।

समाजमा सेटिङ शब्दलाई अब चतुर र सक्षमको अर्थका रूपमा लिन थालियो। सेटिङमै सरकार, न्यायालय, अर्धन्यायिक निकाय, पुलिस प्रशासन सबै क्षेत्र चले। सेटिङ भए जे पनि गर्न सकिन्छ भन्ने भाष्य तयार भए। समग्र सरोकारवालालाई मिलाउन सक्नेलाई सक्षम सेटिङवाला मानिन थालियो। अब दलाल होच्याउने गाली शब्द नभएर पौरख बन्यो। तेरो र मेरो भ्रष्टता भनेर एउटै प्रकृतिका मुद्दामा दुईथरी मानक तयार भए। दामली र चाकरहरू निर्णय थलोमा पुगेपछि न्यायका परिभाषा र फैसलामा अन्तर आउने नै भयो।

सेटिगमा सत्ता प्रतिष्ठान चल्छ भने अरूले के भन्ला भन्ने मनोआतंकले बनेका आदर्श स्यालको सिङ बन्न पुग्छ नै। सक्षम सेटिङकर्ताले पुराना मूल्य÷मान्यता, आदर्श, राजनीति, सङ्गठन, सपना, आशा सबैका परिभाषा फेरिदियो। भ्रष्टाचार एक्लै हुनै सक्दैन। भ्रष्ट सिन्डिकेटका हात धेरै लामा हुन्छन्। सत्ता बनाउने, भत्काउने मात्रै हुँदैनन्, पार्टीहरू माफियाका हाकाहाकी भजन गाउन थाल्छन् र कार्यकर्ता खैजडी बजाउन। अदालतमा प्रवेश पाएका विषय पनि न्यायिक ड्राइक्लिनर्सले चोख्याइन्छ। महाभ्रष्ट नचोख्याए आफैँ फस्न सकिने भएकाले निर्णयकर्ता मानसिक दबाबमा हुन्छन्। धेरैका चैनमाथि हमला गरिरहेको यो वेला हो।

भिड राजनीति बन्नै सक्दैन

सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री एवं नेकपा एमाले नेता पृथ्वी सुब्बा गुरुङले आफनै सन्तान (एमाले पार्टीका छोराछोरी) समेत भिडको हिस्सा बनेकोमा चिन्ता र लाचारी व्यक्त गरे। तर त्यसका कारण के हुन ? कतै पार्टीहरू नै जिम्मेवार त छैनन् ? भनेर चिन्तन गर्न भने कुनै पार्टीले थालेनन्।

सत्तामा रहँदा र नरहँदा नेताहरूकै बोली एकैखाले रहँदैन। सत्तामा रहँदा युवासँग भन्छन्– युवाहरू देश निर्माता हुन् तर देशको विनाश उनीहरूबाटै भइरहेको हुन्छ। चरित्रहीन नै चरित्रवानको शिक्षा दिइरहेका हुन्छन्। शिक्षाको उद्देश्य पैसा कमाउनु हैन भन्छन् तर जस्तोसुकै भ्रष्टाचार गर्न वा भ्रष्ट क्लबको नेतृत्व उनीहरू नै गरिरहेका हुन्छन।

विदेशिनु हुँदैन भन्छन, आफ्ना सन्तान भने या त विदेशिन्छन या सत्ताको आडमा कारोबारी हुन्छन्। यी सबै देखिरहेका शिक्षित युवाहरू तब आफ्नै मान्यता र विश्वासमा तर्क गर्न थाल्छन्। कामधन्धा केही पनि नभएपछि घरको अवहेलना र समाजको अपमानले पनि एउटा शिक्षित बेरोजगार, संवेदनशील युवा भित्रभित्रै टुट्छ। सपना देखाउने नेता र हिजैका क्रान्तिकारी देख्छ, मिडिया देख्छ, बौद्धिक तप्का देख्छ, धार्मिकजन देख्छ तब बनाएको आदर्श, सिद्धान्त, नैतिकता धुजाधुजा भएको प्रत्यक्ष अनुभूत गर्छ। आदर्श पतन, नेताको धूर्तता, अनैतिकता, बेइमानी, नीचता आफ्नै अगाडि देखेर ऊ तिल्मिलाउन थाल्छ। तब प्रतिक्रियामा उत्रन्छ। चौतर्फी पतन देखिरहेको उसले कसलाई पत्याओस् ! भरोसा गरोस् !

चौतर्फी मूल्यको सङ्कट र मूल्यहीनताको जगजगी देखेपछि या त ऊ भिडको हिस्सा बन्न पुग्छ, पैसा नै समाजको आदर्श बनेपछि ऊ जे पनि गर्न हुन्छ भन्ने निष्कर्षमा पुग्छ। उन्माद र तनावले भूमिका तय गर्ने भिडद्धारा हितअनुसारको काम गराएर राजनीति सत्ता हासिल गर्ने तत्व सक्रिय भएर ऊमार्फत विध्वंशक काम गराउन पनि सक्छन्।

दिशाहीन, हतास, नकारवादी, विध्वंशकारी बेरोजगार युवाहरूलाई त धर्मिक उन्मादमा, जातीय उत्तेजनमा उरालेपछि ती झन खतरनाक हुन्छन्। यसको प्रयोग खतरनाक समूहले गर्न सक्छन्। अहिले मधेसमा जातीय घृणा र उत्तेजना कम भए पनि एकाएक धार्मिक उत्तेजना भने ह्वात्त बढेको छ। सक्कली उत्तेजना बढाउन नक्कली दुश्मन तयार गर्न आवश्यक बन्छ।

घृणाले उत्तेजित भीड त अझ विध्वंशक र क्रोधी हुन्छ पनि। अब यहाँ केही हुँदैन् भनेर विश्वस्त भइयो भने मन र मस्तिष्कमा गुम्सिरहेको जागृत घृणा उम्लिएर भिडको हिस्सा बन्दै सन्तुष्ट बन्न पुग्छ। पार्टीहरूका हुने, गर्ने, बोल्ने र देखिनेबीचको भिन्नता सूचना प्रविधिले सहजै पत्ता लगाएपछि हतास युवा प्रतिक्रियामा तुरुन्त उत्रन्छ। उपाय नपाएपछि या त भिडको हिस्सा बन्छ या भ्रष्ट ग्याङ, माफिया वा देशै छाडेर विदेशिन्छ पनि।

मौन संस्कृति

भ्रष्टतन्त्र (क्लेप्टोक्रेसी), सेटिङ र भिडतन्त्रविरुद्धको मौन संस्कृति डरलाग्दो छ। के नेपाली सामाजिक चरित्र फेरिएकै हो ! गम्भीर विषयलाई सहज र सरल बनाउनु वा वास्ता नराख्नु भनेको मौन संस्कृतिकै अर्को रूप हो। समाज चिन्तित किन हुँदैन ? चौतर्फी उकुसमुकुस हुनु तर कहीँकतै पनि चासो, सरोकार र विद्रोह किन बनेन् ? मेरो भ्रष्टता ठीक, अर्काको गलत भनेर सडकमा जुलुस निक्लन थाले। कतै यो राष्ट्रिय र सामाजिक चरित्र त बन्दै छैन् ! शङ्का बढ्दा छन्। शङ्का सत्यमा फेरिइरहेका र नायकहरू खलनायकमा फेरिरहेका बेला मान्छे बोल्नुपर्ने, चिच्याउनुपर्ने समयमा पनि मौनता साधिन्छ भने सामाजिक चेतना कतै ध्वस्त त भएन ! भन्ने हुन्छ।

भ्रष्ट सिन्डिकेट योजनाबद्ध ध्यान विषयान्तर गर्दै गयो। नयाँ तर्क, नयाँ मुद्दा उरालिएर गम्भीर विषयलाई महत्वहीन बनाइयो। त कतै यो राजनीतिक शून्यता त हैन ! शून्यता कतै हुँदैन, आँधीबेहेरी पहिलाको सङ्केत भने बन्न सक्छ। यो सामाजिक समस्या राजनीतिप्रतिको उदासीनता र घृणा हो। राजनीति विचार मात्रै हैन, कला पनि भएकाले भ्रष्टाचारले समाजलाई गाँजेपछि जनमतको हृदय, मानसिकता, विश्वास र सपना फेरिदिन्छन्। पुराना सोच भत्काएर नयाँ विकास गर्छ। तर, मौन संस्कृति र तर्कहीन सक्रियताले निष्क्रिय समाजलाई भिडको अंश बनाइदिन्छ। संसारकै ठूला भ्रष्टाचार भनेका नीतिगत भ्रष्टाचार हुन्छन्। त्यही छिद्रमा न्यायका खेल खेलिन्छन्।

अन्तमा

जागृत समाज मात्रै बोल्छ, प्रतिरोधी भूमिकामा उत्रन्छ। तर भिड हल्ला र प्रतिक्रियाले हाँकिन्छ। जागृत इच्छाशक्तिले मात्रै वास्तविकता खोज्ने गर्छ, हल्ला त सित्तैमा घरमै आइपुग्छ। सोच्ने ठेक्कापट्टा अगुवालाई सुम्पिएर पछिपछि लत्रिँदै घिस्रिनु नै भिड चरित्र, लम्पट कार्यकर्ता नागरिकबाट रैतीमा फेरिएको जमात बन्नु हो। भिडमा मान्छे फेरिएर सोच बनाउन थाल्यो भने सबभन्दा पहिला ऊसँग विवेक र चेतनाले छुट्टी लिन्छन्।

नेपाली राजनीतिलाई भ्रष्ट सिन्डिकेटको सहमति चक्रब्यूहबाट निकाल्न मौन संस्कृति तोडेर मात्र मारक तर्क, गतिशील समयको नाडी छाम्ने र त्यसलाई वाणी दिने नेतृत्व, त्यसैको वरिपरि केन्द्रित सक्रियतावादीहरू र क्षय भएको विश्वास पुनः स्थापित हुन्छ। तर, जागरुक मान्छेको उदासीनता मौन संस्कृतिको कारक बन्न पुग्यो।  

सामाजिक चरित्रमा फेरिँदै गएको सेटिङमै अब त राजनीतिक पार्टीे, सोच, नारा, मिडिया पनि सेटिङ हुन थालेकै हो ? सत्तामा पुग्न र टिक्न मतमतान्तर भए पनि भ्रष्ट सिन्डिकेट बनाउन, चलाउन र रक्षा गर्न भने सबै पार्टीहरू एक ठाउँमा सहमतिमा पुग्छन्। राजनीतिका नर्सरी ब्याड बनेका अखिल, नेविसङ्घ, तरुण दल, युथ फोर्स र वाइसिएल भ्रष्टतन्त्रका आँगनमा रत्यौली खेल्ने कलाकार बन्न पुगे या सामाजिक सञ्जालमा गाली बक्दै निराशा छर्न थाले। केही भिडमा फेरिए। जुन समाजको युवा र बौद्धिक तप्का मौलिक भूमिकामा हुँदैन तब आशा निराशामा फेरिन्छ नै।

पार्टीहरू भ्रष्ट सिन्डिकेटमा सहमति बन्नु र सम्बन्धित भात्रृ सङ्गठनलाई आन्दोलनको मुद्दा नबन्ने कारण बने। तब राजनीतिप्रति नै वितृष्णा हुनपुग्यो। चनाखो रहनुपर्नेहरूकै सामाजिक मौनता सामान्य हुँदैन। नागरिक समाज यस अभिलेख भत्काउने विषयमा मौन छ। मौनताको मुहान सिन्डिकेट असर तल तल चुहिँदै लाभान्वित बन्दै गएको देखिन्छ। के युवा र विद्यार्थी सङ्गठनहरू तिघ्रे उत्पादन संस्थामा फेरिएका हुन त ? भ्रष्टताको सिन्डिकेट थियो नै, मौनताकै पनि कतै सिन्डिकेट त बनेको छैन ?

पतितहरू दलदलमा फसे भने म मात्रै राम्रो भएर के गर्ने ? भन्ने तर्क केही युवा गर्दैछन्। उनीहरूसामने आस्थाको सङ्कट छ। हाम्रै सामने युवाहरू आन्दोलनमा उत्रिए, क्रान्तिमा होमिए। रथि, सारथि नै पतन भएपछिको आशा र भरोसा कसमाथि भन्ने प्रश्नले रन्थनिए। जुन युवा पिढीले पतनशीलता स्वीकार्‍यो त्यसबाट अपेक्षा गर्न भने सकिँदैन। एउटा यस्तो नयाँ पिढी पनि देखिँदैछ जो पुरानो पिढीभन्दा पनि भोगविलासमै रमेको छ, अझ नयाँ केही हुनै सक्दैन, पुरानैमा फर्कनुपर्छ भन्ने पश्चगामी सोच पनि राख्छ। सङ्गठनको राजनीतिक चरित्र गुमेपछि भिड बन्छ। भिडको चिच्याहट नारा हुँदैन।

युवा विध्यार्थीसँग विचार होस्, दिशाबोध भएको सङ्गठन होस् र सकारात्मक उत्साह होस् र आफ्ना पूर्वजहरूका कमीकमजोरी चिन्ने र उनीहरू नायकबाट खलनायक बन्ने अवस्था के/कसरी आयो भनेर खुट्याओस्। त्यसलाई त्यागोस्, हकवाला नबनोस् र शिक्षा लिएर बढोस् तब न ऊ समयको नेतृत्व गर्न सक्छ। निरासा, संकट, राजनीतिक र सामाजिक कुरीतिका सिन्डिकेटबाट देशको भ्रष्ट राजनीति मुक्त हुन सकिन्छ। यस्तै अवस्थाबाट गुज्रिएका देशहरूमा फेरि अर्को क्रान्ति भएका छन्, सामाजिक परिवर्तन भएका छन्, नयाँ नायकहरू जन्मिएका पनि छन्। विश्वासको पुनस्र्थापना भएका छन् त्यसमा भिड बन्न अस्वीकार गर्ने युवाहरूकै भूमिका छ। के त्यो आशा नेपाली युवासँग गर्न सकिएला ?
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २० मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस