निष्ठावान् नेताको खोजी
२६ वैशाख २०८१
•
९ मिनेट पाठ
निष्ठावान् नेताको खोजी
निष्ठा भनेको नैतिक आदर्श हो र मानवीय विवेकको सुन्दर प्रस्तुति र व्यवहार हो। तपाईँ चाहे विद्यार्थी क्लबको नेतृत्व गर्नुहोस् वा कुनै कार्यसम्पादन टोलीको अथवा कुनै कम्पनीको सिइओेका रूपमा नेतृत्व गर्नुहोस्, त्यो अवस्थामा तपाईँलाई संस्थाका मूल्य र मान्यताहरूलाई मिचेर नैतिक सीमाहरू पार गर्न धेरै सजिलो हुन्छ। त्यो बेला तपाईँले गरेका निर्णय र सम्झौताहरू व्यक्तिगत लाभ र स्वार्थबाट अभिप्रेरित हुने गर्दछन्। अनि यहीँबाटै तपाईँको आदर्श र निष्ठा स्खलित हुन थाल्दछ। यसैको परिणामस्वरूप आज हामीले सार्वजनिक र निजी क्षेत्रमा व्यापक घुसखोरी अनियमितता र विकृतिहरू देखिरहेका छौँ, भोगिरहेका छौँ। वास्तवमा यो कुरा नै अनैतिक नेतृत्वको कुरूप अभिव्यक्ति हो।




नैतिक आचरण र इमानदारिता नै निष्ठावान् नेतृत्वका प्रमुख आधार स्तम्भहरू हुन्। निष्ठावान् नेताहरूले व्यक्तिगत लाभभन्दा सामूहिक र आफ्नो सरोकारवालाहरूको हितलाई उच्च प्राथमिकता दिने गर्दछन्। उनीहरूमा निर्भीक किसिमको जवाफदेहिता र पारदर्शिता पाइन्छ। उनीहरूले यिनै नैतिक सिद्धान्तहरूको निरन्तर पालना गरेर आत्मविश्वास कमाउँछन् र जस्तोसुकै कठिनाइमा आत्तिने गर्दैनन्, कुनै किसिमका लोभलालच र प्रलोभनमा फस्दैनन्। जस्तोसुकै प्रतिकूल अवस्थामा पनि स्थिर र अविचलित रहेर प्रतिकूलताको सामना गर्छन्। समाजमा यस्तै नेताको मात्र सम्मान बढ्ने गर्छ। यिनै सम्मानित नेताहरूबाट नै सम्मानित संस्कृतिको विकास भई सामाजिक उत्तरदायित्वको क्षेत्रमा ठोस र सकारात्मक योगदान पु¥याउन सकिन्छ। अनि त्यस बेला समाज लयबद्ध र व्यवस्थित ढ·ले चलायमान बन्दछ। आज समाजले यस्तै उच्च र निष्ठावान् नेतृत्व खोजिरहेको छ।

समाजमा जब जो कोही नेता निष्ठावान् संस्कार र आचरणका उज्याला पक्ष बिर्सेर अँध्यारा र काला प्रभावहरूको जालोमा पर्दै जान्छन् तब उनीहरूको भूमिका र नेतृत्व अनैतिक बन्न थाल्छन्। यस्ता अँध्यारा प्रभावमध्येको एउटा कारक तत्त्व व्यक्तिगत लाभको चाहना हो। यसले उनीहरूलाई नैतिक सीमा मिचेर आर्जन गर्न, पदोन्नति पाउन र अनुचितरूपमा पैसा कमाउनका लागि प्रेरित गर्न सक्छन्। यस्तै निष्ठामा आँच पुर्‍याउने दोस्रो कुरा सफलताको खोजी हो। यसका लागि व्यक्तिले अनेक प्रपञ्च गरेर, प्रतिस्पर्धाका सेटिङहरू मिलाएर जस्तोसुकै सम्झौता गरेर भए पनि आफूलाई अरूभन्दा माथि र सफल बनाउन खोज्छन्, उनीहरू कुनै पनि मूल्यमा नतिजा आफ्नो पोल्टोमा पार्न चाहन्छन्। सिद्धान्तका कमजोर ठाउँहरूमा खेलेर होस् या लेनदेन वा काँटछाँटको सम्झौता गरेर होस् उनीहरू जसरी पनि आफूलाई सफल देखाउन खोजिरहेका हुन्छन्।

निष्ठावान् नेतृत्वको तेस्रो बाधा अस्वस्थकर स·ठनात्मक संस्कृति हो। यस्तो संस्कृतिले अनैतिक कार्य गरिरहँदा उनीहरूले परिणामबारे सोचेका हुँदैनन्। कमजोर नेतृत्व र नैतिकताको कार्यान्वयनमा गरिने ढिलासुस्ती अनैतिक कार्य गर्न दिइने अनुमति जस्तै हो। यसले समस्यालाई झनै बल्झाउने काम गर्दछ र यो संस्कृतिले नुनको सोझो गर्ने वा गुनको बदला गुनैले तिर्न खोज्ने प्रवृत्ति झनै फस्टाउँछ अनि अनैतिक व्यवहारहरू अझ बढ्दै जाने गर्दछन्।

नेता वा नेतृत्वलाई लाग्न सक्छ, कहिलेकाहीँका विशिष्ट परिस्थितिमा अनैतिक कार्यहरू पनि आवश्यक हुन्छन् र स्वीकार्य वा जायज हुन्छन् तर जस्तोसुकै परिस्थितिमा पनि यसो गर्नु शोभनीय र जायज मानिँदैन। समाजमा कमजोर चरित्र भएका मानिस साथीभाइको दबाबमा अनैतिक कार्यलाई पराजित गर्न सक्दैनन्। साथै केही नेताहरूको नैतिक धरातल कमजोर छ वा समानुभूतिको अभाव छ, त्यस्तो अवस्थामा उनीहरूले अरूलाई असर नपर्ने गरी अनैतिक व्यवहारको सिकार बनाएका हुन्छन्। यो कुरा पनि नैतिक दृष्टिकोणले खराब नै मानिन्छ।

निष्ठावान् नेतृत्व विकासको चुनौती

आज नेपाल भ्रष्टाचारको जालोमा जेलिएको छ। भ्रष्टाचारको बलियो उपस्थिति र पकडले सुशासनको बाटो अवरुद्ध गरेको छ। नेतृत्वलाई मूल्य र सिद्धान्तको नायक बन्नबाट रोकेको छ। यस्तो लाग्छ, प्रत्येक नेपालीले ससम्मान कुनै नेतृत्वलाई राजनेता मानेर ससम्मान भित्तामा सजाउने एउटा पनि व्यक्ति फेला परेको छैन। जता फर्केर हेर्‍यो, व्यक्तिगत लाभका निम्ति आफ्नो शक्ति र साधनस्रोतलाई दुरूपयोग गर्दै शासनको नेतृत्व सम्हालिरहेका मात्रै भेटिने गर्दछन्।

यस्तै नेतृत्वका कारण आज निजी तथा सार्वजनिक क्षेत्र दुवैमा नेतृत्वप्रति जनताको विश्वास र भरोसा टुट्दै गएको छ र उनीहरूको नैतिकता नै धरापमा पर्दै गएको छ। स्वार्थका लागि बारम्बार भइरहने नेतृत्व परिवर्तनले राजनीतिक अस्थिरता बढ्दै गएको देखिन्छ। निष्ठापूर्वक नेतृत्व गर्छु भन्नेहरूले पनि स्वतन्त्ररूपले काम गर्न सकिरहेका छैनन् र यसले पनि निष्ठावान् नेतृत्व निर्माणको प्रयासमा बाधा पुर्‍याएको छ। उनीहरूका अल्पकालीन मुद्दा र अजेन्डाहरू दीर्घकालीन नैतिक विचारहरूमा विजयी हुने गर्दछन् जसका कारण पनि निर्णय लिने क्रममा अनैतिक सम्झौताहरू हुने गर्दछन्।

निष्ठावान् नेतृत्व विकासको अर्को चुनौतीका रूपमा सामाजिक–सांस्कृतिक पक्षहरू देखिन्छन्। समाजमा पहिलेदेखि चल्दै आएका मूल्य, मान्यता र परम्परा तथा क्रमबद्ध संरचनाहरूले पनि नेतृत्वका लागि अवसर र चुनौतीहरू सिर्जना गरेका हुन्छन्। नेपाल जस्तो देशमा नैतिक अभ्यास र कार्यका लागि अत्यन्तै थोरै अवसर र ठाउँ छन्। त्यसैले उनीहरूले उपयोगिता र स्वार्थका लागि जस्तोसुकै सम्झौताहरू पनि गर्न पुग्दछन्। यसैको उदाहरणका रूपमा नातावाद, कृपावाद, उपहार वा पैसा, आग्रह वा पूर्वाग्रह राखेर त्यसैको छद्म भेषमा घुसखोरी र पक्षपातपूर्ण व्यवहारलाई लिन सकिन्छ। यसैका कारणबाट नेतृत्वले आफूलाई योग्य र माथि सम्झने तथा जनताले हीनताबोधको अनुभव गर्दछन्। यस्ता कुराले समाजमा अन्यायलाई प्रक्षय प्रदान गर्दछ र धनी र गरिबबीचको खाडललाई अझ फराकिलो बनाउने गर्दछ।

सिद्धान्तका आधारमा निष्ठावान् नेतृत्व

सत्य र न्याय मानव जीवनका अमूल्य ज्योति हुन्। असल नेतृत्व यी गुणहरूमा प्रतिबद्ध हुनुपर्छ। म अनैतिक नेतृत्वको पञ्जाबाट जसरी पनि बाहिर निस्कनु छ भने अठोट राख्नुपर्छ। यस्तै नेतृत्वलाई मात्रै परिवर्तनकारी र प्रामाणिक नेता मान्न सकिन्छ। नैतिकतालाई प्राथमिकता दिनसक्ने नेताहरूका कार्य र व्यवहारबाट यस विषयमा मूल्यवान ढाँचा र सिद्धान्तहरू तर्जुमा गरी कार्यान्वयन गर्न सकेमा ती निर्णय र सिद्धान्तहरूले व्यापक अनुमोदन प्राप्त गर्छन्। यसो भएमा नेतृत्व शक्तिशाली बन्न पुग्दछ र यस्तो नेतृत्व वरपरका सबै मानिसको लागि रोल मोडल र आदर्श बन्छन्। यस्ता नेताले प्रमाणका आधारमा काम गर्छन्। नैतिक साहसमा जोड दिन्छन् र उनीहरूले भावनात्मक बुद्धिमत्ता मात्रै देखाउँदैनन् उच्च नैतिकताप्रति प्रतिबद्धता पनि देखाउँछन्।

हालैका अध्ययनले के देखाएको छ भने दक्षिण एसियामा स·ठनको सफलतामा नैतिकतामा आधारित नेतृत्वको भूमिकालाई नै विशेषरूपले औल्याएको छ। उदाहरणका रूपमा, जर्नल अफ बिजनेस इथिक्समा प्रकाशित अध्ययन बंगलादेशको कपडा उद्योगमा केन्द्रित छ। अध्ययनअनुसार परिवर्तनमा विश्वास राख्ने नेताहरूले कसरी निष्ठा र नैतिकतालाई महŒव दिन्छन् भन्ने कुरालाई देखाइएको छ। भारतीय व्यवस्थापन संस्थानका विद्वान्हरूले उच्च नैतिकताले स·ठनभित्रका कर्मचारीहरूमा सन्तुष्टि र राम्रो स·ठनात्मक प्रदर्शनसँग जोडिएको हुन्छ भन्ने बताएका छन्।

त्यस्तै पाकिस्तानका मनोवैज्ञानिकहरूले नेताहरूको परिस्थितिजन्य दबाब, पूर्वाग्रहहरू र नैतिक निर्णयलाई प्रभाव पार्ने कुराहरू हटाउन नैतिक पहिचान र संज्ञानात्मक पक्षजस्ता कारकहरूको मुख्य भूमिका रहने उल्लेख गरेका छन्। यी अध्ययनबाट प्रस्ट हुन्छ कि नेताहरूमा निहित नैतिकता र निष्ठा नै सकारात्मक परिवर्तनका विशेषता हुन्। यिनै नैतिकता र निष्ठाले नै नेतामा विश्वसनीयता, प्रेरणा र निष्पक्षता स्थापना गर्न महत्त्वपूर्ण तत्त्वका रूपमा काम गर्दछन्। यसले गर्दा सम्बन्धित स·ठन तथा देश दुवैमा सकारात्मक परिवर्तन सम्भव हुन्छ।

के गर्न सकिन्छ ?

समाजका कुनै पनि कार्यस्थलमा निष्ठावान् नेतृत्व प्रदान गर्न असहज र चुनौतीपूर्ण बन्दै गएको छ। हरेक नेतृत्वमा देखिने आत्मकेन्द्रित भावनाले पनि यसलाई चुनौतीपूर्ण बनाएको हो। त्यसैले बलियो निष्ठा आर्जन गर्न र आफ्नो नैतिक पहिचानलाई उच्च राख्नका लागि नेतृत्वले निष्पक्षता न्याय र अखण्डताका सिद्धान्तहरूलाई परिपालन गर्नुपर्छ। उनीहरूमा रहेको नैतिकतापूर्ण इमानदारिताले नै नैतिक निर्णयहरू लिन मद्दत गर्दछ र उनीहरूलाई चुनौतीपूर्ण परिस्थितिहरूमा पनि आफ्नो मूल्य र नैतिकतामा अडिग रहन प्रोत्साहन दिने गर्दछ। नेताहरूले आफूले गरेका कार्यहरूको नैतिक प्रभावहरूको मूल्याङ्कन गर्नका लागि पनि नैतिक आत्मनिरीक्षणको अभ्यास गर्नुपर्छ। उनीहरूले नैतिक प्रतिबिम्बन र तर्कस·तपूर्ण व्यवहारका आधारमा निर्णय लिन सकेमा निष्ठामा आधारित नेतृत्व प्रदान गर्न सकिन्छ।

नैतिकताको बीजारोपण हुने ठाउँ परिवार हो। कुनै बाबुआमा भ्रष्टाचार, ठगी, झुट वा अन्यायपूर्ण काममा संलग्न भएको कुरा छोराछोरीले थाहा पाएमा वा देखेका खण्डमा छोराछोरीले पनि बाबुआमाले गरेका काम ठीक छन् भनेर सिक्न थाल्छन् किनभने बाआमा र घरका ठूलाबडाले गरेका काममा छिट्टै विश्वास गरिहाल्ने उनीहरूको स्वभाव हुन्छ। त्यसैले कमै उमेरका बालबालिकामा यस किसिमका कुकर्म र दुष्टताले जरा गाड्न पुग्दछ। परिवारमा बाबुआमाले गरेका यस्ता बदमासी र बाबुआमाले गरेको काम ठीक हो भनी देखासिकीमा छोराछोरीले गरेका कामलाई पनि सामान्यरूपमा लिएर व्यवहार गरिन्छ भने यो झनै घातक र खराब कुरा हो।

यद्यपि परिवारपछि नैतिकता सिक्ने ठाउँहरूमा विद्यालय, छरछिमेक, समाजका धार्मिक र सांस्कृतिक मान्यताहरू पनि पर्छन्। नैतिकताको अभ्यास हुने यी प्रारम्भिक प्रभावहरूले बालबालिकालाई यो कुरा सही र यो कुरा गलत हो भनी बुझ्न आधारशीला निर्माण गर्छन्। यही आधारशीलाको निर्माणबाट नै उनीहरूले क्रमशः न्यायपूर्ण व्यवहार देखाउन थाल्दछन्। त्यसपछि जब उनीहरू अझ परिपक्व हुँदै जान्छन् र जीवनमा धेरैभन्दा धेरै अनुभव बटुल्छन् त्यति उनीहरूको आलोचनात्मक चेत र नैतिक स्तरमा परिवर्तन आउन थाल्छ। साथै उनीहरूमा नयाँ नयाँ दृष्टिकोणको पनि विकास हुन थाल्दछ।

त्यस्तै व्यक्तिगतरूपमा हुने वृद्धि र विकास, शिक्षा, विविध संस्कृति र विचारधाराहरूको माध्यमबाट पनि व्यक्तिको नैतिक विश्वासलाई परिष्कृत बनाउँछ। यी कुराहरू बाहेक नैतिक तर्कलाई गहन बनाउने काममा संज्ञानात्मक विकासले पनि महŒवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ।

नैतिक मापदण्डको महत्त्व

नैतिक मापदण्डहरू कुनै देशका नियम, कानुन वा अधिकारले नियमन गर्ने कुराहरू होइनन्, यी त तर्क, विवेक र आचरणमा आधारित सिद्धान्तहरू हुन्। नैतिक मापदण्ड निष्पक्ष निर्णयहरूमा आधारित हुन्छन् र आत्मनम्रताभन्दा बाहिरका कुराहरूलाई प्राथमिकता दिने प्रकृतिका हुन्छन्। समाजमा जब कोही व्यक्तिबाट यी मापदण्डहरूको उल्लङ्घन गर्ने वा यस्ता विषयलाई सामान्यरूपमा लिने व्यक्तिहरू कोही अन्तस्करणबाटै मौन रहन्छन् भने कसैले तुष्टीकरणका विभिन्न क्रियाको सहायता लिन पुग्दछन्। उनीहरूले आफ्ना अनैतिक कार्यहरूलाई नैतिक र उचित बनाउन पूजापाठ वा दीनदुःखीलाई दान दक्षिणा गर्न खोज्छन् र आफूले अनैतिक किसिमले कमाएको पैसा, मान/सम्मानलाई कायम राखी म निष्ठावान छु, मभित्र सेवा र सहयोगको भावना छ भन्ने कुरा देखाउन खोजिरहेका हुन्छन्।

त्यसैले नैतिक मापदण्डहरूको पालना गर्नु सबैको जिम्मेवारी हो। अझ त्यसमा पनि समाज र देश हाँक्ने अभियानमा लागेका नेतृत्व वर्गका लागि यो झनै बढी जिम्मेवारीको कुरा हो। यस्तै जिम्मेवार नेताहरूबाट नै समाजमा नैतिक वातावरण सिर्जना गर्न सम्भव छ र न्यायपूर्ण समाज निर्माण गर्न सकिन्छ। नेताहरू समाजका दिशा निर्देशक कम्पास जस्तै हुन्। उनीहरूका व्यवहार र निर्णयहरूले नै व्यक्तिगत प्राथमिकता र परिस्थितिजन्य अनैतिक तŒवहरूलाई पन्छाएर समाजलाई स्वस्थ र स्वच्छ राख्न सकिन्छ। सकारात्मक परिवर्तनका माध्यमबाट समाज र राष्ट्रलाई गतिशील र उन्नत बनाउन सकिन्छ।
अर्को समाचार
तीन पूर्वमन्त्री थुनामा
२८ कार्तिक २०८१
•
१० मिनेट पाठ
तीन पूर्वमन्त्री थुनामा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसँग रूपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार करिब साढे पाँच घण्टा बयान लिएको छ। बुधबार पनि बयान जारी रहने सरकारी वकिल कार्यालयले जनाएको छ। लामिछानेले आफू सुप्रिमको सदस्य पनि नभएको र ऋणी पनि नभएको दाबीसहितको इन्कारी बयान दिएको बताइएको छ।




आफ्नो नाममा कसले पैसा जम्मा गरिदियो भन्नेबारे जानकारी नभएको भन्दै उनले गितेन्द्रबाबु (जिबी) राईलाई पक्राउ गरे वास्तविकता पत्ता लाग्ने बयान दिएको स्रोतको दाबी छ। गोर्खा मिडिया नेटवर्कमार्फत सुप्रिम सहकारीको रकम अपचलन गरेको सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहबरमा अनुसन्धान अधिकृतहरूले लामिछानेको बयान लिएका हुन्। बयानका क्रममा लामिछाने सहज रूपमा प्रस्तुत हुने प्रयास गरे पनि सहकारीको रकम आफूले नलिएको र ऋण माग नै नगरेको दोहोर्‍याएको स्रोतको दाबी छ।

मंगलबारको बयान सकेर निस्कँदै गर्दा लामिछानेले आफूमा अझै आत्मबल कमजोर नभएको सन्देश सञ्चारकर्मीमार्फत दिन खोजेका थिए। सुरक्षाघेराको बीचबाटै लामिछानेले भने, ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन।’ त्यसलगत्तै सुरक्षाकर्मीले उनलाई रोकेर अगाडि बढाएका थिए। लामिछाने गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक हुन्। सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गएको १४ करोड २९ लाख मध्ये दुई करोड लामिछानेकै नाममा निकालीएको यसअघिका अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

सोही मुद्दामा कात्तिक ८ गते जिल्ला अदालत रूपन्देहीले लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। लामिछानेलाई सोही मुद्दामा छानबिनका लागि रूपन्देहीमा बयान लिइएको हो। उनी सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरण मुद्दामा कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा थिए। गोर्खा मिडियामार्फत बुटवलको सुप्रिम सहकारीको रकम अपचलनका सम्बन्धमा उनीसँग बयान लिइएको रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रञ्जितसिंह राठौरले बताए। बयान सकिए बुधबार नै उनलाई कास्की पठाइने एसपी राठौरले जानकारी दिए।

लामिछानेलाई पोखराबाट मंगलबार दिउँसो साढे १२ बजे बुद्ध एयरको जहाजमा भैरहवा ल्याइएको थियो। लामिछानेलाइ भैरहवा ल्याउँदा विमानस्थलबाहिर रास्वपाले विरोध प्रदर्शन गरेको थियो। लामिछाने निर्दोष हुँदाहुँदै राजनीतिक प्रतिशोधका लागि प्रहरी हिरासतमा राखिएको भन्दै प्रदर्शनकारीहरूले सरकारविरुद्ध नारा लगाएका थिए। भैरहवामा सहकारी पीडितहरूले पनि दोषीलाई कारबाही गर्न र बचतकर्ताको रकम फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन गरेका थिए। ती दुवै प्रदर्शनलाई छल्दै प्रहरीले लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालय लगेर बयान लियो। बयानका क्रममा प्रहरीले सरकारी वकिलको कार्यालय र जिल्ला अदालत वरपर ठुलो संख्यामा प्रहरी तैनाथ गरी अघोषित रूपमा निषेध क्षेत्र बनाएको थियो। लामिछाने मंगलबार जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा बस्नेछन्।

लामिछानेको सुप्रिम ‘कनेक्सन’

गोर्खा मिडिया नेटर्वक गीतेन्द्रबाबु (जिबी) राईको कम्पनी हो। गोर्खा मिडियाको अध्यक्ष जिबी र उपाध्यक्ष छविलाल जोशी हुन्। सुरुमा गोर्खा मिडिया नेटर्वक प्रालिमा जिबी राई र पूर्वडिआइजी छविलाल जोशी बन्जाडे सेयर सदस्य रहेको देखिन्छ। त्यही गोर्खा मिडिया नेटर्वकले २०७७ फागुनमा ग्यालेक्सी टिभी सञ्चालनमा ल्याएको थियो। त्यही टिभीमा जोडिन आएका थिए लामिछाने।  

केही समय काम गरेपछि २०७८ को पुसमा लामिछाने प्रबन्ध निर्देशक बनेका थिए। लामिछाने एक लाख ८० हजार कित्ता सेयरसहित प्रबन्ध निर्देशक बनेका थिए। लामिछाने प्रबन्ध निर्देशक रहेकै बेला गोर्खा मिडिया नेटवर्कमा बुटवलको सुप्रिम सहकारीबाट ठुलो रकम गैरकानुनी रूपमा ऋण लगेर खर्च गरियो। बुटवलमा केन्द्रिय कार्यालय रहेको सुप्रिमबाट कानुनविपरीत गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा १४ करोड २९ लाख रकम कम्पनी र विभिन्न व्यक्तिका नाममा ऋण लिएर अपचलन गरेको यसअघि भएको अनुसन्धानले देखाएको छ। सो रकममध्ये रवि लामिछानेको नाममा मात्रै एक करोड ९६ लाख रूपैयाँ ऋण सुप्रिम सहकारीबाट गएको देखिएकोे अनुसन्धान प्रतिवेदनमा औंल्याइएको छ। सोही मुद्दामा अनुसन्धानका लागि लामिछाने रूपन्देही तानिएका हुन्।  

यसअघि गरीएको अनुसन्धान प्रतिवेदनअनुसार सुप्रिमबाट २ करोड रूपैयाँ रविको नाममा व्यापार कर्जा २०७७ को चैत १८ मा स्वीकृत गरेर लगेको देखिन्छ। जसमा संस्थाको सेवा शुल्क कटाएर १ करोड ९६ लाख रूपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आइएमई बैंकको भौचरमार्फत् जम्मा गरेको कागजात फेला परेको उल्लेख छ। सो भौचर सदर गर्नेमा सुप्रिमको बुटवल कार्यालयका व्यवस्थापक सागर केसी र रकम जम्मा गर्ने रोशनी गुरुङ हुन। रोशनी लेखा शाखाकी कर्मचारी हुन्।  

बुटवलको राजमार्ग चौराहमा केन्द्रीय कार्यालय रहेको सुप्रिम सहकारीमा १० हजार तीन सय ९१ बचतकर्ता छन्। ती बचतकर्ताले जम्मा गरेको एक अर्ब सात करोड मध्ये ८६ करोड १८ लाख बढी रकम जिबी राईको समुहले अपचलन गरेको भन्दै २०७९ सालमा इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी पर्न सुरु भएको थियो। सहकारीका एक हजार आठ सय ३१ बचतकर्ताले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका छन्। तीनै उजुरीका आधारमा करिब नौ महिना अघिदेखि सुप्रिम ठगी प्रकरणमा अनुसन्धान भइरहेको छ।  

यसअघि कास्की प्रहरीको हिरासतमा रहेका पूर्वडिआइजी तथा गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीलाई पनि सुप्रिम सहकारी गठी प्रकरणमा सरकारी वकिलको कार्यालय रूपन्देहीमा बयान गराएर कास्की पठाइएको थियो। अहिलेसम्म सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रूपन्देहीले दुईपटक गरी ४० जनालाई पक्राउ पुर्जी जारी गरिसकेको छ। कात्तिक ८ गते लामिछाने, पूर्वडिआइजी जोशीलगायत १२ जनाविरुद्ध संगठित अपराध अनुसन्धान मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो।  

त्यसअघि गत वैशाखमा जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमार्फत सुप्रिमका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई, अध्यक्ष ओमप्रकास गुरुङ, व्यवस्थापक सागर केसी, सचिव दीपेश पुनलगायत २८ जना बिरुद्ध मुद्दा दायर भएको थियो। तीमध्ये सातजना पक्राउ परेका थिए। 

पक्राउ परेकामध्ये अध्यक्ष गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। सचिव दीपेश पुनसहितका ६ जना धरौटीमा छुटे। जीबी राई, सागर केसीसहितका १९ जना विरुद्ध पनि जिल्ला अदालतले पक्राउ पुर्जी गरेको थियो। तर उनीहरू अहिलेसम्म पक्राउ परेका छैनन्। २०५७ सालमा दर्ता भएर सुषुप्त अवस्थामा रहेको बुटवलको मैत्रेय बचत तथा ऋण सहकारी संस्थालाई २०७२ सालमा जिबी राईको समूहले नाम परिवर्तन गरी सुप्रिम सहकारी बनाएको थियो। तत्कालीन समयमा मैत्रेय सहकारीको अध्यक्ष ओमप्रकाश गुरुङ थिए। राईले गुरुङलाई हात लिएर सहकारीको नाम परिर्वतन गरी आफू अध्यक्ष बने। सुरुमा राई अध्यक्ष र गुरुङ उपाध्यक्ष थिए। २०७६ मा साधारण सभा गरी गुरुङलाई अध्यक्ष बनाइयो,राइ संरक्षक बसे। पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन सचिव बने।  

सुप्रिमले स्थापनाको छोटो समयमै धेरै ब्याज र विभिन्न अफरको प्रलोभनमा पारेर ठुला व्यापारी, सरकारी कर्मचारी, शिक्षक, बैंकका जागिरे देखि साना व्यवसायी, वृद्धवृद्धा, एकल महिला निर्माण मजदुर सम्मलाई सदस्य बनाएर रकम जम्मा गर्न सफल भयो। तर सर्वसाधरणबाट त्यसरी जम्मा गरेको रकमको ठुलो हिस्सा जिबीको समूहले संगठित रूपमा अपचलन गरेपछि हजारौं बचतकर्ता निकै मर्कामा परेका छन्। खाई नखाई जम्मा गरेको बचत रकम सहकारीमा डुबेपछि पीडितहरू संघर्ष समिति बनाएर सडकमा आन्दोलन गर्न बाध्य छन्। उनीहरूले मंगलबार पनि भैरहवामा प्रदर्शन गर्दै दोषीलाई कारबाहीसँगै आफूहरूको बचत रकम फिर्ता पाउनुपर्ने माग गरेका हुन्। सुप्रिम पीडित संघर्ष समितिका संयोजक विजय नेपालले आफूहरूको बचत रकम फिर्ता दिनेतर्फ सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिए।

दुई दशक पुरानो मुद्दामा मनाङे जेल चलान

गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई मंगलबार कैदी पुर्जी थमाएर डिल्लीबजार कारागार पठाइएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले बताए। केही दिनअघि सर्वोच्च अदालतले उनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो।

उनी औपचारिक रूपमा कति समय जेल बस्ने भन्ने विषयमा कैदी पुर्जीमा केही जानकारी गराइएको छैन। ‘सर्वोच्च अदालतमा मिसिल रहेकाले विस्तृत कैदी पुर्जी दिइएको छैन’, जिल्ला अदालतका से्रस्तेदार शर्माले भने। पछि मिसिल आएपछि कति समय जेल बस्ने भन्ने विस्तृत कैदी पुर्जी आएपछि कारागारमै पठाइने उनले बताए। उनी कति समय जेल बसे र अब कति समय बस्नुपर्ने भन्ने विषय निक्र्योल नभएको उनले बताए। 

मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार काठमाडौंबाट पक्राउ गरेको थियो। ब्युरोका प्रवक्ता होविन्द्र बोगटीका अनुसार मनाङेले यसै मुद्दामा यसअघि ३२ महिना सजाय काटिसकेका छन्।  अब उनी बाँकी कैद भुक्तानका लागि २८ महिना जेल बस्नुपर्ने जानकारी उनले दिए। उनलाई पाँच वर्ष कैद सजाय तोकिएको थियो।  

करिब दुई दशक पुरानो मुद्दामा मनाङे जेल गएका हुन्। २०६१ वैशाख ३१ मा काठमाडौं महानगरपालिका महाराजगन्जस्थित एक रेष्टुरेन्टमा चक्रे मिलन र मनाङे समूहबीच हानाहान भएको थियो। त्यसैबेला मनाङेले हतियार प्रहार गरी चक्रेको बायाँ हात छिनाइदिएको उजुरी काठमाडौं प्रहरीमा परेको थियो। 

सोही उजुरीका आधारमा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरी २०६१ चैत १८ मा मनाङेलाई पक्राउ गरिएको थियो। उनीसहित पाँच जनाविरुद्ध मुद्दा चलाइएको थियो। सोही मुद्दामा उनी दोषी ठहर भएका हुन्।  प्रहरी अनुसन्धानपछि काठमाडौं जिल्ला अदालतको आदेशमा मनाङेलाई २०६२ वैशाख १३ मा डिल्लीबजार कारागारमा पठाइएको थियो। त्यसबेला दुई वर्ष कैद भुक्तान गरी २०६३ माघ २८ मा उनी छुटेको प्रहरी अपराध महाशाखाको आपराधिक अभिलेखमा उल्लेख छ। जिल्ला अदालतको फैसलापछि यो मुद्दा तत्कालीन पुनरावेदन ९हाल उच्च० अदालत पाटन पुगेको थियो। जिल्लाले तोकेको सजाय कम भएको भन्दै मुद्दा पुनरावेदन अदालतमा पुगेको थियो।  

पुनरावेदन अदालतले उनलाई दोषी ठहर गर्दै पाँच वर्ष सजाय ठहर गरेको थियो। त्यसपछि पक्राउ परेका उनले पुनरावेदन अदालतको फैसला थाहा नपाएको भन्दै सर्वोच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए। सर्वोच्च अदालतको आदेशपछि डिल्लीबजार कारागारमा रहेका उनी थुनामुक्त भएका थिए। त्यसपछि न्यायाधीशहरू शारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले मनाङेले धरौटी तिरेर जेलबाहिर बसी मुद्दा लड्न पाउने आदेश गरेका थिए। 

सर्वोच्चमा मनाङेले २०७५ फागुन ३ मा पुनरावेदन निवेदन दर्ता गराएका थिए। सर्वोच्चले डिल्लीबजार कारागारमार्फत २७ हजार धरौट बुझाएर सर्वोच्चमा पुनरावेदन गर्न पाउनेगरी आदेश गरेको थियो। १० वर्षभन्दा कम कैद सजाय भएका व्यक्तिले धरौटी राखेर जेलबाहिरबाटै सर्वोच्चमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ।  

पुनरावेदन अदालत पाटनले मनाङेलाई तोकेको पाँच वर्ष कैद सजायलाई सर्वोच्च अदालतले यही कात्तिक २० मा सदर गरेको हो। सर्वोच्चका न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पुनरावेदनको फैसला सदर गरेपछि मनाङे सजाय भुक्तानका लागि मंगलबार जेल चलान भएका हुन्।  

अधिकारी थप  सात दिन थुनामा

कोसी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई सात दिनको म्याद थप गरेको छ। मानव तस्करीमा संलग्न व्यक्तिहरूसँग साँठगाँठ रहेको पाइएपछि पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीलाई मंगलबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएकोमा अदालतले थप अनुसन्धानका लागि हिरासतमा राख्न सात दिनको समय दिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।  

यसअघि आइतबार पूर्वमन्त्री अधिकारीमाथि अनुसन्धानका लागि अदालतले दुई दिनको म्याद दिएको थियो। अधिकारीलाई विराटनगरबाट पक्राउ गरी आइतबार नै काठमाडौं ल्याइएको थियो। उनीसँगै अन्य पाँच जना पनि सोही प्रकरणमा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। यही कात्तिक १३ गते जापान पुगेपछि त्यहाँको विमानस्थलबाट अधिकारीसहितका व्यक्तिहरू फिर्ता गरिएका थिए।

कोसी प्रदेशका मन्त्री रहेकै अवस्थामा उनी ‘आर्ट काउन्सिल टोकियो’ले अक्टोबर २९ देखि नोभेम्बर ३ सम्म आयोजना गरेको भनिएको ‘कल्चर एट होम’ कार्यक्रममा भाग लिन भनी गएका थिए। अधिकारीसँग रहेका तीन युवाको कागजात शंकास्पद देखिएपछि जापानको अध्यागमनले उनीहरू सबैलाई फिर्ता पठाइदिएको थियो। 

संघीय सरकारको अनुमति नलिई प्रदेश मुख्यमन्त्रीलाई समेत टेलिफोनमा जानकारी दिएर हतारमा उनी जापान उडेका थिए। त्यहाँको अध्यागमन कार्यालयले उनीहरूलाई ४८ घण्टापछि फिर्ता गरिदिएको थियो। फर्किएपछि नेपालको अध्यागमन विभागले अधिकारीसँगै गएका तीन जनालाई नियन्त्रणमा लिएको थियो तर मन्त्री भने उम्किएका थिए। उनी उम्किएको केही दिनसम्म पनि यो विषय गुपचुपमा रहेको थियो। कात्तिक २१ गते उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।

मानव तस्करीमा मुछिएको चर्चा चल्न थालेपछि उनले पार्टीका सबै जिम्मेवारीबाट मुक्त गर्न नेकपा एमालेलाई निवेदन दिएका थिए। आरोप निरूपण नभएसम्मका लागि एमाले प्रदेश कमिटीले पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य र संगठित सदस्यबाट निलम्बन गरेको छ। प्रदेश कमिटीको निर्णयलाई शनिबार नै एमाले सचिवालयले अनुमोदन गरेको छ। अधिकारी मोरङ–२ (२) बाट लगातार दुई पटक एमालेबाट निर्वाचित प्रदेशसभा  सदस्य हुन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस