यसै वर्ष बुबाको मृत्यु भएका कारण भक्तपुर गोलमढीकी सानुमैया नागा (लागेजु)ले यस पटक भाइटीका मनाउन पाइनन् । निधारमा सप्तरंगी टीका लगाएर मसला दिन नपाएकी सानुमैयाले जीवनमरणको दोसाँधमा रहेको आफ्नो भाइलाई कलेजाको टुक्रासँगै नयाँ जीवन दिइन् ।
३६ वर्षीय बलराम नागाको काम नलाग्ने कलेजोको ठाउँमा ४२ वर्षे दिदी सानुमैयाको ६० प्रतिशत सफल प्रत्यारोपणसँगै यी दुवैको परिवारमा आशाको सञ्चार भएको छ । बलरामकी भान्जी अनिता ध्वजुले दुवैको अनुहार उज्यालो देखिएको सुनाइन् । ‘होसमा आउनेबित्तिकै मामाले दिदीलाई कस्तो छ भनेर सोध्नुभयो,’ उनले भनिन्, ‘दिदीले पनि पहिला भाइलाई कस्तो छ भनेर सोध्नुभएको थियो ।’
नेपालमा कलेजोको यो पहिलो सफल प्रत्यारोपणको छैटौँ दिन भक्तपुरस्थित अस्पतालमा भेटिएकी दाता सानुमैयाका श्रीमान् शिवप्रसाद र बलरामकी पत्नी कृष्णश्वेरीको अनुहारमा सन्तोष झल्कन्थ्यो । ‘दिदीले दाल, उसिनेको अण्डा, जाउलो र चिया खानुभयो,’ बलरामकी श्रीमती कृष्णश्वरीले भनिन्, ‘उहाँले पनि थोरैथोरै दालको झोल खानुभएको छ ।’ १० वर्षीया छोरीका साथ आएकी कृष्णश्वेरीले दिदीका कारण आफ्नो घरमा खुसी फर्किएको सुनाइन् ।
भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा कोरियाली विशेषज्ञको सहयोगमा नेपाली चिकित्सकले बुधबार सफल शल्यक्रिया गरेसँगै दुवै परिवार जीवनप्रति आशावादी बनेका छन् । अस्पतालमा जम्मा भएका आफन्तले सानुमैया र बलरामको बाल्यकालको अनुभवसमेत सुनाए । उमेर अन्तर कम भएका कारण सानुमैया सानैदेखि भाइसँग खुब मिल्ने गर्थिन् । भाइ रोएको बेलामा काखमा लिएर फकाउनेदेखि आफ्नो भागको खानेकुरासमेत भाइलाई दिनेगरेको आफन्तले सुनाइन् ।
‘सानोछँदा आफ्नो भागको सेल–रोटीसमेत भाइलाई टुक्राएर दिन्थिन्,’ माइली दिदी ५४ वर्षीया कृष्णमायाले भनिन्, ‘अहिले भाइका लागि कलेजो नै टुक्र्याएर दिइन् ।’ मदिराको लतले निम्ताएको ‘अल्कोहलिक लिभर सिरोसिस’ले कलेजोले पूरै काम गर्न छाडेका बलराम जीवनमरणको दोसाँधमा थिए ।
कलेजो दान दिने सानुमैयाका पति शिवप्रसाद लागेजु पनि दुवैको स्वास्थ्यमा आएको सुधारसँगै राहत महसुस गरेका छन् । ‘उपचार सफलताको बाटोतर्फ जाँदैगर्दा हामीलाई खुसी लागेको छ,’ दुई सन्तानका पिता शिवप्रसादले भने, ‘हामी चाँडै दिदीभाइ घर फर्किएको हेर्न चाहन्छौं ।’
नेपालमा कलेजो प्रत्यारोपण सेवा नहुँदासम्म विकल्प भारत थियो । यो सेवा लिन बलरामको परिवार दिल्लीसमेत पुगेको थियो । काठमाडौँमा कागजपत्र लिन आउने क्रममा यहाँ पनि चाँडै हुने सुनेपछि उनीहरुले नेपालमै उपचार गराउने निर्णय गरेका थिए । अस्पतालका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अहिले कलेजो दाता र प्रत्यारोपण गरिएका दुवैको स्वास्थ्य राम्रो रहेको बताए ।