‘सरकारको दृष्टि दूरगामी हुनुपर्छ’
०२ भदौ २०८३
•
१७ मिनेट पाठ
‘सरकारको दृष्टि दूरगामी हुनुपर्छ’
वीरेन्द्रराज पाण्डे, अध्यक्ष, नेपाल उद्योग परिसंघ<br>
निर्माण व्यवसायको क्षेत्रबाट १३ वर्षअघि सन् २०१३ मा पहिलो पटक नेपाल उद्योग परिसंघमा प्रवेश गरेका वीरेन्द्रराज पाण्डे अहिले परिसंघको अध्यक्ष छन्। साधारण सदस्यबाट परिसंघको राष्ट्रिय परिषद् सदस्य भएपछि लगातार तीन पटक उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै पाण्डे सन् २०२५ जुलाईमा सम्पन्न परिसंघको २२औं वार्षिक साधारणसभाबाट अध्यक्षमा निर्वाचित भएका हुन्। त्यसअघि उनी परिसंघका वरिष्ठ उपाध्यक्ष थिए।  




नेपाल आदर्श निर्माण सेवा कम्पनीका प्रबन्ध निर्देशक पाण्डे मूलत: निर्माण व्यवसायी हुन्। उनी तीन दशकभन्दा बढी समयदेखि मुलुकको पूर्वाधार निर्माणलगायत विभिन्न क्षेत्रमा सक्रिय छन्।  अध्यक्ष पाण्डेको नेतृत्वमा परिसंघले विशेषगरी औद्योगिकीकरण, लगानीको वातावरण, निजी क्षेत्रको क्षमता वृद्धि र नीतिगत सुधारलाई जोड दिइरहेको छ। परिसंघको नेतृत्वकर्ताको रूपमा पाण्डेले डिजिटलमैत्री सेवा, लगानीको सुरक्षासहित व्यवसाय गर्ने वातावरण सुधार, कर प्रशासन र वित्तीय क्षेत्र सुधार, निजी क्षेत्रको क्षमता अभिवृद्धि, पूर्वाधार विकास, औद्योगिकीकरण, व्यापार, प्रतिस्पर्धात्मकता, स्थिर तथा पूर्वानुमान गर्न सकिने आर्थिक नीति नेपालमा लगानी आकर्षित गर्ने वातावरण निर्माणलाई प्राथमिकता दिँदै आएका छन्।  

निर्माण तथा पूर्वाधार क्षेत्रबाट आएका उद्योगी भए पनि हाल परिसंघ अध्यक्षको रूपमा पाण्डेको एजेन्डा निर्माण क्षेत्रम मात्र सीमित छैन। उनको एजेन्डा समग्र स्वदेशी उत्पादकत्व बढाई निर्यात प्रवर्द्धन गर्न औद्योगिक नीति, लगानी, वित्तीय क्षेत्र, राजस्व/भन्सार र नेपालको आर्थिक रूपान्तरणसम्म फैलिएको छ।  

अध्यक्षको जिम्मेवारी सम्हाल्नुअघि परिसंघका विभिन्न समितिमा रहेर उदाहरणीय काम गरेका पाण्डेले विगतमा पूर्वाधार र ऊर्जासम्बन्धी जिम्मेवारी सम्हाल्दै आएका छन्। नीतिगत सुधार, स्वदेशी उत्पादन प्रवर्द्धन र वैदेशिक लगानी आकर्षणका क्षेत्रमा केन्द्रित रहेर विभिन्न कार्य गरिरहेको परिसंघको तर्फबाट पाण्डेले आइएमएफ टोलीसँगको छलफलमा इएएसई वा डुइङ विजनेस, भन्सार तथा राजस्व नीति लगायतका विषय उठाएका थिए। उनले लगानीकर्ताको विश्वास बढाउन स्थिर र पूर्वानुमानयोग्य नीति आवश्यक रहेको धारणा राखेका थिए।

सोही क्रममा परिसंघले नेपालको अर्थतन्त्रलाई ४१ सय बिलियनको इकोनोमी बनाउने सम्भावनाबारे गरिरहेको अध्ययन पनि अन्तिम चरणमा रहेको जानकारी दिइएको थियो। पाण्डेले हाल परिसंघ नेतृत्वको तर्फबाट स्वदेशी उत्पादन (मेक इन नेपाल) अभियानलाई पनि प्रवर्द्धन गर्दै आएका छन्। स्वदेशी उत्पादन र सेवा विस्तार गर्न सके आयात घटाएर निर्यात बढाउन सकिन्छ र यसले देशको आर्थिक अवस्था बलियो बनाउन मदत पुग्छ भन्ने मान्यताका साथ सरकारलाई नीतिगत सुझाव दिँदै आएका पाण्डेले पूर्वाधार, निर्माण उद्योग र सार्वजनिक खरिद ऐन संशोधनसहितको प्रणालीलाई अहिलेको अवस्थासम्म ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

देशको अर्थतन्त्र अझै पनि आयात र व्यापारमुखी छ। स्वदेशी उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्ने उद्योगमा पर्याप्त प्रोत्साहन छैन। पूर्वाधार, ऊर्जा र उत्पादनशील क्षेत्रमा दीर्घकालीन लगानी बढाउनेतर्फ सबैको ध्यान जानुपर्छ।
अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उनले परिसंघ नेपालका उद्योगी–व्यवसायीको प्रमुख छाता संगठनमध्ये एक हो भन्नेबारे राम्रोसँग चिनाउने प्रयास गरेका छन्। परिसंघको मुख्य भूमिका सरकारसँग औद्योगिक तथा आर्थिक नीति निर्माणमा निजी क्षेत्रको आवाज पुर्‍याउनु हो। सन् २००२ मा स्थापना भएको परिसंघले औद्योगिक नीति, निजी क्षेत्रको क्षमता, आर्थिक सुधार र प्रतिस्पर्धात्मक औद्योगिकीकरणका विषयमा काम गर्दै आएको छ।

सरकार, राजनीतिक दल र निजी क्षेत्रसम्बद्ध आर्थिक र औद्योगिकक्षेत्रमा केन्द्रित रही परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेसँग नागरिककर्मी मधुजंग पाण्डेले गरेको वार्ताको सारसंक्षेप :  

निजी क्षेत्रको प्रतिनिधित्व गर्ने परिसंघको अध्यक्षका रूपमा तपाईंले देशको आर्थिक अवस्थालाई कसरी मूल्यांकन गर्नुभएको छ?  

अहिले नेपालको अर्थतन्त्र दबाबमा छ। बाह्य क्षेत्रका केही सूचकहरू सकारात्मक भए पनि त्यसको प्रत्यक्ष लाभ आन्तरिक अर्थतन्त्रमा देखिन सकेको छैन। बजारमा माग कमजोर छ। बैंकिङ तरलता र बैंक ब्याजदर घटे पनि अपेक्षाकृत रूपमा लगानी बढ्न नसकिरहेको अवस्था छ। पछिल्लो समय सरकारले गरेको अनेक प्रयासका बाबजुद उद्योगको उत्पादन क्षमता पूर्ण रूपमा उपयोग हुन सकेको छैन। निजी क्षेत्रको लगानीमा उत्साह देखिएको छैन। यसको मुख्य कारण उपभोग र मागमा आएको कमी, लगानीको कमजोर वातावरण, नीतिगत तथा प्रशासनिक जटिलता र व्यवसायीको घट्दो आत्मविश्वास हुन्। अर्थतन्त्रमा पैसा भएर मात्र हुँदैन, त्यो उत्पादन, लगानी र रोजगारी सिर्जनामा प्रवाह हुन सक्नुपर्छ। अहिले त्यही चक्र कमजोर भएको अवस्था हो।

अर्थतन्त्र सुस्त हुनुका प्रमुख कारणहरू के–के हुन्?  

अहिले देशको अर्थतन्त्र सुस्त हुनुको मुख्य कारक आन्तरिक बजार चलायमान हुन नसक्नु हो। निजी क्षेत्रको मनोबल खस्किएका कारण बजारमा समग्र माग र लगानी बढ्न सकेको छैन। अहिले बजारमा मागको चरम अभाव छ। बैंकहरूमा पर्याप्त लगानीयोग्य रकम (तरलता) छ। लामो समयदेखि बैंक ब्याजदर घटेको भए पनि बजारमा वस्तु र सेवाको माग बढ्न सकेको छैन। बजारमा माग नहुँदा उद्योगहरू पूर्ण क्षमतामा चल्न पाएका छैनन्। सरकारको नीतिगत अस्थिरता र झन्झटिलो प्रशासनिक संरचना, कर तथा व्यावसायिक नीतिहरू वार्षिक रूपमा परिवर्तन भइरहन्छन्। यसले पनि स्वदेशी तथा विदेशी लगानीकर्तामा अन्योल र अविश्वास बढाएको छ। सरकारले सबै सेवा डिजिटलमैत्री बनाउने भन्दै आए पनि अझै एउटा सामान्य कामका लागि थुप्रै सरकारी निकाय धाउनुपर्ने झन्झट कायमै छ। नियमनकारी संरचनाहरू व्यावहारिक भन्दा बढी नियन्त्रणमुखी भएका छन्। हाल व्यवसायीमाथि प्रहरी र सरकारको धरपकड बढेका कारण निजी क्षेत्रको मनोवल कमजोर भएको छ। जसका कारण व्यवसायी थप लगानी विस्तार गर्न डराएका छन्। अझै व्यवसायी सरकारको नीति कस्तो हुन्छ पर्ख र हेरको अवस्थामै छन्।  

सरकार रेमिट्यान्स बढ्यो भनेर दंग भएको छ। अहिले मुलुकमा युवा जनशक्तिको तीव्र पलायन हुने क्रम जारी छ। नेपालको सबैभन्दा ठूलो शक्ति युवा जनशक्ति नै हो यसलाई कसैले कमजोर ठान्नुहुँदैन। युवा जनशक्तिलाई उचित सदुपयोग गर्न सरकारले स्वदेशमै काम गर्ने राम्रो वातावरण बनाउन सक्नुपर्छ। निजी क्षेत्रको प्रयासमा मात्र संभव छैन।

थप नयाँ रोजगारीको अवसर दिनेतर्फ सरकारको ध्यान जानुपर्छ।  स्वदेशमा रोजगारी र अवसरको अभावमा लाखौं युवा विदेशिन बाध्य छन्। यसले गर्दा आन्तरिक बजारमा उपभोग (कन्जम्प्सन) र माग ह्वात्तै घटेको छ। कमजोर पुँजीगत खर्च र बजेट कार्यान्वयनको फितलोपन, सरकारको पुँजीगत खर्च समयमै र प्रभावकारी रूपमा हुन नसक्नु पनि मुख्य कारण हो। निर्माण व्यवसायी तथा उद्योगहरूको भुक्तानी समयमै नहुँदा बजारमा पैसाको चक्र रोकिएको छ। चालु आर्थिक वर्षको बजेटमा घोषणा गरिएका राम्रा नीतिहरू पनि कार्यान्वयनको तहमा पुग्दा कमजोर बन्छन्।  उत्पादनशील क्षेत्रमा लगानीको कमीले अर्थतन्त्र कमजोर हुन पुगेको छ। देशको अर्थतन्त्र अझै पनि आयात र व्यापारमुखी बढी छ। स्वदेशी उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्ने उद्योगमा पर्याप्त प्रोत्साहन छैन। पूर्वाधार, ऊर्जा र उत्पादनशील क्षेत्रमा दीर्घकालीन लगानी अझै संकुचित छ। यस्ता कम्जोरीले निकै प्रभाव पारेको छ।    

लगानीको वातावरण बनाउन परिसंघले कस्तो भूमिका निर्वाह गरेको छ?

मुलुकको आर्थिक अवस्था सुधारेर लगानीमैत्री वातावरण निर्माण गर्न नेपाल उद्योग परिसंघले सरकार र निजी क्षेत्रबिच पुलको रूपमा महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। परिसंघले मुख्य रूपमा नीतिगत सुधार, स्वदेशी उत्पादन प्रवर्द्धन र वैदेशिक लगानी आकर्षणका क्षेत्रमा केन्द्रित रहेर विभिन्न कार्य गरिरहेको छ। नीतिगत र कानुनी सुधारका लागि सरकार तथा सम्बन्धित सरोकारवालालाई दबाब दिँदै आएको छ। यसैगरि परिसंघले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा उल्लिखित निजी क्षेत्र तथा अर्थतन्त्रसँग सम्बन्धित मुख्य विषयहरू सहित ‘बजेट वाच’ कार्यक्रम सञ्चालन गरेको छ। परिसंघले गरेको ‘बजेट वाच’ कार्यक्रममा अघिल्लो आर्थिक वर्षको बजेटमा समावेश निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित विषयको कार्यान्वयन पक्ष फितलो देखिएको छ। गत आर्थिक वर्ष २०८२/८३ को बजेटमा समावेश निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित ७४ बुँदामध्ये ३४ वटा अर्थात् ४६ प्रतिशत मात्र पूर्णरूपमा कार्यान्वयन भएका छन्। ३४ वटा बुँदा आंशिकरूपमा कार्यान्वयन भएका छन्। ६ वटा बुँदा कार्यान्वयनको चरणमै नगएको पाइएको छ। यस अवस्थाबारे पनि परिसंघले सरकारलाई जानकारी गराएको छ।  

अब मुलुकमा लगानीको वातावरण बनाउन के गर्नुपर्छ?  

विगत केही वर्षदेखि अस्थिर राजनीति लगायत विभिन्न घटनाक्रमले मुलुकको आर्थिक अवस्था बिग्रियो। लगानीको वातावरणमा पनि असर परेको छ। त्यसैले अर्थतन्त्र सुधारेर मुलुकमा लगानीको वातावरण बनाउन अगामी दिनमा सरकार र निजी क्षेत्र मिलेर सघैं अघि बढ्नुपर्छ। मुलुकमा लगानीको वातावरण बनाउन नीतिगत स्थिरता कायम हुनुपर्छ। स्वदेशी उत्पादन बढाई निर्यात प्रवर्द्धन गर्न सरकारले वातावरणमैत्री र वैकल्पिक ऊर्जा प्रयोगमा जोड दिनुपर्छ। हामीले वातावरणमैत्री र वैकल्पिक ऊर्जा उपयोग गरिएको वस्तु उत्पादन गर्ने हो भने निर्यात गर्दा त्यसको मूल्य पनि बढी पाइने भएकाले यसतर्फ सबैको ध्यान दिनुपर्छ। पूर्वाधार निर्माणमा हाल भएको व्यवस्थामा पनि धेरै परिवर्तन हुनुपर्छ। सरकारले आयोजना छनोट गर्नुभन्दा पहिले नै आफ्नो तर्फबाट निर्माणस्थलमा हुने सम्पूर्ण अवरोधका काम पूरा गरिदिनुपर्छ। त्यसपछि मात्र आयोजनाको सम्झौता भयो भने मात्र काम राम्रो हुने थियो।

सरकारले १६६ वटा ऐन कानुन संशोधन गर्ने भनेको छ। पुराना ऐनमा विद्यमान कनुनी जटिलतालाई सहजीकरण गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ। हामीले पनि २८ वटा ऐन संशोधन गर्न सरकारलाई सुझाव दिएका छौं।
अहिले यस्तो नभएका कारण आयोजना राम्रोसँग तयार नहुने समयमा नसकिने, बजेट पूरा नहुने, डिजाइनमा त्रुटि, भौगोलिक समस्या छ। यसले गर्दा  सरकारको पूर्वाधार सम्बन्धी दीर्घकालीन नीति नै भएन। यसमा तत्काल सुधार हुनु आवश्यक छ। आगामी दिनमा यस्तो समस्याबाट मुक्ति पाउन सरकारको भिजन दूरगामी हुनुपर्छ। पूर्वाधार विस्तारका काममा राम्रोसँग सोचेर अघि बढ्नुपर्छ। निर्माण व्यवसायीले पूर्वाधार आयोजनाको अन्तिममा आएर डेलिभरि दिने हो। त्यसैले निर्माणस्थलको ठाउँ पहिचान गर्न ठाउँ छान्दा गलत भयो भने अपेक्षा अनुसारको काम हुन सक्दैन। विविध झमेलाका कारण आयोजना सुरु भएदेखि निर्माण सम्पन्न हुँदासम्म निर्माण व्यवसायीले दु:ख पाइरहेका छन्। केही ठाउँमा सबै कमजोरी निर्माण व्यवसायीको थाप्लोमा हाल्ने प्रवृत्ति छ। यो प्रवृत्ति गलत हो। यसमा सुधार गर्नैपर्छ। सरकारी निकाय लगायत सबैले गरेको कमी कमजोरीको भागिदार व्यवसायी हुने अवस्थाबाट मुक्ति पाउने वातावरण बनाइनुपर्छ। अब यसतर्फ पनि सरकार सचेत र गम्भीर हुनुपर्छ। निर्माण व्यवसायीदेखि सबैलाई जिम्मेवार बनाउनुपर्नेमा सरकार गम्भीर हुनुपर्छ। यसमा परिसंघले पनि आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको छ।  

सरकारको प्रयासबारे निजी क्षेत्रको धारणा के छ? निजी क्षेत्रले कस्तो सहकार्य गर्दै छ?

अहिले मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकारले गर्दै आएका प्रयासहरूलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको छ। अब विस्तारै पुराना ऐन संशोधन हुँदै जाने र निजी क्षेत्रका सुझावहरू सम्बोधन हुनेमा व्यवसायी आशावादी छन्। यस वर्षको बजेटमा पनि निजी क्षेत्रको सुझाव धेरै सम्बोधन भएको छ। अब कार्यान्वयन कसरी हुँदै छ भन्नेतर्फ पनि निजी क्षेत्र चनाखो भएर हेरिरहेको छ। सरकारलाई समयअनुकूल नीति बनाउन र पुराना ऐन संशोधन गर्न परिसंघले पनि विविध कार्य गर्दै आएको छ। देशको अर्थतन्त्र सुधार गर्न सरकारले चालु आर्थिक वर्षको बजेट, मौद्रिक नीति र सयदिने कार्यपत्रमार्फत विस्तारै बलियो आर्थिक नियम बनाएको छ। निजी क्षेत्रले गर्नुपर्ने भनेको इनोभेसन र क्रिएटिभ उद्यम हो। कुनै काल खण्डमा आइपरेको परिस्थितिले हाल बन्द अवस्थामा रहेका गोरखकाली रबर उद्योग, हेटौंडा कपडा उद्योगलगायत जीर्ण भई घाटामा सञ्चालित पुराना उद्योग सञ्चालन गर्न सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने हुन्छ। सरकार आफैंले उद्योग सञ्चालन गर्नेभन्दा पनि राम्रो लगानीको वातावरण सिर्जना गर्ने नीति बनाउनेतर्फ अग्रसर हुनुपर्छ भनेर हामीले सरकारलाई दबाब दिँदै आएका छौं। सरकारले जीर्ण उद्योग चलाउन थ्रिपिपी मोडलमा काम गर्नुपर्छ। यस वर्षको बजेट र मौद्रिक नीति पूर्ण तवरले कार्यान्वयन गर्न निजी क्षेत्रले सक्दो प्रयास र सहकार्य गर्दै आएको छ। त्यसैको परिणाम  स्वरूप अहिले सरकारले हरेक सेवालाई डिजिटलमैत्री बनाउँदै छ। उद्योग दर्तादेखि खारेजीसम्मका सबै सेवा सम्बन्धी काम अनलाइन प्रणालीमा ल्याउन निजी क्षेत्रले आपसी सहकार्य गर्दै आएको छ। यसले सरकार, व्यवसायी र अन्य सेवाग्राही सबैलाई फाइदा हुने छ।  

सरकारको अनलाइन सेवा कस्तो छ?  

विभिन्न कामलाई ‘पेपरलेस फेसलेस’ बनाई सेवाग्राहीलाई डिजिटल प्रणालीबाट काम गर्ने वातावरण बनाउन अहिले सरकारले सुरु गरेको अनलाइन सेवा पनि स्वागतयोग्य नै छ।

अहिले परिसंघले पनि उद्योग विभागले थालनी गरेको अनलाइन सेवालाई थप प्रविधिमैत्री बनाएर सहज रूपमा सेवा लिन सक्ने वातावरण बनाउन विभिन्न कार्यक्रम गर्दै आएको छ। परिसंघले उद्योगी व्यवसायीको भनाइलाई आधार बनाएर गरेको सर्वेक्षणमा पनि अझै आधा भन्दाबढीले अहिलेको अनलाइन सेवा चित्त बुझ्दो छैन भनेका छन्। अधिकांश सेवाग्राहीले सरकारी डिजिटल सेवामा थप सुधार गर्न सुझाव दिएका छन्। यस अवस्थाबारे पनि हामीले सरकारलाई जानकारी गराएका छौं। अब सरकारले अनलाइन सेवा प्रणालीलाई क्रमश: सुधार गर्ने छ भन्ने आशा जागेको छ।  

अहिले बजारमा माग घटेको, उद्योग–व्यवसायको कारोबार खुम्चिएको र लगानीको वातावरण कमजोर भएको व्यवसायीको गुनासो छ। यसबारे तपाइँको धारणा के छ?  

हाल बजारमा विभिन्न कारणले माग घटेको, उद्योग–व्यवसायको कारोबार खुम्चिएको र लगानीको वातावरण कमजोर भएको अवस्थाबारे हामीले सरकारको ध्यानाकर्षण गराएका छौं। यो सामान्य उतारचढाव मात्रै होइन। यसलाई निजी क्षेत्रले गम्भीर रूपमा लिनुपर्ने विषय हो भन्दै आएको छ। उद्योगको उत्पादन घट्दा त्यसको असर रोजगारी, आम्दानी, उपभोग र राजस्वसम्म पुग्ने भएकाले निजी क्षेत्र यसमा निकै चिन्तित छ।  यी विविध क्षेत्रमध्ये एउटा क्षेत्र कमजोर हुँदा त्यसको असर अर्को क्षेत्रमा पनि पर्छ। अहिले निजी क्षेत्रले जोखिम लिएर नयाँ लगानी गर्नुभन्दा ‘पर्ख र हेर’को अवस्थामा बस्नुको कारण पनि यही हो। आगामी दिनमा पनि लगानीको वातावरण बन्दै न कि? भन्ने भविष्यप्रतिको अनिश्चितता व्यवसायीमा छ। त्यसैले सरकारले व्यवसायीको आत्मविश्वास फर्काउने वातावरण तत्काल बनाउनुपर्छ। अहिले व्यवसायी माथि प्रहरी र विभिन्न सरकारी निकायबाट भइरहेका धरपकडको अवस्थाप्रति पनि निजी क्षेत्र निकै चिन्तित छ। गलत काम गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ तर अनुसन्धानका लागि भन्दै आरोपकै भरमा पक्राउ गरिहाल्ने प्रवृत्तिले निजी क्षेत्रको मनोबल थप कमजोर बनाएको छ। यस्ता गतिविधिले मुलुकमा लगानीको वातावरण बिगार्छ भन्नेबारे हामीले पटक–पटक सरकारलाई अब यस्तो समस्या आउन नदिन आग्रह गर्दै आएका छौं।  

निजी क्षेत्रले अझै आत्मविश्वासका साथ लगानी गर्न सकेको देखिँदैन। समस्या सरकारकै नीतिमा हो?

निजी क्षेत्रले गत २० फागुनमा सम्पन्न निर्वाचनको बेलादेखि नै स्थायी सरकार र मुलुकमा नीतिगत स्थिरता कायम भई धेरै परिवर्तन हुने आशा गरेका थिए। संयोगले अहिले हामीले दुईतिहाइको बलियो सरकार पाएका छौं। परिवर्तनकारी यो सरकारलाई हामीले बजेटअघि नै देशको अर्थतन्त्र चलायमान बनाउन आर्थिक ऐनमा सुधार हुनुपर्छ भन्ने सुझाव दिएका थियौं। यस वर्षको बजेटमा पनि निजी क्षेत्रको धेरै सुझाव सम्बोधन भएको छ। ४५ खर्बको अर्थतन्त्रलाई सय खर्ब पुर्‍याउने आधारका बारेमा पनि निजी क्षेत्रले सरकारलाई सहयोग गर्ने बताउँदै आएको छ। चालु आर्थिक वर्षको बजेटमा पनि ६२ प्रतिशत निजी क्षेत्रको सुझाव समेटिएको भन्ने हामीलाई लागेको छ। अब कार्यान्वयन कसरी हुन्छ हेर्न बाँकी छ। अझै निजी क्षेत्रले आत्मविश्वासका साथ लगानी गर्न नसक्नुमा सरकारकै कमजोरी छ। किनभने व्यवसाय सञ्चालनका लागि आइपर्ने अप्ठ्यारा ऐन कानुन अझै फुकिसकेका छैनन्।  

सरकारको नीतिगत अस्थिरता र झन्झटिलो प्रशासनिक संरचना, कर तथा व्यावसायिक नीतिहरू वार्षिक रूपमा परिवर्तन भइरहन्छन्। यसले पनि स्वदेशी तथा विदेशी लगानीकर्तामा अन्योल र अविश्वास बढाएको छ। सरकारले सबै सेवा डिजिटलमैत्री बनाउने भन्दै आए पनि अझै एउटा सामान्य कामका लागि थुप्रै सरकारी निकाय धाउनुपर्ने झन्झट कायमै छ।
कमजोर अर्थतन्त्र चलायमान बनाउन अहिले सरकारले अनेक प्रयास गरिरहेको छ तर नीति घोषणा गर्नु र त्यसको प्रभावकारी कार्यान्वयन हुनु फरक कुरा हो। निजी क्षेत्रलाई अहिले सबैभन्दा बढी खाँचो भएको नीतिगत स्थिरताको हो।

सरकारले दूरगामी नीति लिएर नीतिगत स्थिरता कायम गर्न सकेका खण्डमा अपेक्षाकृत आर्थिक विकास हुन्छ। अहिले सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ। अहिलेसम्मको आर्थिक अवस्थालाई हेर्दा उत्पादनमूलक उद्योगको पाँच प्रतिशत, निर्माण क्षेत्रकोतर्फबाट पाँच प्रतिशतको आर्थिक वृद्धिदर भएको देखिन्छ। अपेक्षाकृत रूपमा मुलुकको पुँजिगत खर्च अझै हुन सकिरहेको छैन। गत आर्थिक वर्षमा जम्मा ४० प्रतिशत मात्र पुँजीगत खर्च भएको छ। यो अवस्थामा सरकारले जतिसक्दो छिटो सुधार गर्नुपर्छ।  

पूर्वानुमान गर्न सकिने नीति र छिटो निर्णय हुने वातावरण सिर्जना गर्न सके व्यवसाय विस्तारमा सहजीकरण हुन सक्थ्यो। सरकारले एउटा नीति बनाउने र कार्यान्वयनका क्रममा फेरि धेरै निकायबाट फरक–फरक व्याख्या हुने अवस्था अन्त्य गर्नुपर्छ। व्यवसायीले आज लगानी गर्दा पाँच वर्षपछि पनि नीति यही रहन्छ भन्ने विश्वास गर्न सक्ने वातावरण भयो भने लगानी स्वाभाविक रूपमा बढ्छ।

बैंकिङ प्रणालीमा पर्याप्त तरलता र ब्याजदर घट्दा पनि कर्जा विस्तार नहुनुको कारण के हो?

कर्जा विस्तार नहुनुमा दुई चारवटा कुरा मुख्य छन्। कोरोना महामारीको संकटपछि सरकारले देशमा विदेशी मुद्राको सञ्चिति बढाउन अनेक प्रयास गरेको छ। विभिन्न देशबाट रेमिट्यान्स भित्रिने क्रम बढेको छ। सबै क्षेत्र आयातमा निर्भर हुँदै गएका कारण अहिले अधिकांश मान्छेको खर्च बढेको छ। आम्दानी घट्यो। बैंक एन पिए बढ्यो, वित्तीय क्षेत्रमा डिफल्ट र ब्ल्याकलिस्टिङ बढ्यो। यस्तो अवस्थामा बैंक ब्याजदर घट्नु सकारात्मक हो तर ब्याजदर मात्रै लगानीको निर्णय गर्ने आधार होइन। व्यवसायीले बजारमा थप लगानी बढाउन आफ्ना उत्पादनको माग देख्नुपर्छ। उत्पादकलाई लगानीबाट प्रतिफल आउने विश्वास हुनुपर्छ। नीतिगत जोखिम कम हुनुपर्छ। अहिले बैंकबाट कर्जा लिन सकिने अवस्था भए पनि कर्जा लिएर के र कुन ठाउँमा लगानी गर्ने भन्ने प्रश्न महत्वपूर्ण छ। त्यसैले माग बढाउने, उत्पादनमूलक क्षेत्रमा लगानी प्रोत्साहन गर्ने, पूर्वाधार निर्माण तीव्र बनाउने र लगानीसम्बन्धी प्रक्रियालाई सरल बनाउने काममा सरकार केन्द्रित हुनुपर्छ।  

वर्तमान कर प्रणाली, प्रशासनिक झन्झट, नीतिगत अस्थिरता र नियामकीय जटिलतालाई तत्काल सुधार गर्न के गर्नुपर्छ?

अहिलेको सन्दर्भमा सबैभन्दा पहिले नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्छ। उद्योग सञ्चालनसँग सम्बन्धित प्रशासनिक प्रक्रिया सरल र डिजिटल बनाउनुपर्छ। कर तथा नियामकीय प्रणालीलाई स्पष्ट, पारदर्शी र व्यवसायमैत्री बनाउनुपर्छ। निजी क्षेत्रले सरकारसँग सुविधा मात्रै मागेको होइन। अहिले हामीले व्यवसाय सञ्चालनका लागि सहज वातावरण मागिरहेका छौं। व्यवसायीले नियम पालना गरेर लगानी गर्न चाहन्छ तर नियम धेरै जटिल र पटक–पटक परिवर्तन हुने अवस्था हुनुहुँदैन। जसका लागि सरकारले निजी क्षेत्रको मनोबल बढाउने स्पष्ट सन्देश दिनुपर्छ। सार्वजनिक पुँजीगत खर्चको प्रभावकारी कार्यान्वयन, निर्माणाधीन आयोजना सम्पन्न गर्ने, नयाँ लगानीका लागि ‘एकद्वार प्रणाली ’ प्रभावकारी बनाउने र उद्योगलाई प्रतिस्पर्धी बनाउने नीति आवश्यक छ। उत्पादन र निर्यात बढाउने उद्योगलाई प्रोत्साहन, पर्यटन र सूचना प्रविधिजस्ता सम्भावनायुक्त क्षेत्रमा लगानी विस्तार गर्नुपर्छ।  स्टार्टअप तथा नयाँ उद्यमलाई सहजीकरण र रोजगारी सिर्जनालाई आर्थिक नीतिको केन्द्रमा राख्नुपर्छ।

स्वदेशमै रोजगारी बढाउन र उत्पादन क्षमता वृद्धि गर्न नेपालले कुन आर्थिक मोडल अपनाउनुपर्छ?

स्वदेशमा थप रोजगारीको अवसर बढाउने गरी उत्पादकत्व बढाउन अब हामीले स्थानीय स्रोत साधनका वस्तु उपभोगमा आधारित अर्थतन्त्रमा जोड दिनुपर्छ। सकेसम्म धेरै उत्पादनमा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्छ। नेपालले आयात गरेर मात्र अर्थतन्त्र बलियो बनाउन सक्दैन। हामीले स्वदेशमै उत्पादन बढाउनुपर्छ। उत्पादनको लागत घटाउनुपर्छ र नेपाली वस्तु तथा सेवाको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्छ। जसका लागि ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि तथा कृषिजन्य उद्योग, पूर्वाधार र निर्यातमुखी उद्योगलाई प्राथमिकता दिनुपर्छ। यसका लागि महत्वपूर्ण विषय सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण गर्नु भएकाले अब निजी क्षेत्रलाई विकासको साझेदारका रूपमा अघि बढाउन सक्नुपर्छ। यस्तो गर्न सकियो भने रोजगारी सिर्जना, उत्पादन वृद्धि र आर्थिक वृद्धिलाई बलियो बनाउन सकिन्छ।
अर्को समाचार
नेपाल-भारतका समस्या हल गर्न समग्र दृष्टिकोण चाहिन्छ
१० मंसिर २०८३
•
२२ मिनेट पाठ
नेपाल-भारतका समस्या हल गर्न समग्र दृष्टिकोण चाहिन्छ
पूर्वप्रधानमन्त्री तथा राजनीतिज्ञ डा. बाबुराम भट्टराई संगठित पार्टी राजनीतिबाट जिम्मेवारीमुक्त भए पनि रूपान्तरण र परिवर्तनका लागि गरिने बहुआयामिक राजनीतिमा सक्रिय छन्। सधैं कार्यकारी भूमिकामा रहनुभन्दा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणका साथै विचार दिनुपर्छ र नयाँ समस्यालाई सम्बोधन गर्न पुराना पार्टी संरचना र विचारले नसक्ने र यसका लागि नयाँ विचार र नयाँ राजनीतिक शक्ति चाहिन्छ भन्ने बौद्धिक नेताको छवि बनाएका भट्टराईको बुझाइ छ।




डा. भट्टराईसँग प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण, नेपालको बदलिँदो राजनीतिक परिस्थिति, शान्ति प्रक्रियाका अधुरा काम, नयाँ राजनीतिक शक्तिको उदय र आर्थिक रूपान्तरणका विषयमा ‘नागरिक फ्रन्टलाइन’ का लागि सम्पादक बालकृष्ण अधिकारीसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई तपाईंले कसरी लिनुभएको छ? भ्रमणअघि तपाईंले शुभकामना दिनुभएको थियो। फर्किएपछि केही उपलब्धि भए पनि अपेक्षित प्रगति हुन नसकेको आशय व्यक्त गर्नुभयो। समग्रमा भ्रमणको मूल्यांकन कसरी गर्नुहुन्छ?

यो महत्वपूर्ण भ्रमण हो। भारत हाम्रो सबैभन्दा बढी आर्थिक तथा मानवीय कारोबार हुने देश हो। छिमेकी हुनुको नाताले पनि भारतसँगको सम्बन्ध हाम्रा लागि महत्वपूर्ण छ। समयको गतिसँगै त्यो सम्बन्धलाई पुनःपरिभाषित गर्दै विकसित गर्नुपर्ने थियो, तर विविध कारणले हामीले त्यसलाई अगाडि बढाउन सकेनौं। केही हाम्रा कारणले भए पनि मेरो बुझाइमा धेरैजसो समस्या उताबाट पनि आएका छन्।

पछिल्ला केही वर्षमा नेपाल–भारत सम्बन्ध चिसिएको थियो। भारत ठुलो देश भएकाले नेपालसँगको सम्बन्धमा आउने उतारचढावले उसलाई खासै असर नगर्ला तर हामीलाई ठुलो असर पर्छ। हाम्रो आर्थिक कारोबारको झन्डै दुईतिहाइ हिस्सा भारतसँग जोडिएको छ। यस्तो अवस्थामा सम्बन्ध राम्रो नहुँदा त्यसको प्रतिकूल प्रभाव हामीले नै बढी भोग्नुपर्छ।

जेनजी विद्रोहपछि नयाँ पुस्ताको नेतृत्वमा सरकार बनेको छ। त्यसका युवा प्रधानमन्त्रीले भारत भ्रमण गर्दा हाम्रो सम्बन्ध कुन दिशामा जान्छ भन्ने एउटा महत्वपूर्ण संकेत पनि थियो। त्यही अर्थमा मैले उहाँलाई शुभकामना दिएको हुँ। फर्किएपछि भ्रमणको मोटामोटी मूल्यांकन गर्दा दीर्घकालीन र आधारभूत समस्या समाधान भएका छैनन्। अहिल्यै ती सबै समस्या समाधान हुन्छन् भन्ने अपेक्षा पनि थिएन। तर कूटनीतिमा ‘फिल गुड फ्याक्टर’ भन्ने हुन्छ। दुई देशबिच विश्वास र सकारात्मक वातावरण निर्माण गर्न भ्रमण केही हदसम्म सफल भएको मैले ठानेको छु। त्यसैले यसलाई नकारात्मकभन्दा सकारात्मक रूपमा लिनुपर्छ।

तर सीमा विवाद, सन् १९५० को सन्धि, व्यापार घाटा, पारवहन र जलस्रोतजस्ता पुराना विषयमा ठोस प्रगति देखिएन; के भ्रमणले जनअपेक्षा पूरा गर्न सकेन?

त्यस्ता विषयमा भारतीय पक्ष त्यति प्रवेश गर्न चाहेको देखिएन। भ्रमणपछि जारी संयुक्त वक्तव्यमा यी विषयलाई संवादमार्फत समाधान गर्ने भनिएको छ। त्यसैले सबै विषय बेवास्ता गरियो भन्न मिल्दैन, तर लामो समयदेखि थाती रहेका समस्याको समाधानतर्फ ठोस प्रगति भएको पनि देखिँदैन। मैले प्रधानमन्त्री हुँदा प्रबुद्ध व्यक्ति समूह (इपिजी) मार्फत नेपाल–भारत सम्बन्धका समग्र समस्या एकै ठाउँमा राखेर समाधान खोजौं भन्ने प्रस्ताव गरेको थिएँ।

सन् १९५० को सन्धि, सीमा समस्या, द्विपक्षीय व्यापार, पारवहनलगायतका विषयलाई टुक्राटुक्रा पारेर होइन, समग्ररूपमा सम्बोधन गर्नुपर्छ भन्ने मेरो धारणा थियो। त्यसैअनुसार दुवै देशका विज्ञ सम्मिलित समूह बन्यो र त्यसले प्रतिवेदन पनि तयार गर्‍यो तर त्यो प्रतिवेदन आठ वर्षदेखि थन्किएको छ। त्यसमा टेकेर अगाडि बढ्न सकेको भए धेरै समस्या समाधानको बाटो खुल्न सक्थ्यो।

भारतीय विदेशसचिवले काठमाडौं उत्रिनुपूर्व नै इपिजी प्रतिवेदन पुरानो भइसकेको बताउनुभयो; यसले नेपाललाई फेरि शून्यबाट सुरु गर्नुपर्ने अवस्थामा पु¥याउँदैन?

इपिजी कुनै एक पक्षले बनाएको समूह होइन। दुवै देशका सहमतिमा दुवैतर्फका विज्ञ राखेर गठन गरिएको हो। त्यसले सुझाव दिएको हो, त्यसलाई हुबहु लागू गर्नुपर्छ भन्ने पनि छैन। प्रतिवेदनमा के सुझाव आएका छन्, कुन विषयमा सहमति हुन सक्छ, कुनमा हुन सक्दैन भन्ने छलफल त हुनुपर्‍यो नि। पुरानो भयो भने कुन कुरा पुरानो भयो, किन पुरानो भयो भन्ने स्पष्ट हुनुपर्छ। प्रतिवेदन नै सार्वजनिक वा छलफलमा नल्याई बाकसमा थुनेर राख्नुको औचित्य छैन। त्यसैले भारतीय विदेशसचिवको अभिव्यक्तिलाई पनि असन्तुष्टिको संकेतका रूपमा बुझ्न सकिन्छ।

हाम्रा नेताहरूले पनि यस विषयमा पर्याप्त पहल गर्न सकेनन्, तर अहिलेको नयाँ सरकारलाई एकैपटक सबै पुराना समस्या समाधान गर्ने भारी बोकाउनु पनि उचित हुँदैन। नयाँ नेतृत्वले सिक्न र सम्बन्ध बुझ्न समय पाउनुपर्छ। अहिलेका लागि कम्तीमा संवादको वातावरण बनेको छ। त्यसलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्नुपर्छ।

नेपाल–भारत सम्बन्धमा पटकपटक उच्चस्तरीय भ्रमण हुन्छन्; भ्रमणका बेला उत्साह र सद्भाव देखिन्छ तर पछि सहमति कार्यान्वयन हुँदैनन्; यस्तो अवस्था किन दोहोरिन्छ?

विगतदेखि नै त्यस्तै हुँदै आएको छ। त्यसैले अब नयाँ सुरुवात गर्नुपर्छ भनेको हुँ। सन् १९५० को सन्धि, सीमा समस्या, व्यापारिक असन्तुलन र अहिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण देखिएका विपत्तिसम्मका विषयलाई द्विपक्षीय रूपमा सम्बोधन गर्नुपर्छ। त्यसका लागि उच्च तहमा राम्रो गृहकार्य आवश्यक छ। बाहिर गालीगलौज गरेर केही प्राप्त हुँदैन। वार्ता टेबलमा भने आफ्नो राष्ट्रिय हितका विषयमा स्पष्ट र दृढ हुनुपर्छ। कूटनीति भनेको बाहिर झगडा देखाउनु होइन, टेबलमा बसेर आफ्नो हितमा प्रभावकारी संवाद गर्नु हो।

अर्को परराष्ट्र नीति देशको हुन्छ र हुनुपर्छ; कुनै पार्टी वा व्यक्तिको हुँदैन। हामी सरकारमा आउँछौं र जान्छौं तर राज्य निरन्तर रहन्छ। त्यसैले एउटा सरकारले बनाएको राम्रा नीतिलाई अर्को सरकारले पनि निरन्तरता दिनुपर्छ। प्रत्येक पार्टी र नेताले आफ्नो योगदानको डम्फु बजाउने प्रवृत्ति छाड्नुपर्छ।

तपाईं आफैं प्रधानमन्त्री हुँदा भारत भ्रमणमा जानुभयो र बिप्पा सम्झौता गर्नुभयो; आफ्नै पार्टीभित्र त्यसको विरोध मात्र भएन विमानस्थलमा उत्रिँदा कालो झन्डासमेत देखाइयो; के नेपालको कूटनीतिमा आन्तरिक राजनीतिक असहमतिले पनि समस्या सिर्जना गरेको छ होइन?

त्यसबाट हामीले सिक्नुपर्छ। गल्ती दोहोर्‍याइराख्नु हुँदैन। बिप्पा सम्झौता लागु भएको भए नेपालमा बाह्य लगानी आउन सक्थ्यो, उद्योगधन्दा खुल्न सक्थे, रोजगारी सिर्जना हुन्थ्यो र व्यापार घाटा कम गर्न पनि सहयोग पुग्थ्यो। तर त्यसमा हामी सफल हुन सकेनौं। त्यसको घाटा देशले बेहोर्नुप¥यो।

कूटनीतिक विषयमा असहमति राख्न पाइन्छ, तर त्यसको ठाउँ संसद्, संसदीय समिति र दलहरूबिचको छलफल हुनुपर्छ। कुनै विषयमा चित्त बुझेन भन्दैमा देशको हितमा भएको सहमतिलाई असफल बनाउने वा खुट्टा तान्ने काम गर्नु हुँदैन।

राष्ट्रिय हितका विषयमा सर्वदलीय समझदारी आवश्यक छ। सरकारमा जो आए पनि राष्ट्रिय सहमतिबाट बनेको परराष्ट्र नीति कार्यान्वयन गर्न सबैले सहयोग गर्नुपर्छ। म अहिले पनि नागरिकको तहबाट यस्ता साझा राष्ट्रिय मुद्दामा सहमति निर्माण गर्न योगदान गर्नुपर्छ भन्ने पक्षमा छु।

अहिलेको भ्रमणका क्रममा सन् १९५० को सन्धि र सीमा विवादजस्ता विषय थाती राखेर आर्थिक सहयोगका अरू सम्झौता गर्नुको अर्थ रहन्छ?

त्यसको पनि अर्थ हुन्छ। ज्वरो आएका बेला सिटामोल खाँदा केही कम हुन्छ। पानीपट्टी गर्दा राहत मिल्छ। अहिले भएका केही समझदारीलाई त्यसरी बुझ्न सकिन्छ, तर शरीरभित्रको रोग निको पार्न छुट्टै उपचार गर्नुपर्छ। त्यस्तै नेपाल–भारत सम्बन्धका आधारभूत समस्या समाधान गर्न समग्र उपचार आवश्यक छ। इपिजीमार्फत समग्र विषयलाई सम्बोधन गर्नुपर्दछ। सन्धि, सीमा, व्यापार, पारवहन, हवाई रुट, जलस्रोत र हिमाली पर्यावरणका विषयलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्छ।

तर तत्कालै दुवै देशलाई फाइदा पुग्ने विषयमा पनि काम गर्न सकिन्छ। सडक, रेल र डिजिटल कनेक्टिभिटी विस्तार गर्न सकिन्छ। पोखरा र भैरहवा विमानस्थलका लागि आवश्यक हवाई रुटको विषय समाधान गर्न सकिन्छ। जलविद्युत् आयोजनाहरू अगाडि बढाउन र नेपालको बिजुली निर्यातमा देखिएका अवरोध हटाउन सकिन्छ। यस्ता काम कार्यान्वयन भए विश्वासको वातावरण अझ बलियो हुन्छ।

दुई देश त्यही बाटोमा अघि बढेका हुन्?

भ्रमणले नयाँ र विश्वासको वातावरण बनेको छ। त्यसका आधारमा अघि बढ्नुपर्छ।

प्रधानमन्त्रीको भारत भ्रमणमा भएका सहमति कार्यान्वयन गर्न अब सरकारले के गर्नुपर्छ?

हामीसँग व्यापार, जलस्रोत र अन्य विषयमा विभिन्न संयन्त्र छन्। ती संयन्त्रलाई प्रभावकारी बनाउनुपर्छ। परराष्ट्र सचिव र भारतीय राजदूत तहबाट पनि सहमतिहरूको समीक्षा गर्ने व्यवस्था गर्न सकिन्छ। घोषणा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ।

नेपालको तर्फबाट कुन मन्त्रालयले के काम गर्ने, कुन सहमति कहिलेसम्म कार्यान्वयन गर्ने भन्ने स्पष्ट कार्ययोजना हुनुपर्छ। समयसीमा तोकेर नियमित अनुगमन गर्नुपर्छ। सम्झौता र समझदारीको उपलब्धि भाषणमा होइन, जनताले अनुभव गर्ने परिणाममा देखिनुपर्छ।

भारतसँगको सम्बन्ध मात्र होइन, चीनसँगको सम्बन्ध र समग्र भूराजनीतिक सन्तुलनमा पनि नेपाल कमजोर हुँदै गएको विश्लेषण गर्न थालिएको छ, त्यस्तै हो?

नेपाल अहिले पनि जटिल भूराजनीतिक अवस्थामा छ। दुई ठुला देशको बिचमा हुनु चुनौती मात्र होइन, ठुलो अवसर पनि हो। चीन विश्वको पहिलो अर्थतन्त्र बन्नेतर्फ अगाडि बढिरहेको छ भने भारत पनि तेस्रो ठुलो अर्थतन्त्र बन्ने दिशामा छ। यी दुई विशाल बजारबिच नेपाल हुनु आर्थिक विकासका दृष्टिले ठुलो सम्भावना हो।

मैले पहिले पनि भनेको छु– नेपाल दुई ढुंगाबिचको तरुल मात्र होइन, दुई समुद्रलाई जोड्ने सेतु बन्न सक्छ र बन्नुपर्दछ। दुवैतर्फको पुँजी, प्रविधि र बजारसँग जोडिएर नेपालले उत्पादन बढाउन र वस्तु निर्यात गर्न सक्छ। त्यसका लागि हामीले भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ।

कुनै एकतर्फ ढल्किएर अर्को छिमेकीलाई चिढ्याउने नीति उपयुक्त हुँदैन। नेपालको इतिहासले पनि दुवै देशसँग सन्तुलित सम्बन्ध राखेरै आफ्नो स्वाधीनता जोगाउँदै आएको देखाउँछ।

प्रधानमन्त्रीले भारत भ्रमण गर्नुभएको छ, अब राम्रो तयारी गरी चीन भ्रमण गर्नुपर्छ। चीनसँगको सम्बन्धलाई पुरानो दृष्टिकोणबाट मात्र हेर्नु हुँदैन। बदलिएको विश्व परिस्थितिअनुसार दुवै देशसँग आर्थिक साझेदारी विस्तार गर्नुपर्छ।

सरकार बनेको आठ महिना भएको छ; सुरुमा तपाईं निकै आशावादी देखिनुहुन्थ्यो; अहिले सरकारको कामलाई कसरी मूल्यांकन गर्नुभएको छ?

उहाँहरू अकस्मात् सरकारमा आउनुभएकाले अझै सिक्दै हुनुहुन्छ भन्ने लाग्छ। हामीले लामो राजनीतिक यात्राका क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध, राज्यका अंग र प्रशासनिक प्रणाली बुझ्न समय लगाएका थियौं। उहाँहरू त नेतृत्वमा आउनुभएको हो।

प्रधानमन्त्रीका रूपमा उहाँसँग दुई वर्ष मेयर चलाएको अनुभवबाहेक त्यति लामो प्रशासनिक अनुभव छैन। अरू साथीहरूको पनि त्यस्तो अनुभव छैन। त्यसैले सुरुवातमा अलमल हुनु स्वाभाविक हो, तर अब आठ महिना हुन लागिसक्यो। सिक्न पर्याप्त समय भइसकेको छ। जनताले सुशासन र समृद्धि चाहेका छन्।

सेवा प्रवाहमा डिजिटल प्रविधिको प्रयोग र प्रशासनिक चुस्तताका केही प्रयास देखिएका छन्, तर विधि मिचिएको भन्ने प्रश्न पनि छन्। मुख्य कुरा आर्थिक विकास र रोजगारी सिर्जना हो। त्यसमा सरकारले अपेक्षित काम गर्न सकेको देखिँदैन। त्यसैले सरकार अब परिणाम दिने काममा केन्द्रित हुनुपर्छ।

प्रधानमन्त्रीले काम गर्ने क्रममा विधि र प्रक्रिया मिचेको, संसद्लाई बेवास्ता गरेको र आफूलाई प्रत्यक्ष निर्वाचित कार्यकारीजस्तो ठानेर काम गरेको आरोप छ; तपाईंलाई त्यस्तो लाग्दैन?  

मैले उहाँलाई यस विषयमा खुलेर सुझाव दिइरहेको छु। म प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणालीको पक्षधर हुँ। प्रधानमन्त्री पनि त्यसतर्फ जान चाहनुहुन्छ भन्ने बुझ्छु तर अहिले हामीले चाहेर मात्र हुँदैन। संविधानले संसद्बाट निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरेको छ। त्यसैले प्रधानमन्त्री संसद्प्रति जिम्मेवार हुनुपर्छ। संसद्मा जाने, सांसदका कुरा सुन्ने काम गर्नुपर्छ।

बहुदलीय लोकतन्त्रमा पक्ष र प्रतिपक्ष हुन्छन् तर शत्रु हुँदैनन्। प्रतिपक्षलाई दुस्मन ठान्ने वा संसद्लाई बेवास्ता गर्ने प्रवृत्ति उचित होइन। विगतमा जस्तो धेरै भाषण गर्ने, भेटघाट र गफमा समय बिताउने अनि काम नगर्ने प्रवृत्ति पनि दोहोरिनु हुँदैन। प्रधानमन्त्रीले काममा ध्यान दिन खोज्नुभएको छ भने त्यो सकारात्मक हो। काम र विधि दुवैलाई सन्तुलित बनाउनुपर्छ।

भारत भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विज्ञसँग पर्याप्त परामर्श नगरेको तथा राष्ट्रपतिलाई समेत जानकारी नदिएको विषयमा पनि प्रश्न उठेको छ; यो उचित हो?

भ्रमणअघि परामर्श गर्ने विषयलाई अनावश्यक कर्मकाण्ड बनाउनु हुँदैन। प्रधानमन्त्री विदेश भ्रमणमा जानुअघि कर्मचारीतन्त्रले धेरै तयारी गरेको हुन्छ। वार्तामा के विषय उठाउने, के सहमति गर्ने र के नगर्ने भन्ने गृहकार्य पहिल्यै भइसकेको हुन्छ। अन्तिम दिन बोलाएर सुझाव लिनुको खास अर्थ हुँदैन।

यदि सल्लाह लिनु छ भने १०/१५ दिन वा महिनादिनअघि लिनुपर्छ। म प्रधानमन्त्री भएका बेला त्यही प्रक्रिया अपनाएको थिएँ। बिप्पा सम्झौताअघि पार्टीभित्र सहमति बनाएको थिएँ। भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहसँगको भेटमा उहाँले पनि नेपालले चाहेको विषयमा सहमति गर्न तयार रहेको बताउनुभएको थियो। त्यसैले महत्वपूर्ण विषय भ्रमणको अन्तिम क्षणमा मात्र तय हुँदैनन्। तर राष्ट्रपति देशको अभिभावकीय संस्था हो। उहाँलाई सम्मान र शिष्टाचारका दृष्टिले भ्रमणबारे जानकारी गराउनु उचित हुन्छ। यसमा प्रधानमन्त्रीको ध्यान जानुपर्छ।

अहिलेसम्मको कामका आधारमा सरकारलाई सयमा कति नम्बर दिनुहुन्छ?

पहिले पनि ६० नम्बर दिएको हुँ। अहिले पनि त्यति दिन्छु। उहाँहरू सिक्दै हुनुहुन्छ। अब सिकाइबाट परिणामतर्फ जानुपर्छ।

सरकारलाई पाँच वर्ष काम गर्न दिनुपर्छ भन्नुभएको छ, तर सत्तारूढ दलभित्रै विवाद र नेतृत्वबिच दूरी बढेको देखिन्छ; यस्तो अवस्थामा सरकारको स्थायित्व कसरी सुनिश्चित हुन्छ?

बहुदलीय लोकतन्त्रमा दलका नेता र सांसदले आफ्ना प्रधानमन्त्रीले राम्रो काम नगरे प्रश्न उठाउन पाउँछन्, त्यसलाई अन्यथा लिनु हुँदैन। मैले रवि र बालेनजीहरूलाई भेट्दा पनि आपसी संवाद र समझदारी कायम राख्न सुझाव दिएको छु। सरकार चलाउने जिम्मेवारी पाएका शक्तिबिच निरन्तर संवाद हुनुपर्छ। संविधान बनेपछिका पछिल्ला दस वर्षमा सरकार बनाउने र गिराउने खेल धेरै भए। प्रदेशमा पनि त्यही प्रवृत्ति छ।

जनताले पाँच वर्षको म्यान्डेट दिएका छन् भने सरकारलाई काम गर्न दिनुपर्छ। सत्तारूढ दलका नेताहरूले पनि आपसी विवाद व्यवस्थापन गरेर स्थिरता कायम गर्नुपर्छ।

नयाँ सरकारप्रति जनताको अपेक्षा ठुलो छ, तर अर्थतन्त्रमा सुधार र रोजगारी सिर्जना नभए फेरि असन्तुष्टि बढ्ने खतरा छ?

त्यसमा मलाई चिन्ता छ। नेपालको अर्थतन्त्रको विकास गति सुस्त छ। सन् १९६०/७० को दशकमा भारत र चीनको प्रतिव्यक्ति आम्दानीसँग नेपालको अवस्था धेरै फरक थिएन। अहिले चीनको अर्थतन्त्र हाम्रोभन्दा दस गुणा बढिसकेको छ। भारत पनि धेरै अगाडि पुगेको छ।

पछिल्ला पचास–साठी वर्षमा नेपालले एक वर्ष पनि दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्न सकेको छैन तर भारत र चीन तीव्र आर्थिक वृद्धि हासिल गर्न सफल भए। नेपालले पनि तीव्र आर्थिक विकासको बाटो समात्नुपर्छ। कृषि क्षेत्रमा अल्झिएको जनशक्तिलाई उद्योग, सेवा र सूचना प्रविधिका क्षेत्रमा स्थानान्तरण गर्नुपर्छ। उत्पादन बढाउनुपर्छ, रोजगारी सिर्जना गर्नुपर्छ। त्यसका लागि सुविचारित योजना, समयसीमा र कार्यान्वयन क्षमता आवश्यक हुन्छ।

चुनावका बेला ठुला कुरा गर्ने र सत्तामा पुगेपछि काम नगर्ने प्रवृत्ति दोहोरिनु हुँदैन। आर्थिक विकासको प्रश्नलाई केन्द्रमा राख्न सकिएन भने देशमा आर्थिक संकट आउन सक्छ; युवा पलायन बढ्छ र असन्तुष्टि एवं विद्रोहको अवस्था आउन सक्छ।

त्यस्तो संकट रोक्न सरकार, प्रतिपक्ष र नागरिक समाजको भूमिका हुँदैन?

सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ। सरकारमा बस्नेको पहिलो जिम्मेवारी हुन्छ। प्रतिपक्षको दोस्रो जिम्मेवारी हुन्छ। नागरिक, सञ्चारमाध्यम र नागरिक समाजको तेस्रो जिम्मेवारी हुन्छ। हामी सरकारको राम्रो कामलाई राम्रो भन्नुपर्छ। आलोचना गर्नु लोकतन्त्रको महत्वपूर्ण पक्ष हो, तर आलोचना विनाशका लागि होइन, सुधारका लागि हुनुपर्छ। मिडियाले पनि उत्तेजक विषय मात्र खोज्ने र समाजलाई विभाजित गर्ने प्रवृत्तिबाट बच्नुपर्छ। प्रतिपक्षले सरकार ढाल्ने अवसर मात्र खोज्नु हुँदैन। सत्तामा बस्नेले आफू सधैंका लागि शासक भएको ठान्नु हुँदैन। हामी सबै जिम्मेवार भए मात्र लोकतान्त्रिक प्रणाली बलियो हुन्छ।

तपाईंहरूको पुस्ताले लामो राजनीतिक संघर्ष गर्‍यो तर मुलुक भ्रष्टाचार, अनियमितता, बेरोजगारी र सुशासनको संकटमा पनि यही अवधिमा फस्यो। तपाईंहरूको पुस्ता कहाँ चुक्यो?

मैले नेपालको इतिहासलाई तीनवटा कालखण्डमा हेर्ने गरेको छु। पहिलो, पृथ्वीनारायण शाहदेखि सुगौली सन्धिसम्मको राज्य र भूगोल निर्माणको चरण हो। दोस्रो लखन थापाको विद्रोहदेखि २००७ साल हुँदै २०७२ सालमा संविधान निर्माणसम्मको लोकतन्त्रीकरण र जनतालाई अधिकारसम्पन्न बनाउने चरण हो। तेस्रो चरण २०७२ सालपछि सुरु भएको सुशासन र समृद्धिको चरण हो।

हाम्रो पुस्ताको मुख्य जिम्मेवारी लोकतन्त्रीकरण थियो। बिपी कोइराला, पुष्पलाल हुँदै हाम्रो पुस्तासम्मका नेताहरूले त्यसका लागि संघर्ष गरे। हामीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशितासहितको संविधान निर्माण ग¥यौं। त्यसका लागि ठुलो त्याग र बलिदान भएको छ तर त्यसपछि विकास र समृद्धिको चरणमा पुराना राजनीतिक शक्तिहरूले अपेक्षित काम गर्न सकेनन्। त्यसैले मैले नयाँ र वैकल्पिक शक्तिको आवश्यकता देखेको हुँ। अहिले नयाँ पुस्ता नेतृत्वमा आएको छ। उनीहरूले हामीले निर्माण गरेको लोकतान्त्रिक आधारमा टेकेर अगाडि बढ्नुपर्छ।

तर राजनीतिक परिवर्तनसँगै भ्रष्टाचार र अनियमितता पनि बढ्यो अनि जेनजीले तपाईंहरूको पुस्ताको विकल्प खोज्यो होइन?

भ्रष्टाचार र अनियमितता रोक्नैपर्छ तर इतिहासलाई पनि हेर्नुपर्छ। राणाकालमा कानुनी शासन थिएन। शासकको मौखिक आदेशबाट मानिस मारिन्थे, जग्गा कब्जा गरिन्थ्यो। पञ्चायतकालमा पनि दरबारभित्रका विषयमा प्रश्न उठाउन पाइँदैनथ्यो। त्यतिबेला गाईकाण्ड, सुनकाण्ड, गलैंचाकाण्डलगायतका विषय चर्चामा हुन्थे। बहुदलीय व्यवस्थापछि पनि भ्रष्टाचारका घटना भए।

अहिले पनि भइरहेका छन्। यसलाई रोक्न बलिया र स्वतन्त्र संस्था निर्माण गर्नुपर्छ। कसैले गल्ती गरेको छ भने निष्पक्ष छानबिन गरेर कानुनअनुसार दण्डित गर्नुपर्छ। भ्रष्टाचार एकैपटक अन्त्य गर्छु भनेर भाषण गरेर मात्र हुँदैन। संस्थागत सुधार र निरन्तर कारबाहीबाट यसलाई न्यूनीकरण गर्दै अन्त्य गर्नुपर्छ।

तपाईं आफैं सरकारको नेतृत्वमा हुँदा सुशासन र राज्य सञ्चालनका विषयमा कमजोरी भएनन्? अहिले अरूलाई सुझाव दिँदा तपाईंहरूको पुस्ताले पनि आत्मसमीक्षा गर्नुपर्ने होइन?

संविधान जारी हुनुअघि मुख्य काम नै जनतालाई अधिकारसम्पन्न बनाउनु र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु थियो। जग नहाली घर बनाउन सकिँदैन। हामीले त्यो जग निर्माण गर्‍यौं। संविधान निर्माण भएपछिका दस वर्षदेखि नै विकास र समृद्धिको चरण सुरु भएको हो। त्यस अर्थमा मैले आफ्नो जिम्मेवारी पूरा गरेको ठानेको छु। तर ममाथि कुनै भ्रष्टाचार वा अनियमितताको आरोप छ भने छानबिन गर्नुस्, कानुनअनुसार कारबाही गर्नुस् भन्दै आएको छु। कसैले गल्ती गरेको छ भने उसलाई दण्डित गर्नुपर्छ। अब विगतका कमजोरीबाट पाठ सिकेर नयाँ पुस्ताले सुशासन र समृद्धिमा ध्यान दिनुपर्छ।

तपाईं अर्थशास्त्रको जानकार हुनुहुन्छ; नेपालको आर्थिक रूपान्तरणका लागि सरकारले के गर्नुपर्छ?

नेपालको आर्थिक विकास टुक्रे योजनाले हुँदैन। समग्र आर्थिक रूपान्तरणको योजना चाहिन्छ। पाँच, दस र बीस वर्षको स्पष्ट योजना बनाएर कार्यान्वयन गर्नुपर्छ। साथसाथै नीतिगत निरन्तरता, बलियो संस्थागत संरचना र कार्यान्वयन क्षमता आवश्यक हुन्छ। प्रधानमन्त्रीजीलाई पनि यही सुझाव दिएको छु।

प्रधानमन्त्रीमातहत बलियो प्राधिकरण बनाएर समग्र योजना कार्यान्वयन गर्न सकिन्छ। यस्तो प्रस्ताव गर्दा कतिपयले बाबुराम आफैं नेतृत्व गर्न खोजेको भने। मुख्य कुरा देशले स्पष्ट आर्थिक दिशा पाउनुपर्छ। कृषि, उद्योग, सेवा र सूचना प्रविधिलाई जोडेर उत्पादन बढाउनुपर्छ; रोजगारी सिर्जना गर्नुपर्छ र युवालाई देशभित्रै अवसर दिनुपर्छ।

भोटेकोसी बाढी र त्यसपछिका विपत्तिले जलवायु परिवर्तनको जोखिम उजागर गरेको छ; कोप सम्मेलनबाट पनि नेपालले अपेक्षित परिणाम पाउन सकेन; यसलाई कसरी हेर्नुहुन्छ?

हिमनदी पग्लिनु र तापक्रम वृद्धि हुनुको असर भोटेकोसीमा देख्यौं। त्यसपछि बुढीगण्डकीमा पनि देखियो। यो नेपालको मात्र नभएर विश्वव्यापी संकट हो। हिमाली क्षेत्रलाई तेस्रो ध्रुुव पनि भनिन्छ। उत्तर र दक्षिण ध्रुुवपछिको हिउँ भण्डार यही क्षेत्रमा छ। यहाँका हिमनदी पग्लिँदा त्यसको असर नेपालका साथै अर्बौं मानिसको जीविकामा पर्छ तर विकसित देशहरूले कार्बन उत्सर्जन घटाउने र पर्यावरण संरक्षण गर्ने दिशामा पर्याप्त प्रतिबद्धता देखाएका छैनन्; जुन दुःखद् हो। त्यसैले पनि हामीले जलवायु न्याय र क्षतिपूर्तिको मागलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाइरहनुपर्छ र अन्तर्राष्ट्रिय जनमत निर्माण गर्नुपर्छ।

जलवायुजन्य विपत्तिबाट प्रभावित देशका लागि बनाइने कोषमा पर्याप्त रकम जम्मा गराउन दबाब दिनुपर्छ। त्यसबाट नेपालजस्ता देशले क्षतिपूर्ति र पुनर्निर्माणका लागि स्रोत प्राप्त गर्नुपर्छ। हाम्रो आवाजले मात्र कोपमा सबै कुरा बदल्न सक्दैन, तर अन्तर्राष्ट्रिय जनमत निर्माण गर्न सकिन्छ। हिमाली क्षेत्रको संकट विश्वव्यापी हो भन्ने मान्यता स्थापित गर्न सकिन्छ। त्यसका लागि नेपालले निरन्तर पहल गर्नुपर्छ।

हामीले देशभित्र गर्नुपर्ने काम पनि गरिहेका छैनौं। भोटेकोसी प्रभावितको अवस्था तीन महिना हुँदा पनि दयनिय छ भन्ने लागेको छैन?

सरकारले सुरुवाती राहत र उद्धार कार्य गरेको हो, तर त्यसपछिको पुनस्र्थापना र दीर्घकालीन व्यवस्थापनमा ढिलाइ भएको छ। विस्थापित नागरिकलाई समयमै सुरक्षित बासस्थान र जीविकोपार्जनको व्यवस्था गर्नुपर्ने थियो, जुन अपेक्षित गतिमा बढ्न सकेको छैन।

भारत भ्रमणमा केही स्रोत जुटाउने प्रतिबद्धता भएको भनिएको छ, तर त्यो कहिले आउला? त्यसैले बाह्य सहयोगको प्रतीक्षा गरेर मात्र हुँदैन। राज्यले आफ्नै स्रोत पनि परिचालन गरेर प्रभावित नागरिकको पुनस्र्थापना तत्काल गर्नुपर्छ। विपत्तिमा परेका नागरिकको जीवन सामान्य बनाउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ।

जिम्मेवारी पूरा गरें त भन्नुभयो तर विस्तृत शान्तिसम्झौता भएको दुई दशक पुग्यो; द्वन्द्वपीडित, बेपत्ता परिवार, घाइते र सहिद परिवारले अझै न्याय पाएका छैनन्; यसको जिम्मेवारी कसले लिने?

नेपालको लोकतन्त्रीकरण एकैपटक पूरा भएको होइन। २००७ सालदेखि नै लोकतन्त्रका लागि संघर्ष भए। त्यसपछि राजाले अधिकार खोसे, फेरि संघर्ष भए। अन्ततः लोकतन्त्र भनेको टाठाबाठाका लागि मात्र होइन, महिला, दलित, जनजाति, मधेसी, थारूलगायत सबै समुदायका लागि हुनुपर्छ भन्ने मान्यतासहित आन्दोलन अघि बढ्यो।

त्यही क्रममा जनयुद्ध भयो र शान्ति प्रक्रियामार्फत संविधान निर्माण तथा सेना समायोजनजस्ता काम सम्पन्न भए, तर द्वन्द्वकालमा भएका घटनाको निष्पक्ष छानबिन, मानवअधिकार उल्लंघनका घटनाको सम्बोधन र पीडितलाई न्याय दिने काम पूरा हुन सकेन। त्यसका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरियो, तर विभिन्न कारणले तिनले आफ्नो काम पूरा गर्न सकेनन्।

किन?

सरकार फेरिइरह्यो। त्यसलाई कारण देखाएर यो काम थाती राख्न मिल्दैन। अन्तरिम संविधानदेखि अहिलेको संविधानसम्म शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्छ। यो कुनै पार्टीको मात्र दायित्व होइन, राज्यकै संवैधानिक दायित्व हो। यो सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित विषय सम्बोधन गर्न अध्यादेश ल्याएको भन्ने सुनेको छु। त्यो आफ्नो ठाउँमा छ, तर शान्ति प्रक्रियाका बाँकी काम पनि पूरा गर्नुपर्छ। द्वन्द्वपीडितले न्याय पाउनुपर्छ।

यी विषयमा सरकार वा अन्य दलका नेतासँग कुरा गर्नुभएको छ?

संविधान दिवसका दिन राष्ट्रपति कार्यालयमा विभिन्न दलका नेताहरूको भेट भएको थियो। त्यहाँ रविजी, प्रचण्डजी, गगनजीसहितका नेताहरू उपस्थित हुनुहुन्थ्यो। मैले सबैका अगाडि शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउनुपर्छ भनेको थिएँ। उहाँहरूले गर्नुपर्छ भन्नुभयो। तर यो विषय ओझेलमा परेजस्तो लाग्छ।

आफू नेतृत्वमा हुँदा नगर्ने अहिले जिम्मेवारीबाट उम्किन मिल्छ?

म उम्किन खोजेको होइन। मेरो नेतृत्वको सरकार १६ वटा दलको समर्थनमा बनेको थियो। संविधान निर्माण र सेना समायोजनको काम पूरा गर्नुपर्ने थियो, जुन सम्पन्न गर्‍यौं। सत्य निरूपण तथा मेलमिलापसम्बन्धी कानुन विधेयक पनि अघि बढाएँ। त्यसैले म शान्ति प्रक्रियाका बाँकी कामप्रति प्रतिबद्ध थिइनँ भन्ने होइन, तर ती काम पूरा हुन सकेनन्। अब तिनलाई पूरा गर्नु सबैको जिम्मेवारी हो।

संविधान जारी भएलगत्तै नयाँ शक्ति र वैकल्पिक राजनीतिक अवधारणा अघि सार्नुभयो, तर त्यसलाई संस्थागत गर्नु सक्नुभएन नि?

कुनै एउटै पार्टी वा संगठनमा सीमित हुनुपर्छ भन्ने छैन। युग परिवर्तन भइसकेको छ। पुराना पार्टी संरचना र विचारले नयाँ समस्यालाई सम्बोधन गर्न सक्दैन। यसका लागि नयाँ विचार र नयाँ राजनीतिक शक्ति आवश्यक छ भनेर अभियान सुरु गरेको हुँ। त्यही क्रममा विभिन्न शक्ति र राजनीतिक समूह बने।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टी ठुलो वैकल्पिक शक्तिका रूपमा अगाडि आएको छ। अरू नयाँ शक्ति पनि छन्। बहुदलीय व्यवस्थामा विभिन्न धार र समूह हुन्छन्। यी सबै नयाँ राजनीतिक विकल्पका सम्भावित हाँगा हुन्। म सबै नयाँ शक्तिप्रति सकारात्मक छु। उनीहरूले देशका अर्थराजनीतिक र भूराजनीतिक समस्यालाई गम्भीरतापूर्वक बुझेर समाधान गर्नुपर्छ; आत्मसन्तुष्ट भएर बस्नु हुँदैन।

अबको राजनीतिक सक्रियता कस्तो रहन्छ?

राजनीति भनेको सत्तामा पुग्ने मात्र होइन। एउटा सत्तामुखी राजनीति हुन्छ र अर्को रूपान्तरणकारी राजनीति हुन्छ। मैले झन्डै दस वर्षदेखि वैकल्पिक राजनीतिको पैरवी गर्दै आएको छु। दुई वर्षअघि संगठित पार्टी राजनीतिबाट जिम्मेवारीमुक्त भए पनि रूपान्तरण र परिवर्तनका लागि गरिने बहुआयामिक राजनीतिमा सक्रिय नै छु। राजनीतिमा विचार, नीति, सामाजिक अभियान र नागरिक तहको हस्तक्षेप पनि महत्वपूर्ण हुन्छ। सधैं कार्यकारी पदमा बसेर मात्र योगदान गर्नुपर्छ भन्ने छैन।

तपाईंका समकालीन नेताहरू पार्टी र सत्ता नेतृत्वमै हुनुहुन्छ; उहाँहरूलाई के सुझाव दिनुहुन्छ?  

उहाँहरू आफैंले समयको माग बुझ्नुपर्छ। उहाँहरूलाई सन्यास लिनुस् भन्न खोजेको होइन र मैले पनि सन्यास लिएको होइन। विचार दिएर, सल्लाह दिएर र नयाँ पुस्तालाई सहयोग गरेर पनि राजनीति गर्न सकिन्छ। सधैं कार्यकारी भूमिकामा बसिरहनु उपयुक्त हुँदैन। नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ। पुरानो पुस्ताले नयाँ पुस्तालाई सहयोग गर्ने र आवश्यक पर्दा मार्गदर्शन गर्ने भूमिका निर्वाह गर्नुपर्छ।

तपाईंको राजनीतिक यात्रामा विभिन्न पद र जिम्मेवारीको चर्चा हुने गर्छ; भविष्यमा राष्ट्रपति बन्ने आकांक्षा छ?

यस्ता प्रश्न गर्दा मलाई दुःख लाग्छ। म गाउँको किसानको छोरो हुँ। आमासँग एक डाडु दूध मागेर पनि कहिल्यै खाइनँ। म पद र शक्तिको आकांक्षाले राजनीतिमा लागेको होइन। अहिले पनि त्यस्तो आकांक्षा छैन, भविष्यमा पनि राख्दिनँ।

अन्त्यमा, दस वर्षपछि नेपाल कस्तो बनेको हेर्न चाहनुहुन्छ?

म त नेपाल किन अल्पविकसित भयो र यसलाई कसरी विकसित बनाउन सकिन्छ भन्ने अभियानबाटै राजनीतिमा लागेको हुँ। लोकतन्त्र र जनतालाई अधिकारसम्पन्न बनाउने चरणसम्म हामी आइपुगेका छौं। अधिकारसम्पन्न नभई समृद्धि सम्भव हुँदैन। अब आर्थिक विकास र समृद्धिमा केन्द्रित हुनुपर्छ। स्पष्ट दृष्टिकोण र योजनासहित अघि बढ्न सकियो भने १०/१५ वर्षमा नेपाललाई कम्तीमा मध्यम आय भएको मुलुकको स्तरमा पु¥याउन सकिन्छ। त्यसपछि २०/२५ वर्षमा समृद्ध नेपाल निर्माण गर्न सकिन्छ। त्यसका लागि दूरदृष्टिसहितको योजना बनाउनुपर्छ र इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्छ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
यो पनि पढौँ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस