‘अटो मोबाइल्स उद्योगमा १० वर्षको नीतिगत स्थिरता चाहिन्छ’
०९ भदौ २०८३
•
१७ मिनेट पाठ
‘अटो मोबाइल्स उद्योगमा १० वर्षको नीतिगत स्थिरता चाहिन्छ’
सुरेन्द्रकुमार उप्रेती अध्यक्ष, नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)
झन्डै तीन दशकदेखि देशको अटो मोबाइल्स तथा अटो स्पेयर पार्ट व्यवसायमा सक्रिय नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेती १२ वर्षअघि कार्यसमिति सदस्यका रूपमा नाडामा प्रवेश गरेका हुन्। उप्रेतीले दुई कार्यकाल कोषाध्यक्ष, दुई कार्यकाल महासचिवको जिम्मेवारी पूरा गर्दै २०८२ सालको मंसिरबाट ५० वर्ष लामो इतिहास बोकेको नाडाको अध्यक्ष भएर नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन्। मुलुकभरका अटो व्यवसायीको छाता संस्था नाडा २०३२ सालमा स्थापना भएको हो। त्यसपछि २०३४ सालमा संस्था दर्ता ऐन बमोजिम दार्ता भई अहिलेको यो अवस्थासम्म आइपुगेको छ। नाडाले आफ्नो नियमित वार्षिक क्यालेन्डर बमोजिम ९ देखि १४ भदौसम्म १८ औं संस्करणको ‘नाडा अटो सो २०२६’ आयोजना गरेको छ। उनी एसटिसी ग्रुपका प्रबन्ध निर्देशक हुन्। उप्रेतीको एसटिसी ग्रुपअन्तर्गत सिएट ब्रान्डको टायर, एम्पायर ब्रान्डको स्कुटर, पिएलओ लुब्रिकेन्ट र राइड ब्रान्डको व्याट्रीको कारोबार हुन्छ। यसैगरी उनको व्यापार अन्य अटो स्पेयर पार्ट्ससम्म फैलिएको छ। ‘नाडा अटो सो २०२६’ र वर्तमान अटोमोबाइल क्षेत्रको अवस्थाबारे नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीसँग नागरिककर्मी मधुजंग पाण्डेले गरेको वार्ताको सारसंक्षेपः




विगतका संस्करणभन्दा यस पटकको ‘नाडा अटो सो’ मा के फरक छ ?

विगतका वर्षभन्दा यस वर्षको ‘नाडा अटो सो २०२६’ विशेष हुनेछ। किनभने नाडा स्थापनाको ५०औं वर्ष पुगेको अवसरमा ‘उद्योगदेखि रोजगारसम्म’ भन्ने मूल नाराका साथ हामीले यो अटो सो आयोजना गरेका हौं। त्यसैले नाडाका लागि यो प्रदर्शनी स्वर्णउत्सव विशेष संस्करण भएकाले अघिल्ला वर्षहरूको भन्दा धेरै राम्रो बनाउने प्रयास गरेका छौं। हामीले १८ औं संस्करणको यस अटो सोलाई गाडी प्रदर्शन गर्ने मेलाका रूपमा नभई नेपालको अटोमोबाइल क्षेत्र कहाँ पुगेको छ। आगामी दिनमा यसको भविष्य कहाँ जान सक्छ भन्ने देखाउने अवसरका रूपमा लिएका छौं।

यसपटक विद्युतीय सवारी साधनसँगै नेपालमै एसेम्बल भएका सवारी साधन, टायर, ब्याट्री, लुब्रिकेन्ट र स्पेयर पार्ट्सलाई पनि प्राथमिकता दिइएको छ। नेपाल अब सवारी साधन आयात गर्ने मुलुक होइन, बिस्तारै उत्पादन र एसेम्बलतर्फ पनि अगाडि बढिरहेको छ भन्ने सन्देश दिन खोजेका छौं।

नाडाले यस अटो सोबाट सम्पूर्ण अटोमोटिभ इकोसिस्टमलाई एउटै मञ्चमा ल्याउन, आगन्तुकलाई बजारमा उपलब्ध नवीन उत्पादन प्रविधिबारे जानकारी गराउन र नवप्रवर्तनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्न खोजेका छौं।  

९ देखि १४ भदौसम्म ६ दिन सञ्चालन हुने यस वर्षको ‘नाडा अटो सो’ मा स्वदेशमै एसेम्बल भएका तथा उत्पादित सवारी र अटो  क्षेत्रका उत्पादनलाई विशेष प्राथमिकता दिएको छ। यस अटो सोमा सहभागी हुने अवलोकनकर्ताले नेपालमा बोकेर ल्याइएका गाडीदेखि अहिलेसम्म बजारमा आएका हरेक नयाँ गाडीबारे सम्पूर्ण जानकारी पाउने छन्। यस अटो सोमा दुई सयभन्दा बढी स्टल रहने छ।

अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगट्ने सवारी साधनको बृहत् अटो सोले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ। अझ दसैं आउनुभन्दा केही समयअघि आयोजना भएको यस नाडा अटो सोले व्यवसायीलाई आफ्ना उत्पादन बिक्रीमा आत्मविश्वास बढाउँछ।  उपभोक्तालाई छनोट तथा सहुलियत र सरकारलाई थप राजस्व बढाउन सहयोग गर्ने छ।  

अहिले बजारमा भित्रिएका नयाँ इभीको उपस्थितिलाई कसरी हेर्नुभएको छ ?  

नेपालमा मात्र होइन अहिले विश्वव्यापी रूपमै अटोमोबाइल क्षेत्र विद्युतीय सवारीतर्फ गइरहेको छ । हाल ग्राहकहरूमा पनि इभी गाडीप्रतिको आकषर्ण बढ्दो क्रममा छ। बजारमा धमाधम भित्रिएका नयाँ इभीको मोडल, डिजाइन र फिचरले नेपाली उपभोक्ताको आकर्षण बढाएको छ। संसारभर इभी र हाइब्रेटगाडीमा आकर्षण बढिरहेको बेला नेपाल पनि त्यसबाट अलग रहन सक्दैन। नेपाली उपभोक्ताले पनि प्रविधि, सञ्चालन खर्च र वातावरणीय पक्ष हेरेर इभी गाडीलाई स्वीकार गरिरहेको अवस्था छ तर हामीले पेट्रोलियम सवारी साधनलाई एकै पटक विस्थापित हुन्छ भनेर पनि हेर्नु हुँदैन। बजारले आफैं आफ्नो दिशा तय गर्छ। हाम्रो मुख्य कुरा भनेको सरकारको नीति स्थिर हुनुपर्छ र उपभोक्ताले जुन प्रविधि रोज्छ। त्यसैका लागि आवश्यक पूर्वाधार र दीर्घकालीन नीति सरकारले सुनिश्चित गर्नुपर्छ।  

अहिले नेपालको अटोमोबाइल बजारको वास्तविक अवस्था कस्तो छ ?

अहिले बजार पूर्ण रूपमा उत्साहित छ भन्न सकिने अवस्था छैन। केही समयदेखि अटोमोबाइल बजारमा शिथिलता देखिएको छ। उपभोक्ताको क्रयशक्ति, बैंकिङ प्रणालीबाट सवारी कर्जा लिने अवस्था, ब्याजदर तथा समग्र आर्थिक वातावरणले बजारलाई असर गरेको छ। तैपनि हामी निराश हुनुपर्ने अवस्था  छैन। अहिले नेपाली बजारमा संसारभरका नयाँ प्रविधि र नयाँ मोडलका सवारी साधन आइरहेका छन्। नाडा अटो सोबाट पनि हामीले उपभोक्ताको नयाँ खोज्ने रूचिलाई ध्यान दिँदै अटो बजारलाई चलायमान बनाउन चाहेका छौं। निजी क्षेत्रको एकतर्फी प्रयासले मात्र हामीले चाहेको सबै प्राप्त नहुन सक्छ। यसमा सरकारको चाहना पनि अझै धेरै हुनुपर्छ। विभिन्न कारणले क्रयशक्ति घटेर आर्थिक अवस्था कमजोर भएको बेला उपभोक्तामा नयाँ उत्साह ल्याउन हामीले नाडा अटो सोमार्फत महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरेका छौं।

यसपाली हामीले ‘नाडा अटो सो’ मा विगतका वर्षहरूको भन्दा धेरै नयाँ प्रविधि, नयाँ–नयाँ मोबिलिटीका उत्पादन देखाउन खोजेका छौं।  
छिमेकी देशहरूको भन्दा नेपालमा गाडी महँगो हुनुमा कर तथा भन्सार नीति कति जिम्मेवार हुन्छ ?

हाम्रा छिमेकी देश भारत र चीनको तुलनामा अहिले नेपालमा सवारी साधनको मूल्य केही महँगो छ। चीन र भारतमा जस्तो ठुलो परिणाममा यहाँ गाडी एसेम्बल तथा उत्पादन गर्ने उद्योगहरू नै छैनन्। हाल भएका उद्योगले पनि त्यति धेरै गाडी एसेम्बल गरेका छैनन्। त्यसैले आयातित गाडीको मूल्य निर्धारणमा कर संरचनाको ठूलो भूमिका हुन्छ। हामी सरकारलाई कर घटाउनुपर्छ भनेर मात्र भनिरहेका छैनौं। कर नीति स्थिर, पूर्वानुमानयोग्य र दीर्घकालीन हुनुपर्छ भन्ने हाम्रो मुख्य माग हो। आज एउटा नीति ल्याउने र केही समयपछि परिवर्तन गर्ने हो भने व्यवसायीले पनि दीर्घकालीन लगानी गर्न सक्दैनन्। उपभोक्ता पनि अन्योलमा पर्छन्। त्यसैले सरकारले अटोमोबाइलको क्षेत्रलाई राजस्व उठाउने क्षेत्रका रूपमा मात्र नभई रोजगारी, यातायात, पर्यटन, उद्योग र समग्र अर्थतन्त्रसँग जोडिएको क्षेत्रका रूपमा हेर्नुपर्छ।

इभी गाडीको चार्जिङ, ब्याट्री, सर्भिसिङ र रिसेलभ्यालुबारे तपाईंको के धारणा छ ?

हामीले इभी गाडीको विस्तारसँगै आवश्यक सडक तथा चार्जिङ पूर्वाधार विस्तार पनि सँगसँगै हुनुपर्छ भनिरहेका छौं। चार्जिङ स्टेसन, सडक पूर्वाधार, दक्ष जनशक्ति, सर्भिसिङ तथा ब्याट्री व्यवस्थापनमा अझै थप काम गर्नुपर्ने अवस्था छ।

अर्को महत्वपूर्ण कुरा उपभोक्ताको विश्वास हो। नयाँ प्रविधि भएकाले उपभोक्तालाई सही सूचना दिनुपर्छ। कुन गाडीको ब्याट्री कस्तो छ ? सर्भिसिङ कसरी हुन्छ ? स्पेयर पाट्र्सको उपलब्धता कस्तो छ ? भन्ने विषयबारे स्पष्टता आवश्यक छ। वातावरणमैत्री इभी र हाइब्रिड गाडीलाई प्रवर्धन गर्ने हो भने सरकारले पनि पूर्वाधार र नीतिगत सुधारमा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ।  

अनधिकृत स्पेयर पार्ट्स तथा अवैध आयात रोक्न नाडाले कस्तो भूमिका खेलेको छ ?

छिमेकी देशसँगको खुला सिमानाले पनि हामीलाई अनधिकृत स्पेयर पार्ट्स तथा अवैध आयात रोक्न निकै समस्या बनाइरहेको छ। यस समस्यामा नाडाले सरकारसँग लविङ गर्ने, सम्बन्धित सरोकारवालासँगको छलफल घनिभूत बनाएर जनचेतना फैलाउने काम गर्दै आएको छ।  भन्सार नाकामा हुने कमजोर सुरक्षाका कारण बजारमा देखिएको अवैध आयात हाम्रा लागि गम्भीर विषय हो। अटोमोबाइल्स क्षेत्रको बजारमा जेनुइन सामानको व्यवसाय गर्ने व्यवसायीले मज्जाले कर तिर्छ।  रोजगारी सिर्जना गर्छ र उपभोक्तालाई निश्चित गुणस्तरको सामान दिन्छ। भन्सार छलेर र सरकारलाई झुक्याएर स्पेयर पार्ट्स भित्रिँदा मुलुकको राजस्वमा पनि असर पर्छ। यसले सबै नियम पालना गर्दै आएका व्यवसायीलाई पनि प्रतिस्पर्धामा समस्या हुन्छ। त्यसैले सरकारले भन्सार तथा बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ। नाडा पनि सरकारसँग सहकार्य गरेर यो समस्या समाधान गर्न तयार छ। हाम्रो उद्देश्य व्यवसायीको मात्र संरक्षण गर्ने होइन। उपभोक्ताले गुणस्तरीय र सुरक्षित पार्ट्स पाउनुपर्छ भन्ने पनि हो।  

अटो कर्जाको जोखिम भार र डाउनपेमेन्ट सीमाका कारण उपभोक्ता अझै गाडी किन्न सक्ने अवस्थामा छैनन्। यतिधेरै सस्तो बैंक ब्याजदर हुँदा पनि बजार नबढ्नुको कारण के हो ?  

अहिले बैंकमा पर्याप्त तरलता छ। यतिधेरै सस्तो बैंक ब्याजदर हुँदा पनि अपेक्षाकृत रूपमा बजार बढ्न सकेको छैन।  यसमा उच्च जोखिम भार समस्या छ।  नेपाल राष्ट्र बैंकले व्यक्तिगत गाडी कर्जाको जोखिम भारलाई उच्च (१२५ देखि १५० प्रतिशतसम्म) कायम राखेको छ। जोखिम भार धेरै हुँदा बैंकहरूले अटो क्षेत्रमा कर्जा प्रवाह गर्दा बढी पुँजी छुट्याउनुपर्छ। जसले गर्दा बैंकहरू सजिलै अटो कर्जा दिन डराउँछन्। डाउन पेमेन्टको कडा सीमा पनि अटो बजार नबढ्नुको अर्को समस्या हो। पेट्रोल र डिजेललगायतका इन्धनबाट चल्ने निजी सवारी साधन किन्न ५० प्रतिशत डाउन पेमेन्ट अनिवार्य छ। विद्युतीय सवारी साधन (इभी) मा डाउन पेमेन्ट सीमा केही सहज ४० प्रतिशत भए पनि समग्र अटो क्षेत्र यसबाट प्रभावित छ। अहिले हामी अटो बजार चलायमान बनाउन हाल कायम रहेको ४० प्रतिशतको अनिवार्य डाउन पेमेन्टको सीमा घटाएर २० प्रतिशत भन्दा तल झार्नुपर्छ भनिरहेका छौं।  गाडी किन्न खोज्ने उपभोक्ताले सुरूमै आधा रकम खल्तीबाट हाल्नुपर्ने बाध्यता छ। ६० लाखको गाडी किन्न ३० लाख नगद जुटाउनुपर्ने भएकाले पनि सामान्य उपभोक्ता चाहेर पनि अझै गाडी किन्न सक्ने अवस्थामा छैनन्।

आम्दानीको स्रोत र कागजी प्रक्रिया पनि केही सहज हुनुपर्छ। अटो कर्जा स्वीकृतिका लागि बैंकहरूले आम्दानीको स्रोतको कडा मूल्यांकन गर्छन्। कर्जा चुक्ता गर्ने अनुपात निकै कसिलो बनाइएको छ। जसका कारण बैंक ब्याजदर यतिधेरै सस्तो भएर पनि कर चुक्ता प्रमाणपत्र र भ्याट बिलसहितको आम्दानी देखाउन नसक्दा ग्राहकको कर्जा फाइल बैंकबाट पास हुन मुस्किल पर्छ। अहिले बढ्दो आर्थिक मन्दीलगायत विविध कारणले उपभोक्ताको क्रयशक्ति पनि खुस्किएको छ। आत्मविश्वासमा कमी देखिएको छ। मुलुकले भोग्नुपरेको समग्र आर्थिक शिथिलताका कारण बजारमा रोजगारी र व्यापार व्यवसाय संकुचित भएको अवस्था छ। निजी क्षेत्र पनि त्रसित छ। त्यसैले सस्तो ब्याजदर हुँदा पनि गाडीमा लगानी गर्न उपभोक्ता डराइरहेका छन्। यस अवस्थाबारे हामीले नाडाको तर्फबाट सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएका छौं। हामीले राष्ट्र बैंकसँग अटो कर्जाको जोखिम भारलाई सय प्रतिशतमा झार्न र डाउन पेमेन्टको सीमालाई घटाएर अझै व्यवहारिक बनाउन लगातार माग गर्दै आएका छौं। निजी क्षेत्रले यी नीतिगत गाँठो फुकाएर कर्जा प्रवाहको अधिकार बैंकहरूलाई नै नछोडिएसम्म ब्याजदर घट्दैमा गाडीको बजार बढेर बुम भइहाल्ने  अवस्था छैन। यसबारे पनि नाडाले सम्बन्धित निकाय तथा सरोकारवालाको ध्यानाकर्षण गराएको छ।

देशको अटोमोबाइल क्षेत्रलाई थप चलायमान बनाउन के गर्नुपर्छ ?

निजी क्षेत्रको तर्फबाट मुलुकको अटोमोबाइल क्षेत्रलाई चलायमान बनाउन धेरै प्रयास भएको छ। नाडाको तर्फबाट हामी नेपाललाई सवारी साधन आयात गर्ने बजारका रूपमा सीमित राख्न चाहँदैनौं। अहिले नै नेपालमा केही सवारी साधन एसेम्बल भइरहेका छन्। टायर, ब्याट्री, लुब्रिकेन्ट, स्पेयर पार्ट्सलगायत क्षेत्रमा पनि स्वदेशी उत्पादन र एसेम्बलको सम्भावना देखिएको छ। अहिले बिस्तारै सवारी साधन एसेम्बल गर्ने कम्पनीहरू थपिँदैछन्। ग्राहकको चाहनाबमोजिम इभी गाडीको नयाँ नयाँ मोडल भित्रिँदै छन्। जसका लागि सरकारले दीर्घकालीन र स्थिर नीति बनाउनुपर्छ। लगानीको वातावरण बनाउनुपर्छ।  निजी क्षेत्रले थप नयाँ प्रविधि तथा पुँजी भित्याउने हो भने आगामी दिनमा नेपालमा अटोमोबाइल उत्पादनको ठूलो सम्भावना छ। अब हाम्रो लक्ष्य क्रमशः आयातबाट स्वदेशमै उत्पादन र रोजगारी बढाउनेतर्फ केन्द्रित हुनुपर्छ। दुई पांग्रेदेखि चारपांग्रेसम्मका गाडी एसेम्बल गर्ने, एसेम्बलबाट उत्पादन र उत्पादनसँगै स्वदेशी अटो कम्पोनेन्ट उद्योगको विकास गर्नेतर्फ पनि हाम्रो ध्यान केन्द्रित हुनुपर्छ। नाडाले यही सन्देश दिन यस वर्षको नाडा अटो सो आयोजना गरेको हो।

इन्धनबाट चल्ने निजी सवारीसाधन किन्न ५० प्रतिशत डाउन पेमेन्ट अनिवार्य छ। विद्युतीय सवारीसाधन (इभी) मा डाउन पेमेन्टको सीमा केही सहज ४० प्रतिशत भए पनि समग्रमा अझै अटोबजार चलायमान बनाउन यो सीमा कम हो।
हाल नेपालमा गाडीको संख्या कति छ ?  

अहिले नेपालको सडकमा कतिवटा गाडी गुडी रहेका छन् भन्नेबारे एकिन तथ्यांक हामीसँग छैन। हाल नेपालमा ५० लाखभन्दा बढी गाडी भित्रिएर औपचारिक रूपमा दर्ताको प्रक्रियामा आएको छ। यातायात विभागको जानकारी अनुसार ५० लाख दुई पांग्रे साना–ठुला सम्पूर्ण सवारी साधन दर्ता भएको तथ्यांक हो। यसबाहेक भन्सार छलेर ल्याइएका तथा अन्य विभिन्न तरिका अपनाएर भित्याइएका गाडी पनि छन्। त्यसको तथ्यांक यसमा समावेश छैन। नेपालमा हालसम्म करिब ६३ हजार विद्युतीय सवारी साधन भित्रिएका छन्। नेपाल भित्रिने विद्युतीय सवारीमध्ये ८० प्रतिशतभन्दा बढी चीनबाट आउने गरेका छन्। बाँकी  भारत र अन्य देशबाट आयात हुने गरेका छन्।  

इभी गाडी सञ्चालनका लागि चार्जिङ स्टेसन पर्याप्त छ ?

अहिले इभी गाडी बिक्रीको तुलनामा चार्जिङ स्टेसनको कमी छ। हाल दुई हजारभन्दा बढी चार्जिङ स्टेसन सञ्चालनमा छन्। धमाधम निर्माण भई अझै थपिने क्रममा छ। अहिले गाडी बिक्री गर्ने आयातकर्ता र नेपाल विद्युत् प्राधिकरण मिलेर देशका विभिन्न लामो दूरीका गाडी चल्ने ठाउँमा थप चार्जिङ स्टेसन बनाउने काम हुँदै छ। पहिले पेट्रोल पम्पहरूमा सवारी साधनको लामो लाइन लाग्थ्यो। अहिले इभी गाडी चार्ज गर्ने चार्जिङ स्टेसनमा झन् बाक्लो चहलपहल देखिन थालेको छ। चार्जिङ स्टेसन वरिपरि ट्राफिक चाप नै देखिएको अवस्था छ।  

अहिले पेट्रोलियम पदार्थको लागि विश्व बजार लडिरहेको छ। सबैभन्दा राम्रो पक्ष अहिले हामीले इभी गाडी भित्याएकै कारण त्यो पेट्रोलियम पदार्थको लडाइँमा धेरै संघर्ष गर्नुपरेको छैन। इभी तथा हाइब्रिड गाडी भित्रिएकाले पेट्रोलको लाइन सहज बनाएको छ।  

‘नाडा अटो सो’ १८ औं संस्करण तथा ५० औं स्वर्णजयन्ती विशेष चाहिँ के हो ?  

यसपालिको ५० औं स्वर्णजयन्ती विशेष ‘नाडा अटो सो’ बाट हामीले नेपालमा अटोमोबाइल्स क्षेत्रको सम्भाव्यता छ भन्ने सन्देश दिँदै छौं। नेपालीले बनाएको नेपाली डिजाइन र इन्जिनियरिङबाट बनेको सवारी साधन हरेक नेपालीले चढ्न पाउनुपर्छ भन्ने सन्देश दिने हो। यसपालि हामीले ‘नाडा अटो सो’ मा विगतका वर्षभन्दा धेरै नयाँ प्रविधि, नयाँ–नयाँ मोबिलिटीका उत्पादन देखाउन खोजेका छौं। नेपाली कम्पनी सिप्रदी यात्रीले बनाएको स्कुटर पनि प्रदर्शनीमा राखेका छौं। अहिले दुई पांग्रे सवारी साधनदेखि नेपालमा बन्न थालिसकेको धेरै उत्पादनको प्रदर्शनी हुने छ। यसपाली सकेसम्म धेरै स्वदेशी उत्पादन राखिने छ। अब हामी आयातमा मात्र निर्भर हुने होइन, ‘मेड इन नेपाल’ मा जान ढिलो गर्नु हुँदैन भन्ने सन्देश दिँदै छौं। गाडी बोकाएर ल्याएको इतिहासदेखि नेपालमै बनेको र एसेम्बल भएको गाडी देखाउने छौं। अब अन्तर्राष्ट्रिय बहुराष्ट्रिय कम्पनीहरू पनि नेपाल आउन सक्नेछन् भन्ने देखाउनु नै यसवर्षको नाडा अटो सो को उद्देश्य हो। ‘उद्योगदेखि रोजगारसम्म’ भन्ने नाडा अटो सोको नारा नै त्यसैले बनाएका हौं।  

अटो बजारलाई थप लगानीमैत्री बनाउन सरकारको नीति कस्तो हुनुपर्छ ?  

सरकारको १० वर्ष अटो मोबाइल्स क्षेत्र हेर्ने दृष्टि परिर्वतन भयो भने नेपालमा अटोमोबाइल्स क्षेत्रमा क्रान्ति नै आउने छ। अटोमोबाइल्स क्षेत्र देशको अर्थतन्त्रको ठुलो हिस्सा हो भन्ने ठानेर सरकारले नीतिगत स्थिरता कायम गर्न सक्नुपर्छ। नेपालको अटो बजारलाई थप चलायमान र लगानीमैत्री बनाउन सरकारले दीर्घकालीन, स्थिर र व्यावहारिक नीतिहरू अवलम्बन गर्नुपर्छ। भन्सार र अन्तःशुल्कमा स्थिरता कायम गर्नुपर्छ। हरेक वर्षको नीति तथा कार्यक्रम एवं बजेटपिच्छे परिवर्तन हुने करका दरहरूले लगानीकर्तामा अन्योलता सिर्जना गर्छ। कम्तिमा पाँच वर्षसम्म करका दरहरू परिवर्तन नहुने ग्यारेन्टी सरकारले निजी क्षेत्रलाई दिन सक्नुपर्छ। विद्युतीय सवारी ( इभी) को कर भुक्तानी र प्रोत्साहन प्रणालीलाई दीर्घकालीन रूपमा स्पष्ट र पारदर्शी बनाइनुपर्छ।

अब सरकारले स्वदेशमै सवारी साधन बनाउने लगानीको वातावरण बनाउन आन्तरिक एसेम्बल र उत्पादनमा प्रोत्साहन मूल्य अभिवृद्धि (भ्याल्यु एडिसन) मा सहुलियत दिनुपर्छ। नेपालमै गाडी वा मोटरसाइकल एसेम्बल गर्ने उद्योगहरूलाई पार्टपुर्जा आयातमा थप भन्सार छुट दिनुपर्छ। अब स्वदेशमै उद्योग स्थापना गर्नका लागि सहुलियत दिन सरकारले आकर्षक कार्यक्रम ल्याउनुपर्छ।  गाडी एसेम्बल गर्ने उद्योगलाई सस्तो ब्याजदरमा ऋण, जग्गा प्राप्तिमा सहजता र आयकरमा निश्चित वर्षसम्म पूर्ण छुटको व्यवस्था हुनुपर्छ। व्यक्तिगत र व्यावसायिक सवारी साधन खरिदका लागि बैंक कर्जाको सीमा एलटिभी रेसियोलाई बजारको मागअनुसार थप लचिलो बनाउनुपर्छ। ब्याजदरमा स्थायित्व दिन अटो लोनको ब्याजदरलाई स्थिर वा एकल अंकमा राख्न सके उपभोक्ता र व्यवसायी दुवैको मनोबल उच्च हुन्छ। इभीको बजार विस्तारका लागि देशव्यापी रूपमा तीव्र गति (फास्ट चार्जिङ) का चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रलाई कर छुटसहित प्रोत्साहन गर्नुपर्छ। अहिलेको यातायात व्यवस्थापनमा थप सुधार गरी सडक पूर्वाधारको गुणस्तर सुधार र पार्किङस्थलको व्यवस्थापन राम्रो बनाउनुपर्छ। पुराना गाडी विस्थापित गर्न पत्रु (स्क्य्राप) नीति र वातावरणीय मापदण्ड बलियो बनाउनुपर्छ। सरकारको पुरानो गाडी विस्थापन योजनामा २० वर्ष पुराना र बढी प्रदूषण गर्ने गाडीहरूलाई बजारबाट हटाउन (स्क्य्राप नीति’ लागु गरी नयाँ गाडी खरिद गर्दा भन्सार अन्तःशुल्क तथा करमा विशेष छुट दिने व्यवस्था गर्नुपर्छ। हामीले नाडाको तर्फबाट यस्ता नीतिगत सुधारह गरेर अटो व्यवसायीको जोखिम न्यूनीकरण गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका छौं। यसले बजारमा नयाँ लगानी भित्रिनुका साथै उपभोक्ताले पनि सस्तो मूल्यमा सुरक्षित सवारी साधन प्राप्त गर्न सक्नेछन्।

यसपालिको बजेटमा नाडाको सुझाव कति समेटियो त ?  

चालु आर्थिक वर्षको बजेट सार्वजनिक हुनुभन्दा अघि हामीले नाडाकोतर्फबाट मुलुकको सवारी साधनको बजार, कर छुट र भन्सार महसुलदर घटाइनुपर्छ भन्ने सुझाव दिएका थियौं। सोही सुझावअनुसार अहिले सरकारले यो बजेटमा नाडाकातर्फबाट अघि सारिएको धेरै सुझाव समेटेको छ। निजी क्षेत्रले मागेका धेरै माग सम्बोधन भएको छ। त्यसैले यसपालिको बजेट स्वागतयोग्य छ। अब यो बजेट कसरी कार्यान्वयन हुन्छ भन्नेतर्फ निजी क्षेत्रको ध्यान गएको छ। अब हामी यो बजेट पूर्ण कार्यान्वयन गराउनेतर्फ सरकारलाई सहकार्य गर्दै अघि बढ्न खोजिरहेका छौं।    

नाडालाई समग्र ढुवानी,स्पेयर पार्ट्स र पर्यावरणमैत्री यातायातको साझा प्लेटफर्म बनाउन के कस्ता रणनीतिक योजनाहरू बनाउनु भएको छ ?

नाडाले अहिलेको डिजिटल इकोसिस्टम र प्रविधिलाई एकीकृत डिजिटल प्लेटफर्ममा जोडेर अघि बढ्न विभिन्न रणनीतिक योजनाहरू बनाएको छ। जसले समग्र ढुवानी, स्पेयर पार्ट्स र पर्यावरणमैत्री यातायातको साझा प्लेटफर्म बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ। डिजिटल इकोसिस्टम र प्रविधिलाई एउटै एप वा वेभसाइटमार्फत ढुवानी व्यवसायी, स्पेयर पार्ट्स बिक्रेता र इभी चार्जिङ नेटवर्कलाई जोड्ने प्रयास भएको छ। भन्सारमा हुने स्मार्ट लजिस्टिक ट्र्याकिङ प्रणालीमा आधारित ढुवानीलाई व्यवस्थित बनाउन जिपिएस र एआई  आधारित ट्र्याकिङ प्रणाली लागु गर्ने। डिजिटल पार्ट्स क्याटलग बनाएर नक्कली पार्ट–पुर्जाको प्रयोग रोक्न र आधिकारिक स्पेयर पार्ट सहजै खोज्न क्युआर कोडसहितको डिजिटल प्रणाली बनाउने प्रयास गरेका छौं। पर्यावरणमैत्री इभी गाडीका लागि आवश्यक पूर्वाधार र प्रवर्धनका लागि चार्जिङ हब स्थापना गरेर ढुवानीका मुख्य मार्ग र व्यापारिक केन्द्रहरूमा तीव्र गतिको (फास्ट) चार्जिङस्टेसन नेटवर्क विस्तार गर्ने। हरियो ढुवानी (ग्रिन लजिस्टिक) तर्फ अघिबढेर सहरी क्षेत्रको ढुवानीमा विद्युतीय भ्यान र इ–थ्री–ह्विलरको प्रयोगलाई प्रोत्साहन गर्ने।

ब्याट्री व्यवस्थापन र रिसाइक्लिङमा म्याद सकिएका इभी ब्याट्रीहरूको सुरक्षित विसर्जन र रिसाइक्लिङका लागि ठोस नीति र पूर्वाधार तय गर्ने, व्यावसायिक सञ्जाल र साझेदारीलाई थप बलियो बनाउन सार्वजनिक–निजी साझेदारी मोडलमा सरकारी निकाय, नाडा, र वैदेशिक लगानीकर्ताबिच साझा एजेन्डामा सहकार्य गर्नेतर्फ पनि हामीले सरकारलाई दबाब दिएका छौं। अन्तर्राष्ट्रिय आबद्धतामा जोडिएर ग्लोबल अटोमोबाइल महासंघहरूसँगको सहकार्यमा नेपालमा आधुनिक ढुवानी र पर्यावरणमैत्री प्रविधि भित्याउने, पर्यावरणमैत्री यातायात र पार्ट–पुर्जा व्यवसायमा लगानी गर्न बैंकहरूसँग सुलभ ‘हरियो कर्जा’ सम्झौता गर्ने र दक्षजनशक्ति उत्पादनका लागि क्षमता अभिवृद्धि र तालिमबाट इभी मेकानिकको बलियो पहुँच विस्तार गर्ने अभियानमा पनि नाडाले विशेष रणनीति बनाएको छ। अहिले भइरहेको परम्परागत मेकानिक्सलाई इभी र आधुनिक ढुवानीका साधन मर्मत गर्ने उच्चस्तरीय तालिम दिएर सुरक्षित र पर्यावरणमैत्री ड्राइभिङमा पनि जोड दिएका छौं। सवारी साधनमा प्रयोग हुने ऊर्जा तथा इन्धन जोगाउन र सुरक्षित ढुवानी गर्न चालकहरूका लागि पनि नियमित सचेतना कार्यक्रम चलाउने लक्ष्यका साथ नाडाले आफ्नो काम अघि बढाइरहेको छ।
अर्को समाचार
नेपाल-भारतका समस्या हल गर्न समग्र दृष्टिकोण चाहिन्छ
१० मंसिर २०८३
•
२२ मिनेट पाठ
नेपाल-भारतका समस्या हल गर्न समग्र दृष्टिकोण चाहिन्छ
पूर्वप्रधानमन्त्री तथा राजनीतिज्ञ डा. बाबुराम भट्टराई संगठित पार्टी राजनीतिबाट जिम्मेवारीमुक्त भए पनि रूपान्तरण र परिवर्तनका लागि गरिने बहुआयामिक राजनीतिमा सक्रिय छन्। सधैं कार्यकारी भूमिकामा रहनुभन्दा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणका साथै विचार दिनुपर्छ र नयाँ समस्यालाई सम्बोधन गर्न पुराना पार्टी संरचना र विचारले नसक्ने र यसका लागि नयाँ विचार र नयाँ राजनीतिक शक्ति चाहिन्छ भन्ने बौद्धिक नेताको छवि बनाएका भट्टराईको बुझाइ छ।




डा. भट्टराईसँग प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण, नेपालको बदलिँदो राजनीतिक परिस्थिति, शान्ति प्रक्रियाका अधुरा काम, नयाँ राजनीतिक शक्तिको उदय र आर्थिक रूपान्तरणका विषयमा ‘नागरिक फ्रन्टलाइन’ का लागि सम्पादक बालकृष्ण अधिकारीसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई तपाईंले कसरी लिनुभएको छ? भ्रमणअघि तपाईंले शुभकामना दिनुभएको थियो। फर्किएपछि केही उपलब्धि भए पनि अपेक्षित प्रगति हुन नसकेको आशय व्यक्त गर्नुभयो। समग्रमा भ्रमणको मूल्यांकन कसरी गर्नुहुन्छ?

यो महत्वपूर्ण भ्रमण हो। भारत हाम्रो सबैभन्दा बढी आर्थिक तथा मानवीय कारोबार हुने देश हो। छिमेकी हुनुको नाताले पनि भारतसँगको सम्बन्ध हाम्रा लागि महत्वपूर्ण छ। समयको गतिसँगै त्यो सम्बन्धलाई पुनःपरिभाषित गर्दै विकसित गर्नुपर्ने थियो, तर विविध कारणले हामीले त्यसलाई अगाडि बढाउन सकेनौं। केही हाम्रा कारणले भए पनि मेरो बुझाइमा धेरैजसो समस्या उताबाट पनि आएका छन्।

पछिल्ला केही वर्षमा नेपाल–भारत सम्बन्ध चिसिएको थियो। भारत ठुलो देश भएकाले नेपालसँगको सम्बन्धमा आउने उतारचढावले उसलाई खासै असर नगर्ला तर हामीलाई ठुलो असर पर्छ। हाम्रो आर्थिक कारोबारको झन्डै दुईतिहाइ हिस्सा भारतसँग जोडिएको छ। यस्तो अवस्थामा सम्बन्ध राम्रो नहुँदा त्यसको प्रतिकूल प्रभाव हामीले नै बढी भोग्नुपर्छ।

जेनजी विद्रोहपछि नयाँ पुस्ताको नेतृत्वमा सरकार बनेको छ। त्यसका युवा प्रधानमन्त्रीले भारत भ्रमण गर्दा हाम्रो सम्बन्ध कुन दिशामा जान्छ भन्ने एउटा महत्वपूर्ण संकेत पनि थियो। त्यही अर्थमा मैले उहाँलाई शुभकामना दिएको हुँ। फर्किएपछि भ्रमणको मोटामोटी मूल्यांकन गर्दा दीर्घकालीन र आधारभूत समस्या समाधान भएका छैनन्। अहिल्यै ती सबै समस्या समाधान हुन्छन् भन्ने अपेक्षा पनि थिएन। तर कूटनीतिमा ‘फिल गुड फ्याक्टर’ भन्ने हुन्छ। दुई देशबिच विश्वास र सकारात्मक वातावरण निर्माण गर्न भ्रमण केही हदसम्म सफल भएको मैले ठानेको छु। त्यसैले यसलाई नकारात्मकभन्दा सकारात्मक रूपमा लिनुपर्छ।

तर सीमा विवाद, सन् १९५० को सन्धि, व्यापार घाटा, पारवहन र जलस्रोतजस्ता पुराना विषयमा ठोस प्रगति देखिएन; के भ्रमणले जनअपेक्षा पूरा गर्न सकेन?

त्यस्ता विषयमा भारतीय पक्ष त्यति प्रवेश गर्न चाहेको देखिएन। भ्रमणपछि जारी संयुक्त वक्तव्यमा यी विषयलाई संवादमार्फत समाधान गर्ने भनिएको छ। त्यसैले सबै विषय बेवास्ता गरियो भन्न मिल्दैन, तर लामो समयदेखि थाती रहेका समस्याको समाधानतर्फ ठोस प्रगति भएको पनि देखिँदैन। मैले प्रधानमन्त्री हुँदा प्रबुद्ध व्यक्ति समूह (इपिजी) मार्फत नेपाल–भारत सम्बन्धका समग्र समस्या एकै ठाउँमा राखेर समाधान खोजौं भन्ने प्रस्ताव गरेको थिएँ।

सन् १९५० को सन्धि, सीमा समस्या, द्विपक्षीय व्यापार, पारवहनलगायतका विषयलाई टुक्राटुक्रा पारेर होइन, समग्ररूपमा सम्बोधन गर्नुपर्छ भन्ने मेरो धारणा थियो। त्यसैअनुसार दुवै देशका विज्ञ सम्मिलित समूह बन्यो र त्यसले प्रतिवेदन पनि तयार गर्‍यो तर त्यो प्रतिवेदन आठ वर्षदेखि थन्किएको छ। त्यसमा टेकेर अगाडि बढ्न सकेको भए धेरै समस्या समाधानको बाटो खुल्न सक्थ्यो।

भारतीय विदेशसचिवले काठमाडौं उत्रिनुपूर्व नै इपिजी प्रतिवेदन पुरानो भइसकेको बताउनुभयो; यसले नेपाललाई फेरि शून्यबाट सुरु गर्नुपर्ने अवस्थामा पु¥याउँदैन?

इपिजी कुनै एक पक्षले बनाएको समूह होइन। दुवै देशका सहमतिमा दुवैतर्फका विज्ञ राखेर गठन गरिएको हो। त्यसले सुझाव दिएको हो, त्यसलाई हुबहु लागू गर्नुपर्छ भन्ने पनि छैन। प्रतिवेदनमा के सुझाव आएका छन्, कुन विषयमा सहमति हुन सक्छ, कुनमा हुन सक्दैन भन्ने छलफल त हुनुपर्‍यो नि। पुरानो भयो भने कुन कुरा पुरानो भयो, किन पुरानो भयो भन्ने स्पष्ट हुनुपर्छ। प्रतिवेदन नै सार्वजनिक वा छलफलमा नल्याई बाकसमा थुनेर राख्नुको औचित्य छैन। त्यसैले भारतीय विदेशसचिवको अभिव्यक्तिलाई पनि असन्तुष्टिको संकेतका रूपमा बुझ्न सकिन्छ।

हाम्रा नेताहरूले पनि यस विषयमा पर्याप्त पहल गर्न सकेनन्, तर अहिलेको नयाँ सरकारलाई एकैपटक सबै पुराना समस्या समाधान गर्ने भारी बोकाउनु पनि उचित हुँदैन। नयाँ नेतृत्वले सिक्न र सम्बन्ध बुझ्न समय पाउनुपर्छ। अहिलेका लागि कम्तीमा संवादको वातावरण बनेको छ। त्यसलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्नुपर्छ।

नेपाल–भारत सम्बन्धमा पटकपटक उच्चस्तरीय भ्रमण हुन्छन्; भ्रमणका बेला उत्साह र सद्भाव देखिन्छ तर पछि सहमति कार्यान्वयन हुँदैनन्; यस्तो अवस्था किन दोहोरिन्छ?

विगतदेखि नै त्यस्तै हुँदै आएको छ। त्यसैले अब नयाँ सुरुवात गर्नुपर्छ भनेको हुँ। सन् १९५० को सन्धि, सीमा समस्या, व्यापारिक असन्तुलन र अहिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण देखिएका विपत्तिसम्मका विषयलाई द्विपक्षीय रूपमा सम्बोधन गर्नुपर्छ। त्यसका लागि उच्च तहमा राम्रो गृहकार्य आवश्यक छ। बाहिर गालीगलौज गरेर केही प्राप्त हुँदैन। वार्ता टेबलमा भने आफ्नो राष्ट्रिय हितका विषयमा स्पष्ट र दृढ हुनुपर्छ। कूटनीति भनेको बाहिर झगडा देखाउनु होइन, टेबलमा बसेर आफ्नो हितमा प्रभावकारी संवाद गर्नु हो।

अर्को परराष्ट्र नीति देशको हुन्छ र हुनुपर्छ; कुनै पार्टी वा व्यक्तिको हुँदैन। हामी सरकारमा आउँछौं र जान्छौं तर राज्य निरन्तर रहन्छ। त्यसैले एउटा सरकारले बनाएको राम्रा नीतिलाई अर्को सरकारले पनि निरन्तरता दिनुपर्छ। प्रत्येक पार्टी र नेताले आफ्नो योगदानको डम्फु बजाउने प्रवृत्ति छाड्नुपर्छ।

तपाईं आफैं प्रधानमन्त्री हुँदा भारत भ्रमणमा जानुभयो र बिप्पा सम्झौता गर्नुभयो; आफ्नै पार्टीभित्र त्यसको विरोध मात्र भएन विमानस्थलमा उत्रिँदा कालो झन्डासमेत देखाइयो; के नेपालको कूटनीतिमा आन्तरिक राजनीतिक असहमतिले पनि समस्या सिर्जना गरेको छ होइन?

त्यसबाट हामीले सिक्नुपर्छ। गल्ती दोहोर्‍याइराख्नु हुँदैन। बिप्पा सम्झौता लागु भएको भए नेपालमा बाह्य लगानी आउन सक्थ्यो, उद्योगधन्दा खुल्न सक्थे, रोजगारी सिर्जना हुन्थ्यो र व्यापार घाटा कम गर्न पनि सहयोग पुग्थ्यो। तर त्यसमा हामी सफल हुन सकेनौं। त्यसको घाटा देशले बेहोर्नुप¥यो।

कूटनीतिक विषयमा असहमति राख्न पाइन्छ, तर त्यसको ठाउँ संसद्, संसदीय समिति र दलहरूबिचको छलफल हुनुपर्छ। कुनै विषयमा चित्त बुझेन भन्दैमा देशको हितमा भएको सहमतिलाई असफल बनाउने वा खुट्टा तान्ने काम गर्नु हुँदैन।

राष्ट्रिय हितका विषयमा सर्वदलीय समझदारी आवश्यक छ। सरकारमा जो आए पनि राष्ट्रिय सहमतिबाट बनेको परराष्ट्र नीति कार्यान्वयन गर्न सबैले सहयोग गर्नुपर्छ। म अहिले पनि नागरिकको तहबाट यस्ता साझा राष्ट्रिय मुद्दामा सहमति निर्माण गर्न योगदान गर्नुपर्छ भन्ने पक्षमा छु।

अहिलेको भ्रमणका क्रममा सन् १९५० को सन्धि र सीमा विवादजस्ता विषय थाती राखेर आर्थिक सहयोगका अरू सम्झौता गर्नुको अर्थ रहन्छ?

त्यसको पनि अर्थ हुन्छ। ज्वरो आएका बेला सिटामोल खाँदा केही कम हुन्छ। पानीपट्टी गर्दा राहत मिल्छ। अहिले भएका केही समझदारीलाई त्यसरी बुझ्न सकिन्छ, तर शरीरभित्रको रोग निको पार्न छुट्टै उपचार गर्नुपर्छ। त्यस्तै नेपाल–भारत सम्बन्धका आधारभूत समस्या समाधान गर्न समग्र उपचार आवश्यक छ। इपिजीमार्फत समग्र विषयलाई सम्बोधन गर्नुपर्दछ। सन्धि, सीमा, व्यापार, पारवहन, हवाई रुट, जलस्रोत र हिमाली पर्यावरणका विषयलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्छ।

तर तत्कालै दुवै देशलाई फाइदा पुग्ने विषयमा पनि काम गर्न सकिन्छ। सडक, रेल र डिजिटल कनेक्टिभिटी विस्तार गर्न सकिन्छ। पोखरा र भैरहवा विमानस्थलका लागि आवश्यक हवाई रुटको विषय समाधान गर्न सकिन्छ। जलविद्युत् आयोजनाहरू अगाडि बढाउन र नेपालको बिजुली निर्यातमा देखिएका अवरोध हटाउन सकिन्छ। यस्ता काम कार्यान्वयन भए विश्वासको वातावरण अझ बलियो हुन्छ।

दुई देश त्यही बाटोमा अघि बढेका हुन्?

भ्रमणले नयाँ र विश्वासको वातावरण बनेको छ। त्यसका आधारमा अघि बढ्नुपर्छ।

प्रधानमन्त्रीको भारत भ्रमणमा भएका सहमति कार्यान्वयन गर्न अब सरकारले के गर्नुपर्छ?

हामीसँग व्यापार, जलस्रोत र अन्य विषयमा विभिन्न संयन्त्र छन्। ती संयन्त्रलाई प्रभावकारी बनाउनुपर्छ। परराष्ट्र सचिव र भारतीय राजदूत तहबाट पनि सहमतिहरूको समीक्षा गर्ने व्यवस्था गर्न सकिन्छ। घोषणा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ।

नेपालको तर्फबाट कुन मन्त्रालयले के काम गर्ने, कुन सहमति कहिलेसम्म कार्यान्वयन गर्ने भन्ने स्पष्ट कार्ययोजना हुनुपर्छ। समयसीमा तोकेर नियमित अनुगमन गर्नुपर्छ। सम्झौता र समझदारीको उपलब्धि भाषणमा होइन, जनताले अनुभव गर्ने परिणाममा देखिनुपर्छ।

भारतसँगको सम्बन्ध मात्र होइन, चीनसँगको सम्बन्ध र समग्र भूराजनीतिक सन्तुलनमा पनि नेपाल कमजोर हुँदै गएको विश्लेषण गर्न थालिएको छ, त्यस्तै हो?

नेपाल अहिले पनि जटिल भूराजनीतिक अवस्थामा छ। दुई ठुला देशको बिचमा हुनु चुनौती मात्र होइन, ठुलो अवसर पनि हो। चीन विश्वको पहिलो अर्थतन्त्र बन्नेतर्फ अगाडि बढिरहेको छ भने भारत पनि तेस्रो ठुलो अर्थतन्त्र बन्ने दिशामा छ। यी दुई विशाल बजारबिच नेपाल हुनु आर्थिक विकासका दृष्टिले ठुलो सम्भावना हो।

मैले पहिले पनि भनेको छु– नेपाल दुई ढुंगाबिचको तरुल मात्र होइन, दुई समुद्रलाई जोड्ने सेतु बन्न सक्छ र बन्नुपर्दछ। दुवैतर्फको पुँजी, प्रविधि र बजारसँग जोडिएर नेपालले उत्पादन बढाउन र वस्तु निर्यात गर्न सक्छ। त्यसका लागि हामीले भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ।

कुनै एकतर्फ ढल्किएर अर्को छिमेकीलाई चिढ्याउने नीति उपयुक्त हुँदैन। नेपालको इतिहासले पनि दुवै देशसँग सन्तुलित सम्बन्ध राखेरै आफ्नो स्वाधीनता जोगाउँदै आएको देखाउँछ।

प्रधानमन्त्रीले भारत भ्रमण गर्नुभएको छ, अब राम्रो तयारी गरी चीन भ्रमण गर्नुपर्छ। चीनसँगको सम्बन्धलाई पुरानो दृष्टिकोणबाट मात्र हेर्नु हुँदैन। बदलिएको विश्व परिस्थितिअनुसार दुवै देशसँग आर्थिक साझेदारी विस्तार गर्नुपर्छ।

सरकार बनेको आठ महिना भएको छ; सुरुमा तपाईं निकै आशावादी देखिनुहुन्थ्यो; अहिले सरकारको कामलाई कसरी मूल्यांकन गर्नुभएको छ?

उहाँहरू अकस्मात् सरकारमा आउनुभएकाले अझै सिक्दै हुनुहुन्छ भन्ने लाग्छ। हामीले लामो राजनीतिक यात्राका क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध, राज्यका अंग र प्रशासनिक प्रणाली बुझ्न समय लगाएका थियौं। उहाँहरू त नेतृत्वमा आउनुभएको हो।

प्रधानमन्त्रीका रूपमा उहाँसँग दुई वर्ष मेयर चलाएको अनुभवबाहेक त्यति लामो प्रशासनिक अनुभव छैन। अरू साथीहरूको पनि त्यस्तो अनुभव छैन। त्यसैले सुरुवातमा अलमल हुनु स्वाभाविक हो, तर अब आठ महिना हुन लागिसक्यो। सिक्न पर्याप्त समय भइसकेको छ। जनताले सुशासन र समृद्धि चाहेका छन्।

सेवा प्रवाहमा डिजिटल प्रविधिको प्रयोग र प्रशासनिक चुस्तताका केही प्रयास देखिएका छन्, तर विधि मिचिएको भन्ने प्रश्न पनि छन्। मुख्य कुरा आर्थिक विकास र रोजगारी सिर्जना हो। त्यसमा सरकारले अपेक्षित काम गर्न सकेको देखिँदैन। त्यसैले सरकार अब परिणाम दिने काममा केन्द्रित हुनुपर्छ।

प्रधानमन्त्रीले काम गर्ने क्रममा विधि र प्रक्रिया मिचेको, संसद्लाई बेवास्ता गरेको र आफूलाई प्रत्यक्ष निर्वाचित कार्यकारीजस्तो ठानेर काम गरेको आरोप छ; तपाईंलाई त्यस्तो लाग्दैन?  

मैले उहाँलाई यस विषयमा खुलेर सुझाव दिइरहेको छु। म प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणालीको पक्षधर हुँ। प्रधानमन्त्री पनि त्यसतर्फ जान चाहनुहुन्छ भन्ने बुझ्छु तर अहिले हामीले चाहेर मात्र हुँदैन। संविधानले संसद्बाट निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरेको छ। त्यसैले प्रधानमन्त्री संसद्प्रति जिम्मेवार हुनुपर्छ। संसद्मा जाने, सांसदका कुरा सुन्ने काम गर्नुपर्छ।

बहुदलीय लोकतन्त्रमा पक्ष र प्रतिपक्ष हुन्छन् तर शत्रु हुँदैनन्। प्रतिपक्षलाई दुस्मन ठान्ने वा संसद्लाई बेवास्ता गर्ने प्रवृत्ति उचित होइन। विगतमा जस्तो धेरै भाषण गर्ने, भेटघाट र गफमा समय बिताउने अनि काम नगर्ने प्रवृत्ति पनि दोहोरिनु हुँदैन। प्रधानमन्त्रीले काममा ध्यान दिन खोज्नुभएको छ भने त्यो सकारात्मक हो। काम र विधि दुवैलाई सन्तुलित बनाउनुपर्छ।

भारत भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विज्ञसँग पर्याप्त परामर्श नगरेको तथा राष्ट्रपतिलाई समेत जानकारी नदिएको विषयमा पनि प्रश्न उठेको छ; यो उचित हो?

भ्रमणअघि परामर्श गर्ने विषयलाई अनावश्यक कर्मकाण्ड बनाउनु हुँदैन। प्रधानमन्त्री विदेश भ्रमणमा जानुअघि कर्मचारीतन्त्रले धेरै तयारी गरेको हुन्छ। वार्तामा के विषय उठाउने, के सहमति गर्ने र के नगर्ने भन्ने गृहकार्य पहिल्यै भइसकेको हुन्छ। अन्तिम दिन बोलाएर सुझाव लिनुको खास अर्थ हुँदैन।

यदि सल्लाह लिनु छ भने १०/१५ दिन वा महिनादिनअघि लिनुपर्छ। म प्रधानमन्त्री भएका बेला त्यही प्रक्रिया अपनाएको थिएँ। बिप्पा सम्झौताअघि पार्टीभित्र सहमति बनाएको थिएँ। भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहसँगको भेटमा उहाँले पनि नेपालले चाहेको विषयमा सहमति गर्न तयार रहेको बताउनुभएको थियो। त्यसैले महत्वपूर्ण विषय भ्रमणको अन्तिम क्षणमा मात्र तय हुँदैनन्। तर राष्ट्रपति देशको अभिभावकीय संस्था हो। उहाँलाई सम्मान र शिष्टाचारका दृष्टिले भ्रमणबारे जानकारी गराउनु उचित हुन्छ। यसमा प्रधानमन्त्रीको ध्यान जानुपर्छ।

अहिलेसम्मको कामका आधारमा सरकारलाई सयमा कति नम्बर दिनुहुन्छ?

पहिले पनि ६० नम्बर दिएको हुँ। अहिले पनि त्यति दिन्छु। उहाँहरू सिक्दै हुनुहुन्छ। अब सिकाइबाट परिणामतर्फ जानुपर्छ।

सरकारलाई पाँच वर्ष काम गर्न दिनुपर्छ भन्नुभएको छ, तर सत्तारूढ दलभित्रै विवाद र नेतृत्वबिच दूरी बढेको देखिन्छ; यस्तो अवस्थामा सरकारको स्थायित्व कसरी सुनिश्चित हुन्छ?

बहुदलीय लोकतन्त्रमा दलका नेता र सांसदले आफ्ना प्रधानमन्त्रीले राम्रो काम नगरे प्रश्न उठाउन पाउँछन्, त्यसलाई अन्यथा लिनु हुँदैन। मैले रवि र बालेनजीहरूलाई भेट्दा पनि आपसी संवाद र समझदारी कायम राख्न सुझाव दिएको छु। सरकार चलाउने जिम्मेवारी पाएका शक्तिबिच निरन्तर संवाद हुनुपर्छ। संविधान बनेपछिका पछिल्ला दस वर्षमा सरकार बनाउने र गिराउने खेल धेरै भए। प्रदेशमा पनि त्यही प्रवृत्ति छ।

जनताले पाँच वर्षको म्यान्डेट दिएका छन् भने सरकारलाई काम गर्न दिनुपर्छ। सत्तारूढ दलका नेताहरूले पनि आपसी विवाद व्यवस्थापन गरेर स्थिरता कायम गर्नुपर्छ।

नयाँ सरकारप्रति जनताको अपेक्षा ठुलो छ, तर अर्थतन्त्रमा सुधार र रोजगारी सिर्जना नभए फेरि असन्तुष्टि बढ्ने खतरा छ?

त्यसमा मलाई चिन्ता छ। नेपालको अर्थतन्त्रको विकास गति सुस्त छ। सन् १९६०/७० को दशकमा भारत र चीनको प्रतिव्यक्ति आम्दानीसँग नेपालको अवस्था धेरै फरक थिएन। अहिले चीनको अर्थतन्त्र हाम्रोभन्दा दस गुणा बढिसकेको छ। भारत पनि धेरै अगाडि पुगेको छ।

पछिल्ला पचास–साठी वर्षमा नेपालले एक वर्ष पनि दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्न सकेको छैन तर भारत र चीन तीव्र आर्थिक वृद्धि हासिल गर्न सफल भए। नेपालले पनि तीव्र आर्थिक विकासको बाटो समात्नुपर्छ। कृषि क्षेत्रमा अल्झिएको जनशक्तिलाई उद्योग, सेवा र सूचना प्रविधिका क्षेत्रमा स्थानान्तरण गर्नुपर्छ। उत्पादन बढाउनुपर्छ, रोजगारी सिर्जना गर्नुपर्छ। त्यसका लागि सुविचारित योजना, समयसीमा र कार्यान्वयन क्षमता आवश्यक हुन्छ।

चुनावका बेला ठुला कुरा गर्ने र सत्तामा पुगेपछि काम नगर्ने प्रवृत्ति दोहोरिनु हुँदैन। आर्थिक विकासको प्रश्नलाई केन्द्रमा राख्न सकिएन भने देशमा आर्थिक संकट आउन सक्छ; युवा पलायन बढ्छ र असन्तुष्टि एवं विद्रोहको अवस्था आउन सक्छ।

त्यस्तो संकट रोक्न सरकार, प्रतिपक्ष र नागरिक समाजको भूमिका हुँदैन?

सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ। सरकारमा बस्नेको पहिलो जिम्मेवारी हुन्छ। प्रतिपक्षको दोस्रो जिम्मेवारी हुन्छ। नागरिक, सञ्चारमाध्यम र नागरिक समाजको तेस्रो जिम्मेवारी हुन्छ। हामी सरकारको राम्रो कामलाई राम्रो भन्नुपर्छ। आलोचना गर्नु लोकतन्त्रको महत्वपूर्ण पक्ष हो, तर आलोचना विनाशका लागि होइन, सुधारका लागि हुनुपर्छ। मिडियाले पनि उत्तेजक विषय मात्र खोज्ने र समाजलाई विभाजित गर्ने प्रवृत्तिबाट बच्नुपर्छ। प्रतिपक्षले सरकार ढाल्ने अवसर मात्र खोज्नु हुँदैन। सत्तामा बस्नेले आफू सधैंका लागि शासक भएको ठान्नु हुँदैन। हामी सबै जिम्मेवार भए मात्र लोकतान्त्रिक प्रणाली बलियो हुन्छ।

तपाईंहरूको पुस्ताले लामो राजनीतिक संघर्ष गर्‍यो तर मुलुक भ्रष्टाचार, अनियमितता, बेरोजगारी र सुशासनको संकटमा पनि यही अवधिमा फस्यो। तपाईंहरूको पुस्ता कहाँ चुक्यो?

मैले नेपालको इतिहासलाई तीनवटा कालखण्डमा हेर्ने गरेको छु। पहिलो, पृथ्वीनारायण शाहदेखि सुगौली सन्धिसम्मको राज्य र भूगोल निर्माणको चरण हो। दोस्रो लखन थापाको विद्रोहदेखि २००७ साल हुँदै २०७२ सालमा संविधान निर्माणसम्मको लोकतन्त्रीकरण र जनतालाई अधिकारसम्पन्न बनाउने चरण हो। तेस्रो चरण २०७२ सालपछि सुरु भएको सुशासन र समृद्धिको चरण हो।

हाम्रो पुस्ताको मुख्य जिम्मेवारी लोकतन्त्रीकरण थियो। बिपी कोइराला, पुष्पलाल हुँदै हाम्रो पुस्तासम्मका नेताहरूले त्यसका लागि संघर्ष गरे। हामीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशितासहितको संविधान निर्माण ग¥यौं। त्यसका लागि ठुलो त्याग र बलिदान भएको छ तर त्यसपछि विकास र समृद्धिको चरणमा पुराना राजनीतिक शक्तिहरूले अपेक्षित काम गर्न सकेनन्। त्यसैले मैले नयाँ र वैकल्पिक शक्तिको आवश्यकता देखेको हुँ। अहिले नयाँ पुस्ता नेतृत्वमा आएको छ। उनीहरूले हामीले निर्माण गरेको लोकतान्त्रिक आधारमा टेकेर अगाडि बढ्नुपर्छ।

तर राजनीतिक परिवर्तनसँगै भ्रष्टाचार र अनियमितता पनि बढ्यो अनि जेनजीले तपाईंहरूको पुस्ताको विकल्प खोज्यो होइन?

भ्रष्टाचार र अनियमितता रोक्नैपर्छ तर इतिहासलाई पनि हेर्नुपर्छ। राणाकालमा कानुनी शासन थिएन। शासकको मौखिक आदेशबाट मानिस मारिन्थे, जग्गा कब्जा गरिन्थ्यो। पञ्चायतकालमा पनि दरबारभित्रका विषयमा प्रश्न उठाउन पाइँदैनथ्यो। त्यतिबेला गाईकाण्ड, सुनकाण्ड, गलैंचाकाण्डलगायतका विषय चर्चामा हुन्थे। बहुदलीय व्यवस्थापछि पनि भ्रष्टाचारका घटना भए।

अहिले पनि भइरहेका छन्। यसलाई रोक्न बलिया र स्वतन्त्र संस्था निर्माण गर्नुपर्छ। कसैले गल्ती गरेको छ भने निष्पक्ष छानबिन गरेर कानुनअनुसार दण्डित गर्नुपर्छ। भ्रष्टाचार एकैपटक अन्त्य गर्छु भनेर भाषण गरेर मात्र हुँदैन। संस्थागत सुधार र निरन्तर कारबाहीबाट यसलाई न्यूनीकरण गर्दै अन्त्य गर्नुपर्छ।

तपाईं आफैं सरकारको नेतृत्वमा हुँदा सुशासन र राज्य सञ्चालनका विषयमा कमजोरी भएनन्? अहिले अरूलाई सुझाव दिँदा तपाईंहरूको पुस्ताले पनि आत्मसमीक्षा गर्नुपर्ने होइन?

संविधान जारी हुनुअघि मुख्य काम नै जनतालाई अधिकारसम्पन्न बनाउनु र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु थियो। जग नहाली घर बनाउन सकिँदैन। हामीले त्यो जग निर्माण गर्‍यौं। संविधान निर्माण भएपछिका दस वर्षदेखि नै विकास र समृद्धिको चरण सुरु भएको हो। त्यस अर्थमा मैले आफ्नो जिम्मेवारी पूरा गरेको ठानेको छु। तर ममाथि कुनै भ्रष्टाचार वा अनियमितताको आरोप छ भने छानबिन गर्नुस्, कानुनअनुसार कारबाही गर्नुस् भन्दै आएको छु। कसैले गल्ती गरेको छ भने उसलाई दण्डित गर्नुपर्छ। अब विगतका कमजोरीबाट पाठ सिकेर नयाँ पुस्ताले सुशासन र समृद्धिमा ध्यान दिनुपर्छ।

तपाईं अर्थशास्त्रको जानकार हुनुहुन्छ; नेपालको आर्थिक रूपान्तरणका लागि सरकारले के गर्नुपर्छ?

नेपालको आर्थिक विकास टुक्रे योजनाले हुँदैन। समग्र आर्थिक रूपान्तरणको योजना चाहिन्छ। पाँच, दस र बीस वर्षको स्पष्ट योजना बनाएर कार्यान्वयन गर्नुपर्छ। साथसाथै नीतिगत निरन्तरता, बलियो संस्थागत संरचना र कार्यान्वयन क्षमता आवश्यक हुन्छ। प्रधानमन्त्रीजीलाई पनि यही सुझाव दिएको छु।

प्रधानमन्त्रीमातहत बलियो प्राधिकरण बनाएर समग्र योजना कार्यान्वयन गर्न सकिन्छ। यस्तो प्रस्ताव गर्दा कतिपयले बाबुराम आफैं नेतृत्व गर्न खोजेको भने। मुख्य कुरा देशले स्पष्ट आर्थिक दिशा पाउनुपर्छ। कृषि, उद्योग, सेवा र सूचना प्रविधिलाई जोडेर उत्पादन बढाउनुपर्छ; रोजगारी सिर्जना गर्नुपर्छ र युवालाई देशभित्रै अवसर दिनुपर्छ।

भोटेकोसी बाढी र त्यसपछिका विपत्तिले जलवायु परिवर्तनको जोखिम उजागर गरेको छ; कोप सम्मेलनबाट पनि नेपालले अपेक्षित परिणाम पाउन सकेन; यसलाई कसरी हेर्नुहुन्छ?

हिमनदी पग्लिनु र तापक्रम वृद्धि हुनुको असर भोटेकोसीमा देख्यौं। त्यसपछि बुढीगण्डकीमा पनि देखियो। यो नेपालको मात्र नभएर विश्वव्यापी संकट हो। हिमाली क्षेत्रलाई तेस्रो ध्रुुव पनि भनिन्छ। उत्तर र दक्षिण ध्रुुवपछिको हिउँ भण्डार यही क्षेत्रमा छ। यहाँका हिमनदी पग्लिँदा त्यसको असर नेपालका साथै अर्बौं मानिसको जीविकामा पर्छ तर विकसित देशहरूले कार्बन उत्सर्जन घटाउने र पर्यावरण संरक्षण गर्ने दिशामा पर्याप्त प्रतिबद्धता देखाएका छैनन्; जुन दुःखद् हो। त्यसैले पनि हामीले जलवायु न्याय र क्षतिपूर्तिको मागलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाइरहनुपर्छ र अन्तर्राष्ट्रिय जनमत निर्माण गर्नुपर्छ।

जलवायुजन्य विपत्तिबाट प्रभावित देशका लागि बनाइने कोषमा पर्याप्त रकम जम्मा गराउन दबाब दिनुपर्छ। त्यसबाट नेपालजस्ता देशले क्षतिपूर्ति र पुनर्निर्माणका लागि स्रोत प्राप्त गर्नुपर्छ। हाम्रो आवाजले मात्र कोपमा सबै कुरा बदल्न सक्दैन, तर अन्तर्राष्ट्रिय जनमत निर्माण गर्न सकिन्छ। हिमाली क्षेत्रको संकट विश्वव्यापी हो भन्ने मान्यता स्थापित गर्न सकिन्छ। त्यसका लागि नेपालले निरन्तर पहल गर्नुपर्छ।

हामीले देशभित्र गर्नुपर्ने काम पनि गरिहेका छैनौं। भोटेकोसी प्रभावितको अवस्था तीन महिना हुँदा पनि दयनिय छ भन्ने लागेको छैन?

सरकारले सुरुवाती राहत र उद्धार कार्य गरेको हो, तर त्यसपछिको पुनस्र्थापना र दीर्घकालीन व्यवस्थापनमा ढिलाइ भएको छ। विस्थापित नागरिकलाई समयमै सुरक्षित बासस्थान र जीविकोपार्जनको व्यवस्था गर्नुपर्ने थियो, जुन अपेक्षित गतिमा बढ्न सकेको छैन।

भारत भ्रमणमा केही स्रोत जुटाउने प्रतिबद्धता भएको भनिएको छ, तर त्यो कहिले आउला? त्यसैले बाह्य सहयोगको प्रतीक्षा गरेर मात्र हुँदैन। राज्यले आफ्नै स्रोत पनि परिचालन गरेर प्रभावित नागरिकको पुनस्र्थापना तत्काल गर्नुपर्छ। विपत्तिमा परेका नागरिकको जीवन सामान्य बनाउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ।

जिम्मेवारी पूरा गरें त भन्नुभयो तर विस्तृत शान्तिसम्झौता भएको दुई दशक पुग्यो; द्वन्द्वपीडित, बेपत्ता परिवार, घाइते र सहिद परिवारले अझै न्याय पाएका छैनन्; यसको जिम्मेवारी कसले लिने?

नेपालको लोकतन्त्रीकरण एकैपटक पूरा भएको होइन। २००७ सालदेखि नै लोकतन्त्रका लागि संघर्ष भए। त्यसपछि राजाले अधिकार खोसे, फेरि संघर्ष भए। अन्ततः लोकतन्त्र भनेको टाठाबाठाका लागि मात्र होइन, महिला, दलित, जनजाति, मधेसी, थारूलगायत सबै समुदायका लागि हुनुपर्छ भन्ने मान्यतासहित आन्दोलन अघि बढ्यो।

त्यही क्रममा जनयुद्ध भयो र शान्ति प्रक्रियामार्फत संविधान निर्माण तथा सेना समायोजनजस्ता काम सम्पन्न भए, तर द्वन्द्वकालमा भएका घटनाको निष्पक्ष छानबिन, मानवअधिकार उल्लंघनका घटनाको सम्बोधन र पीडितलाई न्याय दिने काम पूरा हुन सकेन। त्यसका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरियो, तर विभिन्न कारणले तिनले आफ्नो काम पूरा गर्न सकेनन्।

किन?

सरकार फेरिइरह्यो। त्यसलाई कारण देखाएर यो काम थाती राख्न मिल्दैन। अन्तरिम संविधानदेखि अहिलेको संविधानसम्म शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्छ। यो कुनै पार्टीको मात्र दायित्व होइन, राज्यकै संवैधानिक दायित्व हो। यो सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित विषय सम्बोधन गर्न अध्यादेश ल्याएको भन्ने सुनेको छु। त्यो आफ्नो ठाउँमा छ, तर शान्ति प्रक्रियाका बाँकी काम पनि पूरा गर्नुपर्छ। द्वन्द्वपीडितले न्याय पाउनुपर्छ।

यी विषयमा सरकार वा अन्य दलका नेतासँग कुरा गर्नुभएको छ?

संविधान दिवसका दिन राष्ट्रपति कार्यालयमा विभिन्न दलका नेताहरूको भेट भएको थियो। त्यहाँ रविजी, प्रचण्डजी, गगनजीसहितका नेताहरू उपस्थित हुनुहुन्थ्यो। मैले सबैका अगाडि शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउनुपर्छ भनेको थिएँ। उहाँहरूले गर्नुपर्छ भन्नुभयो। तर यो विषय ओझेलमा परेजस्तो लाग्छ।

आफू नेतृत्वमा हुँदा नगर्ने अहिले जिम्मेवारीबाट उम्किन मिल्छ?

म उम्किन खोजेको होइन। मेरो नेतृत्वको सरकार १६ वटा दलको समर्थनमा बनेको थियो। संविधान निर्माण र सेना समायोजनको काम पूरा गर्नुपर्ने थियो, जुन सम्पन्न गर्‍यौं। सत्य निरूपण तथा मेलमिलापसम्बन्धी कानुन विधेयक पनि अघि बढाएँ। त्यसैले म शान्ति प्रक्रियाका बाँकी कामप्रति प्रतिबद्ध थिइनँ भन्ने होइन, तर ती काम पूरा हुन सकेनन्। अब तिनलाई पूरा गर्नु सबैको जिम्मेवारी हो।

संविधान जारी भएलगत्तै नयाँ शक्ति र वैकल्पिक राजनीतिक अवधारणा अघि सार्नुभयो, तर त्यसलाई संस्थागत गर्नु सक्नुभएन नि?

कुनै एउटै पार्टी वा संगठनमा सीमित हुनुपर्छ भन्ने छैन। युग परिवर्तन भइसकेको छ। पुराना पार्टी संरचना र विचारले नयाँ समस्यालाई सम्बोधन गर्न सक्दैन। यसका लागि नयाँ विचार र नयाँ राजनीतिक शक्ति आवश्यक छ भनेर अभियान सुरु गरेको हुँ। त्यही क्रममा विभिन्न शक्ति र राजनीतिक समूह बने।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टी ठुलो वैकल्पिक शक्तिका रूपमा अगाडि आएको छ। अरू नयाँ शक्ति पनि छन्। बहुदलीय व्यवस्थामा विभिन्न धार र समूह हुन्छन्। यी सबै नयाँ राजनीतिक विकल्पका सम्भावित हाँगा हुन्। म सबै नयाँ शक्तिप्रति सकारात्मक छु। उनीहरूले देशका अर्थराजनीतिक र भूराजनीतिक समस्यालाई गम्भीरतापूर्वक बुझेर समाधान गर्नुपर्छ; आत्मसन्तुष्ट भएर बस्नु हुँदैन।

अबको राजनीतिक सक्रियता कस्तो रहन्छ?

राजनीति भनेको सत्तामा पुग्ने मात्र होइन। एउटा सत्तामुखी राजनीति हुन्छ र अर्को रूपान्तरणकारी राजनीति हुन्छ। मैले झन्डै दस वर्षदेखि वैकल्पिक राजनीतिको पैरवी गर्दै आएको छु। दुई वर्षअघि संगठित पार्टी राजनीतिबाट जिम्मेवारीमुक्त भए पनि रूपान्तरण र परिवर्तनका लागि गरिने बहुआयामिक राजनीतिमा सक्रिय नै छु। राजनीतिमा विचार, नीति, सामाजिक अभियान र नागरिक तहको हस्तक्षेप पनि महत्वपूर्ण हुन्छ। सधैं कार्यकारी पदमा बसेर मात्र योगदान गर्नुपर्छ भन्ने छैन।

तपाईंका समकालीन नेताहरू पार्टी र सत्ता नेतृत्वमै हुनुहुन्छ; उहाँहरूलाई के सुझाव दिनुहुन्छ?  

उहाँहरू आफैंले समयको माग बुझ्नुपर्छ। उहाँहरूलाई सन्यास लिनुस् भन्न खोजेको होइन र मैले पनि सन्यास लिएको होइन। विचार दिएर, सल्लाह दिएर र नयाँ पुस्तालाई सहयोग गरेर पनि राजनीति गर्न सकिन्छ। सधैं कार्यकारी भूमिकामा बसिरहनु उपयुक्त हुँदैन। नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ। पुरानो पुस्ताले नयाँ पुस्तालाई सहयोग गर्ने र आवश्यक पर्दा मार्गदर्शन गर्ने भूमिका निर्वाह गर्नुपर्छ।

तपाईंको राजनीतिक यात्रामा विभिन्न पद र जिम्मेवारीको चर्चा हुने गर्छ; भविष्यमा राष्ट्रपति बन्ने आकांक्षा छ?

यस्ता प्रश्न गर्दा मलाई दुःख लाग्छ। म गाउँको किसानको छोरो हुँ। आमासँग एक डाडु दूध मागेर पनि कहिल्यै खाइनँ। म पद र शक्तिको आकांक्षाले राजनीतिमा लागेको होइन। अहिले पनि त्यस्तो आकांक्षा छैन, भविष्यमा पनि राख्दिनँ।

अन्त्यमा, दस वर्षपछि नेपाल कस्तो बनेको हेर्न चाहनुहुन्छ?

म त नेपाल किन अल्पविकसित भयो र यसलाई कसरी विकसित बनाउन सकिन्छ भन्ने अभियानबाटै राजनीतिमा लागेको हुँ। लोकतन्त्र र जनतालाई अधिकारसम्पन्न बनाउने चरणसम्म हामी आइपुगेका छौं। अधिकारसम्पन्न नभई समृद्धि सम्भव हुँदैन। अब आर्थिक विकास र समृद्धिमा केन्द्रित हुनुपर्छ। स्पष्ट दृष्टिकोण र योजनासहित अघि बढ्न सकियो भने १०/१५ वर्षमा नेपाललाई कम्तीमा मध्यम आय भएको मुलुकको स्तरमा पु¥याउन सकिन्छ। त्यसपछि २०/२५ वर्षमा समृद्ध नेपाल निर्माण गर्न सकिन्छ। त्यसका लागि दूरदृष्टिसहितको योजना बनाउनुपर्छ र इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्छ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २७ सेकेन्ड अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
यो पनि पढौँ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस