काठमाडौं। भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ। उनको घोषणाले बंगलादेशको अन्तरिम सरकारलाई चुनौती थपेको छ भने भारतलाई समेत कूटनीतिक दबाबमा पारेको छ।
सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलनबाट १५ वर्ष लामो शासन अन्त्य भएपछि देश छाडेर नयाँदिल्ली पुगेकी ७९ वर्षीया हसिनाले अबको १९ दिनमा बंगलादेश फर्किने बताएकी हुन्। सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएको सम्झनामा मनाइने विजय दिवसकै दिन फर्किने घोषणा गर्नुलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।
हसिनाका निकट सहयोगीका अनुसार उनी दिल्लीबाट विमानमार्फत फर्किने योजनामा छिन्। त्यसका लागि बंगलादेश सरकारसँगै विमानको व्यवस्था गर्न आग्रह गरिएको छ। सरकारले व्यवस्था नगरे व्यावसायिक उडान वा स्थलमार्ग हुँदै सीमा पार गरेर भए पनि फर्किने उनको योजना रहेको सहयोगी अबु ओबैदा अरिनले बताएका छन्।
‘उनी त हिँडेरै बंगलादेश प्रवेश गर्न पनि तयार छिन्,’ अरिनले बीबीसीसँग भनेका छन्। तर हसिनाको स्वदेश फिर्ती सहज छैन। मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै बंगलादेशको अदालतले उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको छ। सन् २०२४ को आन्दोलनका क्रममा सुरक्षा निकायको कारबाहीबाट करिब १४ सय जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको अनुमान छ। बंगलादेश सरकारले फर्किएलगत्तै पक्राउ गरी सजाय कार्यान्वयन गर्ने बताउँदै आएको छ।
हसिनाको घोषणाप्रति ढाकाले कडा प्रतिक्रिया जनाएको छ। बंगलादेशले भारतसँग उनको सुपुर्दगी माग दोहो¥याएको छ। विदेश राज्यमन्त्री हुमायुन कबिरले उनी सामान्य यात्रुका रूपमा फर्किन नसक्ने भन्दै हत्कडी लगाएर मात्रै ल्याउन सकिने बताएका छन्। भारतको विदेश मन्त्रालयले सुपुर्दगीसम्बन्धी अनुरोध स्थापित प्रक्रियाअनुसार विचाराधीन रहेको जनाएको छ।
राजनीतिक प्रभाव फर्काउने रणनीति
हसिनाको फिर्ती घोषणालाई बंगलादेशमा केवल स्वदेश फर्किने इच्छाका रूपमा मात्र हेरिएको छैन। यसलाई सरकारको नियन्त्रण क्षमता परीक्षण गर्ने, राजनीतिक बहसको केन्द्रमा पुनः आउने र आन्दोलनबाट बनेको राजनीतिक एकतामा देखिएको विभाजनको फाइदा उठाउने रणनीतिका रूपमा विश्लेषण गरिएको छ।
निर्वासनमा रहे पनि हसिनाले आफ्नो पार्टी अवामी लिगलाई सक्रिय राख्ने प्रयास गरिरहेकी छन्। सहयोगी अरिनका अनुसार उनले टेलिग्राममार्फत पार्टीका नेता तथा कार्यकर्तासँग नियमित संवाद गर्दै आएकी छन्। पछिल्लो १८ महिनामा तीन सयभन्दा बढी अडियो बैठक गरेको र ती बैठक ६४ जिल्ला तथा तीन सय निर्वाचन क्षेत्रका समर्थकसम्म पुगेको उनको दाबी छ।
हसिना फर्किने क्रममा सीमादेखि ढाकासम्म पाँच लाख मानिस परिचालन गरेर मानव साङ्लो बनाउने तयारी रहेको पनि सहयोगीको दाबी छ। तर अवामी लिग प्रतिबन्धित अवस्थामा छ। पार्टीका धेरै नेता विदेशमा, जेलमा वा भूमिगत छन्। कार्यकर्ताविरुद्ध हजारौं मुद्दा दर्ता भएका छन्। द्वन्द्व अनुगमन गर्ने संस्था एसिएलइडीका अनुसार यसै महिना अवामी लिग समर्थकले ४० प्रदर्शन र १४० भन्दा बढी दंगा गरेका छन्। राजनीतिक हिंसामा कम्तीमा ११ जनाको मृत्यु भएको छ। हसिनाको गृहजिल्ला गोपालगन्जसहित विभिन्न स्थानमा प्रहरी कार्यालय, सवारीसाधन र राजनीतिक नेताका घर तथा कार्यालयमा आक्रमणका घटना भएका छन्।
भारतलाई कूटनीतिक अप्ठ्यारो
हसिनाको घोषणाले भारतलाई पनि अप्ठ्यारोमा पारेको छ। भारतले उनलाई शरण दिएको छ भने उनले भारतीय भूमिबाट दिएका राजनीतिक अभिव्यक्तिले ढाकाको असन्तुष्टि बढाएको छ। बंगलादेशले सुपुर्दगी माग गरिरहे पनि भारतले यस विषयमा ठोस निर्णय गरेको छैन। व्यापार, सीमा सुरक्षा र पारवहनलगायत विषयमा सम्बन्ध सुधारको प्रयास भए पनि दुई देशबिच अविश्वास कायम छ।
लन्डनस्थित एसओएएस विश्वविद्यालयका प्राध्यापक अविनाश पालीवालका अनुसार हसिनाको घोषणाले निर्णय गर्ने दबाब दिल्लीबाट ढाकातर्फ सारेको छ। भारतले बंगलादेशको नयाँ सरकारसँग सम्बन्ध सुधारका लागि प्रयास गरे पनि अपेक्षित परिणाम नआएपछि निराश भएको उनको विश्लेषण छ।
अवामी लिगलाई बंगलादेशको राजनीतिबाट स्थायी रूपमा बाहिर राख्नु भारतको हितमा नहुने पालीवालको तर्क छ। पार्टीको सामाजिक र राजनीतिक प्रभाव अझै कायम रहेकाले नयाँ नेतृत्वमार्फत राजनीतिक प्रक्रियामा समेट्नु दीर्घकालीन समाधान हुन सक्ने उनको धारणा छ। तर बंगलादेशमा भारतले अवामी लिगलाई पुनः स्थापित गर्न खोजेको आशंका बढिरहेको छ। हसिनाको सुपुर्दगी टुंगोमा नपुग्नु, पारवहन सुविधासम्बन्धी विषय र गंगा नदीको जल बाँडफाँट सन्धिमा प्रगति नहुनुले पनि भारतप्रतिको अविश्वास बढाएको छ।
विश्लेषकहरूका अनुसार हसिना तत्काल फर्किने सम्भावना कम भए पनि उनको घोषणाले अवामी लिगका कार्यकर्तालाई उत्साहित बनाएको छ। उनी फर्किएमा राजनीतिक मेलमिलापभन्दा द्वन्द्व थप चर्किन सक्ने जोखिम पनि छ। यसले भारत र बंगलादेशबीचको सम्बन्धलाई थप जटिल बनाउने देखिन्छ। (बिबिसीमा आधारित)
२९ मिनेट अघि
•
१ मिनेट पाठ