न्युयोर्क प्रहरीले अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रवेश गरी प्यालेस्टाइनको समर्थनमा प्रदर्शन गरिरहेका विद्यार्थीलाई पक्राउ गरेको छ।
केही प्रदर्शनकारीले विश्वविद्यालयको ह्यामिल्टन हल कब्जामा लिएपछि प्रहरी बोलाउनुबाहेक विकल्प नभएको विश्वविद्यालय प्रशासनको भनाइ छ।
अहिले उक्त हल खाली गरिएको प्रहरीले बिबिसीलाई बताएको छ। पक्राउ प्रदर्शनकारीलाई हौसला दिन विश्वविद्यालयका केही विद्यार्थी न्युयोर्कको सडकमा छन्। अमेरिकाको लस एन्जलस सहरको एक विश्वविद्यालय क्याम्पसमा प्यालेस्टाइन समर्थक प्रदर्शनकारी र विपक्षी समूहबीच झडप भएको छ।
प्यालेस्टाइन समर्थक प्रदर्शनकारीको विरोधमा उत्रेको समूहमा रहेकाले मास्क लगाएका थिए। उनीहरू इजरायल समर्थक थिए। उनीहरूले मध्यरातपछि क्यालिफोर्निया विश्वविद्यालय र लस एन्जलस क्याम्पस पुगेर प्यालेस्टाइन समर्थक प्रदर्शनकारीको शिविरमा आक्रमण गरेका थिए।
विश्वविद्यालयका उपकुलपतिले क्याम्पस परिसरमा डरलाग्दो हिंसाको घटना भएको र यस सम्बन्धमा प्रहरी बोलाइएको बताए। गाजामा इजरायलले गरेको आक्रमणको विरोधमा हालैका सातामा अमेरिकी विश्वविद्यालयहरूमा प्रदर्शन भइरहेका छन्।
गाजा युद्धको विरोधमा प्रदर्शन किन?
हमासले ७ अक्टोबर, २०२३ मा इजरायलमा आक्रमण गरेको थियो। पहिलो आक्रमणमा करिब १२ सय मानिस मारिएका थिए। त्यसपछि इजरायलले गाजा र वेस्ट बैंकमा सैन्य कारबाही सुरु गरेको थियो।
इजरायलको सैन्य कारबाहीमा हालसम्म ३३ हजारभन्दा बढी मानिस मारिएका छन्। मारिनेमा महिला र बालबालिका धेरै छन्। इजरायलको निरन्तर सैन्य आक्रमणको विरोधमा अमेरिकी विश्वविद्यालयका विद्यार्थीले ¥याली निकालेका छन्, हडताल आह्वान गरेका छन्।
ती विद्यार्थीले गाजामा भएको सैन्य कारबाहीविरुद्ध घेराबन्दी सुरु गरेका छन्। प्रदर्शनमा उत्रेका विद्यार्थीले अमेरिकी शैक्षिक संस्थाहरूले इजरायलसँग आर्थिक दूरी कायम गर्नुपर्ने माग राखेका छन्।
इजरायलका कैयन संस्थालाई अमेरिकी शैक्षिक संस्थाहरूको आर्थिक सहयोग छ। प्रदर्शनकारीका अनुसार वित्तीय दूरी कायम गर्नुको अर्थ अमेरिकी शैक्षिक संस्थाहरूले इजरायली शैक्षिक संस्थाहरूमा रहेको सेयर बेच्नुपर्ने र अन्य वित्तीय सम्बन्ध पनि समाप्त पार्नु हो।
प्रदर्शनकारीको नेतृत्व गरेका एक विद्यार्थीले गाजामा युद्ध चलिरहेको अवस्थामा पनि अमेरिकी शैक्षिक संस्थाहरूले इजरायल र उसका शैक्षिक संस्थाहरूसँग व्यापार गरिरहेको बताए। यी सूचीमा इजरायलका धेरै क्याम्पस छन्। इजरायलका अनुसन्धान प्रयोगशालादेखि छात्रवृत्ति तथा अनुदानमा अमेरिकी शैक्षिक संस्था तथा विश्वविद्यालयहरूको सहयोग रहँदै आएको छ। यो लगानी अर्बौं रूपैयाँबराबर रहेको बताइएको छ।
कोलम्बिया विश्वविद्यालयमा के भयो?
गत महिनाको सुरुमा कोलम्बिया विश्वविद्यालयका अध्यक्ष मिनोचे शफिकले क्याम्पसमा भैरहेको ‘यहुदी विरोधी’ प्रदर्शनको विषयमा अमेरिकी कांग्रेस सामु बयान दिएका थिए। त्यसलगत्तै न्युयोर्कको सिटी क्याम्पसमा प्रदर्शनकारी सयौं विद्यार्थीले शिविर खडा गरेका थिए। ती विद्यार्थीले गाजामा युद्धविराम गर्न र विश्वविद्यालयलाई इजरायलमा लगानी बन्द गर्न माग गरेका छन्।
विश्वविद्यालयले प्रदर्शनकारी विद्यार्थीले विश्वविद्यालयको नीति उल्लंघन गरेकाले हटाउन प्रहरी बोलाएको बताएको छ। त्यसपछि एक सयभन्दा बढी विद्यार्थीलाई नीति उल्लंघनको आरोपमा पक्राउ गरिएको थियो। पक्राउको विरोध र गाजामा युद्धविरामको माग गर्दै अन्य विद्यार्थीले आन्दोलन अगाडि बढाएका छन्। अहिले आन्दोलन तेस्रो सातामा चलिरहेको छ। विश्वविद्यालय क्याम्पसमा कक्षा बन्द गरिएको छ।
यसैबीच विश्वविद्यालयका तर्फबाट आन्दोलनकारीसँग वार्ता भइरहेको छ। कतिपय विद्यार्थीलाई निलम्बन पनि गरिएको छ। पछिल्लो घटनामा बुधबार बिहान न्युयोर्क प्रहरीले विश्वविद्यालय क्याम्पसमा प्रवेश गरी ह्यामिल्टन हललाई खाली गराएको थियो। आन्दोलनकारीले ह्यामिल्टन हललाई ‘हिन्द’ हल नामकरण गर्नुपर्ने माग गरेका छन्। ‘हिन्द’ फेब्रुअरीमा इजरायली आक्रमणमा मारिएकी ६ वर्षीया प्यालेस्टिनी बालिकाको नाम हो।
अमेरिकामा कहाँहाँ विरोध प्रदर्शन?
अमेरिकाको कोलम्बिया युनिभर्सिटीबाट सुरु भएको विरोध प्रदर्शन धेरै सरकारी र निजी विश्वविद्यालयहरूमा फैलिएको छ। वासिङ्टनसहित कम्तीमा २२ राज्यमा यस्ता प्रदर्शन भइरहेका छन्।
जर्ज वासिङ्टन विश्वविद्यालय, ब्राउन विश्वविद्यालय, येल विश्वविद्यालय, इमर्सन कलेज, न्युयोर्क विश्वविद्यालय, जर्जटाउन विश्वविद्यालय, अमेरिकी विश्वविद्यालय, मेरिल्यान्ड विश्वविद्यालय, जोन्स हप्किन्स, टफ्ट्स, कर्नेल विश्वविद्यालय, पेन्सिलभेनिया विश्वविद्यालय, प्रिन्सटन विश्वविद्यालय, एमआइटी, द न्यु स्कुल, रोचेस्टर विश्वविद्यालय, पिटर्सवर्ग विश्वविद्यालय, क्यालिफोर्निया राज्य पोलिटेक्निक, वासिङ्टन विश्वविद्यालय, सेन्ट लुइस विश्वविद्यालय, इन्डियाना विश्वविद्यालय, मिसिगन विश्वविद्यालय, मिनेसोटा विश्वविद्यालय, सिकागो विश्वविद्यालय, मियामी विश्वविद्यालय, जर्जिया विश्वविद्यालय, टेक्सास विश्वविद्यालयमा प्रदर्शन र आन्दोलन भइरहेका छन्। अमेरिकाबाहेक प्यालेस्टाइनको पक्षमा अस्ट्रेलिया, क्यानडा, फ्रान्स, इटाली, बेलायतलगायतका देशमा पनि प्रदर्शन भइरहेका छन्।
अमेरिकी विश्वविद्यालयले के गर्दैछन्?
विद्यार्थी आन्दोलनलाई सम्बोधन गर्न केही विश्वविद्यालयले विद्यार्थी अभियन्तासँग कुराकानी गरिरहेका छन् भने कतिपय विद्यार्थीलाई आन्दोलन अघि नबढाउन चेतावनी दिइएको छ। कोलम्बिा विश्वविद्यालयमा प्रहरीसमेत बोलाइएको छ। अमेरिकाको टेक्सास, युटाह र भर्जिनियामा प्रदर्शनकारीलाई पक्राउ गरिएको छ। नर्थवेस्टर्न युनिभर्सिटी र बोस्टनमा प्रदर्शनकारीसँग सम्झौता भएको छ। सम्झौतामा प्रदर्शनकारीको शिविर संख्या सीमित गर्ने उल्लेख भएको जनाइएको छ।
विद्यार्थी प्रदर्शनले कुनै प्रभाव पारेको छ?
प्यालेस्टाइन समर्थक विद्यार्थी संगठनहरू वर्षौंदेखि अमेरिकाका धेरै विश्वविद्यालयमा सक्रिय छन्। यी संगठनले इजरायललाई अमेरिकी विश्वविद्यालयले बहिस्कार गर्नुपर्ने, लगानी बन्द गर्नुपर्ने र प्रतिबन्ध लगाउनुपर्ने माग गर्दै आएका छन्। हालसम्म अमेरिकाको कुनै पनि विश्वविद्यालयले यी माग स्वीकार गरेका छैनन्। इजरायलका शैक्षिक संस्थामा अमेरिकी विश्वविद्यालयको वित्त लगानीमा भने केही कमी आएको छ।
सन् १९६० को दशकमा भियतनाम युद्धको विषयलाई लिएर अमेरिकामा विरोध प्रदर्शन भएको थियो। त्यतिबेला पनि हजारौं मानिस पक्राउ परेका थिए, प्रदर्शनका क्रममा प्रहरीसँग हिंसात्मक झडप भएका थिए। सन् १९७० मा ओहायोमा नेसनल गार्डले चलाएको गोली लागेर चार विद्यार्थीको मृत्यु भएको थियो। त्यसको विरोधमा अमेरिकाभरि प्रदर्शन भएको थियो।
२० वैशाख २०८१
•
५ मिनेट पाठ