म्याग्दीको मंगला गाउँपालिका–३, बरंजाकी भुमिकला थापा घाँस काट्ने क्रममा चिप्लिएर रुखबाट खस्दा गम्भीर घाइते भइन्। ढाँडमा गम्भीर चोट देखिएपछि करिब एक वर्ष विभिन्न अस्पतालमा उपचार गरिन्। उपचारमा सामान्य सुधार भए पनि सन्तुष्ट नभएकी थापा परिवारको सदस्यको साहारामा बेनी नगरपालिका–४, तातोपानी कुण्डमा स्नान गर्न आएकी छन्।
ह्विलचियरमा कुण्डसम्म पुग्ने गरेकी थापाले अहिले केही सुधार भएको बत्ताइन्। छिमेकी जिल्ला मुस्ताङको लोमान्थाङबाट विगत ८ वर्षदेखि नियमित आउने गरेकी ७५ बर्षिया याङ्दी गुरुङले स्नानबाट शरीरको रोग भागेको महसुस गर्ने गरेको बताउँछिन्।
अत्यधिक चिसोबाट बच्न दुई महिना अघि घर छोडेका उपल्लो मुस्ताङका ७ जना महिला अहिले तातोपानीमा स्नान गरिरहेका छन्।
तातोपानी कुण्डमा बिरामीको भिडमा भेटिएकी मालिका गाउँपालिका–५, देविस्थानकी लक्ष्मी मल्ल पेशाले स्वास्थ्यकर्मी हुन्। प्राथमिक उपचार केन्द्र दरबाङकी सिनियर अनमी मल्ल समेत हरेक वर्ष नियमित बिदा लिएर कुण्डमा स्नान गर्न आउने गरेको बताउँछिन्।
‘तातोपानी कुण्डमै स्नान गर्न मैले बिदा लिने गरेको छु,‘ स्नान गर्न आउने धेरै बिरामीको अनुहारमा खुसी नै देख्छु’ स्वास्थ्यकर्मी मल्लले भनिन्।
उनले ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्किएको, पेट दुख्ने, नसाको समस्या भएका बिरामीहरू धेरै कुण्डमा भेटिएको बत्ताइन्। एउटा हातमा बैसाखी लिएर आएकाहरू केही दिन स्नान गरेपछि आफ्नै खुट्टाले बिस्तारै लौरो टेकेर बस्ने ठाउँबाट कुण्डभित्र प्रवेश गरेको बिरामीले खुलेर बताउँछन्। करिब दुई दशक अगाडीसम्म पशु चौपाया बस्ने आहाल जस्तै तातोपानी कुण्ड अहिले हजारौं बिरामीको उपचार केन्द्र बनेको छ।
म्याग्दी खोलाको किनारमा अवस्थित तातोपानीलाई बर्खाको समयमा खोलाले बगर बनाउने गरे पनि स्थानीयले चारदशक सम्म लगातार पोखरी, पानीको मुहानको संरक्षण, पदैलमार्गमा जनश्रमदान तथा आर्थिक सहयोगपछि बनेका संरचनामा बिरामीको चाप बढेपछि अहिले नेपालकै प्राकृतिक उपचार केन्द्रको रूपमा स्थापित भएको छ। वि.स २०४२ सालमा फेला परेको तातोपानीको मुहानलाई स्थानीयले गरेको संरक्षण तथा प्रचारप्रसारले देशभरबाट विभिन्न रोगबाट ग्रसित २६ हजार बिरामी तथा १३ हजारभन्दा धेरै कुण्डको अवलोकनका लागि आउने गरेका छन्। स्वदेश तथा विदेशका ठुला अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोक निको नभएपछि आजित भएर अन्तिम विकल्पको रूपमा कुण्डमा बिरामी आउन थालेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रियता समेत चर्चा कमाउन सफल भएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताए।
‘निराश भएर आएका बिरामी एक देखी दुई हप्तासम्म स्नान गरेपछि खुसी हुँदै घर फर्किने गरेका छन्, ‘बिरामीले स्नान गरेर संकलन भएको आर्थिकबाट धमाधम संरचना थपिएको छ’ अध्यक्ष शाक्यले भने। उनले कुण्डमा करिब ६० प्रतिशत बागलुङ जिल्लाबाट मात्रै आउने गरेको बताउँदै देशका विभिन्न जिल्लाका साथै भारतको सिक्किमबाट समेत नियमित बिरामी आउने गरेको बताए। जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेका बिरामीहरूले अपेक्षा गरेभन्दा धेरै स्वास्थ्यमा सुधार आएको अनुभव सुनाउँछन्।
शरीरभरि फैलिएको घाउ, छाला पट्पटी फुटेर डरलाग्दो अवस्था, सडक दुर्घटनामा गम्भीर घाइते तथा चिकित्सककै सुझावमा कुण्डमा आउने बिरामीको अनुभवले पनि कुण्डले धेरै बिरामीको परिवारका खुसी थपेको छ।
वीरेनून र गन्ध (सल्फर) तत्त्व सहितको ४५ देखि ५७ डिग्री सेल्सियस तातोपानी निस्कने मुहान रहेको छ। गन्धक आफैँमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुन्छ। कुण्डको पानीको वीरेनून नजिकै रहेको बेनी–दरवाङ सडकसम्म गन्ध आउँछ।
बिरेनुन र गन्धकको मिश्रण भएको प्राकृतिक तातोपानी कुण्डमा कृत्रिम घरेलु उपचारको तुलनामा सहज र सुविधायुक्त तरिकाले घण्टौँ सम्म स्नान गर्न सकिन्छ। कुण्ड बाहेक पर्यटकलाई सहज हुने गरी बाहिर थप दुई वटा कुण्ड बनाइएको छ। एक दिनमा दुई पटक डेढ/दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्किएर २० मिनेटसम्म बलाङंकेट, पलाष्ट्रिक काम्लो आदी न्याना कपडा ओढेर शरीरबाट पसिना निकाल्ने गरिएको छ। कुण्डमा स्नान गर्ने समयमा छुट्टै पोशाकको प्रयोगसँगै अनिवार्य मास्क लगाउनुपर्ने नियम बनाइएको छ।
कसरी पुग्ने ?
म्याग्दीको सदरमुकाम बेनी बजारबाट पश्चिम म्याग्दी तर्फ जोड्ने बेनी–दरवाङ सडक खण्ड अन्तर्गत बेनी बजारदेखि ९ किलोमिटर पश्चिममा अवस्थित कुण्डमा पुगिन्छ।
कालोपत्रे सडकमा सदरमुकाम बेनीबाट करिब २५ मिनेटमा पुगिन्छ। त्यस्तै पश्चिम बागलुङ र रुकुमबाट मालिका गाउँपालिकाको दरबाङ हुँदै आउने गरेका छन्। तातोपानी स्नान गर्न आउने पाहुनाहरुका लागि यहाँ आफै कोठा भाडामा लिएर खाना पकाउने खाने होमस्टे सरहको सुविधा पनि छ। सस्तो र स्थानीयको सत्कारबाट समेत बिरामीलाई रोग सँग लड्न सहज हुन्छ। स्थानीय होटल व्यवसायीले पाहुनाको रूपमा स्वागत गर्छन्।
कुण्डमा स्नान गरेपछि नुहाउने धारा तथा ट्याक्कीको व्यवस्था छ। तातोपानीको तल्लो र माथिल्लो बजारमा धेरै घरहरू होटल तथा बिरामीलाई भाडामा दिने गरी प्रयोग हुन्छन्। तातोपानीमा साना ठुलो गरी ३० वटा होटल रहेको छ।
तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यसँगको कुराकानी
पोखरीबाट प्राकृतिक उपचार केन्द्र कसरी बनाउनुभयो त?
२०२४ साल स्थानीयवासी प्रेमप्रसाद गौचन, टुंगलाल शर्मा, दुतबहादुर खत्री, सूर्यमान शाक्यको अगुवाईमा भैँसी बस्ने जस्तै पोखरी बनाइयो। स्थानीयवासीले तातोपानीको रूपमा प्रयोग गर्ने,जाडो समयमा स्नान गर्न थाले। २०४२ सालमा समिति बनाएर मूलको संरक्षण सुरु गरियो। स्थानीय प्रबुद्ध मान शाक्यको अगुवाईमा कुण्डमा बिस्तारै पूर्वाधार विस्तारका साथै प्रचारप्रसार सुरु गरिएको थियो। बिस्तारै कुण्डबाट आम्दानी हुन थालेपछि भौतिक पूर्वाधार विस्तार सहितका योजना मार्फत कुण्डमा आवश्यक संरचना बनाइएको छ। कोरोना भाइरसका कारण करिब दुई वर्ष समस्या भयो। भ्रमणमा आउने र ज्येष्ठ नागरिकले निःशुल्क स्नानको व्यवस्था गरिएको छ। कुण्डमा ८० वर्ष माथिका बिरामी, अपाङ्ता भएकालाई बिना शुल्क स्नानको व्यवस्था मिलाइएको छ। अपाङमैत्री भएकाले पनि अपाङ्ता भएकाहरू नियमित स्नान गर्न आउने गरेका छन्। वार्षिक २६ हजारले स्नान गर्ने गरेका छन्।
तातोपानी कुण्डमा कहाँबाट धेरै बिरामी आउँछन् ?
सबैभन्दा धेरै बिरामी बागलुङ जिल्लाका छन्। बागलुङबाट करिब ६० प्रतिशतको हाराहारीमा बिरामीले स्नान गर्ने गरेका छन्। त्यसबाहेक बर्सेनि धेरै बिरामी आउँछन् हरेक घरधुरीबाट बिरामी आएजस्तो लाग्छ। हिमाली जिल्लाबाट चिसोले विभिन्न रोग लागेपछि उपचारका लागि आउने बिरामीको संख्या पनि धेरै छ। नेपाल बाहेक भारतको सिक्किमबाट आउँछन्। विदेशी पर्यटकलाई लक्षित गरी नयाँ स्नान गृह बनाउने तयारी भइरहेको छ। कुण्डमा घुम्न आउनेको संख्या अत्यधिक छ। भ्रमणका लागि समेत कुण्ड रोजाईमा पर्न थालेको छ।
घुम्न आउनेहरूको तथ्याङ्क राख्नुभएको छैन ?
विगतमा घुम्न आउनेहरूको तथ्याङ्क टिकट लिए मात्रै हुन्छ। अहिले घुम्न आउनेहरूको समेत नाम, जिल्ला तथा सङ्ख्याको विवरणलाई समेत राख्ने गरिएको छ। समूहमा संख्या राखिन्छ। चन्दा सहित सहयोग गरेमा विवरण समेत राखिन्छ। म्याग्दी जिल्लामा भ्रमणका लागि आउने म्याग्देलीको संख्या ह्वात्तै बढ्नुमा तातोपानी कुण्ड पनि एउटा प्रमुख माध्यन बनेको छ। विभिन्न जिल्लामा रहेका तातोपानी कुण्डको व्यवस्थापन, सञ्चालनका साथै सामुदायिक संघसंस्था, विद्यालय, कलेज, सहकारी लगायतबाट समूहमै कुण्डको अवलोकन गर्न आउँछन्। म्याग्दी जिल्लालाई भ्रमण वर्ष बनाउने तयारी भइरहेको अवस्थामा २०७५ सालमा भ्रमणका लागि अत्यधिक संख्यामा आउने अनुमान गरिएको छ। यसबर्ष भ्रमणका लागि आउनेको संख्या यकिन हुन्छ।
कुण्डको आम्दानी कहाँ खर्च हुन्छ ?
कुण्डमा चार जनाले रोजगारी पाएका छन्। स्थानीय सरस्वती माविका निमावी र माविका ७ जना शिक्षकको तलबमा बर्सेनि १२ लाखभन्दा बढी खर्च हुन्छ। विद्यालयमा हरेक बर्ष भौतिक पूर्वाधारमा समेत सहयोग गरिन्छ। गाउँमा रहेको स्वास्थ्य चौकीको जग्गा, प्रहरी चौकी स्थापनाका लागि आवश्यक पर्ने जग्गा खरिद, कुण्डभित्रका पूर्वाधार, म्याग्दी खोलाको नदी कटान नियन्त्रण, ढल व्यवस्थापन, स्थानीय स्तरमा आवश्यक पर्ने विभिन्न सामाजिक कार्यमा समेत सहयोग गरिन्छ। युवा क्लबको खेलमैदान देखी विभिन्न संरचना बनाउन खर्च गरिन्छ। बेनी नगरपालिकाले समेत वार्षिक आम्दानीको २० प्रतिशत दिन्छौ।
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।
अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।
शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।
स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।
गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'
गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।
प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।
सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।
तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।
स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'
उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...