‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के-के हुँदै छन् नयाँ काम ?
२७ असोज २०८३
•
११ मिनेट पाठ
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के-के हुँदै छन् नयाँ काम ?
त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्द्धन, संस्थागत पुनःसंरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ।




त्रिविका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। यी योजना कार्यान्वयन भएमा विश्वविद्यालयको प्रशासनिक, शैक्षिक र प्राज्ञिक स्वरूपमा ठूलो फेरबदल आउने अपेक्षा गरिएको छ।

नीति तथा कार्यक्रममा विश्वविद्यालयलाई शिक्षणकेन्द्रित संस्थाबाट अनुसन्धान, नवप्रवर्तन र ज्ञान उत्पादनमा आधारित ‘रिसर्च युनिभर्सिटी’का रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। साथै, शैक्षिक, प्रशासनिक र सेवा प्रवाह प्रणालीलाई डिजिटल प्रविधिमा आधारित बनाउँदै क्रमशः ‘डिजिटल विश्वविद्यालय’मा रूपान्तरण गर्ने नीति अघि सारिएको छ।

यो नीति तथा कार्यक्रम विश्वविद्यालयको रणनीतिक योजना २०२४–२०२८ र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको प्रतिवेदनसँग तादात्म्य हुने गरी तयार गरिएको हो।  

विश्वविद्यालयले आफ्ना वार्षिक शैक्षिक योजना तथा कार्यक्रमलाई रणनीतिक योजनासँग आबद्ध गर्ने, अनुसन्धानबाट प्राप्त नतिजालाई नीतिनिर्माणमा उपयोग गर्ने र सम्पूर्ण निकायलाई नतिजामुखी व्यवस्थापन प्रणालीमा जोड्ने योजना पनि उल्लेख छ।

मोबाइल एपदेखि डिजिटल ड्यासबोर्डसम्म

त्रिविले शैक्षिक प्रशासन र सेवा प्रवाहलाई सहज, पारदर्शी र पहुँचयोग्य बनाउन एकीकृत मोबाइल एप सञ्चालनमा ल्याउने भएको छ। विश्वविद्यालयसँग सम्बन्धित विभिन्न तथ्याङ्कलाई एकीकृत रूपमा हेर्न सकिने डिजिटल ड्यासबोर्ड निर्माण गर्ने नीति अघि सारिएको छ। नीतिनिर्माण, अनुगमन र शीघ्र निर्णय प्रक्रियाका लागि यस्तो ड्यासबोर्ड उपयोगी हुने त्रिविको विश्वास छ।

त्रिविले आफ्ना आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसको डिजिटल भू–नक्साङ्कन तयार गर्ने काम चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने जनाएको छ। यसबाट क्याम्पसको अवस्थिति, पूर्वाधार, शैक्षिक कार्यक्रम र अन्य विवरणलाई एकीकृत रूपमा हेर्न सकिने छ।

नीति कार्यक्रममा उल्लेख भएअनुसार विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण निकायमा इन्टरनेट तथा इन्ट्रानेट पूर्वाधार सुदृढ गर्ने र शैक्षिक तथा प्रशासनिक अभिलेखलाई क्रमशः डिजिटल बनाउने योजना छ।

परीक्षा प्रणाली पूर्ण डिजिटल बनाउने लक्ष्य

त्रिविले परीक्षा व्यवस्थापन सूचना प्रणालीलाई पूर्ण रूपमा लागू गर्ने लक्ष्य राखेको छ। यस प्रणालीमार्फत उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, शैक्षिक अभिलेख व्यवस्थापन तथा प्रमाणपत्र वितरणजस्ता सेवा डिजिटल प्रणालीबाट सञ्चालन गर्ने योजना छ। यसले परीक्षा प्रणालीलाई पारदर्शी, सुरक्षित र समयबद्ध बनाउने विश्वविद्यालयको अपेक्षा छ।

यसअघि नै परीक्षा नियन्त्रण कार्यालयमा अनलाइन सेवा विस्तार गरिएको र प्रादेशिक परीक्षा नियन्त्रण कार्यालयमार्फत अनलाइन भुक्तानी, मार्कसिट तथा ट्रान्सक्रिप्ट वितरणलाई सहज बनाइएको नीति तथा कार्यक्रमको समीक्षा खण्डमा उल्लेख छ। सबै तहका परीक्षाका प्रश्नपत्र अनलाइन माध्यमबाट परीक्षा केन्द्रसम्म पुर्याउने प्रणाली सञ्चालन गर्ने काम सुरु भइसकेको छ।

विद्यार्थी सेवामा नयाँ प्रणाली

त्रिविले विद्यार्थीलाई केन्द्रमा राखेर एकीकृत विद्यार्थी सेवा प्रणाली विकास गर्ने भएको छ। यस प्रणालीमार्फत विद्यार्थी भर्ना, परीक्षा, छात्रवृत्ति, परिचयपत्र र गुनासो व्यवस्थापनका साथै मानसिक स्वास्थ्य परामर्श, करिअर विकास, उद्यमशीलता तथा रोजगार सहजीकरणजस्ता सेवा सञ्चालन गरिनेछ।

विद्यार्थीको नेतृत्व विकास, शैक्षिक सहभागिता, खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रवर्द्धनका लागि विद्यार्थी परिषद्लाई संस्थागत गर्ने नीति पनि अघि सारिएको छ।

वन विज्ञान अध्ययन संस्थानको अनुभवका आधारमा राष्ट्रिय स्वयंसेवक कार्यक्रमलाई अन्य निकायमा विस्तार गर्ने योजना छ। वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण, सामुदायिक विकास तथा राष्ट्रनिर्माणका काममा विद्यार्थीलाई सहभागी गराउने नीति कार्यक्रममा उल्लेख छ।

त्यसैगरी, निश्चित सङ्ख्याका विद्यार्थीलाई उनीहरूको शैक्षिक योग्यता र रुचिअनुसार त्रिविअन्तर्गतका क्याम्पस, अनुसन्धान केन्द्र तथा प्रशासनिक निकायमा निश्चित अवधिको इन्टर्नसिप उपलब्ध गराउने योजना छ।

त्रिविलाई ‘रिसर्च युनिभर्सिटी’ बनाउने योजना

त्रिविको नयाँ नीति तथा कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष विश्वविद्यालयलाई अनुसन्धानप्रधान संस्थाका रूपमा विकास गर्ने योजना हो। नीति कार्यक्रममा राष्ट्रिय प्राथमिकता, सामाजिक आवश्यकता तथा विश्वव्यापी ज्ञान प्रवृत्तिसँग मेल खाने उच्च गुणस्तरीय अनुसन्धानलाई प्रोत्साहन गर्न प्रतिस्पर्धात्मक अनुसन्धान अनुदान उपलब्ध गराउने उल्लेख छ।

त्यसका लागि अनुसन्धान व्यवस्थापन प्रणाली सुधार गर्ने, आवश्यक कोष तथा सरकारी अनुदान परिचालन गर्ने र केन्द्रीय विभाग, अनुसन्धान केन्द्र तथा क्याम्पसमा अनुसन्धान पूर्वाधार स्तरोन्नति गर्ने योजना अघि सारिएको छ। त्यस्तै, राष्ट्रिय विज्ञानमा आधारित सन्दर्भ प्रयोगशाला सञ्चालन गर्ने र बहुविषयगत अध्ययनका लागि साझा अनुसन्धान सुविधा विकास गर्ने नीति छ।

यसबाट त्रिविका विभिन्न विभाग र अनुसन्धान केन्द्रले छुट्टाछुट्टै महँगा उपकरण खरिद गर्नुपर्ने अवस्था घट्ने तथा उपलब्ध पूर्वाधारलाई साझा रूपमा प्रयोग गर्न सकिनेछ। यस्तो व्यवस्थाले अनुसन्धानको लागत घटाउनुका साथै विभिन्न विषयबीच सहकार्य बढाउनेछ।  

पेटेन्ट, स्टार्टअप र बौद्धिक सम्पत्ति

त्रिविले प्राध्यापक, युवा अनुसन्धानकर्ता तथा विद्यार्थीमा नवप्रवर्तन, पेटेन्ट दर्ता, स्टार्टअप र बौद्धिक सम्पत्ति सिर्जनालाई प्रोत्साहन गर्ने भएको छ। यसका लागि बौद्धिक सम्पत्ति व्यवस्थापन प्रणाली लागू गर्ने नीति कार्यक्रममा उल्लेख छ। अनुसन्धानबाट प्राप्त प्रविधि, उत्पादन वा अवधारणालाई संरक्षण गर्ने र सम्भव भएमा व्यावसायिक उपयोगमा लैजाने लक्ष्य विश्वविद्यालयले राखेको छ।

उच्चस्तरीय जर्नलमा लेख प्रकाशन गर्ने तथा पेटेन्ट अधिकार प्राप्त गर्ने अनुसन्धानकर्तालाई आर्थिक प्रोत्साहन र पुरस्कार प्रदान गर्नेछ।  

त्रिविले अनुसन्धानलाई समाज, उद्योग र नीति निर्माणसँग जोड्न ज्ञान हस्तान्तरण, परामर्श सेवा तथा सरकार–विश्वविद्यालय सहकार्यको अवधारणा अघि सारेको छ। साथै, एनआइसिइ अर्थात् नेटवर्किङ, इनोभेसन, क्रियसन एन्ड एक्सप्लोरेसन मोडलमार्फत प्राध्यापकको व्यावसायिक विकास तथा विद्यार्थीको व्यावहारिक सीप अभिवृद्धि गर्ने योजना छ। नीति कार्यक्रममा अनुसन्धानको गुणस्तर, पारदर्शिता र अनुसन्धान आचारसंहितालाई संस्थागत गर्न रिसर्च एण्ड प्लेसमेन्ट सेल विस्तार गर्ने उल्लेख छ।

पाठ्यक्रममा प्रविधि र रोजगार

त्रिविले बदलिँदो श्रम बजार र प्रविधिको मागअनुसार पाठ्यक्रम परिमार्जन गर्ने भएको। पाठ्यक्रममा उद्यमशीलता, नवप्रवर्तन र प्रविधिलाई समावेश गर्ने तथा शिक्षण–सिकाइ प्रक्रियालाई विद्यार्थी केन्द्रित र प्रविधिमैत्री बनाउने योजना छ।  

दूरशिक्षा, डिजिटल सामग्री तथा मिश्रित सिकाइ प्रणाली विस्तार गर्ने नीति पनि अघि सारिएको छ। यसका लागि लर्निङ म्यानेजमेन्ट सिस्टम विकास गर्ने र आङ्गिक क्याम्पसमा प्रविधिमैत्री शिक्षण–सिकाइ विस्तार गरिनेछ।  

नीति कार्यक्रममा लेबर मार्केट ड्रिभन प्रोग्राम अर्थात् श्रमबजारको मागमा आधारित शैक्षिक कार्यक्रम विस्तार गर्ने उल्लेख छ।  

रोजगारमूलक तथा आकर्षक शैक्षिक कार्यक्रमलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्राप्तगरी भौगोलिक आधारमा विस्तार गर्ने लक्ष्य राखिएको छ।

स्वदेशी तथा विदेशी विश्वविद्यालयसँग क्रेडिट ट्रान्सफर र डबल डिग्री कार्यक्रमलाई थप व्यवस्थित गर्ने तथा विदेशी विद्यार्थी र अनुसन्धानकर्तालाई आकर्षित गर्न अन्तरराष्ट्रिय सम्बन्ध केन्द्रमार्फत सेवा सहज बनाउने नीति पनि छ।

‘स्कुल’ अवधारणा लागू गर्ने तयारी

विशेषीकृत अध्ययन, अध्यापन तथा अनुसन्धानलाई प्रवर्द्धन गर्न त्रिविले ‘स्कुल’ अवधारणा लागू गर्ने भएको छ। यसका लागि आवश्यक रणनीति र कार्यढाँचा तयार गरी चालु आर्थिक वर्षदेखि नै कार्यान्वयन गर्ने नीति कार्यक्रममा उल्लेख छ। स्कुल अवधारणाले एउटै विषय वा विषयसमूहसँग सम्बन्धित अध्यापन, अनुसन्धान र प्राज्ञिक गतिविधिलाई बढी समन्वित बनाउन सक्नेछ। यसबाट अध्ययन संस्थान, सङ्काय र केन्द्रीय विभागबीचको दोहोरोपन घटाउने तथा अनुसन्धानमा सहकार्य बढाउने लक्ष्य राखिएको देखिन्छ।

त्रिविले सम्बन्धित अध्ययन संस्थान, सङ्काय र आङ्गिक निकायलाई आफ्नो वार्षिक शैक्षिक कार्ययोजना विश्वविद्यालयको रणनीतिक योजनासँग आबद्ध गर्नुपर्ने व्यवस्था गर्ने जनाएको छ।

प्रशासनिक पुनःसंरचना र विकेन्द्रीकरण

त्रिविले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण र रणनीतिक योजना २०२४–२०२८ का आधारमा जनशक्ति प्रक्षेपण, कार्यसंरचना तथा प्रशासनिक पुनःसंरचना गर्ने भएको छ। निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउन प्रशासनिक प्रक्रियाको सरलीकरण गर्ने नीति छ। अधिकार, स्रोत र जिम्मेवारीलाई चरणबद्ध रूपमा अध्ययन संस्थान, सङ्काय, केन्द्रीय विभाग, आङ्गिक क्याम्पस तथा प्रादेशिक निकायमा प्रत्यायोजन गर्ने योजना छ।

यसले अहिले केन्द्रीय तहमा केन्द्रित रहेको केही प्रशासनिक तथा वित्तीय अधिकार तल्लो तहका निकायमा लैजान सक्नेछ। तर अधिकार प्रत्यायोजनसँगै आन्तरिक नियन्त्रण, अनुगमन र जवाफदेहिताको व्यवस्था कसरी लागू हुन्छ भन्ने विषय महत्वपूर्ण हुनेछ।

सम्बन्धनप्राप्त क्याम्पसको गुणस्तर सुनिश्चितता, नियमित अनुगमन र नियमनलाई प्रभावकारी बनाउन सम्बन्धन व्यवस्थापन निर्देशनालयलाई सुदृढ गर्ने योजना पनि छ।

विद्यार्थी सङ्ख्या लगातार कम भएका कार्यक्रमलाई गाभ्ने नीति कार्यान्वयनका लागि सम्बन्धनप्राप्त क्याम्पसको अध्ययन तथा छानबिन सुरु भइसकेको छ। दुई शैक्षिकसत्रदेखि विद्यार्थी सङ्ख्या १५ भन्दा कम भएका कार्यक्रमबारे यस्तो नीति अघि सारिएको हो।  

सम्पत्ति संरक्षणदेखि चार्जिङ स्टेसनसम्म

त्रिविले आफ्ना जग्गा, भवन, प्रयोगशाला, पुस्तकालय, उपकरणलगायत भौतिक सम्पत्तिको डिजिटल अभिलेख तयार गर्ने भएको छ।

विश्वविद्यालयको सम्पत्ति संरक्षण, मर्मतसम्भार तथा उपयोगका लागि एकीकृत सम्पत्ति व्यवस्थापन प्रणाली विकास गर्ने योजना छ। कम उपयोगमा रहेका सभाहल, प्रयोगशाला, छात्रावास तथा खेलकुद पूर्वाधारलाई व्यावसायिक र उत्पादनशील रूपमा प्रयोग गरी आन्तरिक आम्दानी बढाउने नीति छ।

थापाथली क्याम्पसको बल्खुस्थित जग्गामा चार्जिङ स्टेसन, वर्कसप, भेइकल टेस्टिङ ल्याब तथा मेकर स्पेस स्थापना गर्ने योजना पनि नीति कार्यक्रममा राखिएको छ।

विश्वविद्यालय–उद्योग सहकार्य, अनुसन्धान तथा परामर्श सेवा, निरन्तर शिक्षा, व्यावसायिक तालिम तथा प्रविधि हस्तान्तरणमार्फत वैकल्पिक वित्तीय स्रोत परिचालन गर्ने योजना छ।

आन्तरिक आम्दानीबाट क्याम्पस सुधार

त्रिविले प्रत्येक आङ्गिक क्याम्पसलाई आफ्नो आन्तरिक आम्दानीबाट क्याम्पस सौन्दर्यीकरणसम्बन्धी काममा अधिकतम रु २० लाख सम्म खर्च गर्न सक्ने अधिकार दिने भएको छ।

केन्द्रीय विभागको भौतिक निर्माण तथा मर्मतसम्भार बजेट भने एकद्वार प्रणालीबाट सञ्चालन गर्ने योजना छ। परीक्षा सञ्चालनलाई व्यवस्थित बनाउन केन्द्रीय तथा प्रादेशिक तहमा ‘मेगा एक्जामिनेसन हल’ निर्माण गर्ने कार्यक्रमलाई तीव्रता दिने नीति छ। समीक्षा खण्डमा जनकपुरस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा मेगा परीक्षा हल निर्माण सुरु गरिएको उल्लेख छ।

हरित विश्वविद्यालयको लक्ष्य

त्रिविले आफ्ना भौतिक पूर्वाधारलाई वातावरणमैत्री बनाउँदै ‘हरित विश्वविद्यालय’को अवधारणा कार्यान्वयन गर्ने भएको छ।

नयाँ निर्माण तथा पूर्वाधार विकासका काममा ऊर्जा दक्षता, हरियाली प्रवर्द्धन, फोहरमैला तथा वर्षाको पानी व्यवस्थापन, नवीकरणीय ऊर्जा, अपाङ्गमैत्री पहुँच र विपद् प्रतिरोधी मापदण्ड लागू गर्ने नीति छ। आवश्यकता, विद्यार्थी सङ्ख्या र प्राज्ञिक प्राथमिकताका आधारमा स्मार्ट बोर्ड, आधुनिक प्रयोगशाला, पुस्तकालय, कक्षाकोठा र छात्राबासको निर्माण तथा स्तरोन्नति गर्ने योजना पनि छ।

प्राध्यापकलाई विश्वविद्यालय परिसरमै बसेर शिक्षण, अनुसन्धान तथा परामर्श सेवामा संलग्न गराउन छनोट गरिएका विभागबाट ‘प्रोफेसर क्याबिन’ निर्माण तथा व्यवस्थापन गर्ने कार्यक्रम राखिएको छ।

पेन्सन व्यवस्थापनको बहस

त्रिविको नीति तथा कार्यक्रमको अन्तिम भागमा शिक्षक तथा कर्मचारीको पेन्सन व्यवस्थापनसम्बन्धी विषय समेटिएको छ।

दस्तावेजमा २०६८ सालसम्म स्थायी सेवामा प्रवेश गरेका शिक्षक तथा कर्मचारीले नेपाल सरकारको नियमअनुसार पेन्सन पाउँदै आएको र त्यसपछि नियुक्त भएकाहरूका लागि योगदानमा आधारित निवृत्तिभरण योजना सञ्चालनमा रहेको उल्लेख छ। कार्यरत शिक्षक तथा कर्मचारीबीच पेन्सन सुविधामा देखिएको विभेद अन्त्य गर्न पुरानै पेन्सन प्रणाली लागू गर्नुपर्ने सुझाव उच्चस्तरीय सहजीकरण समितिले दिएको छ।

समितिका सुझावअनुसार पेन्सन दायित्वका लागि प्रत्येक क्याम्पसको आम्दानीको ४० प्रतिशत रकम छुट्याउने, बजेट शीर्षकमा राखेर खर्च हुन नसकेको रकमको ४० प्रतिशतसम्म प्रत्येक आर्थिक वर्षको अन्त्यमा केन्द्रीय कोषमा ल्याउने, विश्वविद्यालयको जग्गा तथा सम्पत्ति संरक्षण गरी आम्दानी बढाउने, लिज सम्झौता पुनरावलोकन गर्ने र शुल्क संरचना पुनरावलोकन गर्ने प्रस्ताव गरिएको छ। हाल त्रिविले निवृत्तिभरण योजनाका लागि १० प्रतिशत थप रकम छुट्याउँदै आएको छ।  

त्रिभुवन विश्वविद्यालय ऐनको दफा ३३ ‘क’ अनुसार नेपाल सरकारलाई थप आर्थिक भार पर्ने विषयमा सरकारको स्वीकृति आवश्यक पर्ने भएकाले यो विषय निर्णयका लागि विश्वविद्यालय सभामा पेस गरिएको हो।  कार्यान्वयनका लागि थप कानुनी तथा वित्तीय निर्णय आवश्यक हुनेछ।

नीति तथा कार्यक्रममा नेपाल सरकारले २०७५ असार मसान्तसम्मका सबै कर्मचारीलाई पेन्सन उपलब्ध गराउने र त्यसपछि योगदानमा आधारित पेन्सन दिने व्यवस्था गरेका सन्दर्भ उल्लेख गर्दै त्रिविमा पनि सोही व्यवस्थाका लागि आवश्यक अध्ययन गरी अघि बढ्ने जनाइएको छ। रासस
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
१९ घण्टा अघि
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस