नयाँ ऐनमा समान शैक्षिक अधिकारको माग
०८ भदौ २०८३
•
७ मिनेट पाठ
नयाँ ऐनमा समान शैक्षिक अधिकारको माग
अब बन्ने विद्यालय शिक्षा ऐन विद्यार्थी केन्द्रित, बालमैत्री तथा अभिभावकको विश्वास जित्ने खालको हुनुपर्नेमा जोड दिइएको छ। सामुदायिक विद्यालयमा मात्र नभई निजी विद्यालयमा अध्ययनरत बालबालिकाको शिक्षाको दायित्व पनि राज्यले नै लिनुपर्ने सुझाव उनीहरूले दिएका हुन्।




सरकारले ५५ वर्षपछि ल्याउन लागेको विद्यालय शिक्षा ऐनका सन्दर्भमा आइतबार काठमाडौंमा आयोजित ‘विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी गृहकार्य: विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्थापन’ विषयक परामर्श गोष्ठीको आयोजना गरिएको थियो।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न गोष्ठीमा हालै मन्त्रालयले सातै प्रदेशमा सञ्चालन गरेको शिक्षा नीति संवादबाट प्राप्त सुझाव तथा निष्कर्ष प्रस्तुत गर्दै सरोकारवालासँग छलफल गरेको थियो। मन्त्रालयले विद्यालय शिक्षा सञ्चालन तथा व्यवस्थापनका लागि शिक्षा विधेयकको मस्यौदा तयार गरिरहेको र त्यसैका सन्दर्भमा गोष्ठीका आयोजना गरिएको मन्त्री पोखरेलका प्रमुख सल्लाहकार शैलेन्द्र झाले बताए।

गोष्ठीका सहभागीहरूले राज्यले सबै बालबालिकालाई निःशुल्क शिक्षाको पहुँच सुनिश्चित गर्नुपर्ने, शिक्षक–कर्मचारीको सेवासुविधा कानुनमै स्पष्ट गर्नुपर्ने तथा संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी र दायित्व स्पष्ट हुनुपर्ने धारणा राखेका थिए।

सामुदायिक विद्यालय व्यवस्थापन महासंघका अध्यक्ष काशीनाथ दंगालले अबको विद्यालय शिक्षा ऐन विद्यार्थीको मन जित्ने र अभिभावकको विश्वास बढाउने खालको हुनुपर्नेमा जोड दिए। ‘बालबालिकाको मन र अभिभावकको विश्वास जित्ने शिक्षा ऐन आवश्यक छ,’ उनले भने, ‘विद्यार्थीलाई विद्यालय जाऊँजाऊँ लाग्ने वातावरण बनाउने शिक्षा ऐन राज्यले बनाउनुपर्छ। स्कुल घर र घर स्कुलजस्तो बन्नुपर्छ।’

हालको विधेयकमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाका लागि मात्र अनिवार्य तथा निः शुल्क भन्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले निजी विद्यालयमा अध्ययनरत बालबालिकालाई पनि राज्यको दायित्वभित्र समेट्नुपर्नेमा जोड दिए।

‘निजी विद्यालयमा पढ्ने बालबालिका पनि यही राज्यका नागरिक हुन्,’ दंगालले भने, ‘त्यसैले निजी र सामुदायिक दुवै क्षेत्रमा अध्ययनरत बालबालिकाको निःशुल्क शिक्षासम्बन्धी दायित्व राज्यले कसरी पूरा गर्ने भन्ने स्पष्ट व्यवस्था विद्यालय शिक्षा ऐनमै हुनुपर्छ।’

उनले विद्यालयले अभिभावकलाई विद्यार्थीको गुनासो सुनाउन वा शुल्क माग्न मात्र नभई विद्यालयको शैक्षिक गुणस्तर सुधारमा साझेदार बनाउनुपर्ने बताए। अभिभावकको अर्थपूर्ण सहभागितालाई पनि ऐनले सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।

निजी विद्यालयहरूको छाता संगठन प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले नयाँ विद्यालय शिक्षा ऐन निजी विद्यालय, विद्यार्थी र लगानीमैत्री हुनुपर्ने बताए।

सरकारले बजेटमार्फत लगाएको ३ प्रतिशत शिक्षा समता कर खारेज गरी निजी शिक्षा क्षेत्रमा राहत दिएको उल्लेख गर्दै उनले लगानी सुरक्षाको स्पष्ट प्रत्याभूति ऐनमा हुनुपर्ने माग गरे। अधिकारीका अनुसार निजी विद्यालयहरूले करिब सात खर्ब रुपैयाँ लगानी गरेका छन् र ठुलो संख्यामा जनशक्तिलाई रोजगारी दिएका छन्।

निजी क्षेत्रले ठुलो संख्यामा विद्यार्थीको शैक्षिक जिम्मेवारी सम्हालिरहेको दाबी गर्दै अधिकारीले राज्यले निजी शिक्षालाई नियमनसँगै संरक्षणको दृष्टिकोणबाट पनि हेर्नुपर्नेमा जोड दिए।

अधिकारीले हालको १० प्रतिशत छात्रवृत्तिको व्यवस्थालाई पुनरवलोकन गरी लक्षित वर्गसम्म प्रभावकारी रूपमा पुग्ने व्यवस्था गर्न सुझाव दिए। विद्यालयले प्रदान गर्ने सेवा र सुविधाका आधारमा वैज्ञानिक ढंगबाट शुल्क निर्धारण गर्ने स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको पनि उनको भनाइ थियो।

नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले संविधानले व्यवस्था गरेको अनिवार्य तथा निःशुल्क शिक्षालाई व्यवहारमा कार्यान्वयन गर्न पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए। ‘निःशुल्क शिक्षा कानुनमा मात्र सीमित भएर हुँदैन,’ उनले भने, ‘त्यसका लागि आर्थिक स्रोतको स्पष्ट व्यवस्था हुनुपर्छ।’

उनले धादिङको नीलकण्ठ नगरपालिकाले स्थानीय स्रोत परिचालन गरी निःशुल्क शिक्षाको अभ्यास गरिरहेको उदाहरण दिँदै देशभर यस्तो व्यवस्था विस्तार गर्न संघीय सरकारले आवश्यक आर्थिक आधार तयार गर्नुपर्ने बताए।

ढुंगानाले विद्यालय शिक्षाको कक्षा १२ सम्मको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई संविधानले दिए पनि शिक्षक दरबन्दी र प्रशासनिक अधिकारमा पर्याप्त स्पष्टता तथा स्वायत्तता नभएको गुनासो गरे। ‘कक्षा १२ सम्म विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ तर त्यसअनुसार शिक्षक दरबन्दी र स्रोतसाधनको व्यवस्था गरिएको छैन,’ उनले भने, ‘संघीयताको मर्म अनुसार स्थानीय तहको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्छ।’

गाउँपालिका राष्ट्रिय महासंघ नेपालकी सचिव पार्वती सुनुवारले २०२८ सालको शिक्षा ऐनका आधारमा विद्यालय शिक्षा सञ्चालन हुँदै आएकाले अहिलेको आवश्यकता सम्बोधन गर्न कठिनाइ भएको बताइन्। उनले दुर्गम तथा ग्रामीण क्षेत्रका धेरै विद्यालय अझै पनि पर्याप्त भवन, खानेपानी, शौचालय, फर्निचर र आवश्यक शैक्षिक सामग्रीको अभावमा सञ्चालन भइरहेको उल्लेख गरिन्। ‘कक्षा १२ सम्म विद्यालय सञ्चालन भइरहेका छन् तर त्यसअनुसार शिक्षक दरबन्दी छैन,’ उनले भनिन्, ‘अबको शिक्षा ऐनले कक्षा १२ सम्म आवश्यक शिक्षक दरबन्दीको स्पष्ट व्यवस्था गर्नुपर्छ।’

शिक्षक सेवा आयोगलाई थप प्रभावकारी र सक्षम बनाउने व्यवस्था पनि नयाँ ऐनमा हुनुपर्ने उनको भनाइ थियो।

नेपाल राष्ट्रिय अभिभावक संघका प्रतिनिधि कोषबहादुर जिसीले विद्यालय शिक्षा ऐनमा अभिभावकको सहभागिताबारे स्पष्ट व्यवस्था हुनुपर्ने तथा पाठ्यक्रमलाई रोजगारमूलक र जीवनोपयोगी बनाउनुपर्ने सुझाव दिए।

शिक्षाविद् विद्यानाथ कोइरालाले सातै प्रदेशमा गरिएको शिक्षा नीति संवादका क्रममा शिक्षक नियुक्ति, स्थायित्व, बढुवा, प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मका शिक्षक तथा कर्मचारी व्यवस्थापन, प्राविधिक शिक्षा र विद्यालय संरचनासम्बन्धी विभिन्न विषय उठेको बताए।

‘विद्यालय शिक्षाको गुणस्तरको स्पष्ट खाका र भविष्यको दिशानिर्देश गर्ने ऐन आवश्यक छ,’ उनले भने, ‘विद्यार्थी प्रविधिमैत्री भइरहेका छन्। अब शिक्षकलाई कसरी प्रविधिमैत्री बनाउने भन्ने स्पष्ट दृष्टिकोण पनि ऐन र त्यसपछिका नीतिमा हुनुपर्छ।’

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले नयाँ ऐन विद्यार्थी र शिक्षकमैत्री हुनुपर्ने धारणा राखे। महासंघले आफ्ना सुझाव मन्त्रालयमा बुझाइसकेको उल्लेख गर्दै उनले ती मागलाई विधेयकमा समेट्न आग्रह गरे।

शिक्षामन्त्री पोखरेलका प्रमुख सल्लाहकार शैलेन्द्र झाले सातै प्रदेशमा सञ्चालन गरिएको शिक्षा संवादबाट प्राप्त सुझावलाई समेटेर संघीय संसद्को हिउँदे अधिवेशनअघि विद्यालय शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताए।

शिक्षामन्त्री पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणलाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको बताए। सरोकारवालाबाट प्राप्त सुझावलाई दस्ताबेजीकरण गरी विधेयकलाई अन्तिम रूप दिने काम भइरहेको उनको भनाइ थियो। ‘विद्यार्थीमैत्री विद्यालय शिक्षा विधेयक निर्माणका क्रममा सरोकारवालाका सुझावलाई समेटेर छिट्टै ऐन ल्याउने प्रयासमा मन्त्रालय लागेको छ,’ मन्त्री पोखरेलले भने।

उनले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न शिक्षामा पर्याप्त लगानी आवश्यक रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय अभ्यासअनुसार शिक्षा क्षेत्रमा कुल बजेटको करिब २० प्रतिशत लगानी गर्नुपर्ने भए पनि नेपालका लागि त्यो लक्ष्य हासिल गर्नु चुनौतीपूर्ण रहेको बताए। ‘हाल शिक्षा क्षेत्रमा विनियोजित बजेटको ७० प्रतिशत हिस्सा स्थानीय तहमा जाने गरेको छ,’ मन्त्री पोखरेलले भने, ‘विराटनगरबाट सुरु भएको शिक्षा संवाद सुदूरपश्चिमको धनगढीसम्म सम्पन्न भएको छ। त्यहाँबाट प्राप्त सुझावका आधारमा सबै पक्षलाई स्वीकार्य हुने विद्यालय शिक्षा ऐन ल्याउने तयारी भइरहेको छ।’

५५ वर्ष पुरानो शिक्षा ऐनलाई विस्थापित गर्दै नयाँ संघीय संरचना, बदलिँदो शैक्षिक आवश्यकता, प्रविधि, शिक्षक व्यवस्थापन र विद्यालयको गुणस्तर सुधारलाई सम्बोधन गर्ने अपेक्षासहित सरकारले नयाँ विद्यालय शिक्षा ऐन ल्याउने तयारी गरेको हो।

सरोकारवालाहरूले भने नयाँ ऐन केवल प्रशासनिक व्यवस्थापनको दस्ताबेज नभई बालबालिकालाई विद्यालयप्रति आकर्षित गर्ने, अभिभावकलाई विश्वास दिलाउने र निजी तथा सामुदायिक दुवै क्षेत्रका विद्यार्थीको शैक्षिक अधिकार सुनिश्चित गर्ने शिक्षा ऐन बन्नुपर्नेमा जोड दिएका छन्।
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
१३ घण्टा अघि
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस