सरकारले संसद्मा पेस गरेको विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै अखिल (क्रान्तिकारी) ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई ज्ञापनपत्र बुझाएको छ। सोमबार (आज) मन्त्रालय नै पुगेर क्रान्तिकारीका नेताहरूले मन्त्री पन्तलाई ज्ञापनपत्र बुझाएका हुन्।
सङ्गठनका महासचिव रोशन थापा मगरका अनुसार सो विधेयक संविधानको भावना, सङ्घीय संरचना, समान शिक्षाको सिद्धान्त र जनताको शिक्षा अधिकारविपरीत रहेकाले सङ्गठनले मन्त्रालयलाई सचेत गराएको हो। ज्ञापनपत्रमा संविधानको धारा ३१(२) मा व्यवस्था गरिएअनुसार सबै नागरिकलाई निःशुल्क र अनिवार्य आधारभूत शिक्षा सुनिश्चित गर्नुपर्ने तर, विधेयकले त्यसको ग्यारेन्टी नगरेको दाबी गरिएको छ।
यस्तै ज्ञापनपत्रमा सङ्घीयताको मर्मविपरीत प्रधानाध्यापक नियुक्ति अधिकार केन्द्रमा राखिएको भन्दै स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने माग गरिएको छ। सरकारी कर्मचारी र शिक्षकका छोराछोरीले अनिवार्य रूपमा सार्वजनिक विद्यालयमै पढ्नुपर्ने कानुनी व्यवस्था गर्नुपर्ने मागसमेत क्रान्तिकारीले गरेको छ।
सङ्गठनले शिक्षा प्रणालीलाई रोजगारीमुखी, व्यावसायिक र जीवन उपयोगी बनाउनु पर्नेमा जोड दिँदै वर्तमान संरचनाले विदेश पलायनलाई बढावा दिएको आरोप लगाएको छ। साथै, राहत शिक्षक र अस्थायी शिक्षकहरूलाई स्वाभिमानसहित सेवा समाप्त गर्न ‘गोल्डेन ह्यान्डसेक’ प्याकेजको व्यवस्था गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा गरिएको छ।
मदरसा, गुम्बा जस्ता परम्परागत शैक्षिक संस्थाहरूलाई उपेक्षा नगरी तिनको विशिष्टता मूल्याङ्कन गरिनुपर्ने पनि भनिएको छ। मातृभाषामा शिक्षाको सुनिश्चितता, निजी विद्यालयहरूलाई सहकारीमा रूपान्तरण गरी अन्ततः सार्वजनिक शिक्षामा गाभ्ने दीर्घकालीन योजना बनाइनुपर्ने लगायतका मागहरू पनि सङ्गठनले अघि सारेको छ।
सङ्गठनले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापालाई समेत उक्त ज्ञापनपत्र बुझाएको छ।
शिक्षा सभापति अम्मर बहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै क्रान्तिकारीका नेताहरू।
नेकपा (माओवादी केन्द्र) को विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले सार्वजनिक शिक्षालाई स्वार्थकेन्द्रित समूहको चङ्गुलबाट मुक्त गर्नुपर्ने बताएको छ।
विद्यालय शिक्षा विधेयकको विवादमाथि ध्यानाकर्षण भएको जनाउँदै क्रान्तिकारीले सार्वजनिक शिक्षा स्वार्थकेन्द्रित समूहबाट मुक्त गराउनुपर्ने जनाएको हो। 'विद्यालय शिक्षा विधेयकमार्फत सार्वजनिक शिक्षालाई विभिन्न स्वार्थकेन्द्रित समूहको चङ्गुलबाट मुक्त होस् भन्ने अपेक्षासहित संविधानमा आधारित शिक्षाको विषयलाई व्यावहारिक कार्यान्वयन गराउने विषयप्रति ध्यानाकर्षण गराउँदछौँ,' क्रान्तिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
क्रान्तिकारीले ७० लाखभन्दा बढी विद्यार्थीको भविष्यसँग जोडिएको विद्यालय शिक्षा विधेयकमा खेलबाड नगर्नसमेत सचेत गराएको छ। 'शिक्षक बनेर देशको सेवा गर्ने उद्देश्य बोकेका ऊर्जावान् युवाहरूको प्रतिस्पर्धाको मार्ग फराकिलो बनाउन शिक्षक नियुक्तिको विषय शत-प्रतिशत खुल्ला प्रतिस्पर्धामार्फत हुने व्यवस्था सुनिश्चित गर्दै ७० लाखभन्दा बढी विद्यार्थीहरूको भविष्यसँग प्रत्यक्ष जोडिएको विद्यालय शिक्षा विधेयक पारित गर्ने वातावरण बनाउन नेपाल सरकार समक्ष जोडदार माग गर्दछौँ,' विज्ञप्तिमा भनिएको छ।
अहिलेको विधेयकले विभेदकारी शिक्षा नीतिलाई कसरी निरुत्साहित गर्छ भन्ने विषय आम चासोको विषय बन्न पुगेको विज्ञप्तिमा उल्लेख छ। संविधानमा शिक्षालाई मौलिक अधिकारको रूपमा सुनिश्चित गरिएको उल्लेख गर्दै थप भनिएको छ, 'संविधानप्रदत मौलिक हकअनुरूप प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने र प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र नि:शुल्क तथा माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क प्राप्त गर्ने स्पष्ट व्यवस्था गरिएको छ। नयाँ शिक्षा विधेयकले नेपालको संविधान कार्यान्वयन गर्ने, सङ्घीयताको मर्म बोकेको, राज्यको पुनर्संरचनाअनुरूप बन्नु पर्दछ भन्ने हाम्रो सङ्गठनको स्पष्ट मान्यता हो।'
क्रान्तिकारीले शिक्षामा दोहोरो मापदण्ड कायम हुदाँ 'धेरै पैसा धेरै शिक्षा, कम पैसा, कम शिक्षा, छैन पैसा छैन शिक्षा' भन्ने परम्परा भत्काउन जरुरी रहेको औँल्याएको छ। विधेयकलाई संविधानअनुरूप बनाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री, प्रतिनिधिसभा मातहतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति, र सदस्यहरूले प्रभावकारी भूमिका खेल्नुपर्ने भनिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...