पार्टी नै प्रसाई प्रवृत्तिका प्रजनन् केन्द्र
३० चैत्र २०८१
•
४ मिनेट पाठ
पार्टी नै प्रसाई प्रवृत्तिका प्रजनन् केन्द्र
अन्ततः दुर्गा प्रसाईं पक्राउ परेका छन्। भारतीय प्रहरीको सहयोगमा असामबाट पक्राउ उनलाई शुक्रबार काठमाडौं ल्याइएको हो। गएको चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित राजतन्त्र पक्षीय प्रदर्शनमा आफूलाई कमान्डर घोषणा गरेका प्रसाईं त्यसलगत्तै फरार भएका थिए। हिंसात्मक त्यो प्रदर्शनमा दुई जनाको ज्यान गयो, २० भन्दा बढी अहिले पनि उपचाररत् छन्।




शुक्रबार नै काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि प्रसाईंलाई थप १२ दिन हिरासतमा राख्ने अनुमति प्रहरीलाई दिइसकेको छ। राज्यविरुद्धको कसुर अन्तर्गतको राजद्रोहको कसुरमा उनीमाथि म्याद थप भएको छ। यस्तो कसुर प्रमाणित भए २५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। योसँगै प्रसाईंविरुद्ध संगठित अपराधको कसुर पनि लगाइएको छ। प्रदर्शनस्थलमा ज्यान मार्ने नियतले गाडीले पेलेर अघि बढेको आरोपमा प्रसाईंविरुद्ध प्रहरीले पनि निवेदन दिने तयारी गरेका छन्। यसो भएमा उनलाई ज्यानसम्बन्धी कसुरदेखि ज्यान मार्ने उद्योगसम्मको मुद्दा चल्नेछ।

आज कट्टर राजा र हिन्दुवादी आवरणमा हिरासतमा परे पनि दुर्गा प्रसाईंको छवि हिजोदेखि नै विवादको पर्याय बनेको देखिन्छ। झापाको घरगाउँमा व्यवासायिक भैसीपालक प्रसाईं बीएन्डसी अस्पताल सञ्चालकका रूपमा पहिलोपटक जिल्लामा चिनिएका हुन्। ससुरालीसँग जग्गा विवाद सल्टाउन भूमिगत माओवादीको सहयोग लिने तहसम्म पुगेका भनिएका उनी संकटकालमा केही समय सेनाको हिरासतमा पनि परे। बीएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिलाउन डा.गोविन्द केसीलाई नेपाली विद्यार्थीलाई विदेश पठाउने माफियासम्म भने। जिल्ला माओवादीले सदस्यता खारेज गरिदिएपछि रुष्ट बने। तर, काठमाडौं आएर पुनः सदस्यता लिए। त्यहीक्रममा उनले भक्तपुरस्थित आफ्नो घरमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई मार्सी चामलको खाना खुवाइरहेको तस्बिर आफैंले सार्वजनिक गरेर भाइरल गराए। शीर्ष नेतृत्वलाई आफ्नो भान्सामा बोलाउन सक्ने हैसियत बनाएका प्रसाईं एमाले प्रवेश गरे। झापाका पुराना नेताहरूलाई त्यागेर ओलीले नै उनलाई केन्द्रीय सदस्यमा मनोनयन गरे। यतिमात्र होइन, उद्योग विभागका उपाध्यक्ष नै बनाइए। त्यहीबेला मेडिकल कलेज चलाउन बैंकबाट ऋण लिएको तर सरकारले सम्बन्धन नदिएका कारण ऋण तिर्न नसकेको भन्दै प्रसाईंले बैंकलाई शोषक भन्दै आफूजस्तै ऋणी बटुलेर प्रदर्शन पनि गरे ।

प्रतिनिधिसभाको निर्वाचनमा ओलीले झापा ३ बाट आफूलाई टिकट नदिई राप्रपाका राजेन्द्र लिङ्देनसँग सहकार्य गरेपछि प्रसाई चिढिँए। र, लगत्तै ओलीविरोधी राजा र हिन्दुवादी बने। पछि त प्रधानमन्त्री ओलीमाथि नै कम्बोडियाको टेलिकम कम्पनीमै पैसा राखेकोजस्ता गम्भीर आरोप लगाउन थाले। यो आरोपमा पक्राउ परे र गल्ती मान्दै रिहा पनि भए। त्यसयता सरकार र गणतन्त्रवादी दलहरूविरुद्ध अझ उग्र उनी राजा फकाईल्याउने भन्दै ‘महाअभियान’मा जुटन थाले। राजधानीमा लाखौं जनता उतारेर देशलाई श्रीलंका बनाउने, नेताहरूलाई जेल हाल्ने र बैंकमा आगो लगाइदिनेजस्ता धम्कि दिइरहे। दुई वर्षदेखि  जारी उनको यो अभियानको पहिलो आंशिक सफलता तब मिल्यो, जब गएको फागुन २५ मा पोखराबाट विमानमा काठमाडौं आउन लागेका पूर्वराजाले उपस्थित सहभागीलाई विमानस्थलमा ‘दर्शन’ दिए। यसको पछिल्लो श्रृंखला थियो चैत १५ को प्रदर्शन, जहाँ यसपटक प्रसाईं मात्र होइन, राजावादीहरू पञ्चायतका पूर्वगृहमन्त्रीसमेत रहेका नवराज सुवदीको नेतृत्वमा संगठित भएर साथ दिन आइपुगेका थिए।

तपाईं भन्न सक्नुहुन्छ, दुर्गा प्रसाईं व्यक्ति सम्पादकीयका विषय हुनसक्तैनन्। तर, यहाँ हामी प्रसाईं पात्र होइन, प्रवृत्तिको चर्चा गर्न खोजिरहेका छौं। र, दुर्गा प्रसाईहरू उत्पादन गर्ने उद्योगहरू सदाका लागि बन्द गर्नुपर्छ भनिरहेका छौं। विडम्बना के हो भने आजका दुर्गा प्रसाईं यिनै लोकतन्त्र र गणतन्त्रवादी दलहरूका नेतृत्वका उत्पादन हुन् जसले समयक्रममा पुल्पुल्याएर हुर्काइरहे। उपयोग र दुरूपयोग गरिरहे। यो प्रकरणमा दलहरूले बुझेनन् कि प्रसाईंले कतिबेला दलहरूबाटै शक्ति हासिल गरेर दलमाथि नै प्रहार गर्नेछन्। लोकतन्त्र र गणतन्त्रमाथि धावा बोल्नेछन् ।

सिद्धान्ततः दुर्गा प्रसाईं न कुनै वाद हुन् न विचार। हुन्थे त उनी आफू बाँचेमात्र राजा र हिन्दुराष्ट्र आउने चरम व्यक्तिकेन्द्रित, अवसरवादी अभिव्यक्ति दिँदैनथे। तर आज यिनै प्रसाईं राजा चाहनेका लागि मात्र नभई जसरी भए पनि देशको विद्यमान अवस्था बदल्ने अभिष्ट राख्ने असन्तुष्ट पंक्तिका लागि एक आवाज बनेका छन्। देश र लोकतान्त्रिक राजनीतिका लागि यो ठूलो दुर्भाग्य हो।

प्रसाईंले कानुन अनुसार सजाय पाउनुपर्छ यसमा दुईमत हुनै सक्तैन। तर, यो परिघटना पुनरावृत्ति हुन नदिने हो भने बेलैमा हाम्रा गणतन्त्रवादी पार्टी नेतृत्व रहेको प्रसाईप्रवृत्तिलाई परास्त गर्नुपर्छ। पार्टीमा विद्यमान प्रसाईंहरूलाई अन्त्य गरिनुपर्छ। फेरि अर्को प्रसाईं जन्मिने नसक्ने अवस्था सिर्जना गरिनुपर्छ। र, यसको प्रस्थान बिन्दु हो– शासनमा सुशासन र दलहरूभित्र उच्चतम् आन्तरिक लोकतन्त्रिक अभ्यास ।
अर्को समाचार
निर्यात निरन्तरता
०९ साउन २०८२
•
४ मिनेट पाठ
निर्यात निरन्तरता
निर्यात व्यापारमा सम्भावना भएर पनि नेपालले यसमा खोजी गरेको छैन। हाम्रो मुलुकले नयाँनयाँ क्षेत्र पहिचान गरी निर्यात व्यापार बढाउन सक्छ। हाम्रो मुलुकका निम्ति सम्भावना भएको क्षेत्र सोयाबिन तेल रहेछ भन्ने यसपटक थाहा भएको छ। एक वर्षमै नेपालबाट एक खर्ब ६ अर्ब ७९ करोड रूपैयाँको सोयाबिन तेल भारत र अस्ट्रेलिया निर्यात भएको खबर आफैंमा सुखद छ। यो अवधिमा देशको निर्यात व्यापार सबा खर्बले बढ्नु निकै आशालाग्दो पक्ष हो। स्वदेशमै उत्पादन गरेको सोयाबिनको कच्चा पदार्थबाट तेल तयार गरी निर्यात गर्न सकेको भए निकै राम्रो हुन्थ्यो।




एक आर्थिक वर्षमै निर्यात व्यापार ८२ प्रतिशतले बढेको छ। यो वृद्धिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जालमार्फत् खुसीसमेत व्यक्त गरेका छन्। निर्यातमा इतिहासमै ‘उच्च विन्दु’ हासिल भएको धारणा प्रधानमन्त्रीले व्यक्त गरेका छन्। गत आर्थिक वर्ष एक खर्ब २४ अर्ब रूपैयाँको निर्यात भएकोमा अहिले दुई खर्ब ७७ अर्ब तीन करोड रूपैयाँ बराबरका वस्तु निर्यात भएका छन्। यो खुसीयाली पछाडिको दिगोपन भने उल्लेख्य छ।

वास्तवमा हामीले जानीबुझी निर्यात व्यापार बढाउने काम गरेका छैनौं। कतिपय आन्तरिकरूपमा उत्पादन भएका वस्तुलाई प्रतिस्थापन गर्ने काम भएन। देशभित्रै उत्पादन हुन सक्ने फलफूल, तरकारी र खाद्यान्न विदेशबाट आयात गर्नुभन्दा यहीं उत्पादन गरेर उपभोग गर्नु राम्रो हो। त्यसका लागि यस्तो उत्पादन बढाउन सहयोग गर्नुपर्छ। आफ्नै देशमा उत्पादन भइरहेका वस्तु आयातमा जोड दिनुभन्दा तिनलाई सस्तो र सुलभ हुनसक्ने वातावरण तयार गर्नुपर्छ। देशमै गुणस्तरीय वस्तु उत्पादन हुने र आयातितभन्दा सस्तो हुने हो भने स्वदेशीलाई प्रोत्साहन हुन्छ।

वास्तवमा हामीले विश्व बजारमा प्रतिस्पर्धा गर्ने गरी वस्तु र सेवा उत्पादन गर्न सकेका छैनौं। हाम्रा वस्तु विश्व बजारका लागि महँगा हुन्छन्। वस्तु महँगो नहुन उत्पादन लागत कम हुनुपर्छ। उत्पादन लागत कम गर्न वस्तुको उत्पादन धेरै ठुलो मात्रामा हुनुपर्छ। चिनियाँ वस्तु संसारभरि धेरै सस्तोमा पाइनुको कारण यसको ठुलो मात्रामा हुने उत्पादन हो। त्यसै गरी चिनियाँ जनशक्ति सस्तो पनि छ। त्यही भएर संसारभरिका ठुला कम्पनीले चीनमा आएर उत्पादन बढाएका छन्। हाम्रो मुलुकले पनि आफ्नो जनशक्तिलाई विदेशी श्रम बजारमा कामका लागि पठाउनुभन्दा यहीं वस्तु र सेवा उत्पादन गरेर निर्यात बढाउन सकिन्छ। त्यसका लागि दीर्घकालीन सोच राखेर काम गर्न सक्नुपर्छ।

अझै पनि हाम्रो मुलुकले अद्वितीय किसिमका सामग्री उत्पादन गरेर विदेशमा बेच्ने अवसर छ। विशेष गरी हस्तकला, चिया, अलैंची, फाइबर, चिया, छुर्पी, जडीबुटीजन्य पदार्थ यसमा पर्छन्। अहिले तेलले निर्यात व्यापारको सम्भावना बढाए पनि यो दीर्घकालीन हुन सक्दैन। विदेशबाट कच्चा पदार्थ आयात गरी तेल निर्यात गर्ने अवस्थामा पुगेको हो। आफ्नै मुलुकबाट अत्यधिक मात्रामा भटमास उत्पादन गरेर तेल उत्पादन गरी निर्यात गर्ने हो भने स्थिति भिन्न हुन सक्छ। त्यसैले मूल्य अभिवृद्धि गर्न सक्ने किसिमका वस्तु उत्पादन गरी निर्यात बढाउन सकिन्छ।

अहिले सरकारले दिएको निर्यात अनुदानले केही हदसम्म भूमिका निर्वाह गरेको छ। नेपालले आफ्नै कच्चा पदार्थमा आधारित वस्तु उत्पादन गरी निर्यात गर्ने हो भने त्यसले अर्थतन्त्रमा सकारात्मक योगदान दिन सक्छ। सिमेन्ट उद्योगले त्यो सम्भावना देखाएको छ। कच्चा पदार्थको स्रोत राम्रो भएका कारण हाम्रो मुलुकमा गुणस्तीय सिमेन्ट उत्पादन हुन सक्छ। त्यसैले आफ्नो मुलुकका सम्भावना हेरेर वस्तु उत्पादनमा लाग्नु व्यापार घाटा कम गर्ने उपाय हुन सक्छ। हाम्रो देशमा गुणस्तरीय जडीबुटी छन्, तिनको प्रयोग गरी औषधि उत्पादन र निर्यात गर्न सकिन्छ। त्यसैगरी यहाँ उत्पादन हुने कृषिजन्य वस्तु र यसैमा आधारित अन्य उत्पादन हुनसक्छ। थाइल्यान्डले आँप, डुरियनलगायतका फलफूल प्रयोग गरी अनेकन प्याकेटयुक्त खाना निर्यात गर्ने गरेको छ। त्यसतर्फ पनि ध्यान दिनु उचित हुन्छ।

कुनै बेला नेपालले धानचामल निर्यात कम्पनी नै खोलेको थियो। अचेल हामी आफैंले आफूलाई चाहिने अनाजसमेत उत्पादन गर्न सकेका छैनौं। तरकारी र सागपातसमेत विदेशबाट ल्याउनुभन्दा किसानलाई प्रोत्साहित गर्न सक्नुपर्छ। हाम्रो देशमा किसानी दुःखी पेशाजस्तो बन्न पुगेको छ। दुःख गरेअनुसार फाइदा नभएपछि सबै यसबाट बाहिरिन थालेका छन्। त्यसकारण पनि हामीले आयातित कृषिजन्य वस्तुमा निर्भर हुनुपरेको छ। यसमा मात्रै निर्भर नहुने हो भने पनि ठुलो हिस्सा रकम विदेशिनबाट जोगिन्छ।

निर्यात बढ्यो भनेर खुसी हुँदा आयात बढेको पक्षलाई बेवास्ता गर्न मिल्दैन। आर्थिक वर्ष २०८१/८२ मा आयात १३.२५ प्रतिशतले बढेको छ। आयात दुई खर्ब ११ अर्ब १३ करोड रूपैयाँले बढेको छ। अघिल्लो आवमा १५ खर्ब ९२ अर्ब ९८ करोड रूपैयाँको वस्तु आयात भएकोमा गत आवमा १८ खर्ब चार अर्ब १२ करोड रूपैयाँको आयात भएको छ। आयातको सबैभन्दा ठुलो हिस्सा पेट्रोलियम पदार्थ हो। त्यसैले पेट्रोलियम पदार्थको ठाउँमा विद्युतीय वा हाइड्रोजन इन्धनतर्फ मुलुकलाई उन्मुख गराउन सक्नुपर्छ। यसले उल्लेख्यरूपमा हाम्रो आयात घटाउने छ। मुलुकको कुल व्यापार घाटा १५ खर्ब २५ अर्ब नौ करोड रूपैयाँ पुगेको छ। त्यसैले व्यापार घाटाको खाडल घटाउनेतिर ध्यान पुग्नु आवश्यक छ। 
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस