२०८० कात्तिक २२ मा उच्च अदालत पोखराले पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घण्टा खोल्न दिनु भनेर अन्तररिम आदेश गर्यो। लेकसाइडमा कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय कास्कीको नाममा अदालतले आदेश दिएको थियो।
गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुदा नं. २५ मा काठमाडौंका पर्यटकीय क्षेत्र ठमेल, दरवारमार्ग सहित पोखराको लेकसाइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रमा २४ सै घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने बताइएको थियो।
तर, त्यो कार्यान्वयन नभएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीलाई विपक्षी बनाएर रिट परेपछि अदालतले उक्त आदेश दिएको थियो। आदेश पाएपछि पर्यटन व्यावसायीले लेकसाइड २४ सै घण्टा खुला हुने भन्दै प्रचारप्रसार पनि गरेका थिए। कतिपय व्यावसायीलाई उक्त आदेशले राती अबेरसम्म व्यवासाय संचालन गर्न साथ मिलेको थियो।
अदालतको आदेश मात्र नभई गण्डकी प्रदेशका मुख्यमन्त्रीहरुले पनि पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घण्टा खोल्न व्यवासायीलाई अनुरोध गरेका थिए भने सुरक्षा निकायलाई सुरक्षा प्रवन्ध गर्न निर्देशन पनि दिएका थिए। सबैको चाँसो र प्रशासनको ताकेतासँगै लेकसाइड २४ सै घण्टा खुलेको प्रचार भयो।
तर, अहिले त्यही प्रचार व्यावसायीका लागि नै बोझ बनेको छ। पर्यटकले २४ सै घण्टा खुल्ने भनेर मध्यरातमा पनि सेवा माग गरेपछि व्यावसायीलाई व्यवस्थापनको सकस बनेको छ। सीमित व्यावसायीले मात्र त्यसको लाभ लिएको, तर बहुसंख्यक व्यावसायीले त्यो प्रावधानका कारण सकस खेप्नुपरेको व्यावसायीको भनाई छ। त्यसबाहेक रात्रीकालिन व्यवासायका कारण पछिल्लो समय सुरक्षा चूनौति थपिएको पनि उनीहरुको भनाई छ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन, ‘पोखरा २४ सै घण्टा खुल्ने भन्ने विषय प्रचार गरेर भ्रम फैलाइएको छ। लेकसाइडको रात्रीकालिन व्यावसाय २४ सै घण्टा खुल्ने भन्ने विषय अहिले पोखराको पर्यटनका लागि नै घातकसिद्ध हुन पुगेको छ।’ विभिन्न सरोकारवाला निकाय मिलेर बनाइएको ४२ बुँदे आचारसंहिता पालना गर्न सक्ने व्यावसायीले मात्र २४ सै घण्टा व्यवसाय खोल्न पाउने व्यवस्था रहेपनि सिंगो लेकसाइड र पोखरा रातभरि खुल्ला भन्ने हल्ला र भ्रम चलाइएको उनले बताए।
‘पोखरा रातभरि खुल्ला भन्ने फैलिएको भ्रमका कारण कतिपय आन्तरिक पर्यटकले राति दुईबजे पनि खाना अर्डर गर्ने गरेका छन,’ उनले भने, ‘मध्यरातमा जुनसुकै बेला भित्रिएका पाहुनाले सेवा माग गर्दा दिन सक्ने अवस्था छैन। सेवा नदिन पनि भएन। सेवा दिनका लागि अतिरिक्त कर्मचारी व्यवस्थापन गर्न सकस छ।’
रातीको समयमा पनि कर्मचारी राखेर व्यवासाय संचालन गर्ने हो भने व्यावसायीले तीन सिफ्टमा कर्मचारी व्यवस्था गर्नुपर्ने उनले बताए। ‘आठघण्टाको दरले कर्मचारी परिचालन गर्नुपर्छ। नत्र रातभरि सेवा दिन सक्ने अवस्था छैन,’ उनले भने, पर्यटकहरु रातभरि खुल्ला भनेको होइन, भनेर गुनासो गर्छन, हामी सेवा दिन सक्दैनौ।’ पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घण्टा खोल्ने व्यवस्थाले पोखराको पर्यटनमा कायापलट हुन्छ जस्तो गरि उ बेला प्रचार गरिए पनि अहिले त्यस्तो केही नभएको उनले बताए।
उनका अनुसार रात्रीकालिन व्यावसाय संचालन गर्नका लागि कास्की प्रशासन र व्यावसायी समेत मिलेर आचारसंहिता बनाएपनि त्यो पालना भएको छैन। ‘अनुगमन गर्ने भनिएपनि भएन। पूर्वाधार बिना यत्तिकै लागु गर्न सकिने अवस्था थिएन, तर जर्बजस्ती लागु गरिएको त्यो प्रावधानले व्यावसायीलाई साथ मिलेन,’ उनले भने, ‘व्यवस्थित भनियो, तर, झनै लथालिंग भएको छ।’
पोखरा घुम्न आएका पाहुनाले लेकसाइड सबै खुल्ने भन्ने बुझेकोले व्यावसायीमाथि दवाव थपिएको अध्यक्ष सुवेदीले बताए। ‘डान्स र डिस्कोमा रमाएर मध्यरातमा होटल फर्केका पाहुनाले होटलमा आएर खाना अर्डर गर्दा व्यावसायीलाई सकस बन्यो। पोखरा २४ सै घण्टा खुल्ला हो भनेर मध्यरातसम्म खुल्ने भनेर बुझियो,’ उनले भने, ‘हुन त होटलले त कुनैपनि बेला सेवा दिन सक्छन। तर, होटलमा बास बसेका पाहुन घुम्न निस्कने र मध्यरात मातेर फर्केपछि ती पाहुनालाई राती सेवा दिन सहज छैन। पहिल्यै जानकारी दिएर व्यवस्थापन गर्नु फरक कुरा हो।’
पर्यटकीय सेवा २४ सै घण्टा आवश्यक नभएको उनले बताए। ‘पुरानो निर्णयलाई लागु गर्न सक्ने अवस्था नभएपछि यसलाई पूर्नमुल्यांकन गर्नुपर्ने उनले बताए। ‘अहिले २४ सै घण्टाको लाभ आधादर्जन डिस्को र क्लवले लिएका छन। तर, अरु कसैलाई लाभ छैन,’ उनले भने, ‘केही व्यवासायीले त्यो बेला नबुझेका कारण यो समस्या थपिएको हो। आचारसंहिता लागु भएको लामो समय बितिसक्दा अहिलेसम्म एकपटक पनि अनुगमन भएको छैन।’
होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि ४२ बुँदे आचारसंहिता पालना गर्दै एउटाले व्यावसाय गर्दा अर्काेलाई बाधा नपुग्नेगरि व्यावसाय संचालन गर्ने भनिएपनि पालना नभएको बताउँछन। उनका अनुसार अदालतले लेकसाइडलाई २४ सै घण्टा खोल्नु भनेर आदेश दिएपछि स्थानीय प्रशासनको संयोजनमा ४२ बुँदे आचारसंहिता बनाएको थियो। त्यसले लेकसाइडलाई व्यवस्थित गर्ने भनिएको भएपनि हुन नसकेको उनले बताए।
‘अरुलाई असर नपर्नेगरि २४ सै घण्टा संचालन गर्ने भनिएको हो। तर, अहिले त्यो वातावरण छैन। मध्यरातमा मोटरसाइकलको डरलाग्दो आवाज निकालेर गुडाउने गर्दा स्थानीलाई असर परेको छ। बालबालिका, वृद्धवृद्धा देखि पाहुना सुत्न पाएका छैनन,’ पराजुली भन्छन, ‘हुन त यो आचारसंहिता लागु गर्दा पहिले पनि सबै सरोकारवाला खुसी थिएनन। तर, एकपटक प्रयास गरौं भनेपनि कार्यन्वयन गरिएको हो। व्यवस्थित तरिकाले संचालन गर्ने भनिएपनि हुन सकेन।’ लेकसाइड पछिल्लो समय अशान्त बनेको उनले बताए।
‘रातीमा मोटरसाइकलको डरलाग्दो आवाज सुनेका बिदेशीले बिहान उठेर डरत्रासको कुरा गर्छन। जुन अपेक्षाका साथ २४ सै घण्टा खोल्ने भनिएको हो। तर, व्यवासायले लाभ लिएनन,’ उनले भने, ‘अनुगमन पनि भएन। व्यावसायीमा अनुशासन पनि भएन। अब परिमार्जन गर्नुपर्छ। अब लेकसाइड २४ घण्टा खोल्न आवश्यक छैन।’
रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका पूर्व अध्यक्ष नरेश भट्टराई पनि पोखरालाई पर्यटकीय राजधानी बनाइएको र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पाहुना आउने अपेक्षासहित यो पहल थालिएपनि अनुगमन कतैबाट नभएकोले अहिले समस्या परेको उनले बताए।
‘पछिल्लो समय त सुरक्षा चूनौति झनै बढेको छ । २४ सै घण्टा खोल्ने भनेपछि मान्छे राती अबेरसम्म खाना खोज्ने भए। तर, व्यवस्थापन गर्न सहज भएन,’ उनले भने, ‘कतिपय व्यवासायीले व्यवस्थापन गरेका छन। तर, सीमित व्यावसायीले मात्र प्रभावकारी तरिकाले व्यवासाय संचालन गरे । धेरैतिर समस्या बढेको छन। त्यसैले यसलाई पुर्नबिचार गर्ने बेला भएको छ।’
भविश्यमा अन्तर्राष्ट्रिय उडान पर्याप्त भएर पाहुना थपिएको अवस्थामा संचालन समय बढाउन सकिने उनले बताए। ‘राती २ बजेसम्म मात्र गर्ने की भन्नेमा व्यवासायीले चाँसो लिएका छन। अहिलेसम्म व्यवस्थापन नै भएन। कसले के गर्ने भन्ने नै भएन। सुरक्षा चूनौती थपिएको छ,’ भट्टराईले भने।
पछिल्लो समय पोखरामा भारतीय पाहुना आगमन उच्च छ। पाहुना आगमन उच्च हुँदा पोखरामा भारतीय सवारीको पनि उत्तिकै भीडभाड छ। पाहुना लिएर आएका ती सवारी जथाभावी पार्किङ गर्दा ट्राफिक व्यवस्थापन असहज भएको, भित्री गल्लीमा ठूला आकारका सवारी रोक्दा लामो समय सडकको आउजाउ नै रोकिने गरेको तथा तिब्रगतिमा सवारी हुइँक्याउने गर्दा दुर्घटनाको जोखिम बढेपछि प्रहरीले भारतीय पर्यटक सवार सवारीका लागि सचेतनामुलक कार्यक्रम थालेको छ।
त्यसका लागि कास्की प्रहरी सहित ट्राफिक प्रहरीले लेकसाइड क्षेत्रमा भारतीय सवारीका चालकलाई जानकारी दिन थालेको हो। लेकसाइड लगायतका पर्यटकीय क्षेत्रमा भारतीय पर्यटकको बढ्दो चापलाई मध्यनजर गर्दै सडक तथा सवारी व्यवस्थापन र सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले सचेतनामूलक अभियान सञ्चालन गरिएको प्रहरीको भनाई छ। भारतीय सवारीका चालकलाई भेटेरै पोखराको ट्राफिक व्यवस्थापन, पार्किङस्थल, एकतर्फी सडक तथा गाडीको स्पीडबारे जानकारी गराएको प्रहरीको भनाई छ।
उक्त अभियान अन्तर्गत पर्यटकीय क्षेत्रका सडकको अवस्था, ट्राफिक नियम, सवारी पार्किङ व्यवस्थापन तथा कुनै पनि घटना वा आपत्कालिन अवस्थामा सम्पर्क गर्नुपर्ने हेल्पलाइन नम्बरको बारेमा समेत जानकारी दिलाइएको छ। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, गगनगौंडाका एसपी गोबिन्दराज काफ्लेले पोखरामा अहिले अधिक मात्रामा भारतीय पाहुना भित्रिएको र ती पाहुना लिएर आएका सवारी साधनलाई जथाभावि पार्किङ गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको गुनासोपछि अनुगमन गर्दै भारतीय सवारीका चालकका लागि सचेतनामूलक कार्यक्रम गरिएको बताए।
‘यो पटक पाहुना लिएर आएका भारतीय गाडीको संख्या अधिक नै बढेको छ। लेकसाइडको सडक यसैपनि साँघुरो छ। त्यसैमाथि जथाभावि पार्किङ गर्ने, लामो समय सवारी रोकेर यात्रु चढाउने र ओराल्ने गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ,’ उनले भने, ‘ट्राफिक प्रहरीलाई पनि व्यवस्थापनमा चूनौती बढेको छ। त्यसैमाथि दुर्घटनाको त्रास बढेको छ।’ प्रहरीका अनुसार लेकसाइडमा यतिसम्म भद्रगोल तरिकाले सवारी पार्किङ गर्न थालिएको छ की कतिपय ठाउँमा त पैदल हिड्ने बाटो समेत छैन। सवारीलाई फुटपाथमै उकालेर पार्किङ गर्ने गरिएको छ।
‘पाहुना आगमन हुनु सकारात्मक हो। तर, त्यो सँगै सवारीको भीडले अस्तव्यस्त भएको छ। लेकसाइडका सवारी जाम लागेर अरु सर्वसाधारणको यात्रा नै अवरुद्ध हुने गरेको छ। यस्तो अस्तव्यस्तताले अत्यावश्यक सवारीको यात्रालाई झनै चुनौती बढाएको छ,’ उनले भने, ‘मुख्य सडकमा मात्र नभई भित्री गल्लीमा पनि उस्तै अस्तव्यस्त छ। ठूला आकारका सवारी भित्री गल्लीमा जबर्जस्ती लैजाँदा सडक नै ढाक्ने गरेको छ।’
‘व्यावसायीले पाहुनालाई होटलमा राख्ने, तर, गाडीको पार्किङका लागि ठाउँ नदिँदा समस्या भएको हो। त्यसमा व्यावसायी पनि जिम्मेवार हुनुपर्छ। व्यावसायीले व्यवस्थापनमा सघाएको भए त्यो समस्या यत्तिसारो हुने थिएन,’ उनले भने, ‘कतिपय होटलका पार्किङस्थल खालि छन्। तर, त्यही होटलका पाहुनाका सवारी सडकमा राख्ने गरिएको छ। त्यसैले व्यवस्थापन अस्तव्यस्त भएको हो।’
अहिले पोखरमा भारतीय पाहुना लिएर आएका सवारी तिब्रगतिमा भित्री सडकमा कुँदाउदा त्यसले दुर्घटनाको जोखिम पनि बढाएको उनले बताए। प्रहरीको यो अभियानले गण्डकी प्रदेशको समग्र पर्यटन प्रवद्र्धन तथा पर्यटकको सुरक्षित यात्रामा सकारात्मक योगदान पुग्ने उनले बताए। बजारभित्र मात्र नभई आसपासका पर्यटकीय गन्तव्यमा पनि भारतीय सवारीको उत्तिकै भीडभाड रहेको छ।
‘यो अभियानकै रुपमा लिएर अघि बढाउने प्रयास भएको छ। व्यावसायीले व्यवस्थापन गर्न नजान्दा पनि समस्या छ। पाहुनाका लागि मात्र ठाउँ दिएर भएन, सवारी कहाँ रोक्न हुन्छ वा हुँदैन भनेर जानकारी पनि दिनुपर्छ। कुन बाटोमा सवारी लैजान हुने की नहुने भनेर पनि व्यावसायीले चालकलाई जानकारी दिनुपर्छ।’ सडकलाइ नै पार्किङस्थल बनाइएको यो अवस्थमा सवारी कहाँ जान पाउने वा नपाउने भन्ने थाहा नहुँदा पनि अस्तव्यस्त भएको उनले बताए।
सवारी पार्किङ गर्ने ठाउँ नभएपछि जग्गा भाडामा लिएर भएपनि व्यवस्थापन गर्न भनेको उनले बताए। ‘पोखरा भित्रका पार्टीप्यालेसको पार्किङस्थल पनि उपयोग गर्न सकिन्छ। पोखराका केही पार्टीप्यालेसको पार्किङस्थल उपयोग गर्न सक्यो भने त्यसले सहज बनाउँछ। त्यसबाहेक सार्वजनिक जग्गालाई उपयोग गरेर भएपनि पार्किङस्थल बनाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘होटलले पाहुनालाई पनि सचेत गराउनुपर्छ। व्यवस्थापनमा व्यावसायीले पनि सघाउनुपर्छ।’
पर्यटन व्यावसायी पनि यो पटक अनुमान गरे भन्दा बढि संख्यामा भारतीय पाहुना आउँदा व्यावस्थापनमा केही कमजोरी भएको बताउँछन्। ‘चालकलाई भेटेर उनीहरुलाई सम्झाउने र बुझाउने गरिएको छ। पाहुना लिएर बारम्बार आएका चालकले पार्किङस्थलबारे जानकारी पनि पाउनुपर्छ। पहिलो पटक आउनेलाई के गर्न हुने र नहुने भनेर प्रहरीले सम्झाएको छ। यसको व्यवस्थापनमा हामी व्यावसायी पनि सक्रिय हुनुपर्ने अवस्था छ,’ होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भने। उनले पनि पोखरामा यतिबेला अधिक मात्रामा भारतीय पाहुना आउँदा यहाँ भारतीय सवारीको भीड अधिक बढेको बताए।
‘हामीले सोचभेन्दा बढि पाहुना आएकोले व्यवस्थापनमा केही समस्या थपिएको हो। व्यावसायीले भारतीय सवारीका चालकलाई कहाँ जान हुने र जान नहुने भनेर जानकारी पनि दिनुपर्छ। नजिकैका गन्तव्यमा जाने हो भने सवारी लिएर जानुपर्ने जरुरी छैन। कतै पार्किङ गरेरै हिड्दै जाँदा पनि फरक पर्दैन भनेर चालकलाई सचेत बनाउने काम व्यावसायीको हो,’ उनले भने, ‘योपटक भीड बढेकोले केही समस्या भएकै हो। यसलाई व्यवस्गथापन गर्नका लागि व्यावसायी पनि सक्रिय हुनेछन।’
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...