रेल्वे सेवा ७९ करोड ऋणमा
०६ वैशाख २०८३
•
३ मिनेट पाठ
रेल्वे सेवा ७९ करोड ऋणमा
नेपालको एक मात्र रेल्वे सेवा प्रत्येक वर्ष घाटामा गइरहेको छ । रेल्वे सेवा घाटामा गइरहेकाले योजनाबद्ध रूपमा कार्यसम्पादन गर्नुपर्ने र व्यवस्थापनमा  सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।




लामो समयदेखि महाप्रबन्धक पद रिक्त रहेकाले व्यवस्थापनमा समस्या हुँदै आएको भएको नेपाल रेल्वे कम्पनी लिमिटेडका कर्मचारीहरू बताउँछन् । लिमिटेडका अनुसार पछिल्लो पाँच वर्षको तथ्याङ्कले कम्पनीको आम्दानीभन्दा खर्च करिब तेब्बरभन्दा बढी रहेको देखाउछ । सोही कारण रेल्वे सेवा दीर्घकालीन रूपमा आर्थिक सङ्कटतर्फ गइरहेको जानकारहरू बताउँछन् ।

कम्पनीको व्यावसायिक कार्ययोजना, २०८२ अनुसार आर्थिक वर्ष २०७६/७७ देखि आव २०८०/८१ सम्म रु १९ करोड २१ लाख आम्दानी हुँदा रु ६७ करोड ३७ लाख खर्च भएको उल्लेख छ । पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्र रु आठ करोड ५० लाख आम्दानी हुँदा रु २६ करोड २७ लाख खर्च भएको कम्पनीका तत्कालीन महाप्रबन्धक निरञ्जन झाले बताए ।  

उनका अनुसार अहिले मासिक आम्दानी करिब रु ७५ लाख भए पनि खर्च रु एक करोड २९ लाख पुग्ने गरेको छ । आम्दानीले खर्च धान्न नसक्दा कम्पनीले सरकारको जमानीमा ऋण लिँदै सञ्चालन गर्नुपरेको झाको भनाइ छ । “विसं २०८१ असार मसान्तसम्म साँवा र ब्याजसहित कुल ऋण रु ७९ करोड नाघिसक्दा कम्पनीमाथि थप आर्थिक दबाब सिर्जना गरेको छ ”, उनले भने, “यात्री सेवाका हिसाबले भने रेल प्रभावकारी मानिएको छ ।”  

पूर्वमहाप्रबन्धक झाका अनुसार भारतको जयनगरबाट जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालन भइरहेको रेल सेवा दैनिक तीन पटक सञ्चालन हुँदै आएको छ । घाटाको प्रमुख कारणमध्ये भारतीय प्राविधिक कर्मचारीमा हुने उच्च खर्च मुख्य मानिएको उनको भनाइ छ ।  

हाल यहाँ १७ जना भारतीय कर्मचारी कार्यरत रहेका जनाउँदै पूर्वमहाप्रबन्धक झाले त्यसका लागि कम्पनीले भारतीय कोंकन कम्पनीलाई मासिक करिब रु एक करोड १२ लाख भुक्तानी गर्दै आएको बताए । उनका अनुसार नेपालीतर्फ १०३ कर्मचारीको कुल तलब रु १७ लाख छ ।  

स्थायी प्राविधिक जनशक्तिको अभाव, वर्कसपको कमी, स्वदेशी चालक तथा स्टेसन मास्टरको अभाव, फ्युलिङ स्टेसन नहुनु र इन्धनसमेत भारतबाट ल्याउनुपर्ने अवस्थाले सञ्चालन खर्च अझ बढाएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । साथै कम्पनी लामो समयदेखि महाप्रबन्धकविहीन रहेको हुँदा व्यवस्थापन कमजोर बनेको छ ।  

विसं १९९४ मा सुरु भएको रेल सेवा २०७० मा ब्रोड गेज विस्तारका लागि बन्द गरिएको थियो । विसं २०७८ चैत १९ देखि पुनः सञ्चालनमा आएको रेल हाल ५२ किलोमिटर क्षेत्रमा विस्तार भइसकेको छ । कम्पनीले रेल्वेको आम्दानी बढाउन तथा आत्मनिर्भर बन्न विभिन्न विकल्प अघि सारेको छ । रक्सौलस्थित २८ एकड जग्गा भाडामा दिँदा वार्षिक करिब रु आठ करोड आम्दानी हुने अनुमान गरिएको छ ।

साथै पुरानो न्यारो गेज रहँदाको कोइला इन्जिन सहितका चीजहरुलाई रेल म्युजियम स्थापना गरी पर्यटनमार्फत आय बढाउने योजना पनि अघि सारेको छ । स्थानीय व्यापारीहरूले यात्रु सेवासँगै मालसामान ढुवानी सेवा विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

स्थानीयका अनुसार यात्रु मात्र बोक्ने सेवाबाट नाफा सम्भव छैन । तत्कालीन महाप्रबन्धक झाले नेपाल रेल्वे कम्पनीले आफ्नो कम्पनीलाई व्यावसायिक तथा नाफामूलक बनाउन कार्गो रेल्वे सेवा शीघ्र सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका थिए । उनले आफ्नो कार्यकालमा रेल्वेमा वोगी थपेर वा नयाँ रेल थपेर कार्गो सेवा सञ्चालन गर्नुपर्ने विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको बताए ।  

भारतको कलकत्ता बन्दरगाहबाट सस्तो दरमा नेपालमा मालसमान ढुवानी गर्ने कार्गो रेल्वे सेवा सञ्चालनका लागि पहिलेदेखि जनकपुर क्षेत्रका व्यवसायीले माग गर्दै आए पनि हालसम्म सञ्चालन हुन सकेको छैन । जनकपुरका व्यवसायीका अनुसार कार्गो सेवा सञ्चालन भएमा मालसमान ढुवानीका लागि सहज हुनुका साथै सस्तो पनि हुने थियो ।

समयमा व्यवस्थापन सुधार, स्वदेशी दक्ष जनशक्ति उत्पादन, मालवाहक सेवा विस्तार र ऋण व्यवस्थापन गर्न सके रेल सेवा नाफामुखी बन्न सक्ने जानकारहरू बताउँछन् । बढ्दो ऋणले नेपालको एकमात्र रेल सेवा थप सङ्कटमा पर्ने निश्चितजस्तै देखिएको धनुषाका ६० वर्षीय रामकुमार झाले बताए । रेलले दैनिक जीवन सहज बनाएकाले यसको थप विस्तार र उचित व्यवस्थापन हुनुपर्नेमा उनले जोड दिए ।  रासस
अर्को समाचार
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
२ घण्टा अघि
•
१ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
मुस्ताङ। नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य सुरु हुनसकेको छैन।




विसं २०७९ फागुनमा कोरलानाका क्षेत्रमा भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा पोस्टलगायतका संरचना निर्माण गर्ने उद्देश्यले सरकारले डिपिआर सर्भे गरेको थियो। त्यसअघि नै नाकाको नेपालतर्फ करिब एक हजार रोपनी जग्गा भन्सारलगायतका संरचना निर्माणका लागि नेपाल सरकारका नाममा प्राप्ति गरिएको थियो।

चीनसँगको व्यापारिक मार्ग विस्तार गर्ने उद्देश्यले गरिएको सर्भे दुई महिनासम्म सञ्चालन भएको थियो। सो क्रममा प्रस्तावित पूर्वाधार निर्माणस्थलको भौगर्भिक अवस्था र माटो परीक्षणसमेत गरिएको थियो। तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल इन्टरमोडल यातायात विकास समितिको योजनाअनुसार भन्सारसहितका आवश्यक संरचना निर्माणका लागि डिपिआर तयार गरिएको थियो।

सितारा इन्टुसीप–फुलराइट जेभीले रु एक करोड लागतमा ठेक्का सम्झौता गरी डिपिआर सर्भे सम्पन्न गरेको थियो। प्रतिवेदन सरकारलाई बुझाइएको लामो समय बितिसक्दासमेत पूर्वाधार निर्माणको काम सुरु नहुनु दुखद भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताए।

चीनसँग सीमा जोडिएका नाकामध्ये कोरलानाका महत्वपूर्ण वैकल्पिक व्यापारिक नाकाका रूपमा स्थापित भइसके पनि आवश्यक पूर्वाधार नहुँदा निकासी तथा पैठारी व्यापार व्यवस्थापन र पारवहन नाकाका रूपमा विकास गर्न समस्या भइरहेको अध्यक्ष विष्टको भनाइ छ।

नेपाल–चीन उत्तरी कोरलानाका उपल्लो मुस्ताङका नागरिकका लागि खुला गरिएको तीन वर्ष भइसकेको छ भने वैकल्पिक व्यापारिक नाकाका रूपमा सञ्चालनमा आएको पनि दुई वर्ष बितिसकेको छ। गत वर्ष यस नाकाबाट रु छ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको थियो। चालु आर्थिक वर्षको पहिलो चार महिनामै रु १२ अर्बभन्दा बढी राजस्व सङ्कलन भइसकेको छ।

पछिल्लो समय कोरलानाकाबाट दैनिक ६० देखि ७० वटासम्म कन्टेनर र करिब १०० विद्युतीय गाडी नेपाल भित्रिने गरेका छन्। तर, आवश्यक भौतिक पूर्वाधार नहुँदा नाकाको सञ्चालन तथा सवारी व्यवस्थापनमा समस्या देखिएको छ।

तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा बन्द रहेको अवस्थामा नेपाल–चीन जोड्ने कोरलानाकामा व्यापारिक चहलपहल बढेको छ। बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै दैनिक सयौँ कन्टेनर तथा विद्युतीय सवारीसाधन आवतजावत गरिरहेका छन्। नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि लोमान्थाङ–४ न्हेचुङस्थित भन्सार यार्डमा कन्टेनर र विद्युतीय सवारीको चाप बढेको छ। सडकका तीन लेनसम्म ढाकिने गरी कन्टेनर पार्किङ गर्दा कोरलानाका जाने मुख्य सडकमा यातायात आवागमन प्रभावित हुने गरेको छ।

सुक्खा बन्दरगाह नहुँदा कन्टेनर सडकमा अव्यवस्थित रूपमा रोक्नुपर्ने अवस्था रहेको र विद्युतीय गाडीसमेत खोला किनार तथा भिरको छेउमा असुरक्षित रूपमा राख्नुपर्ने बाध्यता रहेको बिवाइडी गाडी आयातकर्ता साइमेक्स इङ्कका प्रतिनिधि धर्मवीर मण्डलले बताए। नाकामा आवश्यक पूर्वाधार र चार्जिङ स्टेसन नहुँदा थप समस्या भइरहेको उनको भनाइ छ।

कोरलानाकाको अवलोकनमा सङ्घ तथा प्रदेशका मन्त्री र विशिष्ट व्यक्तिहरू पुग्ने गरे पनि पूर्वाधार निर्माणका लागि आश्वासनबाहेक ठोस काम अघि बढ्न नसकेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। गण्डकी प्रदेशको आर्थिक गतिविधि र व्यापारका लागि महत्वपूर्ण मानिएको यस नाकाको पूर्वाधार निर्माणमा ढिलाइ गर्न नहुने उनीहरूको माग छ।

यसै साता कोरलानाकाको अवलोकनमा पुगेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको टोलीसँग पनि स्थानीय जनप्रतिनिधिले नाकाबाट राजस्व सङ्कलनमा मात्र नभई आवश्यक पूर्वाधार निर्माणमा समेत ध्यान दिन आग्रह गरेका थिए। समितिका सभापति आशिष गजुरेलसमक्ष उनीहरूले कोरलानाकाको पूर्वाधार निर्माण र पहुँचमार्गको सडकलाई जतिसक्दो छिटो सहज बनाउन माग गरेका थिए।

कोरलानाका क्षेत्रमा मात्र नभई मुस्ताङ भन्सार कार्यालय रहेको लोमान्थाङ–४ न्हेचुङमा पनि सरकारी निकायका लागि विसं २०७५ मै जग्गा उपलब्ध गराइएको थियो। कोरलानाकास्थित लोमान्थाङ क्षेत्रमा विभिन्न सरकारी निकायका लागि एक हजार ४३६ रोपनी जग्गा उपलब्ध गराइएको थियो। त्यस्तै, नेपाली सेनालाई लोमान्थाङको थुर्लुङ फाँटमा एक हजार २७१ रोपनी जग्गा उपलब्ध गराइएको थियो।

न्हेचुङमा भन्सार कार्यालयका लागि १०९ रोपनी, अध्यागमन कार्यालयका लागि १२ रोपनी, नेपाल प्रहरीका लागि १३ रोपनी र सशस्त्र प्रहरीका लागि ३३ रोपनी जग्गा उपलब्ध गराइएको थियो। उपलब्ध गराइएको जग्गामध्ये सशस्त्र प्रहरीले भवन निर्माण गरिसकेको छ भने नेपाल प्रहरीले हालै भवन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ। भन्सार र अध्यागमन कार्यालयका भवन भने अझै निर्माण हुन सकेका छैनन्। भन्सार कार्यालयको स्तरोन्नति कार्य भने आंशिक रूपमा क्रमागत रूपमा भइरहेको छ। रासस
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस