कमला पुल मङ्सिरदेखि सञ्चालन गर्ने तयारी, हुलाकी सडकको सीमाभित्रका संरचना हटाइँदै
१९ कार्तिक २०८३
•
४ मिनेट पाठ
कमला पुल मङ्सिरदेखि सञ्चालन गर्ने तयारी, हुलाकी सडकको सीमाभित्रका संरचना हटाइँदै
तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषाको जनकपुरधामस्थित कदमचोकदेखि कमला नदीको पुलसम्म सडक सीमाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालिएको छ।




हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले सडक सीमाभित्र निर्माण गरिएका घर, टहरा तथा घुम्ती पसल हटाउन थालेको हो। पटकपटक सूचना जारी गर्दा पनि सम्बन्धित व्यक्तिले संरचना नहटाएपछि हटाउने काम अघि बढाइएको कार्यालय प्रमुख कृष्णकुमार महतोले जानकारी दिए।

उनका अनुसार सडक सीमाभित्रका संरचनाका कारण सडक निर्माण तथा विस्तारको काम प्रभावित भइरहेको छ। सडकसीमा क्षेत्र खाली गर्न नसक्दा केही स्थानमा सडक निर्माणकार्य अझै सुरु हुन सकेको छैन। आवश्यक परे बल प्रयोग गरेर भए पनि त्यस्ता संरचना हटाइने उनले बताए।

उक्त सडकखण्डको अधिकांश भाग कालोपत्र भइसकेको छ भने धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण अन्तिम चरणमा पुगेको छ। पुल आगामी मङ्सिरदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रमुख महतोले जानकारी दिए।

पुल सञ्चालनमा आएपछि उक्त सडकखण्डमा सवारीसाधनको चाप बढ्ने भएकाले सडक सीमाभित्रका संरचना हटाउन थालिएको उहाँको भनाइ छ। मङ्सिरको पहिलो साता प्रधानमन्त्री बालेन्द्र शाहबाट सडकखण्डको निरीक्षण हुनसक्ने तयारीसमेत भइरहेको उनले बताए।

विसं २०६८ मा कमला पुल निर्माणको ठेक्का पप्पु–लुम्बिनी जेभीले पाएको थियो। विसं २०७८ असारमा पुल उद्घाटनको तयारी भइरहेका बेला आएको बाढीले पुलका पिलर भाँचिएपछि निर्माण सम्पन्न हुन सकेको थिएन। पुल क्षतिग्रस्त भएपछि स्थानीयवासीले लामो समयसम्म नदी वारपार गर्न डुङ्गाको सहारा लिनुपरेको थियो।

पुल पुनर्निर्माणका क्रममा देखिएका प्राविधिक तथा अन्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरिएपछि निर्माणले गति लिएको प्रमुख महतोले बताए। उनका अनुसार पुलको १० नम्बर पिलर निर्माण सम्पन्न भइसकेको छ भने सुपर स्ट्रक्चरको ढलान भइरहेको छ। पुलको फाउन्डेसनसहित तीन वटा पिलरको सवलीकरण तथा सुपर स्ट्रक्चरको स्ल्याब ढलान कार्य अन्तिम चरणमा पुगेको छ।

पुलका दुवैतर्फ जोडिने सडकमा माटो भर्ने काम सम्पन्न भएपछि मङ्सिरदेखि सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ।

यसैबीच, हुलाकी सडकअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको कुल ४०६ दशमलव ४३ किलोमिटरमध्ये हालसम्म ३४७ दशमलव ६३ किलोमिटर सडक कालोपत्र भएको छ। उक्त सडकखण्डमा पर्ने २४ वटा पुलको निर्माणसमेत सम्पन्न भइसकेको छ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका सूचना अधिकारी रञ्जितकुमार रायका अनुसार सिरहामा कुल ५७ दशमलव ५२ किलोमिटर सडकमध्ये २९ दशमलव ९८ किलोमिटर निर्माण सम्पन्न भएको छ भने २७ दशमलव ४६ किलोमिटर निर्माणाधीन अवस्थामा छ।

त्यस्तै, धनुषामा कुल ८९ दशमलव ५२ किलोमिटरमध्ये ७४ दशमलव ५८ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने १४ दशमलव ९४ किलोमिटर निर्माणाधीन छ।

महोत्तरीमा कुल ९३ दशमलव पाँच किलोमिटरमध्ये ९१ दशमलव ५६ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने एक दशमलव ९४ किलोमिटर निर्माण हुन बाँकी छ।

सर्लाहीमा कुल १६६ दशमलव दुई किलोमिटरमध्ये १५१ दशमलव ५१ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने १४ दशमलव ५१ किलोमिटर निर्माणाधीन अवस्थामा रहेको सूचना अधिकारी रायले जानकारी दिए।

आर्थिक वर्ष २०८२/८३ भित्रै हुलाकी सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि सडक सीमाभित्रका घरटहरा हटाउन भएको ढिलाइ र विभिन्न स्थानमा जग्गासम्बन्धी विवादका कारण केही काम प्रभावित भएको कार्यालय प्रमुख महतोले बताए। बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न निरन्तर प्रयास भइरहेको उनको भनाइ छ।

हुलाकी सडक विस्तार तथा स्तरोन्नतिले ग्रामीण क्षेत्रको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्न थालेको स्थानीय जनप्रतिनिधि तथा व्यवसायीले बताएका छन्। सडक निर्माणले गाउँ र बजारबीचको दूरी घटाउनुका साथै कृषिउपजको बजारीकरण, व्यापार व्यवसाय र जग्गाको मूल्यमा वृद्धि भएको उनीहरूको अनुभव छ।

सिरहाको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष मेहताका अनुसार हुलाकी सडक विस्तार तथा स्तरोन्नतिले जिल्लाका आधा दर्जन स्थानीय तहको विकासमा योगदान पुर्‍याएको छ। सडक सञ्जाल विस्तारसँगै स्थानीयवासीलाई आवागमन तथा दैनिक कामकाजमा सहज भएको उनले बताए।

त्यस्तै, धनुषाको औरही गाउँपालिकाका अध्यक्ष उमाशङ्कर प्रसाद साहले हुलाकी राजमार्ग निर्माणसँगै आसपासका क्षेत्रमा जग्गाको मूल्य उल्लेख्य रूपमा बढेको बताए।

'हुलाकी राजमार्ग बन्नुअघि प्रतिकठ्ठा रु २० लाखमा मुस्किलले बिक्री हुने जग्गा अहिले रु ६० देखि ७० लाखसम्ममा बिक्री हुन थालेको छ,' उनले भने, 'सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि जग्गाको मूल्य अझ बढ्ने अपेक्षा गरेका छौँ।'

धनुषाको विदेह नगरपालिकाका व्यापारी अशोक साहका अनुसार पहिले सडक जीर्ण हुँदा गाउँबाट बजारसम्म आउन स्थानीयवासीलाई कठिनाइ हुने गरेको थियो। अहिले आवागमन सहज भएपछि गाउँका उपभोक्ता बजारसम्म पुगेर किनमेल गर्न थालेका छन्। 'सडक निर्माणपछि गाउँ र बजारबीचको सम्बन्ध थप नजिकिएको छ। स्थानीयवासी सहज रूपमा बजार आउन थालेपछि व्यापार व्यवसाय पनि बढेको छ,' उनले भने।

हुलाकी सडक निर्माणले ग्रामीण बस्तीलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नुका साथै कृषि, पर्यटन, व्यापार तथा उद्योग व्यवसायको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। सडक निर्माणसँगै स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना हुने र समग्र मधेस प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ।

नेपालले गरेको रेखाङ्कनअनुसार पूर्वदेखि पश्चिमसम्म फैलिएको हुलाकी राजमार्गको कुल लम्बाइ एक हजार ७९२ किलोमिटर छ। मधेस प्रदेशका आठवटै जिल्लामा सडक तथा पुल निर्माणको काम अघि बढेसँगै विगतमा दुर्गम मानिएका ग्रामीण क्षेत्र क्रमशः यातायात सञ्जालमा जोडिँदै गएका छन्।
अर्को समाचार
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
७ घण्टा अघि
•
२ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।




कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।

शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।

‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’

पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।

सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।

सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस