स्पेनको भियलगार्दो बस्ने नेपालीलाई आवास र कामको सुनिश्चितता
०३ फागुन २०८२
•
८ मिनेट पाठ
स्पेनको भियलगार्दो बस्ने नेपालीलाई आवास र कामको सुनिश्चितता
स्पेनको आल्वासेतेस्थित शान्त गाउँ भियलगार्दो दिनहुँ झिसमिसेमा र राती अबेरसम्म निकै व्यस्त हुन्थ्यो। केही गाडीहरू मानिस बोकेर हुइँकिन्थे। एकाबिहानै र मध्यरातमा खेती गर्ने श्रमिकहरूको चहलपहल हुन्थ्यो। दिनभर भने चरोमुसो केही नै नभएजस्तो देखिन्थ्यो।




च्याउ उमार्ने छाप्राभित्र सयौं नेपाली र भारतीयहरू केही समय शरीरलाई आराम दिँदै भविष्य कोरिरहेका थिए। छाप्राभित्र न झ्याल थिए, न व्यवस्थित बसाइ थियो। ठ्याक्कै भेडाबाख्राको खोरजस्तो!

युरोपका विभिन्न देशमा पीडा बोकेर दुःख बिसाउँदै कमाउने सपना बटुलेर स्पेन आएकाहरूको कष्टकर दैनिकीबारे प्रहरीले भने निगरानी गरिरहेको थियो। अगष्ट २६ मा आल्वासेतेमा दुर्घटनामा परेर भोजपुरका पदम घिमिरेको ज्यान गएपछि प्रहरी झन् चनाखो बन्यो। उनको शव व्यवस्थापनदेखि आवश्यक उद्धार कार्यमा खटिएका केशवराज कँडेलसँग प्रहरीले आफ्नो मिसन सफल पार्न सहयोग माग्यो। आल्वासेतेमा बस्दै खेतीमा लागेको १० दिनमै घिमिरेले ज्यान गुमाएका थिए। प्रहरीले आल्वासेतेमा श्रम शोषण गर्ने, मानववेचबिखन गर्ने, कर छली गर्ने गिरोहको छानबिन गरिरहँदा नेपाली समुदायसँग बुझ्न कँडेल सहयोगी बन्न पुगे।

गैरआवासीय नेपाली संघ स्पेनका पूर्वउपमहासचिव, नेपाली जनप्रगतिशील मञ्च स्पेनका उपाध्यक्ष केशवराज स्पेनी भाषामा पोख्त छन्। करिब २० वर्षदेखि स्पेनलाई कर्मथलो बनाएका उनले स्पेनमै रेष्टुरेन्ट व्यवसाय गर्छन्। कँडेल अस्पतालमा होस् वा प्रहरीमा केस पर्दा होस्, नेपालीलाई सहजीकरण र सहयोग गर्नेगर्छन्। नवआगन्तुक नेपालीका लागि धेरै गुन लगाउने अभिभावकका रूपमा चिनिन्छन्। उनै केशवराज भियलगार्दो प्रकरणमा सुरुमा निकै आलोचित भए र पछि हिरो बने।

‘फ्रान्सिस्कन एभरेष्ट’ अप्रेसनले अवैध रूपमा काम लगाउने, श्रम शोषण गर्ने, कर छली गर्ने गिरोहको सञ्जाल तोड्न अनुसन्धान गरिरहेको थियो। नोभेम्बर ५ को झिसमिसेमै गार्दिया सिभिल, नेसनल प्रहरी भियलगार्दोका छाप्रामा पुग्यो। खेतीमा काम गर्ने तयारीमा रहेका कामदारहरू निकै डराए। प्रहरीसँगै नेपालीलाई देखेपछि धेरैले सोचे– हाम्रो जागिर खोस्न नेपालीले नै प्रहरीलाई ल्याए! केशवराजसँगै सोनल पुन, संकल्प क्षेत्री, समिर गुरुङसहितको टोलीले नआत्तिन अनुरोध गर्‍यो। उनीहरूले उद्धार गर्न आएको बताए। स्पेनी प्रहरीलाई नेपालीले भोगेका दुःख बुझाए। प्रहरीले घटनास्थलबाटै खेतीमा काम लगाउने पाकिस्तानीलाई पक्राउ गरेर लग्यो।

घटनास्थलमा नेपालीलाई भाषा सहजीकरण गर्न कँडेलसहितको टोली खटिएको थियो। प्रहरीले आल्वासेते, एलिकान्ते, कास्टेलोन, सिउडाड रियल, मर्सिया, भ्यालेन्सिया र सारगोसाका कृषि फार्महरूमा अवैध रूपमा काम लगाउने  गिरोहलाई एकै पटक पक्राउ गरेको थियो। त्यसबेला ११ जना पक्राउ परे। नगद, चेकबुक, मोबाइल, कम्प्युटर, कार्य रिपोर्ट, जालसाजी कागजात, आपराधिक गतिविधि प्रमाणित गर्ने कागजात, मान्छे ढुवानी गर्ने गाडी सबै जफत गर्‍यो। नेपालीहरूको रोजगारी गुम्यो। केही नेपाली अन्यत्र काम खोज्दै हिँड्न थाले।

भियलगार्दो एकाएक चर्चामा आयो। अत्याचार सहेर बस्न बाध्य नेपालीहरू बिचल्लीमा परेपछि नेपाली समुदायका संघसंस्था जुट्न थाले। गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनले सहजीकरण तथा उद्धार गर्न प्रस्तावित आइसिसी सदस्य तथा पूर्व वरिष्ठ उपाध्यक्ष  रोशन पाठकको संयोजकत्वमा विशेष समिति नै बनायो। क्षेत्रीय समितिहरू पनि राहत दिन खटिए। नेपाल समाज एसोसियसन ‘कोस्टाब्लांका’ पटक–पटक राहत लिएर फिल्डमा पुग्यो। प्रहरी, रेडक्रस, मानवअधिकारकर्मी, वकिल र स्पेनी जनप्रतिनिधिहरू फिल्डमा पुगे, नेपालीहरूको कहालीलाग्दो अवस्था देखेर द्रविभूत बने।

नेपालीहरूसँग बयान लिन थालियो। केशवराजसँगै एक दर्जन पुराना नेपालीहरूले भाषा अनुवादको काम गरे। भियलगार्दोका करिब तीन सय नेपाली घर फिर्ता हुने, जरिवाना तिर्नुपर्ने चिन्ताले पिरोलिएका थिए। तीन महिनापछि भने उनीहरूको चिन्ता हट्न थाल्यो किनभने तिनले आवासीय सुविधासहित काम पाउने सुनिश्चित भयो। अहिले नेपालीहरू निकै खुसी छन्। तीन महिनामा केशवराज कँडेल, रोशन पाठकसहितको समूहले नेपालीका समस्यालाई मलम लगाउने काम गरे। प्रहरी  रेडक्रस, स्थानीय सरकारलाई अनुरोध गरेर खाना, लत्ताकपडाको जोहो गराए। न कमाइ, न भविष्यको टुंगो, अन्योलपूर्ण र कष्टकर तीन महिना गुजारेका नेपालीहरू यतिबेला भने निकै प्रफुल्लित छन्।

काभ्रेपलान्चोकको मण्डेनदेउपुर १० का राममणि नेपाल रोमानियाबाट स्पेन छिरेको चार महिना मात्र भएको थियो। भियलगार्दाेमा बसेका उनी एक हप्तामा ठाउँ छोडेर जानुपर्ने चिन्तामा थिए। उनी तीन महिनामा स्पेन बसोबास (रेसिडेन्सी)को सुविधा र कामको सुनिश्चितता भएको पत्र बुझ्दा निकै भावुक भए। ‘सिनेमा जस्तो लागेको छ, कल्पनासम्म थिएन’, उनी भन्छन्, ‘केशव, रोशन दाइहरूको सहयोगले खुसीका दिन आए।’

गुल्मी मुसिकोटका ध्रुव खरेल बाग्लुङको बडीगाड २ मा बस्छन्। उनको कथा पनि उस्तै छ। फेब्रुअरी ६ मा स्लोभाकिया पुगेका उनी स्पेन राम्रो छ भनेरै स्पेन आए। खेतीमा काम गर्दागर्दै उनी पनि पक्राउ परे। ‘दुईतीन महिना निकै अन्योलपूर्ण भयो’, उनी सम्झन्छन्, ‘केशव दाजुहरूले समस्या हुँदैन भन्दै सम्झाउनुभयो, बस्नुपर्छ भन्नुभयो, बसेको फल पाइयो, निकै खुसी लागेको छ।’

फेब्रुअरी ५ मा  ५० जना साथीहरूसँगै पहिलो चरणमा काम र रेसिडेन्सीसहितको सुविधा पाएकाले उनी निकै प्रफुल्ल छन्। कम्पनीकै गाडी आएर उनी र साथीहरूलाई फेब्रुअरी ५ बिहीबारका दिन काममा लगे।

झापा बुद्धशान्ति गाउँपालिका ४ का युद्धहाङ लिम्बू पनि अन्योल चिरेर बसाइ र काम पाएपछि ढुक्क छन्। सात महिनादेखि भियलगार्दोमा बस्दा उनले पनि निकै कठिनाइ भोगे। ‘महिनौं तलब पनि नपाउने, कष्टकर बसाइसहितको दलदलमा थियौं, उनले भने, ‘उहाँहरू भगवान् बनेर आउनुभयो, हामी सबैको उद्धार गर्नुभयो। प्रहरीले छापा मारेपछि तीन महिना रोजगारी पनि गुमाएका थिए। यो अवधिमा उनै केशव, रोशनले खाद्यान्न, लत्ताकपडा, स्वास्थ्योपचारको सहज व्यवस्था मिलाएर नेपालीको न्यानो सहयोग जुटाएका थिए।

कास्कीको रूपा गाउँपालिका ४ की अनिता (अधिकारी) नेपाल क्रोएसिया छाडेर स्पेन आएकी थिइन्। खेतीमा काम गर्दा पाकिस्तानीहरूले दुव्यर्वहार गर्थे, धम्क्याउँथे तर विगतको पीडाले अहिले खुसी दिलाएको छ। उनी पनि रेसीडेन्सी लिने तयारीमा छिन्। ‘दुईतीन वर्ष कुनुपथ्र्यो, अब सहज हुँदैछ, उनले भनिन्, ‘हाम्रा दुःखका दिन गए, अध्यारोपछि उज्यालो आएजस्तो भएको छ।

सोलुखुम्बुकी नम्रता विश्वकर्मा साइप्रसबाट २१ दिन लगाएर स्पेन छिरेकी थिइन्। सोचेजस्तो काम र कमाइ नपाएपछि ठगिएकी थिइन्। ‘धेरै दुःख पाइयो, आज सत्यको जीत भएको छ, उनले भनिन्, ‘हाम्रा लागि दिनरात यहाँको प्रशासन र सरकारसँग पहल गर्नेहरूलाई मनैदेखि धन्यवाद।

गैंडाकोट १२ हर्कपुरकी लक्ष्मी विश्वकर्मा पनि साइप्रसबाट स्पेन आएकी थिइन्। काम गरेर पनि पैसा नपाउँदा, बिहान सबेरै र राती अबेरसम्म खेतीमा काम गर्दा धेरै रोएकी थिइन् तर अहिले कागज र कामको टुंगो लागेपछि उनको परिवार नै खुसी भएको छ।

भियलगार्दोमा कानुनी लडाइँ गरिरहेका नेपालीका लागि रेसिडेन्सी कार्ड नम्बर, कामको व्यवस्थासहित स्पेनको गार्दिया सिभिल प्रहरीले फेब्रुअरी ५ र ११  मा ५०–५० जनालाई ओयलबामा पठाएको छ।

आल्वासेतेमा प्रहरी अप्रेसनको पहिलो दिनदेखि फिल्डमा खटिएका केशवराज कँडेल रेसिडेन्सी कार्ड र काम दिलाउन पाएकोमा निकै आत्मसन्तुष्टि मिलेको बताउँछन्।

‘कागज दिँदैन, घर फिर्ता पठाउँछ, सहयोग गर्न सकिँदैन भन्नेहरू पनि आज जस लिन र सम्मान लिन हानाथाप गरेका छन्’, उनले भने, ‘पुराना नेपालीहरूले नवआगन्तुक नेपालीलाई कहिल्यै दास सोच्नुहुँदैन, उनीहरूको पनि घरपरिवार छ, भविष्य छ भन्ने बुझ्नुपर्छ।’

भियलगार्दोमा बसिरहेका नेपालीलाई ओयलबामातर्फ बिदाई गर्दै उनले भने, तपाईंहरूको उज्ज्वल भविष्य बनोस्, नेपालीको इज्जत कहिल्यै धमिलो नहोस्।’

मुद्दा विचाराधीन भए पनि एक वर्षको  बसोबास अस्थायी (रेसिडेन्सी)  कार्ड बन्ने गरी एनआई नम्बरसहितको पत्र र काम दिलाएर बिदाइ गर्न पाउँदा उनले हर्षका आँसु झारे। उनी बारम्बार प्रहरी, स्थानीय सरकारसँग निकट बनेर नेपालीको अधिकारबारे जुधिरहे। पाँच घण्टा लामो दूरीको यात्रा गर्दै आफ्नो रेस्टुरेन्ट व्यवसाय नै छाडेर आल्वासेते जाने दैनिकी नै बनाए।

चामल, ग्यास, कपडाका लागि रेडक्रस, स्थानीय नगरपालिकालाई अनुरोध गर्ने हुलाकी बने। कहिले बिरामीलाई अस्पताल लग्ने एम्बुलेन्स बने। ‘सबैलाई कार्ड दिन सकिँदैन, २०, २२ जनालाई दिन सकिन्छ, अरुलाई जान भनौं भनेर छलफल हुँदा प्रतिवाद गरे’, उनी भन्छन्, ‘स्पेनलाई कामदारको खाँचो छ, अन्यायमा परेकालाई मलम लगाउँ, वैधानिक रूपमै बस्ने, काम गर्ने अधिकार दिनुपर्छ भन्यौं, त्यो पहल सार्थक बन्यो।’

गार्दिया सिभिल, नेसनल प्रहरी, रेडक्रस, नगरप्रमुख सबैले नेपालीहरूको मिहेनत, इमान्दारितालाई नजिकबाट नियाल्ने मौका पाए। पीडित नेपालीहरूको पक्षमा वकालत गर्न थाले।  

अन्ततः तीन सय बढीलाई एक महिनाभित्रै रेसीडेन्सीसहितको सुविधा पाउने बाटो खुल्यो। आल्वासेतेबाट ओयलबामा पठाउन प्रहरीका उच्च अधिकारीनै आए, बस चढाएर बिदाइका हात हल्लाए। केशवराजले भ्यालेन्सियामा २५ जना, नुलेसमा ३० जनाका लागि न्यायको वकालत गरिरहेका छन्। सवारी दुर्घटनामा परेका नेपालीलाई उपचार गराउन दिनरात दौडिएका छन्। नेपालीलाई काम गरेको पैसा दिन्छु भनेर एक्लै पारेर कुटपिट गर्ने मालिक विरुद्ध प्रशासनलाई घच्घचाएका छन्।

आल्वासेते मिसनका संयोजक तथा एनआरएनए स्पेनका आइसिसी प्रस्तावित सदस्य रोशन पाठकले भियलगार्दोका नेपालीलाई न्याय दिलाएकोमा गर्व महसुस गरेका छन्। ‘अन्यायमा परेकोहरूको भाषा बोलिदिएका थियौं, जे हो त्यो पीडाबारे बुझाइदिएका थियौं’,  आल्वासेते मिसनका संयोजक तथा एनआरएनए पाठकले तीन महिना पहिलेदेखिको घटना सम्झदै भनेँ, ‘कैयन समस्या छिचोल्यौं, गाली र आरोप सहयौं तर सुखद् परिणाम आउँदा निकै खुसी लागेको छ।’

२० वर्ष पहिलेदेखि स्पेन बस्दै आएका पाठक सफल रेष्टुरेन्ट व्यवसायी हुन्। ‘विगतमा हामीले भोगेका पीडा र अहिलेको यो पीडाको फेस उस्तै हो, हामी समस्याबाट भाग्नुहुँदैन भनेरै खटिएका थियौं, आज सफल भयौं।’

उनले भाषा अनुवादक बनेर सहयोग गरेका र राहत दिलाउन खटिएका सबैलाई धन्यवाद दिए।
अर्को समाचार
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
११ घण्टा अघि
•
२ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।




कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।

शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।

‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’

पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।

सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।

सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
यो पनि पढौँ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस