कोरोना भाइरस संक्रमण कमजोर भएपछि हिडडुल खुकुलो हुँदै गर्दा अघिल्लो वर्ष तनहुँको मानहुँकोट एकाएक भाइरल बन्यो। सामाजिक सञ्जालमा सबैतिर मानहुँकोट अटायो। ब्यास नगरपालिका–५ को मानहुँकोटमा एकैदिन करिब १५ हजार मान्छे उक्लिएको अनुमान त्यहाँका स्थानीयले गरेका थिए। यतिसम्म की मानहुँकोट उक्लिएको भीड नियन्त्रण गर्न प्रहरी र सवारी चाप व्यवस्थापन गर्न ट्राफिक प्रहरी खटाउनु परेको थियो।
हुन त मानहुँकोटमा पहिले पनि मान्छेको आउजाउ हुन्थ्यो। तर, पोहोर एकाएक सामाजिक सञ्जालले चिनाउँदा घुम्न जानेको ओइरो नै लाग्यो। कुनैपनि बलिया र आकर्षक पुर्वाधार नहुँदा नहुँदै पनि मानहुँकोटले आन्तरिक पाहुना तान्न सफल भयो। तर, यो पटक भने मानहुँकोटले पोहोरजति मान्छे पाएन। यो सिजनमा मानहुँकोटको नाम पोहोरजति कतै सुनिएन।
पोहोर मानहुँकोट जस्तै अहिले म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौरको तोरीबारी सामाजिक सञ्जालमा छाएको छ। अघिल्लो वर्षदेखि रत्नेचौरको तोरीबारीले मान्छे तान्न थालेको थियो। यो वर्ष अधिक संख्यामा सर्वसाधारण रत्नचौर पुगेका छन्। शनिबार मात्र करिब एकहजार सर्वसाधारण रत्नेचौर घुम्न पुगेको स्थानीयको अनुमान छ। कोरोना संक्रमणको जोखिमबीच पनि तोरीबारीमा रमाउन र सामाजिक सञ्जालमा आफुलाई अटाउने गरि तस्बिर र भिडियो कैद गर्न पुगेकाको भीड नियन्त्रण गर्न प्रहरी नै परिचालन गर्नुपरेको थियो।
तनहुँको मानहुँकोट र म्याग्दीको रत्नेचौर यस्ता गन्तव्य हुन, जहाँ आकर्षक पर्यटकीय पूर्वाधार खासै छैनन्। मानहुँकोट समुन्द्री सतहदेखि ११ सय मिटर उचाइको डाँडा हो। जहाँबाट मौसम सफा हँुदा मात्र अन्नपूर्ण, माछापुच्छ्रेदेखि मनास्लुसम्मका हिमश्रृंखला मात्र देख्न सकिन्छ। त्यसबाहेक मादीनदीको नागवेली आकार र आसपासको हरियाली, दमौली बजार सहजै देख्न पाइन्छ। सदरमुकाम दमौली बजार बाक्लो तुवालोभित्र लुकिरहँदा मानहुँकोटबाट देखिने सुर्याेदयको दृष्य भने लोभलाग्दो हुन्छ। त्यही दृष्यमा रमाउनका लागि पोहोर पाहुनाको ओइरो लागेको थियो।
तनहुँको मानहुँकोटको अघिल्लो वर्षको भीड। फाइल तस्बिरः नागरिकब्यास नगरपालिका–५, का अध्यक्ष मोहनकुमार श्रेष्ठ भन्छन, ‘पोहोर मानहुँकोट एकाएक भाइरल बनेको ठाउँ हो। अहिले घुम्न आउने खासै भएनन्।’ उनका अनुसार मानहुँकोटबाट सुर्याेदयको दृष्य देखिने बाहेक त्यहाँ भरपर्दा कुनै आकर्षक पूर्वाधार छैनन्। यत्तिसम्मकी खाने र बस्ने ठाउँ पनि गतिला छैनन्। अहिलेसम्म पनि असुविधा उत्तिकै छन। ‘सामाजिक सञ्जालले चिनाउने मात्र रहेछ। पोहोर मानहुँकोटलाई चिनायो,’ उनले भने, ‘अहिले एकाएक सेलायो।’ उनका अनुसार सामाजिक सञ्जालका कारण कतिपय गन्तव्यले लहलहैमा पहिचान कमाउँछन्। तर, ती ठाउँले कमाएको पहिचान दीर्घकालिन हुँदैन। ‘पोहोर टिकटकका कारण मानहुँकोटले पहिचान कमायो, अहिले सेलायो,’ उनले भने।
पछिल्लो समय कतिपय गाउँ एकाएक सामाजिक सञ्जालमा छाएका छन्। गतिला पर्यटकीय पूर्वाधार नरहेका ती गाउँ जर्बजस्त भाइरल बनेका छन्। भाइरल बनेका ती गाउँमा अहिले घुम्न जानेको ताती लाग्न थालेको छ। त्यसको उदाहरण तनहुँको मानहुँकोट र म्याग्दीको रत्नेचौरको तोरीबारी बनेका छन्।
उनका अनुसार अहिले ब्यास नगरपालिका–११ को तनहुँसुरमा कालोपत्रे सडकले घेरेको रुखको तस्बिर सामाजिक सञ्जालमा भाईरल भईरहेको छ। सडकको बीचभागमा रहेको रुखलाई जोगाएर सडक कालोपत्रे गरेको भन्दै त्यहाँ घुम्न जानेको ताती लाग्न थलोको ब्यास नगरपालिकाका प्रवक्ता समेत रहेका श्रेष्ठले बताए। ‘अहिलेको पुस्तालाई घुम्न जाने कुनै निहुँ मात्र भए पुग्छ। बलियो आधार केही चाहिँदैन,’ उनले भने, ‘कालोपत्रे सडकको बीचमा परेको रुखलाई छेको पारेर फोटो खिच्न जानेको लर्को लागेको छ।’
म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरमा शनिबार आन्तरिक पर्यटकको ठुलो भिड थियो। रत्नेचौरमा कालोपत्रे सडक आसपासमा पहेँलपुर फुलेको तोरीबारीमा म्याग्दी र छिमेकी जिल्लासँगै विभिन्न स्थानबाट घुम्न पुग्नेको भीड थियो। ठुलो संख्यामा सर्वसाधारण पुगेपछि सडकको आउजाउ नै अवरुद्ध भएको थियो। कोरोना संक्रमणबीच तोरीबारीमा शनिबार अहिलेसम्मकै ठुलो भीड लागेको स्थानीय भानु माविका प्रधानाध्यापक भरत खत्रीले बताए। ‘भिडभाडले सडक नै जाम भयो। पहँेलपुर तोरीबारी अहिले सबैतिर भाइरल बनेको छ,’ प्रअ खत्रीले भने, ‘पर्यटकीय गन्तव्य बनाउने प्रयास भईरहेको छ ।’ अहिलेको तोरीबारीमा कुनै पूर्वाधार बनाउन नदिई रत्नेचौरको पहिचान कायम राख्न सकेमा मात्र पर्यटकीय गाउँ बनाउन सकिने उनले बताए।
उनका अनुसार सवारीराधन र पैदलमार्ग मार्फत तोरीबारीमा घुम्न आएकाहरुले रत्नेचौर–अर्जम–ज्यामरुककोट सडकखण्ड अन्तरगत नौसय मिटरको कालोपत्रे सडक जाम भएको थियो। एकैपटक घुम्न आउनेको भीड व्यवस्थापन गर्न समेत हम्मेहम्मे परेको उनले सुनाए। अहिले स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यम, सामाजिक सञ्जाल लगायतमा रत्नेचौरको फोटो, भिडियो भाइरल भईरहेको छ। सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट तोरीबारीको प्रचारप्रसार भईरहेको स्थानीय यूवा सन्तोष महतको भनाई छ। चारैतिर पहाड, उत्तरतर्फ मुसुक्क मुस्कुराइरहेको धौलागिरि सहितका हिमालको दृष्यसँगै समथर फाँटको पहेँलपुर तोरीबारीमा जनजातिको भेषभुषा लगाएर समेत तस्बिर खिच्न भ्याईनभ्याई छ। स्थानीय सहकारीले निश्चित शुल्क लिएर पोशाक भाडामा दिने गरेको छ।
बेनी नगरपालिका–१ का अध्यक्ष टेकबहादुर रावलले बजारभन्दा केही परको तर आकर्षक गाउँ भएकोले पनि अहिले सबैतिर चर्चा पाएको बताए। ‘यतिबेला तोरी र गहुँ खेती गरिएको छ। तोरीको पहेँलपुर तस्बिर सामाजिक सञ्जालमा छाएपछि अहिले सर्वसाधारणको भीड थामिनसक्नु भएको हो,’ रावलले भने, ‘पर्यटकीय पूर्वाधार त खासै छैनन्। मात्र प्राकृतिक सुन्दरता र कृषिकर्मको आकर्षणले त्यहाँ युवायुवतीलाई तानेको हो।’ उनका अनुसार खेतीपातिका बीचमा नागबेली कालोपत्रे सडक बनेपछि आउजाउ सहज भएकोले पनि अहिले आकर्षण बढेको हो। उनका अनुसार रत्नेचौरको करिब २५ हेक्टर क्षेत्रफलमा तोरी र गहुँ खेती गरिएको छ।
पर्यटन क्षेत्रका जानकारका अनुसार पछिल्लो समय कतिपय गन्तव्य रातारात भाइरल हुने र अर्काे वर्ष हराउने गरेका छ। पर्यटन बोर्ड पोखराका प्रमुख काशिराज भण्डारी भन्छन्, ‘पहिला प्रवद्र्धन गर्ने प्रविधि थिएन। प्रवद्र्धन पनि सिमित व्यक्तिको पहुँचमा थियो। अहिले सबैको हातमा पुगेको छ।’ पूर्वाधार भएमा वा थप्न सकेमा अहिले भाइरल भएका गन्तव्य पर्यटकीय दृष्टिले महत्वपूर्ण बन्न सक्ने उनले बताए। ‘सरकारी निकायको नजर नपुगेको ठाउँ पनि अहिले रातारात बाहिर आएका छन। यो सबै अहिलेको पुस्ता र प्रविधिको कारणले हो,’ भण्डारीले भने, ‘भाइरल भएका ठाउँ कतिपय सिजनल रुपमा आकर्षक हुन सक्छन्। त्यसबारे अध्ययन गर्न सकिन्छ।’ भाइरल बनेका गन्तव्यमा लगानी गरेमा पर्यटनमा लाभ पुग्छ। नत्र रहरमै मात्र सिमित रहन सक्ने पनि उनले बताए।
तनहुँको पर्यटकीय क्षेत्र मानहुँकोटको सार्वजनिक जग्गा भाडामा लिनेगरि व्यावसायिक समुह बतासले प्रस्ताव गरेको छ। पछिल्लो समय निकै नै चर्चा कमाएको यो डाँडामा विभिन्न पर्यटकीय पूर्वाधार बनाउने योजना बतासको छ। बतासले ५० वर्षका लागि ब्यास नगरपालिका–५ मा पर्ने मानहुँकोटको जग्गा भाडामा लिने प्रस्ताव गरेको हो।
बतास समुहको ब्यास हिल्स प्रालिले सार्वजनिक जग्गा भाडामा लिने र आसपासको निजी जग्गा खरिद गरेर पूर्वाधार बनाउने भन्दै नगरपालिकामा योजना पेस गरेको छ। नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बतास समुहको ब्यास हिल्सले ४० रोपनी जग्गा माग गरेर अघिल्लो वर्ष नै प्रस्ताव पेश गरेको बताए। सार्वजनिक जग्गा भाडामा लिने र आसपासका जग्गा खरिद गरेर पर्यटकीय पूर्वाधार बनाउने भन्दै ब्यास हिल्सले प्रस्ताव पेश गरेको श्रेष्ठले बताए।
‘बतास समुहको ब्यास हिल्स प्रालिले एकवर्ष अघि नै यो प्रस्ताव लिएर आएको हो। तर, हामीले यत्तिकै दिन सक्ने अवस्था रहेन, अध्ययनका लागि पर्खाएका थियौ,’ श्रेष्ठले भने, ‘पर्यटकीय पूर्वाधार बनाउने भनेर ब्यास हिल्सले जग्गा मागेको हो।’ उनका अनुसार यो समुहले मानहुँकोटमा केवलकार, जिपलाइन, सिसाको पुल, होटल लगायतका पुर्वाधार बनाउने प्रस्ताव पेश गरेको छ। चारअर्ब २३ करोड रुपैयाँ लगानी गर्ने गरि बतास समुहले प्रस्ताव गरेको श्रेष्ठले बताए।
बतास समुहले एकवर्ष अघि नै यो प्रस्ताव नगरपालिकामा पेश गरेको भएपनि अध्ययनका लागि भन्दै रोकिएको थियो। तर, गत विहीबार बसेको ब्यास नगरपालिकाको बोर्ड बैठकले ब्यास हिल्सको प्रस्तावबारे गण्डकी प्रदेश नीति तथा योजना आयोगसँग आवश्यक परामर्श गरि सम्बन्धित प्रस्तावकलाई प्रस्तावबारे थप स्पष्ट हुनेगरि प्रस्तुत गर्न लगाई सम्झौताको आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको श्रेष्ठले बताए। ‘ब्यास हिल्सबाट प्रस्ताव आएको हो। त्यसपछि हामी थप छलफलका लागि गत विहीबार मात्र गण्डकी प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेका छौ, हामीले अहिले नै लिजमा दिइसकेको होईन,’ उनले भने।
प्रदेश सरकारले त्यो जग्गा लिजमा दिन मिल्ने वा नमिल्ने भनेर स्पष्ट पारेपछि बल्ल टुंगो लाग्ने उनले बताए। प्रदेश सरकारबाट शिफारिस गराएर संघीय मन्त्री परिषद्बाट स्वीकृत गराएर बल्ल प्रक्रिया अघि बढ्ने उनले बताए। ‘एकवर्षअघिकै प्रस्ताव हो, हामीले अध्ययनकै लागि रोेकेका हौ, छलफल नै नगरि हामीले दिने कुरै भएन,’ उनले भने, ‘त्यही भएर प्रदेश सरकारसँग छलफल आवश्यक ठानेका हौ।’ श्रेष्ठका अनुसार ब्यास हिल्सले सार्वजनिक जग्गा उपभोग गरेबापत मासिक भाडा पनि तिर्ने र नाफाको थप ५ प्रतिशत रकम नगरकै विकासमा खर्चने प्रतिवद्धता समेत जनाएको छ।
यो समुहले ब्यासको पाटन क्षेत्रतिरबाट केवलकार, साँगेपट्टिबाट जीपलाइन र दमौलीको दृष्यावलोकन गराउनेगरि शिशाको पुल बनाउने प्रस्तावमा रहेको उनले बताए। त्यसबाहेक रिसोर्ट र केही मन्दिर पनि बनाउने योजनामा उल्लेख छ।
बल्ल ऐन
ब्यास हिल्सले सार्वजनिक जग्गा लिजमा लिन एकवर्ष अघि नै प्रस्ताव पेस गरेको थियो। तर, ब्यास नगरपालिकाले बतासको प्रस्तावपछि मात्र सार्वजनिक निजी साझेदारी ऐन बनाएको छ। ‘खासमा यो ऐन पहिला नै आउनुपर्ने हो, त्यसबारेमा हामीलाई नै जानकारी भएन,’ प्रवक्ता श्रेष्ठले भने,‘बतासको प्रस्तावपछि मात्र यो ऐन बनाउनेतर्फ हाम्रो ध्यान गयो। त्यही प्रस्तावपछि बल्ल ऐन बनेको हो। ऐन आवश्यक भएको महसुस भएपछि बल्ल बनायौं।’
तनहुँको ब्यास नगरपालिका–५ मा पर्छ मानहुँ। सदरमुकाम दमौलीलाई काखमा बोकेको छ मानहुँले। केहीवर्ष अघिसम्म मानहुँमा बाक्लो बस्ती थियो। जुन बस्ती मानहुँकोटको सिरानमा पुगेपछि मात्र देखिन्थ्यो। खानेपानीको चरम समस्याले रित्तिदै गएको त्यो समथर मैदानमा कुनैबेला ७० घर रहेकोमा अहिले घटेर ६–७ घरमा सिमित छ। बस्ती रित्तिएको त्यही मैदानले पोहोर दसैंको बिदामा ठुलो संख्यामा आन्तरिक पाहुना पाएपछि मानहुँले बल्ल चर्चा कमाएको थियो। कोरोना भाइरस संक्रमणले गति लिइरहँदा अन्यत्रका चर्चित पर्यटकीय गन्तव्य सुस्ताएको बेलामा पनि तनहुँको मानहुँडाँडाले भने पोहोर पहिलोपटक ठुलो आकारमा पाहुना पाएर फड्को मारेको स्थानीयको भनाई छ । दिनमा झन्डै दुईहजार आन्तरिक पाहुना मानहुँ उक्लिएको उनीहरुको भनाई छ।
सदरमुकाम दमौलीदेखि सातकिलोमिटर माथिको त्यो डाँडासम्म पुग्ने मोटरबाटो अहिले कालोपत्रे हुँदैछ। समुन्द्री सतहदेखि ११ सय मिटर उचाइँमा रहेको डाँडाले सामाजिक सञ्जालका कारण पोहोर एकाएक चर्चा बटुलेको थियो। ठुलो संख्या पर्यटक पुग्न थालेको र घुम्न पुगेका पाहुनालाई जोखिम नहोस भनेर भीरको अप्ठेरो खण्डमा फलामे रेलिङ लगाएर सुरक्षित बनाइसकिएको छ। मानहुँबाट अन्नपूर्ण, माछापुच्छे«देखि मनास्लुसम्मका हिमश्रृंखला देख्न सकिन्छ। त्यसबाहेक मादीनदीको नागवेली आकार र आसपासको हरियाली, दमौली बजार सहजै देख्न सकिन्छ।
जग्गामा आँखा
खानेपानीको चरम समस्याले बसाई रित्तिदै गएको मानहुँको बस्तीसम्म केहीवर्ष अघिसम्म जग्गाको भाउ कौडीको मुल्यमा पाइन्थ्यो, तर, जब पर्यटकले रुचाएर आउजाउ बढ्यो, त्यसपछि व्यवसायीले पर्यटकीय पुर्वाधार बनाउने भन्दै आँखा लगाउन थाले। सुविधा थपिँदै गएपछि पहिले नै बसाई सरेका गाउँले पनि घर फर्किन थाले भने अरुले पनि जग्गा किनेर राख्न थालेपछि मुल्य पनि बढ्दै गयो। ब्यास नगरपालिकाले पनि जग्गा किनबेच गर्दा मौलिकता बिग्रने भन्दै रोक लगायो।
तर, स्थानीयले नै जग्गा किनबेच गर्न पाउनुपर्ने भनेर फुकुवा गरिदिन नगरपालिकासँग अनुरोध गरेपछि बढिमा ६ महिना रोकिएको किनबेच खुलेको थियो। ‘जो पायो त्यही व्यक्तिका हातमा जग्गा नपरोस भनेर हामीले मानहुँको व्यक्तिगत जग्गा पनि किनबेच गर्न रोक लगाएका थियौ,’ नगर प्रवक्ता श्रेष्ठले भने, ‘तर, स्थानीय दवावपछि हामीले फुकुवा गरिदियौं।’ अहिले त्यहाँको जग्गा व्यवसायिले खरिद गरेर राखिरहेका छन। अहिले जग्गाको भाउ बढेर आनाकै ५÷६ लाख रुपैयाँ पर्न थालेको छ।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...