द्रुतगतिमा अगाडी बढेको गण्डकी प्रदेशको लाइफलाइन मानिएको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकखण्डमा बेलिब्रिज विस्थापित गरी धमाधम पक्की पुल बनाइएको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने उक्त सडकखण्डको स्तरोन्नतिसँगै नियमित र सहज रुपमा यातायातका साधन सञ्चालनका लागि आठवटा पक्कि पुल निर्माण गरिएको छ।
सडकखण्डको म्याग्दी र मुस्ताङका विभिन्न ठूला र सहायक खोलामा आवश्यक पुल निर्माणधिन अवस्थामा र सञ्चालनमा आएपछि यात्रुलाई सहज भएको छ। बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले ११ मिटर फराकिलो सडकमा बर्खाको समयमा समेत नियमित सञ्चालनका लागि आवश्यक स्थानहरुमा पक्की पुल निर्माण भइरहेको बताए। ‘बेलिब्रिजलाई समेत आवश्यकता अनुसार हटाएर पक्की पुल बनाइरहेका छौ, हिउँदमा समेत खहरे उर्लिने भएकाले थप पुल निर्माणका लागि प्रस्ताव गरिएको छ,’ प्रमुख प्रजापतिले भने।
उनका अनुसार म्याग्दीको गलेश्वरमा राहुघाट खोलामाथि ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको स्याङ खोलामा १ सय १५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल बनेको छ। पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीकै अन्नपूर्ण गाउँपालिकाको महभिर र पोखरबगरस्थित कालीगण्डकीमा ७० र ८० मिटर लामो पुल निर्माण गरेको छ।
उनले मुस्ताङको बोक्सीखोला, सुनखोला र थापाखोलामा मोटरेबल पुल बनाउन प्रस्ताव गरिएको बताए। ‘कालोपत्रे सडकमा मोटरेबल पुलले थप सहज भएको छ, प्राकृतिक विपत्तीले केही ठाउँमा पुल निर्माणमा असर गरेको छ’ प्रमुख प्रजापतिले भने। गतबर्षको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से र मुस्ताङको खहरेखोलाको मोटरेबल पुल अलपत्र भएको छ।
बाढीले दुबै स्थानमा अन्तिम चरणमा पुगेको पुल तहसनहस बनाइदिएपछि तत्काल पक्की पुलको सम्भावना नभएकाले नमूना परिवर्तन गरी बेलिब्रिज निर्माण गरिने आयोजनाले जनाएको छ। मुस्ताङकै पाण्डाखोलाले धार परिवर्तन गरेपछि र उपल्लो मुस्ताङको छुसाङमा डोलिडारले बनाइएको पुलले खोलाको सबै भाग समेट्न नसकेपछि अर्को ५० मिटर लामो अर्को पुल बनाउन प्रस्ताव समेत गरिएको छ।
आयोजनाको म्याग्दी खण्डमा बाढीपहिरो र मुस्ताङमा बेमौसमी बाढीले काम गर्न समस्या भएपनि सडकखण्डमा निर्माणाधीन अवस्थामा रहेका १२ वटा मोटरेबल पुलको ठेक्का सम्झौतामा खरिद ऐन अनुसार थपिएको समयसीमा आगामी चैत महिनामा सकिँदैछ।
ढिलासुस्ती र विभिन्न बाहना बनाउने ठेकेदारलाई आयोजनाले सम्झौता तोड्ने र बैक ग्यारेन्टी समेत जफत गर्ने चेतावनी दिएपछि पछिल्लो समय आयोजनाको कामले गति लिएको छ। सात अर्ब २७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको १ सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत सडक तथा पुल निर्माणमा हालसम्म चारअर्ब ७३ करोड खर्च भइसकेको लेखा अधिकृत शेखरचन्द्र सापकोटाले बताए। उनले ठेकेदारलाई प्रगतिको आधारमा भुक्तानीसँगै नियमित निगरानी समेत भइरहेकाले पछिल्लो समय प्रगति भएको बताए।
बेनी–जोमसोम खण्डको ६५ र जोमसोम–कोरला खण्डको ८५ प्रतिशत काम सम्पन्न भएको छ। १३ वटा खण्ड अन्तरगत आयोजनाको कार्यक्षेत्र बागलुङ र पवर्तको सिमानामा रहेको मालढुंगादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हुँदै कोरला नाकासम्म पर्छ।
म्याग्दी खण्डमा डिबिएसडी र मुस्ताङमा आसफाल्ट प्रविधिको कालोपत्र भइरहेको छ। सडकखण्डको सबैभन्दा जोखिम मानिने म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा १.२ किमी सडक विस्तारका लागि डोजरको सहायताले मात्रै ट्रयाक निर्माण नभएपछि विष्फोटक पदार्थको प्रयोगले भिर फुटाउन ५० टन विष्फोटक पदार्थको प्रयोग गरिने र थप १० टनका लागि आवश्यक प्रक्रियामा रहेको आयोजनाले जनाएको छ।
यता सडकखण्डमा पक्की पुल बनेपछि यात्रामा समेत सहज भएको स्थानीयले बताएका छन्। बाहै्रमहिना चिसो मौसममा दुईपांग्रे सवारीसाधनमा आवतजावत गर्ने यात्रुलाई पक्की पुलले यात्रामा थप सहज भएको छ। विगतमा सडकखण्ड अन्तरगत पर्ने खोलामा पुल नहुदाँ असारदेखि असोज महिनासम्म याताायातको साधन आवतजावतमा समस्या हुने गरेको थियो। प्राकृृतिक सुन्दरताले भरीपूर्ण मुस्ताङमा पुल र कालोपत्रे सडक समेत थपिएपछि सौन्दर्यतामा थप चमक आएको छ।
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत निर्माणाधीन बेनी–जोमसोम–कोरला सडकको पोखरेबगर खण्डको भिरकाटेमा सुरुङ निर्माण हुने भएको छ।
गण्डकी प्रदेशको लाइफलाइन मानिएको उत्तर–दक्षिण जोड्ने सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–६, भिरकाटेमा कालीगण्डकी नदीको कटानका कारण दुई लेनको सुरूङमार्ग बनाउन कन्टेन्जेन्सी खर्च कटाएर झन्डै ९० करोड लागतसहित स्वीकृतिका लागि पठाइएको छ।
कालीगण्डकीको कटानले सडक साँघुरो बनेपछि नियमित सडक सञ्चालनमा सबैभन्दा कठिन देखिएकाले ३८४ मिटर लामो सुरुङ बनाउन डिजाइनसहित फाइल तयार गरी स्वीकृतिका लागि पठाइएको बेनी–जोमसोम–सडकका आयोजना प्रमुख ध्रुव झाले बताए।
‘सुरूङ बाहेकको अर्को विकल्प छैन, सडकको सुरक्षाका लागि सडकको पुरानो मार्ग परिवर्तन गरी सुरुङमार्गको डिजाइन गरिएको छ,’ प्रमुख झाले भने।
सडकखण्डको अग्लो कडा पहाड विस्फोटन वा अन्य विधिबाट काटेर सडकको लेभलमा ल्याउन सम्भव नभएपछि खर्चिलो विधि अपनाइएको उनले बताए। अहिले भिरकाटे खण्डमा नदी किनारामा ढुंगा राखेर डाइभर्सन गरिएको छ।
सो खण्डमा अहिले सडकको बेस छैन। सुरूङ प्रस्ताव गरिएको उक्त खण्डको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले स्थलगत अनुगमन गरी थप प्रक्रियाबारे चासो देखाएका थिए।
‘कालीगण्डकी करिडोरमा दिगो र सुरक्षित संरचना बनाउन सरकार सकारात्मक छ, ‘बर्सेनि प्राकृतिक विपत्तिले क्षति पुग्ने सडक खण्डमा डिजाइन परिवर्तन गर्नुपर्छ’, मन्त्री ज्वालाले भने।
मन्त्री ज्वालाले सडकको सुरक्षा र यात्रुलाई समेत सहज हुने मार्गलाई मन्त्रालयले आवश्यक स्रोत सुनिश्चितताका लागि पहल गर्ने बताएका थिए। ज्वालाले सुरुङमार्ग खर्चिलो भए पनि दिगो भएकाले काठमाडौं फर्किएपछि अध्ययन गरी अगाडि बढाउने बताए।
सडक खण्डको दायाँतर्फ अग्लो ओडार परेको कडा पहाड र बायाँ किनारामा कालीगण्डकी नदीले डेढ दशकदेखि लगातार कटान गरिरहेको छ।
बर्खाको समयमा सडकमै कालीगण्डकी नदीको बाहब पुग्ने भएकाले साना सवारी साधनलाई जोखिम रहेको छ भने कुनै पनि बेला सडकको बेससमेत नरहने गरी कटानको जोखिम रहेको आयोजना पक्षले जनाएको छ।
त्यस्तै मुस्ताङको सिमाना जोडिएको बाँदरजुँग भिर आसपासको जोखिम क्षेत्रमासमेत छोटो दूरीको सुरुङको प्रस्तावका बारेमा सामान्य छलफल मात्रै भएको छ।
११० किमि लामो जोमसोम–कोरला सडकमध्ये म्याग्दी खण्डको बेनीदेखि घाँसासम्म पहिरोले क्षति पुगेको खण्डमा सुरुङबाहेकका अन्य विकल्पका बारेमा समेत थप अध्ययन भइरहेको छ। चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने सडक सात अर्ब २७ करोड रूपैयाँमा ठेक्का सम्झौता भएको थियो।
२०७४ सालमा सुरु भएको १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको कार्यक्षेत्र बागलुङ र पवर्तको सिमानामा रहेको मालढुङ्गादेखि म्याग्दीको बेनी र मुस्ताङको जोमसोम हुँदै कोरला नाकासम्म पर्छ।
मन्त्री ज्वालाको अनुगमन टोलीमा म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, गण्डकी प्रदेशका भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालसहितको टोलीले सडकखण्डको समस्याबारे जानकारी गराएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...