कोरिया रोजगारी सुचारु गर्न पहल
१७ असार २०७८
•
३ मिनेट पाठ
कोरिया रोजगारी सुचारु गर्न पहल
चौध महिनादेखि रोकिएको कोरिया रोजगारी पुनः सुरु गर्न पहल थालिएको छ। रोजगार अनुमति प्रणालीअन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेका कामदार कोरोना महामारीका २०७६ फागुनदेखि कोरिया जान पाएका छैनन्।  




सुरुमा नेपालले कोरिया पठाउन चासो दिएको थिएन भने पछिल्लो समयमा कोरिया सरकारले नेपाली कामदार लैजान चासो देखाएको छैन। वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले रोकिएको रोजगारी सुचारु गर्न कोरियाले केही सर्त अघि सारेर छलफल सुरु भएको बताए।  

‘बन्द रोजगारी सुचारु गर्नुपर्ने हाम्रो निरन्तरको प्रयासअनुरूप कोरियाबाट चासो हुन थालेको छ,’ उनले भने, ‘कोरियाले राखेको सर्तबारे मन्त्रिपरिषद्ले निर्णय गरेपछि रोजगारीका लागि कोरिया जाने प्रक्रिया सुरु हुन्छ।’ कोरियाले नेपाली श्रमिक लैजान नेपालबाट सिधैं कोरिया उडान हुनुपर्ने, त्यहाँ पुगेर कोरोना बिमा गर्नु पर्ने र कोरिया पुगेपछि श्रमिक निजी खर्चमा क्वारेन्टिन बस्नुपर्ने सर्त राखेको छ। ‘यी सर्त पूरा भएमा श्रमिक लैजाने प्रक्रिया अगाडि बढाउने कोरियाले पत्राचार गरेको छ,’ दवाडीले भने।  

रोकिएको रोजगारी सुचारु गर्न सर्त राखे पनि कोरिया सकारात्मक देखिएकाले चाँडै सुरु हुने विभागका अधिकारीहरूले अपेक्षा गरेका छन्। सरकारले गत साता दक्षिण कोरियामा पनि नियमित उडान सुरु गर्ने निर्णय गरिसकेको छ। यद्यपि निर्णय कार्यान्वयनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियाको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्नुपर्ने हुन्छ। मन्त्रालय पनि रोकिएका कामदारलाई चाँडोभन्दा चाँडो कोरिया पठाउने पक्षमा रहेकाले कोरियाको सर्तमा फटाफट निर्णय हुने धेरैको अपेक्षा छ।

कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर पनि उड्न नपाएका युवायुवतीले रोजगारी सुरु गर्न पटकपटक दबाबमूलक अभियान चलाउँदै आएका छन्। पारिश्रमिक र बसोबासको दृष्टिकोणले कोरिया रोजगारी आकर्षक मानिन्छ। कोरिया रोजगारीमा जानेको न्यूनतम मासिक पारिश्रमिक साढे एक लाख रूपैयाँ हुन्छ भने धेरैलाई अतिरिक्त समयमा काम गर्ने सुविधा हुने हुँदा मासिक पारिश्रमिक तीन लाख रूपैयाँसम्म पुग्ने बताइन्छ।  

कोरोना महामारीका कारण भाषा परीक्षा उत्तीर्ण गरेका करिब सात हजार र बिदामा घर आएका करिब तीन हजार कोरिया जान पाएका छैनन्। कोरोना महामारीअघिसम्म भाषा परीक्षा उत्तीर्ण गरेको दुई वर्ष र रोजगारदाताले बोलाएको ६ महिनाभित्र कोरिया गइसक्नुपर्ने नियम भएकाले यतिखेर कोरिया उड्न नपाएकाहरू निकै तनावमा छन्।  

महामारीकै बेला कोरियाले नेपाल बाहेकका केही मुलुकबाट श्रमिक आपूर्ति गर्न थालेपछि भाषा परीक्षा उत्तीर्ण गरेका युवालाई झनै चिन्तामा थपेको छ। सरकारले नेपाली कामदार लैजान अवरोध सिर्जना गरे पनि रोजगारदाताले अन्य मुलुकबाट आपूर्ति गर्दा नेपाली युवा कोरिया जान वञ्चित हुने त्रासमा रहँदै आएका छन्।  

कोरियाले रोजगार अनुमति प्रणालीमार्फत सन् २००७ देखि नेपालबाट कामदार लैजान थालेको हो। नेपाली कामदारले इमानदारीतापूर्वक काम गर्ने भएकाले सन्तुष्ट भएर कोरियाले नेपालबाट लैजाने श्रमिकको हरेक वर्ष कोटा वृद्धि गर्दै गएको छ। हालसम्म रोजगारीका लागि करिब ७० हजार युवायुवती कोरिया पुगिसकेका छन् कोरिया जान भाषा परीक्षा उत्तीर्ण अनिवार्य भएकाले बर्सेनि औसतमा ८–१० हजार कोटामा पर्न ८०–९० हजारले प्रतिस्पर्धा गर्ने गर्छन्। 
अर्को समाचार
किसानको जीवनस्तर उकास्ने ‘मिल्की वे’ परियोजना
०५ फागुन २०८०
•
७ मिनेट पाठ
किसानको जीवनस्तर उकास्ने ‘मिल्की वे’ परियोजना
कमलामाई नगरपालिका ५ कि किसान गुणकुमारी घिमिरे आफ्नो गोठमा केही दिनअघि मात्रै जन्मिएको होलिस्टाइन (कोरली) गाईको बाच्छी उमा सुवेदीलाई उपहार दिँदै गर्दा खुसी देखिन्थिन्। उपहार दिने घिमिरे र लिने सुवेदी मात्रै होइन, यो क्षणको साक्षी बन्न उपस्थित अन्य किसान पनि यो एतिहासिक पललाई रुचिपूर्वक नियालिरहेका थिए।  




गत वर्षको पुसमा हेफर इन्टरनेसनलको अग्रसरता र कोरिया सरकारको सहयोगमा नेपालमा पहिलोपटक यहाँका ५१ किसानलाई ८० होलिस्टाइन (उच्च आनुवंशिक गुण भएका) बाच्छी वितरण गरिएको थियो।

त्यसैमध्ये घिमिरेले पालेको ‘तोसेली’ नामक गाईले नेपालमै पहिलोपटक गत माघ २३ गते बाच्छी ‘गाम्सा’ लाई जन्म दिएको थियो। कोरिया सरकारको सहयोगमा प्राप्त भएकाले पहिलोपटक जन्मिएको बाच्छीको नाम पनि कोरियन भाषामै राखिएको हो। ‘गाम्सा’ अर्थात् ‘धन्यवाद’।

बाच्छी उपहार प्रदानका अवसरमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल, कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेल, कोइका नेपालका उपनिर्देशक युन्ही चुङ, हेफर इन्टरनेसनलका वरिष्ठ उपाध्यक्ष निना जोशी, हेफर नेपालका राष्ट्रिय निर्देशक डा. तीर्थराज रेग्मी, कोरियाका सिओल डेरी सहकारीको पिएजेयु डेरी क्लिनिकका अध्यक्ष तथा प्रमुख पशु चिकित्सक डा. यङ–चान किन, हेफर कोरियाका कार्यकारी निर्देशक हेवोन लीलगायतको उपस्थिति थियो।

‘मेरो गोठमा जन्मिएको गाम्सा उमालाई उपहार दिन पाउनु मेरा लागि सौभाग्य हो’, कलिलो गाम्साको शरीर मुसार्दै घिमिरेले भने, ‘गत वर्ष पुसमा गाम्साजस्तै सानो बाच्छी जन्मिएकी थिइन्। आज त्यही गाईबाट जन्मिएको बाच्छी उपहार दिन पाउँदा निकै खुसी लागेको छ।’

उपहार स्वीकार्दै सुवेदीले पनि आफू खुसी भएको बताइन्। ‘नेपालमा पहिलोपटक जन्मिएको होलिस्टाइन बाच्छी पाउनु मेरा लागि खुसीको कुरा हो’, उनले भनिन्, ‘भविष्यमै गाईपालनमा लाग्ने सोच बनाएकी मलाई उच्च आनुवंशिक गुणको बाच्छी सहयोगी बन्ने छ।’ सुवेदीले बाच्छी पाउन करिब ६ महिना भने कुर्नुपर्ने हुन्छ।

गाईले जन्माएको बाच्छी उपहार दिने चलन पनि कोरियाबाटै चलेको हो। कोरियामा यसलाई ‘पासिङ द गिफ्ट’ भनिन्छ। अर्थात् आफूले प्राप्त गरेको गाईको पहिलो बेतबाट जन्मिने बच्चालाई आफूजस्तै किसानलाई अनिवार्य रूपमा उपहारका रूपमा दिनु हो। यसबाट गाईपालन गर्ने किसानको संख्या बढाउँदै लैजाने र धेरैभन्दा धेरै किसानको आयआर्जन बढाउनु हो।

गुणकुमारीका पति भोला अधिकारीले गाईले ब्याएको आठ दिनसम्म दैनिक २८ देखि ३० लिटरसम्म दूध दिएको  बताए। ‘हामीले गत वर्ष ११ महिनाको उमेरको तोसिली (नेपाली नाम माली) गाई प्राप्त गर्दा तीन सय किलोको थियो। अहिले उसको तौल ६ सय ७८ किलो  पुगेको छ। बाच्छी जन्मने बेलामा ४५ किलो तौल थियो। गाईले अहिले दैनिक ३० लिटरसम्म दूध दिइरहेको छ’, उनले भने।

अधिकारीले गाई ब्याएको सातौं दिनदेखि डेरीमा दूध बिक्री सुरु गरेको बताए। ‘डेरीमा दूध प्रतिलिटर ७६ देखि ७७ रुपैयाँसम्म बिक्री भएको छ’, उनले भने, ‘गाई ब्याएको २२ दिनदेखि दूध बढ्ने छ।’

तेह्र महिनासम्म गाई पाल्दा करिब एक लाख ७५ हजार खर्च भएको उल्लेख गर्दै उनले दूध बिक्रीबाट लागेको खर्च तीनदेखि चार महिनामा उठिसक्ने बताए। सो गाईको दूध बिक्रीबाट मासिक ६० हजार रुपैयाँसम्म आम्दानी गर्ने अधिकारीको लक्ष्य छ।

गत वर्ष यसरी होलिस्टाइन बाच्छी पाउनेमा तल्लोराजपानी महिला उद्यमी समूहकी सदस्य रुकमणि अधिकारी पनि छन्। उनले तत्कालीन समयमा दुई  गाई पाएकी थिइन्। अहिले दुवै गाई गर्भवती छन्।

‘गत वर्षको पुसमा हामीले गाईका बाच्छी पाउँदै गर्दा कहिले ठूलो होलान र ब्याउलान् अनि आम्दानी गर्न पाइएला भन्ने लागेको थियो, तर तीमध्ये एउटा गाई ब्याएको छ’, उनले भनिन्, ‘मसँग भएका दुई गाई वैशाखमा ब्याउनेवाला छन्। होलिस्टाइन गाईले पर्याप्त दूध दिने भएकाले यसको बिक्रीबाट आम्दानी बढाउन सकिन्छ भन्ने विश्वास जागेको छ।’

अधिकारी लामो समयदेखि गाईपालनमै छिन्। पहिले स्थानीय जातका मात्रै गाईपालन गर्ने उनले एक वर्षयता स्थानीय जातका गाई घटाउँदै लैजानुभएको छ। ‘हाम्रो मुख्य पेसा नै गाईपालन हो, पहिले ३० वटासम्म स्थानीय जातका गाई थिए। त्यो बेलामा दैनिक ८० लिटरसम्म दूध बेचिन्थ्यो, अहिले कम भएको छ’, उनले भने, ‘अहिले स्थानीय जातका ११ र होलिस्टाइन दुई गाई मात्रै छन्। वैशाखमा दुई होलिस्टाइन गाई ब्याएपछि दूध बिक्री बढ्ला भन्ने आशा छ।’

स्थानीय जातका गाईले अधिकतम दिनमा १० लिटर मात्रै दूध दिने गरेको अधिकारी बताउँछन्। ‘असाध्यै राम्रो स्याहार पायो भने दिनमा बढीमा १० लिटर दूध दिने हो, तर होलिस्टाइन जातको गाईले दिनमा ३० देखि ४० लिटरसम्म दूध दिने रहेछ। यसबाट हाम्रो आम्दानी स्वभाविक रूपमै बढ्ने छ।’

अधिकारी अहिले एउटा होलिस्टाइन गाईलाई दैनिक चार किलो दाना र १० किलो घाँस खुवाउँछिन्। एउटा बोरा दाना खरिद गर्दा दुई हजार आठ सय खर्च हुने गरेको उनले बताइन्। त्यसबाहेक हरियो घाँस र कटिङ परालमा पनि खर्च हुन्छ।

कमलामाई नगरपालिकामा होलिस्टाइन गाईपालनका लागि विभिन्न नाममा महिलाका समूह पनि गठन भएका छन्। यहाँ दमार महिला समूह, गैँयादेवी महिला समूह, तल्लोराजपानी महिला उद्यमी समूह, माथिल्लो राजपानी महिला उद्यमी समूहलगायत छन्।

यी समूहमा हाल एक सय नौ महिला आबद्ध छन्। विभिन्न समूहमा विभाजन भए पनि गाईपालनमा भने एक अर्काबीच सहकार्य भइरहने अधिकारीले बताइन्। गाईलाई खुवाइने दाना पनि हेफरले ३० प्रतिशत छुटमा उपलब्ध गराउँदै आएको छ।

गत वर्ष कमलामाई ४ र ५ मा हेफर इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा सिन्धुली एकीकृत विकास सेवा नेपाल र लाभान्वित समुदायको सहकार्यमा दुग्ध क्षेत्र रूपान्तरण परियोजना सञ्चालन गरिएको थियो। 

उक्त परियोजना नेपाल सरकार तथा हेफर कोरियाबाट नेपालको दुग्ध क्षेत्र रूपान्तरण गर्ने उद्देश्यले सुरु भएको हो। तत्कालीन समयमा प्राप्त भएका ८० मध्ये पाँच गाई भने मरिसकेका छन्। हाल ७३ गाई गर्भवती छन्।

‘मिल्की वे’ परियोजना

नेपाल सरकार, दक्षिण कोरिया सरकार र कमलामाई नगरपालिकाको संयुक्त पहल तथा हेफर इन्टरनेसनलको सहजीकरणमा यहाँ ‘मिल्की वे’ परियोजना सुरु भएको छ। सोही परियोजनाअन्तर्गत होलिस्टाइन गाई यहाँका किसानलाई वितरण गरिएको हो।

गत वर्ष ५१ किसानलाई ती गाई वितरण गरिएका थिए। आगामी पाँच वर्षमा पाँच सय किसानलाई होलिस्टाइन गाई वितरण गर्ने लक्ष्य रहेको कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले बताए।

‘यसै परियोजनाअन्तर्गत अहिले यहाँ नेपाल–कोरिया मोडेल डेरी भिलेज उद्घाटन गर्न पाउँदा खुसी लागेको  छ’, उनले भने, ‘नगरपालिकालाई दूध र दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउने गरी परियोजना सुरु भएको हो।’ यस परियोजनामार्फत अन्तर्राष्ट्रिय गुणस्तरको दूध उत्पादन गर्दै किसानको जीवनस्तर उकास्ने लक्ष्य रहेको उनले सुनाए।

हाल नगरपालिकामा मासिक ३० हजार लिटर दूध उत्पादन भइरहेकोमा मिल्की वे परियोजनाअन्तर्गत प्राप्त भएका होलिस्टाइन गाईमार्फत आगामी दुई वर्षमा मासिक दुई लाख लिटर दूध उत्पादन हुने अपेक्षा गरिएको प्रमुख  पोखरेलले जानकारी दिए।

‘यहाँको माग मासिक ३० देखि ३५ हजार लिटर दूध हो, आगामी दिनमा दूधको उत्पादन बढेसँगै बजारीकरणका लागि नेपाल–कोरिया मोडेल डेरी भिलेज स्थापना गरेका छौँ’, उनले भने।

परियोजनामार्फत दूधको बिक्री बढाउन दुग्धजन्य पदार्थको उत्पादन गर्ने योजना रहेको प्रमुख पोखरेलले बताए। ‘उत्पादन हुने दूधबाट ‘डट्स’ बनाएर विदेशमा निर्यात गर्ने योजना बनाएका छौँ’, उनले भने। मिल्की वे परियोजनाले दूधमा मात्रै आत्मनिर्भर नबनाएर किसानको आम्दानी पनि बढाउने छ।

‘दूध उत्पादन भएपछि आत्मनिर्भर त हुने नै भइयो, यसबाट आम्दानी बढाएर आगामी दिनमा काम खोज्दै विदेश जानुपर्ने अवस्था अन्त्य गर्ने हाम्रो योजना छ’, प्रमुख पोखरेलले भने, ‘एउटा मात्र होलिस्टाइन गाईपालेर पनि दूध बिक्रीबाट मासिक रु ५० हजारभन्दा बढी आम्दानी गर्न सकिने अवस्था बनाउनु हाम्रो उद्देश्य हो।’

दूध उत्पादन बढेसँगै सहकारीमार्फत डेरी सञ्चालन गर्ने योजना बनाएको प्रमुख पोखरेलले बताए। ‘यो वर्ष ७५ होलिस्टाइन गाई थप हुने छन्, दूध बिक्री नभएर किसानले बाटोमा फाल्नुपर्ने अवस्था आउन नदिनका लागि नगरपालिका सचेत छ’, उनले भने।

गत मंगलबार मोडेल डेरी भिलेजको उद्घाटन गर्दै नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले यो कोरियाद्वारा अन्य मुलुकमा स्थापना गरिएको पहिलो डेरी भिलेज भएको बताए।

‘यस वर्ष दक्षिण कोरिया र नेपालबीच कूटनीति सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवस्थामा होलिस्टाइन गाईको पहिलो बाच्छीको आगमन दुई देशबीचको चिरस्थायी मित्रताको प्रतीक बनेको छ’, उनले भने, ‘सिन्धुलीको नमुना डेरी भिलेजको सफलताका लागि कोरियाले ज्ञान र स्रोतको हस्तान्तरणलाई निरन्तरता दिने छ।’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेलले कृषि क्षेत्रको मेरुदण्डका रूपमा रहेका साना किसानका लागि दिगो विकास र समृद्धिलाई प्रवद्र्धन गर्ने गरी डेरी क्षेत्रलाई आधुनिकीकरण गर्ने दिशामा यो सराहनीय काम भएको बताए।

सरकारी तथ्यांकअनुसार नेपालमा वर्षमा २५ लाख ७० हजार मेट्रिक टन दूध उत्पादन हुन्छ। साथै दैनिक रूपमा ६५ देखि ७० लाख लिटर दूध उत्पादन हुने र त्यसको १७ प्रतिशत औपचारिक क्षेत्रमा, ३३ प्रतिशत अनौपचारिक क्षेत्र तथा बाँकी ५० प्रतिशत घरेलु प्रयोजनमा खपत हुने गरेको पाइएको छ। –रासस
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस