जलविद्युत् आयोजनाको मनपरीः जथाभावी जंगल फँडानी, बिरुवा रोप्न अटेर
०२ जेष्ठ २०७८
•
७ मिनेट पाठ
जलविद्युत् आयोजनाको मनपरीः जथाभावी जंगल फँडानी, बिरुवा रोप्न अटेर
रसुवा र धादिङको सीमाक्षेत्र सोमदाङमा निर्माणाधीन माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाको निर्माण क्षेत्रमा रहेकोे जंगल । तस्बिर : नागरिक
रसुवा र धादिङको सीमाक्षेत्र सोमदाङमा ९ वर्षअघि सुरु गरिएको माथिल्लो मैलुङ ए जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा छ । आयोजनाको पहुँचमार्ग तथा थप संरचना निर्माणको लागि १ सय ४१ वटा रुख कटान भइसकेको छ । काटिएका रुखमा गोब्रे सल्ला र धुपीसल्लो जातका छन् ।  




आयोजना निर्माणका लागि वन विभाग र ईनर्जी इन्जिनियरिङ प्रालिबीच २०६९ मा वनक्षेत्रको जग्गाको भोगाधिकार तथा रुख हटाउनेसम्बन्धी सम्झौता भएको थियो । सम्झौता अनुसार आयोजनाले ६ सय ५७ वटा रुख कटानको अनुमति पाएको थियो ।  सम्झौतामा उल्लेख  भए अनुसार एउटा रुख कटान गरे वापत २५ वटा बिरुवा रोप्नु पर्दछ । अर्थात् १ सय ४१ रुख कटान गरे वापत उक्त आयोजनाले ३ हजार ५ सय २५ वटा विरुवा रोप्नुपर्ने हुन्छ । तर आयोजनाले अहिलेसम्म एउटै बिरुवा रोपेको छैन ।  

६.४२ मेगावाट क्षमताको यो आयोजनाले ४.४२ हेक्टर क्षेत्रमा रुख कटान गरेको छ । आयोजनाले रुख कटानअघि वन विभागसँग २४ बुँदे सम्झौता गरेको थियो । सम्झौताको ६ नम्बर बुँदामा भनिएको छ, ‘वन क्षेत्रको जग्गा अन्य प्रयोजनका लागि उपलब्ध गराउनुपर्ने सम्बन्धी कार्यविधि २०६३ बमोजिम आयोजनाले क्षतिपूर्ति वापत वृक्षारोपण गर्नुपर्ने वनक्षेत्र प्रयोग गरे वापतको ४.४२ हेक्टर (हे.) र आयोजना कार्यान्वयन गर्दा हटाउनुपर्ने रुख विरुवा ६५७ को १ः२५ को अनुपातमा हुने विरुवा संख्या बराबर कुल जम्मा १५ हे. (धादिङमा १ र रसुवामा १४ हे.) क्षेत्रफलमा जिल्ला वन कार्यालयले तोकिएको स्थानमा स्थानीय हावापानी सुहाउँदो प्रजातिका विरुवा वृक्षारोपण गरी ५ वर्षसम्म स्याहार, संहार र संरक्षण गरी सम्बन्धित जिल्ला वन कार्यालयलाई बुझाउनुपर्ने छ । आयोजनाले उक्त कार्य गर्न नसक्ने भएमा सोको लागि लाग्ने लागत अनुमान बमोजिमको रकम सम्बन्धित जिल्ला वन कार्यालयलाई उपलब्ध गराउनुपर्ने छ र जिल्ला वन कार्यालयले वृक्षारोपण र संरक्षणको कार्य गर्ने छ ।’  

सम्झौता अनुसार काम गर्न पटक पटक ताकेता गर्दा पनि आयोजनाहरुले अटेर गरेको बताउँछन् डिभिजन वन कार्यालयका सूचना अधिकारी बद्रीप्रसाद ढुङ्गाना । प्रवक्ता ढुङ्गानाका अनुसार डिभिजन वन कार्यालयको क्षेत्रभित्र निर्माणाधिनमध्ये रसुवागढी बाहेक कुनै पनि आयोजनाले वृक्षारोपण गरेका छैनन् । उनको भनाईमा रसुवागढीले ७ हजार ३ सय वटा विरुवा रोपेको छ । सोमदाङ लगायतका क्षेत्रमा वृक्षारोपण गरिने आयोजना प्रमुख जीतमान शेर्पाले बताए । प्रसारण लाइन निर्माणका लागि यो आयोजनाले पुनः रुख कटान प्रक्रिया अघि बढाएको छ ।  

कुनै पनि ठाउँमा रुख बिरुवा हुर्कनका लागि लामो समय लाग्छ । हिमाली क्षेत्रमा त झनै लामो समय लाग्छ, कारण यो क्षेत्रमा बर्षमा ४ महिना त हिउँ पर्दछ । विद्युत उत्पादनको काम अघि बढाउने नाममा हुर्किएका रुख धमाधम काटेका आयोजनाहरुले सम्झौता अनुसार नयाँ बिरुवा रोप्नेतर्फ चासो नदेखाउँदा त्यसबाट भोलिका दिनमा वातावरणमा पर्न जाने असरको सहजै अनुमान गर्न सकिन्छ । तत्कालै बिरुवा रोप्दा पनि अहिले काटिएका रुख हुर्केको ठाउँमा आउन ती बिरुवालाई बर्षौ लाग्छ । यो बास्तविकतलाई बेवास्ता गर्दै आयोजनाहरुले विरुवा राप्नैपर्ने सम्झौताको पालनामासमेत ध्यान दिएका छैनन् ।

माथिल्लो मैलुङ ए मात्र होइन, डिभिजन वन कार्यालयलसँग सम्झौता गरेर पनि त्यस अनुसार काम नगर्नेको सूची लामै छ । वन कार्यालयका अनुसार निर्माणाधिन लाङटाङ खोला, रसुवा भोटेकोशी, सुपर सान्जेन, सान्जेन, माथिल्लो सान्जेन, माथिल्लो त्रिशूली थ्रि ए, माथिल्लो त्रिशूली थ्रि बि, माथिल्लो मैलुङले पनि सम्झौता अनुसार बिरुवा रोपेका छैनन् । १०२ मेगावाटको माथिल्लो त्रिशूलीसँग त सम्झौता गर्नै बाँकी छ ।  

निकुञ्ज क्षेत्रमा पर्ने १४.७ मेगावाटको फलाखु खोला र ५ मेगावाटको फलाखु खोलाले पनि वृक्षारोपण गरेका छैनन् । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाले भर्खरै रुख कटानको अनुमति पाएको छ । डिभिजन वन कार्यालयले वन क्षेत्रमा जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणको लागि १० वटा आयोजनालाई ११ हजार २ सय ४३ वटा रुख कटानको अनुमति दिएको छ ।  

त्यसैगरी, लाङटाङ राष्ट्रिय निकुञ्जले ५ सय ७५ वटा रुख कटानको अनुमति दिएको छ । वन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र रसुवागढी जलविद्युत् कम्पनी लिमिटेड बीच भएको सम्झौता अनुसार आयोजनाले संरचना निर्माणस्थलमा १ हजार ९ सय ४० वटा रुख कटानको अनुमति पाएको थियो । सोही सम्झौता अनुसार १ः२ को अनुपातमा ३ हजार ८ सय ८० वटा रुख रोप्नुपर्ने थियो ।  हरेक वर्ष बढ्दै गएको विद्युत् संकट न्यूनीकरण गर्नका लागि २०६८ सालमा ऊर्जा संकटकाल घोषणा गरेको थियो । त्यतीबेला निजी क्षेत्रलाई विद्युत् उत्पादनमा प्रोत्साहन गर्ने योजना ल्याएको थियो । यो बेलामा अनुमति लिएका आयोजनाले एउटा रुख कटान गरेवापत २ वटा मात्र रोपे पुग्थ्यो ।  

त्यसैगरी आयोजनाले निर्माण गर्ने प्रसारण लाइन क्षेत्रभित्र १ सय २९ वटा रुख कटान गर्न अनुमति पाएकोमा रुख कटान गरेपछि ३ हजार २ सय २५ वटा रुख रोप्नु पर्ने थियो । जस अनुसार आयोजनाले २०७४/७५ मा १ हजार ७ सय ८१, ०७५/७६ मा २ हजार ४ सय र २०७६/७७ मा ३ हजार २ सय वटा गरी ७ हजार ३ सय ८१ वटा रुख रोपेको छ । आयोजना प्रमुख छवि गैरेका अनुसार रोपिएका विरुवाको संरक्षणका लागि दुईजना हेरालुको व्यवस्थासमेत गरिएको छ । ‘रुख रोपेर मात्रै हुँदैन यसको संरक्षणको दायित्व पनि आयोजनाकै हुन्छ’, गैरेले भने, ‘त्यसैले हेरालुको व्यवस्था गरेका हौं ।’  

रसुवामा निर्माण भइरहेका १२ वटा आयोजनाबाट ७४४.७२ र अनुमति पाएका ९ वटा आयोजनाबाट ४३२.७५ गरी ११७७.४७ मेगावाट विद्युत् उत्पादन हुनेछ । यसैगरी, २२ मेगावाटको चिलिमे, ५ मेगावाटको मैलुङ र ६० मेगावाटको माथिल्लो त्रिशूली थ्रिए जलविद्युत् आयोजनाबाट गरी ८७ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । चिलिमे र मैलुङ जिल्लाभित्र निर्माणाधिन आयोजना हुन् भने माथिल्लो त्रिशूली थ्रि ए रसुवा र नुवाकोटको सिमानामा निर्माण भएको हो । यी आयोजनामध्ये १४ वटा लाङटाङ राष्ट्रिय निकुञ्जको कोर तथा मध्यवर्ती क्षेत्रभित्र पर्छ भने बाँकी वन क्षेत्रभित्र ।  

रसुवाको आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङको भनाइमा गाउँपालिकाभित्रका आयोजनाले समन्वय नगर्दा समस्या आएको छ । पटकपटक पत्र काटेर बोलाउँदा पनि आयोजनाहरुले बेवास्ता गरेको अध्यक्ष तामाङको भनाई छ । उनले भने, ‘आयोजनाले आफूखुशी काम गर्दा स्थानीयको माग तथा आवश्यकता सम्बोधन भएको छैन ।’  

ओझेलमा वातावरणीय मुद्दा

प्रसारण लाइन निर्माणका लागि यतिका धेरै जलविद्युत् आयोजनाले  ठूलो संख्यामा रुख कटान गरेका छन् । तर सम्झौता अनुसार विरुवा नरोप्दा भूक्षय  लगायतका समस्या आएको छ । गतवर्ष रसुवागढी जलविद्युत् आयोजना क्षेत्रमा पहिरो जाँदा लामो समयसम्म काम रोकिएको थियो । निर्माणाधिन आयोजनाले सान्जेन, मैलुङखोला, भोटेकोशी, लाङटाङ फलाखुखोला र त्रिशूली खोलाको पानी उपयोग गर्नेछन् । आयोजना सम्पन्न भएसँगै आर्थिक हिसाबले देशलाई फाइदा हुने भएपनि वातावरण संरक्षणको मुद्दा भने ओझेलमा पर्न गएको छ । यसले दीर्घकालीन रूपमा ठुलो क्षति पुर्‍याउने देखिन्छ ।  

विद्युत उत्पादन सुरु गरिसकेका आयोजनाले खोलामा १० प्रतिशत पानी छोड्न पर्ने हुन्छ । तर ती आयोजनाले पानी नछोड्दा खोला सुकेको छ । जसले गर्दा त्यस क्षेत्रका जलप्राणी र रुख विरुवा मासिएका छन् । माथिल्लो त्रिशूली थ्रि ए ले खोलामा पानी नछोडेकै कारण त्यो क्षेत्र मरुभूमि जस्तो देखिएको छ । जबकि पहिले हिउँदमा पनि त्यस क्षेत्रमा पानी हुन्थ्यो ।  

निर्माणाधीन २१६ मेगावाटको माथिल्लोे त्रिशूली १ मा कोरियन लगानी छ भने एकाधमा नेपाली । अधिकांश आयोजनामा चिनियाँ लगानी छ । माथिल्लो त्रिशूली थ्रि बिमा सिचुआन एएनएचइ हाइड्रोइलेक्ट्रिक इन्जिनियरिङ, सुपर सान्जेनमा चोङजिङ वाटर टर्वाइन वक्स कम्पनी, रसुवागढीमा चाइना वाटर एण्ड इलेक्ट्रेसिटी कर्पोरेसन, फलाखुखोलामा चिनियाँ ठेकेदार चोङकिङ वाटर टर्वाइन वक्स कम्पनी लिमिटेड लगायतले काम गरेका छन् । चिनियाँ लगानी नभएको ठाउँमा चिनियाँ ठेकेदारले निर्माणको जिम्मेवारी लिएका छन् ।  

१२० मेगावाटको रसुवा भोटेकोशीमा रु. २० अर्ब ३८ करोड ९८ लाख ९४ हजार, १४.७ मेगावाटको फलाखुखोलामा रु. २ अर्ब ४० करोड, ५ मेगावाटको फलाखुखोलामा रु १ अर्ब, १११ मेगावाटको रसुवागढीमा रु१३ अर्ब ६८ करोड, १४.३ मेगावाटको माथिल्लो मैलुङमा रु. २ अर्ब ५० करोड, सान्जेनमा रु. ५ अर्ब २ करोड ४२ लाख, १४.८ मेगावाटको माथिल्लो सान्जेनमा रु. २ अर्ब २१ करोड ८० लाख, ७८ मेगावाटको सुपर सान्जेनमा रु. १५ अर्ब २२ करोड ७० लाख, ३७ मेगावाटको माथिल्लो त्रिशूली बीमा रु. ७ अर्ब ४४ करोड, २१६ मेगावाटको माथिल्लो त्रिशूली १ मा  रु. ६५ अर्ब लगानी रहेको छ ।  

रसुवामा २०५२ देखि जलविद्युत आयोजना निर्माणको काम सुरु भएको हो । चिलिमे जलविद्युत् आयोजनाले २०६० भदौ ८ देखि उत्पादन सुरु गरेको थियो । त्यसयता जलविद्यु्त् आयोजनाको अनुमति लिनेको भीड लागेको छ ।

(यो आलेख/फिचर इन्टरन्युज/अर्थ जर्नालिज्म नेटवर्कको सहयोगमा एन्टेना फाउण्डेशन नेपालले सञ्चालन गरेको वातावरण पत्रकारिताः रिपोर्टिङ कार्यशालापछि तयार पारिएको हो ।)
अर्को समाचार
पहिरोबाट सात जलविद्युत् आयोजना प्रभावित
२३ साउन २०७९
•
३ मिनेट पाठ
पहिरोबाट सात जलविद्युत् आयोजना प्रभावित
पहिरोका कारण म्याग्दीका सात जलविद्युत् आयोजना निर्माण प्रभावित भएका छन्। रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत् आयोजना निर्माण प्रभावित बनेको हो। अरबौ लगानीमा निर्माणाधीन आयोजनाको काम नियमित नहुँदा निर्माण अवधि लम्बिने र लागत बढ्ने देखिएको छ।  




जिल्लामा तीन सय ५३ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माणाधिन छन्। जलविद्युत् आयोजनाका पहुँचमार्गमा पहिरो जाँदा इन्धन, निर्माण सामग्री र सुरुङ खन्न आवश्यक पर्ने विस्फोटक पदार्थ ढुवानीमा समस्या भएको हो।  

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका व्यवस्थापक राज विष्टले बाँध र दुई वटा अडिटबाट सुरुङ निर्माण रोकिएको बताए।  

'दग्नामबाट खसेको पहिरोका कारण झिँको सिमानामा रहेको बाँध, अडिट १ र २ को सुरुङ निर्माण रोकिएको छ,' उनले भने, 'पावर हाउस र अन्य अडितको काम भने निरन्तर भइरहेको छ। बाँधतर्फ जाने पहुँचमार्गमा पैदल हिँडेर पनि जान नसकिने पहिरो खसेको छ।' राहुघाट नदीमा आएको बाढीले ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्सले भाडामा लिएको डोजर बगाएको थियो। तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको ३७ मेगावाट क्षमताको राहुघाट मङ्गले, ४८.५ मेगावाटको अपर राहुघाट र संयुक्त ऊर्जा प्रालिले निर्माण गरिरहेको २१.३० मेगावाट क्षमताको ठुलोखोला जलविद्युत् आयोजना निर्माणस्थल जोड्ने पहुँचमार्ग अवरुद्ध भएका छन्।  

तुँदी पावरका इञ्जिनियर प्रकाश तिमिल्सिनाले दग्नामको औरी, चिमखोला र मलाङको पहिरोका कारण डिजेल, सिमेन्ट, रड र विस्फोटक पदार्थ ढुवानी हुन नसकेको बताए। भएका सामान सकिएपछि भरिया र खच्चरमा बोकाउँदा महँगो पर्न गएको इन्जिनियर तिमिल्सिनाले बताए।  

धौलागिरि कालिका हाइड्रो लिमिटेडले मालिका गाउँपालिकामा निर्माण गरिरहेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाका आवासीय इञ्जिनियर बालकुमार रोकाले पहिले दैनिक तीन पटक विस्फोटक हुने गरेकोमा बर्खा लागेपछि एक पटक मात्र गर्न सकिएको बताए।  

धौलागिरि र मालिका गाउँपालिकामा अपर म्याग्दी हाइड्रोपावर लिमिटेडले निर्माण थालेको ५३.५० मेगावाट क्षमताको अपर म्याग्दी पहिलो र हाइड्रो इम्पायर प्रालिले धौलागिरि गाउँपालिका–४ मा निर्माण गरिरहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनास्थल पनि सडक सम्पर्कविच्छेद भएको छ।  

नेपाल विद्युत् प्राधिकरणले निर्माण थालेको १३२ केभी क्षमताको डाडाखेत सवस्टेशन निर्माणस्थल जोड्ने सडक पनि अवरुद्ध भएको छ। निरन्तरको बर्सातका कारण दिनमा मर्मत गरिने सडक रातमा भत्किने गर्छन्। निर्माण सामग्री र इन्धनको व्यवस्थापन गर्न नसक्दा आयोजनाका निर्माण कम्पनीले मजदुर घटाएका छन्।  

अन्नपूर्ण गाउँपालिकामा सञ्चालित ७१ मेगावाट क्षमताको नीलगिरि क्यासकेड, ३८ मेगावाट क्षमताको नीलगिरि पहिलो, १४ मेगावाट क्षमताको घारखोला र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण कार्यलाई भने निरन्तरता दिइएको प्रवर्द्धकले जनाएका छन्।  

विद्युत् विकास विभागका अनुसार ४९ मेगावाट क्षमताका तीन वटा जलविद्युत् आयोजना सञ्चालनमा आइसकेको म्याग्दीमा ७००.८३ मेगावाट क्षमताका १७ आयोजनाले निर्माणका लागि अनुमति लिएका छन्।  

३४६.०३ मेगावाट क्षमताका छ वटा आयोजना निर्माणको तयारी र प्रक्रियामा छन्। ८३.५ मेगावाट क्षमताका तीन वटा आयोजनाले निर्माणका लागि अनुमति मागेका छन्। जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ वटा आयोजना सर्वेक्षणको क्रममा छन्।  

सबैभन्दा बढी १० जलविद्युत् आयोजना रहेका अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ नारच्याङमा ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ५ मेगावाटको घलेम्दीखोला र दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा छन्। 
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस