खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा पहिलोपल्ट होमस्टे सञ्चालनमा ल्याइएको छ । स्वदेश तथा विदेशबाट हलेसी आउने पर्यटकलाई लक्ष्यीत गर्दै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको माथिल्लो माल्खुका युवा सुविन्द्र गिरीले होमस्टे सुरु गरेका हुन् । व्यवसायीकरुपमा गाई, लोकल कुखुरा, टर्की पालन तथा तरकारी खेती गर्दै आएका गिरीले लकडाउनकै अवधिमा आवश्यक संरचना निर्माण गरी होमस्टे सञ्चालनमा ल्याएका हुन् । हाललाई खाजा, नास्ता, पेय पदार्थ लगायतका सेवा सहितको होमस्टे सञ्चालनमा ल्याएको गिरीले बताए । हलेसीबाट ककनी मन्दीर जाने बाटोमा गिरीले दुई वटा कटेज बनाएर होम स्टे सुरु गरेका हुन् । उनको होमस्टेले अझै पूर्णता पाउन बाँकी छ ।
हलेसी महादेवस्थान विकास समितिको पहलमा गिरीकै अध्यक्षतामा होमस्टे सञ्चालन समिति गठन भएको केही समयपछि होमस्टे सुरु गरिएको हो । माथिल्लो माल्खुमा सामुदायीक होमस्टे सञ्चालन गर्ने लक्ष्य राखिएको छ । आवश्यक पुर्वाधार तयार पारेर कम्तीमा पाँच घरबाट होमस्टे सेवा दिने तयारी गरिएको गिरीले बताए । होमस्टेमा आउने पर्यटकलाई देखाउनका लागि माथिल्लो माल्खुमा हाल बालन र संगीनी नाच सिक्ने अभ्यास भइरहेको छ ।
घरेलु तथा साना उद्योग विकास समिति र हलेसी तुवाचुङ नगरपालिकाको संयुक्त आयोजना केही समयअघि उनीहरुलाई होमस्टे सञ्चालन सम्बन्धी तालिम दिएको थियो । ‘पाँच घरबाट सुरु गर्ने र क्रमशः १४÷१५ घरलाई समेट्ने लक्ष्य छ,’ गिरीले भने, ‘प्रत्येक घरमा एक–एक कोठा निकालेर सामुदायीक होमस्टे चलाउने तयारी गरिरहेका छौँ । यसका लागि नगरपालिका र वडासँग पनि सहकार्य गर्ने छौँ ।’
हलेसी माल्खुका सुबिन्द्र गिरीको होमस्टेमा बनाइएको कटेजमा पुगेका अतिथि । स्वदेश तथा विदेशका पर्यटक तथा दर्शनार्थीको भीड लाग्ने हलेसीमा होमस्टे व्यवसायमा हात हाल्ने गिरी पहिलो हुन् । महादेवस्थानकै तल्लो माल्खु र ऐसेलुखर्क पनि होमस्टे सञ्चालनका लागि सञ्चालक समिति गठन भइसकेको हलेसी महादेवस्थान विकास समितिका अध्यक्ष टंक राईले बताए । होमस्टेका लागि ऐसेलुखर्कमा कोपीला राईको अध्यक्षतामा होमस्टे सञ्चालक समिति गठन गरिएको छ । दर्शनार्थी एबं पर्यटकको दैनिक भीड लाग्ने हलेसीमा हालसम्म होमस्टेको विकास हुन सकेको छैन । होमस्टे व्यवसायले स्थानीय उत्पादनको प्रवद्र्धनका साथै स्थानीयलाई आत्मनिर्भरताको बाटोमा डोर्याउने अपेक्षा गरिएको छ ।
कोरोना भाइरस संक्रमण त्रासले गरिएको लकडाउनसँगै अघिल्लो चैतदेखि देशभरका होमस्टे ठप्प भए। पाहुना राख्न नपाउँदा होमस्टेले आम्दानी गुमाउन पुगे। आन्तरिक पाहुनालाई सत्कार गरेर कमाइ गरेका होमस्टे लकडाउनसँगै सुनसान बने। तर संक्रमण कम हुँदै गएपछि मंसिरदेखि होमस्टेले पाहुना राख्न थाले।
कोरोना त्रासले झन्डै नौ महिनासम्म सुनसान बनेका होमस्टे यतिबेला पाहुना पाउँदा तंग्रिने प्रयासमा छन्। त्यसको उदाहरण हो, लम्जुङको घलेगाउँ होमस्टे। यो होमस्टेले मंसिरदेखि पाहुना स्वागत गर्न थालेको छ। पाहुना आउन थालेसँगै स्थानीयले आम्दानी पनि गर्न पाएका छन्। पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार गाउँका ४० घरमा होमस्टे सेवा छ। ‘यतिबेला आन्तरिक पाहुना आउन थालेका छन्।
कोरोनाका कारण झन्डै नौ महिना पाहुना राख्ने अवस्था रहेन,’ घलेले भने, ‘मंसिरदेखि होमस्टेमा पाहुना आउन थालेका छन्। अहिले आगमन राम्रै छ।’ उनका अनुसार ४० घरमा तीन सय ५० जनासम्म पाहुना अट्छन्। शुक्रबार र शनिबार घलेगाउँको होमस्टेमा आन्तरिक पाहुनाको भिडभाड नै हुन्छ। ‘सबै आन्तरिक पाहुना हुन्। कोरोना त्रासले लामो समय घरबाहिर निस्कन नपाएका मानिस अहिले घलेगाउँसम्म आएका छन्,’ उनले भने, ‘यसले गाउँलेलाई आम्दानी दिएको छ।’
घलेगाउँका बासिन्दाका लागि ५/६ महिना घरखर्च धान्ने कमाइ होमस्टले यो अवधिमा दिलाएको उनले बताए। ‘यो बेला विदेशीको अपेक्षा गर्न सकिन्नँ। सहरका युवा होमस्टे बस्न गाउँ पसेका छन,’ उनले भने, ‘यसले गाउँलेलाई आम्ल्दानी पनि दिएको छ।’ २०५६ सालमा घलेगाउँमा होमस्टे सुरु भएको थियो। यो गाउँलाई २०६५ सालमा सार्क राष्ट्रकै पहिलो नमुना ग्रामीण पर्यटकीय गाउँ घोषणा गरिएको थियो। २०७६ सालमा यो गाउँलाई नेपालकै पहिलो स्मार्ट भिलेजको रूपमा पनि विकास गरियो।
त्यस्तै कास्कीको सिक्लेस होमस्टेका सचिव पदम गुरुङ पनि होमस्टेमा आन्तरिक पाहुना आउन थालेको बताउँछन्। तर पाहुनाको उपस्थिति लकडाउनअघिको जस्तो छैन। अहिले फेरि कोरोना संक्रमण बढ्न थाल्दा पाहुना आउन रोकिने हुन् कि भन्ने चिन्ता पलाएको सचिव गुरुङले बताए। ‘लकडाउनअघि जस्तो पाहुना त आएका छैनन्। तर पहिलेको जस्तो नभए पनि पछिल्ला केही महिना पाहुना बढ्न थालेका थिए,’ उनले भने, ‘पाहुना आउन थालेपछि केही सहज भएको छ, हामी पनि उत्साही छौंं। तर फेरि कोरोना त्रास बढ्न थाल्दा हामी त्रसित छौं।’
सचिव गुरुङका अनुसार सिक्लेसका २० घरमा होमस्टे छ। ती सबै घरमा रातमा १५० जनासम्म पाहुना अट्छन्। एक घरमा बढीमा १० जनासम्म पाहुना अट्छन्। खासगरी पछिल्लो तीनचार महिनायता काठमाडौं, चितवन, पोखराका मानिस रमाउनका लागि सिक्लेस आउन थालेका छन्। ‘लामो समय कोरोनाका कारण होमस्टे व्यवसाय थला पर्यो। तर पछिल्लो समय होमस्टे गंग्रिने प्रयासमा छन्। त फेरि कोरोनाको त्रास छाएको छ,’ उनले भने, ‘बल्लतल्ल उठ्न लागेका होमस्टे पुुनः थला पर्ने हुन् कि भन्ने चिन्ता पलाएको छ।’
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ), गण्डकीका अध्यक्ष नवराज अधिकारी पछिल्लो अवधिमा प्रदेशका सबैजसो होमस्टेमा पाहुना पुग्न थालेको बताउँछन्। लकडाउनअघि जस्तो पाहुना नआए पनि होमस्टेले ४० प्रतिशत ब्यापार गर्न सकेको उनले बताए। ‘अप्ठेरो अवस्था नआउने हो भने अबका दुई–तीन महिनामा होमस्टेले पहिलेकै आकारमा ब्यापार पाउँछन्। तर पुनः कोरोना संक्रमण त्रास बढ्दै जाँदा ढुक्क हुने अवस्था भने छैन,’ अधिकारीले भने।
अधिकारीका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामा तीन सय ३० वटा होमस्टे सञ्चालनमा छन्। ती सबैले पाहुना नपाए पनि नाम चलेका होमस्टेमा भने अहिले पर्याप्त पाहुना आउन थालेको उनले बताए। ‘कोरोना त्रासका कारण लामो समय बन्द रहेका होमस्टे बल्लतल्ल तंग्रिने प्रयासमा छन,’ उनले भने, ‘फेरि त्रास बढ्दै जाँदा अब के होला भन्ने अन्योल छ।’
गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्साल पनि होमस्टेले बल्ल व्यावसायिकता पाउन थालेको बताउँछन्। होमस्टेले स्थानीय उत्पादन बढाउन र आयात विस्थापित गराउन सघाएको उनले बताए। ‘होमस्टेले आम्दानी दिएको छ, संस्कृति पनि जोगाएको छ। होमस्टे जनता र गरिबसँग जोडिएको छ। त्यसैले होमस्टेको विकासमा प्रदेश सरकारले सघाएको हो,’ उनले भने। कोरोनाका कारण थलिए पनि अब उकासिने विश्वास उनको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...