छेउमै बाह्रै महिना बागमती नदी बग्छ। तर २० मिटर माथिको सयौं बिघा खेत सिँचाइका लागि आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता। यो सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका किसानहरूले वर्षौंदेखि भोग्दै आएको पीडा हो।
तर, अब यो अवस्था फेरिँदैछ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिन्धुलीले करिब चार करोडको लागतमा लिफ्ट सिँचाइ आयोजना अगाडि बढाएपछि स्थानीय किसान हर्षित भएका छन्।
हरिहरपुरगढी गाउँपालिका–२, चैनपुरमा बागमती नदीबाट पानी तानेर खेत सिञ्चित गर्ने गरी लिफ्ट सिँचाइ आयोजनाको काम धमाधम भइरहेको छ। यो आयोजनाले करिब तीन सय परिवारको सयौं बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ।
‘खोला नजिकै भएर पनि खेत बाँझै राख्नुपर्ने अवस्था थियो,’ स्थानीय किसान कमल राई भन्छन्, ‘व्यक्तिगत रूपमा मोटर लगाएर पानी तान्दा वर्षमा दुई/तीन पटक मोटर बिग्रिएर हैरान हुन्थ्यो। अब व्यवस्थित लिफ्ट सिँचाइ बन्न थालेपछि हामी निकै खुसी छौं।’
यसअघि विभिन्न राजनीतिक नेतृत्वले ठूला सिँचाइ आयोजना बनाउने आश्वासन दिए पनि त्यो कहिल्यै पूरा भएको थिएन। तर, अहिले बागमती प्रदेश सरकार अन्तर्गतको डिभिजन कार्यालयले बहुवर्षीय आयोजनाको रूपमा लिफ्ट सिँचाइ निर्माण सुरु गरेपछि किसानले राहत महसुस गरेका हुन्।
लिफ्ट सिँचाइ मात्र नभई कार्यालयले नजिकैका खोलाहरूमा पक्की संरचनासहितको कुलो र ड्याम पनि निर्माण गरिदिएको छ। जसले गर्दा बर्खामा भेल पसेर हैरान हुने किसानलाई समयमै रोपाइँ गर्न सहज भएको छ।
‘पक्की ड्याम र कुलो बनेपछि झन्डै तीन सय बिघा खेत सिञ्चित गर्न सहज भएको छ,’ स्थानीय चन्द्र राईले भने, ‘हामीले समयमै रोपाइँ सुरु गर्न पाएका छौं।’
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिन्धुलीका प्रमुख कृष्णबहादुर पाण्डेका अनुसार, नदी किनारका खेतीयोग्य जमिनमा पानी पुर्याउन लिफ्ट सिँचाइ प्रभावकारी देखिएको छ।
‘सिन्धुलीमा मरिण, बागमती, सुनकोसी, कमला र चदाहा नदी किनारमा हजारौं बिघा खेतीयोग्य जमिन छ,’ उनले भने, ‘पानीको सतह र जमिनको उचाइ नमिल्दा ती जमिन बाँझै थिए, अब लिफ्टमार्फत सिँचाइ पुर्याउँदैछौं।’
साथै, उनले लिफ्ट सिँचाइ केही खर्चिलो हुने भएकाले किसानहरू व्यावसायिक उत्पादनमा जोडिनुपर्ने बताउँछन्। ‘विद्युत् महसुल तिर्नुपर्ने, कर्मचारी व्यवस्थापन गर्नुपर्ने जस्ता खर्चहरू हुन्छन्। त्यसैले किसानले व्यावसायिक उत्पादन गरेर आयआर्जन बढाउन सके मात्र यो आयोजना दिगो हुन्छ,’ प्रमुख पाण्डेले भने।
कार्यालयले जिल्लाभर सिँचाइका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको र ती चालु आर्थिक वर्षको अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।
बाँके, बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ।
केही दिनयता प्रेमको दिनचर्या बदलिएको छ। उनी हिजोआज बिहानै ताउमा सिंगाडा टिप्न पुग्ने र दिनभर बिक्री वितरण गर्ने कार्यमा व्यस्त छन्। परम्परागत सिंगाडाखेतीलाई व्यावसायिक रूप दिएर कश्यपले एकै सिजनमा करिब रु चार लाख आम्दानी गर्दै उदाहरणीय किसानको पहिचानसमेत बनाएका छन्।
वार्षिक रु २० हजार तिर्ने गरी गाउँपालिकासँग १५ कट्ठाभन्दा बढी क्षेत्रफलको तलाउ भाडामा लिएर कश्यपले वर्षौंदेखि सिंगाडाखेती गर्दै आएका छन्। अन्य अन्नबालीको तुलनामा कम लगानी र थोरै मिहिनेतमा राम्रो प्रतिफल पाइने भएकाले यस पेसाप्रति आकर्षित भएको प्रेमले बताए।
“अहिले सिंगाडाको सिजन हो, सिजनभर ६० क्विन्टलभन्दा बढी सिंगाडा बिक्री गर्छु,” कश्यपले भने, “प्रतिक्विन्टल रु छ हजारका दरले गाउँबाटै बिक्री भइरहेको छ, व्यापारीहरू खोज्दै गाउँमै आउने भएकाले बजारको कुनै चिन्ता छैन।”
कश्यपका लागि सिंगाडाखेती केवल व्यवसाय मात्र होइन, पुख्र्यौली विरासत पनि हो। बाउबाजेका पालादेखि चल्दै आएको यही पेशाले उनको आठ जनाको परिवारको जीविकोपार्जन धानेको छ।
सिजन सुरु भएसँगै कश्यप परिवारलाई बिहानदेखि साँझसम्म तलाउबाट सिंगाडा टिप्न, सफा गर्न र तौलेर व्यापारीलाई बुझाउन भ्याइनभ्याइ हुन्छ। माग अत्यधिक भएका बेला उहाँले चार–पाँच जना ज्यालादारी मजदुरसमेत लगाएर सिंगाडा टिप्ने गरेका छन्।
असार महिनामा तलाउको पानीमा बीउ रोपेपछि कात्तिक र मङ्सिर महिनामा सिंगाडा टिप्न तयार
हुन्छ। एकपटक रोपेपछि सिजनभर तीन पटकसम्म फल टिप्न मिल्ने कश्यपको अनुभव छ। “सिंगाडाको बीउ असार महिनातिर पानीमा हाल्छौँ, कात्तिक–मङ्सिर महिनामा उत्पादन हुन्छ, अन्य बालीलाई जस्तो धेरै दुःख, मिहिनेत र लगानी गर्नुपर्दैन”, कश्यपले भने, “रोपेपछि दुई/तीन पटकसम्म आवश्यकताअनुसार किराबाट जोगाउन विषादी हाल्छौँ, भिटामिन पनि हाल्छौँ, अनि उत्पादन राम्रो हुन्छ।”
चाडपर्व र मेलामा अत्यधिक माग
बाँकेका विभिन्न तलाउ तथा पोखरीहरूमा सिंगाडाखेती हुने गर्छ। बाह्रै महिना नपाइने भएकाले कात्तिक–मङ्सिरको सिजनमा यसको माग उच्च रहन्छ। विशेषगरी चाडपर्व, व्रत र स्थानीय मेलाहरूमा सिंगाडाको खपत ह्वात्तै बढ्ने गर्छ। व्रत बस्नेहरूले सिंगाडालाई उसिनेर, पिसेर हलुवा बनाई खाने तथा तरकारीका रूपमा समेत प्रयोग गर्ने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। यस वर्षको कार्तिक पूर्णिमा मेलामा मात्रै ठूलो परिमाणमा सिंगाडा खपत भएको कश्यपले बताए। नेपालगञ्जका खुद्रा व्यापारीहरू ताजा सिंगाडा किन्न सिधै नेवाजीगाउँ पुग्ने गरेका छन्।
उत्पादन र स्थानीय बजार राम्रो भए पनि भारतबाट अवैध रूपमा भित्रिने सिंगाडाले कहिलेकाहीँ स्थानीय किसानलाई मर्कामा पार्ने गरेको छ। भन्सार छली चोरीको बाटो हुँदै भित्रिने भारतीय सिंगाडा नेपालगञ्ज बजारमा सस्तो दरमा बिक्री हुन थालेपछि आफूहरूले पनि बाध्य भएर मूल्य घटाउनुपर्ने अवस्था आउने गरेको कश्यपको गुनासो छ। सीमा नाकामा कडाइ गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सके गाउँकै तलाउबाट अझै बढी आम्दानी गर्न सकिने उनको विश्वास छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...