सिमलटारी–सौतामारे–मच्छी सडकखण्ड अलपत्र
३० वैशाख २०८२
•
१० मिनेट पाठ
सिमलटारी–सौतामारे–मच्छी सडकखण्ड अलपत्र
<br>
‘बुर्लुकबुर्लक उफ्रेर एक सेकेन्डमै प्यूठान, गुल्मी र अर्घाखाँची जिल्ला टेकेँ,’ वरिष्ठ पत्रकार भैरव रिसालले ‘रातो फूलबारी’ पुस्तकमा लेखिएको ‘एकै सेकेन्डमा तीन जिल्ला’ शीर्षकको नियात्रामा उल्लेख गरेका छन्। उनको नियात्रामा उल्लेख भएअनुसार प्यूठान, गुल्मी र अर्घाखाँची तीन जिल्ला जोडिएको पवित्र, सुन्दर र मन लोभ्याउने त्रिवेणीस्थल प्यूठानको सौतामारेको हो।




हो, त्यही तीन जिल्लालाई जोड्ने प्यूठानको सौतामारे भएर जाने राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गतको गुल्मी–प्यूठान सडक खण्डको कामले गति लिन सकेको छैन।

गुल्मीबाट प्यूठानको मच्छीसम्म पुग्ने मदन भण्डारी राजमार्गको काम धिमा गतिमा अघि बढेको छ। प्यूठानको कोसेढुङ्गाका रुपमा हेरिएको यस राजमार्गअन्तर्गत पर्ने सौतामारे–मच्छी सडक खण्डको काम द्रूत गतिमा नहुँदा सर्वसाधारणलाई समस्या परेको छ।

मदन भण्डारी राजमार्गअन्तर्गतको गुल्मीको सिमलटारी हुँदै प्यूठानको सौतामारे–मच्चीमा काममा प्रगति भएको देखिँदैन। सडक निर्माणका लागि पहाड काटे पनि काम पूरा नभएर अलपत्र परेको छ।

स्थानीयहरु घर अगाडि कालोपत्र सडक निर्माण हुने भएपछि जति खुसी देखिन्थे तर सडकको काम अगाडि नबढ्दा त्यतिकै दुःखी र आक्रोश रहेको देखिन्थ्यो।

गुल्मीको सिमलटारीदेखि प्यूठानको सौतामारे–मच्छिसम्मको ३१.८ किलोमिटर रहेको छ। यसमा गुल्मीदेखि प्यूठानको सौतामारेसम्मको १६ किलोमिटर गुल्मीमा र सौतामारेदेखि मच्छीसम्म १५.८ किलोमिटर प्यूठानमा पर्दछ। २०७९ कात्तिकमा उक्त सडक बनाउने ठेक्का सम्झौता श्रेष्ठ सक्षम निर्माण जेभीले पाएको छ।

श्रेष्ठ र सक्षम निर्माण कम्पनी (जेभी) ले सडक निर्माण थालनी गरेयता पटकपटक भुक्तानी पाए पनि केही महिनादेखि काम बढाएको छैन। झिमरुक गाउँपालिका–१ को सौतामारे फेदीमा क्रसर, स्काभेटर, जेसिबीसम्म राखेको देखिन्छ। यसले गर्दा आगामी साउनमा सम्पन्न हुनैपर्ने सिमलटारी–सौतामारे–मच्छी सडक खण्ड पूरा नहुने देखिन्छ।

सरकारले मदन भण्डारी राजमार्ग भित्री मधेश र चुरे क्षेत्रमा रहेका धरान, उदयपुरको गाईघाट, हेटौँडा, भरतपुर, पाल्पाको रिडी, गुल्मी तम्घास, प्यूठानको मच्छी, वाग्दुला र बिजुवार हुँदै दाङको घोराहीदेखि सुर्खेतसम्मका शहरलाई जोड्ने औद्योगिक करिडोरका रुपमा निर्माण गर्न थालिएको हो।

यसअन्तर्गत प्यूठानमा सौतामारे–मच्छी–वाग्दुला–बिजुवार–चकचके–खुङग्रीसम्मको सडक विस्तार हुनेछ। अहिले पहिलो चरणमा सौतामारे–मच्छी सडक खण्ड बन्दैछ।

यो राजमार्ग बनाउनुको उद्देश्य भित्री मधेश र चुरे क्षेत्रमा यातायात तथा त्यस क्षेत्रका खानीसम्म पहुँच पुर्‍याउँदै स्थानीय कृषि उत्पादनलाई बजारीकरण गर्नु पनि रहेको हो।

प्यूठानबाट निर्वाचित सांसद सूर्य थापाले ठेक्का सम्झौता भएर काम सुरु भए पनि सडकको काम अगाडि बढ्न नसकेको बताए। “ठेक्का लगाएर जुन गतिमा सडक निर्माण हुनुपर्ने हो, त्यो हुन सकेको छैन,” उनले भने, “जतिसक्दो चाँडो सम्पन्न गर्नका लागि सम्बन्धित निकायलाई पटक–पटक भनिरहेको छु।”

सांसद थापाले सडकको काम निर्धारित समयमा सम्पन्न गराउनका लागि सडकका जिम्मेवारी व्यक्ति, निर्माण व्यवसायी डम्बर खड्कालाई पनि छलफल गराएको बताए।

उनले सौतामारे–मच्छी सडक खण्ड नबन्दा अहिले सर्वसाधारण धुलो, धुवाँ र हिलोमा हिँड्न बाध्य भएको सुनाए। सांसद थापाले सडक निर्माण गर्नका लागि काठमाडौंस्थित मदन भण्डारी राजमार्गको आयोजना निर्देशनालय र गुल्मीस्थित योजना कार्यालयमा पटकपटक सरोकारवालासँग छलफल गरे पनि छलफलअनुसार काम अगाडि बढन नसकेको जिकिर गरे।

प्यूठानअन्तर्गत मदन भण्डारी राजमार्गको (एनएचशून्यनाइन) को रिडी–सुर्खेत सडक खण्डको रेखाङ्कन रिडी–तम्घास–सिमलटारी–सौतामारे–मच्छी–बिजुवार–चकचके–खुङग्री–लिवाङ–घर्तिगाउँ–सुखाओडार–पातीहाल्ने–थारमारे–बागमारे–शीतलपाटी–सल्यान खलङ्गा–कुभिण्डेदह–बालुवासङ्ग्रही–बोटेचौर–भेडाबारी–धुलियाविट–वीरेन्द्रनगर सुर्खेत कामय गरिएको छ।

यसैगरी, अर्को रिडी–बलकोट–हङसपुर–प्यूठान, प्यूठान–सुर्खेत सडक खण्ड (एनएचनाइन्टिन) को रेखाङ्कन रिडी–बलकोट–सन्धिखर्क–गच्छागैरा–रतनमारे–गोखुङ्गा–वागदुला–देवीस्थान–लोहारपानी–घोराही–तुल्सीपुर–पुरन्धारा–बोटेचौर (सुर्खेत) कायम गर्ने उल्लेख छ। दुवै सडक प्यूठानमा परेको हुनाले ती सडक बनेको खण्डमा प्यूठानको यातायात क्षेत्रमा कोसेढुङ्गा साबित हुनेछ।

यही वैशाख २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सांसद थापाले ज्ञापनपत्र बुझाएर मदन भण्डारी राजमार्गको सिमलटारी–सौतामारे–मच्छी खण्ड ठेक्का लागेर काम ढिलाइ भएकोप्रति ध्यानाकर्षण गराउँदै उक्त सडकखण्डको काम द्रूतगतिमा निर्माण गरिनुपर्ने माग राखे।

ज्ञापनपत्रमा उनले गोखुङ्गा–बाग्दुला खण्डको वातावरणीय प्रभाव मूल्याङ्कन भइसकेकाले ठेक्का लगाउनुपर्ने, सोही खण्डलाई बाग्दुला–बडहर–सारिबाङ हुँदै खैरा गाँजरीस्थित पक्की पुलसम्म झिमरुक नदीको बायाँतर्फबाट विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) गरी ठेक्का लगाएर लिङ्क रोड जोड्न अनुरोध प्रधानमन्त्री ओलीसमक्ष गरे।

यस्तै, मच्छीबाट–पिँडाल्ने–छातीपाटा–राताटारी–कुटिचौर–दम्ती–बिजुवार–बेलुवासम्मको खण्डमा यसै राजमार्गलाई लिङ्करोडका रुपमा डिपिआर गरी ठेक्का लगाउनुपर्ने माग प्रधानमन्त्री ओलीसक्षम सांसद थापाले माग राखेका थिए।

गुल्मीस्थित योजना कार्यालयका सूचना अधिकारी हुमानाथ पौडेलका अनुसार एक अर्ब ४५ करोड ३२ लाख ९९ हजार ९०० मा सडक निर्माणको सम्झौता भएको छ।

झिमरुक–१ सौतामारेका वडाअध्यक्ष धुव्रराज खनालले राजमार्ग बनेपछि तीन जिल्लाका स्थानीयलाई सहज हुने बताउँछन्। “अर्घाखाँचीको मलारानी गाउँपालिका र गुल्मीको मदाने, धुर्कोट र मालिकासहित तीनवटा पालिकालाई प्रदेश मुकाम आउजाउ गर्न यही बाटो भएर जान सजिलो हुन्छ”, उनले भने, “अहिले ती पालिकाका स्थानीयवासी केही काम पर्यो भने यही बाटो हुँदै भालुवाङ जाने गरेका छन्। सडक बनेपछि दुई घण्टामा प्रदेश मुकाम जान अर्घाखाँची र गुल्मीका स्थानीयलाई सजिलो हुनेछ।”

वडाध्यक्ष खनालले सडक निर्माणको काम बीचमा अलपत्र पर्दा स्थानीयलाई हिँड्डुल गर्न पनि समस्या भएको छ। “झिमरुक–१ को वाङ्गेसम्म र झिमरुक–४ को स्वास्थ्य कार्यालयमुनिसम्म काट्ने काम भएको छ,” उनले भने, “राजमार्ग बनाउनका लागि दुईवटा स्काभेटर र तीनवटा जेसिबी त्यतिकै राखिएका छन्। काम भएको छैन। गुल्मीतिर एउटा जेसिवी लगाएर सडक निर्माणको काम भने गरिरहेको छ।” उनका अनुसार झिमरुक गाउँपालिकाले सिमलटारी–सौतामारे–मच्छी सडक खण्डलाई वाग्दुलासम्म लैजाने माग भएको तर सुनुवाइ भएको पाइँदैन।

झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले आउने साउनसम्ममा राजमार्गअन्तर्गतको सिमलटारी–सौतामारे–मच्छीको सडकखण्ड पूरा गर्ने भने तापनि निर्माण व्यवसायीले काम नै नगरेको बताए।

“प्यूठान, गुल्मी, अर्घाखाँची र बागलुङका स्थानीयलाई प्रत्यक्ष फाइदा पुग्ने उक्त सडक अहिले काम अगाडि बढ्न नसकेर अलपत्र छ,” उनले भने, “प्रमुख जिल्ला अधिकारीसहित पटक–पटक हामीले सडक निर्माण चाँडै गर्नुपर्‍यो भनेर छलफल पनि गर्‍यो। निर्माण कम्पनीले काम गर्छु भन्छ। तर गर्दैन।”

उनले सडकको काम अलपत्र पार्दा केही व्यक्तिका घर, जग्गा, खेतबारी खण्डहर बनेको समेत बताए। “सडकको काम बीचमा त्यतिकै छाड्दा कसैका घर, बारी, खेत भासिएका छन्”, उनले भने, “दिनदिनै पालिकामा आएर क्षतिपूर्ति चाहियो भनेर स्थानीयले भनिरहेका छन्। निर्माण कम्पनीलाई क्षतिपूर्तिका लागि हामीले मागसमेत गरेका छौं।”

मदन भण्डारी राजमार्ग गुल्मी योजना कार्यालयका प्रमुख रमेश चौधरीले सम्झौताअनुसार निर्माण व्यवसायी काम नगरेको बताए। “निर्माण व्यवसायी आफू आर्थिक सङ्कटमा परेको हुनाले काम अगाडि बढाउन नसकेको बताउँदै आएको छ। सार्वजनिक खरिद ऐनअनुसार ठेक्का हाल्दा र पाउँदा रामो स्थिति रहेको थियो,” योजना प्रमुख चौधरीले भने, “तर पछि कम्पनीको आर्थिक अवस्था नै डामाडोल रहेको छ, “ठेकेदार कम्पनीले आफू आिर्थक सङ्कटमा रहेको भनेर काम गरिरहेको छैन।”

उनले दुई महिनाअघि आफूहरुले काम गरेको सात करोड निर्माण व्यवसायी भुक्तानी गरेको बताउँछन्। “ठेकेदारको भुक्तानी एक महिना ढिलो भए पनि केही दिनअघि मात्र हामीले सात करोड दियाैं। भुक्तानी नपाएपछि काम गर्ने मजदूर पनि विस्तारै आउन छाडेका थिए” उनले भने, “तर पछि भुक्तानी गरिसकेपछि काम गर्ला कि भनेको त आफ्नो व्यक्तिगत कारण देखाउँदै निर्माण व्यवसायी काम गरेको छैन।”

योजना प्रमुख चौधरीले भुक्तानी पाएपछि अलिअलि ग्राभेल मात्र झारेर काम गरेजस्तो मात्र गरेको बताए। उनले निर्माण व्यवसायी सडक समयमा नै सम्पन्न गर्नका लागि प्रत्यक्ष भेटेर र पत्र पठाएर तोकेता गरिरहेको समेत जानकारी दिए।

काम अगाडि नबढाए ठेक्का रद्द

योजना प्रमुख चौधरीले सडक निर्माणको काम अगाडि नबढाएको हुनाले आफूहरुले काठमाडाैंस्थित मदन भण्डारी राजमार्गको निर्देशनालयमा सम्झौता रद्द गर्नेबारे छलफलसमेत गरेको  बताउँछन्।

“हामीले ठेक्का रद्द गर्नेबारे छलफल पनि नगरेको होइन तर अर्को कुनै विकल्प अझै भेटिएको छैन,” उनले भने, “यदि यही अवस्थामा काम अगाडि बढ्न सकेन भने ठेक्का रद्द गरेर अर्को विकल्पमा जानुपर्दछ।”

उनका अनुसार आगामी साउनमा काम सम्पन्न गर्नुपर्ने भए पनि अहिले २५ प्रतिशत भौतिक र २२ प्रतिशत वित्तीय प्रगति भएको छ।

अहिले बाटोको छेउछाउ काट्ने र संरचना निर्माण गर्ने काम मात्र भएको छ। योजना प्रमुख चौधरीले बाटोको सतह मिलाउने, ग्राभेल गर्ने र कालोपत्र गर्ने काम अझै बाँकी रहेको बताउँछन्। उक्त सडक खण्ड करिब सात मिटर चौडाइ र दुवैतर्फ नाली चारमिटरको हुने छ।

गुल्मीको मदाने गाउँपालिका–७ का स्थानीय खिमबहादुर जिसीले दुई महिनादेखि सडक निर्माणको काम ठप्प हुँदा स्थानीयलाई सास्ती भएको सुनाए। “राजमार्ग बन्ने भएपछि हामी खुसी भएका थियौँ। काम पनि भइरहेको थियो”, उनले सुनाए “सडक निर्माणको काम भएको छैन। सडक जताजतै भत्काएर छाडिएको छ। खेत रोप्न पनि गाह्रो हुन्छ। हामी धेरै अप्ठ्यारोमा परेका छौँ।” उनले सडकको काम नहुँदा वर्षायाममा आउजाउमा समेत समस्या हुने बताए।

प्यूठानका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले आयोजना प्रमुख र निर्माण व्यवसायीसँग सम्पर्क गरी सडक बनाउन पहल गरिरहेको बताए। “मेरो केही दिन निर्माण व्यवसायीसँग कुरा हुँदा तत्काल काम सुरु गर्ने र वर्षायाममा उक्त सडकखण्डमा गाडी चल्न सक्ने बनाउने प्रतिबद्धता जनाउनुभएको छ”, उनले भने।

प्रमुख जिल्ला अधिकारी नेपालले मदन भण्डारी राजमार्गको मात्र नभई प्यूठान जिल्लाका अधिकांश आयोजनाका ठेक्का लगाएका तर कामै नगरी भागेका निर्माण व्यवसायीको खोजी गरिरहेको बताए।

मदन भण्डारी राजमार्गको आयोजना निर्देशनालयका प्रमुख दीप बाराहीले समयमा नै निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसक्दा सम्झौताअनुसार सडक निर्माणको काम भनेजस्तो अगाडि नबढेको स्वीकार गरे।

उनले सडकको काम समयमा नै सम्पन्न गर्नका लागि आफू लागिपरेको बताए। उनले सडक निर्माणको काम समयमा नै नसकेकाले ठेक्का तोडेर मात्र समस्याको समाधान नहुने भएकाले निर्माण व्यवसायीलाई दबाब दिएर र फकाएर काम गराउनुको विकल्प नभएको सुनाए।

“हामीले सकेसम्म निर्माण व्यवसायीलाई नै फकाएर, दबाब दिएर र कालोसूचीमा राख्ने जस्ता चेतावनी दिएर काम अगाडि बढाउने सोचमा रहेका छाैं,” उनले भने, “अहिलेको निर्माण व्यवसायीबाट हुँदै भएन भने अन्तिम विकल्प मात्र ठेक्का तोड्ने हो। तर हामी ठेक्का तोड्ने भन्दा उसैबाट काम गराउने पक्षमा रहेका छाैं।”

उनले गत भदौमा प्यूठान र गुल्मीका सांसदसहितको छलफलमा सडक निर्माणको काम अगाडि बढे पनि पछिल्लो समय नै भुक्तानी समयमा नै दिन नसक्दा काम अगाडि नबढेको बताउँछन्।

“हामीले समयमा नै भुक्तानी दिन सकेनौँ। हामी पनि सडक निर्माणका सम्बन्धमा बजेट अभावले कहिकतै चुकेका छौँ,” आयोजना प्रमुख वाराहीले भने, “निर्माण व्यवसायीले काम गर्न आउँदा हामीले भुक्तानी दिन सकेनौँ। दुवै पक्षको कमजोरी देखिन्छ। तैपनि अहिले हामीले निरन्तर निर्माण कम्पनीलाई काम गर्न भनिरहेका छाैं। काम नगर्ने हो भने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्छौँ भनिरहेका छौँ। त्यति गर्दा पनि काम नभएको अवस्था हो।”

यो आलेख तयार पर्दा सडक निर्माणसम्बन्धी कुरा गर्न श्रेष्ठ–सक्षम निर्माण कम्पनी (जेभी) का प्रतिनिधिसँग पटकपटक समर्पक गर्न खोज्दा समर्पक हुन सकेन।निर्देशनालयका अनुसार मदन भण्डारी राजमार्गको अहिलेसम्म ५१ प्रतिशत काम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८४/८५ सम्म काम सक्ने भनेता पनि बजेट अभावले पूरा हुनेमा आशङ्का गरिएको छ।  
अर्को समाचार
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
८ घण्टा अघि
•
२ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।




कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।

शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।

‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’

पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।

सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।

सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस