उपभोक्ता अधिकारसम्बन्धी कानुन कार्यान्वयन नहुँदा ठगी बढ्दो
१७ मंसिर २०८०
•
२ मिनेट पाठ
उपभोक्ता अधिकारसम्बन्धी कानुन कार्यान्वयन नहुँदा ठगी बढ्दो
संविधान र कानुनमा उपभोक्ता अधिकारको स्पष्ट व्यवस्था भए पनि विभिन्न बाहनामा अत्यावश्यक वस्तुमास मेत उपभोक्ता ठगिने गरेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।




चाँगुनारायण नगरपालिकासँगको सहकार्यमा राष्ट्रिय सञ्चारकेन्द्रले आज भक्तपुरको चाँगुनारायणमा आयोजना गरेको उपभोक्ता सचेतनासम्बन्धी कार्यक्रममा सहभागीले कानुनमा व्यवस्था भएका प्रावधानको कार्यान्वयन हुन नसक्दा उपभोक्ता ठगिन बाध्य भएको बताए।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ता अधिकारको विषयमा प्रस्तुति दिँदै कानुनी दृष्टिले नेपालमा विश्वकै उत्कृष्ट उपभोक्ता अधिकार भएको भए पनि कार्यान्वयनका दृष्टिले सबैभन्दा कमजोर अवस्था रहेको बताए।  

उनले नेपालको संविधानले स्वच्छ वातावरण उपभोक्ता संरक्षणजस्ता विषयमा स्पष्ट उल्लेख गरेको जनाउँदै कार्यान्वयनका दृष्टिले नेपालमा धेरै कमजोर अवस्था रहेको उल्लेख गरे।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले संविधान र कानुनले प्रदत्त गरेका उपभोक्ता अधिकारलाई कार्यान्वयन गर्न नसक्नु पनि भ्रष्टाचार रहेको भन्दै आफूहरूले उपभोक्ता अधिकारलाई गम्भीरताका साथ लिएर अनुगमन गर्ने गरेको बताए। उनले सबै पक्षले आ–आफ्नो स्थानमा गम्भीर भएर काम गर्नुपर्ने भन्दै एउटा सरकारले अर्को सरकारलाई दोष दिएर उपभोक्तामाथि खेलबाड गर्न नमिल्ने उल्लेख गरे।

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पछिल्लो समय स्थानीय तहसँग मिलेर जिल्ला प्रशासन कार्यालयले नियमित अनुगमन गर्दै आएको बताए। उनले स्थानीय तह, उपभोक्ता अधिकारकर्मी, सञ्चारकर्मीलगायत सरोकारवालाको सहयोगमा बजार अनुगमन नियमित भइरहेको जानकारी दिए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले नगरपालिकाले उपभोक्ताको हितलाई ध्यान दिँदै नियमित तथा छड्के अनुगमन गर्दै आएको बताए। उनले बजार अनुगमनको कामलाई तीन चरणमा विभाजन गरेर पहिलो प्रचारप्रसार, दोस्रो घरदैलो र तेस्रो चरणमा कैफियत भएकालाई कारबाही गर्नेगरी योजना निर्माण गरिएको बताए।

कार्यक्रममा घरेलु तथा किराना पसल सङ्घ, उद्योग वाणिज्य सङ्घ भक्तपुरका प्रतिनिधिले बजारलाई व्यवस्थित बनाउन व्यवसायी, उपभोक्ता र सरकारको महत्वपूर्ण भूमिका रहेको बताएका थिए।
अर्को समाचार
उपभोक्ता अधिकार: अनुगमन र व्यवस्थापन
०९ असोज २०७९
•
७ मिनेट पाठ
उपभोक्ता अधिकार: अनुगमन र व्यवस्थापन
देश संघीयतामा प्रवेशपश्चात स्थानीय सरकारका निकायले अनुगमन गरिने वस्तु तथा सेवाहरूमा होटल, लज, रेस्टुरा, खाजाघर, शैक्षिक सामग्री, निर्माण सामग्री, इन्धन, कृषि औजार, खाद्यान्न, माछा, मासु, तरकारी, दैनिक उपभोग्य वस्तु, औषधि, स्वास्थ सेवा, रासायनिक मल, विषादी, बिउबिजन लगायतका अन्य क्षेत्र छन्।




उपत्यकामा बजार अनुगमन गरे पनि जिल्ला–जिल्लामा प्रभावकारी रूपमा अनुगमन हुन सकेको छैन्। संघीय संरचना अनुसार २०७४–७५ देखि बजार अनुगमन निरीक्षण र उपभोक्ता सचेतना कार्यक्रम सबै स्थानीय निकायले हेर्ने गरिएको छ। अघिल्लो आर्थिक वर्षसम्म बजार अनुगमन गरिए पनि उपभोक्ता ठग्ने व्यवसायीलाई कारबाही नहुँदा बजार नियन्त्रण र व्यवस्थित बन्न सकेको थिएन्। उपभोक्ता संरक्षण ऐन २०५४, कालाबजारी तथा सामाजिक अपराध ऐन, बजार प्रतिस्पर्धात्मक ऐन, खाद्य ऐन, गुणस्तर तथा नापतौल ऐनलगायतका अरू सम्बन्धित ऐनहरू भए पनि कार्यान्वयनमा नआउँदा बजार व्यवस्थित हुन सकेको छैन्।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ वा गाउँ–नगरसभाबाट स्वीकृत कानुनमा व्यवस्था भएकामा सोहीबमोजिम अन्यथा प्रचलित कानुन जस्तै उपभोक्ता हित संरक्षण ऐननियम, खाद्य ऐननियम, औषधि बिक्री वितरण सम्बन्धी ऐननियम, कालोबजारी तथा अन्य केही सामाजिक अपराध तथा सजाय ऐन, मासु जाँच ऐन लगायतका अरू कानुनका अधीनमा रही बजार अनुगमनबाट दोषी देखिएमा व्यवसायीलाई कानुनी कारबाही र उपयुक्त दण्ड सजायको व्यवस्था गरिएको देखिएको छ।

अपनाएको व्यवस्थाअनुसार स्थानीय सरकारका निकायले पनि वस्तुका मिसावट र गुणस्तरहीन कम तौल भएको पाइएमा आवश्यकता अनुसार त्यस्ता वस्तु जफत गर्न सकिनेछ। गाउँ वा नगरपालिकाबाट गरिने अनुगमन निर्देशिका अनुसार बजार अनुगमन टोलीले बजार अनुगमन गर्दा सेवा वा वस्तु राखेको ठाउँको नियमानुसार जाँचबुझ वा खानतलासी गर्न सक्नेछन्। जाँचपड्तालबाट वस्तु वा सेवाको बिक्री वितरणमा नाजायज कार्य गरेको भेटिएमा आवश्यकता अनुसार त्यस्तो सेवा वा वस्तुका उपयोग वा बिक्री वितरणमा रोक लगाउन सकिने गरिएको छ।

गाउँ वा नगरपालिकामा अनुगमन टोलीले वस्तु वा सेवाको दर्ता, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, विज्ञापनका व्यापारिक कार्य अनुगमन गर्ने, कालोबजारी, एकाधिकार, मिलेमतोपूर्ण भाउ निर्धारण, कृत्रिम अभाव तथा बजार प्रवेशमा अवरोध गर्ने जस्ता गैरप्रतिस्पर्धी व्यापारिक कार्य भए/नभएको गरे/नगरेको अनुगमन गरिनेछ।

बजार प्रणालीलाई प्रतिस्पर्धी र उपभोक्ताप्रति जिम्मेवार बनाउन प्रचलित कानुनको कार्यान्वयमा जोड दिने, उपभोक्ता शिक्षासम्बन्धी सचेतना र बजार अनुगमनको कार्ययोजना बनाइ उपभोक्ता हित संरक्षणको कुरालाई विशेष प्राथमिकतामा लिइने निर्देशिकामा उल्लेख भएको पाइन्छ। उपभोक्ताको स्वास्थ्य सुविधा र आर्थिक हित राख्न, उपभोग्य वस्तु वा सेवाको गुणस्तर कायम राख्न निर्देशिकामा उल्लेख छ। साथै मूल्यको अनियमितताबाट उपभोक्तालाई संरक्षण प्रदान गर्न व्यवसायीका कारोबार दर्ता, आपूर्ति, गुणस्तरलगायत कार्य नियमन स्थानीय सरकारको निकायले गर्नेछन्।

उपत्यकामा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग, नापतौल विभागले अनुगमन गर्दछन्। जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा विभागका प्रतिनीधि, घरेलु, नगरपालिको टोलीबाट अनुगमन गर्ने प्रावधान निर्देशिकामा उल्लेख छ। निर्देशिका अनुसार गाउँपालिका र नगरपालिकाका उपाध्यक्ष र उपप्रमुखको संयोजकत्वमा उपभोक्ता हित संरक्षण समिति गठन गरिने भनिएको छ।

सात सय त्रिपन्न स्थानीय सरकारका निकायले बजार अनुगमनसँग उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्नेछन्। बजार अनुगमनका क्रममा मिसावट, गुणस्तरहीन, कम तौलको सामान बिक्री गरेको प्रमाण देखिएमा तत्काल बन्द गर्न सक्ने अधिकार स्थानीय निकायलाई दिएको छ। उद्योगी व्यवसायीले गैरकानुनी क्रियाकलाप गरेको पाएमा स्थानीय तहले फर्म बन्द गर्ने समेत सक्नेछन्।

बजार अनुगमन प्रभावकारी नभएको अवस्थामा अब कडारूपमा अनुगमन गरिने प्रकाशमा आएको छ। अब पुनः अनुगमन गरिने भनिएको छ। पहिले गरिआएको अनुगमन नाममात्रको भएको आवाज आएका बेला अब सरकारी एक पक्षले गरेको अनुगमनमाथि सरकारी निकायले अनुगमन गरिने भनिएको छ। हालसम्म अनुगमन गरिएका कार्यको विवरण एकत्रित गरिने भनिएको छ। अनुगमनका क्रममा नीतिगत र संरचनागत अवरोधलाई समाधान गर्न अनुगमन प्रभावकारी रूपमा गरिने भनिएको छ। अनुगमन आफैँ चुनौतीपूर्ण रहेकाले नीतिगत समस्या र साधनस्रोतको अभाव हुन नहुने बताइएको छ।

वर्तमानमा भएका कानुन देश संघीय संरचनामा गएसँगै अनुगमनको काम र अधिकार प्रदेश र स्थानीय सरकारका निकायमा जाने र उपभोक्ता अदालतको व्यवस्था हुने भएकाले अब गरिने अनुगमन प्रभावकारी हुन सक्दछ तर उपभोक्ता अदालत अहिलेसम्म गठन भएको छैन्।

धेरैजसो सरकारी कार्यालयमा, जस्तै-शिक्षा, स्वास्थ्य, यातायातमा अनुगमन निकाय शाखा भए पनि सबै प्रभावहीन रहेका देखिन्छ। जहाँबाट अनुगमन कार्य गरे पनि प्रभावकारी नरहेको र दोषी भाग्न पाउने अवस्था भएकाले उन्मुक्ति पाउँदै आएका छन्। अब अनुगमन कार्यलाई नयाँ शिराबाट अगाडि बढाइने भनिएको छ। कमजोर कानुन र विभागको सीमित अधिकारका कारण दोषीमाथि कारबाही गर्ने भन्दा सरकारी अधिकारी नै व्यापारी उद्यमीसँग मिलेको पाइएको छ।

नेपालमा उपभोक्ता हित संरक्षण गर्नका लागि नीतिगत व्यवस्था नभएको होइन। कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२, उपभोक्ता संरक्षण ऐन २०५४, उपभोक्ता संरक्षण नियमावली २०५६, प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन २०६३, संयुक्त बजार अनुगमन निर्देशिका २०६९ लगायतका व्यवस्था छ भने विसं २०७२ को संविधान अनुसार उपभोक्ताको हकअन्तर्गत प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुने र गुणस्तरहीन वस्तु तथा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था गरेको छ। तर यी ऐन तथा कानुन कार्यान्वयनमा नआउँदा बजार व्यवस्थित हुन सकेको छैन।

बजारमा भने कालाबजारी, खाद्य मिसावट, म्याद नाघेको खाद्य तथा पेय पदार्थको बिक्री वितरण भएको गुनासो निरन्तर बढ्दै गएपछि सरकारले हरआर्थिक वर्ष निरन्तर छड्के अनुगमन गर्दै आएको छ। सरकारले महँगी, कालोबजारी, कृत्रिम अभाव नियन्त्रण गरी उपभोक्तालाई राहत दिने प्रतिबद्धता व्यक्त गरे पनि उपभोक्ता भने महँगीको मारमा परेको पर्‍यै छन्। माथिल्लो निकायको दबाब, व्यवसायीबीचको मिलोमतो, फितलो कानुनको फाइदा उठाउँदै उपभोक्ता ठग्ने व्यापारीले उन्मुक्ति पाउँदै आएका छन्। सरकारले बजार अनुगमन गरे पनि त्यसको महसुस उपभोक्ताले गर्न सकेका छैनन्।

उपभोक्ता हित संरक्षण ऐन २०५४ मा पनि उत्पादकले उपभोग्य वस्तुका लेबलमा उत्पादकको नाम, ठेगाना, उद्योग दर्ता नम्बर, खाद्य पदार्थ, औषधि जस्ता उपभोग्य वस्तुमा उक्त वस्तुका मिश्रण, त्यसको परिमाण र तौल, गुणस्तर निर्धारण भएको उपभोग्य वस्तुमा त्यसको अवस्था अनिवार्य उल्लेख हुनुपर्ने भनिएको छ। उपभोग्य वस्तु उपभोग गर्ने तरिका र उपभोग गरेबाट हुन सक्ने प्रभाव, वस्तुको मूल्य, ब्याच नम्बर, उत्पादन मिति, उपभोगको म्याद सकिने मिति उल्लेख गरिनुपर्दछ। ऐनमा लेबल नराखी बिक्री वितरण गरे/गराउनेलाई २ वर्षसम्म कैद वा तीस हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ तर अनुगमनका क्रममा अधिकांश व्यावसायीक फर्ममा कैफियत भेटिए पनि कारबाही हुन सकेको देखिँदैन।

देशमा राजनीतिक अस्थिरता र संकटकाल अन्त्य भए पनि उपभोक्ता अधिकार पनि कुण्ठित हुनबाट कम भएको छैन। कुनै बहानामा फाइदा उठाउँदै बजारमा दैनिक उपभोग्य वस्तुका कृत्रिम अभाव र बढी मूल्य लिने प्रवृत्तिमा कमी भएको छैन। तैपनि बजार अनुगमन लगायतका कारण पछिल्लो समय उपभोक्ता आफैं सचेत हुँदै आएका छन्।

२०७३–७४ सम्म उपत्यकामा मात्रै अनुगमन केन्द्रित गरेकाले जिल्लामा बजार अनुगमन न्यून रूपमा हुँदै आएको छ। तर संघीय संरचनामा २०७४–७५ देखि स्थानीय सरकारका निकायलाई अनुगमन र कारबाहीको अधिकार दिएको छ। सरकारले उपत्यकामा मात्र ध्यान दिँदा जिल्लामा व्यवसायीहरूले खाद्यान्नमा चर्को मूल्यमा म्याद नाघेको, लेबल नभएको सामान खरिद गर्दै आएका छन्। अनुगमन प्रभावकारी नहुँदा ठूला व्यवसायीले म्याद नाघेका सामानहरू दुर्गम क्षेत्रमा पठाउने गरेका छन्। गुणात्मकभन्दा संख्यात्मक अनुगमनलाई प्राथमिकता दिँदा बजार स्वच्छ हुन नसकेको उपभोक्ताकर्मीहरू बताउँछन्। नेपालमा पर्याप्त खाद्य अधिकार र अनुगमनमा चुनौती छन्। तर विगत पाँच वर्षमा यस क्षेत्रमा कमै गर्न सकेका छन्।

(पूर्वनायव कार्यकारी निर्देशक, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र)  
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस