दुई सय बढी बङ्गलादेशी पर्यटकहरू चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन्।आज २ सय बढी बङ्गलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो। बङ्गलादेशी पर्यटकको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
उनीहरुले पर्यटकको स्वागतमा नेपाली पञ्चे बाजागाजा सहित स्थानीय पहिचान झल्कने नाचगान प्रस्तुत गरेका थिए। बङ्गलादेशबाट एकसाथ यति धेरै पर्यटक नेपाल आएका हुन्। आज र भोलि गरेर बङ्गलादेशबाट करिब सात सय पर्यटकहरू नेपाल आउने बताइएको छ। पर्यटकहरूको स्वागतका लागि विमानस्थल पुगेका नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थापाले बङ्गलादेशबाट होलिडे मनाउनका लागि नेपाल आएको बताए।
उनले पछिल्लो तीन वर्षयता बङ्गलादेशबाट नेपाल आउने पर्यटकको संख्या निरन्तर बढी रहेको जानकारी दिए।त्यस्तै बङ्गलादेशी पर्यटक शेख अजरफ उद्दिनले नेपाल घुम्नका लागि सही र राम्रो गन्तव्य भएको बताए। उनले नेपालमा स्वागत राम्रो पाएको र नेपाल घुम्न आतुर रहेको धारणा व्यक्त गरे।पर्यटकको आवागमनले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक भएको बताएका छन्। प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले दुवै देशबाट भएका भ्रमण द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन र आपसी सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण रहेको जानकारी दिए।
भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले यही मङ्सिर ११ र चीनका राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले मङ्सिर १४ गते नेपालको औपचारिक भ्रमण गरेका थिए। भारतीय विदेश सचिव श्रृङ्गलाको भ्रमण कोभिड–१९ को सङ्क्रमणपछि नेपाल र भारतबीच रोकिएका द्विपक्षीय भ्रमणको शुरुआत भएको जनाउँदै मन्त्री ज्ञवालीले भ्रमणमा दुई देशबीचको सीमा समस्या औपचरिक कार्यसूचीमा समावेश गरिएको बताए।
भारतले नेपालका भूभाग समेटेर नयाँ नक्शा जारी र लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि तथा नेपालले पनि आफ्ना भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटी हालसालै नयाँ नक्शा जारी गरेपछि दुवै देशबीचको सम्बन्धमा केही चिसोपना आएको थियो। नेपाल–भारत संयुक्त समितिको बैठक चाँडै हुने र दुवै देशबीचका थाती रहेका विषय सो बैठकमार्फत यथाशक्य समाधान गर्न पहल गरिने उनको भनाइ थियो।
यसैगरी चीनका रक्षामन्त्री वेइको नेपाल भ्रमण सैनिक सहयोग आदानप्रदान गर्न र द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्न महत्वपूर्ण भएको उनले बताए। मन्त्री ज्ञवालीले गत वर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला भएका सम्झौतालाई गति दिन पनि सो भ्रमण फलदायी बताए।
नयाँ परराष्ट्र नीति छिट्टै सार्वजनिक हुने
सांसदका जिज्ञासामा मन्त्री ज्ञवालीले भारतसँगको सीमा समस्या सामाधानका लागि विभिन्न तवरले पहल भइरहेको जानकारी दिँदै चीनसँग भने सीमा समस्या नभएको स्पष्ट पारे। उनले केही दिनभित्रै सरकारको परराष्ट्र नीति सार्वजनिक गरिने पनि जानकारी दिए। मन्त्री ज्ञवालीले कोरोनाविरुद्धको खोप नेपालमा ल्याउने बारेमा सरकारले पहल गरिरहेको बताउँदै कोभ्याक्सअन्तर्गत २० प्रतिशत खोप सहुलियत दरमा आउने र बाँकी ल्याउन विभिन्न मित्र राष्ट्रसँग पत्राचार भइसकेको जानकारी दिए। एक फरक प्रसङ्गमा उनले ट्रान्सपरेन्सी इन्टरनेशनलले हालै सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी प्रतिवेदन तथ्यमा आधारित नभई दृष्टिकोणमा मात्र आधारित भएको टिप्पणी गरे।
समितिका सभापति पवित्रा निरौलाले समितिको अर्को बैठकमा मुलुकको राष्ट्रिय सुरक्षा नीतिका बारेमा रक्षा मन्त्रालयसँग छलफल गरिने जानकारी दिइन्। बैठकमा समिति सदस्यले दुई देशबाट भएका नेपाल भ्रमण र नेपाल सरकारको परराष्ट्र नीतिका बारेमा जिज्ञासा राखेकी थिइन्। सांसद भीमबहादुर रावलले नेपालको नदी प्रणालीअन्तर्गत भारतले थप बाँध बाँध्न लागेको भनिएको योजना, प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन, भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखले नेपालका प्रधानमन्त्रीलाई गरेको भेट, चिनियाँ सहयोगका परियोजनाका प्रगति, संयुक्त राज्य अमेरिकासँग भएको सम्झौतालगायत विषयमा जिज्ञासा राखेका थिए।
सांसद प्रकाशमान सिंहले भारतसँग मात्र नभई चीनसँगको सीमा विवादका सम्बन्धमा पनि जिज्ञासा राखेका थिए। सांसद दिव्यमणि राजभण्डारीले सरकारको परराष्ट्र नीतिबारे जनताले जानकारी पाउनुपर्ने माग राखेका थिए। सांसद सुजाता कोइरालाले कोरोनाविरुद्धको खोप नेपालमा कहिलेसम्म आइपुग्छ र वितरण सम्बन्धमा सरकारको योजना के छ भनी प्रश्न गरेकी थिइन्। सांसद मेनुका गुरुङले भारतबाट भएको भ्रमणले कूटनीतिक ढोका खुलेको बताउँदै भारतसँगका थाती मुद्दा समाधानमा मन्त्रालय क्रियाशील हुनुपर्ने सुझाव दिइन्।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...