ठूलोबाको कन्तुर
०७ चैत्र २०८२
•
१२ मिनेट पाठ
ठूलोबाको कन्तुर
आज ठूलोबाको घरमा के भएछ हो कुन्नि, ल्याण्डलाइन टेलिफोन मात्रै नभएर सबैका मोवाइल पनि अफ छन्? भोलि तराई जानु छ, आज त सम्पर्क गर्नैपर्छ जसरी पनि। अब घरैमा गएर भेट्नु पर्यो भन्दै विहानै मण्डिखाटारस्थित ठूलोबाको घरको गेट ढकढक्याउन पुगेथेँ।




निकैबेर घण्टी बजाएपछि एउटा टाउकोले कौसीबाट थोरै मात्र मुखाकृति देखाएर मलाई चिहायो। त्यो टाउको कसको हो भन्ने ठम्याउन सकिनँ मैले। जसले भए पनि देखेपछि गेट खुल्नेमा चाहिँ ढुक्क थिएँ।

ठूलोबा ‘ए तँ पो आएको! पख है त, म साँचो खोल्छु’ भन्दै दायाँबायाँ आँखा चनाखो पार्दै गेट खोल्न आउनुभयो।

म भित्र छिर्नासाथै हत्तपत्त गेटमा साँचो लगाइहाल्नुभो। मैले भने– ‘आ, ठूलोबा अब त छक्काल भइसक्यो, किन साँचो लगाउनु पर्यो र। फेरि म पनि धेरैबेर कहाँ बस्छु र। गइहाल्ने हो नि।’

ठूलोबाको अनुहारमा हेरेँ - ओठ कल्याँटी परेका थिए। आँखा राता र चिम्रा थिए। शरीर थरथर काँपिरहेको थियो। उहाँको त्रासद शरीरको अवस्थाले गर्दा मैले अनुमान लगाएँ कि आज राति पक्कै पनि चोरी–डकैती लागेको हुनुपर्छ तर फेरि आफैंले आफ्नो अनुमानलाई तत्कालै काटेँ– त्यसो भए त झन् हल्लीखल्ली भइहाल्थ्यो नि। पुलिस हुन्थे, समाचारमा आउँथ्यो अथवा यस्तो भयो भनेर खबर पनि त हुनुपर्ने हो नि आफन्तहरुलाई।

ठूलोबा केही बोलिरहनुभएको थिएन। अघिपछि उति हिँड्न नसक्ने ठूलोबा ‘ल छिटो माथि आइहाल’ भनेर तीन तल्लाको भर्‍याङमा हस्याङफस्याङ गर्दै चढ्नुभयो।ठूलोबाको घरमा पक्कै पनि ठूलै विपत्तिले प्रवेश गरेको छ भन्ने अनुमान त भयो तर यकिन हुनलाई त माथि पुगेर हेरेपछि अथवा उहाँले भनेपछि नै थाहा हुने हो। बूढोमान्छे त्यसरी स्याँस्याँ गर्दै भर्‍याङमा कुदेपछि मैले विस्तारै हिँड्नुको अर्थ उहाँको साथमा साथ नदिएको लाग्न सक्थ्यो। सँगसँगै दौडिएँ म पनि बैठक कोठातिर। तीन तल्ला माथिको बैठक कोठामा प्रवेश गरेपछि ठूलोबा थ्याच्च सोफामा बस्नुभयो। ठूलीआमा, दाइ, भाउजू, भतिजाभतिजी कसैको पनि अनुहार उज्यालो थिएन। परिवारका सबै सदस्य घरमै छन्। कोही विरामी पनि होइन। कोही, केही बोल्न सक्ने अवस्थामा पनि छैनन्। केटाकेटी त आफ्नै तालमा भइहाले। भर्खर ओछ्यानबाट उठेर हाई काढ्दै थिए तर ठूला जतिको चाहिँ लगभग एकै खालको हविगत थियो। आँखामा अनिद्रा, मनमा त्रास र शरीरमा नैराश्यपूर्णभाव।

म परिस्थितिको आकलन गर्दै थिएँ। अवश्य पनि ठूलै विपद्ले यस घरमा प्रवेश पाएको छ। एकाविहानैको घरको अवस्था यस्तो हुनु भनेको केही न केही नराम्रो भएकै हुनु हो। सोच्दै थिएँ - कुरा कताबाट शुरु गरेर यथार्थ जानकारी लिऊँ?

कसैले तलको गेटमा अघि मैले जसरी नै सङ्केत गर्‍याे। ‘ऊ आयो, लौ अबचाहिँ उही आएको हो!’ ठूलोबा रातोपिरो देखिनुभयो। दाइको अनुहार पनि सोहोरिएर कुचुक्क पर्‍याे। ठूलीआमा र भाउजू त झन् नारी मनका न परे - रुन पो थालिहाले।

आफ्नो घरको गेटमा कोही आएको सङ्केत गर्दा पनि हतियार लिएर डाँकाहरू आएजस्तो आतङ्कित हुनुले मलाई पनि नआएकै भए पो हुन्थ्यो कि? यो विहानै आएर विपत्तिमै फेला पर्न लेखेको रहेछ कि के हो जस्तो हुनथाल्यो।

बरण्डामा गएर गेटमा हेर्न साहस कसैको भइरहेको थिएन। ठूलोबाले ‘नानी, तँ हेर त यसो चिहाएर’ भन्नु भएकाले मैले उहाँले भने जसरी नै चिहाएँ। दूधको क्यान बिसाएर दूधवाला हतारो भएको सङ्केतमा माथितिर हेरिरहेको थियो। मैले भित्र गएर भाउजूलाई भनेँ - दूधवाला आएको रहेछ भाउजू। मैँ थापेर ल्याइदिऊँ कि?

भाउजूले ‘ए भइहाल्छ नि’ भनेर भाँडो दिनुभयो। जानै लाग्दा ठूलोबा र दाजुले एकैस्वरमा भन्नुभयो - ‘साँचो यहीँ छ, खोलेर दूध थापेपछि साँचो लगाएर ल्याउनु है।’

मैले भने जसरी नै गरिदिएँ।

उहाँहरू यस्तो त्रासद वातावरणमा हुनुहुन्छ। म पनि त आफ्नै मान्छे हुँ नि। परेको बेलामा मेरो सानै सहयोगको पनि मूल्य हुन सक्छ। आखिर जे भएको हो, त्यो त भइसक्यो र हुने सम्भावना छ भने त्यसलाई टार्न पनि त सकिन्छ नि। ठूलोबाको छेउमै गएर नम्रभावमा प्रस्तुत भएँ, “ठूलोबा, किन सबैजना यस्तो त्रसित र थकित अवस्थामा हुनुहुन्छ? रातभर निद्रा नपरेको जस्तो देखिन्छ आँखा र अनुहारबाट। हेर्छु घरका सबै जना यहीँ हुनुहुन्छ। कतै नाताकुटुम्बमा पो केही भयो कि?

ठूलोबाले मेरो मुखमा पुलुक्क हेर्नुभयो। उहाँको मुखबाट निस्किने शब्दको प्रतीक्षामा म टुलुटुलु भएँ। उहाँले दाजुको मुखमा हेर्नुभयो। ठूलीआमा र भाउजू भान्सातिर लाग्नुभएको थियो।

ठूलोबा मतिर फर्किनु भो र मैलाई पो प्रश्न सोध्नुभयो, ‘तैँले अख्तियारले राजस्वका कर्मचारीको घरघरमा अस्ति राति छापा मारेको थाहा पाइनस्?’

मैले थाहा पाएको भावमा मुन्टो हल्लाएँ। फेरि उहाँले भन्नुभयो, “तेरो दाजु पनि त राजस्वकै कर्मचारी हो नि। गर्नु बिराउनु केही छैन। विचराहरूलाई मध्यरातमा घर खानतलासी गर्दै गिरफ्तार गरेर त्यस्तो बिजोग बनाएको छ। के टुङ्गो, आजै यहाँ आउने पो हुन् कि? भोलि पो आउने हुन् कि भइरहेछ। अनि तैँ भन् त हामीलाई कस्तो भएको होला?’’

मैले यो घटना थाहा नपाउने त कुरै थिएन। उमानाथ त मेरै छिमेकी हुन् नि। अस्ति राति म कार्यालयबाट आउँदै गर्दा अख्तियारका कर्मचारी र प्रहरीहरु उनको घरैभरि थिए।

एकै रात दुई दर्जनभन्दा बढी राजस्व सेवाका कर्मचारीहरूको घरमा अख्तियारले छापा मारेपछि कर्मचारीतन्त्रमा ठूलै हल्लीखल्ली मच्चिएथ्यो। घरमा धेरथोर कालोधनको जोहो गरेकाहरुको रातको नीँद र दिनको भोक एकाएक हराएको थियो। बाहिरबाट हेरेर भित्रको चुरोको के भेउ पाउनु? लुगाकपडा पनि सरदर कर्मचारीका भन्दा सामान्य लगाएका छन्। घरका बाहिरी भित्ताहरु पहाडको पहरोमा बर्खाको लेउ लागेर कालो भएजस्तै देखिन्छन्। देशमा यीभन्दा ठूला भ्रष्टाचारीहरु नै कति होलान् कति, विचरा यी कर्मचारीहरू मात्रै किन अख्तियारको आँखामा कसिङ्गरझैँ भए? मैले त यिनीहरुलाई भन्दा पनि यीभन्दा माथिकालाई हेरेर यिनीहरुलाई विचारा नै भनेको हुँ।

यो विषयले राष्ट्रिय बहसको रूप लिइरहेको थियो। मेरा छिमेकी मित्र पनि दुई दर्जनभित्र परेको जानकारी त मैले मध्यरातमै पाइसकेको थिएँ। दैनिक पत्रिकाको आफ्नो ड्युटी सकेर घर फर्किँदा उमानाथको घरअगाडि प्रहरीको भ्यान र अर्को सरकारी गाडी रोकिरहेका थिए। अचम्म मान्दै मैले त्यहीँ तैनाथ प्रहरीलाई सोधेथेँ वास्तविकता जान्ने अभिप्रायले। उसले त केही भनेन।

यत्ति मात्र भनेथ्यो, ‘खै हजुर हामीलाई त केही थाहा छैन। भित्र सावहरू जानुभएको छ। मलाई बाहिरको ड्युटिमा खटाइएको हो, बरु यहाँ बस्नुभन्दा आफ्नो बाटो लागिदिनुभयो भने मेरो मात्र नभएर तपाईँको पनि हितमा छ।’

कुरो बुझिसकेपछि किन पो बस्नु। विचरा उमानाथ त सोझो र मिलनसार नै हुन् तर श्रीमतीचाहिँ टिमुर्किन बाँकी नरहेकी नै हुन् नि। सोझो भनेर पनि नहुने रहेछ, औँलो बाङ्गो नपरी त घ्यू कसरी आउँथ्यो। सोझो औँलाले हर्पेको घ्यू आउने भए उखानै किन बन्थ्यो त -‘सोझो औँलाले घ्यू आउँदैन’ भनेर। मित्रले औँलो बाङ्गो पारेको परिणाम मध्यरातमा हुण्डरी बनेर घरमा प्रवेश गरेको थियो। दलबलले मित्रलाई पनि साथै लिएर गएपछि श्रीमतीजीको रुवाबासी प्रारम्भ भएको थियो।

घरको कम्पाउण्ड जोडिएको परिणाम मैले पहिलेबाटै भोगिरहेको थिए। पहिले उनकी श्रीमतीको तुजुकका कारण मेरी श्रीमतीले हैरान पारेकी थिइन्। अब उनको रुवाबासी सुनेर पनि छिमेकीको हैसियतले कुनै सहयोग पुर्‍याउन सक्ने हैसियतमा म थिइनँ। भित्रभित्रै त म पनि केही सकारात्मक नै थिएँ। यो त प्रारम्भ हो, यसलाई भ्रष्टाचारविरुद्धको कारबाहीको  अभियानकै रुपमा अघि बढाउनुपर्छ अब। अख्तियारले खुट्टा कमाउनु हुँदैन।

मैले एकाएक धेरै आफन्त सम्झिएँ। त्यही समूहमा आफ्नै बहिने ज्वाइँ पनि थिए। उनलाई  आफू करतिर परेकोमा अलिक खिन्न अनुभव पनि भएथ्यो तर त्यतिबेला भनसुन गरिदिने पहुँचवालाले भनेथे - ‘दिगो र टिकाउ त भन्सारभन्दा कर नै हो। भन्सारमा हुनेहरूमाथि सबैका आँखा पर्छन्, करमा चुपचाप आइरहन्छ। यो कहिल्यै मर्दैन, ढुक्क भए हुन्छ।’

वास्तवमा ठिकै भनेका रहेछन्, नत्र त उनी पनि एउटै घानमा हुने रहेछन् यतिबेला। भन्सारको संसार र करको करकरमा फरक नै हुने रहेछ। अर्कालाई पर्दा खुच्चिङ भन्ने र काखी बजाउने, त्यही समस्या आफूलाई पर्दाचाहिँ रुवावासी गर्ने हाम्रो संस्कार नै भइसकेको छ। लाइन मिलुन्जेल तलदेखि माथिसम्म भागशान्ति हुन्छ, जब कुरा र लाइन मिल्दैन, तब यस्ता घटनाहरू हुने गर्छन्। खरिदार, सुब्बा, शाखा अधिकृत, यी त विचराहरू हुन् नि। पिउनदेखि सचिव, मन्त्री, नेता, पार्टी, सबैलाई भाग पुर्याएर आफूलाई जोगाउने हो। कारबाही नै गर्ने हो भने उनीहरूदेखि माथिसम्मैका सबैलाई गर्नुपर्छ।

केही नेता अकुत सम्पत्तिमा पर्नुमा पनि अचम्मै भएको हो। श्रोत नखुलेकालाई श्रोत खुलाउन जस्तोसुकै विधि अपनाउँदा पनि पार नलागेर मात्र जेल परेका थिए। आँपको बगैँचाको आम्दानी उल्लेख गर्दा– उक्त जग्गामा धान लगाएको र धानको विक्रीबाट आएको रुपैयाँ, आँप विक्रीबाट आएको रुपैयाँ, आँपका रुखहरू काटेर बेचेवापत प्राप्त रुपैयाँ, त्यसै जमिनमा भुँइकटहर लगाएर विक्रीबाट प्राप्त रुपैयाँ, माछा पोखरीबाट माछा विक्री गरेर प्राप्त आम्दानी लगायतका स्राेतहरू खुलाएर आम्दानी जोड्दा पनि श्रोत नपुगेपछि जेल पर्नुपरेको यथार्थलाई उनीहरू अझै आफूमाथि षडयन्त्र रचिएको, प्रतिशोध साँधिएको, राजनीतिक पुर्वाग्रह राखिएको जस्ता कुराहरू ओकलिरहेका छन् भने यी त वर्षौ दुःख गरेका कर्मचारीहरू हुन्। नेताहरुले जस्तो वर्ष, दुई वर्षमा थुपारेका हुन् र! सहानुभूति राख्ने नै हो भने यसरी पनि राख्न सकिन्थ्यो तर सहानुभूति राख्नै पर्छ भन्ने जरुरत होइन र पुर्वाग्रही बन्नुपर्ने कारण पनि छैन। यति मात्रै हो कि, आफन्तहरु त्रसित भएको चाहिँ नरमाइलो लाग्दोरहेछ।

कुरा र कारण बुझिसकेपछि ज्यादा खोतल्नु उपयुक्त थिएन। ठूलोबालाई यत्ति मात्र भनेँ, “आ ठूलोबा, केही पनि हुँदैन। हाम्रो दाइले त्यतिसारो के नै गर्नुभएको छ र डराउनुपर्ने? अख्तियारले पनि छानवीन नगरी त्यत्तिकै हचुवाको भरमा राजस्वको कर्मचारी भन्नेबित्तिकै त कसरी छापा मार्छ र। बेकारमा यसरी डराएर रातरातभर नसुतेर हुन्छ। भोलि विरामी परियो भने कुन हालत हुन्छ? ढुक्क भएर बस्नुपर्छ। गर्नु न बिराउनु, किन डराउनु? छापै मारे पनि के नै हुन्छ त? मान्छेलाई मार्न पाइदैन। सम्पतिको त छानवीन गरिहाल्छ नि। के हामी पुर्ख्याैली सम्पति नभएर, खानै नपाउने वर्गबाट आएका पनि त होइनौँ नि।” ठूलोबा र दाइको चित्त बुझाउन ठूलै प्रयत्न गरेथेँ।

‘के गर्नु त, तैँले र मैले भनेर भएन। रीस गर्नेहरुमा आफ्नै पनि छन्,’ ठूलोबाले भन्नुभयो। अन्य कुरा गर्ने अवस्था नभएपछि विदा भएर हिँडे म।

उहाँहरुलाई वनको बाघले भन्दा पनि मनको बाघले नै खाइरहेको थियो। दिनभर आफ्नै लन्ठामा समय बित्यो। एकदिन बेलुकी खानपिन गरेर सुत्नै लागेका थियौँ, फोनको घन्टी बज्यो। नम्बर हेरेको त ठूलोबाको मोवाइलको पो रहेछ। ‘हेलो ठूलोबा’ भन्नासाथ उहाँले ‘तल आएर ढोका खोल त, हामी आएका छौँ’ भन्नुभयो। छक्क पर्दै ढोका खोल्न दौडिएँ। ठूलोबा र दाजु हुनुहुँदोरहछ। एउटा कन्तुर पनि थियो त्यहाँ। ट्याक्सीमा ल्याउनुभएको रहेछ र ट्याक्सी फिर्किसकेको थियो।

‘त्यो के हो त ठूलोबा? के ल्याएको मकहाँ?’ छक्क पर्दै सोधेँ। ‘चुप लाग, माथि नै गएर भनौँला’ भन्नुभयो। दाजु र मैले निक्कै बलैले कन्तुर माथिसम्म ल्यायौँ। ठूलोबा पनि एकहातले भर दिँदै आउनुभयो।

माथि आएर बिसाएपछि खत्रक्क परेर दाइ र म बस्यौँ। ठूलोबाले भन्नुभयो, ‘लौ नानि यति कन्तुरलाई जतनसाथ राखिदिएस्। कथमकदाचित घरमा छापा मारिहाल्यो भने त सर्वस्व नै जान्छ। तैँले थाहा पाइहालिस्, दुई रात भो झिपिक्क नगरेको। खाटमुनि घुसारिदिएस्, त्यति धेरै ठाउँ पनि लिदैन। यसका बारेमा कसैलाई पनि केही कुरा नचुहाएस् है।’

दाजुको अनुहार हेरेँ। निन्याउरो थियो। आफैँले कमाएको धनले यसरी भतभती पोलेपछि त्यस्तो धनको के अर्थ! नहुनेलाई एकै पीर, हुनेलाई दशथरि पीर। ठूलोबालाई हुन्छ ठूलोबा, के फरक पर्छ र। यो पनि त आफ्नै घर हो नि। म राखिदिइहाल्छु नि भनेँ। यहीँ सुतौँ अब यो राति किन जानु त ट्याक्सीमा दोब्वर भाडा तिरेर भन्दै निक्कै जोड गरेँ तर मान्नु भएन र हिँड्नुभयो।

ठूलोबाको कन्तुर राखेदेखि मलाई पनि त्यसैत्यसै डर लाग्न पो थालेको छ। आफूहरू नभएको बेला चोरी लाग्यो भने के गर्ने? यहाँ ल्याएको कसैले सुराकी त गरेका छैनन्? ‘अर्काको नासो गलाको पासो’ भन्छन्। सधैँभरि घरमै बसिरहने कुरा पनि भएन। श्रीमतीजी पनि अफिस गइहाल्छिन्। अर्काको गुठुरी राखेर आफूहरू किन तोलातोला घट्नु? किन हुँदैन, राख्दिन भनेनौँ? श्रीमतीजी त उहाँहरू हिँड्नासाथै पड्किन थालिथिन्। वास्तवमा उनी सही नै थिइन् र म उपायविहीन थिएँ।

के होला यसमा, केके राख्दा यति गह्रौँ हुँदोरहेछ? छक्क पर्थेँ म। दुई वर्षभन्दा बढी रह्यो मकहाँ ठूलोबाको कन्तुर र एकसाँझ उसैगरी नै ठूलोबा र दाजु आएर जसरी ल्याएको हो, उसैगरी लिएर जानुभयो। एकपटक खोलेर देखाइदिएको भए पनि हुन्थ्यो ठूलोबाले जस्तो लागेको थियो, भन्नु कसरी? जे सुकैहोस् अर्काको सम्पति। बल्ल पिलो निचोरेजस्तो सञ्च भयो। ‘अर्काको सुन लगाई कान दुखाउनु’ भन्थे, हो रहेछ।

श्रीमतीले पनि लामो श्वास तान्दै भनिन्, ‘बल्ल ढुक्क भयो। आइन्दा कसैको पनि यस्तो चिज जिम्मा लिने काम नगर्नुस्। बेकारको टेन्सन। केही भइगो भने अवगालको गुण।’

उनी सोह्रैआना सही थिइन् र म पनि चेपोमा परेको थिएँ। उहाँहरू पनि बेकारमा डराउनुभएको थियो। खै त, अहिलेसम्म केही गरेको छैन त यतिका वर्ष भइसको। यो अख्तियार भन्ने निकाय पनि खै के भन्ने? राजनीतिक पार्टीहरूको स्वार्थ अनुकूल पदाधिकारीहरू नियुक्त हुन्छन्। राजनीतिक अस्थिरता भएपछि कुन क्षेत्रले पो सक्रियता देखाएको छ र। संविधानसभा त चारचार वर्षसम्म केही नगरी विघटन हुने मुलुकमा अरू के पो हुन्छ भन्ने आशा गर्नु? जनताको र देशको हितमा त के काम नै भएको छ र। यतिका वर्षसम्म प्रमुख आयुक्त र आयुक्तविहीन भएका संवैधानिक निकायहरूमा भागवण्डा नमिलेर नियुक्ति हुन नसकिरहेको अवस्थामा ठूलै हल्लीखल्ली र विरोध हुँदाहुँदै पनि केही निकायमा नियुक्ति गरिएपछि ती निकायहरू सक्रिय भएका छन्। त्यत्रो विरोध हुँदाहुँदै पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रस्टाचारमै मुछिएका व्यक्तिलाई दलीय भागवण्डामा प्रमुखमा नियुक्त गरिएथ्यो। चर्चा पाउन उति ठूलो काम गर्नै पर्दैन, दुईचार जनालाई अनुसन्धानको दायरामा ल्याउँदा मात्रै पनि चर्चा भइहाल्छ। कतिसम्म भने– पत्रिकाले लेखिदिएका भरमा मात्रै पनि कर्मचारीहरूका घरमा छापा मारिएका छन्। म पनि पत्रकार हुँ तर म किन लेखौँ कर्मचारीहरूलाई भ्रष्टाचारी भनेर? मैले आफ्नै ठूलोबाको परिवारको सन्त्रासको नजिकबाट अनुभव गरेको छु। त्यस्तो भयभित भएर पनि मान्छे जिइरहन सक्छ! आफ्नो छवि सुधार्ने अभियानमा कतिका छवि बिगार्ने हुन् कुन्नि।

दशैँ आउनै लागेको छ। आफ्नो पत्रिकालाई शुभकामना विज्ञापन जुटाउन सके र पाँचसात लेख दैनिक पत्रिकाहरूमा प्रकाशित गर्न सके आफ्नो पनि दशैँ चल्ने थियो। लेख्ने मुड बनाएर बेलैमा अफिसबाट आएर कम्प्युटरमा बसेको थिएँ। भर्खरै गेट बन्द गरेर आएथेँ, कसैले खटखटाएको आवाज आयो। श्रीमतीजीलाई गएर हेर्न भनेँ र आफू बरण्डामै उभिएर हेरेँ। अँध्यारो थियो, गेटको बत्ती बिग्रिएको पनि बनाउनै पाएको छैन। उनी लाइट बालेर गेटतिर गइन्। मैले माथिबाटै को हो भनेर खै गरेँ। कुनै आवाज आएन। उनले ढोका खोलेर हेरिन्। दुई मानव आकृति माथिबाट देखिए पनि मैले ठम्याउन सकिनँ। उनी ढोका खोलेर फर्किन् र ती दुई जना चाहिँ कुनै कालो बस्तु बोकेर भित्र छिर्दै थिए।

उनी हतारिदै माथि आइन् र मलाई भनिन् -छिटो तल जानुअरे, ठूलोबा र दाजुले भन्नुभएको। बाक्सा पहिलेको भन्दा निक्कै गह्रौँ छ अरे।

(कथाकार काेइरालाकाे  ‘न्यूराेडका झाँकी ’ कथासंग्रहमा सङ्गृहीत। )
अर्को समाचार
गीतकार पुरस्कार सागर उदासलाई
२० घण्टा अघि
•
१ मिनेट पाठ
गीतकार पुरस्कार सागर उदासलाई
गीतकार प्रतिष्ठान, नेपालले हरेक वर्ष प्रदान गर्दै आएको गीतकार पुरस्कार २०८३ गीतकार सागर उदासलाई प्रदान गर्ने भएको छ।




नगद ११ हजार १११ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहितको पुरस्कार प्रतिष्ठानले आफ्नो छैटौँ वार्षिक साधारण सभाको अवसर पारेर आगामी मङ्सिर १९ गते शनिवार पोखरामा प्रदान गर्ने अध्यक्ष अनुराग अधिकारीले जानकारी दिए। यसअगि ५ हजार ५५५ रुपियाँ दिइँदै आएकामा यस वर्षदेखि पुरस्कारको राशि ११ हजार १११ रुपियाँ पुर्‍याइएको अध्यक्ष अधिकारीले जनाए।

तनहुँको दमौलीमा रहेर करिब ४ दशकदेखि गीत लेखनमा क्रियाशील सागर उदासको पहिलो गीत ‘हिँडेको छु छातीभरि व्यथाहरू बोकी...’ बोलमा रेडियो नेपालमा २०५१ सालमा रेकर्ड भएको थियो। उनका सागरभित्रका कर्णहरू (२०५२), सागर सुसेली (२०७९) र फैलिन्छ कि माया (२०७९) गरी ३ गीतसङ्ग्रह प्रकाशन भएका छन् भने आभार (२०६०) र रवि (२०७०) गरी २ गीतिएल्बम सार्वजनिक भएका छन्।

उनका जिउँदाको जन्ती..., फुल्यो गुराँस तारे भिरैमा..., घाम पनि माग्छु‍..., छैन है रहर... लगायत गीत चर्चित छन्। गण्डकी वाङ्मय प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका उनले २ दर्जनभन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरेका छन्।

प्रतिष्ठानका पूर्वअध्यक्ष शीतल गिरीको संयोजकत्वमा यसअगि सम्मानित प्रतिभा सरस्वती श्रेष्ठ ‘सरू’ र सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले सदस्य तथा अध्यक्ष अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै उदासलाई पुरस्कार प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको हो।

उक्त पुरस्कारबाट यसअगि गीतकार प्रकट पगेनी ‘शिव’, सरस्वती श्रेष्ठ ‘सरू’, शीतल कादम्बिनी र आरजु विष्ट ‘सल्यानी’ पुरस्कृत भइसकेका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस