‘दिल्ली दूर हैं’को किंवदन्ती हाम्रो जनजिब्रोमा अझ पनि जीवित छ। यो किंवदन्ती मात्र होइन, मेरो जीवनमा सत्य कथनका रूपमा साबित हुन गएको छ। दुई दशकअघि सार्क लेखक सम्मेलनमा जाने अवसर प्राप्त गरेको थिएँ। त्यसबखत म राष्ट्रिय मानव अधिकार आयोगमा सदस्य थिएँ तर सार्क लेखक परिषद्, नेपाल शाखाले म, तेजेश्वरबाबु ग्वंगः र डा. बेन्जु शर्मालाई उक्त लेखक सम्मेलनमा भाग लिनका लागि मनोनित गरेको थियो।
यो सार्क संस्कृति सम्मेलन भएकाले मैथिली, नेपाली र नेवारी संस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नका लागि हामी तीन जनाको मनोनयन भएको थियो। सम्मेलन सकेपछि म र डा. बेन्जु शर्मा दुवैले दिल्लीस्थित एपोलो अस्पतालमा स्वास्थ्य परीक्षण पनि गराएका थियौं । त्यसपछि दिल्ली जाने अवसर प्राप्त भएको थिएन।
म एकचोटि फेरि दिल्ली जानका लागि अवसरको प्रतीक्षामा थिएँ तर अवसर प्राप्त हुनु ‘आकाशको फल आँखा तरी मर’जस्तो भइराखेको थियो। मलाई नर्भिक अस्पतालका डा. भरत रावतले इपिएस परीक्षणका लागि भनेका थिए र यो परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उक्त जाँचका लागि समय पनि निश्चित गरिसकेको थियो। त्यो समय थियो २०६४ असार २९ गते तर त्यहाँ जाँच गराउनुभन्दा पहिला दिल्लीको कुनै अस्पतालमा जाँच गराउने अभिरुचि भएकाले समयको प्रतीक्षामा थिएँ। यसपालि निजी खर्चमा जानु परेकाले सबै तयारी गर्दा गर्दै धेरै समय लाग्यो। यस अर्थमा ‘दिल्ली दूर है’ भन्ने गर्छु।
आखिर २००८ फेब्रुअरी ५ तारिखको दिन सपत्नी जाने कार्यक्रम बन्यो। यसपालि अखिल भारतीय आयुर्विज्ञान संस्थान, जसलाई संक्षेपमा ‘एम्स’ भनिन्छ, त्यहाँ जाने कार्यक्रम बन्यो। डाक्टरले समय पनि दिइसकेकाले इन्डियन एयरलाइन्सको हवाई टिकट पनि हातमा थियो। निर्धारित समयअनुसार त्रिभुवन विमानस्थलमा पुगिसकेका थियौं तर उडान एक घण्टा ढिलो हुने सूचना पायौं। प्रतीक्षा गर्नुबाहेक अरू विकल्प थिएन। ढिलो उडान भएकाले दिल्ली पनि ढिलो पुगियो। राति भइसकेकाले अलि समस्या हुने नै भयो। मेरो वासको व्यवस्था गान्धी निधि अतिथि गृहमा एक सप्ताहका लागि भइसकेकाले त्यहाँ जानका लागि एयरपोर्टबाट नै प्रिपेड ट्याक्सी लिएर प्रस्थान गरेँ।
उक्त अतिथिगृह सस्तो र साधारण किसिमको भएकाले प्रख्यात थिएन। चालकलाई समेत ठाउँ थाहा नभएकाले हामीलाई पनि धेरै अप्ठ्यारो स्थितिको सामना गर्नुपर्यो। अन्त्यमा राति ९ बजे अतिथिगृहमा पुग्दा मात्र हामी आश्वस्त भयौं। रातिको खाना पनि सकिइसकेकाले काठमाडौंबाट लगेको हलुका खाने खाद्य सामग्री खाएर सन्तोष गर्नुपर्यो। राति मिठो निद्रा लाग्यो।
भोलिपल्ट बिहानै तयार भएर ‘एम्स’ अस्पताल जानका लागि निस्केँ। बसबाट जाने निधो गरेँ किनभने राजघाटबाट उक्त अस्पताल धेरै टाढा रहेछ। ट्याक्सी, टेम्पो आदि सवारी साधनबाट जानका लागि धेरै महँगो पर्ने भएकाले यस्तो आँट गरेँ। जसरी भए पनि बसबाट समयमा अस्पतालमा पुगेँ। सोझै निर्देशकको कार्यकक्षमा पुगेपछि उनले सम्बन्धित चिकित्सकको कोठामा जाँचका लागि व्यवस्था मिलाइदिए। काठमाडौंमा स्नायु रोगसम्बन्धी उपचार चलिराखेकाले स्नायु विशेषज्ञ डा. श्रीवास्तवबाट परीक्षण गराउनका लागि तुरुन्त व्यवस्था मिलाइयो। डाक्टरले जाँचेपछि उनले ‘तपाईंलाई हृदयरोग लागेको छ तसर्थ हृदयरोग विशेषज्ञसँग जचाउनुपर्छ’ भनेपछि हामी अब हृदयरोग शाखामा गयौं तर त्यस दिन सम्भव हुन सकेन। भोलिपल्ट फेरि हामी गयौं। विभिन्न जाँच गरेपछि ‘तपाईंले पेसमेकर राख्नुपर्छ’ भन्दै त्यसमा लाग्ने रकम पनि तोकी तुरुन्त लगाउनका लागि सल्लाह दिए तर उनको सल्लाह औषधिभन्दा पनि तितो थियो। व्यवहार पनि त्यत्तिकै रुखो। मलाई धेरै दुःख लाग्यो। सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा पनि पेसमेकर राख्नुपर्छ भनेर डा. मनबहादुर केसीले भन्नुभएको थियो। अब मेरा लागि अर्को कुनै विकल्प थिएन। खर्च पनि काठमाडौं र त्यहाँकोमा केही खास फरक थिएन। हामीले अब निर्णय गर्यौं - काठमाडौंमा नै पेसमेकर राख्ने। अब श्रीमतीलाई जचाउने चाँजोपाँजो मिलाउनका लागि कति कोसिस गरें तर केही सिप लागेन। त्यहाँको नियम के रहेछ भने कुनै डाक्टरले रेफर गर्नुपर्ने तर उनका लागि कसैले रेफर गरेको थिएन। लाइनमा लागेर टिकट बनाउनु त्यहाँ असम्भव नै लाग्यो।
भोलिपल्ट गंगाराम अस्पतालमा श्रीमतीलाई जचाउन गएँ। त्यहाँ जानासाथ डाक्टर उपलब्ध गराइदिए। यहाँ डाक्टरको शुल्क रु. ५०० रहेछ र अस्पताल पनि स्तरीय। एम्सजस्तो अकल्पनीय भिड रहेनछ। डा. अरुण मोहन्ती बडो मिलनसार डाक्टर रहेछन्। उनले भोलिपल्ट स्ट्रेस इकोका लागि भनेका थिए। मेरो सम्बन्धमा मैले सल्लाह लिँदा ‘एम्सका डाक्टर राकेश यादवले पेसमेकर राख्नका लागि भनेका छन् भने अर्को कुनै उपाय छैन, तपाईंले राख्नैपर्छ।
म पनि एम्स अस्पतालबाट नै यहाँ आएको छु। बरु तपाईं भोलि १० बजे नै यहाँ आउनुहोस्, म सबै व्यवस्था मिलाइदिन्छु।’ गंगाराममा पेसमेकरको ४० हजार रुपैयाँ भारु भनियो, जबकि एम्समा ६० हजार रुपैयाँ भनिएको थियो। अब हामीले गंगाराममा नै पेसमेकर राख्ने निर्णय गरेर फर्कियौं। श्रीमतीको स्ट्रेस इकोको रिपोर्ट पनि सन्तोषजनक नै निस्कियो। अस्पताल धाउँदा–धाउँदै एक सप्ताहको समय पनि समाप्त भइसकेको थियो। अब अतिथिगृह पनि छोड्नुपर्ने भयो। यो अतिथिगृह व्यावसायिक प्रयोजनका लागि नभएर विद्वान्हरू र अनुसन्धानकर्ताहरूका लागि मात्र रहेछ। एक सप्ताहभन्दा बढी समयका लागि सम्भव नै थिएन। दिल्लीस्थित नेपाली दूतावास अतिथिगृहमा वासको व्यवस्थाका लागि कोसिस गरेँ तर उनले ‘फलानो मन्त्री आउँदै हुनुहुन्छ, तपाईंलाई दिन मिल्दैन’ भने जबकि हामीलाई थाहा छ मन्त्रीहरू पाँचतारे होटलमा बस्ने गर्छन् । साहित्यकार तथा कूटनीतिज्ञ जय राईले सिफारिस गर्दा पनि उनले मानेनन्।
भोलिपल्ट गंगासागर अस्पतालमा ठिक दश बजे नै पुग्यौं तर डाक्टरहरू अत्यन्त व्यस्त भएकाले धेरै ढिलो हुन थाल्यो। डा. मोहन्तीले सबै व्यवस्था मिलाउँछु भनेर गएका थिए। यता दिवा खानाको समय हुन थालेको थियो। हामीलाई भोक पनि लागिसकेको थियो। हामी त्यहाँस्थित क्यान्टिनमा खाना खान गयौं। एकदम राम्रो व्यवस्था थियो। खानेबेलामा श्रीमतीले भन्न थालिन्– ‘तपाईं भर्ना भएर अस्पतालको ओछ्यानमा बस्नुहुन्छ, म एक्लै के गर्ने?’ उनी नर्भस हुन थालिन्। मैले पनि हृदयरोगसम्बन्धी उपचार भएकाले धेरै संवेदनशील हुने स्थितिमा पुगेँ। हामीले निर्णय ग¥यौं– अब काठमाडौं फर्किने र त्यहीं पेसमेकर राख्न लगाउने।
अब हामीले ‘अक्षरधाम’ जुन दिल्लीको सबैभन्दा आकर्षक नवनिर्मित मन्दिरहरू हेर्ने कार्यक्रम बनायौं। यसबारे धेरै सुनेका थियौं। यो यमुना नदीको किनारमा नयाँ दिल्लीमा अवस्थित छ। यसलाई मन्दिर भनिएको छ तर यो एउटा प्रार्थनाकक्ष र स्मृति कक्षको रूपमा धेरै प्रसिद्ध छ।
स्वामी नारायणको स्मृतिमा निर्मित यो भव्य एवं दिव्य स्मारक स्मरणीय र दर्शनीय ठाउँमा छ। यो दिल्लीको अहिले सबैभन्दा आकर्षक र अविस्मरणीय केन्द्रका रूपमा संसारभर प्रसिद्ध हुन गएको छ। स्वामी नारायणका शिष्यहरूले चन्दा संकलन गरेर यस भव्य स्मारक भवनको निर्माण गरेका छन्। संसारभरिमा छरिएका गुजरातीहरूले हृदय खोलेर चन्दा प्रदान गरेर यसलाई निर्मित गर्नमा अभूतपूर्व योगदान गरेका छन्।
यो स्मारक तीनतर्फबाट नारायण सरोवरले घेरिएको छ। १५१ नदीहरूबाट जल संकलन गरेर यस सरोवरमा राखिएको छ। राजस्थानको पहेँलो रङको सिंगमरमरबाट यसको निर्माण आकर्षक ढंगबाट गरिएको छ। यस भव्य स्मारक भवनमा मंगलदाता गणेश र समुद्रमन्थनको हृदयग्राही दृश्य अंकित गरिएको छ। यसबाहेक महान् सन्त कवि कबीर, गुरु नानक र मिरावाई आदिका प्रस्तर कलामा कुँदिएका प्रशंसनीय चित्रहरू पनि हेर्न सकिन्छ।
यसको प्रवेशद्वारमा भगवान् विष्णुको दशावतारको दिव्य दर्शनपछि भित्र जानका लागि कडा सुरक्षा व्यवस्था मिलाइएको छ। महिला र पुरुषको भिन्दाभिन्दै लाइनको समुचित व्यवस्था गरिएको छ। यहाँ दर्शनार्थीहरूको मोबाइल, झोला तथा जुत्ता–चप्पल राख्नका लागि पनि राम्रो व्यवस्था गरिएको छ। दर्शनार्थीहरू चिन्ता र तनावरहित भएर दर्शनार्थ भित्र प्रवेश गर्छन्। कुनै चिजको चिन्ता लिनुपर्ने आवश्यकता छैन। दर्शनार्थीहरू भित्र प्रवेश गरेपछि विभिन्न हिन्दु देवीदेवताहरूको दर्शन गर्ने व्यवस्था गरिएको छ। यस भव्य स्मारक स्थलको परिक्रमा गर्नका लागि पनि राम्रो व्यवस्था गरिएको छ।
स्मारकभित्र विभिन्न किसिमका प्रदर्शनी पनि हेर्न लायक छन्। पहिलो, स्वामी नारायणको बचपनको दृश्यावली, जसलाई ‘सहजानन्द’ भनिएको छ। स्वामी नारायणको जीवनमा घटित विभिन्न चामत्कारिक घटना र उपघटनाहरूलाई पनि भित्तामा आकर्षक शैलीमा अंकित गरिएको छ। अर्को अवलोकनीय दृश्य यहाँस्थित झरनामा नौका विहारको हो। यस नौका विहार यात्राले दर्शनार्थीहरूलाई प्राचीनकालका प्रसिद्ध ऋषिमुनि जस्तै चरक, सुश्रुत, आर्यभट्ट, पाणिनी र चाणक्य, जसले आआफ्ना क्षेत्रमा अविस्मरणीय काम गरेका छन्। तेस्रो दर्शनीय पक्ष स्वामी नारायणको जीवनीसम्बन्धी वृत्तचित्र हो। स्वामी नारायणको जन्म ३ अप्रिल १७८१ मा भएको थियो। उनले देशभरिका सबै तीर्थस्थलहरूको भ्रमण गरेका थिए। उनी सन्त हुनुका साथै समाज सुधारकका रूपमा विशेष ख्यातिप्राप्त छन्। यहाँस्थित क्यान्टिनमा धेरै महँगा खानेकुरा पाइन्छन्। एक कप दुधवाला कफीको भारु २५ मूल्य तोकिएको छ। दर्शनार्थीहरूको घतलाग्दो घुइँचो हेर्न लायक हुन्छ। हामी जाँदा आइतबार भएकोले झन् सघन भिड थियो। मूलद्वारमा अनगिन्ती बसहरूको ओहोरदोहोर जारी थियो। विद्यार्थीहरूको असंख्य संख्यामा आउने क्रम जारी थियो । देश–विदेशका दर्शनार्थीहरूको संख्या पनि उत्तिकै उच्च थियो।
दिल्लीको अर्को नयाँ आकर्षणमा थपिएको छ मेट्रो रेल। दिल्लीको मुहार नै फेरिएको छ यसले गर्दा। करोलबागबाट कनौट सर्कससम्म जाँदा अत्यन्त आनन्द आएको थियो। कनौट प्लेसको नयाँ नामकरण गरिएको छ– राजीव चोक। यो मलाई थाहा थिएन। मेट्रोमा चढेपछि लेखिएको देखियो– बाराखम्बा रोड। त्यसैले हामी बाराखम्बा रोडमा ओर्लियौं तर टिकट कनौट प्लेससम्म मात्र लिएकाले बाहिर जाने ढोका खुलेन। त्यसपछि सम्बन्धित अधिकृतसँग सोध्दा उनले थप पैसा लिएर अर्को टिकट बनाइदिए। मेट्रोमा सधैं भिड नभए पनि कुनै कुनै बेला अत्यधिक भिड भए पनि यात्रा सुखद नै हुन्छ। भिड भएपछि सूचना दिइन्छ– आआफ्नो खल्तीको ख्याल गरेर बस्नुस् तर दिल्लीको मेट्रो नयाँ निर्माण भएकाले यसबाट यात्रा गर्नु धेरै आनन्ददायक लाग्छ। यसको निर्माण २००५ मा सुरु भएको हो तर अझै पनि सम्पूर्ण दिल्लीमा मेट्रो सेवा सुरु भएको छैन। मेट्रोमा बाटो जाम हुने समस्या हुँदैन।
हुन त अहिले दिल्लीको ट्राफिक पनि धेरै सुध्रिएकाले धेरै समस्याको सामना गर्नुपर्दैन। यसमा महिलाहरू पनि सुरक्षित ढंगबाट यात्रा गर्न सक्छन्। कुनै किसिमको अभद्र, अशिष्ट र अशोभनीय व्यवहार कसैले ग¥यो भने चालकलाई थाहा भएपछि ढोका नखोलिकन प्रहरीलाई सूचना गर्ने प्रावधान भएकाले तुरुन्त प्रहरी आएर त्यस्तो यात्रुलाई नियन्त्रणमा लिन सफल हुन्छ।
दिल्लीको तेस्रो आकर्षण थियो - विश्व पुस्तक मेला। यो विश्व मेला दिल्लीको प्रगति मैदानमा २ फेब्रुअरीदेखि १० फेब्रुअरीसम्म आयोजित थियो। यसको समय निर्धारित थियो - बिहान ११ बजेदेखि राति ८ बजेसम्म। यसमा विशेष मण्डप, युवा मण्डप र बाल मण्डप थिए। मेलाको समाचारसम्बन्धी बुलेटिन अंग्रेजी र हिन्दी भाषामा प्रकाशित गर्ने व्यवस्था मिलाइएको रहेछ, जसबाट मेलाका सबै गतिविधि र कार्यक्रमहरूको जानकारी सहज रूपमा उपलब्ध थियो। नेसनल बुक ट्रस्टद्वारा आयोजित यस विश्व मेलाको उद्घाटन २ फेब्रुअरी बिहान ११ बजे ‘हंसध्वनि’ थिएटरमा भएको थियो। पुस्तक लोकार्पण समारोहका लागि हल नं. ६ निर्धारित गरिएको थियो र आयोजक संस्था थियो - मञ्जुल पब्लिकेसन हाउस।
लेखकहरूसित भेट्नका लागि सभागार नं. २ तोकिएको थियो र यसको आयोजक थियो इजरायली दूतावास। समसामयिक र सान्दर्भिक विषयहरूसम्बन्धी, जस्तै ९ फेब्रुअरीमा आयोजित संगोष्ठीको विषय थियो - ‘सिर्जनात्मकताको भविष्य’, जसका आयोजक थिए इन्डियन सोसाइटी अफ आर्ट्स।
अर्को संगोष्ठी थियो -‘भूमण्डलीकरणको दौडमा पुस्तकको भूमिका’। सबैभन्दा रोचक विषय थियो -‘हिन्दीका लेखक बेबसीको कगारमा’ र अन्त्यमा कवि सम्मेलनको आयोजना इन्द्रप्रस्थ साहित्य अकादमीले गरेको थियो। यसरी व्यस्त समयमा पनि रोगग्रस्त मुटु लिएर एक दिन विश्व पुस्तक मेलामा भाग लिने अवसर पाएँ। धेरै खुसी लाग्यो।
काठमाडाैं, धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ। ‘दिल्ली दूर है’ को भाष्य अहिले गलत साबित भएको छ। अब हवाईमार्गबाट दुई घण्टाको दुरीमा भारतको राजधानी दिल्ली अवस्थित छ तर यहाँ जान र आउनका लागि दिनभरिको समय लाग्दो रहेछ। दिल्लीसँग मेरो साइनो वर्षौं पुरानो छ। सर्वप्रथम म दिल्ली गएको २४ अक्टोबर १९७१ मा हो।
यो संयुक्त राष्ट्रसंघ दिवस पनि हो। हो, म यसै दिन कोलम्बो योजनाअन्तर्गत विद्यावारिधिको उपाधिका लागि दिल्ली प्रस्थान गर्दा धेरै प्रसन्न थिएँ। म पद्मकन्या कलेजमा प्राध्यापन गरेको चार वर्ष बितिसकेको थियो। आर्थिक र एकेडेमिक दुवै किसिमबाट सन्तुष्ट नै थिएँ तर प्राध्यापन सेवामा विद्यावारिधिको डिग्री आवश्यक थियो भनेर छिमेकी मुलुक भारतबाट विद्यावारिधिको उपाधिका लागि केही विषयहरूमा विद्वत्वृत्तिको अनुरोध कलेजमा आएकाले मेरो मनोनयन तत्कालीन प्राचार्य अंगुरबाबा जोशीले गर्नुभएको थियो। म सहर्ष स्वीकार गरेर उहाँप्रति कृतज्ञतापूर्वक धन्यवाद दिएँ र म तन, मन, धनले दिल्ली जानका लागि तमतयार भएको थिएँ। मैले दिल्ली जानका लागि नै आफ्नो रुचि प्रकट गरेको थिएँ। मैले दिल्ली जाने अवसर पाएको थिइनँ।
हुन त मेरो प्राध्यापक पदको नियुक्तिका निमित्त अन्तर्वार्ता लिन दिल्ली विश्वविद्यालय, हिन्दी विभागका विभागाध्यक्ष तथा प्रसिद्ध समीक्षक डा. नगेन्द्र आउनुभएको थियो। तसर्थ पनि दिल्ली जान मैले आफ्नो रुचि र स्वीकृति दिएको थिएँ। उहाँले मेरो नियुक्तिका लागि सिफारिस गर्नुभएको थियो। उहाँ दिल्ली फर्केपछि तत्कालीन हिन्दी साप्ताहिक पत्रिकामा एउटा आलेख लेख्नुभएको थियो, ‘मेरी पहली विदेश यात्रा’। त्यो आलेख धेरै लोकप्रिय भएको थियो। गोरखापत्र दैनिकका तत्कालीन सहायक सम्पादक र साहित्यकार भैरव अर्यालले मलाई अनुरोध गर्नुभएको थियो कि यसको नेपाली अनुवाद गरिदिनुहोस्, हामी गोरखापत्र दैनिकमा प्रकाशित गर्नेछौं।
मैले उहाँको अनुरोधलाई स्वीकार गर्दै त्यो आलेख नेपालीमा अनुवाद गरेँ र उहाँले सुन्दर साजसज्जासाथ प्रकाशित गर्नुभयो। धेरै नेपाली पाठकले त्यो आलेख पढ्ने अवसर पाए। यसप्रकार डा. नगेन्द्रजस्ता विद्वान् समीक्षकसँग मेरो साइनो जोडियो। म काठमाडौंबाट इन्डियन एयरलाइन्सको हवाईजहाजबाट दिल्ली प्रस्थान गर्ने अवसर प्राप्त गरेँ। त्यसबखत इन्डियन एयरलाइन्सको उडान बनारस, आगरा हुँदै दिल्ली जाने गर्थ्याे। मलाई खुबै मजा आएको थियो। दिल्ली हवाई अन्तर्राष्ट्रिय अड्डामा ओर्लिंदा मलाई लिन भारतीय सांस्कृतिक परिषद्का कर्मचारी आएका थिए। उनले मलाई पहाडगन्जस्थित इन्टरनेसनल होटलमा बसोबासको व्यवस्था गरिदिए। म आरामपूर्वक खाना खाएपछि सुतेँ।
भोलिपल्ट बाराखम्बा रोड, नयाँदिल्लीस्थित नेपाली दूतावासमा प्रा. इन्द्रराज मिश्र सांस्कृतिक सहचारीको पदमा नियुक्त भएर जानुभएको थियो, म उहाँलाई भेट्न गएँ। उहाँले मलाई दिल्ली विश्वविद्यालयमा आफ्नो दूतावासको वाहनमा लगेर त्यहाँको रजिस्ट्रारसँग परिचय गराउनुभयो।मेरो नामांकन विधिवत् सम्पन्न भयो। म होटलबाट दिल्ली विश्वविद्यालय परिसरमा अवस्थित अतिथिगृहमा केही दिनका लागि बसेँ। त्यसपछि ग्वाएर हलमा मेरो बसोबासको व्यवस्था गरियो। ग्वाएर हलमा विराटनगरका शोधार्थी आनन्द नेपाल र काठमाडौंका दुर्गेशमान सिंह पहिलादेखि नै बस्नुभएको थियो। उहाँहरू अर्थशास्त्रमा विद्यावारिधिका लागि पञ्जीकृत हुनुभएको थियो। पछि उहाँ दुवै जना आफ्नो शोधकार्य स्थगित गरेर नेपाल फर्किनुभयो। आफ्नो–आफ्नो व्यक्तिगत कारणले म दिल्ली बस्दा बस्दै भारत र पाकिस्तानमा युद्ध सुरु भयो। रातभरि ब्ल्याकआउट हुने, साइरन बज्ने आदिले गर्दा म पनि त्रसित भएँ।
मैले सांस्कृतिक सहचारी इन्द्रराज मिश्रलाई नेपाल फर्काउने चाँजोपाँजो मिलाइदिनुहोस् भन्ने अनुरोध गरेँ। उहाँले ‘नडराउनुस्, तपाईंलाई केही हुँदैन’ भन्नुभयो। उहाँले आश्वासन दिनुभयो, मेरो सामुन्नेमा कुनै विकल्प थिएन। म बाध्य भएर आफ्नो विद्यावारिधिको उपाधिका लागि अनुसन्धानमा अनुरक्त भएँ। एक दिन म डा. नगेन्द्रलाई भेट्न उहाँको क्वाटरमा गएँ। उहाँसँग ‘सिन्दूर की होली’ का लोकप्रिय लेखक लक्ष्मीनारायण लाल बिहानको खाजा खाँदै हुनुहुन्थ्यो। उहाँले मलाई पनि खाजा खुवाउनुभयो। मैले डा. नगेन्द्रलाई पनि अनुरोध गरेँ कि मलाई यहाँ बस्न धेरै डर लाग्छ। लक्ष्मीनारायण लालले मलाई आश्वासन दिनुभयो, ‘सिकवे और सिकायत से जीवन यापन नहीं होता है, धैर्य रखकर अपनी उद्देश्यपूर्ति में लग जाइए।’ म पनि धैर्य धारण गरेर अनुसन्धान कार्यमा जुटिहालेँ। यसप्रकार दिल्लीसँग मेरो दोस्ती गाँसियो।
केही दिनपछि त म सपरिवार त्यहाँ बस्न थालेँ। दिल्ली जाने क्रम जारी नै रह्यो र अहिले पनि यहाँ जाने क्रम जारी नै छ। कहिले संगोष्ठीमा भाग लिन र कहिले आफ्नो छोरा र श्रीमतीको स्वास्थ्योपचारका लागि अखिल भारतीय आयुर्विज्ञान संस्थान र मेदान्त अस्पतालमा जान बाध्य भएँ। आखिर मेरी श्रीमती त स्वर्गीय नै भइन् २०८३ माघ ३ मा। दुई वर्षपहिला सार्क साहित्य सम्मेलनमा भाग लिने अवसर जुरेको थियो। यसपालि पनि सार्क साहित्य सम्मेलनमा भाग लिनका लागि म र साहित्यकार विधान आचार्यसँगै हवाईमार्गबाट दिल्ली पुग्यौं।
कवि र लेखक भीष्म उप्रेती बेलुकाको उडानबाट आउनुभयो। हामी सँगै साइधाम होटलमा बास बस्यौं। यसबाहेक साहित्यकार र पत्रकार अभय श्रेष्ठ, स्तम्भ लेखिका सरिता तिवारी, अनुषा शर्मा, सुन्दर कुरूप, चन्द्र गुरुङ, हेमन्त विश्वास, केशव सिग्देल, लक्ष्मी रुम्बा, प्रकाश थामसुहाङ, रजनी मिला, रमी प्रिया आदि सहभागी थियौं। अनुवादक र कवि केशव सिग्देल सार्क लाइफटाइम एचिभमेन्टबाट पुरस्कृत हुनुभयो। मलाई चाहिँ सार्क साहित्यकारका रूपमा सम्मानित गरियो। प्रमुख अतिथि हुनुहुन्थ्यो तारा गान्धी भट्टाचार्य, महात्मा गान्धीकी नातिनी। विशेष अतिथि हुनुहुन्थ्यो भारतीय साहित्य अकादमीका अध्यक्ष माधव कौशिक।
श्रीलंकाकी राजदूत महिशिनी कोलन पनि आमन्त्रित हुनुहुन्थ्यो, तर उहाँहरू उपस्थित हुन सक्नुभएन। यसप्रकार उद्घाटन सत्र सफलतापूर्वक सम्पन्न भएको थियो। नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा पनि आमन्त्रित हुनुहुन्थ्यो तर विभिन्न कारणले गर्दा उपस्थित हुन सक्नुभएन। विधान आचार्य र भीष्म उप्रेतीबिच साहित्यिक संवाद आकर्षक ढंगबाट समाप्त भएको थियो। अभय श्रेष्ठजीले कविता पाठसहित कार्यपत्र पनि प्रस्तुत गर्नुभएको थियो।
मैले चाहिँ ‘द पावर अफ पेन’ अर्थात् कलमको शक्तिबारे कार्यपत्र प्रस्तुत गरेको थिएँ। अन्य नेपाली साहित्यकारहरूले विभिन्न सत्रमा कविता वाचन गर्नुभएको थियो। विधान आचार्य र भीष्म उप्रेतीले पनि कार्यपत्रसहित कविता वाचन गर्ने अवसर पाउनुभएको थियो। केशव सिग्देलले दुई सत्रको अध्यक्षता गर्ने अवसर पाउनुभएको थियो। समग्रतः नेपाली प्रतिनिधिहरूले सफलतापूर्वक आआफ्नो भूमिकाको निर्वाहमा सफल हुनुभएको थियो। सोही सत्रमा मेरो पुस्तक ‘इलेभेन पोएटस’ को लोकार्पण सहभागी सबै साहित्यकारहरूद्वारा सामूहिक रूपमा सम्पन्न भएको थियो। यस संग्रहमा कविहरू विद्यापति, लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे, सिद्धिचरण श्रेष्ठ, वानीरा गिरी, वासु शशि, दिनेश अधिकारी र भीष्म उप्रेतीबारे समीक्षात्मक लेखहरू समाहित छन्। यसका भूमिका लेखकहरू हुनुहुन्छ अंग्रेजी भाषाका अवकाशप्राप्त प्राध्यापक डा. मोहन लोहनी र डा. श्रीधर गौतम।
यो समारोह नोभेम्बर १५ देखि नोभेम्बर १८ सम्म अर्थात् चार दिनसम्म सफलतापूर्वक सञ्चालन भएको थियो। नेपाली प्रतिनिधिमण्डलबाहेक यस कार्यक्रममा अफगानिस्तानबाट कवि मोहम्मद मंसुर नासिमी एक मात्र प्रतिनिधिले अफगानिस्तानको प्रतिनिधित्व गरिरहनुभएको थियो, जबकि कवि मोहम्मद अफसर रहविन र कवि सोमिया रमिश पनि आमन्त्रित हुनुहुन्थ्यो। यस्तै बंगलादेशबाट असरफ गेबेल, पकरुल आलम, फरिदुर रहमान, जतन कुमार देवनाथ, कादेसर पलास, लोपा मोमताज, मोहित कमल, मोहम्मद फोरिद हसन, मोहम्मद नुरे आलम पटवारी, नुरुल हक र नुरुनाहरमुनी, कामरुल बहर आरिफ, सौम्या सलेक आदिले कार्यपत्र प्रस्तुतिका साथसाथै कविता वाचन पनि गर्नुभएको थियो।
भुटानबाट वासुदेव आचार्य, चदोर वाग्मो, कुनजंग चोदेन, रिनजिन रिनजिन आदिले कविता वाचनसँगसँगै कार्यपत्र प्रस्तुत गरेर कार्यक्रमको शोभा बढाइरहनुभएको थियो। भारतबाट आलोक भल्ला, अमर मुडी, अमरेन्द्र खटुआ, अमित रञ्जन, अनिता भट्टनागर जैन, विमल सहगल, देवाशिष लहिरी, गुरुप्रती कौर, हरिन्दर सिक्का, के के मोहम्मद, काजल चक्रवर्ती, कविता सिंघल, मन्दिरा घोष, मिनाक्षी गोस्वामी, मौली जोसेफ, मुकुल कुमार, निरा कश्यप, नेहा कृष्णा, पायल नागपाल, परवेज सहरयार, पुरोवी तारा चौधरी, पुष्पेश पन्त, राधा चक्रवर्ती, रेणुका सिंह, ऋषिकेशकुमार सिंह, रविन्सन रोवर्ट, सविना पिल्लैइ, सञ्जुला शर्मा, सरस्वती पोस्वाल, सीमा जैन, शैश्वता महजवी, सोनाली पट्टनायक, सुजाता प्रसाद, सुक्रिता पाल कुमार, सुरेश के गोयल, सुसमिन्दर जित कौर, स्वाती पाल, श्वेता कुमारी, तनविर गौहर, ट्रिना चक्रवर्ती, वनिता, वर्षादास र विनिता बक्सी। हिन्दी भाषा–साहित्यका सुप्रसिद्ध कविहरू अनामिका, अरुण आदित्य, अरुणकुमार पासवान, अरविन्द ओझा, विनोद खेतान, देवप्रकाश चौधरी, देवशंकर नवीन, देवप्रकाश चौधरी, जावेद आलम खाँ, निर्देश निधि, ओम निश्चल, पुनम वेदी, राजेन्द्र शर्मा, रुमी मल्लिक, रुपा सिंह, संगीता गुप्ता, संगीता अग्रवाल, सविता पाठक, शिखा सिंह, सुमन चौधरी र तेज प्रकाश। उर्दू भाषामा कविता लेख्ने कविहरूमा ए नसिव खान, आलोक अविरल, असीम पिरजादा, अजरा नकवी र नोमन शौक र रहमान मुसावी आदिको सहभागिताबाट उर्दू भाषा–साहित्यको सफल प्रतिनिधित्व भएको थियो। यस्तै पन्जाबी भाषा–साहित्यका प्रसिद्ध कविहरू गगन दीप शर्मा, गगन दीप सिंह, गगनमित कौर, करणजित सिंह, तरिन्दर कौरको कविता वाचनबाट सार्क सम्मेलनको सर्वसहभागिता स्वयंसिद्ध भइराखेको थियो। श्रीलंकाका प्रतिनिधि कविहरूको सहभागिताबाट सार्क साहित्य सम्मेलनको सार्थकता सिद्ध भइराखेको थियो। यसमा अमरासिरे विक्रमारत्ने, सिरिल पथिराना, कुमारा हेटिराची, प्रियन्धरा बन्डारा, थमिर मञ्जु, तिलक कापुगे, भूषण निसानसाला र रुवान वातावाला। यसप्रकार सार्क राष्ट्रका साहित्यकारहरूको सक्रिय सहभागिताबाट ६७औं सार्क साहित्य सम्मेलन सफलतापूर्वक सम्पन्न भएको थियो। सार्कमा राजनीतिक–कूटनीतिक अभिरुचि क्रमशः कम हुँदै गएको स्थितिमा साहित्यिक–सांस्कृतिक अभिरुचि दिनानुदिन बढ्दै गएको स्वतः सिद्ध हुन्छ। सार्कको अस्तित्व र अस्मिता क्रमशः कम हुँदै गएको स्थितिमा सार्क साहित्यको दीप प्रज्ज्वलनमा पद्मश्री उपाधि प्राप्त साहित्यकार अजिन कौर तथा उनकी कलाकार सुपुत्री अर्पणा कौरको अभिरुचि उल्लेख्य पाइन्छ। यी दुईजना प्रसिद्ध साहित्यकार र कलाकारको भूमिका निःसन्देह सराहनीय भन्न सकिन्छ, जसले सार्क राष्ट्रका साहित्यकार आशावादी भएर यस सम्मेलनमा सक्रिय सहभागिता जनाउँदै आएका छन्।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...