अस्तित्वको उजाड भूमि र किनाराका कठोर रागहरू
१३ फागुन २०८२
•
९ मिनेट पाठ
अस्तित्वको उजाड भूमि र किनाराका कठोर रागहरू
‘रोयल चारघरे’ उपन्यासमार्फत नेपाली आख्यान क्षेत्रमा आफ्नो बलियो छाप छोडिसकेका राजकुमार श्रेष्ठको नयाँ कवितासङ्ग्रह ‘किनाराका गीतहरू’ साहित्यपोस्टद्वारा प्रकाशित भई पाठकमाझ आएको छ। जम्मा ५९ कविता सङ्गृहीत यो कृति आधुनिक नेपाली कविताको क्षितिजमा एउटा मर्मभेदी तर उत्कट अस्तित्वगत आर्तनादका रूपमा अगाडि आएको छ। यो सङ्ग्रह शीर्षकले सुझाए जस्तो मीठा रागहरूको समुच्चय नभएर, बरु सीमान्तकृत चेतनाले जीवनको त्रासदीलाई खस्रो र धारिलो भाषामा उत्कीर्ण गरेको दस्तावेज हो। श्रेष्ठले यहाँ ‘किनारा’ लाई भौगोलिक रेखाको रूपमा मात्र प्रयोग गरेका छैनन्; यो त सामाजिक, राजनीतिक तथा अस्तित्वगत सीमाको त्यो बिन्दु हो, जहाँ जीवनका सबै रङ्ग, सपना र विफलताहरू जम्मा भएर अन्तिम सत्यको पर्खाइमा छन्।




सर्जकले 'सर्जकबाट' खण्डमा स्वीकारेझैं, उनी अरूण, कर्णाली, बागमती, तमोर जस्ता नेपालका विशाल जलप्रणालीका किनाराहरूमा लुकेका छन् जहाँ उनले खोलाखोल्सा, बगर र तिनका धारहरूका साथ ‘सङ्गिनी र मारूनी’ मा नाचेको अनुभव गर्छन्। यो भौगोलिक विस्तारले किनारालाई क्षेत्रीय नभई राष्ट्रिय विम्ब बनाउँछ। किनारा यहाँ राष्ट्रिय चेतनाको त्यो पाटो हो जहाँ 'जनता' नामको विशाल नदी सधैँ बहन्छ तर सत्ता र सम्पदाका 'किनारा' हरूले उसलाई सधैँ छेक्छन्। यस अर्थमा, श्रेष्ठको 'किनारा' नेपाली समाजको शाश्वत विच्छेद, विपन्नता र निरन्तरको निर्वासनको रूपक बनेको छ।

सङ्ग्रहको केन्द्रीय दर्शन 'अस्तित्वको अवशेष' माथि आधारित छ। पहिलो कविता 'त्यो मेरै रगत थियो' देखि नै कविले आफ्नो व्यक्तिगत पीडा बृहत् सामाजिक र ऐतिहासिक सन्दर्भमा जोड्छन्। जब कवि पाताल र धरातलमुनि पुगेर एउटा 'चिहान' बन्ने संकल्प गर्छन्, यो स्वैच्छिक मृत्युको चाहना होइन। बरु सत्यको यस्तो गहिराइमा पुग्नु हो जहाँबाट फर्केर आउनेहरूले विस्मृत इतिहास (विस्मृत आकार) बोकेर आउन सकोस्। श्रेष्ठको कवितामा प्रयुक्त ‘खरानी’ र ‘धुलो’ जस्ता बिम्बले आधुनिकताले निम्त्याएको आध्यात्मिक र भौतिक क्षयलाई दर्शाउँछ जसले पाठकलाई टी.एस. इलियटको महान कृति ‘द वेस्ट ल्यान्ड’ मा चित्रित शहरी खण्डहर र निराशाको भावभूमि नजिक पुऱ्याउँछ। इलियटको कवितामा जसरी पश्चिमी सभ्यताको विघटनको छाया मडारिन्छ, त्यसरी नै श्रेष्ठको कवितामा नेपाली समाजको आफ्नै ‘उजाड भूमि’ को बोध पाइन्छ। दुवै कविमा रोमान्टिक माधुर्यको सट्टा अस्तित्वको खालीपन र निराशाजनक पुनरावृत्ति भेटिन्छ। यो प्रवृत्तिले श्रेष्ठलाई अस्तित्ववादी कविको रूपमा चिनाउँछ जहाँ विच्छेद नै उनको भाषिक र भावनात्मक उद्गम बन्दछ।

कविताहरूको संरचना र शैलीगत चयनमा श्रेष्ठले परम्परागत लय र शिल्पको सुन्दरताभन्दा बढी यथार्थको कठोरतालाई प्राथमिकता दिएका छन्। कविता 'गीतहरू' भए तापनि, यसमा भूपि शेरचनको सचेत विद्रोह वा गोपालप्रसाद रिमालको उत्कट रोमान्टिक आधुनिकताको सहज गेयात्मकता भेटिँदैन। बरु, यहाँ जीवनको 'अजीवता' लाई अभिव्यक्त गर्न गद्यको खस्रो, अपरिष्कृत र कहिलेकाहीँ त रूखो भाषाशैली अपनाइएको छ।

कवि राजकुमार श्रेष्ठले राजनीतिक पाखण्ड र सामाजिक अन्यायको ‘प्रत्यक्ष गवाही’ प्रस्तुत गर्दा कुनै पनि अलङ्कारिक आवरणको प्रयोग नगरी घटनालाई सीधै प्रस्तुत गर्छन्। यो शैलीले पोल्यान्डका नोबेल पुरस्कार विजेता कवि चेस्लाव मिलोशको राजनीतिक वास्तविकताप्रतिको इमानदार र स्पष्ट दृष्टिकोण झल्काउँछ, जसले इतिहासको क्रूरतालाई कुनै काव्यात्मक लिपिबिना नै उजागर गरिन्छ। मिलोशले जस्तै श्रेष्ठले पनि कवितालाई नैतिक प्रश्नको वाहक बनाएका छन्, जहाँ काव्यको उद्देश्य सत्यलाई ढाक्नु होइन, बरु नङ्ग्याउनु हो। श्रेष्ठका कविता प्रायः 'रिपोर्टेज' शैलीमा लेखिएका छन्, जहाँ घटनाहरूको विवरणले भावनात्मक घनत्व उछिनेको जस्तो लाग्छ।

उदाहरणका लागि, 'न जन्ती न मलामी' कविताले वैदेशिक रोजगारीको त्रासदीलाई प्रस्तुत गर्दा 'एयरपोर्टभित्रको लामो कोठा' र 'बासकसका खाताहरू' जस्ता प्रशासनिक र यान्त्रिक बिम्बहरूको प्रयोग गर्छ।

जीवनको अन्त्येष्टिमा 'न जन्ती न मलामी' को स्थितिले विदेशिने  युवाको अस्तित्वको निर्मम उपेक्षा स्पष्ट गर्छ। यहाँ 'बाकस' एक शक्तिशाली रूपक बनेर आउँछ जुन एकैसाथ सपनाको वाहक, पासपोर्टको प्रतिरूप र अन्तिममा शवको बाकस बन्छ। यो आधुनिक दासताको सजीव चित्रण हो, जसलाई श्रेष्ठले भावनाको लेप नलगाई प्रस्तुत गर्छन्।

श्रेष्ठको राजनीतिक विमर्श अत्यन्तै तीखो र कटु छ। 'शहीदहरूको देश' कवितामा राजनीतिक पाखण्डको नग्न चित्रण छ। कवि 'अन्धता' र 'लहड' मा शासकहरू खडा हुने प्रक्रियाको आलोचना गर्छन्, जहाँ 'सिग्नेचरधारी' (उच्च अधिकारी) हरूले गरीबको नारा बेचेर देश खरानी बनाउँछन्।

'जसले आफ्नै दाजुको घर जलाए,

गरीबको नारा बेचेर,

जो रातारात महाजन बन्यो'

यो पंक्तिले नेपाली राजनीतिको त्यो कठोर चक्रलाई दर्शाउँछ, जहाँ क्रान्ति निजी सम्पत्तिको निर्माणका लागि प्रयोग हुन्छ र देशलाई 'शहीदहरूको देश' वा 'चिहानधारी देश' मात्र बनाइन्छ। यहाँ शहीदहरूको'काङ्क्रो', 'करेलो', 'कुकुर', 'बिरालो' शहीदमा गरिएको वर्गीकरणले सत्ताको क्रूर मजाकलाई दर्शाउँछ।

यो वर्गीय चेतना र उत्पीडित वर्गको पक्षमा आवाज उठाउने प्रवृत्तिले उनलाई पाब्लो नेरुदा जस्ता सामाजिक यथार्थवादी कविहरूको श्रेणीमा उभ्याउँछ, जसले महाकाव्यीय स्तरमा शोषक र शासित बीचको संघर्षलाई आफ्नो काव्यको मूल विषय बनाए। यद्यपि श्रेष्ठको स्वर नेरुदाको जस्तो रोमान्टिक आशावादी नभई बर्टोल्ट ब्रेख्तको ‘थिएटर अफ एलिएनेसन’ माझ जस्तो यथार्थको निर्मम प्रस्तुतिमा केन्द्रित छ, जहाँ पाठकलाई काव्यिक सुख होइन, बेचैनीको बोध गराउनु मुख्य लक्ष्य हुन्छ। राजनीतिको यो नग्नता उनले 'ऊ अर्थात् देशद्रोही' मा पराकाष्ठामा पुर्‍याएका छन्, जहाँ सत्य बोल्ने पात्र देशद्रोही ठहरिन्छ, जब कि दलालहरू र 'सिमाना कोरिरहेका' शासकहरूले देशको माटो बेचिरहेका छन्।

श्रेष्ठको बिम्बविधानमा 'धुलो', 'खरानी', र 'बाकस' को पुनरावृत्ति एकप्रकारको 'एन्टिरोमान्टिक' सौन्दर्यबोध स्थापित गर्दछ। जहाँ परम्परागत कवितामा 'प्रेम' वा 'प्रकृति' को माधुर्य खोजिन्थ्यो, श्रेष्ठको कवितामा 'खरानी' ले भरिएको 'झोला' र 'डुङ्गा' मा 'सपना बेचेर' बाँच्ने 'साइँलो' भेटिन्छ।

उनले आधुनिक समाजमा श्रमको मूल्य, आत्मसम्मान र राष्ट्रियता कसरी 'अक्सिजन सिलिन्डरभित्र कैद' छन् भनेर देखाउँछन्। यो खरानीमा आधारित बिम्बको प्रयोगले उनलाई आधुनिकताको अन्धकार पक्ष खोतल्ने कविको रूपमा चिनाउँछ।

'किनाराका गीतहरू' को विशिष्टता लोकलयको प्रयोगमा पनि छ। यद्यपि कविले परम्परागत लयको सजिलो मार्ग अँगाल्दैनन् तर 'झर्रि' र 'सङ्गिनी' का धुनहरूलाई शहरी, आधुनिक त्रासदीको 'डेप्थ' दिन प्रयोग गरेका छन्। 'नबाँचेका भाकाहरू' मा 'परेवा घुरुरु... मेरो बाबा...' जस्ता लोकभाकाका टुक्राहरूलाई 'बेनामी भाषा' र 'अनाम जिन्दगानी' सँग जोडेर, उनले ग्रामीण जीवनको विस्थापन र शहरी अस्तित्वको विसङ्गति एकैसाथ उतारेका छन्।

यो लोकचेतनाको प्रयोग उनीभन्दा पहिलेका रिमाल वा देवकोटामा पाइने स्वच्छन्दतावादी प्रयोगभन्दा फरक छ; यो लोकलय यहाँ हराउँदै गरेको संस्कृतिको 'विलाप' बनेको छ।

'कसरी बाँच्यौँ हामी' (५८) कविताले सङ्ग्रहको सम्पूर्ण निराशा र अस्तित्वको प्रश्नलाई चरम बिन्दुमा पुऱ्याउँछ।

'कुन धारहरूमा जन्मियौँ हामी

कुन र उसले जन्माउनुभयो?

कति सपना थिए?'

यी प्रश्नहरू निजी हताशाका मात्र होइनन्, बरु एक राष्ट्र, एक सभ्यताको सामूहिक सोधखोज हो। यहाँ कविले कर्णालीको आँसुको बाढी, स्वाँरा सुस्केरा र अरूणको धारमा आफ्ना 'प्यासहरू कलकलाएर' कसरी मेटिए, त्यसको हिसाब खोज्छन्। यो कवितामा 'बेहुली रङ्गहरू टिपेर' श्रृङ्गार खोज्ने प्रयास छ, तर त्यो श्रृङ्गार अन्ततः 'शृङ्गारहरूमा हराउँथी' भन्ने निष्कर्षमा पुग्छ। यो विडम्बनाकविताभरि व्याप्त छ।

श्रेष्ठले प्रयोग गरेका 'सिम्रासे र कुवाखोल्सी', 'स्यामसिले र बान्द्रुपामा' जस्ता स्थानीय नामहरूको प्रयोगले कविताको भौगोलिक जरो बलियो बनाएको छ। यी नामहरूले बिर्सिंदै गएको र उपेक्षित रहेको एउटा खास नेपाली भूगोलको चित्रण गर्छन्, जसलाई उनले 'अल्कावसी' जस्तो दुर्गमसँग जोड्छन्। यस प्रकारको भौगोलिक विशिष्टतामा आधारित कथावाचनले पाठकलाई स्थानीय यथार्थको गहिराइमा पुऱ्याउँछ, जुन पश्चिमी कविताको विश्वव्यापी अमूर्तताभन्दा फरक भए पनि, त्यस क्षेत्रको सामाजिक सत्य स्थापित गर्ने शक्तिशाली माध्यम बन्छ।

तथापि, समीक्षाको कठोर दृष्टिकोणबाट हेर्दा, श्रेष्ठको कवितामा शिल्पगत नियन्त्रणमा केही कमजोरी देखिन्छन्। राजनीतिक आक्रोशको घनत्व यति तीव्र छ कि कतिपय कविता (विशेष गरी '२०. त्यो दिन मखमली' जस्ता अपेक्षाकृत मधुर कविताहरूबाहेक) अत्यधिक गद्यमय लाग्छन्। कवि स्वयंले खोजेको 'सामान्य' भाषाले कहिलेकाहीँ अतिरञ्जित भावना वहन गर्न नसकेको अनुभव हुन्छ। कविता 'खुला बयान' मा बदलिँदा त्यसले अक्सर काव्यिक दूरी र रहस्य गुमाउँछ।

'झरीको सङ्गीत' जस्ता केही कवितामा भने कविले यो चुनौतीलाई सफलतापूर्वक पार गरेका छन्। यहाँ प्रकृति, जीवन र विरहको धुनलाई एकैसाथ बुनेका छन्।

'आज झस्केर कतै

मधुरो याद आए भने

कन्दराबीच कतै

झझल्कको दिएँ भने

कान्ला र सालिमै डोबहरूमा

म कतै फेला परें भने

नसोनु बिरानो माटाहरूमा...'

यो विरहको स्वरले श्रेष्ठलाई रोमान्टिक आधुनिकतावादीहरूको नजिक ल्याउँछ तर उनको 'नसोच्नु बिरानो माटाहरूमा' भन्ने सचेत निषेधले उनलाई विशुद्ध रोमान्टिक हुनबाट जोगाउँछ। उनका लागि यादहरू पनि 'बिरानो' माटोमा गाथा वा मधुर ध्वनि मात्र बनेर रहनु हुँदैन, तिनले वर्तमानको 'डमफरको तीखो खाटा' लाई सम्झाउनुपर्छ।

'अपरीक्षित संवादहरू' मा कविले समयका 'भोस्सीहरू' बुझ्न खोज्नु र समयको 'ताण्डव' नियाल्नुले उनलाई विश्व कविताका आधुनिक चिन्तकहरूसँग जोड्छन्, जहाँ समय एक अमूर्त, विनाशकारी शक्ति हो। यहाँ, समय किनिन सकिने वस्तुमा परिणत भएको छ ('केही थान समय किन्न थालें’), जुन पुँजीवादी युगको सबैभन्दा ठूलो विडम्बना हो। यो समय र पूंजीको विमर्शले उनलाई समकालीन विश्वका चिन्तक कविहरू, जसले आधुनिकताको यान्त्रिकीकरणविरुद्ध लेखेका छन्, को श्रेणीमा ल्याउँछ।

'झुम्का' र 'सिरेटो' को बिम्ब मार्फत उनले निजी विरहलाई भौगोलिक यथार्थसँग जोडेका छन्। सिरेटो (हावाको सानो झोक्का) ले मुटु चिरेर भाग्नु र दुःखले खोल्सा र ठुम्का अलग पार्नुले भावनात्मक र प्राकृतिक विच्छेदको गहिराइ नाप्छ।

समग्रमा राजकुमार श्रेष्ठको ‘किनाराका गीतहरू’ एकप्रकारको ‘एन्टिएस्थेटिक’ सौन्दर्यबोध बोकेको कवितासङ्ग्रह हो। यो पढ्दा पाठकलाई असहज हुन्छ, किनकि कविले सुन्दरता र सहजतालाई होइन, बरु सत्य र पीडालाई केन्द्रमा राखेका छन्। उनले भाषालाई 'आफ्नै रगत र श्वास' मानेका छन्, त्यसैले उनको अभिव्यक्ति प्रायः अकृत्रिम, अनावृत र सीधा प्रहार गर्ने खालको छ।

सङ्ग्रहले नेपाली कवितामा 'किनाराको राजनीति' र 'अस्तित्वको मोल' जस्ता कठोर विषयवस्तुहरू निर्भीकतापूर्वक उठाएको छ। श्रेष्ठले सिद्ध गरेका छन् कि कविता फूलबारीको प्रशंसा मात्र होइन, यो 'वियोगान्त गीत' हो जुन 'दरबारको अग्लो पर्खाल' पार गर्न नसकेर किनारामा बसेका 'जिउँदा लाश' हरूको वेदनाको साक्षी बन्छ। यस सङ्ग्रहको सबैभन्दा ठूलो सफलता यसको वैचारिक इमान्दारिता हो, जसले समकालीन नेपाली समाजको नैतिक पतन र राजनीतिक विघटनको अभिलेखन गर्दछ। नेपाली कविता परम्परामा यसको स्थान ती विद्रोही स्वरहरूको पंक्तिमा हुनेछ जसले सामाजिक यथार्थलाई काव्यिक परिष्करणको बोझबाट मुक्त गरी आमजनताको पीडालाई नै आफ्नो मुख्य भाषिक सामग्री बनाए।

कलमको यो सशक्त र विद्रोही धार आगामी दिनहरूमा अझ प्रखर र प्रस्ट बनेर आओस्। राजकुमार श्रेष्ठको यो सिर्जनशील साहित्यिक यात्राले नेपाली वाङ्मयको श्रीवृद्धिमा अझै महत्त्वपूर्ण इँटाहरू थप्दै जाओस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
अर्को समाचार
एकल व्यक्ति चमत्कारवाद!
१० मिनेट अघि
•
१ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
काठमाडाैं, हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं। कोही सरकारी जागिरबाट बिदा लिएका, कोही अड्डा–अदालतमा सेवा गरिरहेका त कोही मालपोतका हाकिम, साथै मालपोतमा लेखापढी गर्ने, सबै जना साथीहरू विभिन्न पार्टीका समर्थक छौं।




कहिलेकाहीं छलफलकै क्रममा चर्काचर्की पनि पर्छ। यसै क्रममा एकजना दाइको मुखबाट यो राज्यमा एकल व्यक्ति चमत्कारवादले काम गरेको छ भन्ने कुरा निस्कियो। अनि के हो त एकल व्यक्ति चमत्कारवाद ? भन्ने विषयमा केन्द्रित भएर मैले केही लेख्ने जमर्को गरेको छु।

सर्वप्रथम त एकल व्यक्ति चमत्कारवाद भनेको के हो, बुझ्न जरुरी हुन्छ। एकल व्यक्ति चमत्कारवाद भनेको यस्तो सोच वा प्रवृत्ति हो, जहाँ समाज, राजनीति वा राष्ट्रका सबै समस्या एकजना विशेष व्यक्तिले मात्र समाधान गर्न सक्छ भन्ने विश्वास गरिन्छ। अझ यसलाई सरल शब्दमा भन्दा यो देश, पार्टी, समाज बिग्रिएको छ, अब फलानो व्यक्ति आएपछि सबै ठिक हुन्छ भन्ने सोच नै एकल व्यक्ति चमत्कारवाद हो।

२०४६ सालमा बहुदलीय व्यवस्था आएपछिको एकल व्यक्ति चमत्कारवादका केही कुरा गरौं।
उदाहरण नम्बर एक: स्वर्गीय नेता मदन भण्डारी स्पष्ट वैचारिक प्रतिवाद गर्न सक्ने नेतामा गनिए। उनले टुँडिखेलमा गरेको भाषणमा राजालाई श्रीपेच फुकालेर आफूसँग चुनाव लड्न चुनौती दिए। यो भाषणबाट नेपाली जनता प्रभावित भएका थिए। पछिल्लो उनको दस्ताबेज नेपालमा (जबज) जनताको बहुदलीय जनवाद ल्याएर एउटा चमत्कार गरे। त्यस दस्ताबेजलाई अहिले पनि नेकपा एमालेले अनुसरण गरिरहेको छ। त्यतिबेला स्व. मदन भण्डारीलाई महान् मानव मानेर पुज्ने जनता थिए र छन्। भलै यो व्यक्ति बाँचेको भए देख्न पाइन्थ्यो, त्यो नेपालीहरूको दुर्भाग्य भयो।

उदाहरण नम्बर दुई:  नेता शेरबहादुर देउवा अहिलेसम्म पाँच पटक यो देशको प्रधानमन्त्री भएका व्यक्ति हुन्। उनले अहिलेसम्म डडेल्धुरा जिल्लाबाट निर्वाचनमा हारेका छैनन्। अझै छैटौं पटक प्रधानमन्त्री हुने होडमा थिए। उनी कम उमेरमै गृहमन्त्री हुँदै २०५१ सालमा प्रधानमन्त्री भएका थिए। २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनबाट उनको राजनीतिमा ब्रेक लाग्यो।

नेकपा एमाले र नेपाली कांग्रेसको सरकार थियो। शेरबहादुरकी पत्नी आरजु राणा परराष्ट्रमन्त्री थिइन्। उनीहरू दुवै जनालाई जेनजी आन्दोलनमा मरणासन्न हुने गरी घाइते बनाइयो। देउवा निवासमा तोडफोड र आगजनी गरियो। कम बोल्ने र जनताका लागि खासै काम केही नगर्ने देउवाले अझै चेतेको अवस्था देखिँदैन। जनताले लखेटेको नेतालाई नेपाली कांग्रेसका कतिपय कार्यकर्ताले अझै उनको चमत्कारवाद हेर्न रुचाउँछन् र उनको सपोर्टमा लागिपरेको देखिन्छन्।
उदाहरण नम्बर तीन: नेता पुष्पकमल दाहाल, उनले २०५२ बाट सुरु गरेको माओवादी जनयुद्धले नेपाली समाजलाई आक्रान्त बनायो। उनका सहयोगी बाबुराम भट्टराईले देउवा प्रधानमन्त्री भएको बखत ४२ बुँदे ज्ञापनपत्र दिएर जंगल पसेको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल २०६२–६३ सम्म आइपुग्दा नेपाली समाजको रूपान्तरणका लागि आशाको केन्द्रमा थिए।

यिनलाई पनि नेपाली समाजले केही गर्ने नेताको रूपमा हेरेर पहिलो संविधानसभामा लगभग बहुमत दिएर संसद्मा पुर्‍याएका थिए। तर नेपाली सेनाका प्रधानसेनापति रुक्मांगत कटुवाललाई फाल्ने जुन प्रपञ्च यिनले गरे, आफैं उत्तानो परे। विभिन्न समयमा गरी तीन पटक यो देशको प्रधानमन्त्री त भए तर पनि यिनीबाट देशका लागि केही हुन सकेको अवस्था छैन। अझै म बाँचुन्जेल यो देशमा उथलपुथल गर्छु भन्दै नेपाली जनतालाई धम्की दिन्छन्। अब पनि म नेपाली जनता र देशका लागि केही गर्छु भनी हुँकार 
पिट्दै छन्।

उदाहरण नम्बर चार:  झापा काण्डबाट चौध–पन्ध्र वर्ष जेल जीवन बिताएका नेकपा एमालेका नेता खड्गप्रसाद ओलीलाई २०७४ सालको निर्वाचनमा झन्डै दुईतिहाइ बहुमत पाएर पनि सरकार टिकाउन सकेनन्। उनले दुई–दुई पटक संसद् विघटन गरे। उनी तीन पटक प्रधानमन्त्री भए। उखान–टुक्का जान्ने र भाषण गर्न सक्ने खुबी उनमा छ। पछिल्लो पटक २०८० मा उनी सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकारका प्रधानमन्त्री थिए।

२०८२ भदौ २३ र २४ गते जेनजीहरूले आन्दोलन गरे। त्यसमा २३ गतेको आन्दोलनमा परी १९ जनाको हत्या भयो। यो अवस्थामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिए। ओलीले भोलिपल्ट २४ गते स्थिति सम्हाल्न नसकेपछि आफ्नै ज्यान जोगाउन धौ–धौ भयो। सेनाको सुरक्षामा हेलिकोप्टर चढेर भागे। उनले २४ गते २ बजेपछि मात्र प्रधानमन्त्री पदबाट राजीनामा दिए। यो धेरै ढिला भइसकेको थियो। सारा जनता घरघरबाट सडकमा निस्किएका थिए। झन् ठुलो आन्दोलन भयो।

सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी विभागहरू, काठमाडौं जिल्ला अदालतदेखि महत्त्वपूर्ण कार्यालयहरू जलेर खरानी भए। त्यस दिनमा पनि ५०–५५ जनाको ज्यान गयो। सरकारमा बस्ने प्रधानमन्त्रीले यसको जिम्मेवारी लिएनन्। 
उदाहरण नम्बर पाँच:  २०७९ सालमा यही वैकल्पिक धारको नेतृत्व गर्दै मिडियामा नाम कमाएका व्यक्ति रवि लामिछानेले रास्वपा पार्टी खोलेर ६ महिनामै चमत्कार गरिदिए। एकै चुनावमा राष्ट्रिय पार्टी बनेर २० सिट जितेर गृहमन्त्री तथा उपप्रधानमन्त्री पड्काए। त्यसपछि काठमाडौंको मेयर पद जितेर कहलाएका पूर्वमेयर केशव स्थापितलाई उत्तानो पारेर बालेन्द्र शाहले मेयरको पद पड्काए। हाल यिनै शाह देशका प्रधानमन्त्री छन्। यिनीहरू पनि चमत्कारी व्यक्ति गणना भए।
विभिन्न कालखण्डमा यसरी एउटै व्यक्तिलाई हिरो बनाउने र त्यसको पछाडि लागेर भजन गाउने संस्कारले नेपाली समाज आक्रान्त छ। अझै पनि नेपाली समाजमा चेत पलाएको छैन। एकल व्यक्ति चमत्कारवादका जति उदाहरण हेरे पनि आजसम्म यो देशले सही दिशा लिन सकेको देखिँदैन। यो किन भने एकल व्यक्ति चमत्कारवादले यहाँ केही हुनेवाला छैन।

यस्तै कुसंस्कार र एकल व्यक्तिवादी सोच र चरित्रले गर्दा नै देश यो अवस्थामा पुगेको हो भन्न सकिन्छ। यहाँ हरेक क्षेत्रमा कुसंस्कार छ, भ्रष्टाचार छ, मनमौजी सोच छ, जसले जे गरे पनि छुट छ, न्यायालयमा न्याय छैन, सबैलाई समान अवसर छैन, ठुलालाई चैन र सानालाई ऐन छ, गरिब जनता झन्–झन् गरिब भएका छन्। नेपालका प्रायः सबै पार्टी आआफ्नो विचारबाट स्खलित भएका छन्, मूल्य र मान्यताबाट च्युत भएका छन्।

सत्तामा पुग्ने र मिलेर खाने प्रवृत्ति देखेर जनता आजित छन्। एउटै व्यक्ति पटक–पटक सत्तामा पुग्ने र जनताका लागि कुनै राम्रो काम नगर्ने भएर नै पार्टीप्रति विश्वास घट्दै गएको छ। अहिलेको अवस्थामा जनतालाई यो चाहिँ पार्टी ठिक छ भन्ने विश्वास नै छैन।
त्यसैले आजको आवश्यकता कुनै नयाँ चमत्कारी व्यक्ति खोज्नु होइन, विधिको शासनमा आधारित बलियो प्रणाली निर्माण गर्नु हो। व्यक्ति आउँछन्, जान्छन् तर राष्ट्र संस्थाले चल्नुपर्छ। एकल व्यक्ति चमत्कारवादले क्षणिक आशा त दिन सक्छ तर दीर्घकालीन रूपमा यसले समाजलाई अझै निराश र दिशाहीन बनाउने खतरा रहन्छ। सचेत नागरिक, उत्तरदायी संस्था र पारदर्शी शासनबिना समृद्ध नेपाल सम्भव छैन।

– सापकोटा नेपाली सेनाबाट अवकाशप्राप्त मानार्थ उपसेनानी हुन्।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस