रित्तिँदै देश, हराउँदै भविष्य
०९ साउन २०८३
•
६ मिनेट पाठ
रित्तिँदै देश, हराउँदै भविष्य
आज देश गहिरो पीडाको यात्रामा छ। विशेषतः युवाको छटपटीले राष्ट्रको आत्मा नै व्याकुल बनेको छ। कतै आमाको कोख रित्तिएको छ, कतै चेलीहरूको सिन्दूर पुछिएको छ, कतै बुबाआमाका आँखामा प्रतीक्षाको धुवाँ मात्र बाँकी छ। आज लाखौं नेपाली परिवारको साझा कथा एउटै वाक्यमा सीमित भएको छ– ‘आमा, म दुई वर्षमै फर्किन्छु। केही पैसा कमाएर नेपालमै व्यवसाय गर्छु।’




त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आमाको अँगालो कस्दै उच्चारण गरिने यो वाक्य अब केवल बिदाइको संवाद होइन, एउटा राष्ट्रको पीडाको दस्ताबेज बनेको छ।

ती दुई वर्ष धेरैका लागि दश वर्षमा बदलिन्छन्, कतिपयका लागि त कहिल्यै नफर्किने यात्रामा। गाउँमा आमा र बाबु अझै पनि मूलढोकातिर आँखा लगाएर बसिरहेका हुन्छन्। घरको ढोका खुलै हुन्छ तर फर्किने पाइला आउँदैन। फर्किन्छ त केवल रेमिट्यान्स, फर्किंदैन परिवारको हाँसो, गाउँको चहलपहल, आमाको आशा, चेलीको सिन्दूर र देशको युवा ऊर्जा। यही सन्दर्भमा अर्को एउटा कथा जोड्न चाहन्छु– आजको नेपालको यथार्थ बोल्ने एउटा कथा।

इन्जिनियरिङमा स्नातक गरेका २६ वर्षीय युवा आकाश (नाम परिवर्तन) को सपना आफ्नै गाउँमा केही गर्ने थियो। उनले व्यावसायिक योजना बनाए, साथीहरूसँग अनुनय गरे, बैंकका ढोका ढकढक्याए, सरकारी कार्यालय धाए तर जहाँ पुगे पनि एउटै प्रश्न सोधियो– धितो कहाँ छ? उनको सिप, शिक्षा, योजना र सपनाको मूल्यांकन भएन। मूल्यांकन भयो त केवल सम्पत्तिको। ६ महिनासम्म निरन्तर प्रयास गर्दा पनि न ऋण पाइयो, न आवश्यक सहयोग। अन्ततः एक साँझ उनले शिर झुकाउँदै आमालाई भने– ‘आमा, म हार्न चाहन्नँ तर मेरो देशले मलाई जित्ने अवसर पनि दिएन। अब विदेश जानुबाहेक अर्को विकल्प देख्दिनँ।’

केही हप्तापछि आकाश पनि हजारौं युवाजस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडे। आज उनी विदेशको एउटा प्रतिष्ठित कम्पनीमा काम गरिरहेका छन्। त्यही सिप, ज्ञान, मेहनत, जुन नेपाललाई समृद्ध बनाउन सक्थ्यो, आज अर्को देशको अर्थतन्त्र बलियो बनाउन प्रयोग भइरहेको छ।

यहाँ प्रश्न आकाश किन विदेश गयो ? भन्ने होइन। प्रश्न हो– आकाशले आफ्नै देशमा अवसर पाएको भए उसले कतिलाई रोजगारी दिन्थ्यो ? कति कर तिर्थे ? नेपालको अर्थतन्त्रलाई कति माथि उठाउन सक्थ्यो?

आकाशको कथा एउटा व्यक्तिको कथा होइन। यो हजारौं शिक्षित युवाको साझा कथा हो। फरक केवल नाममा छ, पीडा एउटै छ। शिक्षित होस् वा अशिक्षित, आज हरेक घरमा आशा र निराशाको द्वन्द्व चलिरहेको छ।

नेपालको सबैभन्दा ठुलो पीडा गरिबी मात्र होइन। हाम्रो सबैभन्दा ठुलो पीडा त बिस्तारै हराउँदै गएको सपना हो, मर्दै गएको आशा हो।

आज गाउँका खेत बाँझिएका छन्। मेलापात गर्ने हातहरू हराएका छन्। साना बजारहरू सुनसान बन्दै गएका छन्। जहाँ उद्योगका चिम्नीहरू धुवाँ उडाउँथे, त्यहाँ आज झार उम्रिएको छ। ‘देशमै बसेर केही गर्छु’ भन्ने अठोट बोकेका गणेश नेपालीजस्ता युवाले आत्मदाह गर्नुपरेको छ। यो केवल एउटा व्यक्तिको मृत्यु होइन, राष्ट्रको सम्भावनाको दाहसंस्कार हो।

‘जसको शक्ति, उसकै भक्ति’ भन्ने विकृत संस्कृतिले भ्रष्टाचारलाई संस्थागत बनाइरहेको छ। गरिबले न्याय पाउन सकेका छैनन्। आर्थिक अभावका कारण प्रतिभाशाली विद्यार्थी उच्च शिक्षा पूरा गर्न सकिरहेका छैनन्। उत्पादनको अथाह सम्भावना भएको देश आयातमा निर्भर बन्दै गएको छ। यो केवल आर्थिक समस्या होइन, यो सामाजिक, नैतिक र राष्ट्रिय अस्तित्वसँग जोडिएको संकट हो।

विरोधाभास हेरौं– हामीसँग अनन्त नदी छन् तर विद्युत्, सिँचाइ, स्वच्छ जलको पर्याप्तता छैन। उर्वर भूमि छ तर फलफूल र तरकारी विदेशबाट ल्याउनुपर्छ। हिमाल, संस्कृति र अनुपम प्राकृतिक सौन्दर्य छन् तर पर्यटनको सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न सकेका छैनौं। हरेक वर्ष हजारौं इन्जिनियर, डाक्टर, सूचना–प्रविधि विज्ञ र व्यवस्थापनका स्नातक उत्पादन गर्छौं तर उनीहरूको ज्ञान र सिप विदेशी अर्थतन्त्र निर्माणमा खर्च भइरहेको छ।

त्यसैले फेरि पनि प्रश्न उही हो– युवा किन विदेश गए ? भन्ने होइन, नेपालले आफ्ना युवालाई किन रोक्न सकेन ? भन्ने हो। धेरै युवा व्यवसाय गर्न चाहन्छन् तर उनीहरूले सहुलियतपूर्ण पुँजी पाउँदैनन्। बैंकले धितो खोज्छ, राज्यले प्रक्रिया लम्ब्याउँछ, नीति पटक–पटक बदलिन्छ, बजारमा अस्वस्थ प्रतिस्पर्धा हुन्छ अनि अन्ततः सपनाले भरिएको युवा निराश बन्छ। यस्तो अवस्थामा विदेश जानु धेरैका लागि रहर होइन, बाध्यता बन्छ।

यही अँध्यारोबिच केही उज्याला उदाहरणहरू पनि छन्। नेपालमै बसेर प्रविधि, कृषि, पर्यटन, सूचना–प्रविधि, उद्यमशीलता र नवप्रवर्तनका क्षेत्रमा आफ्नै मेहनतले सफल व्यवसाय स्थापना गर्ने युवाहरू पनि छन्। उनीहरूले प्रमाणित गरेका छन्– सही वातावरण, उचित मार्गदर्शन र अवसर पाए नेपाली युवा विश्वसँग प्रतिस्पर्धा मात्र होइन, नेतृत्वसमेत गर्न सक्छन्। यसले स्पष्ट देखाउँछ– समस्या प्रतिभाको होइन, प्रणालीको हो।

हामीले शिक्षालाई डिग्रीसम्म सीमित गरिदियौं। अब शिक्षालाई सिर्जना, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतासँग जोड्नैपर्छ। विश्वविद्यालयबाट केवल प्रमाणपत्र होइन, समाधान जन्मिनुपर्छ, केवल स्नातक होइन, स्टार्टअप र नयाँ उद्योग जन्मिनुपर्छ। विद्यार्थीलाई ‘जागिर कसरी खोज्ने ?’ भन्दा पहिले ‘अवसर कसरी सिर्जना गर्ने?’ भन्ने सोच सिकाउनुपर्छ।

सरकारले पनि आफ्नो भूमिका पुनः परिभाषित गर्नुपर्छ। युवाका लागि सहुलियतपूर्ण स्टार्टअप ऋण, सरल दर्ता प्रक्रिया, प्रारम्भिक कर सहुलियत, अनुसन्धानमा लगानी, बजार पहुँच र निर्यात प्रवर्धनको स्पष्ट नीति अपरिहार्य छ। निजी क्षेत्र, विश्वविद्यालय, बैंक र सरकारबिच बलियो सहकार्यको संरचना निर्माण नगरी समृद्ध अर्थतन्त्रको सपना पूरा हुन सक्दैन।

समाजले पनि उद्यमशीलतालाई सम्मान गर्न सिक्नुपर्छ। भविष्यको अर्थतन्त्र रोजगारी खोज्नेहरूले होइन, रोजगारी सिर्जना गर्नेहरूले नेतृत्व गर्नेछन्। इतिहासले हरेक पुस्तालाई एउटै प्रश्न सोध्छ– तिमीहरूले आफ्नो देशलाई के दिएर गयौ ? यस प्रश्नको उत्तर रेमिट्यान्स, उपभोग र पलायन हुन सक्दैन। हाम्रो उत्तर उत्पादन, नवप्रवर्तन, अनुसन्धान, उद्यमशीलता र आत्मनिर्भर अर्थतन्त्र हुनुपर्छ।

नेपाललाई परिवर्तन गर्ने शक्ति कुनै एक नेता, एक सरकार वा एक संस्थासँग मात्र छैन। त्यो शक्ति हरेक शिक्षक, किसान, उद्यमी, विद्यार्थी, नीतिनिर्माता र सचेत नागरिकको सामूहिक संकल्पमा निहित छ। आज आवश्यकता निराशाको कथा दोहोर्‍याउने होइन, पीडालाई परिवर्तनको ऊर्जामा रूपान्तरण गर्ने हो। युवा जोगाऔं, उत्पादन बढाऔं, उद्यमलाई सम्मान गरौं, शिक्षालाई सिर्जनासँग जोडौं, महिलाको आर्थिक सहभागिता विस्तार गरौं, नवप्रवर्तनलाई राष्ट्रिय अभियान बनाऔं। नत्र हजारौं आकाशहरू विदेशी आकाशमुनि हराइरहनेछन् र हजारौं गणेशहरू आफ्नै सपनाको चितामा जलिरहनेछन्।

देश केवल भूगोलले बन्दैन, देश त आफ्ना युवाको विश्वासले बन्छ। जब युवाको सपना आफ्नै मातृभूमिमा फुल्न छोड्छ, तब राष्ट्रको भविष्य पनि ओइलाउन थाल्छ। त्यसैले अब प्रश्न परिवर्तनको होइन, संकल्पको हो किनकि इतिहासले अवसर बारम्बार दिँदैन तर गुमाएको अवसरको मूल्य पुस्तौंसम्म चुकाउनुपर्छ।

अब अर्की कुनै आमाले विमानस्थलमा छोराको बिदाइलाई अन्तिम भेट सम्झिनु नपरोस्। अर्को कुनै युवाले आफ्नो सपना बचाउन देश छोड्न नपरोस् र अर्को कुनै गणेशले आफ्नो पीडालाई आगोमा परिणत गर्न नपरोस्। यही कामना, संकल्प र भविष्यप्रतिको हाम्रो उत्तरदायित्व हो।
अर्को समाचार
गीतकार पुरस्कार सागर उदासलाई
१९ घण्टा अघि
•
१ मिनेट पाठ
गीतकार पुरस्कार सागर उदासलाई
गीतकार प्रतिष्ठान, नेपालले हरेक वर्ष प्रदान गर्दै आएको गीतकार पुरस्कार २०८३ गीतकार सागर उदासलाई प्रदान गर्ने भएको छ।




नगद ११ हजार १११ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहितको पुरस्कार प्रतिष्ठानले आफ्नो छैटौँ वार्षिक साधारण सभाको अवसर पारेर आगामी मङ्सिर १९ गते शनिवार पोखरामा प्रदान गर्ने अध्यक्ष अनुराग अधिकारीले जानकारी दिए। यसअगि ५ हजार ५५५ रुपियाँ दिइँदै आएकामा यस वर्षदेखि पुरस्कारको राशि ११ हजार १११ रुपियाँ पुर्‍याइएको अध्यक्ष अधिकारीले जनाए।

तनहुँको दमौलीमा रहेर करिब ४ दशकदेखि गीत लेखनमा क्रियाशील सागर उदासको पहिलो गीत ‘हिँडेको छु छातीभरि व्यथाहरू बोकी...’ बोलमा रेडियो नेपालमा २०५१ सालमा रेकर्ड भएको थियो। उनका सागरभित्रका कर्णहरू (२०५२), सागर सुसेली (२०७९) र फैलिन्छ कि माया (२०७९) गरी ३ गीतसङ्ग्रह प्रकाशन भएका छन् भने आभार (२०६०) र रवि (२०७०) गरी २ गीतिएल्बम सार्वजनिक भएका छन्।

उनका जिउँदाको जन्ती..., फुल्यो गुराँस तारे भिरैमा..., घाम पनि माग्छु‍..., छैन है रहर... लगायत गीत चर्चित छन्। गण्डकी वाङ्मय प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका उनले २ दर्जनभन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरेका छन्।

प्रतिष्ठानका पूर्वअध्यक्ष शीतल गिरीको संयोजकत्वमा यसअगि सम्मानित प्रतिभा सरस्वती श्रेष्ठ ‘सरू’ र सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले सदस्य तथा अध्यक्ष अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै उदासलाई पुरस्कार प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको हो।

उक्त पुरस्कारबाट यसअगि गीतकार प्रकट पगेनी ‘शिव’, सरस्वती श्रेष्ठ ‘सरू’, शीतल कादम्बिनी र आरजु विष्ट ‘सल्यानी’ पुरस्कृत भइसकेका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस