प्रेम-सागरमा सुवासचन्द्र
२३ साउन २०८३
•
५ मिनेट पाठ
प्रेम-सागरमा सुवासचन्द्र
एक समय रेडियोका श्रोताका ओठमा एउटा गीत हरपल झुन्डिरहन्थ्यो। खास गरेर युवा वर्गमाझ त्यो गीत अत्यन्तै लोकप्रिय थियो, अझ अगाडि बढेर भन्ने हो भने प्रेममा धोका खाएका वा प्रेमबाट हार खाएर वियोग खेपिरहेका प्रेम–पराजित प्रेमीको मनको तस्बिर थियो त्यो गीत:




‘जति चोट दिन्छौ देऊ मायालु

मुटुभित्र साँचेर राख्नेछु

जति आँसु दिन्छौ देऊ मायालु

दुई आँखाबाट झार्नेछु’

उतिबेलाका प्रसिद्ध गायक भक्तराज आचार्य आफैंले लय हालेर गाएको उक्त गीतको गायन–पक्ष यति प्रभावशाली थियो कि गीत सुन्दा स्वयं गायकले साँच्चै नै प्रेममा विश्वासघात बेहोरेका थिए कि भन्ने भान पर्छ। यो गीतका रचनाकार थिए- सुवासचन्द्र ढुंगेल। आज पनि सुवासचन्द्र स्वयंलाई साक्षी राखेर सोध्न सकिन्छ, ‘के यो तपाईंकै जीवन–भोगाइ हो?’  

सोच्नेले जे पनि सोच्न सक्छन् तर वास्तविकता र कल्पनशीलतामा आकाश–जमिनको अन्तर हुन्छ। सुवासचन्द्र एक स्रष्टा हुन्, सामान्य मान्छेको भन्दा त्यो स्रष्टा–मनमा केही अलग क्षमता पक्कै रहेको हुन्छ नै। सबैभन्दा ठुलो क्षमता भनेको कला हो, त्यो कलालाई गीतका माध्यमबाट प्रस्तुत गर्न सक्नु उनको निजी सिप हो। यो भिन्नै कुरो हो, कलात्मक सिपमा केही आफ्नै अनुभूति होला, केही कल्पना होला।  

प्रेममा वियोग भएको प्रेमीले आफ्नो प्रेमलाई बिर्सन सक्दैन भन्ने सशक्त उदाहरण हो यो गीत। गीतमा प्रेमको वियोगबाट सहन गर्न सक्ने ऊर्जा झन् धेरै प्राप्त गरेको अभिव्यक्ति दिएका छन् प्रेमीले। प्रेमिकाप्रति कुनै प्रतिशोध छैन, उल्टो समर्पण छ, प्रेमी ‘त्यो प्रेम’प्रति अझ बढी आशक्त छ ।

त्यसो त, २०३८ को मंसिरदेखि रेडियोबाट बज्न थालेको यो लोकप्रिय गीतभन्दा अगाडि असार महिनामै सुवासचन्द्रको अर्को गीत रेकर्ड भएर बज्न थालिसकेको थियो:

‘चिता बनाई जलाइनदेऊ

मुटुभरिका रहरहरू

घृणा गरेर लत्याइनदेऊ  

मैले मागेका भिक्षाहरू’

तारा थापाद्वारा गाइएको यो गीतमा प्रेमिकाको प्रेम–आवेग छ। स्वभावतः प्रेममा रहरहरू हुन्छन्, अनगिन्ती। कति भन्न सकिन्छ, कति भन्नै सकिन्न। भन्न नसकिएका रहरहरू छातीभित्रै उकुसमुकुस भएर रहिरहन्छन्। त्यसै पनि त, भन्ने नै गरिन्छ– प्रेमको कुनै भाषा हुँदैन, प्रेम मौन हुन्छ, त्यसको कुनै आवाज हुँदैन। प्रेममा भाव हुन्छ, भावना हुन्छ, अनुभूति हुन्छ। जब मान्छेभित्र प्रेम पलाउँछ तब त्यसको गतिलाई कसैले रोक्न सक्दैन, स्वयंमा चलायमान प्रेम क्रमशः हुर्कंदै जान्छ। यस्तो अवस्थामा प्रेम गर्ने मान्छेले प्रेम गरिएको मान्छेप्रति जे–जस्तो क्रियाकलाप गर्छ, ती सबै स्वीकार्य हुन्छन्।

भनिन्छ, लडाइँ या प्रेम, त्यहाँ सब जायज हुन्छ। प्रेममा प्रेम पनि जायज छ, धोखा पनि जायज छ। प्रेममा मुस्कान पनि जायज छ, आँसु पनि जायज। जायज छ पीडा पनि, खुसी पनि। स्वीकारोक्ति पनि जायज छ, अपमान पनि जायज छ। प्रेममा माया मात्रै कहाँ, घृणा पनि जायज छ।

प्रेममा माग हुन्छ, प्रेममा क्षमा हुन्छ, प्रेममा त्याग हुन्छ तर जुनसुकै स्थितिमा पनि प्रेममा प्रेमचाहिँ हुन्छ नै। सुवासचन्द्रको गीतका शब्दहरू प्रेमको अत्यन्तै निकट छन्। उनी यो गीतमा प्रेमको उच्चतम बिन्दुमा पुगेका छन्। माथि नै पनि भनियो– प्रेममा रहरहरू हुन्छन् र तिनै रहरमा अन्तरनिहित प्रेम नै उनको ईश्वर हो, पूजा हो, आराधना हो। त्यस्तो महान् प्रेमलाई लत्याएको उनलाई सह्य छैन, त्यसलाई सग्लो बचाई राख्न उनी आग्रह गर्छन्। उनलाई राम्रोसँग थाहा छ प्रेमको महत्त्व।  

लाग्छ, सुवासचन्द्र प्रेमका ज्ञाता नै हुन्। उनलाई प्रेमबारे सबै कुरा थाहा छ। खास गरेर प्रेमको असरबारे अझ बढी जानकारी राख्छन्, र त लेख्छन्: 

‘चोट के हो व्यथा के हो

मजस्तो घाइतेलाई सोध

मिलन के हो खुसी के हो

मसँग कहिल्यै सोध्दै नसोध’

मान्छे लडेर मात्रै पछारिँदैन, जब प्रेममा मात खाइन्छ तब यसरी मान्छे पछारिन्छ कि पूरै घाइते नै बन्छ, सम्भवतः कहिल्यै उठ्न नसक्ने गरेर। यस अर्थमा यो गीत शाब्दिक भाषाको केवल गीत मात्रै होइन, प्रेम बेहोरेका अर्थात् प्रेमबाट प्रभावित परिणाम हो। प्रेममा असफल भएपछि के हुन्छ? त्यसले कस्तो चोट पार्छ? त्यसबाट उब्जने व्यथा कस्तो हुन्छ? एकै पङ्क्तिमा उनी भन्छन्– मलाई सोध! मेरो घाइते मनलाई सोध!

असफल प्रेमीले सायद सजिलै बुझ्न सक्छन् उनको जवाफ। त्यसो त प्रेम गर्ने सबैलाई थाहा छ, प्रेमको असफलताबाट पाइने चोट शारीरिक चोटजस्तो हुन्न, धेरै मानेमा भिन्न हुन्छ तर प्रेम वियोग खेप्नेहरूलाई अझ बढी थाहा हुन्छ, प्रेमको असर र प्रेमको चोट। प्रेमले चोट पुर्‍याएको मान्छे बाँचेको त हुन्छ तर आफूलाई जीवित महसुस नगरी बाँचिरहेको हुन्छ।

अनुहारमा हाँसो त हुन्छ तर त्यसमा कुनै खुसी मिसिएको हुन्न, अहँ एक रति सौन्दर्य छिपेको हुन्न त्यहाँ। हुन्छ त केवल पीडाको मिश्रण। के अर्थ खुसीको, त्यस्तो प्रेमपीडित मान्छेलाई ? त्यसैले त गीतकार भन्छन्– के सोध्छौ प्रेमको बजारमा खोटा सिक्काजस्तो भएको मान्छेलाई, खुसीको कुरा ? उनको आरोप छ - असली सिक्काले प्रेम खरिद गरिने यो नक्कली समाज हो।

जसले यो गीत गाए, अरुण थापा– सायद उनी स्वयं पनि यस प्रसङ्गमा उत्तिकै पीडित थिए कि ! त्यसैले पो हो कि, उनले गाएको यो गीतको आवाजमा साँच्चिकै गीतका शब्दहरूको मर्म भेटिन्छ।

गीत भन्नु वास्तवमा शब्द र सङ्गीतको संयोजन हो, जहाँ आवाजले न्याय दिन सक्यो भने त्यो गीत अमर हुन्छ। सुवासचन्द्रको यो गीतलाई वास्तवमै अरुण थापाको स्वरले अमर बनाएको छ। गीत गाइँदैमा, चर्चा बटुल्दैमा गीतले जबसम्म मान्छेको हृदयलाई छुँदैन, तबसम्म त्यस्तो गीत केवल कागजको फूल हो। बास्नारहित फूल हुनु र नहुनुमा के अन्तर, जब फूलमा बास्ना छैन भने! यस अर्थमा सुवासचन्द्रको गीतहरू सुन्दर फूल हुन्। उनका हरेक गीतहरूले सुगन्ध फैलाएको पाइन्छ।

फूल भन्नु नै प्रेमको प्रतीक हो जबकि प्रेमको गीतमा फूलको चर्चा चल्ने हो भने त झन् सुनमा सुगन्ध!

‘फूल झरे पनि काँडा झर्दैन

म मरे पनि माया मर्दैन।’

स्वभावतः फूल फुल्नुअघि कोपिला लाग्छ, फुल्छ–फक्रन्छ र अन्ततः ओलाउँछ र बोटबाटै झर्छ। त्यो बोटमा फेरि त्यसरी नै कोपिला लाग्छ, फुल्छ–फक्रन्छ, ओइलाउँछ र झर्छ। बोट रहुन्जेल यो क्रम चलिरहन्छ। यही फूलको उदाहरण दिने गरिन्छ प्रेममा पनि– ठिक विपरीत तरिकाले। फूलजस्तो त्यस्तो कमजोर हुँदैन प्रेम। यहाँ गीतकार सुवासचन्द्र ठिक त्यही फूलको प्रसङ्ग रवीन शर्मा र तारा थापाले गाएको उपर्युक्त गीतमा जोड्न पुग्छन् - मेरो प्रेम फूलजस्तो होइन, जो झरी जान्छ, बरु त्यसको दाँजोमा काँडाको आयु लामो हुन्छ। तथापि गीत सुन्दा उनको प्रेमले काँडालाई समर्थन गरेजस्तो देखिए पनि वास्तविकता त्यस्तो होइन।

उनी अझै थप्छन्– मेरो प्रेम त्यो जूनजस्तो हो, झरी जाने ताराजस्तो होइन। यतिसम्म भन्छन् कि मेरो प्रेम अजम्बरी छ, म मरी गएँ भने पनि मेरो प्रेम जीवित रहिरहन्छ। हो नि त! हिर–राँझा, लैला–मजनू, मुना–मदन, मालती–मंगलेको प्रेमकथा दुनियाँमा बाँचिरहेको छ।

यत्ति भनौं - सुवासचन्द्र ढुंगेलका गीतहरू पनि बाँचिरहने छन्।
अर्को समाचार
गीतकार पुरस्कार सागर उदासलाई
२३ घण्टा अघि
•
१ मिनेट पाठ
गीतकार पुरस्कार सागर उदासलाई
गीतकार प्रतिष्ठान, नेपालले हरेक वर्ष प्रदान गर्दै आएको गीतकार पुरस्कार २०८३ गीतकार सागर उदासलाई प्रदान गर्ने भएको छ।




नगद ११ हजार १११ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहितको पुरस्कार प्रतिष्ठानले आफ्नो छैटौँ वार्षिक साधारण सभाको अवसर पारेर आगामी मङ्सिर १९ गते शनिवार पोखरामा प्रदान गर्ने अध्यक्ष अनुराग अधिकारीले जानकारी दिए। यसअगि ५ हजार ५५५ रुपियाँ दिइँदै आएकामा यस वर्षदेखि पुरस्कारको राशि ११ हजार १११ रुपियाँ पुर्‍याइएको अध्यक्ष अधिकारीले जनाए।

तनहुँको दमौलीमा रहेर करिब ४ दशकदेखि गीत लेखनमा क्रियाशील सागर उदासको पहिलो गीत ‘हिँडेको छु छातीभरि व्यथाहरू बोकी...’ बोलमा रेडियो नेपालमा २०५१ सालमा रेकर्ड भएको थियो। उनका सागरभित्रका कर्णहरू (२०५२), सागर सुसेली (२०७९) र फैलिन्छ कि माया (२०७९) गरी ३ गीतसङ्ग्रह प्रकाशन भएका छन् भने आभार (२०६०) र रवि (२०७०) गरी २ गीतिएल्बम सार्वजनिक भएका छन्।

उनका जिउँदाको जन्ती..., फुल्यो गुराँस तारे भिरैमा..., घाम पनि माग्छु‍..., छैन है रहर... लगायत गीत चर्चित छन्। गण्डकी वाङ्मय प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका उनले २ दर्जनभन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरेका छन्।

प्रतिष्ठानका पूर्वअध्यक्ष शीतल गिरीको संयोजकत्वमा यसअगि सम्मानित प्रतिभा सरस्वती श्रेष्ठ ‘सरू’ र सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले सदस्य तथा अध्यक्ष अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै उदासलाई पुरस्कार प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको हो।

उक्त पुरस्कारबाट यसअगि गीतकार प्रकट पगेनी ‘शिव’, सरस्वती श्रेष्ठ ‘सरू’, शीतल कादम्बिनी र आरजु विष्ट ‘सल्यानी’ पुरस्कृत भइसकेका छन्।
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस