बलिउड अभिनेता सलमान खान यतिबेला ‘कफी विद करण’ च्याट शोका कारण चर्चामा छन्। उक्त कार्यक्रममा उनले आफ्नो व्यावसायिक जीवनदेखि व्यक्तिगत जीवनसम्मका विभिन्न पक्षबारे चर्चा गरेका थिए। यसैबीच, सलमानले आफ्ना बुबा सलीम खानसँगका थुप्रै तस्बिर सार्वजनिक गर्दै उनीप्रतिको माया व्यक्त गरेका छन्।
उनले बिहीबार बिहान इन्स्टाग्राममा बुबासँग बिताएका पलका तस्बिरहरू साझा गरेका हुन्। तस्बिरमा बुबा र छोरा दुवै काउब्वाय टोपी लगाएर देखिएका छन्। यी तस्बिरलाई प्रशंसकहरूले निकै मन पराएका छन्। साथै, उनीहरूले सलीम खानको स्वास्थ्य राम्रो रहोस् भन्दै कामना पनि गरिरहेका छन्।
बुबाका लागि सलमानको भावुक पोस्ट
सलमानले सार्वजनिक गरेका तीनवटा तस्बिरमा उनी बुबासँग टोपी लगाएर क्यामेरातर्फ पोज दिइरहेका छन्। चौथो तस्बिरमा भने कुर्सीमा बसिरहेका बुबाको हात समातेर उनी भावुक देखिएका छन्।
तस्बिरसँगै उनले लेखेका छन्, ‘हाउडी पार्टनर! ९२ वर्षको उमेरमा पनि एक नम्बरमा हुनुहुन्छ। बाउ भनेको बाउ नै हो। उहाँ वास्तविक मोन्स्टर हुनुहुन्छ। हामी सबैका बाउमा दम छ। वन्दे मातरम्। अर्को दिन आउनु भनेको अर्को दिन कम हुनु पनि हो। साथीहरू, बुझ्नुभयो?’
उनको यो पोस्टमा प्रशंसकहरूले इमोजीमार्फत माया व्यक्त गरेका छन्।
बुबाले दिएको सल्लाह सम्झिए सलमानले
हालै ‘कफी विद करण’ कार्यक्रममा सलमान खानले आफ्ना बुबा तथा चर्चित लेखक सलीम खानले वर्षौँअघि दिएको एउटा सल्लाह सम्झिएका थिए।
सलमानका अनुसार उनका बुबाले भनेका थिए, ‘तपाईंको निजी जीवन तपाईंको शयनकक्ष हो र पूरै देश तपाईंको बैठक कोठा हो। तपाईं बैठक कोठामा जे भन्न सक्नुहुन्छ, त्यही पूरै देशसामु भन्नुहोस्। शयनकक्षका कुरा बैठक कोठासम्म आउनु हुँदैन।’
सलीम खानको स्वास्थ्य अवस्था
यस वर्ष फेब्रुअरी १७ मा लेखक सलीम खानलाई मुम्बईको बान्द्रा वेस्टस्थित लीलावती अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि उनको स्वास्थ्य अवस्थाबारे जानकारी सार्वजनिक भएको थियो।
उनलाई हल्का मस्तिष्क रक्तस्राव (ब्रेन ह्यामरेज) भएको र त्यसपछि सानो प्रक्रिया गरिएको बताइएको थियो। उनी अहिले पूर्ण रूपमा स्वस्थ रहेको जानकारी दिइएको थियो।
सलीम खानको स्वास्थ्य बिग्रिएको खबर सार्वजनिक भएपछि फिल्म क्षेत्रका धेरै चर्चित व्यक्तित्व उनलाई भेट्न अस्पताल पुगेका थिए। उनीहरूमा जावेद अख्तर, सञ्जय दत्त, शिल्पा शेट्टी, संगीता बिजलानी र अमृता अरोरालगायत थिए। सबैले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।
आमा र बुबासँग निकै नजिक छन् सलमान
सलमान खानलाई परिवारप्रति समर्पित व्यक्तिका रूपमा चिनिन्छ। उनी आफ्नो परिवारसँग निकै नजिक छन्। आमा सलमा खान र बुबा सलीम खानप्रति उनको विशेष लगाव छ। उनी प्रायः परिवारसँगका तस्बिरहरू सामाजिक सञ्जालमा साझा गरिरहन्छन्।
सलमानलाई परिवारसँग समय बिताइरहेको अवस्थामा पनि प्रायः देख्न सकिन्छ। सलीम खान अस्पतालबाट घर फर्किएपछि ईदको अवसरमा पनि सलमानले बुबासँगका तस्बिरहरू सार्वजनिक गरेका थिए। ती तस्बिरले धेरैलाई भावुक बनाएका थिए।
काठमाडाैं, नेपाली लोकसंस्कृतिका अनुसन्धाता तथा प्रजातन्त्रका सेनानी स्व. कालीभक्त पन्तले नेपाली संस्कृति, गीतसंगीतलगायत तत्कालीन नेपाली समाजका विविध विषय तथा क्षेत्रको खोज, अनुसन्धान मात्र गर्नुभएन, नयाँ पुस्तालाई त्यसको अभिलेखसमेत तयार गरिदिनुभयो। त्यसकै आधारमा अहिलेको पुस्ताले त्यो बेलाको नेपालको इतिहास थाहा पाएको छ। उहाँको अर्को परिचय भनेको गीतकार, लोकगीत संकलक तथा गायकको पनि हो। उहाँले लेखेको लोकगीत रेडियो नेपालबाट प्रसारण भइरहेका छन्। ‘क्या यस्तो चाल पर्यो, मायासित बोल्दैमा गाल पर्यो’ तीमध्ये एक हो। प्राध्यापक पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार पन्तको गायनको क्षेत्रमा प्रवेश गर्नुको उद्देश्य गायक बनी नाम कमाउने थिएन। उहाँले नेपाली समाज अशिक्षित भएकाले समाजमा लोकगीतमार्फत जागरण ल्याउन पुस्तक–पुस्तिका, पम्प्लेट आदिको माध्यमबाट मात्र सम्भव नहुने हुँदा गाउँलेहरूलाई बुझाउने लोकगीतहरू रचेर अनेकौं सांस्कृतिक कार्यक्रमहरू गर्नुहुन्थ्यो। उहाँलाई जनतामा कसरी राजनीतिक, सामाजिक चेतना बढाउने भन्ने तरिकाको ज्ञान थियो।
यसरी गाउँलेहरूमा राजनीतिक चेतनाको अभिवृद्धि गर्न उहाँले सांस्कृतिक टोलीहरूको गठन पनि गर्नुभएको थियो। सो समयमा पन्तले ब्यान्जोको आकारको ‘कालीबाजा’को निर्माण पनि गर्नुभएको थियो। यो पनि अब एउटा इतिहास बनिसकेको छ। पर्वत तथा बागलुङमा हुने चैते–दसैंजस्ता मेलामा पन्तले महिला जागरणको मात्र नभई कन्या बेच्ने बाबुआमाविरोधी गीत पनि गाउनुभएको थियो। उदाहरणका लागि ‘छोरी बेचा हे बाहुन बाजे/अझै तँलाई लाग्दैन सरम’, ‘बिहा मलाई गर्ने हो भने/ल्याउनु होला कत्तुवा, चर्खा, तान’ उहाँले समाजका छुवाछुतलगायतका रूढिवादी परम्पराको अन्त्य तथा महिला र जनजातिको उत्थान गर्ने उद्देश्य राखेर विविध चेतनामूलक कार्य गर्नुभएको थियो।
२००७ सालको राजनीतिक परिवर्तनको आन्दोलनका बेला पश्चिम ४ नम्बरको कमान्डरको जिम्मेवारी पाउनुभएका पन्तले क्रान्तिका नेताका रूपमा पर्वत कुस्मा र बागलुङको मुक्तिसेना सञ्चालन गर्नुभएको थियो। त्यस्तै, पन्तले सो क्षेत्र कब्जा गरी सर्वश्री ओमप्रसाद गौचनको नेतृत्वको प्रान्तीय सरकारमा उपप्रधानमन्त्री भई काम गर्नुभएको थियो। यस समयमा पन्तले सूचना विभाग हेर्नुपथ्र्यो। २०१७ सालको पञ्चायती व्यवस्थाविरुद्धसमेत लड्नुभएको थियो। सो क्रममा उहाँले भूमिगत तथा जेलजीवनसमेत बिताउनुपरेको थियो। २०१९ सालदेखि राजनीतिबाट टाढिनुभएका पन्त त्यसपछि पूर्ण रूपमा लेखनमा लाग्नुभएको थियो।
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। सो क्रममा पन्त भारत (सिक्किम, दार्जिलिङ, कुमाउँ–गढवाल, आसाम, हिमाञ्चल प्रदेश), चीन, भुटान, पाकिस्तान, श्रीलंका तथा बेलायतमा पुग्नुभएको थियो। म्याट्रिक पास गर्नुभएका पन्तलाई नेपालीबाहेक संस्कृत, हिन्दी, उर्दू, अंग्रेजी भाषाको समेत ज्ञान थियो।
उहाँको जन्म १९६४ साल भदौ ६ गते पर्वत जिल्लाको लिमिठानामा भएको थियो। पिता नरेन्द्र पन्त, माता निलकुमारी पन्तका कान्छा छोरा कालीभक्त २००९ सालदेखि भने पर्वतको फलेवासमा बस्दै आउनुभएको थियो। १७ वर्षको उमेरमा कालीभक्तको कृष्णा पन्तसँग विवाह भएको थियो। उहाँहरूका तीन छोरी र ६ छोरा भए। साहित्यकार देवीप्रसाद वनवासीका अनुसार पन्तको जन्मथलो तत्कालीन धौलागिरी अञ्चल, पर्वत जिल्लामा परे पनि उनी प. ४ नं. स्याङ्जा हो। ‘साइलादाइ कहाँ गयो’ भनेर दोहोरी गाउने मसानेका समकालीन पाथे भाइ हुन्। कालीभक्त पन्तका ‘पश्चिम ४ नम्बर (नेपाल) को इतिहास’ (२००९), ‘किसान गीता’ (२०१२), ‘हाम्रो राष्ट्रिय कर्तव्य दर्शन’ (२०२७), ‘हाम्रो सांस्कृतिक इतिहास’ (२०२८), ‘गीत सुधारको राष्ट्रिय बाटो’ (२०३३), ‘छुतभेद र कर्तव्य’ (२०३८), ‘शुम्भबध’ (नाटक, निधनपश्चात् २०५० मा प्रकाशित) लगायतका कृति प्रकाशित छन्। यसबाहेक पन्तका विभिन्न विषयका लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका देखिन्छन्।
विशेषगरी ‘हाम्रो सांस्कृतिक इतिहास’मा पन्तले राष्ट्रिय संस्कृति र यसको आवश्यकताको विषयबाट सुरु गरी राष्ट्रियता, हाम्रा गीत, भाषा आदिको प्रारम्भिक स्थिति, नेपालमा झ्याउरे गीतको बीजरोपण, हाम्रा देशका गीतहरूको बनावटको सिलसिला, गीतको आइनो गर्दा भाषा र लिपि, हाम्रा राष्ट्रिय ध्वनिको दिग्दर्शन र विश्वका गीतका ध्वनिहरू, हाम्रा गीतका बीजरोपक र परिवर्तनकर्ता, हाम्रा गीतका छन्दहरू, लोकगीत र तीबाहेकका गीत–बाजा, हाम्रा गीत–बाजाका भेद, गीतको संक्षिप्त महिमा, दार्जिलिङ–सिक्किम–भुटानका गोर्खालीका र हाम्रा गीतमा एकरूपता, हाम्रा देशमा शास्त्रीय संगीतलगायतका विषयमा केन्द्रित रहेर नेपालको समग्र सांस्कृतिक इतिहासलाई खोजी अभिलेख गर्ने काम गर्नुभएको छ।
दिवंगत संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पन्तको यसै कृति अध्ययन गरेर आफूलाई उहाँप्रति निकै श्रद्धा लागेको बताउनुभएको थियो। उहाँले पन्तलाई लोकसंस्कृतिको अगुवा बताउँदै सो समयमा लोकगीत, परम्परा र संस्कृतिका सम्बन्धमा कलम चलाई योगदान पुर्याउनु अतुलनीय रहेको बताउनुभएको थियो। भाषा तथा लोकसंस्कृतिविद् प्रा.डा. चूडामणि बन्धुका अनुसार पन्तले ‘हाम्रो सांस्कृतिक इतिहास’मा लोकगीत र लोकनृत्यलाई राष्ट्रिय संस्कृतिका महत्त्वपूर्ण अंगका रूपमा विवेचना गर्नुभएको छ। उहाँका अनुसार यस कृतिमा धेरै कुरा पहिलोपटक प्रस्तुत गरिएका छन् र नेपाली भाषा र लोकगीतमा अनुसन्धान गर्नेहरूका लागि यी तथ्य र विश्लेषण स्रोतका रूपमा रहेका छन्।
बालबालिका, किशोरकिशोरी र युवायुवतीलाई सहगान, सहनृत्य र सहकार्यमा अनिवार्य रूपले सहभागी बनाएर उपयोगी शिक्षा दिन सकिन्छ भन्ने उहाँको महत्त्वपूर्ण मान्यता पनि यस कृतिमा चर्चित छ। ‘गीत सुधारको राष्ट्रिय बाटो’ पुस्तक पन्तले नेपालीले आफ्नै सांस्कृतिक पद्धतिअनुसार गीत सुधार गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्यले तयार गर्नुभएको थियो। जसमा उहाँले गायन र नृत्यकलाको प्रारम्भ, नाच्ने–गाउने भावना र गला–कला, छन्दसाहित्य (तीजे, लहरी, झ्याउरे, अनुष्टुप, शार्दूलविक्रीडित, शिखरिणी आदि), हाम्रा पुर्खाकालीन सांगीतिक शाब्दिक सरजाम, गीतको संक्षिप्त महिमा, बहादुर सिंह बराल र नेपाली गीतका बनावटको इतिहास, आफ्नोपना र त्यसको पूर्ति, गीतका संज्ञा, परिभाषा र शब्दकोश, संगीत शब्द र भ्रम, हाम्रा गीत साहित्यले बदल्दै आएको ऐतिहासिक मोड, गीत रेकर्ड गर्नुभन्दा पहिले, केही फुटकर कुरा र गुनासाहरूलगायतका शीर्षकमा रहेर नेपाली गीतसंगीतका विविध विषय तथा पक्षको चर्चा गर्नुभएको छ।
संस्कृतिविद् तुलसी दिवस पन्तका ‘हाम्रो सांस्कृतिक इतिहास’ र ‘गीत सुधारको राष्ट्रिय बाटो’ पढेपछि उहाँबाट निकै प्रभावित हुनुभएको थियो। उहाँका अनुसार ‘नेपालको मेची–महाकालीलगायत पूर्वदार्जिलिङ, सिक्किमदेखि पश्चिम कुमाउँ–गढवालसम्म आफैं घुमेर लोकगीत, साहित्य र संस्कृतिको तथ्य संकलन र अन्वेषण गर्नु त्यो समयमा चानचुने कुरा थिएन, त्यो पनि आफ्नै खर्चले।’
यस्तै पन्तले लेखेका तथा संकलन गरेका थुप्रै रचना तथा कृतिहरू अझै अप्रकाशित देखिन्छन्। तिनलाई संकलन तथा सम्पादन गरी प्रकाशन गर्नु आवश्यक देखिन्छ।
उहाँको निधन भने २०४८ फागुन ६ गते भएको थियो। कालीभक्तको निधन हुनुभन्दा २२ वर्षअघि अर्थात् २०२६ माघ ११ गते नै धर्मपत्नी कृष्णा पन्तको ६० वर्षको उमेरमा निधन भइसकेको थियो। उहाँहरूको स्मृतिमा २०७४ वैशाख १ गतेदेखि कालीभक्त कृष्णा पन्त प्रतिष्ठान स्थापना गरिएको थियो। प्रतिष्ठानले ‘स्रष्टा कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक–साहित्य पुरस्कार’सँगै विभिन्न सामाजिक, शैक्षिक, खेलकुद, मानवीय सहयोग तथा सांस्कृतिक गतिविधि पनि गर्दै आएको छ।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...