युवा निर्यात गर्ने देश
१० माघ २०८२
•
६ मिनेट पाठ
युवा निर्यात गर्ने देश
माघ महिना, चिसो ओछ्यान छोड्न मन थिएन। दोधार थियो, के गर्दा ठिक हुन्छ भन्ने सोच्न सकिरहेको थिइनँ। मेरो विवाह भएको महिना दिन पनि भएको थिएन। घरको जग्गे अझै निकालिएको थिएन। त्यसमा सजिएका फूलका पातहरू सुकिसकेका थिएनन्, भितामा टाँसिएका राता टीकाहरू अझै सुकिसकेका थिएनन्। अझै चम्किरहेका थिए तर चमकभन्दा भित्र कतै एक अदृश्य डर पलाइरहेको थियो । त्यो डरले गर्दा म ओछ्यानमै एउटा जिउँदो लासजस्तो पल्टिरहेको थिएँ । त्यत्तिकैमा ढोकामा ढ्याङ ढ्याङ आवाज आयो। म झसङ्ङ भएँ। ढोका खोल्न उठेँ। बाहिर माहिलो थियो, मेरो बच्चैदेखिको साथी। सँगै हुर्केको साथी। हामी बिहान उठेदेखि राति नसुतुन्जेल प्राय सँगै नै हुन्थ्यौं।




‘होइन, दश बजिसक्यो । तिमी किन सुतिरहेको अहिलेसम्म?’ भन्दै माहिलो पलङको छेउमा गएर बस्यो। ओछ्यानमा पल्टिरहेको कृष्णलाई हेर्छु, आँखामा बाध्यता, निराशा। अनि सम्झिन थालेँ, उनीहरूको विवाह कुनै भव्यतासाथ भएको थिएन। कृष्ण बच्चैदेखि इमानदार, राम्रो सोच अनि अलि भावुक। आमाले सधैं हामीलाई हेरेर ‘तिमीहरू ठुला भयौ, जिम्मेवार हुनुपर्छ’ भन्नुहुन्थ्यो। जिम्मेवारीको अर्थ कृष्णलाई थाहा थियो। त्यो मायाभन्दा ठुलो शब्द थियो। सपना सानो थियो, देशमै बसेर केही गर्ने कृष्णले कहिल्यै विदेश जाने सपना देखेको थिएन।

उसको सपना यही माटोमा सीमित थियो। यहीं केही गर्छु  भन्ने आँट अनि आकांक्षा थियो। आमाबुबाको छेउ, पत्नीको साथमा आफ्नै देश अनि यहींको माटोका रम्ने इच्छा छ भनिरहन्थ्यो। कृष्ण सबै कुरामा राम्रो थियो। पढाइमा त्यति राम्रो थिएन। मेरो प्यारो  साथी भएको नाताले उसलाई धेरै सम्झाउँथेँ, शिक्षाको महत्त्वबारे पनि बुझाउँथेँ। मैले बोलुन्जेल टाउको हल्लाउँथ्यो। गाउँलेलाई माया गर्ने र समाजसेवा गर्ने काममा सबैलाई जितेर ऊ व्यस्त हुन्थ्यो तर जीवन चलाउन सिप र शिक्षाको त्यत्तिकै महत्त्व हुन्छ। जीवन बित्दै गइरहेको थियो।

म पनि पढाइका लागि काठमाडौं आएको थिएँ अनि ओभरसियर भएर गाउँकै विकास योजनामा काम गर्न  व्यस्थ भएँ। कृष्णको चार जनाको परिवार। कृष्ण, उसकी बहिनी र आमा–बाबा। साधारण तरिकाले घरको खर्च चलिहेको थियो। बहिनी पढ्नमा अब्बल। उनमा डाक्टर बन्ने चाहना थियो। कृष्णको विवाहमा बहिनीसित भेट भएको थियो। बहिनीको पढाइ तथा घरखर्च व्यवस्थित गर्नका लागि उसले बाहिर काम गर्नुपर्ने अवस्था थियो। ऊ कामको खोजीमा बिहान जान्थ्यो, साँझ निराश भएर फकिन्थ्यो। ऊ दोषी थिएन, जे काम पनि गर्छु भन्ने उत्साह थियो तर परिस्थिति अनुकूल थिएन। वास्तवमा काम खोज्दा भेटिएको मौनता दोषी थियो।

विवाहपछि ऊ दिनहुँ कामको खोजीमा सहर जान्थ्यो। होटल, निर्माण साइट, गोदाम पसल, जहाँ काम छ भन्ने थाहा पाउँथ्यो, त्यहीं पुग्थ्यो । तर काम माग्दा उसले अपमानका शब्द मात्र पाउँथ्यो। ‘अनुभव छैन? सिप छैन? योग्यता छैन? हामीले राख्न सक्दैनौं’ यस्तो जवाफ पाउँथ्यो। सुरु सुरुमा त हाँस्दै फर्कन्थ्यो तर पछि उसको हाँसो मौनतामा परिवर्तन भयो। ऊ थाकिसकेको थियो। आफ्नो परिवारप्रतिको जिम्मेवारी पूरा गर्न नसक्दा ऊ जीवनदेखि नै निराश थियो। जीवनमा यस्तो मोड आउँछ भन्ने सोचेको पनि थिएन। उता सन्ध्या, नयाँ दुलही, आमासँग व्यस्त हुन्थी। घरको संस्कार, कामकाज, आउना–पाउनाको स्वागतमै व्यस्त थिई। म एकदुई चोटि जाँदा खुसी देखिन्थी। मसँग भेट हुँदा कृष्ण पहिला पहिला काम नपाएको कुरा हाँसेरै भन्थ्यो। पछि उसमा मौनता बढ्दै गयो। एक दिनको कुरा हो, चिया खाँदै एउटा नेताको भाषण सुनिरहेको थियो– ‘युवा देशमै बस्नुपर्छ। यो वातावरण हामीले बनाएका छौं। अब देश विकासको बाटोमा दौडिरहेको छ। हामी निश्चय पनि विदेश जानुपर्दैन। हामी आफ्नो परिवारसँग बसेर आफ्नै घरआँगनमा काम गर्छौं। अब विदेश जानु पर्दैन। युवा नै देशका भविष्य हुन्।’

कुरा सुन्दा कृष्ण हाँसिरहेको थियो किनभने उसलाई यो देशका युवाको अवस्था कस्तो छ, काम माग्न जाँदा कति लज्जित हुनुपर्छ, युवाको जिन्दगी कति उदास छ, परिवार अनि समाजसँग कति झुटो बोल्नुपर्छ, कति निराश मौनतामा जिन्दगी बिताउनुपर्छ भन्ने थाहा थियो। यस्तो अनुभव आफैंले भोगेको थियो।

कृष्णले भनिरहेको थियो– जाऊँ साथी, यस्तो झुटो आश्वासन नसुनौं। यदि युवा यो देशको भविष्य हो भने हामी किन बेरोजगार छौं? म किन रातभरि निदाउन सक्दिनँ? किन मलाई भोलिको डरले सताउँछ? बुबाले साहुको ऋण तिर्न सकिरहनुभएको छैन। पढाइमा अब्बल भएकी बहिनीलाई पढाउन वा निरन्तरता दिन कठिन भइरहेको छ। अब हेर साथी, म विदेश जान्छु। बहिनीको पढाइ, आमाबुबाको औषधी र घरखर्चका लागि। भर्खरै विवाह गरेकी श्रीमतीलाई छोडेर म जानुपर्छ विदेश।

केही पर बसेर एउटा युवकले कुरो सुनिरहेका थिए। ती युवकले अगाडि आएर भन्न थाले– ‘तपाईंहरूको सपनाको समाधान छ। यो अवस्थामा विदेश नै सर्वोत्तम उपाय हो। विदेशमा काम र कमाइ दुवै राम्रो छ। म तपाईंलाई तुरुन्तै उडाइदिन्छु। काम पनि सुनिश्चित गरिदिन्छु।’

कृष्णले अचम्म मानेर ती व्यक्तिको अनुहार हेर्‍यो। मैले कृष्णका चम्किला आँखा हेरेँ । कृष्णमा धेरै पछि आशा पलाएको देखेँ  तर, मलाई थाहा थियो, विदेश त्यसमा पनि कठोर कर्म गर्न जाने खाडी मुलुकमा काम गर्न सोचेजस्तो सजिलो हुँदैन। यहाँ बाध्यता हाबी भइरहेको थियो।

हुन त कृष्णले आफ्नो जन्मभूमिमै बस्न र  काम गर्न धेरै प्रयास गरेको हो तर यो देशको विडम्बना, देशको नेतृत्व लिएका व्यक्तिहरू राम्रा नभएर देशका युवा भविष्य खोज्न हरेक दिनबाहिर जान बाध्य छन्। राज्यले देशमा उद्यमशीलताभन्दा रेमिटेन्सलाई अपनाएको छ। ‘ल साथी, घर जाऔं । परिवारलाई पनि भन्छु म। अब विदेश जान्छु दाइ। म भोलि नै सबै डकुमेन्ट दिन्छु,’ कृष्णले भन्यो।

उसले भर्खरै विवाह गरेकी सन्ध्यालाई विदेश जाने कुरा सुनायो। सन्ध्याले सबै सुनिन्, आफ्ना श्रीमान्को बाध्यता पनि बुझिन्। एक छिन चुप लागिन् अनि आँखामा भरिएका आँसु पुछिन्। आफ्नो मनलाई बलियो बनाइन्। मुटु सम्हालेर सुखदुःखको जीवनसाथी श्रीमान्लाई भनिन्– ‘यहाँ बस्दा हामी बाँच्न सक्दैनौं। तपाईं विदेश जानुपर्छ। म आमाबाबा र बहिनीसँग बस्छु।’

कृष्णले सन्ध्याले मन दरो पारेर एक्लै बस्न तयार भइन्  भन्ने बुझ्यो। उसलाई भक्कानिएर रुन मन लाग्यो। सन्ध्यालाई एकछिन पनि नछोडौंजस्तो भयो।

भोलिपल्टदेखि आमाले रुँदै सुटकेस तयार पार्न थाल्नुभयो। सन्ध्या मेरा हरेक कपडा सुमसुम्याउँदै सुटकेसमा राख्न थालिन्। बाबाले आफ्नो मनको पीडा देखाइरहनुभएको थिएन। बहिनी म पनि डक्टर पढ्न दादा भएकै ठाउँमा आउँछु भन्दै थिई। घरको वातावरण अर्कै भएको थियो।

‘ओई कृष्ण, केमा टोलाइस्? एयरपोर्ट कुन बेला हिँड्ने? बेला भएन त? अझै ओछ्यानमा, के हो यस्तो? कृष्णले लामो श्वास फेर्‍यो। ‘बाध्यताले विदेश जानुपर्ने भयो, जुन जन्मेदखि अहिलेसम्म सोचेको थिइनँ। देशले युवा विदेशका लागि जन्माएको रहेछ। तँ भाग्यमानी भइस्, थोरै प्रतिशत देशमा बस्न पाउने युवामध्ये तँ पनि परिस्,’ उसले भन्यो। अनि लुगा लगाउन गयो।

एयरपोर्टमा हजारौं युवा विदेश जान तयार थिए। कोही रोइरहेका थिए, कोही फकाइरहेका थिए। एयरपोर्टमा हजाराैं पीडाको संगम थियो। त्यहाँ एउटा मात्र कथा थिएन, धेरैको पीडा उस्तै थियो। सबैको अनुहार उस्तै थियो– लज्जित, त्रस्त, थकित, मौन। कोही खुसी थिएनन्। भित्र जाँदै गर्दा सन्ध्याको हात छोड्नुपर्‍यो। उसलाई आफू आधा भएकोजस्तो लाग्यो। ‘सन्ध्या, म छिटै फर्किन्छु, तिमी राम्ररी बस्नु,’ उसले भन्दै थियो।

विदेश, जहाँ श्रमले मान्छे चिनिन्छ। उसका वृद्ध आमाबाबा, महिना दिन पनि सँगै नबसेकी दुलही, बहिनीको पढाइको खर्च कसैले महसुस गर्दैन। उसको पीडाको कुनै अर्थ छैन। थकित भएर राति सुत्दा नेपाल सम्झियो, परिवारको सामीप्य सम्झियो। जीवन थियो त केवल मेसिनजस्तो थियो, अनि जीवन श्रममा थियो।

यो कथा कृष्णको मात्र होइन, नेपालका धेरै युवाहरूको हो, जहाँ मायाले निर्णय गदैन, रोजगारीले निर्णय गर्छ। यो कथा देशलाई दोष दिन लेखिएको होइन, केवल प्रश्न गर्न  लेखिएको हो। यो देशमा बिहेपछि सिन्दूरभन्दा पहिला पासपोट रातो हुन्छ। म जान चाहन्नथेँ तर देशले बस्न दिएन!  
अर्को समाचार
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
१ घण्टा अघि
•
१ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
काठमाडाैं, नेपाली लोकसंस्कृतिका अनुसन्धाता तथा प्रजातन्त्रका सेनानी स्व. कालीभक्त पन्तले नेपाली संस्कृति, गीतसंगीतलगायत तत्कालीन नेपाली समाजका विविध विषय तथा क्षेत्रको खोज, अनुसन्धान मात्र गर्नुभएन, नयाँ पुस्तालाई त्यसको अभिलेखसमेत तयार गरिदिनुभयो। त्यसकै आधारमा अहिलेको पुस्ताले त्यो बेलाको नेपालको इतिहास थाहा पाएको छ। उहाँको अर्को परिचय भनेको गीतकार, लोकगीत संकलक तथा गायकको पनि हो। उहाँले लेखेको लोकगीत रेडियो नेपालबाट प्रसारण भइरहेका छन्। ‘क्या यस्तो चाल पर्‍यो, मायासित बोल्दैमा गाल पर्‍यो’ तीमध्ये एक हो। प्राध्यापक पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार पन्तको गायनको क्षेत्रमा प्रवेश गर्नुको उद्देश्य गायक बनी नाम कमाउने थिएन। उहाँले नेपाली समाज अशिक्षित भएकाले समाजमा लोकगीतमार्फत जागरण ल्याउन पुस्तक–पुस्तिका, पम्प्लेट आदिको माध्यमबाट मात्र सम्भव नहुने हुँदा गाउँलेहरूलाई बुझाउने लोकगीतहरू रचेर अनेकौं सांस्कृतिक कार्यक्रमहरू गर्नुहुन्थ्यो। उहाँलाई जनतामा कसरी राजनीतिक, सामाजिक चेतना बढाउने भन्ने तरिकाको ज्ञान थियो।




यसरी गाउँलेहरूमा राजनीतिक चेतनाको अभिवृद्धि गर्न उहाँले सांस्कृतिक टोलीहरूको गठन पनि गर्नुभएको थियो। सो समयमा पन्तले ब्यान्जोको आकारको ‘कालीबाजा’को निर्माण पनि गर्नुभएको थियो। यो पनि अब एउटा इतिहास बनिसकेको छ। पर्वत तथा बागलुङमा हुने चैते–दसैंजस्ता मेलामा पन्तले महिला जागरणको मात्र नभई कन्या बेच्ने बाबुआमाविरोधी गीत पनि गाउनुभएको थियो। उदाहरणका लागि ‘छोरी बेचा हे बाहुन बाजे/अझै तँलाई लाग्दैन सरम’, ‘बिहा मलाई गर्ने हो भने/ल्याउनु होला कत्तुवा, चर्खा, तान’ उहाँले समाजका छुवाछुतलगायतका रूढिवादी परम्पराको अन्त्य तथा महिला र जनजातिको उत्थान गर्ने उद्देश्य राखेर विविध चेतनामूलक कार्य गर्नुभएको थियो।

२००७ सालको राजनीतिक परिवर्तनको आन्दोलनका बेला पश्चिम ४ नम्बरको कमान्डरको जिम्मेवारी पाउनुभएका पन्तले क्रान्तिका नेताका रूपमा पर्वत कुस्मा र बागलुङको मुक्तिसेना सञ्चालन गर्नुभएको थियो। त्यस्तै, पन्तले सो क्षेत्र कब्जा गरी सर्वश्री ओमप्रसाद गौचनको नेतृत्वको प्रान्तीय सरकारमा उपप्रधानमन्त्री भई काम गर्नुभएको थियो। यस समयमा पन्तले सूचना विभाग हेर्नुपथ्र्यो। २०१७ सालको पञ्चायती व्यवस्थाविरुद्धसमेत लड्नुभएको थियो। सो क्रममा उहाँले भूमिगत तथा जेलजीवनसमेत बिताउनुपरेको थियो। २०१९ सालदेखि राजनीतिबाट टाढिनुभएका पन्त त्यसपछि पूर्ण रूपमा लेखनमा लाग्नुभएको थियो।

इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। सो क्रममा पन्त भारत (सिक्किम, दार्जिलिङ, कुमाउँ–गढवाल, आसाम, हिमाञ्चल प्रदेश), चीन, भुटान, पाकिस्तान, श्रीलंका तथा बेलायतमा पुग्नुभएको थियो। म्याट्रिक पास गर्नुभएका पन्तलाई नेपालीबाहेक संस्कृत, हिन्दी, उर्दू, अंग्रेजी भाषाको समेत ज्ञान थियो।

उहाँको जन्म १९६४ साल भदौ ६ गते पर्वत जिल्लाको लिमिठानामा भएको थियो। पिता नरेन्द्र पन्त, माता निलकुमारी पन्तका कान्छा छोरा कालीभक्त २००९ सालदेखि भने पर्वतको फलेवासमा बस्दै आउनुभएको थियो। १७ वर्षको उमेरमा कालीभक्तको कृष्णा पन्तसँग विवाह भएको थियो। उहाँहरूका तीन छोरी र ६ छोरा भए। साहित्यकार देवीप्रसाद वनवासीका अनुसार पन्तको जन्मथलो तत्कालीन धौलागिरी अञ्चल, पर्वत जिल्लामा परे पनि उनी प. ४ नं. स्याङ्जा हो। ‘साइलादाइ कहाँ गयो’ भनेर दोहोरी गाउने मसानेका समकालीन पाथे भाइ हुन्। 
कालीभक्त पन्तका ‘पश्चिम ४ नम्बर (नेपाल) को इतिहास’ (२००९), ‘किसान गीता’ (२०१२), ‘हाम्रो राष्ट्रिय कर्तव्य दर्शन’ (२०२७), ‘हाम्रो सांस्कृतिक इतिहास’ (२०२८), ‘गीत सुधारको राष्ट्रिय बाटो’ (२०३३), ‘छुतभेद र कर्तव्य’ (२०३८), ‘शुम्भबध’ (नाटक, निधनपश्चात् २०५० मा प्रकाशित) लगायतका कृति प्रकाशित छन्। यसबाहेक पन्तका विभिन्न विषयका लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका देखिन्छन्।

विशेषगरी ‘हाम्रो सांस्कृतिक इतिहास’मा पन्तले राष्ट्रिय संस्कृति र यसको आवश्यकताको विषयबाट सुरु गरी राष्ट्रियता, हाम्रा गीत, भाषा आदिको प्रारम्भिक स्थिति, नेपालमा झ्याउरे गीतको बीजरोपण, हाम्रा देशका गीतहरूको बनावटको सिलसिला, गीतको आइनो गर्दा भाषा र लिपि, हाम्रा राष्ट्रिय ध्वनिको दिग्दर्शन र विश्वका गीतका ध्वनिहरू, हाम्रा गीतका बीजरोपक र परिवर्तनकर्ता, हाम्रा गीतका छन्दहरू, लोकगीत र तीबाहेकका गीत–बाजा, हाम्रा गीत–बाजाका भेद, गीतको संक्षिप्त महिमा, दार्जिलिङ–सिक्किम–भुटानका गोर्खालीका र हाम्रा गीतमा एकरूपता, हाम्रा देशमा शास्त्रीय संगीतलगायतका विषयमा केन्द्रित रहेर नेपालको समग्र सांस्कृतिक इतिहासलाई खोजी अभिलेख गर्ने काम गर्नुभएको छ।

दिवंगत संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पन्तको यसै कृति अध्ययन गरेर आफूलाई उहाँप्रति निकै श्रद्धा लागेको बताउनुभएको थियो। उहाँले पन्तलाई लोकसंस्कृतिको अगुवा बताउँदै सो समयमा लोकगीत, परम्परा र संस्कृतिका सम्बन्धमा कलम चलाई योगदान पुर्‍याउनु अतुलनीय रहेको बताउनुभएको थियो। भाषा तथा लोकसंस्कृतिविद् प्रा.डा. चूडामणि बन्धुका अनुसार पन्तले ‘हाम्रो सांस्कृतिक इतिहास’मा लोकगीत र लोकनृत्यलाई राष्ट्रिय संस्कृतिका महत्त्वपूर्ण अंगका रूपमा विवेचना गर्नुभएको छ। उहाँका अनुसार यस कृतिमा धेरै कुरा पहिलोपटक प्रस्तुत गरिएका छन् र नेपाली भाषा र लोकगीतमा अनुसन्धान गर्नेहरूका लागि यी तथ्य र विश्लेषण स्रोतका रूपमा रहेका छन्।

बालबालिका, किशोरकिशोरी र युवायुवतीलाई सहगान, सहनृत्य र सहकार्यमा अनिवार्य रूपले सहभागी बनाएर उपयोगी शिक्षा दिन सकिन्छ भन्ने उहाँको महत्त्वपूर्ण मान्यता पनि यस कृतिमा चर्चित छ। ‘गीत सुधारको राष्ट्रिय बाटो’ पुस्तक पन्तले नेपालीले आफ्नै सांस्कृतिक पद्धतिअनुसार गीत सुधार गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्यले तयार गर्नुभएको थियो। जसमा उहाँले गायन र नृत्यकलाको प्रारम्भ, नाच्ने–गाउने भावना र गला–कला, छन्दसाहित्य (तीजे, लहरी, झ्याउरे, अनुष्टुप, शार्दूलविक्रीडित, शिखरिणी आदि), हाम्रा पुर्खाकालीन सांगीतिक शाब्दिक सरजाम, गीतको संक्षिप्त महिमा, बहादुर सिंह बराल र नेपाली गीतका बनावटको इतिहास, आफ्नोपना र त्यसको पूर्ति, गीतका संज्ञा, परिभाषा र शब्दकोश, संगीत शब्द र भ्रम, हाम्रा गीत साहित्यले बदल्दै आएको ऐतिहासिक मोड, गीत रेकर्ड गर्नुभन्दा पहिले, केही फुटकर कुरा र गुनासाहरूलगायतका शीर्षकमा रहेर नेपाली गीतसंगीतका विविध विषय तथा पक्षको चर्चा गर्नुभएको छ।

संस्कृतिविद् तुलसी दिवस पन्तका ‘हाम्रो सांस्कृतिक इतिहास’ र ‘गीत सुधारको राष्ट्रिय बाटो’ पढेपछि उहाँबाट निकै प्रभावित हुनुभएको थियो। उहाँका अनुसार ‘नेपालको मेची–महाकालीलगायत पूर्वदार्जिलिङ, सिक्किमदेखि पश्चिम कुमाउँ–गढवालसम्म आफैं घुमेर लोकगीत, साहित्य र संस्कृतिको तथ्य संकलन र अन्वेषण गर्नु त्यो समयमा चानचुने कुरा थिएन, त्यो पनि आफ्नै खर्चले।’

यस्तै पन्तले लेखेका तथा संकलन गरेका थुप्रै रचना तथा कृतिहरू अझै अप्रकाशित देखिन्छन्। तिनलाई संकलन तथा सम्पादन गरी प्रकाशन गर्नु आवश्यक देखिन्छ।

उहाँको निधन भने २०४८ फागुन ६ गते भएको थियो। कालीभक्तको निधन हुनुभन्दा २२ वर्षअघि अर्थात् २०२६ माघ ११ गते नै धर्मपत्नी कृष्णा पन्तको ६० वर्षको उमेरमा निधन भइसकेको थियो। उहाँहरूको स्मृतिमा २०७४ वैशाख १ गतेदेखि कालीभक्त कृष्णा पन्त प्रतिष्ठान स्थापना गरिएको थियो। प्रतिष्ठानले ‘स्रष्टा कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक–साहित्य पुरस्कार’सँगै विभिन्न सामाजिक, शैक्षिक, खेलकुद, मानवीय सहयोग तथा सांस्कृतिक गतिविधि पनि गर्दै आएको छ।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यो पनि पढौँ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस