कला प्रदर्शनीको प्रयोजन
२१ चैत्र २०७७
•
११ मिनेट पाठ
कला प्रदर्शनीको प्रयोजन
काठमाडौं उपत्यकामा अहिले बग्रेल्ती कला प्रदर्शनी हुन थालेका छन्। कोभिड–१९ बाट थोरै उन्मुक्त भएको अहिलेकोे अवस्थामा काठमाडौंका पाँच–सातवटा कला ग्यालरीमा कसै न कसैका कला प्रदर्शित भइरहेका छन्। अधिकांश समूहगत कला प्रदर्शनी छन्, केही एकल प्रदर्शनी पनि छन्। सबैजसो एकनासका, करिबन एकै स्वभावका कला प्रदर्शनी दृष्टिगोचर हुन्छ। सबै चित्रकला नै हुन्, ८० प्रतिशत भन्दामाथि एउटै माध्यमका चित्र देखिन्छन्।  




कलाकारको चित्र–रचना गर्ने सोच र यसलाई प्रस्तुति गर्ने सोचमा कति परिवर्तन आएको छ भन्ने खोजको विषय छ। भर्खरै कविराज लामा, रीता मानन्धर र नीरा जोशीको एकल कला प्रदर्शनी भयो। खोजी पस्दै जाँदा साना–मझौला कला दीर्घामा अन्य कला प्रदर्शनी भइरहेको भेटाउन सकिन्छ। कति कला प्रदर्शनी कला बेच्नुको अर्थमा मात्र देखापरेको छ। यसले समयसापेक्ष सवाललाई, समस्यालाई वा कलाकै मूल मर्मलाई कति बोक्छ ? यो एउटा अर्को महत्वपूर्ण प्रश्न छ। कोभिडकै महामारीबीच भर्चुअल कला प्रदर्शनी प्रशस्तै भएको थियो। अर्थात् कला प्रदर्शनीको निरन्तरता कायमै छ। कोभिडले कला प्रदर्शनी हुनलाई छेकेन। झट्ट हेर्दा के देखिन्छ भने, कला विकासको पयार्यवाची भनेको कला प्रदर्शन अनि कला कार्यशालाजस्तो मात्र भएको छ।  

कला कार्यशाला कति भयो, त्यसको लेखाजोखा भएको पाइँदैन। त्यसबखत बनाइएका कला कता छन्, न आयोजकलाई थाहा छ, न त कलाकारलाई। मूलतः कलाको वर्कसप सन् २००० को उत्तरकालमा सुरु भयो, मूर्तिकलाका यस्ता कार्यशाला सन् २००५ देखि सुरु भयो। सूत्र भन्ने कला संस्थाले ओशो तपोवनमा ‘कक्सिङ द नेचर’ नामक कला कार्यशाला गरेको थियो, सन् २००३ मा। त्यो कार्यशालामा नयाँ प्रवृत्तिका काम भएकाले यसलाई चित्र वा मूर्ति भन्नुभन्दा पनि समग्रमा काम भन्ने चलन छ।  

जहाँ चित्र र मूर्ति दुवै नै समावेश भएको अवस्था थियो। त्यसो त बंगलादेश र नेपाली कलाकारले सुन्दरीजल र पोखराको लुम्लेमा सन् १९९५ मा गरेको कला–कार्यशालालाई पहिलो कार्यशाला मान्नुपर्छ। त्यस्तै, सन् २००५ मा ‘आरम्भ’ भन्ने संस्थाले मूर्तिकलाको कार्यशाला आयोजना गरेको थियो। अहिले सानो समूहदेखि कलाका आधिकारिक निकायले साना–ठूला कलाका कार्यशाला गरिरहेका हुन्छन्।  

अहिलेसम्म सयौँ यस्ता कला कार्यशाला भए होला। यी कार्यशालामा सिर्जना भएका कला कहाँ छन्, यसबारे आयोजकलाई मतलब नहुनु अनि कलाकार आफैँलाई पनि आफ्नो कला कता गयो भनेर चिन्ता नलिनु पनि अचम्मलाग्दो छ। हुन त थोरै समयमा सक्नुपर्ने बाध्यात्मक अवस्थाका कारण दक्ष कलाकारका काम वर्कसपमा राम्रो नहुन सक्छ। किनकि प्रविधिगत हिसाबले गर्दा निश्चित समय त कलाले माग्छ नै, कला भावना मात्र होइन, प्रविधि पनि यसको महत्वपूर्ण भाग हो। परोक्ष रूपमा यसले केको संकेत गरिरहेको छ भने, कला कार्यशाला र प्रदर्शनी मात्रैले कलाको ठूलै विकासको सबैजसो भाग ओगट्छ। योभन्दा पर सोच्न सकिएको भने पाइँदैन। यस प्रकारको सोच जुन कलाका आधिकारिक निकाय, साना–ठूला कलाका समूह, कलाका ग्यालरीमा यथेष्ट मात्रामा देखिएको छ, के यो समयसापेक्ष सोच हो? एउटा गहन प्रश्न हामीबीच उभिएको छ।  

वास्तवमा यसलाई समयसापेक्ष भन्न नसकिएला। किनकि अहिले समाज बदलिएको अवस्था छ। सामाजिक, राजनीतिक अनि धार्मिक अवस्था पनि हिजोभन्दा फरक छ। जसकारण आममान्छेको दिनचर्या र सोच परिवर्तित अवस्थामा देखापरेको छ। अझ ग्लोबल कल्चरको पनि असर छ। त्यसैले यी सबैको प्रतिबिम्वका रूपमा कलाको स्वरूप, प्रस्तुति र प्रदर्शनी हिजोभन्दा आज फरक हुन आवश्यक छ। कला प्रदर्शनी पनि कला विकासकै अंग हो, सर्वांग भने पटक्कै होइन।  

६० वर्षअघि एकल कला प्रदर्शनीको शुभारम्भ भएको थियो। कला प्रदर्शनीको यो एउटा आधिकारिक मोड थियो। किनकि यसै बेलादेखि निरन्तर कलाका प्रदर्शनी भइरहेका छन्। समूहगत कला प्रदर्शनी यसअघि नै भइसकेको थियो। आजको एकल कला प्रदर्शनी हेर्दा पहिले र अहिलेको कला प्रदर्शनीमा तात्विक फरक देखिन्न, यही हो त कलाको विकास भनेको ?

गहिरिएर हेर्ने हो भने कला प्रदर्शनीले आम भावकलाई कला हेर्ने पहुँच दिन्छ। कला अवलोकनको इच्छा हुनेलाई यसले एउटा अवसर जुराइदिन्छ। २०२२ सालमा नेपाल ललित कला संस्था विधिवत खुलेपछि यसले हरेक वर्ष राष्ट्रिय कला प्रदर्शनीको शुभारम्भ गर्‍यो। यसअघि यस्तो प्रचलन थिएन। मेला आदिमा कलाको सामूिहक प्रदर्शन हुने गथ्र्यो। थोरै कलाकारको अव्यस्थित तरिकाले कलाको प्रर्दशन हुँदा त्यसलाई औपचारिक कला प्रदर्शन भन्न मिल्दैन होला। नेपाल ललित कला संस्थाले गरेको यो राष्ट्रिय कला प्रदर्शनीले स्वभावतः सयौँ कलाकारका कलाकृति आम–भावकले अवलोकन गर्ने मौका पाए। त्यतिवेला यो सन्दर्भ धेरै हदसम्म ठिकै थियो। धेरै कलाकारले आफ्ना कला सार्वजनिक गर्न पाए। प्रदर्शनीकै लागि भनेर नयाँ कला सिर्जना गर्ने मौका पाए। त्यतिवेला कला प्रदर्शनीमा भाग लिन नयाँ कला हुनुपर्ने बाध्यात्मक व्यवस्था थियो। कलाकार पनि हौसिए भन्नुपर्छ। आज पनि सोही रूपमा यस्तै राष्ट्रिय कला प्रदर्शनी हुने गरेको छ। पहिला ललितकला संस्थाले आयोजना गथ्र्यो, आज नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गर्छ। अहिले एउटा प्रश्न के उठ्छ भने, राष्ट्रिय कला प्रदर्शनीको स्वरूपमा आमूल परिवर्तन नआउनु समय सान्दिर्भिक भयो त? अब सोच्ने वेला आएन?

कला प्रदर्शनी र भावक

प्रदर्शनीले कला बिक्री हुने सम्भावना रहन्छ। यो कला विकासका लागि सबल पक्ष नै होला, तथापि कला प्रदर्शनी हुँदैमा दर्शक र क्रेता आइहाल्छन् भन्ने हुँदैन, दर्शक वा ग्राहकलाई ग्यालरीसम्म जबर्जस्ती ल्याउन पनि सकिन्न। भावकलाई कला प्रदर्शन कक्षभित्र उपस्थित गराउने, कला बुझ्ने वातावरण बनाउने अनि मात्र बिक्री–वितरण कुरा आउँछ। दर्शकलाई कलाका प्रदर्शन कक्षसम्म ल्याउन आकर्षण पैदा नगरेसम्म कलाको एप्रिसिएसन र कलाको बिक्री कसरी सम्भव छ र ? यी दुवै कुरा भए मात्र कलाको विकास हुन्छ भन्ने कलाकार वर्गलाई थाहा नभएको होइन। तर, कला प्रदर्शन पछिका यी थप क्रियाकलाप कसले गरिदिने ? कला प्रदर्शनीको नयाँ ढंगको समयसापेक्ष स्वरूप, समसामयिक विषय, गुणस्तर र नितान्त नौलो सिर्जनाको खोजी, मौलिकताको खोजी आदिलाई अब कला प्रदर्शनीसँग जाडेर हेरिनुपर्छ।  

अहिले केही मात्रामा भावक र कलाकारबीच अन्तक्र्रिया हुन थालेका छन्। यो बढ्दै जाने हो भने भावक कलाभित्र घुसेर वा कलामै तल–माथि गर्न सक्ने, कलासँग खेल्न सक्ने कलाको स्वरूपको कल्पना पनि गर्न सक्ने अवस्था सिर्जना हुन्छ। जसलाई सामान्यतः ‘इन्स्टलेसन आर्ट’ भनिन्छ। थ्री डाइमेन्सन स्वरूप बोकेका इन्स्टलेसन वा समसामयिक मूर्ति अलग्याउन आज आवश्यक भइसकेको छ। आज इन्स्टलेसन भनिने कला पनि समसामयिक मूर्तिभन्दा अलग्ग देखिन्न, न त स्ट्रिट आर्टको परिभाषा बोकेर उभिएको देखिन्छ। यी र यस्तै प्रयोगात्मक कलाबारे प्रदर्शनकै वेला परिभाषित हुन आवश्यक छ। आम भावकमा कलाकारबारे, कलाबारे समसामयिक मुद्दामा लिइरहेको चासोलाई प्रदर्शनकै वेला यथेष्ट मात्रामा चर्चा–परिचर्चा र अभिलेखन गरिनुपर्छ।  

अब दर्शक वा भावक पनि कलामा एकाकार हुन थालेको छ। सीमित भावकले कला बुझ्न र कलामा अपनत्वको बोध गर्न थाल्नु सुखद पक्ष हो, यसले अन्य दर्शक तानिने सम्भावना रहन्छ। अहिले कलासम्बन्धी यथेष्ट पाठ्यसामग्री पनि आवश्यक छ, जसबाट कला बुझ्न चाहने पाठकले धेरै जानकारी पाउँथे। त्यस्तै आर्ट यजुकेटरलाई सक्रिय बनाउन सकिन्छ। अहिले पनि परम्परागत क्याटलगमा चित्त बुझाउनुपर्ने अवस्था छ। एउटै चित्र घरीघरी टाँगेर ‘कला आफैँ बोल्छ, दर्शकले आफैँ कला हेरेर बुझ्छन्’ भनेर कति बस्ने रु आजको कलाकार स्वयं जागरुक भई कलाको वकालत गर्न र समसामयिक सवाल जोडेर कलालाई जीवन्त बनाउन सक्नुपर्छ। यो फड्को मार्न हामीलाई केले रोकेको छ?

कला प्रदर्शनीको चर्चा

युरोपमा प्रभाववादी कलाकारको आठवटा कला प्रदर्शनीको चर्चा अहिले पनि गरिन्छ। सन् १८७४ मा पहिलोपल्ट प्रभाववादी कला प्रदर्शनी भएको थियो। सुरुमा यसलाई प्रभाववादी भनिएन। प्रकाश वस्तुमा पर्दा वातावरणको दृश्य कसरी परिवर्तन हुन्छ, वस्तुमा वास्तविक यथार्थता कसरी देखापर्छ भन्ने सोचका साथ त्यो कला आन्दोलन अगाडि आएको थियो। तेस्रो कला प्रदर्शनीपछि मात्र कलाकारले त्यसलाई ‘प्रभाववादी आन्दोलन’ भनेर नाम राखे। त्यो प्रदर्शनी मात्र प्रदर्शनी नभएर प्रभाववादी आन्दोलनको एउटा भाग थियो। कला समीक्षक लुइस लेरोयले प्रभाववादीको पहिलो कला प्रदर्शनीमा प्रदर्शित मोनेले बनाएको ‘सूर्योदय’ नामक चित्रलाई मजाकका साथ उल्लेख गर्दै एउटा लेख लेखे। जसको नाम थियो, ‘एक्जिबिसन अफ् द इम्प्रेसनिस्ट’। 

यी कलाकार, जसले खास उद्देश्य लिएर विशेष कलाको दर्शन नयाँ टेक्निकका साथ प्रयोग गरेर यो कला प्रदर्शनी गरेका थिए। कलाकारले यो लेखलाई गहनपूर्वक लिए, पुर्पक्ष र बहस गरेर आफ्नो तेस्रो कला प्रदर्शनीपछि उनीहरूले प्रभाववादी शब्दलाई आफूमा जोडेका थिए। प्रभाववादको कुरा यसअघि पनि उठेको थियो। कला समीक्षक गाउटिएरले डाउबिग्नेको कामलाई नकारात्मक भविष्य सूचकको रूपमा प्रयोग गरेका थिए। प्रकृतिको अपूर्ण प्रभाव, अधुरो लाग्ने, डिटेलमा नभएको प्रयोगात्मक प्रविधिलाई लक्षित गर्दै उनले यो प्रभावको प्रसंग उठाएका थिए। 

जसलाई ‘स्केची इम्पे्रसन अफ नेचर’ भन्ने गरिन्छ। सन्दर्भ कहाँ मात्र हो भने, खास प्रयोजनका लागि, एक अलग्ग शैली प्रवृत्ति र कलाको दर्शन स्थापनाका लागि, अनि मौलिक कलाको उद्घोषका लागि कला प्रदर्शन गरिन्छ। यसपछि पनि कला समीक्षकको निष्कर्ष, आम भावकमा परेको प्रभाव, उसको बुझाइ र प्रतिक्रिया आदिलाई कलामा समेट्ने योजना रहेको हुन्छ। जसमा क्युरेटर, आर्ट म्यानेजर वा आर्ट यजुकेटरका साथै कलामाथिको पुर्पक्ष, बहस र छलफल आदि कार्यक्रम संलग्न गरिएका हुन्छन्। यसैले प्रदर्शनीमा आम भावक एउटा उत्सवका रूपमा कला अवलोकन गर्न, राम्रो लागे खरिद गर्न, नराम्रो लागे गाली गर्न वा प्रतिक्रियासहित उपस्थित भएका हुन्छन्। आज कलाका विद्यार्थीले युरोपमा भएको आठवटा प्रभाववादीका कला प्रदर्शनीको सन्दर्भ पढ्न, बुझ्न र मनन गर्न आवश्यक छ। त्यस्ता प्रदर्शनीलाई इतिहास बनाइन्छ। वा, इतिहासमा उल्लेख गर्नैपर्ने खालका कला प्रदर्शनी गरिएका हुन्छन्।

हामीकहाँ कला अवलोकन

अहिले समसामयिक कला मात्र होइन, लोककला र परम्परागत कलालाई अवलोकन गर्न चाहनेका लागि कतै स्थायी व्यवस्था वा ग्यालरी छैन। अझ भनौँ, समसामयिक कलाको वा लोककलाको म्युजियम हामीसँग छैन। यसबारे सम्बन्धित निकायले सोच्नसम्म सकेको पाइँदैन। त्यसैले थोरै दिनका लागि मात्र भए पनि यस्ता कला प्रदर्शनीले आम दर्शकलाई राहत दिन्छ। तथापि अहिले साह्रै थोरै भावक कला प्रदर्शनीमा आउने अवस्था देखिँदा यसको सार्थकता के रह्यो र भन्ने प्रश्न स्वभावतः उठ्ने गर्छ र प्रदर्शन गर्नु मात्र कला विकासको द्योतक होइन भन्ने स्पष्ट हुन्छ। त्यसैले म्युजियमकै व्यवस्था हुन्थ्यो भने आज कलाकार मात्र सम्मानित हुने होइन, उसका कृति स–सम्मान राष्ट्रको अमूल्य निधिका रूपमा कहीँ प्रदर्शित भएर रहन्थ्यो। त्यस्तै, राष्ट्रको पहिचान झल्काउने कलाहरू हाम्रा राष्ट्रपति वा प्रधानमन्त्रीको वासस्थान वा ठुल्ठूला सभाकक्षमा टाँगिन पुग्थ्यो, तर आज यो अवस्था छैन।  

पछिल्लो समय प्रदर्शनीमा विशेषतः युवा कलाकारका कला बढी मात्रामा प्रदर्शन हुने गर्छन्, पुराना कला कहीँ हेर्न सकिन्न। यस्ता कलालाई प्रदर्शन गर्न कोही पनि जागरुक भएको देखिन्न। उदाहरणका लागि भाजुमान र दीर्घमान, मनोहरमान पुन, चन्द्रमानसिंह मास्के, जीवरत्न शाक्य, चन्द्रबहादुर मानन्धर, इन्द्र प्रधान, मनुजबाबु मिश्र आदिकै चित्र प्रदर्शन भइरहेको छैन। यी र यस्तै मूर्धन्य कलाकारका अति बहुमूल्य कलाको प्रदर्शन र व्याख्या विश्लेषण गरी आम भावकलाई बुझाएको देखिँदैन। वास्तवमै कलाको प्रवद्र्धन गर्ने हो भने यसतर्फ ध्यान दिन जरुरी छ। अर्कोतर्फ आम भावक र ग्राहक सम्भवतः दुवैलाई कला र कलाकारबारे यथेष्ट ज्ञान हुन गएपछि मात्र बढी मात्रामा भावक यस्ता कला प्रदर्शनीमा आउन लालायित हुन्छन्। यतापट्टि पनि कसैको ध्यान पुगेको देखिँदैन।

कलाकार र कला निकायको भूमिका  

कला र कला प्रदर्शनीको अभिलेखीकरण र समीक्षा (सही र आधिकारिक) लगायत व्याख्या आफैँ भइहाल्छ भन्ने मानसिकताबाट हामी बाहिर आउन सकिरहेका छैनौँ। योसँगै हामीले पुराना सर्जक र उनीहरूका कलालाई बिर्संदै गएका छौँ। हामीकहाँ नयाँ वा पुराना कला प्रदर्शनी गर्ने र आर्ट यजुकेटर राख्ने परम्परा बसाल्न जरुरी छ। कलालाई बुझाइ राख्नुपर्दैन भन्ने सोच अझै हराइसकेको छैन। कलालाई दर्शकले आ–आफ्नै ढंगले बुझ्ने हुँदा र कलाकारले भन्न खोजेको सन्दर्भ नबुझ्दा पनि कला, कलाकार र दर्शकबीच दूरी रहन्छ। आर्ट युजुकेटरका माध्यमबाट कलाबारे बुझाइयो भने दर्शकको उपस्थिति बढ्न सक्छ। त्यसैले अहिले कम्तीमा कलाकार, कलामा लेख्नेहरू र कलाका निकायहरू जागरुक हुन आवश्यक छ।  

बाह्य राष्ट्रका स्तरीय कलाका ग्यालरीले जोकसैको कला प्रदर्शन गर्दैनन्। निश्चित स्तर नपुगेका कलाकारले आफ्ना कला सामान्य पर्खालमा, बाह्य खुला ठाउँमा प्रदर्शन गरेर आफूलाई एक निश्चित स्तरमा पुर्‍याउँछ। आर्ट क्रिटिक, क्युरेटेरले जाँचीबुझी स्तरीय भएको ठहर गरेपछि मात्र यस्ता कला प्रदर्शन हुने गर्छ। नेपालमा भने यस्तो प्रचलन छैन। लेख्नेले राम्रो कला छैन भन्ने, कलाकारले राम्रो कला समीक्षक छैनन् भन्ने दोहोरी अहिलेसम्म चलेकै छ। वस्तुतः आम दर्शक मात्र होइन, कलाकार स्वयं र कला लेखनमा लागेका पनि कला प्रदर्शनी हेर्न जान यथेष्ट मात्रामा गएको देखिँदैन। कला यस्तो विधा हो, जसका बारेमा लेख्न प्रदर्शन कक्षमा जानैपर्छ। कोठामा बसेर कला लेख्ने लेखक वा कलाको चर्चाको आधिकारिक बहस गराउन रुचि नराख्ने कलाकारले कलाको विकासमा टेवा दिन सक्तैन।  

अर्कोतिर, पुरानै ढर्राका कलाको प्रदर्शनीले कसरी, केको महत्व बोक्छ रु यो एउटा अहं प्रश्न खडा छ। प्रदर्शित कला केही राम्रा, केही मझौला र केही निकृष्ट पनि देखिन्छन्। कसोकसो आज कलाका ग्यालरीको भित्तामा झुन्डिनुले मात्र कलाकारको मान–मर्यादा गर्नुपर्छ भन्ने जस्तो भएको छैन। अधिकांश यस्ता समूहगत कला प्रदर्शनीमा अधिकांश कलाकारको उपस्थिति देखिँदैन, अनि देखिहाले पनि कलाको बारेमा चर्चा धेरै कम भएको आभास हुन्छ। यसले एउटा अहं प्रश्न जन्माउँछ– कसका लागि कलाकार र केका लागि कला प्रदर्शनी? कुनै उत्सवको अवसरमा कला प्रदर्शनी धेरै नै हुने गर्छ, तर त्यसको आवश्यक अभिलेख हुन सक्दैन। आम भावकले कसको कला प्रदर्शन भएको रहेछ भन्ने थाहै पाउँदैनन्। अनि प्रदर्शित कलाको महत्व, अर्थ वा उद्देश्य थाहा हुने प्रश्नै उठ्दैन। हामी पहिलेदेखि नै कलालाई, कलाकारलाई राष्ट्रले केही गरेन, मान र सम्मान केही गरेन भन्थ्यौँ, आज पनि भन्छौँ। तर, कलासँग सम्बन्धित व्यक्ति नै कलाको गुणात्मकता, अर्थ र महत्ताबारे सामान्य जानकारी सञ्चारित गर्नतिर लागेनौँ, यतापट्टि अब लाग्ने हो कि ?

(लेखक कलाकार र कला समीक्षक हुन्।) 
अर्को समाचार
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
५२ मिनेट अघि
•
१ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
काठमाडाैं, नेपाली लोकसंस्कृतिका अनुसन्धाता तथा प्रजातन्त्रका सेनानी स्व. कालीभक्त पन्तले नेपाली संस्कृति, गीतसंगीतलगायत तत्कालीन नेपाली समाजका विविध विषय तथा क्षेत्रको खोज, अनुसन्धान मात्र गर्नुभएन, नयाँ पुस्तालाई त्यसको अभिलेखसमेत तयार गरिदिनुभयो। त्यसकै आधारमा अहिलेको पुस्ताले त्यो बेलाको नेपालको इतिहास थाहा पाएको छ। उहाँको अर्को परिचय भनेको गीतकार, लोकगीत संकलक तथा गायकको पनि हो। उहाँले लेखेको लोकगीत रेडियो नेपालबाट प्रसारण भइरहेका छन्। ‘क्या यस्तो चाल पर्‍यो, मायासित बोल्दैमा गाल पर्‍यो’ तीमध्ये एक हो। प्राध्यापक पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार पन्तको गायनको क्षेत्रमा प्रवेश गर्नुको उद्देश्य गायक बनी नाम कमाउने थिएन। उहाँले नेपाली समाज अशिक्षित भएकाले समाजमा लोकगीतमार्फत जागरण ल्याउन पुस्तक–पुस्तिका, पम्प्लेट आदिको माध्यमबाट मात्र सम्भव नहुने हुँदा गाउँलेहरूलाई बुझाउने लोकगीतहरू रचेर अनेकौं सांस्कृतिक कार्यक्रमहरू गर्नुहुन्थ्यो। उहाँलाई जनतामा कसरी राजनीतिक, सामाजिक चेतना बढाउने भन्ने तरिकाको ज्ञान थियो।




यसरी गाउँलेहरूमा राजनीतिक चेतनाको अभिवृद्धि गर्न उहाँले सांस्कृतिक टोलीहरूको गठन पनि गर्नुभएको थियो। सो समयमा पन्तले ब्यान्जोको आकारको ‘कालीबाजा’को निर्माण पनि गर्नुभएको थियो। यो पनि अब एउटा इतिहास बनिसकेको छ। पर्वत तथा बागलुङमा हुने चैते–दसैंजस्ता मेलामा पन्तले महिला जागरणको मात्र नभई कन्या बेच्ने बाबुआमाविरोधी गीत पनि गाउनुभएको थियो। उदाहरणका लागि ‘छोरी बेचा हे बाहुन बाजे/अझै तँलाई लाग्दैन सरम’, ‘बिहा मलाई गर्ने हो भने/ल्याउनु होला कत्तुवा, चर्खा, तान’ उहाँले समाजका छुवाछुतलगायतका रूढिवादी परम्पराको अन्त्य तथा महिला र जनजातिको उत्थान गर्ने उद्देश्य राखेर विविध चेतनामूलक कार्य गर्नुभएको थियो।

२००७ सालको राजनीतिक परिवर्तनको आन्दोलनका बेला पश्चिम ४ नम्बरको कमान्डरको जिम्मेवारी पाउनुभएका पन्तले क्रान्तिका नेताका रूपमा पर्वत कुस्मा र बागलुङको मुक्तिसेना सञ्चालन गर्नुभएको थियो। त्यस्तै, पन्तले सो क्षेत्र कब्जा गरी सर्वश्री ओमप्रसाद गौचनको नेतृत्वको प्रान्तीय सरकारमा उपप्रधानमन्त्री भई काम गर्नुभएको थियो। यस समयमा पन्तले सूचना विभाग हेर्नुपथ्र्यो। २०१७ सालको पञ्चायती व्यवस्थाविरुद्धसमेत लड्नुभएको थियो। सो क्रममा उहाँले भूमिगत तथा जेलजीवनसमेत बिताउनुपरेको थियो। २०१९ सालदेखि राजनीतिबाट टाढिनुभएका पन्त त्यसपछि पूर्ण रूपमा लेखनमा लाग्नुभएको थियो।

इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। सो क्रममा पन्त भारत (सिक्किम, दार्जिलिङ, कुमाउँ–गढवाल, आसाम, हिमाञ्चल प्रदेश), चीन, भुटान, पाकिस्तान, श्रीलंका तथा बेलायतमा पुग्नुभएको थियो। म्याट्रिक पास गर्नुभएका पन्तलाई नेपालीबाहेक संस्कृत, हिन्दी, उर्दू, अंग्रेजी भाषाको समेत ज्ञान थियो।

उहाँको जन्म १९६४ साल भदौ ६ गते पर्वत जिल्लाको लिमिठानामा भएको थियो। पिता नरेन्द्र पन्त, माता निलकुमारी पन्तका कान्छा छोरा कालीभक्त २००९ सालदेखि भने पर्वतको फलेवासमा बस्दै आउनुभएको थियो। १७ वर्षको उमेरमा कालीभक्तको कृष्णा पन्तसँग विवाह भएको थियो। उहाँहरूका तीन छोरी र ६ छोरा भए। साहित्यकार देवीप्रसाद वनवासीका अनुसार पन्तको जन्मथलो तत्कालीन धौलागिरी अञ्चल, पर्वत जिल्लामा परे पनि उनी प. ४ नं. स्याङ्जा हो। ‘साइलादाइ कहाँ गयो’ भनेर दोहोरी गाउने मसानेका समकालीन पाथे भाइ हुन्। 
कालीभक्त पन्तका ‘पश्चिम ४ नम्बर (नेपाल) को इतिहास’ (२००९), ‘किसान गीता’ (२०१२), ‘हाम्रो राष्ट्रिय कर्तव्य दर्शन’ (२०२७), ‘हाम्रो सांस्कृतिक इतिहास’ (२०२८), ‘गीत सुधारको राष्ट्रिय बाटो’ (२०३३), ‘छुतभेद र कर्तव्य’ (२०३८), ‘शुम्भबध’ (नाटक, निधनपश्चात् २०५० मा प्रकाशित) लगायतका कृति प्रकाशित छन्। यसबाहेक पन्तका विभिन्न विषयका लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका देखिन्छन्।

विशेषगरी ‘हाम्रो सांस्कृतिक इतिहास’मा पन्तले राष्ट्रिय संस्कृति र यसको आवश्यकताको विषयबाट सुरु गरी राष्ट्रियता, हाम्रा गीत, भाषा आदिको प्रारम्भिक स्थिति, नेपालमा झ्याउरे गीतको बीजरोपण, हाम्रा देशका गीतहरूको बनावटको सिलसिला, गीतको आइनो गर्दा भाषा र लिपि, हाम्रा राष्ट्रिय ध्वनिको दिग्दर्शन र विश्वका गीतका ध्वनिहरू, हाम्रा गीतका बीजरोपक र परिवर्तनकर्ता, हाम्रा गीतका छन्दहरू, लोकगीत र तीबाहेकका गीत–बाजा, हाम्रा गीत–बाजाका भेद, गीतको संक्षिप्त महिमा, दार्जिलिङ–सिक्किम–भुटानका गोर्खालीका र हाम्रा गीतमा एकरूपता, हाम्रा देशमा शास्त्रीय संगीतलगायतका विषयमा केन्द्रित रहेर नेपालको समग्र सांस्कृतिक इतिहासलाई खोजी अभिलेख गर्ने काम गर्नुभएको छ।

दिवंगत संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पन्तको यसै कृति अध्ययन गरेर आफूलाई उहाँप्रति निकै श्रद्धा लागेको बताउनुभएको थियो। उहाँले पन्तलाई लोकसंस्कृतिको अगुवा बताउँदै सो समयमा लोकगीत, परम्परा र संस्कृतिका सम्बन्धमा कलम चलाई योगदान पुर्‍याउनु अतुलनीय रहेको बताउनुभएको थियो। भाषा तथा लोकसंस्कृतिविद् प्रा.डा. चूडामणि बन्धुका अनुसार पन्तले ‘हाम्रो सांस्कृतिक इतिहास’मा लोकगीत र लोकनृत्यलाई राष्ट्रिय संस्कृतिका महत्त्वपूर्ण अंगका रूपमा विवेचना गर्नुभएको छ। उहाँका अनुसार यस कृतिमा धेरै कुरा पहिलोपटक प्रस्तुत गरिएका छन् र नेपाली भाषा र लोकगीतमा अनुसन्धान गर्नेहरूका लागि यी तथ्य र विश्लेषण स्रोतका रूपमा रहेका छन्।

बालबालिका, किशोरकिशोरी र युवायुवतीलाई सहगान, सहनृत्य र सहकार्यमा अनिवार्य रूपले सहभागी बनाएर उपयोगी शिक्षा दिन सकिन्छ भन्ने उहाँको महत्त्वपूर्ण मान्यता पनि यस कृतिमा चर्चित छ। ‘गीत सुधारको राष्ट्रिय बाटो’ पुस्तक पन्तले नेपालीले आफ्नै सांस्कृतिक पद्धतिअनुसार गीत सुधार गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्यले तयार गर्नुभएको थियो। जसमा उहाँले गायन र नृत्यकलाको प्रारम्भ, नाच्ने–गाउने भावना र गला–कला, छन्दसाहित्य (तीजे, लहरी, झ्याउरे, अनुष्टुप, शार्दूलविक्रीडित, शिखरिणी आदि), हाम्रा पुर्खाकालीन सांगीतिक शाब्दिक सरजाम, गीतको संक्षिप्त महिमा, बहादुर सिंह बराल र नेपाली गीतका बनावटको इतिहास, आफ्नोपना र त्यसको पूर्ति, गीतका संज्ञा, परिभाषा र शब्दकोश, संगीत शब्द र भ्रम, हाम्रा गीत साहित्यले बदल्दै आएको ऐतिहासिक मोड, गीत रेकर्ड गर्नुभन्दा पहिले, केही फुटकर कुरा र गुनासाहरूलगायतका शीर्षकमा रहेर नेपाली गीतसंगीतका विविध विषय तथा पक्षको चर्चा गर्नुभएको छ।

संस्कृतिविद् तुलसी दिवस पन्तका ‘हाम्रो सांस्कृतिक इतिहास’ र ‘गीत सुधारको राष्ट्रिय बाटो’ पढेपछि उहाँबाट निकै प्रभावित हुनुभएको थियो। उहाँका अनुसार ‘नेपालको मेची–महाकालीलगायत पूर्वदार्जिलिङ, सिक्किमदेखि पश्चिम कुमाउँ–गढवालसम्म आफैं घुमेर लोकगीत, साहित्य र संस्कृतिको तथ्य संकलन र अन्वेषण गर्नु त्यो समयमा चानचुने कुरा थिएन, त्यो पनि आफ्नै खर्चले।’

यस्तै पन्तले लेखेका तथा संकलन गरेका थुप्रै रचना तथा कृतिहरू अझै अप्रकाशित देखिन्छन्। तिनलाई संकलन तथा सम्पादन गरी प्रकाशन गर्नु आवश्यक देखिन्छ।

उहाँको निधन भने २०४८ फागुन ६ गते भएको थियो। कालीभक्तको निधन हुनुभन्दा २२ वर्षअघि अर्थात् २०२६ माघ ११ गते नै धर्मपत्नी कृष्णा पन्तको ६० वर्षको उमेरमा निधन भइसकेको थियो। उहाँहरूको स्मृतिमा २०७४ वैशाख १ गतेदेखि कालीभक्त कृष्णा पन्त प्रतिष्ठान स्थापना गरिएको थियो। प्रतिष्ठानले ‘स्रष्टा कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक–साहित्य पुरस्कार’सँगै विभिन्न सामाजिक, शैक्षिक, खेलकुद, मानवीय सहयोग तथा सांस्कृतिक गतिविधि पनि गर्दै आएको छ।
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
यो पनि पढौँ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस