जूडशीतल: नयाँ वर्ष मनाउने लोकपरम्परा
२१ चैत्र २०७७
•
६ मिनेट पाठ
जूडशीतल: नयाँ वर्ष मनाउने लोकपरम्परा
मिथिला क्षेत्र प्राचीन समयदेखि प्रकृतिप्रेमी छ। यसको प्राचीन बास सदानीराको डिलमा रहेको विराट जंगल र दलदली माटोलाई कडा र सफा पारेर बसाइएको तथ्यसम्मत कथा छ। त्यति बेला नै यस क्षेत्रका राजा र प्रजा प्रकृतिपूजक बने र कृषि संस्कृतिका निरन्तर साधक भई आफ्नो जीवनयापनको आधार बनाइराखे। सम्भवतः त्यस कारण पनि मिथिलाञ्चलवासीले मनाउने अधिकांश पर्व–त्योहार कृषिजन्य उत्पादनबाटै सम्पन्न गरिन्छ। अध्यात्म र संस्कृति परम्पराप्रतिको प्रतिबद्धता यस क्षेत्रका बासिन्दाको मूल जीवनी मन्त्र रहँदै आएको भए पनि अब त्यो रूपमा देख्न पाउन दुर्लभ हुँदै गएको छ।  




कर्म क्षेत्रमा निरन्तर व्यस्तता, घरबाट विदेश बसेर धन कमाउने बाध्यता, वा चाहनाले परिवार र समाजबाट अलग्गिन पुगेकाहरू आफ्ना बाजे–पुर्खाले थामी राखेका यी लोक परम्परालाई अब अगाडि लैजान सक्ने अवस्थामा छैनन्। त्यस कारण पनि यस्ता पर्व ओझलमा पर्दै गएका छन्। यसै परम्परामा रहेको कृषितन्त्रमा आधारित पर्यावरणीय चेतनाका प्राचीनतम् संवाहक लोकपर्व जूडशीतल हो, जसको स्वरूप अब निकै फेरिएको छ। 

आफ्नो घरआँगनमा देवीदेवतालाई साक्षी राखी मनाउने यो जूडशीतल पर्वमा दुईदिने अन्नपूर्णा महोत्सवको बदला नयाँ वर्षको आगमनमा कतै घरबाट टाढा गई पिकनिकको नाउँमा जथाभावी खानपिन गर्ने चलन हुन थालेको छ। यस पर्वमा हुने सतुआइनका बेला गहुँको सतुवा र टिकोला (आँप) को चटनी खाने चलन थियो, अहिले रक्सी र माछामासुको प्रचलन बढेको छ, यसरी सांस्कृतिक विरासतप्रति उपेक्षा व्यवहार देखाउँदा त्यसको क्षति समाजले व्यहोर्नुपरेको छ। समय छँदै यतातिर ध्यान पुर्‍याउनैपर्छ।  

के हो जूडशीतल

विक्रम संवत्को सुरुवातको प्रथम दिन अर्थात् वैशाख १ गतेबाट सुरु हुन्छ, यो पर्व। यद्यपि वैशाखको प्रारम्भसँगै विभिन्न समुदायमा अनेकौँ प्रकारका उत्सव मनाइन्छ। नेपालमा विक्रम संवत्कै आधारमा राज्य व्यवस्थाको सञ्चालन हुने भएकाले यसको महत्व स्वतः बढी हुन आएको छ। मिथिलाञ्चलमा यो नयाँ वर्षलाई लोकपर्वको रूपमा कृषि संस्कृति र पर्यावरणको संरक्षणको सन्देश साथ मनाइने गरिन्छ।  

वैशाख १ गते सतुआइन भनेर विधिविधान गरिन्छ। घर देउतालाई जौको सत्तु र २५ गोटा आँपको टिकोला चढाएर पूजाआजा गरिसकेपछि प्रसादको रूपमा सत्तु खाने गरिन्छ। त्यसपछि घरमा भात र बेसनको बरी बनाएर त्यसको सब्जी बनाइन्छ। दहीमा मसाला मिसाएर करही (झोल) र बेसनको बरी राखेर तरकारी बनाउँदा त्यही भात र करही बरी खाने गरिन्छ। यसै क्रममा तरुवा पनि तलेर सपरिवार आनन्दले खाने गर्छन्। बनेको खानालाई अर्को दिनका लागि सुरक्षित राखिन्छ। पहिले फ्रिज हुँदैनथ्यो, भातमा पानी मिसाएर राखिन्थ्यो, न बिग्रोस् भनेर।  

भोलिपल्ट (२ वैशाख) वास्तवमा जूडशीतल पर्वको मूल आयोजन दिन हुन्छ। एकाबिहानै श्रेष्ठजनहरू आफूभन्दा कान्छालाई हातमा रहेका लोटाको पानी दाहिने हातमा खन्याएर टाउकोमा थुपार्दै सुमसुम्याउँदै आशीर्वाद दिने गर्छन्। त्यो आशीर्वाद दिने परम्परालाई नै जूडशीतल अर्थात् शीतलताले जुडाउनु अर्थमा अथ्र्याइन्छ। त्यसपछि घरका सदस्य आ–आफ्नो पायक पर्ने आफ्ना बारी, फूलबारीमा रहेका रूखको जडामा पानी खन्याउने गर्छन्। यो रूखहरूको सिञ्चन यस पर्वको महत्वपूर्ण पक्ष हुन्छ।  

घर फर्केपछि युवा पहिला खानेपानीको एक मात्र स्रोत इनार र नुहाउने, लुगा धुने पोखरीलाई सफा गर्थे। इनारमा चुना हालेर स्वच्छ बनाइन्थ्यो। अब त खानेपानीका स्रोत चापकल र नुहाउने टंकी हुन गएपछि इनार उजाड हुँदै गइरहेका छन्, पोखरीहरू माछापालनका केन्द्र भइसकेका छन्।  

दोस्रो दिन अर्थात् जूडशीतल पर्वमा एक रात पहिले बनाएर बाँकी रहेका परिकार खाने चलन छ, जसलाई चैतको खाना, वैशाखमा खानु भनी भनिएको छ। जूडशीतलको दिन हिलोमाटोले एक–अर्कासँग खेल्ने चलन पनि रहेको छ, जसलाई धुरखेल भनिन्छ। खानामा आँपको चटनी र सोहीजन (एक प्रकारको तरकारी) को सब्जीलाई विशेष प्राथमिकता साथ खानासँग खाने गरिन्छ।  

पर्वभित्रको निहितार्थ

जूडशीतल पर्व सही अर्थमा पर्यावरण संरक्षण र सरसफाइप्रतिको जनचेतना जगाउने लोक अनुष्ठान हो। आज सरकारी, गैरसरकारी निकायद्वारा लाखौँ, करोडौँ खर्च गरेर, फेसबुकमा सफाइ गर्दै गरेको आफूसहितको तस्बिर सेयर गरेर स्वच्छता अभियन्ता बन्नुपर्ने अवस्थाको सिर्जना गरिँदै छ। तर, हाम्रा पूर्वजले जीवनशैलीमै यस्ता लोकपद्धतिको विकास गरेका छन्। वर्षमा एक दिन मात्र भए पनि वर्षभरिका लागि मार्गदर्शन होस् भनेर आफ्नो समाज, परिवारका सदस्यलाई भाइचारा, प्रेम–सद्भाव साथै पानीको थोपाबाट सिञ्चित गर्दै सधैँ शीतल र सहज रहिरहने आशीर्वाद दिने गर्छन्। 

वैशाखदेखि गर्मी बढ्छ। गर्मीको तापबाट बच्न प्रतिकात्मक रूपमा पानीको प्रयोग गरिनु शीतलताप्रतिको जनरुचि बढाउनु हो भने पानीको महत्व बुझी त्यसको संरक्षण र संवर्धनतिर दृष्टि सम्पन्न बनाउनु पनि हो। रूख बिरुवाको जडामा पानी सिञ्चित गरी त्यसको दीर्घ जीवनको कामना गरिन्छ। के मानव, के पशु, निर्जीव रूख–बिरुवा पनि जूडशीतलमा सुरक्षित–सञ्चित रहिरहनुपर्छ भन्ने सन्देश दिइएको हुन्छ।  

इनार र पोखरीको सरसफाइ स्वच्छता अभियानको परम्परागत स्वरूप हो, तर अहिले यो अवसर कमै पाइन्छ। पहाडी क्षेत्रमा कतै–कतै पानीको अभावमा इनार, कुवा रहेको पक्कै हो, तर त्यहाँ जूडशीतल पर्वका प्रक्रिया प्रायः नगण्य हुन्छ होला। सरसफाइ स्वच्छता अभियानको अर्थ भएर यस पर्वमा देखापर्छ। यसले समाजलाई ठूलो सन्देश दिएको छ। अब त विनाबजेट यो सम्भव हुनेवाला छैन।  

सत्तु स्वास्थ्यका लागि फाइदाजनक हो, त्यसैले यस पर्वमा सत्तुको प्रयोग गरिनुले यसको निरन्तरताको संकेत गर्छ। त्यस्तै, फलको राजा आँपको चटनीको प्रयोगले आँपप्रतिको सजगता देखाउँछ। चैतको खाना वैशाखमा खानुपर्ने परम्परामा सधैँ अर्थात् सालभरि नै अन्न, धन, लक्ष्मीबाट परिपूर्ण रहिरहोस् भन्ने अन्तर्निहित कामना लुकेको देखिन्छ।  

कृषि संस्कृतिमा आधारित हाम्रा सबै पर्व विनाकुनै तामझाम, पण्डित–पुरोहित आफैँ गर्न सक्ने किसिमका छन्। त्यसकारण सबैले सहज रूपमा मनवाञ्छित अनुष्ठान गर्न सक्छन्। यसमा व्यापक ह्रास आएको छ। यद्यपि परम्परालाई थामी राख्न गाउँघरमा र सहरी क्षेत्रमा पनि कतैकतै यो पर्व विधिवत रूपमा मनाउने गरिन्छ।  

सारमा  

जूडशीतल पर्वले परम्परागत तरिकाबाट समाजमा पर्यावरण सुरक्षाप्रति जनजागरण अभियानको सन्देश दिनुका साथै स्वच्छताप्रति जनजागरुकता बढाउने वातावरण निर्माणको काम पनि गर्छ। आजको सामाजिक सञ्जालको युगमा हातमा झाडु बोकेर स्वच्छता अभियान भन्नेहरू भन्दा सयौँ वर्षपूर्व हाम्रा पूर्वजले प्रारम्भ गरेका पर्यावरण संरक्षण र स्वच्छता अभियानप्रतिको यो आचारसंहिता नमानेर हामी वन विनाशको सिकार हुँदैछौँ। स्वच्छताको अभावमा अनेकौँ प्रकारका रोगलाई निम्त्याइरहेका हुन्छौँ। यस्ता सहज, स्वाभाविक र आनन्दायी परम्परागत लोकपर्वलाई फेरि एकचोटि पुनस्र्थापनातिर जानुपर्छ।  

वैशाख १ गतेको विशिष्ट पक्ष

यो पर्व मनाइरहँदा केही महत्वपूर्ण परिघटनातिर ध्यान दिनुपर्छ। यसले वैशाख महिना र नयाँ वर्षको शुभारम्भको महत्व झल्कन्छ।  

–  नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षको शुभारम्भ मानिन्छ।

–  हिन्दू संस्कृतिमा विक्रम संवत्को महत्व छुट्टै देखिन्छ।

–  गौतमबुद्धको ज्ञान र निर्वाण प्राप्त भएको दिनको रूपमा मान्य छ।

–  सिखहरूका दशम गुरु गुरु गोविन्द सिंहले खालसा पन्थको स्थापना गरेको दिन हो यो।

–  आचार्य दयानन्द सरस्वतीले सन् १८७५ मा आजैका दिन आर्य समाजको स्थापना गरेका थिए।

–  थारु समुदायमा आज सिरुवा पर्वका रूपमा तीनदिने महोत्सव मनाउने चलन छ।
अर्को समाचार
एकल व्यक्ति चमत्कारवाद!
४२ मिनेट अघि
•
१ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
काठमाडाैं, हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं। कोही सरकारी जागिरबाट बिदा लिएका, कोही अड्डा–अदालतमा सेवा गरिरहेका त कोही मालपोतका हाकिम, साथै मालपोतमा लेखापढी गर्ने, सबै जना साथीहरू विभिन्न पार्टीका समर्थक छौं।




कहिलेकाहीं छलफलकै क्रममा चर्काचर्की पनि पर्छ। यसै क्रममा एकजना दाइको मुखबाट यो राज्यमा एकल व्यक्ति चमत्कारवादले काम गरेको छ भन्ने कुरा निस्कियो। अनि के हो त एकल व्यक्ति चमत्कारवाद ? भन्ने विषयमा केन्द्रित भएर मैले केही लेख्ने जमर्को गरेको छु।

सर्वप्रथम त एकल व्यक्ति चमत्कारवाद भनेको के हो, बुझ्न जरुरी हुन्छ। एकल व्यक्ति चमत्कारवाद भनेको यस्तो सोच वा प्रवृत्ति हो, जहाँ समाज, राजनीति वा राष्ट्रका सबै समस्या एकजना विशेष व्यक्तिले मात्र समाधान गर्न सक्छ भन्ने विश्वास गरिन्छ। अझ यसलाई सरल शब्दमा भन्दा यो देश, पार्टी, समाज बिग्रिएको छ, अब फलानो व्यक्ति आएपछि सबै ठिक हुन्छ भन्ने सोच नै एकल व्यक्ति चमत्कारवाद हो।

२०४६ सालमा बहुदलीय व्यवस्था आएपछिको एकल व्यक्ति चमत्कारवादका केही कुरा गरौं।
उदाहरण नम्बर एक: स्वर्गीय नेता मदन भण्डारी स्पष्ट वैचारिक प्रतिवाद गर्न सक्ने नेतामा गनिए। उनले टुँडिखेलमा गरेको भाषणमा राजालाई श्रीपेच फुकालेर आफूसँग चुनाव लड्न चुनौती दिए। यो भाषणबाट नेपाली जनता प्रभावित भएका थिए। पछिल्लो उनको दस्ताबेज नेपालमा (जबज) जनताको बहुदलीय जनवाद ल्याएर एउटा चमत्कार गरे। त्यस दस्ताबेजलाई अहिले पनि नेकपा एमालेले अनुसरण गरिरहेको छ। त्यतिबेला स्व. मदन भण्डारीलाई महान् मानव मानेर पुज्ने जनता थिए र छन्। भलै यो व्यक्ति बाँचेको भए देख्न पाइन्थ्यो, त्यो नेपालीहरूको दुर्भाग्य भयो।

उदाहरण नम्बर दुई:  नेता शेरबहादुर देउवा अहिलेसम्म पाँच पटक यो देशको प्रधानमन्त्री भएका व्यक्ति हुन्। उनले अहिलेसम्म डडेल्धुरा जिल्लाबाट निर्वाचनमा हारेका छैनन्। अझै छैटौं पटक प्रधानमन्त्री हुने होडमा थिए। उनी कम उमेरमै गृहमन्त्री हुँदै २०५१ सालमा प्रधानमन्त्री भएका थिए। २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनबाट उनको राजनीतिमा ब्रेक लाग्यो।

नेकपा एमाले र नेपाली कांग्रेसको सरकार थियो। शेरबहादुरकी पत्नी आरजु राणा परराष्ट्रमन्त्री थिइन्। उनीहरू दुवै जनालाई जेनजी आन्दोलनमा मरणासन्न हुने गरी घाइते बनाइयो। देउवा निवासमा तोडफोड र आगजनी गरियो। कम बोल्ने र जनताका लागि खासै काम केही नगर्ने देउवाले अझै चेतेको अवस्था देखिँदैन। जनताले लखेटेको नेतालाई नेपाली कांग्रेसका कतिपय कार्यकर्ताले अझै उनको चमत्कारवाद हेर्न रुचाउँछन् र उनको सपोर्टमा लागिपरेको देखिन्छन्।
उदाहरण नम्बर तीन: नेता पुष्पकमल दाहाल, उनले २०५२ बाट सुरु गरेको माओवादी जनयुद्धले नेपाली समाजलाई आक्रान्त बनायो। उनका सहयोगी बाबुराम भट्टराईले देउवा प्रधानमन्त्री भएको बखत ४२ बुँदे ज्ञापनपत्र दिएर जंगल पसेको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल २०६२–६३ सम्म आइपुग्दा नेपाली समाजको रूपान्तरणका लागि आशाको केन्द्रमा थिए।

यिनलाई पनि नेपाली समाजले केही गर्ने नेताको रूपमा हेरेर पहिलो संविधानसभामा लगभग बहुमत दिएर संसद्मा पुर्‍याएका थिए। तर नेपाली सेनाका प्रधानसेनापति रुक्मांगत कटुवाललाई फाल्ने जुन प्रपञ्च यिनले गरे, आफैं उत्तानो परे। विभिन्न समयमा गरी तीन पटक यो देशको प्रधानमन्त्री त भए तर पनि यिनीबाट देशका लागि केही हुन सकेको अवस्था छैन। अझै म बाँचुन्जेल यो देशमा उथलपुथल गर्छु भन्दै नेपाली जनतालाई धम्की दिन्छन्। अब पनि म नेपाली जनता र देशका लागि केही गर्छु भनी हुँकार 
पिट्दै छन्।

उदाहरण नम्बर चार:  झापा काण्डबाट चौध–पन्ध्र वर्ष जेल जीवन बिताएका नेकपा एमालेका नेता खड्गप्रसाद ओलीलाई २०७४ सालको निर्वाचनमा झन्डै दुईतिहाइ बहुमत पाएर पनि सरकार टिकाउन सकेनन्। उनले दुई–दुई पटक संसद् विघटन गरे। उनी तीन पटक प्रधानमन्त्री भए। उखान–टुक्का जान्ने र भाषण गर्न सक्ने खुबी उनमा छ। पछिल्लो पटक २०८० मा उनी सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकारका प्रधानमन्त्री थिए।

२०८२ भदौ २३ र २४ गते जेनजीहरूले आन्दोलन गरे। त्यसमा २३ गतेको आन्दोलनमा परी १९ जनाको हत्या भयो। यो अवस्थामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिए। ओलीले भोलिपल्ट २४ गते स्थिति सम्हाल्न नसकेपछि आफ्नै ज्यान जोगाउन धौ–धौ भयो। सेनाको सुरक्षामा हेलिकोप्टर चढेर भागे। उनले २४ गते २ बजेपछि मात्र प्रधानमन्त्री पदबाट राजीनामा दिए। यो धेरै ढिला भइसकेको थियो। सारा जनता घरघरबाट सडकमा निस्किएका थिए। झन् ठुलो आन्दोलन भयो।

सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी विभागहरू, काठमाडौं जिल्ला अदालतदेखि महत्त्वपूर्ण कार्यालयहरू जलेर खरानी भए। त्यस दिनमा पनि ५०–५५ जनाको ज्यान गयो। सरकारमा बस्ने प्रधानमन्त्रीले यसको जिम्मेवारी लिएनन्। 
उदाहरण नम्बर पाँच:  २०७९ सालमा यही वैकल्पिक धारको नेतृत्व गर्दै मिडियामा नाम कमाएका व्यक्ति रवि लामिछानेले रास्वपा पार्टी खोलेर ६ महिनामै चमत्कार गरिदिए। एकै चुनावमा राष्ट्रिय पार्टी बनेर २० सिट जितेर गृहमन्त्री तथा उपप्रधानमन्त्री पड्काए। त्यसपछि काठमाडौंको मेयर पद जितेर कहलाएका पूर्वमेयर केशव स्थापितलाई उत्तानो पारेर बालेन्द्र शाहले मेयरको पद पड्काए। हाल यिनै शाह देशका प्रधानमन्त्री छन्। यिनीहरू पनि चमत्कारी व्यक्ति गणना भए।
विभिन्न कालखण्डमा यसरी एउटै व्यक्तिलाई हिरो बनाउने र त्यसको पछाडि लागेर भजन गाउने संस्कारले नेपाली समाज आक्रान्त छ। अझै पनि नेपाली समाजमा चेत पलाएको छैन। एकल व्यक्ति चमत्कारवादका जति उदाहरण हेरे पनि आजसम्म यो देशले सही दिशा लिन सकेको देखिँदैन। यो किन भने एकल व्यक्ति चमत्कारवादले यहाँ केही हुनेवाला छैन।

यस्तै कुसंस्कार र एकल व्यक्तिवादी सोच र चरित्रले गर्दा नै देश यो अवस्थामा पुगेको हो भन्न सकिन्छ। यहाँ हरेक क्षेत्रमा कुसंस्कार छ, भ्रष्टाचार छ, मनमौजी सोच छ, जसले जे गरे पनि छुट छ, न्यायालयमा न्याय छैन, सबैलाई समान अवसर छैन, ठुलालाई चैन र सानालाई ऐन छ, गरिब जनता झन्–झन् गरिब भएका छन्। नेपालका प्रायः सबै पार्टी आआफ्नो विचारबाट स्खलित भएका छन्, मूल्य र मान्यताबाट च्युत भएका छन्।

सत्तामा पुग्ने र मिलेर खाने प्रवृत्ति देखेर जनता आजित छन्। एउटै व्यक्ति पटक–पटक सत्तामा पुग्ने र जनताका लागि कुनै राम्रो काम नगर्ने भएर नै पार्टीप्रति विश्वास घट्दै गएको छ। अहिलेको अवस्थामा जनतालाई यो चाहिँ पार्टी ठिक छ भन्ने विश्वास नै छैन।
त्यसैले आजको आवश्यकता कुनै नयाँ चमत्कारी व्यक्ति खोज्नु होइन, विधिको शासनमा आधारित बलियो प्रणाली निर्माण गर्नु हो। व्यक्ति आउँछन्, जान्छन् तर राष्ट्र संस्थाले चल्नुपर्छ। एकल व्यक्ति चमत्कारवादले क्षणिक आशा त दिन सक्छ तर दीर्घकालीन रूपमा यसले समाजलाई अझै निराश र दिशाहीन बनाउने खतरा रहन्छ। सचेत नागरिक, उत्तरदायी संस्था र पारदर्शी शासनबिना समृद्ध नेपाल सम्भव छैन।

– सापकोटा नेपाली सेनाबाट अवकाशप्राप्त मानार्थ उपसेनानी हुन्।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस