प्रेममा कोही मर्छन्, कोही बाँच्छन्
०१ फागुन २०७७
•
११ मिनेट पाठ
प्रेममा कोही मर्छन्, कोही बाँच्छन्
नेपालमा ‘भ्याइलेन्टाइन डे’ एक उत्सवका रूपमा मनाउन थालेदेखि यस दिन गीत गाउँदै आएका नेपालका एल्भिस प्रेस्ली भनेर चिनिने गायक माइक खड्कालाई मैले प्रसंगवश एक दिन सोधेँ, ‘नेपाली भाषाको मोस्ट रोमान्टिक गीत कुन हो, जसलाई हामीले पूर्णतः ‘भ्याइलेन्टाइन सङ’ मान्न सक्छौँ ?’  




लामो समयदेखि अंग्रेजी गीत गायनमा दख्खल राख्दै आएका खड्काले प्रेमपूर्वक भने, ‘त्यस्तो गीत नेपालीमा धेरै कम छ, तर उदाहरणका रूपमा लिने हो भने एउटै गीत छ, नारायणगोपालको। उनले भरपूर रोमान्टिक भएर गाएको ‘सँगाल घुम्टोहरू सजाऊ केशहरू’ बोलको गीत नै नेपालीका निम्ति ‘भ्यालेन्टाइन सङ’ मान्न सकिन्छ जस्तो मलाई लाग्छ।’  

नेपालका प्रथम रक गायक माइक खड्काको चयन सुनेपछि मैले नगेन्द्र थापा रचित त्यस गीतमा भावुक भएर पंक्ति–पंक्तिमा सोचेँ र हेरेँ। त्यो गीतको पहिलो अन्तरा यस्तो छ–  

आँधीले उडाइेला लाजका ती पर्दाहरू

बतासले खोसिदेला ओठका ती हाँसोहरू  

यो आँधीलाई ख्याल सम्झी नछोड दृष्टिहरू  

आँखैमा सुकिजाला लुकेका प्रीतिहरू।

गीतको भाव पक्ष जति सशक्त छ, त्यसको रचना पक्षमा दुई पात्रको सम्मिलनको अस्तित्व बोधको चरम काल्पनिकताको नायकीय पक्षको धरातल पनि उत्तिकै आक्रामक छ, तर गीतमा संगीतकार गोपाल योञ्जनले भरेको जादुमयी तर्जमा एक्ला नारायाणगोपालले ‘अन्डाउट्ली’ स्वच्छन्दवादी धारणा थपेका छन्, गायनको करामत पनि त्यही हो।  

शेक्सपियरका कृतिका बारेमा लेख्ने विलियम ब्लयोडले भनेका छन्, ‘प्रेम रहँदैन, आखिरमा प्रेमको गीत मात्र रहन्छ।’ यदि यो सत्य हो भने चिलीका प्रसिद्ध कवि पाब्लो नेरुदा ठीक उल्टा भेटिन्छन्, ‘हामी मरेर जान्छौँ। प्रेम मर्दैन।’
यही गीतको दोस्रो पंक्तिमा गीतकार थापाले अझै रुमानी भाव अनि भंगिमा थपेर लेखेका छन्–  

भाग्छ जो भागी देऊ लिएर जेथाहरू  

गाउँछु म सुसेलीमा भरिला यी व्यथाहरू  

म आएँ आफ्नै भनी बोकेर चिनोहरू  

लुकाउ प्यारा प्यारा कलिला बैँसहरू...।

यसअघि नेपाली भाषाको गीतमा बैँसको कलिलोपनका यसरी प्रेमी हृदयले चर्चा गरेका छैनन्, गरेको भए पनि स्वरले यसरी सरगम थपेका थिएनन्। यो काम नारायणगोपाल, गोपाल योञ्जन अनि नगेन्द्र थापाले गरे।  

भ्यालेन्टाइनमा सम्झिनुपर्ने १० नेपाली गीतमध्ये म नारायणगोपालका धेरै गीतमा यो गीत सम्झिन्छु। यसको मुखडा वा धुआँमा गीतकारले प्रेमको पुरस्कार नै दिएका छन्, गायक संगीतकार वा श्रोतालाई–  

सँगाल घुम्टोहरू सजाऊ केशहरू  

म आएँ आँधी बोकेर सम्हाल वेगहरू।

गीतकार थापाले आँधी र वेगलाई जोड्न खोजेका छन्, यसको पारामिटरमा आँधीको आवेग देखिन्छ, अर्थात् गीतको भावमा भन्नुपर्दा करेन्ट भेटिन्छ।  

गीत स्वच्छन्दवादी भावको शृंगार रसको भईकन पनि त्यहाँ सबभन्दा बढी नेपालीपन देखिन्छ, घुम्टो र केशहरूको चर्चाले। संस्कृतका महाकवि कालिदासले पनि आफ्ना अति शृंगारवादी कवितामा केशलाई लिएर व्यापक बयान भरेका छन्, कालिदास होस् वा उर्दुका महाकवि गालिब यी सबैले मेल फ्याक्टरबाट गीत लेख्दा महिलाको बयानमा केश, आँखा र ओठलाई बढी भावप्रवणशील बनाएका छन्। यो गीतमा नगेन्द्र थापाले आशालीलामा अश्लीलतालाई जोगाएका छन्, त्यसैले पनि हाम्रा रक गायक माइक खड्काले यसलाई मोस्ट रोमान्टिक वा ‘भ्यालेन्टाइन सङ’मा लिएको हुनुपर्छ।  

भ्यालेन्टाइन दिवसको सन्दर्भ आएपछि नारायणगोपालले गाएकामध्ये अन्य दुई गीत पनि अनायास मेरो मानसपटलमा त्यसरी नै स्मरणमा आउँछन्, ‘यति चोखो यति मिठो दिउँला तिमीलाई माया’ र अर्को ‘मलाई माफ गरिदेऊ मेरा लोभी नजर’। वियोगान्त गायक भनेर चिह्न लगाइएका साधक नारायणगोपालले २० को दशकमै गोपाल योञ्जनसँगको सहकार्यमा यस्ता अपार रोमान्टिक गीत गाइसकेका थिए, जुन वेला सम्भवतः अंग्रेजी भाषामा पनि ‘भ्यालेन्टाइन सङ’ भनेर कुनै गीतलाई आवरणबद्ध गरिएको थिएन। तर, त्यस समय गायक अभिनेता फ्रान्क सिनात्राले भ्यालेन्टाइन सङ गाइसकेका थिए,  

माइ फन्नी भ्यालेन्टाइन  

स्विट कमिक भ्यालेन्टाइन...।  

यो गीतको इतिहाससँगै जोडिएको हाम्रा नारायणगोपालको रोमान्टिक गीतमा ‘यति चोखो यति मीठो दिउँला तिमीलाई माया’लाई राख्न सकिन्छ वा सकिँदैन भन्ने विषयमा रक गायक खड्काले भने, ‘अझै पनि मेरो नजरमा एक नम्बरमा सँगाल घुम्टोहरू नै हो किनभने त्यो इफोर्टलेस्ली गाइएको गीत हो, त्यहाँ फकाउने वा ढाँट्ने दिन्छु वा गर्छु भन्ने कुनै काल्पनिक तथ्य छैन। रचनागत हिसाबले मलाई माफ गरिदेऊ पनि कन्भिसिङ सङ हो, तर भ्यालेन्टाइन सङमा कमिटमेन्ट वा प्रोमिसेस ( विश्वास र वाचाबन्धन) भन्दा माथि हुन सक्नुपर्छ, बरु यो तुलनामा क्षेत्रप्रताप अधिकारीको शब्द रहेको र नारायणगोपालले नै गाउनुभएको अर्को गीतलाई लिन सकिन्छ,  

मलाई छोडी मेरो छाया कतै झरेछ,  

तिमीसम्म आइपुग्दा साँझै परेछ।  

हाम्रा गीतका प्रसंगका कुरा गर्दा प्रेमध्वज प्रधान, माणिकरत्न, शिवशंकर, किरण खरेलका गीतले प्रेमलाई प्रेम जत्तिकै ठानी नजिकबाट स्पर्श गरेको पाइन्छ, गायनका हिसाबले त्यो भनिए जत्तिकै रोमान्टिक हो कि होइन, प्रश्न त्यति मात्र हो।  

हाम्रा गीत मुना र मदनको वियोगबाट सुरु भएर धर्मराज थापाको ‘नेपालीले माया मा¥यो बरी लै’ अनि अगमसिंह गिरीको ‘नौलाख तारा उदाए’मा अल्झिए, पछि यसमा विम्ब भर्ने काम वा रुमानीपन थप गर्ने काम युवा पुस्ताका गायकले गरे, जसमध्ये नारायणगोपाल, प्रेमध्वज प्रधान, माणिकरत्न, बच्चुकैलाशका युवाकालका गीतले त्यो भ¥याङ बनाए, जसलाई पछि हामीले हाम्रा प्रेमगीत भन्न पायौँ।  

कुमार बस्नेतले पनि त्यो समय केही रोमान्टिक गीत दिए, ‘रिमझिम रिमझिम पानी पर्ला’ र ‘दिउँला यो जोवन दिउँला’ पउल अन्काको ‘ओ डायना’बाट प्रभावित बस्नेतको गीतले युवा पुस्तालाई प्रभाव त पा¥यो, तर यी गीत नाच्नका लागि बने। यही समय प्रेमध्वज प्रधानले ‘कम सेप्टेम्बर’को धुमिल छापमा रवीन्द्र शाहको शब्दमा ‘तिमी आयौ मेरो दिलमा गीत सजाइदिउँला’ गाए।  

यिनै गीतलाई हामीले हाम्रा ‘भ्यालेन्टाइन सङ’ भन्न पाउनुपर्छ। गीतकार किरण खरेलले पछि नातिकाजीको संगीतमा उदितनारायण झाको स्वरमा ‘तिमी सुन्दर छौ तिमीलाई अझै सुन्दर पार्न मन लाग्यो’ गाए। यो गीतमा पनि मायालुलाई प्रभाव पार्ने पक्ष त थियो, तर गायकले यसलाई मोस्ट रोमान्टिक बनाइदिए, जसलाई यसो भन्न सकिन्छ, शब्दमा उनले फिलिङ भन्दा डिलिङ गरेका हुन्।  

हाम्रै परिवेशमा बनेका हाम्रा गीतले पश्चिमेली शैलीको उच्छ्वास वा उमंग छुन अलि कठिन बाटो नै हो भन्ने रचनाकारिताको हिसाबले देखिँदै आएको छ। नेपाली गीत, सिनेमा र साहित्यमा भ्यालेन्टाइनको सोच र शैलीलाई छवि निरूपण २०४६ को बहुदलीय स्वतन्त्रतापछि मात्र आएको हो भन्ने पुष्टि हुन्छ।  

नेपालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि देखिएको स्वतन्त्रताको उपभोग शैली र ख्रिष्टान समाजको प्रावल्यतापछि बिस्तारै नेपालमा भ्यालेन्टाइनको विषयवस्तुमा गीत, कविता वा सभा–समारोह सुरु हुन थाले।  

प्रेमको विषयलाई प्राथमिकता दिएर भ्यालेन्टाइन दिवस मनाउन र मात्र प्रेमकै वरिपरि यो सन्दर्भ जोडिन थाले पनि यसलाई कति प्रेम र कति जीवनको सारसँग जोड्ने हो प्रायःले बुझेनन्। र, कहीँकहीँ यसको व्यापक विरोध र विवाद पनि हुने गर्छ।  

भारतमा सुरुवातदेखि नै राजनीतिक पार्टी शिवसेना समूह, बजरंगी समूहले यसलाई मनाउन रोक र बाधा पु¥याएको समाचार आइरहन्छ, तर अहिलेको सामाजिक सञ्जालको व्यापकता अनि निकटताले यसलाई पूर्णतः रोक्न सकेको छैन।  

भ्यालेन्टाइन दिवसको अवसर पारेर भारतमा पनि धेरै फिल्म प्रदर्शन हुने गरेको पाइन्छ। भ्यालेन्टाइनको इतिहास नै विश्वमा अनौठो छ, सुरुवातमा रुडोल्फ भ्यालेन्टिनोको प्रसिद्धि र नामसित यसको सन्दर्भ जोडियो, जो सत्य होइन।  

युवायुवतीका अत्यन्त मनपर्ने अभिनेता रुडोल्फ भ्यालेन्टिनो, जो सच्चा अर्थमा युवाका ढुकढुकी थिए, उनको रूपाकर्षक व्यक्तित्व अनि लोकप्रियता आजसम्म हलिउडको सिनेस्टारलाई पनि उपलब्ध भएको छैन। सन् १८९५ मा जन्मेर सन् १९२६ निधन भएका जन्मसिद्ध इटालियन अमेरिकी अभिनेता भ्यालेन्टिनोको प्रसिद्धि कुनै समयका महान् योद्धा नेपोलियन बोनापार्टसित जोडिएको थियो।  

भ्यालेन्टिनोको प्रसिद्धि र भ्यालेन्टाइन दिवसको समयुग्मक सम्बन्ध एउटा पहेली जस्तो भएर बिस्तारै हरायो। पछि रोमन पादरीको कथा स्पष्ट रूपमा देखियो।  

प्रेमका सहिद भएर चिनिएका ती सन्त भ्यालेन्टाइन पनि इटालियन नै थिए। उनको कथा आजभोलि भ्यालेन्टाइन दिवससँगै जोडिँदै आएको छ र आमजनमा यो सर्वसुलभ भएको छ।  

प्रेम र भ्यालेन्टाइन दिवस  

प्रेमको कुरा गर्नेबित्तिकै सेक्सपियरका रोमियो जुलियटको कुरा आउँछ। रोमियो जुलियटजस्तै उदाहरण ‘लैला–मजनू’, ‘शिरी फरहाद’ आदि धेरै कथा छन्।  

पहिलो कुरा प्रेम नै कति शाश्वत चिज हो, त्यसैमा बहस जरुरी छ। प्रेम, माया, इश्क, मोहब्बत, प्यार जे नाम दिइए पनि आखिरमा प्रेम दुई हृदयको जीवन्त संवाद हो, यो हुन्छ पनि र हुँदैन पनि।  

शेक्सपियरका कृतिका बारेमा लेख्ने विलियम ब्लयोडले भनेका छन्, ‘प्रेम रहँदैन, आखिरमा प्रेमको गीत मात्र रहन्छ।’  

यदि यो सत्य हो भने चिलीका प्रसिद्ध कवि पाब्लो नेरुदा ठीक उल्टा भेटिन्छन्, ‘हामी मरेर जान्छौँ। प्रेम मर्दैन।’ कवि नेरुदाले आफ्नो एउटा लामो कविता ‘आजको रात म केही उदास पंक्ति लेखुँला’मा भनेका छन्,  

प्रेम कति छोटो हुन्छ  

तर बिर्सनु कति लामो हुन्छ ?  

(लब इज सो सर्ट  

फर्गेटिङ इज सो लङ)  

कतिपय सम्बन्धमा प्रेम द्वितर्फी नहुन पनि सक्छ, धेरैपटक यसको व्याख्या अपव्याख्या पनि भएको छ। अम्बर गुरुङ, ईश्वरवल्लभ, शंकर लामिछाने, भूपी शेरचनले मनपराएका हिन्दीका कवि साहिरले लेखेका पनि छन्,  

जाने वो कैसे लोग थे, जिनको प्यार में प्यार मिला,  

हमने तो कलियाँ माँगी काँटोका हार मिला।

(थाह छैन ती कस्ता मान्छे थिए, जसले प्यारको बदला प्यार पाए,  

हामीले फूल मागेका थियौँ तर काँडाको हार पायौँ।)

प्रेमका बारेमा साहिर सायद ठिकै भनेका होलान्, जुन कुरा उनीभन्दा धेरैपहिले जन्मेका एल ए रौचेफोकाउल्डले हुबहु भनेका छन्,  

प्रेममा सधैँ एउटाले माया गर्छ र अर्कोले माया पाउँछ।  

(इन लभ, देअर इज अल्वेज दी वन हु लभ्स्, एन्ड वन हु इज लभ्ड )  

यो सत्य पनि भएको छ, भएरै आएको छ।  

प्रेमको प्रतीक मानिने ताजमहल जसले बनाए, ती शहन्शाहले आफ्नो पहिलो प्रेमिका वा पहिलो पत्नीका स्मृतिमा त्यो ताजमहल बनाएका होइनन्। त्यो त आफ्नी धेरै पत्नीमध्ये एकजनाको स्मृतिमा बनाएका हुन्, जसलाई आज हामी प्रेमको उच्च उदाहरण मान्छौँ। यही ताजमहलका बारे कवि साहिरले सही ठोकेका लेखेका छन्–  

इक शहन्शाह ने ताजमहल बनाके  

हम गरिबो का मुहब्बत का उडाया मजाक।  

(एक शहन्शाहले ताजमहल बनाएर हामी गरिबहरूको प्रेमको मजाक उडाए।)

प्रेम हुनेखानेले मात्र प्रदर्शन गर्ने एउटा कला हो त ? साहिरको यो प्रश्न अन्तिम रह्यो, उनले जानेरै वा जानेको कुरा बुझेर यो सोधेका थिए। साहिर, जो आफैँले जीवनमा कैयौँ प्रेमगीत लेखे, तर उनी नै जीवनभर प्रेम पीडित भए र मर्ने बेला उनी कुनै प्रेमिकासित थिएनन्, आफ्नो एकांकी जीवनमा थिए, मुम्बईको बलिउडको नक्कली भीडमा।  

जिगर मुरादावादी साहिरजस्तै एक पागलप्रेमी हुन्, जसलाई उर्दूभाषाको साहित्यमा मोहब्बतों का शायर (प्रेमका गबैया) भनेर चिनिन्छ, जसले असली जीवनमा कसैको प्रेम नै पाएनन्, विवाहिता पत्नीलाई पनि रक्सीका कारण उनले त्याग्नुप¥यो। उनको प्रेमको सायरी भारतभरमा प्रसिद्ध छ, ‘मेरा मुहब्बत पैगाम है जहाँ तक पहुँचे।’ (मेरो प्रेम नै सन्देश हो, जहाँसम्म पुगोस्।) यो उनकै महावाणी थियो, तर उनको प्रेमको सन्देश उनकी पत्नीसम्म पनि सही रूपमा पुग्न सकेन।  

हलिउडमा प्रेमकी देवी (गड्डेस अफ लभ) भनेर हिवट्नी ह्युस्टनलाई चिनिन्छ, जब उनले ‘आई विल अलवेज लभ यु’ गाइन्, उनलाई सारा संसारले प्रेमको प्रतीक नै माने। उनीभन्दा अघिल्लो समयकी गायिका डली पार्टनले आफ्ना समकालीन गायक एल्भिस प्रेस्लीका निम्ति संगीतबद्ध गरेको यो गीत अश्वेत गायिका ह्युस्टनले गाइन्, आफैँले अभिनय गरेको फिल्मका निम्ति।  

गीत अपार सफल भयो, यो गीतको ख्याति भ्यालेन्टाइन दिवसका दिन गुन्जिने लौरा ब्रानिगानको ‘सेल्फ कन्ट्रोल’, माइकल बोल्टनको ‘आई सेड आई लभ यु बट आई लाइड’, स्टिङको ‘आई विल बी वाचिङ यू, ब्रायन एडम्सको ‘एभ्री थिङ आई डु, आई डु इट फर यू’, रिचार्ड माक्र्सको ‘राइट हिअर आई एम वेटिङ फर यु’, वा स्टिभ वन्डरको ‘आई जस्ट कल्ड टु से आई लभ यु’– ती सबै गीतभन्दा माथि नै छ।  

हरेक वर्ष भ्यालेन्टाइन डेमा यो गीतले अग्रस्थान हासिल गर्छ र ह्विट्नीलाई सबैले प्रेमकी देवीका रूपमा सम्मान व्यक्त गर्छन्। ह्विट्नीले लाखौँ, करोडौँ प्रेमी हृदयका निम्ति यो प्रेम गीत गाइन्, तर उनी स्वयं आफ्नो घरमा प्रेम पाउन नसकेर परित्यक्ताको रूपमा बाँचिरहिन् र अन्ततः भ्यालेन्टाइन डेको दिन कार्यक्रम प्रस्तुत गर्न बेभेर्ली हिल्टन होटलमा आएका वेला होटलकै बाथटबमा अत्यधिक लागू पदार्थ सेवनका कारण मृत अवस्थामा फेला परिन्, यो सन् २०१२ को भ्याइलेन्टाइन दिवसको पूर्व सन्ध्याको घटना थियो।  

त्यस वर्षको भ्यालेन्टाइन दिवसमा उनको प्रेमगीत शोकगीतको रूपमा गुञ्जियो। आज ह्विट्नी छैनन्, तर उनको प्रेमगीत संसारको हरेक कुनामा १४ फ्रेबुरीमा घनघोर गुन्जिन्छ।  

संसारमा यस्ता कैयन् प्रेमगीत होलान्, जसका पछाडि भ्यालेन्टाइन दिवसका कारण सम्झिरहनुपर्ने होस्, तर त्यसले प्रेमको अग्रकथनीय भूमिका त निभाएकै हुन्छ। जस्तो उर्दूका महाकवि गालिबले भनेका छन्,  

मोहब्बत में नहीं है फर्क जिने और मरने का  

उसी के बारे में सोचो जिस काफिर पे दम निकले  

हजारोँ ख्वाहिशे ऐसी कि हर ख्वाहिश पे दम निकले  

बहुत निकले मिरे अरमान लेकिन फिर भी कम निकले।

(प्रेममा केही फरक छैन, बाँच्नु र मर्नुको  

उसैको बारेमा सोच्छौँ जुन पापीका लागि सास जान्छ  

हजारौँ इच्छा यस्ता छन् कि हरेक इच्छाका निम्ति सास जान्छ  

धेरै कामना त पूरा भए तर फेरि पनि कमै पूरा भए।)  

त्यसपछि हाम्रा कवि गीतकार ईश्वरवल्लभले पनि भने,  

हजार सपनाहरूको माया लागेर आउँछ  

बाँच्ने रहर जस्तो फेरि भएर आउँछ...।

प्रेम सायद यस्तै चीज हो, जसमा मान्छे घरीघरी मर्छन्, घरीघरी बाँच्छन्। कवि उपन्यासकार पारिजातले यही सन्दर्भमा लेखेकी छिन्, एउटा गीत,  

मर्न मन लाग्छ मायालु...।

हिसाबले हेर्ने हो भने संसारका धेरै प्रेमकथा जो असफल भएका छन्, ती चर्चित छन्। धेरै प्रेमगीत तिनैले लेखेका छन्, जसले जीवनमा सही मानेमा प्रेम नै पाएनन्। सायद यही नै भ्यालेन्टाइन दिवसको एउटा स्मृति हो कि ?
अर्को समाचार
अन्तरजातीय प्रेम विवाहको अन्तर्यः प्रेमीले धोखा दिए, प्रेमिकाले प्राण त्यागिन्
२६ साउन २०७८
•
४ मिनेट पाठ
अन्तरजातीय प्रेम विवाहको अन्तर्यः प्रेमीले धोखा दिए, प्रेमिकाले प्राण त्यागिन्
प्रेम विवाहपछि ज्योती कृष्ण । ज्योतीको मृत्युपछि भावविहवल पासवान परिवार । तस्बिरः मिथिलेश/नागरिक
जर्मन तानाशाह हिटलर भन्थे, ‘प्रेम होइन, युद्ध गर्नुस्। किनभने, युद्धमा तपाईं कि मर्नुहुन्छ कि बाँच्नुहुन्छ। तर, प्रेममा तपाई न बाँच्नुहुन्छ, न मर्नुहुन्छ।’ ज्योती पासवानले प्रेम गरिन्। र, प्रेम गरेको ‘अपराध’ मा महिनौं ‘मर्नु न बाँच्नु’को स्थिति झेलिरहिन्। अन्ततः आफ्नो प्रेमलाई जीवन्त राख्न आफ्नो प्राण त्याग गरिन्। भनिन्छ नि प्रेममा कोहि मर्छन्, कोहि बाँच्छन्। ज्योती मरेर आफ्नो प्रेमको ज्योतीलाई ज्वलन्त राखिन्।




सप्तरीको सुरुङ्गा नगरपालिका–७, पोखरियाकी ज्योती पासवानले शनिबार आफ्नै घरमा पासो लगाएर प्राण त्यागेकी छिन्। ज्योती र सोही ठाउँका कृष्ण मिश्रबीच प्रेम सम्बन्ध थियो। उनीहरुबीचको प्रेम गाउँका धेरैलाई थाहा थियो। ज्योती पासवान दुसाध जातकी थिइन्। यो जातीलाई मधेसी समाजमा दलित भनिन्छ। कृष्ण मिश्र मैथिल ब्राह्मण जातका हुन्। मधेसी समाजमा यो जातीलाई उच्च जात भनिन्छ। सामाजिक जातीय घेरा नाघेर ज्योती र कृष्ण प्रेमको अलग्गै संसार बनाउने सपना देखेका थिए।  

तर कृष्णको परिवारले दलित केटीलाई बुहारी बनाएर भित्र्याउन मानेनन्। र, ज्योतीलाई बिहे गरे सम्पत्तिबाट बेदखल गरिदिने चेतावनी कृष्णको परिवारले उनलाई दिए। कृष्णको परिवारले दलित केटीसँग कुनै हालतमा विवाह गर्न नदिने अडान राखेपछि कृष्ण ज्योतिलाई लिएर गत फागुनमा कृष्णले गाउँ छाडे। सामाजिक रिवाजअनुसार छोरीको विवाह गर्न नपाएपछि आफूहरुले सोचेजस्तो विवाह गरिदिन नपाए पनि छोरीको दाम्पत्य जीवन सुखमय बितिरहेको सुनेर आमा इनरबत्ती र बुवा प्रमोद पासवान सन्तोष महसुस गर्थे। बेटी जमाइसँगे बात केलापर बहुत खुसी हाइछल-छोरी ज्वाइँसँग कुरा गर्दा खुसी महसुस हुन्थ्यो इनरबत्तीले भनिन्,‘नै सोचने रहि जे प्यारके बदलामे बेटीके जान दिय परतै-सोचेकि थिइनँ प्यारको बदला छोरीको ज्यान हुन्छ ।’  

फागुनदेखि घर छोडेर ज्योती र कृष्ण दुबैजना सिरहाको मिर्चैयामा बस्दै आएका थिए। आफूहरु जनकपुरको विवाह मण्डपमा बिहे गरेको ज्योतीले माइती पक्षलाई बताएकी थिइन्। सिन्दुर, मंगलसूत्र, लगाएको फोटो समेत माइती पक्षलाई साझा गरेकी थिइन्। चार दिनअघि मात्र उनीहरु मिर्चैया छोडेर लहानस्थित पुष्पाञ्जली लजमा आएका थिए।

लजमा तीन दिन बसेपछि चौथो दिन कृष्ण ज्योतीलाई कोठामै छोडेर भाडा घर खोज्न जान्छु भनेर हिँडेका थिए। लजमा कति बस्ने कोठा खोजेर आउँछु भनेर हिँडेका उनी तीन दिनसम्म नफर्केपछि ज्योतीले आफ्नी दिदीमार्फत आमालाई खबर पुर्याइन्। आफूलाई लहानको पुष्पाञ्जली लजमा राखेको र लजवालाले पैसा मागेर हैरान पारिरहेको कुरा पनि उनले फोनमा आमालाई सुनाइन्। 

बुवा प्रमोदले गाउँका अगुवाहरु लिएर लज पुगेका थिए। लजबाट छोरीलाई लिएर इलाका प्रहरी कार्यालय लहान पुगेर प्रमोदले न्याय मागेका थिए। लहान प्रहरीले कृष्ण मिश्रविरुद्ध जबर्जस्ती करणी र शरीरबन्धक मुद्दा चलाउन सकिने भन्दै जाहेरी दिन भन्यो। ‘पुलिस त मुद्दा चलाबैलेल तयार छेलै (प्रहरी मुद्दा दर्ता गर्न तयार थियो),’ प्रमोदले भने,‘ बेटी भोकाइस फाइर क कने लागलै आ मुद्दा दैले तयार नै भेलै-छोरी भक्कानिएर रुन थालिन र मुद्दा दिन मानिनन्। कृष्ण फर्केर आउँछ भन्ने विश्वासले उनी मुद्दा दिनबाट पछि हटेकी थिइन्।’

जेकरा सँगे प्रेम केलियै ओकरा खिलाफ कोना मुद्दा दियै(जोसँग प्रेम गरे उनको खिलाफ कसरी मुद्दा दिनु) ज्योतीको भनाई सम्झदै बुवा प्रमोदले भने,‘कृष्ण छोइर क गेलो पर बेटीके अपन प्रेमप्रतिके विश्वास नै टुटलै-कृष्णले लजमा एक्लै छोडेर जाँदा पनि ज्योतीको विश्वास निभेन।’ ज्योतीको उमेर २० वर्ष पुग्न केही दिन बाँकी रहेकोले लहान प्रहरीले उनको बुवाकै जिम्मा लगाएर पठायो।

बुवासँग घर फर्केकी ज्योती कृष्ण फर्केर आउने आशमा बसिरहेकी थिइन्। उनमा अटुट विश्वास थिए, कृष्ण फर्केर मसँग आउँछ। कृष्णके इन्तजारमे बाट देखैत रैह गेलै, ओ नै एलै (कृष्ण आउने आशमा बसिरहिन् तर उनी आएनन् ) इनरबत्ती भन्छिन्,‘कृष्णके एतै से आशमे कानैत कानैत नोर सुइख गेलै-कृष्ण आउलान् भने आशमा रुँदा रुँदा उनको आँशु सुकिसकेको थियो। इनरबत्तीले सम्झाउँदा उनी एउटै कुरा भन्थिन्,‘ओ एतै मा, ओ जरुर एतै-आमा उहाँ आउनुहुन्छ, अवश्य आउनुहुन्छ।’

प्रमोद वर्षौ वैदेशिक रोजगारमा खटिएर गाउँमा पक्कि घर ठड्याएका छन्। केही खेती जमीन जोडेका छन्। विदेशकै कमाइबाट घर नजिकै चियानास्ता पसल खोलेका छन्। वैदेशिक रोजगारीमा जान छोडेपछि परिवारको गुजारा यसैबाट चलाउँछन् प्रमोद। सधैंझै शनिबार पनि प्रमोद दम्पती पसल चलाउन गए। 

ज्योतीलाई खाना पकाउन भनेर उनीहरु पसल गएका थिए। ज्योतीको जेठी दिदी आरती पनि घर आएकी थिइन्। तर उनी पनि पसलमै थिइन्। खाना खाने बेला भएपछि आरती घर आउँदा जाँदा ज्योतीलाई सलको पासोमा झुण्डिएको देखेर चिच्याइन्। छरछिमेर जुट्यो। बुवाआमा पनि पसलबाट घर पुगे। त्यो बेलासम्म ज्योतीले प्राण त्यागी सकेकी थिइन्।

परिवारसँग हिम्मत र भरोसाका कुरा गरेपनि साथीहरुसँग ज्योतीले कृष्णको धोकाले समाजमा आफ्नो परिवारलाई बाँच्न मुस्किल बनाइदिएको कुरा साझा गरिरहन्थिन्। प्रमोद भन्छन्, 'हमर बेटीले हत्यारा कृष्ण छै(कृष्णकै कारण छोरीले प्राण त्याग्न बाध्य भइन)' इनरबत्ती भन्छिन्,‘ज्योतीके निसाफ दियौ सरकार(ज्योतीलाई निसाफ दिनुस्, सरकार)’

मंगलबार प्रमोदले कृष्णलाई विपक्षी बनाएर इलाका प्रहरी कार्याल कडरबोनामा आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गराएका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस