विजयराज आचार्य
१) हेडसर
सानोमा प्रसन्नले ऐनामा हेरेर कपाल कोर्दै ‘म पनि हरि हेडसरजस्तै हुने हो’ भन्थ्यो । कपाल पनि हरि सरको जस्तै बनाउँथ्यो ।
हरि सर गाउँमा हाईहाई थिए । गाउँलेले उनको खुबै सम्मान गर्थे । गाउँमा कसैलाई केही समस्या प¥यो कि हरि सरकोमै पुग्थे । समस्या पर्दा मात्र होइन केही नयाँ काम गर्न लाग्दा पनि गाउँलेले हरि सरसँग सल्लाह लिएर गर्थे ।
उनी गाउँकै सम्मानित व्यक्ति थिए । उनको प्रभाव प्रसन्नलाई बच्चैदेखि परेको थियो ।
हेर्दाहेर्दै प्रसन्नले एसएलस िपास गरयो । गाउँका सबै केटाकेटी एस्एलसी पास भएपछि के पढ्ने ? कहाँ पढ्ने भनेर हरि सरकोमा सल्लाह लिन जान्थे । प्रसन्न पनि गयो ।
ऊ हेडसरकै सल्लाहमा अङ्ग्रेजी पढ्न राजधानी जाने भयो । पढेर हरि सरजस्तै प्रख्यात शिक्षक बन्ने सपना बोकेर ऊ काठमाडौँ गयो ।
आइए सक्नासाथ प्रसन्नले एउटा निजी बोर्डिङ स्कुलमा पढाउन थाल्यो । अध्ययन पनि जारी राख्यो । उसको बौद्धिकता र क्रियाशीलताको कारण बिए सक्नेबित्तिकै विद्यालयको हेडसरको जिम्मेवारी पायो ।
हेडसरको जिम्मेवारी पाउनेबित्तिकै गाउँको हरि सरलाई सम्झ्यो र मक्ख परयो । हरि सरजस्तै प्रख्यात हुने सपना देख्यो ।
विद्यार्थी बढाउने र स्कुललाई नाफामा लैजाने विषयमा बचनवद्ध भएर प्रसन्नले हेडसरको कुर्सी सँभाले ।
नियुक्त भएको भोलिपल्ट एउटा विद्यार्थीलाई सामान्य चोटपटक लाग्यो । अभिभावक आएर धम्की दिएर गयो । विद्यार्थी कुलतमा लागे, फेल भए भने सबै दोष हेडसरलाई थुपारिन्थ्यो । फिस तिर्न आउने अभिभावकले त लुटेरालाई जस्तै व्यवहार गर्थे ।
उसलाई यो हेडसरको जिम्मेवारीले वाक्कदिक्क पारयो । उसले सोच्यो, ‘हरि सरको पद पनि हेडसरकै हो, मेरो पनि त्यही । किन यति फरक ?’ उसले लामो सास फेरयो ।
उसले जागिर नखाने निष्कर्ष निकाल्यो र पदबाट राजीनामा दियो । अध्यक्षलाई राजीनामा बुझाएर कोठाबाहिर निस्कँदा उसको मोबाइलमा घण्टी बज्यो । त्यो फोन हरि सरकै रहेछ ।
“हेलो प्रसन्न बधाई तिमीलाई !” हरि सरले भने ।
‘जागिर छाड्दा पनि केको बधाई ?’ उसले मनमनै सोच्यो ।
“केको बधाई सर ?” उसले मधुरो स्वरमा सोध्यो ।
“उमेर हदको कारण म स्कुलबाट बिदा लिँदै छु । मेरो ठाउँमा तिमीलाई सिफारिस गरेको छु ।”
हरि सरको कुरा टुंगिन नपाउँदै प्रसन्न नजिकको बेञ्चमा थुचुक्क बस्यो ।
२) चाकडी
“म प्रिन्सिपल बी.आर. । उहाँहरू सबै मेरा सहकर्मी साथीहरू । हामीहरू काठमाडौँबाट खानेपानीको बाँध र सुरुङ हेर्न आएका हौँ । हामीलाई छोडिदिनुहोस्,” बी.आर.ले चेकपोष्टको मेजरसँग हात मिलाउँदै भने ।
“तपाईंजस्तो शिक्षित व्यक्तिलाई त्यहाँ जान पाइन्नँ भन्ने थाहा छैन र ?” मेजरले फिस्स हाँस्दै भने । “हाम्रो चेकपोष्टसम्म आउनुभएकोमा स्वागत छ । अब फर्किहाल्नोस् ।”
“हामी बम पड्काउन आएका हैनौँ ? अवलोकन र अध्ययन गर्न आएका हौँ,” बी.आर.ले अलि चर्को स्वरमा भने ।
“यो सुरक्षाको दृष्टिले संवेदनशील ठाउँ हो भन्ने बुझ्नुस् न । हामी माथिको आदेश पालन गछौँ । तपाईंहरूको तर्कको पछि लाग्दैनौँ,” मेजरले पनि रुखो स्वरमा जवाफ दिए ।
“अनि अस्ति मात्रै हाम्रो छिमेकी स्कुलमा शिक्षकहरू बाँधमा घुमेर आउनुभएको थियो त । उहाँहरूले झरना, सुरुङ, बाँध बाँधेको ठाउँमा काम गरिरहेका फोटाहरू पनि फेसबुकमा राख्नुभएको छ त,” बी.आर.ले भने ।
“मैले भने नि आर्मीले आदेश मान्छ । उहाँहरूलाई छाड्न करसाबको आदेश थियो होला,” मेजरले भने ।
“तपार्इंहरूको करसाबको नाम के नि ?” बी.आर.ले सोधे ।
“मिस्टर सी.पी.” मेजरले जवाफ दिए ।
बी.आर.ले मोबाइल खोले र त्यहाँ भएको फोटो देखाउँदै सोधे, “उहाँ नै हो ?”
“हो सर,” मेजरले सतर्क हुँदै भने ।
“ऊ मेरो कलेज पढ्दाको मिल्ने साथी हो,” बी.आर.ले उत्साहित हुँदै भने ।
“साँच्चिकै सर ?” मेजरले हात मोल्दै सोधे ।
“एकदम । के तपाईं उहाँको नम्बर दिन सक्नुहुन्छ ? यहाँसम्म आइयो । साथीसँग कुरा गरेर जानु परयो,” बी. आर.ले भने ।
“किन नसक्नु सर,” उसले आपैmले करसाबलाई फोन गरे ।
“गुडमर्निङ सर यहाँ हजुरको साथी बी.आर. आउनुभएको छ । उहाँहरू मेलम्ची खानेपानीको बाँध घुम्न चाहनुहुन्छ । के गरौँ सर ?”
“हस् साब !” मेजरले मोबाइल खल्तीमा राख्यो र सिपाहीहरूलाई कुर्सी ल्याउन आदेश दियो ।
“धन्यवाद मेजर साब । हामीलाई कुर्सी चाँहिदैन । हतार पनि भैसक्यो । हामीलाई जान दिनु भएन । आफ्नो कर्तव्य पूरा गर्नुभएकोमा धन्यवाद,” बी.आर.ले आफ्ना साथीहरूलाई गाडीमा बस्न भन्यो ।
“कस्तो कुरा गरिसेको होला हजुरले । करसाबले चिया नास्ता खुवाएर घुम्न पठाउनु । फर्केपछि मासुभात खुवाएर मात्र पठाउनु भनिसेको छ,” मेजरले भने ।
“उहाँलाई धन्यवाद भनिदिनु होला । काठमाडौँ पुग्न हामीलाई अबेला हुन्छ । हामी हिँड्यौँ पनि,” भन्दै बी.आर. सरासर गाडीतिर लागे ।
बिचरा मेजरले धेरै बेरसम्म गाडी गएको दिशातिर हेरिरहे ।
३) भूत
गाउँमा लागोभागो, भूतप्रेतको अन्धविश्वासले नराम्रोसँग जरा गाडेको थियो । तर कमलापति पण्डितलाई भूत, प्रेत, मसान आदि कुरामा पटक्कै विश्वास थिएन । उनी यस्ता अन्धविश्वासको पछि नलाग्न गाउँलेहरूलाई सम्झाउँथे ।
एकदिन उनी माथिल्ला गाउँका धनवीरकी छोरीको विवाह भोजमा गएका थिए । फर्वंmदा रात प¥यो ।
कमलापतिको गाउँ र माथिल्लो गाउँको बीचमा बाक्लो सल्लाघारी थियो । बीचमा खोल्सो थियो । खोल्सोमा मरेका मानिसको गुन्द्री र ओछ्यान फालिन्थ्यो । त्यसरी फाल्ने कामलाई कात्रो फालेको भन्ने चलन थियो । खोल्सामा भूतले तर्साउँछ । भूतले तर्साएको मानिस बिरामी प¥यो भने मर्छ भन्थे ।
कमलापति भोज खाएर अँध्यारोमा फर्कंदै थिए । खोल्सामा पुगेपछि उनले खोल्सामा भूतले तर्साउँछ भनेको सम्झे । उनको मनमा चिसो पस्यो । उनी जतिजति अगाडि बढ्दै गए उनको मुटुमा ढ्याङ्ग्रो ठोकिन थाल्यो ।
उनले खोल्सामा बाटै छेकिने गरी मान्छेजस्तै केही कुरा लमतन्न पल्टेको देखे । उनको सातोपुत्लो उड्यो । यस्तो बेलामा आगो बले भूत प्रेत भाग्छ भनेको उनले झ्वाट्ट सम्झे ।
उनले खल्तीबाट सलाई झिके र कोरे ।
सलाई भ्mवार्र पार्ने बित्तिकै कसैले फुकेजस्तै भएर भ्mयाप्पै निभ्दथ्यो ।
उनी झन् डराएर पछाडि फर्कन खोजे । तर अचानक त्यो वस्तुले उसको खुट्टा समात्यो । उनी खुट्टा छुटाएर घरतिर दौडे । एउटा खुट्टामा जुत्ता नभएको उनले चालै पाएनन् ।
कसरी घरसम्म पुगे उनलाई पत्तै भएन । घर पुग्दा उनी पसिनाले निथ्रुक्क थिए । जीउ थर्रथर्र कामिरहेको थियो । श्रीमतीसँग पानी मागेर उनले घटघट पानी खाए ।
मध्यरातदेखि उनलाई हनहन्ती ज्वरो आयो । बेहोसीमा उनी भूत... भूत... भनेर एकोहोरो बड्बडाइरहन्थे ।
भोलिपल्ट बिहानै कमलापति आप्mनी श्रीमतीसँग सन्तबहादुरकहाँ पुगे । सन्तबहादुरले झारफुकको काम गर्थे ।
हिजो सन्तबहादुर पनि धनवीरकी छोरीको विवाह भोजमा गएका थिए । भोजमा अलि धेरै रक्सी खाएका थिए ।
सन्तबहादुरले कमलापतिको नाडी छाम्दै सोधे, “के भो तपाईंलाई बाजे ?”
“भूत ... भूत... सल्लाघारीको खोल्साको भूत ...” कमलापतिले बड्बडाउँदै भने ।
“त्यो खोल्सामा भूत लडेको थियो हो ?” सन्तबहादुरले सोधे ।
“हो । हो । भूतले मेरो खुट्टा समात्यो । जुत्ता पनि लग्यो,” कमलापतिले बर्बराउँदै भने ।
“यो जुत्ता तपाईंको हो बाजे ?” सन्तबहादुरले हाँसो थाम्दै जुत्ता देखाए ।
“हो । तिमीले कहाँबाट पायौ ?”
“हिजो भोजमा अलि बढी नै धोकिएछ बाजे !”
सन्तबहादुरको कुरा सुनेर ज्वरोले थल्लिएका कमलापतिको अनुहार अचानक उज्यालो भयो ।
४) राहत
भूकम्पले दुःखमपुर गाउँलाई गल्र्यामगुर्लुम ढाल्यो । गाउँका मानिसहरूको दुःखको सीमा रहेन । सिङ्गो गाउँका दश घर जति बच्यो । बचेका घरहरू गाउँका धनीमानी, गण्यमान्यका थिए ।
भूकम्पको डरले मानिसहरू गाउँको चौरमा जम्मा भए । उनीहरूको जिउमा लगाएको लुगाबाहेक अरू केही थिएन । सबै सम्पत्ति भत्केको घरले पुरेको थियो । त्यो दिन र रात उनीहरूले भोकै खुला आकाशमुनि बिताए ।
भोलिपल्ट बिहानैदेखि केटाकेटी भोकले छटपटाएर रुन थाले । भोक प्यास त सबैलाई लागेकै थियो । आफ्नो पीडाभन्दा पनि केटाकेटीको पीडा देखेर गाउँलेहरू छटपटाउन थाले । उनीहरूलाई के गरौँ, के गरौँ, कसो गराँै भयो ।
त्यत्तिकैमा भीडमा गाइँगुइँ हल्ला चल्यो, ठूला नेता राहत बाँड्न आउँदै छन् रे !
दुःखी जनको मनमा आशाको मुना पलायो ।
रातो सूर्य भएको झन्डा फहराउँदै राहत बाँड्न नेता आए । उनको हातमा एउटा कागत थियो । कागतमा पार्टीका सदस्य र मतदाताहरूको नाम थियो । उनले नाम हेर्दै बोलाउँदै राहत बाँडे । उनले सान्त्वना दिँदै भने, “नआत्तिनुस् तपाईंका साथमा हामी छौँ ।”
राहत पाउनेहरू खुसी भए । नपाउनेहरू आक्रोशित भए ।
केटाकेटी भोक लाग्यो भनेर रुँदारुँदै बेहोस हुन थालेपछि गाउँलेहरूको आक्रोश चुलिन थाल्यो ।
“हेर ... प्रधानमन्त्री आउने रे !” भीडबाट कसैले उत्साहित हुँदै भन्यो ।
“प्रधानमन्त्री त देशकै अभिभावक हुन् । उनले त पक्कै समान व्यवहार गर्लान् !” अर्कोले भन्यो ।
“खै ?” अर्कोले उदास हुँदै भन्यो ।
तामझामका साथ प्रधानमन्त्रीको सवारी दुःखमपुर गाउँमा भयो । उनको सवारी मात्र सरकारी गाडीमा थियो । बाँकी दर्जनौँ गाडीमा हरियो रूख भएको झण्डा फर्पmराइरहेका थिए ।
झन्डा देखेर जनता निराश भए । उनी रूख पार्टीका सदस्यलाई मात्र राहत बाँडेर हिँडे ।
त्यसपछि राहत लिएर त्यही गाउँका नाम चलेका समाजसेवी आए । उनको गाडी सरासर उनकै नयाँ घरको आँगनमा पुगेर रोकियो । उनले ल्याएका राहतका सामान ‘पछि बाँड्ने हो’ भन्दै ती दस घरमा थन्क्याइए ।
पीडितहरू अभैm बाँकी थिए, जोसँग न त कुनै राजनीतिक दलको सदस्यता थियो न समाजसेवीको आशीर्वाद । गाउँमा राहत बाँडेको खबर र फोटाहरू अखबारमा छापिए । तर ती परिचयविहीन पीडितहरूको फोटो कसैले छापेन ।
५) तिनीहरू फर्के
“एकताका तिम्रो कथाको पात्रहरूको व्यापक चहलपहल थियो । आजकल के हाल छ नि तिनीहरूको ?” डाक्टर सुमनले लेखक विराजलाई जिस्काउँदै भने ।
“मेरा सयौँ कथामा हजारौँ पात्र छन् । कुन पात्रका बारेमा कुरा गरेका हौ तिमीले ?” विराजले सोधे ।
“त्यही मसान, लागो, बोक्सी र झाँक्रीको अन्धविश्वासलाई गाउँबाट भगाउने पात्रहरू,” सुमनले भने ।
“त्यो त पुरानो कथा हो । त्यतिबेला हाम्रो गाउँमा अशिक्षा थियो । अहिले त गाउँ पनि शिक्षित भयो । अन्धविश्वास पनि हटिसक्यो,” विराजले फुर्ती लगाउँदै भने ।
“त्यति साह्रो गडेर बसेको अन्धविश्वास यति चाँडो हट्छ र भन्या !” सुमनले शङ्का गरे ।
“पत्याउनु, नपत्याउनु तिम्रो विचार हो । हाम्रो गाउँमा शिक्षाको ज्योतिले अन्धविश्वासलाई निमिट्यान्न पारिसक्यो,” विराजले निर्धक्क भएर भने ।
“तिम्रो कुरा साँचो हो भने तिम्रो गाउँ नै नेपालको नमूना गाउँ हुने भयो । हैन त ?” सुमनले भने ।
“हुन सक्छ,” विराजले जवाफ दिए ।
“लौ जाऔँ न त देशकै नमूना गाउँ घुम्न !” सुमनले जिस्क्याए ।
केही दिनपछि उनीहरू विराजको गाउँतिर हिँडे । दिनभरि हिँडेर झमक्क साँझमा विराजको घरमा पुगे ।
“थाक्नु भयो होला । खाना खाएर आराम गर्नुहोला,” खाना खान हात धुने पानी टकारिदिँदै विराजकी भाउजूले भनिन् ।
“कति माया गर्नुहुन्छ है दाइ भाउजूले मलाई । मैले साथी लिएर आउने थाहा पाएपछि मासु र भात नै तयार पार्नु भएछ । यति धेरै दुःख नगर्नु भएको भए हुन्थ्यो,” विराजले थालको भात हातले मुछ्दै भने ।
“केको दुःख हुनु र ? संयोगले आजै गेलको लागोलाई उठाएको भाले पूजा गरेको ... त्यसैको मासु हो । कस्तो बनाइन् कुन्नि तिम्रो भाउजूले ? जस्तो भए पनि प्रसाद सम्झेर मिठो मानेर खानु,” दाइले जुँगा मुसार्दै भने ।
दाइको कुरा सुनेर सुमनले विराजको मुखमा पिलिक्क हे¥यो । विराजले लाजले घोप्टो मुन्टो लगाएर सपासप भात खायो । थाकेकाले त्यो दिन खाना खाने बित्तिकै उनीहरू सुते ।
भोलिपल्ट बिहानै विराजको भाइले ओछ्यानमै आएर भन्यो, “आज बिहानको खाना बुहारीलाई पकाउन भन्छु । खाना खान उतै आउनुहोला ।”
उनीहरू खाना खान चकटीमा टुसुक्क बस्न नभ्याउँदै बुहारीले भात पस्कँदै गनगन गर्न थालिन् । “हेर्नुस् दाजी त्यो राणले त मलाई सजिलै बाँच्न दिने भएन । अहिले पनि भूत ओडारको मसान उठाएर लाइदिएकी छे । टनटनी टाउको दुखेर मरौँ कि बौलाउँ गराई । झाँक्री बा आएर एकजोडी भाले पोथी भाकल दिएपछि सञ्चो भयो । तिनै कुखुरा हिजो चढाएको । जे भए पनि हजुरलाई मासु खुवाउने मौका मिल्यो,” उनले मुस्कुराउँदै भनिन् ।
उनीहरूले त्यो साँझ काकाकोमा भात खाए । अर्को दिन बिहान विराजको बुवाआमाको घरमा खाना खाए । दुवै घरमा बोकाको मासुसँग भात खाए ।
काकाले कात्रेखोलाको भाकल र बुवाले दोखामेलाई चढाएको बोका पूजा गरेको बताए ।
“तिम्रो कथामा गाउँबाट हराए भनेका पात्र त ब्यूँझेजस्तो छ नि विराज ?” सुमनले खाना खाइसकेर आँगनको दिलमा हात चुठ्दै भन्यो ।
“म पनि छक्क परिरहेको छु । साँच्चिकै मैले कथा लेख्ने बेलामा तिनीहरू हराएकै थिए । खै कसरी फर्के ?” उसले लामो सुस्केरा हाल्यो ।
“बुवा त्यो हराएको अन्धविश्वास कसरी फर्कियो ?” विराजले निरास हुँदै सोध्यो ।
“अन्धविश्वास फर्केको होइन फर्काइएको हो,” बुवाले बोल्दाबोल्दै लामो सास फेरे ।
“कसले, कसरी र किन फर्कायो बुवा ?” विराजले उत्तेजित हँुदै सोध्यो ।
“त्यो हराउँदा वडा अध्यक्षको मानमनितो भएन रे । झाँक्रीको रोजगारी खोसियो रे । त्यसैले उनीहरू मिलेर फर्काए,” बुवाले बिस्तारै भने ।
विराज अवाक् भए । उनले राजतन्त्र फाल्ने नेताहरूको राजकीय व्यवहार सम्झे । अनि आप्mनै घरमा छोराछोरीले खाइसियोस्, गैसियोस् भन्न थालेका सम्झे र मौन भए ।